रोमी १:८-१३

रोमी १:८-१३

 

प्रार्थना सम्बन्धी एउटा महत्त्वपूर्ण पाठ

(पावलको नमूना)

यी पदहरूबाट प्रार्थना सम्बन्धी कम्तीमा ८ ओटा कुराहरू सिक्न सक्छौं:

१. प्रार्थनामा धन्यवाद दिने काम समावेश हुनुपर्दछ (पद ८)।

रोममा बस्ने ख्रीष्टियनहरूको निम्ति पावल परमेश्वरप्रति धन्यवादी थिए, विशेष गरी उनीहरूको विश्वासको निम्ति। उनीहरू विश्वासको निम्ति प्रसिद्ध थिए। उनीहरूको विश्वासले विश्वव्यापी नाम कमाएको थियो (दाँज्नुहोस् १ थेस्सलोनिकी १:८ जहाँ थेस्सलोनिकी ख्रीष्टियनहरू पनि आफ्नो विश्वासको निम्ति प्रसिद्ध भएको पाउँछौं)। विश्वास के हो? विश्वासको दुईओटा सरल बाइबलीय परिभाषाहरू रोमी ४:२१ र प्रेरित २७:२५ मा पाउन सकिन्छ। (यस मण्डलीलाई आजको रोमी मण्डलीसित तुलना गर्नुहोस्। रोमन क्याथोलिक चर्चको नामले चिनिने आजको रोमी मण्डली पनि प्रसिद्ध छ तर परमेश्वर र उहाँको वचनमाथिको विश्वासको सट्टामा आफ्नो प्रम्परा, संस्कार, रीतिथिति, पोपको नेतृत्व, इत्यादिको निम्ति प्रसिद्ध छ)। अन्धविश्वास र मुर्तिपूजामा डुबेको रोमी सामराज्यको राजधानीमै सत्य र जीवित परमेश्वरलाई उपासना गर्ने र विश्वास गर्ने व्यक्तिहरू भएकोमा पावल धन्यवादी थिए।

२. प्रार्थना “येशू ख्रीष्टद्वारा” गरिनुपर्दछ (पद ८)।

अन्य कुनै बाटोद्वारा परमेश्वरकहाँ आउन सकिँदैन (यूहन्ना १४:६)। उहाँ हाम्रा महान् मध्यस्त हुनुहुन्छ (१ तिमोथी २:५) र उहाँबिना प्रार्थना असम्भव हुनेथ्यो। यसैकारण हामी “येशूको नाममा” प्रार्थना गर्दछौं।

३. प्रार्थना निरन्तर गरिनुपर्दछ (पद ९)।

रोमीहरूको निम्ति पावलले “निरन्तर” प्रार्थना गर्थे (पद ९; १ थेस्सलोनिकी ५:१७ सित दाँज्नुहोस्)। ग्रीक भाषामा सुख्खा खोकीलाई बयान गर्न यही शब्द प्रयोग गरिन्थ्यो। जसरी सुख्खा खोकी एक व्यक्तिसँग दिनभरि रहिरहन्छ, त्यसरी नै रोमी विश्वासीहरूको निम्ति पावलको प्रार्थनापूर्ण वास्ता उनीसित निरन्तर रहिरहन्थ्यो।

४. प्रार्थना साँच्चीको हुनुपर्दछ (पद ९)।

पावलको साक्षी परमेश्वर हुनुहुन्थ्यो। पावलको प्रार्थनाको जीवनको वास्तविकता परमेश्वर जान्नुहुन्थ्यो। अरुहरूले तपाईंको प्रार्थनाको जीवन देख्न सक्दैनन्, केवल परमेश्वरले मात्र सक्नुहुन्छ। पावलले आफूलाई एक प्रार्थनामय मानिसको रुपमा देखाउन मात्र खोजेका थिएनन्। पावल जान्दथे कि उनको प्रार्थनाको जीवन वास्तवमै थियो र सो परमेश्वर जान्नुहुन्छ भनी उनी जान्दथे।

५. प्रार्थनामा अन्तरविन्ती हुनुपर्दछ (पद ९)।

पावलले यी रोमी विश्वासीहरूका नाम लिँदै प्रार्थना गर्थे। पावलले प्रचारद्वारा धेरै प्राणहरू जिते, साथै आफ्नो प्रार्थनाद्वारा पनि। पावलले आफ्नो प्रार्थनामा क-कसलाई सम्झना गर्थे? रोमी अध्याय १६ मा हामी २६ जनाको नामावली पाउँछौं! (पावल प्रार्थना-सूची राख्ने गर्थे कि?)। तपाईं क-कसका लागि प्रार्थना गर्नुहुन्छ नि?

६. प्रार्थना निश्चित विषयमा गरिनुपर्दछ (पद १०)।

पावलले एक निश्चित विन्ती चढाए। उनले प्रार्थनामा यसरी मागे, “म ________________ ______________ सफलता प्राप्त गर्न सकूँ। जीवनको जतिसुकै सानो कुरा पनि प्रार्थनामा ल्याउन सकिन्छ। भँगेराको निम्ति वास्ता गर्ने परमेश्वर, मैदानका लिली फूललाई पहिराउने परमेश्वर, अवश्य पनि पावलको रोम यात्रको निम्ति पनि वास्ता गर्नुहुन्छ। “कति शान्ति सुख गुमाउँछौं, कति दुःख छ व्यर्थैमा, कारण ईश्वरकहाँ हामी, सब ल्याउँदैन प्रार्थनामा!”

 

७. प्रार्थना, अधीनतामा रहेर गरिनुपर्दछ (पद १०)।

यस महत्त्वपूर्ण वाक्यांशलाई विचार गर्नुहोस्: “परमेश्वरको __________द्वारा” (लूका २४:४२ मा येशूको प्रार्थनासँग दाँज्नुहोस्)। पावलको माग अधिकारयुक्त थिएन न ता आदेश वा आज्ञाको रूपमा नै थियो। उनले केवल एक अनुरोध जाहेर गरे र सो अनुरोध परमेश्वरको इच्छामा भए मात्र पूरा होस् भनी चाहे।

८. प्रार्थना सही लक्ष्यले उत्प्रेरित हुनुपर्दछ (पद ११-१२)।

रोमसम्म “आउनमा सफलता प्राप्त गर्न सकूँ” भनी अनुरोध गर्नुको पछाडि पावलका के कस्ता कारणहरू थिए? पावल किन रोम जान चाहन्थे? १) उनी परमेश्वरको इच्छा पूरा गर्न चाहन्थे (पद १०); २) उनी रोमी विश्वासीहरूलाई चट्टान, ख्रीष्ट येशूमाथि स्थिर पार्न (अर्थात् बलियो बनाउन, दृढ पार्न) चाहन्थे; ३) उनी यी विश्वासीहरूलाई सान्त्वना र उत्साह दिन चाहन्थे (र साथै उनीहरूबाट सान्त्वना र उत्साह प्राप्त गर्न चाहन्थे) – (पद १२)। पावलका कारणहरू असल कारणहरू थिए। पावलको फिक्री परमेश्वरको महिमा र अर्काको भलाइको निम्ति थियो।

परमेश्वरले पावलको प्रार्थनाको जवाफ कसरी दिनुभयो? पावलको रोम जाने ठूलो इच्छा थियो (पद ११—”म अति इच्छा गर्दछु” – १ पत्रुस २:२ हेर्नुहोस् जहाँ उही शब्द प्रयोग भएको छ)। प्रेरित १९:२१ र रोमी १५:२३-२४ पनि हेर्नुहोस्। धेरै पटक पावलले आफ्नो यात्रा-योजनामा रोमलाई पनि समावेश गरे तर प्रत्येक पटक उनलाई अवरोध आइपर्यो (रोमी १:१३ र रोमी १५:२२)। रोम जान चाहनुमा पावलको एउटा कारण रोमी १:१३ मा पाइन्छ। अर्को कारणको सङ्केत प्रेरित ९:१५ मा पाइन्छ। परमेश्वरले उनलाई “राजाहरूको सामु” एक विशेष सेवकाइ दिनुभएको छ भनी पावल जान्दथे अनि रोममा त ठूला राजा अर्थात् सिजर थिए जो सम्पूर्ण रोमी साम्राज्यका सम्राट थिए।

के परमेश्वरले पावलको प्रार्थनाको जवाफ दिनुभयो? के पावल अन्तमा रोम पुगे? अवश्य पुगे तर त्यहाँ उनी आफूले कल्पना नै नगरेको तरिकामा पुगे। परमेश्वरले सधैं हामीले सोचेकै तरिकामा प्रार्थनाको जवाफ दिनुहुन्न। पावलको सफल यात्रा (रोमी १:१०) त भूमध्य-सागरको डरलाग्दो र जोखिमपूर्ण यात्रा पो हुनगयो (प्रेरित २७ मा यसको बयान छ)। अवश्य नै त्यो यात्रा पावलले सोचेजस्तै थिएन। साथै पावल ज्यादै अनौठो परिस्थितिमा रोम पुगे। उनी त्यहाँ एक कैदीको रूपमा पुर्‍याइए! पावलको प्रार्थनाको जवाफ मिल्यो तर ज्यादै असाधारण तरिकाले!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email