परिचय

Doctrine

परिचय

 

दोस्रो तिमोथीको दोस्रो अध्यायमा विश्वासीलाई सात प्रकारका व्यक्तिहरूसित तुलना गरिएको छ। उसलाई छोरा (पद १), सिपाही (पद ३), खेलाडी (पद ५), खेतीवाल (पद ६), कामदार (पद १५), भाँडो (पद २१) र दास (पद २४) भनिएको छ।

अनि त्यहाँ प्रत्येक चरित्रलाई सुहाउने अर्ती दिइएको छ। छोराको हैसियतले तिमोथीलाई अनुग्रहमा बलियो हुन अर्ती दिइएको छ। अनुग्रहचाहिँ पुत्रत्वसँग सम्बन्धित कुरा हो भने व्यवस्थाचाहिँ दासत्वसँग, जुन कुरा गलातीको पत्रमा बताइएको छ। सिपाहीको हैसियतले तिमोथीलाई दुःख उठाउन र सांसारिक अङ्कुसहरूदेखि जोगिन अर्ती दिइएको छ। असल सिपाहीमा पाइने गुण यिनै हुन्। भाँडोको रूपमा ऊ शुद्ध र अलग पारिएको हुनुपर्छ। दासको रूपमा ऊ कोमल, धैर्यवान् र नम्र हुनुपर्छ। यसरी ख्रीष्टियन जीवनलाई सात पक्षहरूमा चर्चा गरिएको छ।

पद १५ मा कामदारको हैसियतले उसबाट माग गरिएको कुरा यसरी बताइएको छ:
आफूलाई परमेश्वरकहाँ ग्रहणयोग्य तुल्याउने प्रयत्‍न गर — एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो, जसले सत्यको वचन ठीक-ठीकसँग छुट्ट्याउँछ”।

सत्यको वचनभित्र ठीक-ठीक विभाजनहरू छन्। ती विभाजनहरूलाई ध्यान नदिईकन “एउटा शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो” बन्न असम्भव भएको हुनाले ती विभाजनहरूलाई बेवास्ता गर्ने कुनै पनि बाइबल अध्ययन धेरै हिसाबमा फलहीन र अन्योलग्रस्त हुनेछ। धेरै ख्रीष्टियनहरू इमानदारीतामा यो स्वीकार गर्छन् कि बाइबल अध्ययन गर्ने काम उनीहरूलाई पटाइ लाग्दो छ। अझ थुप्रैको यस्तै अनुभव भएर पनि उनीहरूका लागि उक्त कुरा स्वीकार गर्नु शर्मको कुरा हुन्छ।

यो सानो पुस्तकले सत्यको वचनमा रहेका महत्त्वपूर्ण भिन्नताहरूलाई औंल्याउने प्रयास गरेको छ। यसको विस्तृत अध्ययन गर्न त पूरा बाइबलकै विश्लेषण गर्नुपर्ने हुन्छ। तरैपनि यो विश्वास गरिन्छ कि परिश्रमी पाठकलाई सत्यको मूलधाराहरू चिनाउन र परमेश्वरको वचनको रचनात्मक सुन्दरतालाई महसुस गराउन यहाँ यथेष्ट सामाग्री समावेश छ यद्यपि शारीरिक मानिसलाई बाइबल एउटा बेमेल र विपरित विचारहरूको सँगालो जस्तै लाग्न सक्दछ।

पाठकलाई यस पुस्तिकाकै अधिकारमा कुनै पनि शिक्षा ग्रहण नगर्न, बरु, उत्तम बेरियालीहरूले जस्तै “यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्र शास्त्रहरूमा खोजी” गर्न (प्रेरित १७:११) जोडदार आग्रह गरिन्छ। यहाँ कुनै पनि मानवीय अधिकारलाई आधार बनाइएको छैन। “तर जुन अभिषेक तिमीहरूले उहाँबाट पाएका छौ, त्यो तिमीहरूमा रहिरहन्छ, र कुनै मानिसले तिमीहरूलाई सिकाउने खाँचो छैन” (१ यूहन्ना २:२७)।

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

Print Friendly, PDF & Email