सात प्रबन्धहरू

Doctrine

सात प्रबन्धहरू

 

बाइबलमा समयलाई, अर्थात् आदमको सृष्टिदेखि प्रकाश २१ को “नयाँ आकाश र नयाँ पृथ्वी” सम्मको अवधिलाई, सातओटा “प्रबन्ध” (एफेसी ३:२) हरूमा विभाजन गरिएको पाइन्छ जुन प्रबन्धहरू बराबर अवधिका छैनन्। यी अवधिहरूलाई “युगहरू” (एफेसी २:७) र “दिनहरू” पनि भनिएको पाइन्छ, जस्तै, “परमप्रभुको दिन” इत्यादि।

पवित्र शास्त्रमा परमेश्वरले मानवजातिसित (वा कुनै मानव समूहसित) दुइटा प्रश्नहरूको, अर्थात् पापको र मानवीय जिम्मेवारीको, सवालमा प्रारम्भ गर्नुभएको कुनै विशेष वा भिन्न व्यवहारद्वारा नै यी समयावधिहरूलाई एकअर्काबाट छुट्ट्याउन सकिन्छ। प्रत्येक प्रबन्धलाई एउटा नयाँ परीक्षणकालको रूपमा हेर्न सकिन्छ जसअन्तर्गत प्राकृतिक मानिसको जाँच गरिन्छ र ऊ विफल हुँदा उसको इन्साफ गरिएर उक्त प्रबन्धको अन्त गरिन्छ र उसलाई नयाँ प्रबन्ध अन्तर्गत परीक्षण गरिन्छ। परमेश्वरको वचनले यो देखाउँछ कि प्रत्येक प्रबन्धमा मानिस पूर्ण रूपमा विफल भएको छ। जम्मा सातओटा मध्ये पाँचओटा प्रबन्धहरू बितिसके, हालमा हामी छैटौं प्रबन्धमा (सम्भवत: त्यसको अन्ततिर) जिइरहेका छौं, र सातौंचाहिँ आउन बाँकी नै छ—अर्थात् हजार वर्षको राज्य।

(१) निर्दोषता अन्तर्गतको मानिस

यो प्रबन्ध आदमको सृष्टि (उत्पत्ति २:७) देखि अदनबाटको निष्कासनसम्म रहेको पाइन्छ। सृष्टि गरिँदा आदम निर्दोष थिए साथै असल-खराबको सम्बन्धमा अनभिज्ञ थिए। आदमलाई उनकी पत्‍नीका साथमा अदनको बगैंचामा असल र खराबको ज्ञान दिने रूखको फल नखाईकन बस्नु पर्ने जिम्मेवारीमुनि राखिएको थियो। निर्दोषताको प्रबन्धमा प्रथम मानिस विफल भए जसको असर अन्यको भन्दा बढी भयानक र व्यापक हुन गयो। यो इन्साफमा अन्त भयो: “परमेश्वरले उनलाई अदनको बगैंचाबाट निकालिदिनुभयो।” निम्न खण्डहरूमा हेर्नुहोस्,

उत्पत्ति १:२६उत्पत्ति ३:६
उत्पत्ति २:१६,१७उत्पत्ति ३:२२-२३

(२) विवेक अन्तर्गतको मानिस

पतनमार्फत आदम र हव्वाले असल र खराबको ज्ञान प्राप्‍त गरे र त्यसलाई मानव जातिमा प्रसारण गरे। उक्त ज्ञानले विवेकलाई नैतिक छनोट गर्ने आधार दियो र फलस्वरूप मानवजाति आफूले असल गर्न र खराबबाट अलग रहन जिम्मेवार हुन गयो। अदनदेखि जलप्रलयसम्म (जुनबेला मानवीय शासनको र व्यवस्थाको संस्थागत शुरूआत भएको थिएन) विवेकको प्रबन्ध अन्तर्गत नतीजा यस्तो हुन गयो कि “पृथ्वीमा सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए”, र “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको” पाइयो। तब परमेश्वरले प्राकृतिक मानिसको यो दोस्रो परीक्षणलाई इन्साफद्वारा अन्त गर्नुभयो। त्यो इन्साफ थियो जलप्रलयको। निम्न खण्डहरूमा हेर्नुहोस्,

उत्पत्ति ३:७,२२उत्पत्ति ६:५,११-१२उत्पत्ति ७:११-१२,२३

 

(३) पृथ्वीमाथि शासक बनाइएको मानिस

जलप्रलयको भयावह इन्साफदेखि परमेश्वरले आठजना व्यक्तिहरूलाई बचाउनुभयो पानी घटिसकेपछि शुद्ध पारिएको पृथ्वीलाई उनीहरूको हातमा सम्पिदिनुभएर त्यसमाथि शासन गर्नलाई तिनीहरूलाई पर्याप्‍त अधिकार दिनुभयो। सोअनुसार कार्यान्वयन गर्न नूह र उनका सन्ततिहरू जिम्मेवार थिए। शिनार मैदानमा मानिसले आफू परमेश्वरबाट स्वतन्त्र हुने दुष्प्रयास गरेपछि मानवीय शासनको प्रबन्ध इन्साफमा अन्त भयो। उक्त इन्साफ थियो भाषाहरूको खलबलको। निम्न खण्डहरूमा हेर्नुहोस्,

उत्पत्ति ९:१,२उत्पत्ति ११:१-४उत्पत्ति ११:५-८

 

(४) प्रतिज्ञा अन्तर्गतको मानिस

बाबेलका निर्माताहरू छरपुष्ट पारिएपछि उनीहरूको सन्ततिबाट परमेश्वरले अब्राम नामक एकजना व्यक्तिलाई बोलाउनुभई उससित एउटा करार बाँध्नुभयो। उहाँले अब्राम र उनका सन्ततिलाई दिनुभएका कतिपय प्रतिज्ञाहरू अनुग्रहपूर्ण र शर्तहीन थिए। ती प्रतिज्ञाहरू या त अक्षरश: पूरा भइसके या त पूरा हुनेवाला छन्। अन्य प्रतिज्ञाहरू भने इस्राएलीहरूको विश्वासयोग्यता र आज्ञाकारितामा निर्भर थिए। ती सबै शर्तहरू उल्लङ्घन हुन गए र फलस्वरूप प्रतिज्ञाको प्रबन्ध इस्राएलको विफलतामा अन्त भयो अनि इन्साफस्वरूप मिश्रको दासत्वमा उक्त प्रबन्धको अन्त भयो।

“आदिमा परमेश्वरले सृष्टि गर्नुभयो” भन्ने अत्युत्कृष्ट शब्दहरूमा प्रारम्भ गरिएको उत्पत्तिको पुस्तक “एक शवपेटिकाभित्र मिश्रमा” भन्ने वाक्यांशमा अन्त भएको पाइन्छ।

उत्पत्ति १२:१-३उत्पत्ति २६:३उत्पत्ति १३:१४-१७
उत्पत्ति १५:५उत्पत्ति २८:१२,१३प्रस्थान १:१३,१४

 

(५) व्यवस्था अन्तर्गतको मानिस

निस्सहाय मानिसको उद्धार गर्न फेरि पनि परमेश्वरको अनुग्रह आइपुग्यो र अत्याचारीको पञ्जाबाट चुनिएको जातिलाई छुटकारा दिलायो। सिनैको उजाडस्थानमा उहाँले उनीहरूलाई व्यवस्थाको करारको प्रस्ताव राख्‍नुभयो। अनुग्रह अन्तर्गत नै रहन विनम्र माग नगरीकन उनीहरूले आत्मविश्वासमा जवाफ दिए: “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं” (प्रस्थान १९:८)। उजाडस्थानको यात्राभरीको र कनान भूमिमा रहँदा समेतको इस्राएलको इतिहास एक बृहत् अभिलेखको रूपमा प्रस्तुत गरिएको पाइन्छ जसमा इस्राएलले व्यवस्थालाई लगातार उल्लङ्घन गरिरहे अनि अन्तमा, थुप्रै चेताउनीहरू पश्चात्, परमेश्वरले व्यवस्था अन्तर्गतको मानिसको परीक्षणलाई इन्साफमार्फत् अन्त गर्नुभयो: पहिले इस्राएल र पछि यहूदा देशबाट निष्कासन गरिए जुन निर्वासन हालसम्मै जारी रहेको छ। एज्रा र नहेम्याहको नेतृत्वमा एक दुर्बल “रेम्नेन्ट” दल (remnant, बचेकाहरू) फर्केर आए जसबाट ठीक समयमा ख्रीष्ट आउनुभयो: “जो स्त्रीद्वारा जन्मनुभयो, व्यवस्थाको अधीनतामा जन्मनुभयो” (गलाती ४:४)। उहाँलाई नै दुवै यहूदी लगायत अन्यजातिहरूले क्रूसमा झुण्ड्याउनलाई षड्यन्त्र गरे। निम्न खण्डहरूमा हेर्नुहोस्,

प्रस्थान १९:१-८ रोमी ३:१९,२० प्रेरित २:२२-२३
रोमी १०:५ २ राजा १७:१-१८ प्रेरित ७:५१

 

गलाती ३:१०

 

२ राजा २५:१-११ 

(६) अनुग्रह अन्तर्गतको मानिस

प्रभु येशू ख्रीष्टको बलिरूपी मृत्युबाट विशुद्ध अनुग्रहको प्रबन्धको प्रारम्भ भयो। अनुग्रहको भन्नाले अयोग्यलाई निगाह भन्ने बुझिन्छ। व्यवस्था अन्तर्गत परमेश्वरले धार्मिकता माग्नुहुन्थ्यो भने अनुग्रह अन्तर्गत परमेश्वरले धार्मिकता दिनुहुन्छ

सिद्ध र अनन्त मुक्ति अब यहूदी लगायत अन्यजातिलाई सित्तैंमा प्रदान गरिएको छ, यो शर्तमा कि उसले पापको स्वीकार गरोस्, अथवा पश्चात्ताप गरोस् र ख्रीष्टमा विश्वास गरोस्।

येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो: “जसलाई उहाँले पठाउनुभएको छ, उनैमाथि तिमीहरू विश्वास गर; यही परमेश्वरको काम हो” (यूहन्ना ६:२९)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ, उसँग अनन्त जीवन छ (६:४७)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, उसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ (५:२४)।

मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, अनि म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछन्। अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्; न ता कसैले तिनीहरूलाई मेरा हातबाट खोसेर लैजान्छ (१०:२७-२८)।

किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ (एफेसी २:८-९)।

अनुग्रह अन्तर्गतको मानिसको परीक्षण कसरी अन्त हुनेछ भनी नयाँ नियममा भविष्यवाणी गरिएको छ: विश्वास नगर्ने संसार र “अपस्टेट चर्च” (apostate church, सत्यलाई परित्याग गर्ने विश्व-मण्डली) को इन्साफ गरिनेछ।

प्रकाश ३:१५,१६२ थेस्सलोनिकी २:७-१२

यस प्रबन्धको अन्तिम घडीमा सर्वप्रथम स्वर्गबाट प्रभु ओर्लनुहुनेछ तब सुतेका पवित्र जनहरू बौराइनेछन् र उनीहरू जिउँदै रहेका विश्वासी जनहरूका साथ प्रभुलाई हावामा भेट्नका लागि उठाइनेछन्: “अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं” (१ थेस्सलोनिकी ४:१६,१७)।

त्यसपछि “महासंकष्ट” भनिने छोटो समयावधि आउनेछ, मत्ती २४:२१,२२; सपन्याह १:१५-१८; दनियल १२:१; यर्मिया ३०:५-७।

त्यसपछि ठूलो सामर्थ्य र महिमासित प्रभु पृथ्वीमा व्यक्तिगत रूपमा आउनुहुनेछ जुनबेला छैटौं प्रबन्धलाई अन्त गर्ने इन्साफहरू कार्यान्वयन हुनेछन् अनि तब सातौं वा अन्तिम प्रबन्धको प्रारम्भ हुनेछ। मत्ती २४:२९,३० र २५:३१-४६ मा हेर्नुहोस्।

(७) ख्रीष्टको व्यक्तिगत शासन अन्तर्गतको मानिस

पृथ्वीमा प्रभुको व्यक्तिगत आगमनका साथ सम्पन्न भएका शुद्धि गर्ने इन्साफहरू पश्चात् उहाँले पुनर्स्थापित इस्राएल र समस्त जगतमाथि एक हजार वर्षसम्म राज्य गर्नुहुनेछ। यस अवधिलाई सामान्यतया अङ्ग्रेजिमा “मलेनियम” अर्थात् “हजार वर्षको राज्य” भनिन्छ। यरूशलेम उहाँको प्रशासनिक केन्द्र बन्नेछ र पवित्र जनहरू, अनुग्रहको प्रबन्धमा उद्धार पाएकाहरू समेत, उहाँको महिमामा सहभागी हुनेछन्। निम्न खण्डहरूमा हेर्नुहोस्, प्रेरित १५:१४-१७; यशैया २:१-४; प्रकाश १९:११,२१; २०:१-६; यशैया ११ पूरै अध्याय।

तर जब शैतान “थोरै समयका लागि…छोडिनेछ” उसले मानिसको प्राकृतिक हृदय पाप गर्नलाई पहिलेजत्तिकै तत्पर भेट्टाउनेछ र उसले सजिलै जातिजातिहरूलाई विद्रोह गर्न सुर्‍याउनेछ — प्रभुको र उहाँका जनहरूको विरुद्ध युद्ध गर्नलाई। फलस्वरूप यो प्रबन्ध पनि अरूजस्तै इन्साफमा अन्त हुनेछ। इन्साफ कार्यान्वन गर्नलाई एउटा “ठूलो सेतो सिंहासन” खडा गरिनेछ जसका सामु बौराइएका मरेका दुष्ट जनहरू खडा गराइनेछन् र उनीहरूको अन्तिम न्याय गरिनेछ। तब “नयाँ आकाश र नयाँ पृथ्वी” – अनन्तता – को प्रारम्भ हुनेछ। प्रकाश २०:३,७-१५; २१ र २२ पूरै अध्यायहरू।

 

अध्ययन प्रश्नहरू

  1. प्रबन्ध के हो?

  2. समय कतिओटा प्रबन्धहरूमा विभाजित छ?

  3. कतिओटा प्रबन्धहरू बितिसके?

  4. प्रबन्धहरूलाई क्रमैसित उतार्नुहोस् र प्रत्येकमा मानिसको प्रारम्भिक अवस्था के थियो, ऊ के गर्नलाई जिम्मेवार थियो, ऊ कसरी विफल भयो र परिणामस्वरूप कुन इन्साफ आइपर्‍यो, छोटकरीमा व्यख्या गर्नुहोस्।

  5. पुरानो नियम कुन प्रबन्धअन्तर्गत लेखियो?

  6. नयाँ नियम?

  7. वर्तमान प्रबन्धको अन्त हुने क्रममा पहिलो घटना कुन हुनेछ?

  8. त्यसको पछि?

  9. त्यसको पछि?

  10. मलेनियम कति लामो हुनेछ?

  11. मलेनियमपछि के छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

Print Friendly, PDF & Email