अलगपनता – नैतिक

अलगपनता – नैतिक
डेविड क्लाउड
कण्ठ गर्नुपर्ने पदहरू: १ थेस्सलोनिकी ५:२२; याकूब १:२७; १ पत्रुस १:१४-१५
संसारको माने के हो? (१ यूहन्ना २:१५-१७)
यस खण्डमा “संसार” भन्नाले परमेश्वरले सृष्टि गर्नुभएका कुराहरू (रूखबिरुवाहरू, चराचुरुङ्गीहरू, नदीनालाहरू, दयामाया आदि) भन्न खोजिएको होइन। साथै यसले मानव-निर्मित निर्दोष कुराहरूलाई पनि जनाउँदैन। मानव-निर्मित त्यस्ता धेरै कुराहरू छन् र मानव संस्कृतिका कतिपय पक्षहरू छन् जो परमेश्वरको व्यवस्थासित बाझ्दैनन्। यस्ता सबै कुराहरूलाई अपनाउन विश्वासी जन स्वतन्त्र छ।
हामीले प्रेम गर्न नहुने “संसार” भन्नाले मानिसको पतित हृदयसित आवद्ध सबै खराब कुराहरू भन्ने बुझिन्छ (१ यूहन्ना २:१६)। यहाँ हामी देख्छौं कि यी कुराहरूलाई सारांशमा खराब अभिलाषा र घमन्ड वर्गीकृत गर्न सकिन्छ।
माथिका दुई सिद्धान्तहरूलाई हामी जीवनका सबै क्षेत्रहरूमा लागु गर्न सक्छौं। जस्तै, उदाहरणको लागि लिऊँ: नाचलाई। लोक नृत्यका त्यस्ता रूपहरू हुन्छन् जो निर्दोष खालका हुन्छन् जसमा जीउलाई छाडा तरिकाले यता र उता फ्याँक्ने गरिँदैन र आधुनिक नाचको ढङ्ग अनुसार सुखविलासपूर्ण उद्देश्य (hedonism) का निम्ति समर्पित पनि हुँदैन। पहिलो किसिमको नाँच गलत होइन तर दोस्रो चाहिँ प्रतिबन्धित छ। सङ्गीतलाई विचार गरौं। त्यस्ता सङ्गीत हुन्छन् जो निर्दोष खालका हुन्छन् र ती विश्वास नगर्नेहरूद्वारा रचिएका भए तापनि परमेश्वरका छोराछोरीले त्यसलाई बिना आपत्ति सुन्न सक्छन्। तर अर्कोतिर त्यस्ता सङ्गीतहरू छन् जो शारीरिक अभिलाषा र सुखविलासका निम्ति समर्पित हुन्छन् जस्तै, आधुनिक पप सङ्गीत। कुनै पनि कुरा त्यो पापपूर्ण अभिलाषा र घमन्डको वर्गमा पर्छ कि पर्दैन भनेर परमेश्वरको वचनले नाप्नुपर्छ।
“संसार” भन्ने बाइबलको शब्दले त्यस सांसारिक प्रणालीलाई पनि जनाउँछ जुनचाहिँ सर्वशक्तिमान् परमेश्वर र उहाँको व्यवस्थाको विरुद्धमा पतित मानव जातिले सृजना गरेको छ (“कुनै मानिसले यस संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम उसमा हुँदैन”, १ यूहन्ना २:१५)। संसार परमेश्वरको खुल्लमखुल्ला विरोधमा छ र प्रत्येक व्यक्तिले आफ्नो लागि आफै रोज्नुपर्छ: संसार कि परमेश्वर (१ यूहन्ना ५:१९)। यो सांसारिक प्रणाली कयिनको समयमा शुरु भएको थियो जब कयिन परमेश्वरको उपस्थितिबाट निस्केर गयो र संसारकै पहिलो शहर र सभ्यताको स्थापना गर्यो (उत्पत्ति ४:१६-२२)। त्यो मनोरञ्जन र व्यापारले भरिएको एक भव्य सभ्यता थियो, तर त्यो परमेश्वर र उहाँको व्यवस्थालाई परित्याग गरेको संसार थियो जो परमेश्वरबिनै जिउन कटिबद्ध बनेको थियो। यो सांसारिक प्रणाली निम्रोदका दिनहरूमा र बाबेलको धरहरा निर्माणाधीन हुँदा (उत्पत्ति ११) अझ विकसित भयो। परमेश्वरले मानिसलाई पृथ्वीभरि फैलिएर जान आज्ञा गर्नुभएको थियो तर उनीहरू बाबेल इलाकामा जम्मा भए र परमेश्वरका नियमहरूको विपरितमा, मानव घमन्डमा र मूर्तिपूजाको धर्ममा आधारित एउटा समाजको स्थापना गरे। आजसम्म सांसारिक प्रणालीको सार यही नै रहिरहेको छ। शैतानलाई “यस संसारको ईश्वर” भनिएको छ किनकि ऊ नै सांसारिक प्रणालीको शिर हो (२ कोरिन्थी ४:४)।
विश्वासी जन यस संसारसित कस्तो खालको सम्बन्धमा रहनुपर्छ त?
बाइबलीय अलगपनता भनेको संसारबाट छुट्टिएर एक्लै बस्नु (isolation) होइन भन्ने कुरालाई हामी जोड दिन चाहन्छौं। प्रेरितको पुस्तकमा बयान गरिएका शुरुका मण्डलीहरू भागेर पहाडका गुफाहरूमा बस्न र समाजबाट छुट्टिएर एक्लै बस्न गएनन्। उनीहरू गाउँबस्ती र शहरहरूमै बसोबासो गरी त्यहीँ आफ्नो जीवन बिताए र एक अन्धकारपूर्ण संसारमा सुसमाचार प्रचार र पवित्र जीवनद्वारा आफ्ना ज्योतिहरू चम्कन दिए। बाइबलीय अलगपनता सन्यासीवाद (monasticism) होइन। विश्वासी यदि परमेश्वरको वचनअनुसार जिउँदछ भने ऊ त्यत्तिकै फरक बन्नेछ। उसले यूनिफर्मकै रूपमा अनौठो भेषभूषा धारण गर्नुपर्दैन, छुट्टै बस्ती (communalism) बसाल्नुपर्दैन, रहनसहनमा विगतको शैलीमा फर्की जानुपर्दैन जसरी संयुक्त राज्य अमेरिकाका आमीश (Aamish) हरूले अभ्यास गर्न खोजिरहेका छन्।
साथै, बाइबलीय अलगपनता भनेको स्वधर्मीपन (self-righteousness) पनि होइन। आफू एक विश्वास नगर्ने व्यक्ति भन्दा असल छैन र आफू विशेष भएकोले उसले मुक्ति पाएको होइन भन्ने कुरा एक विश्वासीले कहिल्यै बिर्सनुहुन्न। सबै मानिसहरू पापी छन् र परमेश्वरले सारा संसारलाई प्रेम गर्नुभएको हुनाले येशू संसारमा आउनुभएको हो (यूहन्ना ३:१६)। परमेश्वरको अनुग्रहको वरदानस्वरूप उसले प्राप्त गरेको धार्मिकता बाहेक एक विश्वासीसित अरू कुनै धार्मिकता छैन। हामीले संसारलाई हेपाहा दृष्टिकोणले संसारलाई हेर्नुहुँदैन। प्रेरित पावल यो कुरा जान्दथे र उनले आफूलाई पापीहरूमध्येमा “मुख्य” ठान्दथे (१ तिमोथी १:१५)।
१) संसारलाई प्रेम नगर (१ यूहन्ना २:१५)। विश्वासीले आफ्नो हृदयलाई, हृदयको प्रेमलाई र जोशलाई संसारको पकडमा पर्न दिनुहुँदैन भन्ने कुरा यहाँ हामी देख्दछौं। आफैलाई जाँच्ने एउटा राम्रो तरिका हो आफूलाई यो प्रश्न गर्नु: जीवनमा त्यस्तो कुन कुरा छ जसले वास्तवमै मेरो जोश-जाँगरलाई बिउँझाउँछ? म कुन कुराको लागि जोशिलो छु? मेरो जवाफको रूपरङ्ग यदि शरीरको अभिलाषा, आँखाको अभिलाषा वा जीवनको सेखीसित मेल खान्छ भने म परमेश्वरको वचनद्वारा दोषी ठहरिनेछु।
२) संसारसित एकनासे नहोओ (रोमी १२:२)। एकनासे हुनु भनेको ढालिनु, कुनै स्वरूपको आकार-प्रकारमा बनिनु। संसार बेजोडसँग अग्रसर छ, त्यसले भयङ्कर प्रचार गर्छ, प्रलोभनले फसाउन खोज्छ। हामीले आफ्ना जीवनहरू उसको मानदण्डबमोजिम, उसको फेशनबमोजिम, उसका रूपरङ्ग बमोजिम, उसको मनोरञ्जन बमोजिम, उसका सिद्धान्तबमोजिम, उसका दर्शन-विचार बमोजिम व्यतित गरोस् भन्ने चाहन्छ। हामीले यो याद राख्नुपर्छ कि संसारले हामीलाई प्रेम गर्दैन र संसारसित बुद्धि पनि छैन। संसारका मार्गहरूमा हिँड्नु एकदम मूर्खता हो। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र परमेश्वर बुद्धि हुनुहुन्छ अनि उहाँका मार्गहरू ठीक छन्, असल र अनन्त छन्।
३) संसारको मित्र नबन (याकूब ४:४)। फेरि पनि बाइबलले हाम्रो हृदयको प्रेमको कुरा गर्दैछ। मित्र बन्नु भनेको कसैप्रति सकारात्मक, मित्रताको भावना राख्नु हो, उसको साथमा हुन रूचाउनु हो। याकूब जल्दाबल्दा शब्द प्रयोग गर्दछन्। संसारलाई मित्र बनाउनु आत्मिक व्यभिचार हो। परमेश्वर एक डाह गर्ने परमेश्वर हुनुहुन्छ। यस एउटै पदले इमर्जिङ्ग चर्च (emerging church) को र त्यसको “सांस्कृतिक उदारवाद” (cultural liberalism) को भूललाई नाङ्गो पार्दछ। इमर्जेन्टहरूका प्रवचन तथा लेखहरू आर-रेटेड फिलिमहरू र मद्यपान र फोहोर रक ब्याण्डहरू जस्ता संसारका खराब कुराहरूले भरपूर छन्। हिप्स्टर क्रिश्चियानिटी (Hipster Christianity) नामक पुस्तकबाट यो उद्दरणलाई हेर्नुहोस् त: “हिप्सटरहरू … फेशनमा रहेका सङ्गीतका ज्ञाताहरू हुन्। … उनीहरू एचबीओ, शो-टाईम, एफएक्स वा कमेडी सेन्ट्रलतर्फ आकर्षित हुने गर्छन्। … हिप्स्टरका लागि सङ्गीत सर्वोपरि कुरा हो त्यसैले उनीहरू कन्सर्ट धाउन रूचाउनु स्वभाविक हो। … ख्रीष्टिय हिप्स्टरहरू प्रतिबन्धनहरू उल्लङ्घन गर्न … अङ्गप्रत्यङ्गहरू छेड्न, कालो-कालो पहिरन लगाउन, थुप्रै ट्याट्टू हान्न, [रक्सीका] बोतलहरू बोक्न, ल्वाङ्को धुम्रपान गर्न रूचाउँछन्। … मद्यपान, नाच, आर-रेडेड फिलिम, यूएफसी कुस्ती जस्ता कुलतहरू जसबाट पुराना खाले ख्रीष्टियनहरूले भरमग्दुर पर बस्छन् — तिनै कुराहरूलाई मार्क ड्रिस्कोल (Mark Driscoll) उदारतासाथ आत्मसात गर्दछन्।” संसारसितको मित्रता भनेको यो होइन भने कस्तो कुरालाई हो भन्ने त?
हाम्रो अलगपनता कत्तिको सम्झौतारहित हुनुपर्दछ?
प्रायः धेरैको विचारमा हामी संसारबाट केही आधारभूत कुरामा अलगपनता अपनाउनु त पर्दछ तर यसबारे ज्यादै कट्टर र “व्यवस्थावादी” (“legalistic”) हुनुहुँदैन भन्ने छ। पवित्रशास्त्रका निम्न खण्डहरूलाई विचार गर्नुहोस्:
एफेसी ५:११; १ थेस्सलोनिकी ५:२२; याकूब १:२७; १ पत्रुस १:१४-१५
के अलगपनताको सकारात्मक पाटा पनि छ?
२ तिमोथी २:२२ लाई विचार गर्नुहोस्। अलगपनता केवल एक “नकारात्मक” मामिला मात्र होइन भन्ने कुरा यसले सिकाउँछ।
१) अलगपनता आत्मिक र नैतिक सुरक्षाको मामिला हो। तिमोथीलाई “जवानीका अभिलाषाहरूदेखि भाग” भनी अर्ती दिइएको थियो। यसमा कुनै ठूलो खतरादेखि भाग्ने कामको चित्राङ्कन गरिएको छ। परमेश्वरले आफ्ना जनहरूलाई सुखदायी कुराहरूदेखि बञ्चित गर्न चाहनुहुन्न। उहाँ त हरेक असल दानका कर्ता हुनुहुन्छ (याकूब १:१७)। आदम र हव्वालाई सृष्टि गर्नुभएर उहाँले मान्छेको कल्पनाले सोच्न सकिने भन्दा सुन्दर बगैँचामा राख्नुभएको थियो। उहाँले सुन्दर र सुखदायी हरेक कुरा प्रदान गर्न सक्ने गरी उक्त बगानको रचना गर्नुभएको थियो। परमेश्वर मानिसलाई अर्थहीन नियमहरू लादेर नचाहिँदो दुःख दिन चाहने कुनै निर्दयी व्यक्ति हुनुहुन्न। संसारका खराब कुराहरूदेखि अलग रहनुपर्छ भन्ने उहाँको आज्ञाको पछाडि हामीलाई आत्मिक र नैतिक विनाशबाट सुरक्षा दिने उद्देश्य रहेको छ। हामीलाई शैतानको निर्दयी पञ्जाबाट पर राख्नु नै उहाँको यसमा योजना रहेको छ।
२) अलगपनता सङ्गतको मामिला हो। तिमोथीले “शुद्ध हृदयले प्रभुलाई पुकार्नेहरूको साथमा” पवित्रतालाई पछ्याउनुपर्थ्यो। कुनै पनि व्यक्तिको सङ्गतले नीजको जीवनमा भयङ्कर ठूलो प्रभाव पार्दछ। १ कोरिन्थी १५:३३ ले चेतावनी दिन्छ, “खराब सङ्गतहरूले असल चालचलन बिगार्दछ।” गलत समूहसित तपाईं लाग्दै हुनुहुन्छ भने तपाईं भक्तिमय जीवन जिउनुहुनेछैन। कुहिएका स्याउका बीचको एउटा राम्रो स्याउ बिग्रेर छाड्छ।
३) अलगपनता हृदयको मामिला हो। पावलले “शुद्ध हृदय” को उल्लेख गर्दछन्। हृदय यदि ठीक छ भने विश्वासीले खराबबाट अलग होऊ भन्ने प्रभुको आज्ञाप्रति सकारात्मक प्रतिक्रिया देखाउँछ। म बचाइनु अघि मैले आफ्नो केशलाई विद्रोह र घमन्डको झण्डास्वरूप लामो पाल्थेँ। प्रेम वा पैसाको लागि त्यो काट्न म मानिनँ तर म बचाइएपछि एकजना वृद्ध महिलाले लामो कपाल ख्रीष्टको चेलाको नाम लिने जवान मानिसको लागि उचित छैन भनेर मलाई चुनौती दिएपछि मैले आफ्नो कपाल काटेँ। मेरो हृदय परमेश्वरसित ठीक भएकोले मैले त्यो काटेँ किनकि म आफ्नो होइन उहाँको इच्छा पालन गर्न चाहन्थे र मानिसहरूलाई ठेस खुवाउन चाहदिनथेँ।
४) अलगपनता प्रतिस्थापनको मामिला हो। तिमोथीलाई केवल पापपूर्ण कुराहरूदेखि भाग्नलाई मात्र अर्ती दिइएको थिएन, उसलाई पवित्र कुराहरू “पछ्याउन” पनि अर्ती दिइएको थियो। शारीरिक सङ्गीत, सांसारिक फेशन र सांसारिक साथीहरूलाई परित्याग गरेर मात्र पुग्दैन। परमेश्वरको सन्तानले आत्मिक साथीहरू र पवित्र सङ्गीतहरू र उन्नती गर्ने पाठ्य सामग्रीहरू र असल क्रियाकलापहरू पनि जीवनमा थप्नुपर्छ र ख्रीष्टको सेवामा व्यस्त रहनुपर्छ।
केही अन्तिम बुँदाहरू
१) के अलगपनता व्यवस्थावाद (legalism) हो?
होइन, तीतस २:११-१५ ले प्रस्टै सिकाएको छ कि सकली ईश्वरीय अनुग्रहले मानिसलाई सम्झौता नगर्ने, पवित्र, अलगपनताको ख्रीष्टिय जीवनभित्र डोर्याउँदछ।
२) के अलगपनता स्वार्थपूर्ण कुरा हो?
होइन, अलगपनता बुद्धि हो (१ पत्रुस ५:८)। शरीरका अभिलाषा, आँखाका अभिलाषा र जीवनको सेखीबाट पर बस्नु शैतानबाट जोगिने उपाय हो र पापको दास हुनदेखि बच्ने उपाय हो।
३) के अलगपनता ख्रीष्टविपरित कुरा हो?
होइन, ख्रीष्ट पवित्र हुनुहुन्थ्यो र उहाँ पापबाट सधैँ अलग हुनुहुन्थ्यो (हिब्रू ७:२६)। उहाँ पापीका मित्र हुनुहुन्थ्यो तर उहाँ पापको मित्र कहिल्यै हुनुहुन्नथ्यो। इमर्जिङ्ग चर्चले येशूलाई त झण्डै-झण्डै मोजमस्ती गर्ने पार्टीहरूमा डुल्ने व्यक्तिको रूपमा बयान गर्ने गर्छ, तर उहाँ त्यस्तो हुनुहुन्नथ्यो। उहाँले व्यक्तिगत परिस्थितिहरूमा समेत न्यायको बारेमा चेतावनी दिनुभयो र नरकको बारेमा प्रचार गर्नुभयो जोचाहिँ सांसारिक पार्टीको विपरित कुरा हुन्। व्यभिचारमा पक्राउ परेकी स्त्रीलाई उहाँकहाँ ल्याइँदाखेरि उहाँले आफ्नो सुन्दर अनुग्रहले तिनलाई क्षमा गर्नुभयो तर तिनलाई “अबदेखि उसो पाप नगर” भनेर पनि सिकाउनुभयो। त्यो त ज्यादै कट्टर मानदण्ड हो र सांसारिक पार्टीसँग मेल खाने कुरै होइन!
४) अलगपनता किन एकदम अप्रिय मानिन्छ?
इसाईजगतमा यो यति साह्रै अप्रिय मानिनुको कारण यो हो कि हामी २ तिमोथी ४:३-४ मा अगमवाणी गरिएको समयमा जिउँदैछौं जब ख्रीष्टियन भनिनेहरू एउटा नयाँ खाले इसाईमत सृजना गर्नेछन् जसले तिनीहरूलाई उनीहरूको आफ्नै अभिलाषाहरू अनुसार जिउन छुट दिनेछ।
अलगपनता – नैतिक सम्बन्धी पुनरावलोकन प्रश्नहरू
- यूहन्नाले हामीलाई “संसारलाई” प्रेम नगर भन्ने चेतावनी दिँदा उनले कुन दुई कुरा भन्न खोजेका होइनन्?
- मानव-निर्मित केही निर्दोष कुराको उदाहरण दिनुहोस् जसमा विश्वासी जन रमाउन सक्दछ।
- समाज र संस्कृतिका मानव-निर्मित केही निर्दोष कुराको उदाहरण दिनुहोस् जसमा विश्वासी जन रमाउन सक्छ।
- समाजका केही उदाहरणहरू दिनुहोस् जो खराब अभिलाषा र घमन्डको वर्गमा पर्दछन्।
- सांसारिक प्रणालीको शुरुआत कहिले भएको थियो?
- कयिनको शहरको सवालमा कुन कुरा गलत थियो?
- निम्रोदको समाजको सवालमा कुन कुरा गलत थियो?
- कुन पदमा शैतानलाई “यस संसारको ईश्वर” भनिएको छ?
- सन्यासीवाद र छुट्टै बस्ती बसाल्ने काम गलत हुन् भनेर हामी कसरी जान्दछौं?
- कुन पदमा पावलले आफूलाई “पापीहरूमध्यै मुख्य” भन्ने संज्ञा दिएका छन्?
- संसारलाई प्रेम गर्नु भनेको के हो?
- संसारसित एकनासे हुनु भनेको के हो?
- विश्वासी संसारको मित्र हुन नहुने कारण के हो?
- एफेसी ५:११ अनुसार विश्वासीले अन्धकारका निष्फल कामहरूसित कत्तिको सङ्गती गर्न मिल्छ?
- अन्धकारका निष्फल कामहरूको केही उदाहरणहरू के-के हुन्?
- १ थेस्सलोनिकी ५:२२ अनुसार विश्वासी कुन कुराबाट अलग बस्नुपर्छ?
- याकूब १:२७ अनुसार विश्वासीले आफूलाई संसारदेखि कत्तिको अलग राख्नुपर्छ?
- २ तिमोथी २:२२ मा अलगपनताको बारेमा उल्लेखित चारओटा सकारात्मक बयानहरू के-के हुन्?
- परमेश्वरको अनुग्रहले हामीलाई अभक्तिलाई इन्कार गर्न सिकाउँछ भनेर बताउने पद कुन पुस्तकको कुन अध्यायमा छ?
- अलगपनता बुद्धि हो। किन?
- मानिसहरूले आफ्ना निम्ति आफ्नै अभिलाषाहरू बमोजिमका शिक्षकहरू थुपार्ने समय आउनेछ भन्ने चेताउनी कुनचाहिँ अगमवाणीमा उल्लेख छ?
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।