ख्रीष्टको न्यायआसन

Study Series

ख्रीष्टको न्यायआसन

१ कोरिन्थी ३:१०-१५

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: १ कोरिन्थी ३:१०-१५

बाइबलमा विश्वासीको न्यायको बारेमा सबभन्दा विस्तृत शिक्षा प्रकट गरिएको खण्ड यही हो। प्रत्येक विश्वासी उक्त न्यायमा खडा हुने भएकोले हामीले यसमा गहिरो चासो राख्‍नुपर्छ।

ख्रीष्टको न्यायआसनका सामु को-को खडा हुनेछन्?

१) यो मुक्ति नपाएकाहरूको निम्ति होइन तर विश्वासीहरूका निम्ति हो (१ कोरिन्थी ३:११-१२)। यो तिनीहरूका निम्ति हो जसले आफ्‍ना जीवनरूपी भवनहरूलाई ख्रीष्टरूपी जगमाथि बसालेका छन्।

२) मुक्ति नपाएकाहरूको न्याय प्रकाश २०:११-१५ मा बयान गरिएको छ। त्योचाहिँ ठूलो सेतो सिंहासनको न्याय हो जुनचाहिँ थुमाको जीवनको पुस्तकमा नाम नलेखिएकाहरूको निम्ति हुनेछ। तिनीहरू मुक्तिदाताबिहीन भएकाले आफ्‍नै कामहरूको आधारमा न्याय गरिनेछन् र तसर्थ अग्निकुण्डमा अनन्त कष्टमा जानका निम्ति दोषी ठहर्‍याइनेछन्।

ख्रीष्टको न्यायआसनमा प्रकट हुने आगो के हो (१ कोरिन्थी ३:१३)?

१) यसले पवित्रशास्त्रहरूलाई जनाउँछ भन्ने हाम्रो विश्वास हो। प्रथमतः पवित्रशास्त्रलाई आगोको उपमा दिइएको छ (यर्मिया २३:२९)। साथै पवित्रशास्त्रले न्याय गर्नेछ भनिएको छ (भजनसङ्ग्रह ९६:१३; यूहन्ना १२:४८)। पवित्रशास्त्रमा ख्रीष्टको मन छ जसद्वारा हामी न्याय गरिनेछौं (१ कोरिन्थी २:१६)। साथै, पवित्रशास्त्र पूर्ण छ; तसर्थ विश्वासीलाई अरू कुनै कुरा चाहिँदैन र अन्य कुनै कुराद्वारा उसको न्याय हुन सक्दैन (२ तिमोथी ३:१६-१७)।

बाइबलले हामीले यस संसारमा गरेका कामहरूको न्याय गर्नेछ (१ कोरिन्थी ३:१३ “हरेक मानिसको काम”)। यसले हामीले बोलेका कुराहरूको न्याय गर्नेछ (मत्ती १२:३६ “हरेक वचन”)। यसले हामीले आफ्‍नो समयलाई कसरी प्रयोग गरेका छौं (मत्ती १२:३६ “हरेक व्यर्थ”) त्यसको पनि न्याय गर्नेछ। यसले हामीले विश्वास गरेका कुराहरूलाई पनि न्याय गर्नेछ (२ तिमोथी २:१५)।

तसर्थ, ख्रीष्टको न्यायआसनको निम्ति हामी तयार हुनलाई हामीले यस वर्तमान जीवनमा बाइबल पढ्नुपर्छ र त्यसको आज्ञापालन गर्नुपर्छ; हामीले यसलाई अध्ययन गर्नुपर्छ, कण्ठ गर्नुपर्छ, त्यो प्रचारिएको सुन्नुपर्छ, र त्यसको शिक्षामुनि हामी नियमित रूपमा र विश्वासयोग्य भई बस्नुपर्छ।

२) साथै, यसले ख्रीष्ट स्वयंलाई पनि जनाउँछ भन्ने हामी विश्वास गर्दछौं। प्रकाश २:१८-१९ पढ्नुहोस्। येशूका आँखाहरू आगोको ज्वालाको रूपमा बयान गरिएका छन् किनकि उहाँ हाम्रो बारेमा सबै कुरा जान्नुहुन्छ। मेरो न्याय गर्नेवाला मेरा पास्टर होइनन्, मेरो मण्डली होइन, मेरो सम्प्रदाय होइन, मेरा बाबुआमा होइनन्, मेरी पत्नी वा मेरा पति होइनन्, मेरा मित्रहरू होइनन्। विश्वासीको न्याय गर्नेवाला स्वयं ख्रीष्ट आफै हुनुहुनेछ। हाम्रा प्राथमिकताहरू केमा हुनुपर्छ त भन्ने कुरा यसले देखाउँछ। हामी आफैंलाई वा अरूहरूलाई खुशी पार्न जिउनुहुँदैन, तर ख्रीष्टलाई खुशी पार्न जिउनुपर्छ। हामीले ख्रीष्टमा बाहेक अन्य कुनै कुरामा हाम्रो भरोसा राख्नुहुँदैन।

ख्रीष्टको न्यायआसनको उद्देश्य के हो?

१) ख्रीष्टको न्यायआसनको सरोकार मुक्तिसित नभएर सेवासित छ (१ कोरिन्थी ३:८,१०,१३,१५)। मुक्ति एक वरदान हो, इनाम होइन (एफेसी २:८-९)। चौधपटक यसलाई वरदानको संज्ञा दिइएको छ र वरदान भन्ने कुरा इनामको ठीक उल्टो कुरा हो। वरदान (वा उपहार) चाहिँ कसैले किनेर मलाई सित्तैंमा दिइएको कुरा हो। यदि त्यसको निम्ति मैले केही पैसा दिएँ वा त्यो कमाउनलाई मैले अलिकति पनि केही काम गरेँ भने त्यो उपहार हुन छोड्छ। ख्रीष्टले विश्वासीको अनन्त मुक्ति आफैंले किनिदिनुभयो (हिब्रू १:३), आफ्‍नै रगतको ठूलो दाम तिरेर। विश्वासीले यसमा थप्न सक्ने कुनै कुरा छैन। परमेश्वरको अनुग्रहले मैले मुक्ति पाएपछि, मैले मलाई बचाउनुहुने प्रभुको सेवा गर्नुपर्छ (एफेसी २:८-१०), र ख्रीष्टको न्यायआसनले यही सेवाको जाँच गर्नेछ। योचाहिँ एकजना छोरा आफ्‍नो बाबुको निम्ति बाबुको खेतबारीमा वा व्यापारमा काम गरेजस्तै हो। छोरा यदि परिश्रमी छैन भने ऊ छोरा हुन त छोड्नेछैन र बाबुले उसलाई माया गर्न छोड्नेछैन तर उसले पाउने इनाम भने पाउनेछैन जुनचाहिँ यदि ऊ बाबुको सेवामा परिश्रमी र विश्वासयोग्य र इमानदार भएको भए पाउनेथ्यो। विश्वासीले मुक्ति गुमाउन सक्दैन र ऊ अनन्तसम्म सुरक्षित छ भन्ने कुरा सिकाउने नयाँ नियमका खण्डहरूमध्येमा १ कोरिन्थी ३:१५ सबैभन्दा स्पष्ट खण्डहरूमध्येमा एक हो। यदि ख्रीष्टको न्यायआसनमा सबै कुरा गुमाउने शारीरिक विश्वासी “आफैचाहिँ बाँच्नेछ” भने विश्वासीले आफ्‍नो मुक्ति गुमाउन कसरी सम्भव छ र?

२) ख्रीष्टको न्यायआसन सजायँ दिनलाई होइन तर इनाम प्राप्त गर्न वा गुमाउनलाई हो। विश्वासीको सजायँ त ख्रीष्टले क्रूसमा भोगिसक्नुभयो! ख्रीष्टको न्यायआसन ओलम्पिकमा भाग लिने खेलाडीजस्तै हो। ऊ दौडमा हार्‍यो भने उसले आफूले कमाउन सक्ने मुकुट गुमाउँदछ।

ख्रीष्टको न्यायआसनमा कुन कुराको न्याय गरिनेछ (१ कोरिन्थी ३:१२)?

यस पदले दुई किसिमको ख्रीष्टिय जीवनहरूलाई बयान गर्दछ अनि दुवैले आफ्‍ना-आफ्‍नै इनाम पाउनेछन्:

१) एक किसिमको ख्रीष्टिय जीवनलाई “सुन, चाँदी र बहुमूल्य पत्थरहरू” सित तुलना गरिएको छ।

यसले अनन्तसम्म रहने कुराहरूलाई जनाउँछ, जुन कुराको अनन्त मूल्य हुन्छ। जस्तै, त्यो अनन्त शहर, नयाँ यरूशलम, निखुर सुनले बनेको छ (प्रकाश २१:१८)। साथै यसले परमेश्वरसित सम्बन्धित कुराहरूलाई पनि जनाउँछ। जस्तै, भेट हुने पालभित्रको सन्दुक र कृपा आसन, जसले ईश्वरत्वलाई सङ्केत गर्दथ्यो, ती सुनले बनिएका थिए (प्रस्थान २५:१०-११)।

“सुन, चाँदी र बहुमूल्य पत्थरहरू” खाले ख्रीष्टिय जीवनले निम्न कुराहरूलाई समेट्छ: दिन-दिनै ख्रीष्टसितको सङगतीमा हिँड्नु, शरीरमा होइन आत्मामा हिँड्नु, फलदायी प्रार्थनाको जीवन कायम राख्नु, ख्रीष्टको वचनमा मग्न हुनु, ख्रीष्टको मण्डलीलाई प्रेम गर्नु, ख्रीष्टको काममा जोशिलो हुनु, संसारका दुष्ट कुराहरूदेखि अलग रहनु र आफ्‍नो जीवनलाई संसारसित एकनासे हुन इन्कार गर्नु, झूटा शिक्षाहरूदेखि अलग रहनु, भक्तिसाथ जिउने पति वा पत्नी बन्नु, छोराछोरीहरूलाई प्रभुको सेवा गर्नलाई हुर्काउनु, र आत्माहरूलाई ख्रीष्टमा ल्याउनु। यी सबै कुराहरू प्रभुका सामु सुन, चाँदी बहुमूल्य पत्थरहरू हुन् र तिनका लागि प्रशस्त गरी इनाम दिइनेछ।

२) अर्को खाले ख्रीष्टिय जीवनलाई “काठ, घाँस र पराल” सित तुलना गरिएको छ।

यसले मानिस र संसारसित सम्बन्धित कुराहरूलाई जनाउँछ, जुन कुराहरू रहिरहँदैनन् र परमेश्वरको सामु कुनै मूल्यका छैनन्। हुन त काठले र पराल समेतले निर्मित भवनहरू ज्यादै विशाल हुन सक्छन् र यस संसारमा विशेष मान्यता पाउन सक्छन्, तर तिनलाई आगोले जाँच गर्दा ती जलेर नष्ट हुन्छन् र कुनै कुरा बाँकी रहँदैन। धेरै ख्रीष्टिय सेवकाइहरू काठ र परालले बनेका हुन्छन् र ज्यादै विशाल देखिन्छन् र मानिसको नजरमा ज्यादै विशेष देखिन्छन् तर जब ती सेवकाइहरू ख्रीष्टको न्यायआसनमा परमेश्वरको वचनको अपरिवर्तनीय मापदण्डले जाँचिदछन् तब त्यहाँ ठूलो दुःख र हानि हुनेछ।

“काठ, घाँस र पराल” खाले ख्रीष्टिय जीवनले निम्न कुराहरूलाई समेट्छ: आत्मिक जीवनको सट्टा शारीरिक जीवनमा हिँड्नु र पापका मोजमज्जामा आफूलाई सुम्पनु, व्यर्थका थोकहरूमा समय खेर फाल्नु र जीवन छोटो छ र जे ख्रीष्टको निम्ति गरिन्छ त्यो मात्र रहन्छ भन्ने कुरालाई बिर्सेर रित्तो कुरा गर्नु, र अनुचित मात्रामा समय पेशागत खेलकुद, भिडियो गेम र रोमान्स उपन्यासहरू जस्ता कुराहरूमा खर्चनु, परमेश्वरको इच्छाबमोजिम नभएर मूर्ख तरिकामा पैसा खर्च गर्नु, संसारलाई प्रेम गर्नु र आफ्‍नो जीवनलाई त्यसकै मार्गमा ढाल्नु, पवित्रशास्त्रमा बलियो बन्दै त्यसलाई ठीक-ठीक अर्थ लगाउन जान्दै, बढ्दै जानुको सट्टा बाइबलको ज्ञानमा बालकै रहनु, आफ्‍ना आत्मिक वरदानहरूलाई प्रयोग गर्नुको सट्टा तिनलाई लोभीले जस्तै साँचेर मात्र राख्नु, परमेश्वरको घरको बेवास्ता गर्नु, परमेश्वरको वचनको विपरितका कुराहरू सिकाउनु, पति वा पत्नी, बाबु वा आमा भएर पनि आफ्‍नो जिम्मेवारीमा हेल्चेक्र्याइँ गर्नु।

ख्रीष्टको न्यायआसनमा पाइने इनाम के हो?

मत्ती २५:२१-२३ सित दाँज्नुहोस्।

मुकुट: यसले अधिकार र सेवाको स्थानलाई जनाउँछ (प्रकाश २:२६:२७)।

सम्पत्तिहरू: हेर्नुहोस् मत्ती ६:१९-२१; १ तिमोथी ६:१९। यी धनसम्पत्तिहरू अन्तर्गत के‍‍-के पर्नेछन् भनेर हामीलाई बताइएको छैन तर यस संसारमा उहाँको सेवा गर्नेहरूका निम्ति धनसम्पत्तिहरू पर्खिरहेका छन् भन्ने कुरा प्रभु येशूले प्रतिज्ञा गर्नुभएको छ र हामी पक्का हुन सक्छौं कि उहाँका अनन्त धनसम्पत्तिहरूको तुलनामा वर्तमान संसारका सबैभन्दा अमूल्य थोकहरू र सबैभन्दा चाह गर्न सकिने सुखविलासका कुराहरू समेत सबैभन्दा कमसल कवाडी माल जस्तै देखा पर्नेछन्!

“स्याबास!” भन्ने वचन: मत्ती २५:२१ मा हेर्नुहोस्। पक्कै पनि विश्वासीले पाउन सक्ने सबैभन्दा ठूलो इनामचाहिँ प्रभुको स्याबासी हो। यो नपाउनु भनेको चाहिँ येशूलाई गिरफ्तार गरिएको रातमा पत्रुसले गरेको अनुभव जस्तै हुनेछ। पत्रुसले येशूलाई इन्कार गरेपछि उसले आफ्‍नो मुक्तिदाताको चेहरामा भएको आशाभङ्गको हेराइ र दुःखको हेराइलाई सहनुपर्‍यो अनि यही कुराले उसको हृदय चुरचुर भई तोडियो (लूका २२:६१-६२)।

ख्रीष्टको न्यायआसनको शिक्षाले विश्वासीलाई के सिकाउँछ?

१) यसले विश्वासीलाई आत्मिक हुन उत्प्रेरित गराउँछ (१ कोरिन्थी ३:९-१)। पावलद्वारा ख्रीष्टको न्यायआसनको बारेमा दिइएको शिक्षा कोरिन्थको मण्डलीलाई शारीरिकपनको विरुद्धमा चेतावनी दिने र त्यसलाई आत्मिक बन्नलाई चुनौती दिने सन्दर्भमा दिइएको थियो।

२) यसले विश्वासीलाई व्यस्त र विश्वासयोग्य रहनलाई उत्प्रेरित गराउँछ (१ कोरिन्थी ३:९-१०)। हामी ख्रीष्टको न्यायआसनका सामु उभिनुपर्नेछ र हामीले आफ्‍नो जीवनको लेखा बुझाउनुपर्नेछ भन्ने कुरालाई जब हामी सम्झना गर्दछौं तब हामी आफ्‍नो समयलाई उहाँको सेवामा बुद्धिमानीसाथ र विश्वासयोग्यताका साथ प्रयोग गर्न उत्प्रेरित हुन्छौं।

ख्रीष्टको न्यायआसनमा अनुग्रहको कस्तो स्थान हुनेछ?

हेर्नुहोस् १ कोरिन्थी ४:५।

१ कोरिन्थी ३ मा बयान गरिएको न्याय सम्पन्न भइसकेपछि, विश्वासीहरूको पार्थिव जीवन तथा सेवकाइहरूमाथि आगोले आफ्‍नो काम गरिसकेपछि, कसैकसैले सबै कुराको हानि भोगिसकेपछि र आगोबाट उम्केर बाँचेको जस्तै भइसकेपछि, अँ, हरेक मानिसले निःस्सन्देह उसले कमाउन सक्ने थुप्रै इनामहरू गुमाइसकेपछि — यी सब भइसकेपछि पनि हरेक मानिससँग परमेश्वरको प्रशंसा हुनेछ! यो कसरी हुन सक्छ?

१) मुक्तिको सुरक्षाको कारण त्यहाँ प्रशंसा हुनेछ (१ पत्रुस १:४; ३:९; भजनसङ्ग्रह ३४:२२ख)। अनाज्ञाकारी पवित्रजनले हानि भोगे तापनि, ऊ बाँच्नेछ र उसले अनन्त पुत्रत्व र ख्रीष्टले किनिदिनुभएको सम्पत्तिमा रमाहट गर्नेछ। ख्रीष्टमा भएको परमेश्वरको अनुग्रहले मात्र हो विश्वासी प्रकाश २० को ठूलो सेतो सिंहासनको सामु नभएर आफ्‍नो मुक्तिदाताको सामु उभिनेछ।

२) परमेश्वरको कृपाको महानताको कारण प्रशंसा हुनेछ (भजनसङ्ग्रह १०३:८-१४; यहूदा २४)। बाइबलले भन्दछ, जहाँ पाप प्रशस्त भयो त्यहाँ अनुग्रह झन् प्रशस्त भयो (रोमी ५:२०)। परमेश्वर कृपा देखाउन र आशिष दिन रूचाउनुहुन्छ। येशूले भन्नुभयो, एकजना चेलाको नाममा दिइएको एक कचौरा चीसो पानीको निम्ति पनि इनाम दिइनेछ (मत्ती १०:४२)। विश्वासीले उसले पाउनुपर्ने भन्दा यति धेरै प्राप्त‍ गर्नेछ र गुमाउनुपर्ने भन्दा यति थोरै गुमाउनेछ कि ऊ परमेश्वरको कृपा देखेर रमाहट गर्नेछ। दाऊदले व्यभिचार र हत्या जस्ता जघन्य अपराधहरू गरे, तरैपनि नयाँ नियममा यी कुरा उल्लेख छैनन् र उसलाई विश्वासको वीरको रूपमा सूचीत गरिएको छ। अब्राहामले झूट बोले र एक पटक परमेश्वरलाई शङ्का गरे (उत्पत्ति १७:१७), अनि सारा हाँसे र परमेश्वरको प्रतिज्ञामाथि शङ्का गरे (उत्पत्ति १८:१२-१५)। हागारको सम्बन्धमा दुवैले पाप गरे। तर जब हामी हिब्रू ११ अध्यायमा आइपुग्छौं हामी ती कुनै कुराको उल्लेख पाउँदैनौं। हामी केवल उनीहरूको अडिग विश्वास र उनीहरूका आत्मिक विजयहरू मात्र उल्लेख भएको देख्छौं। उनीहरूको क्षणिक लोटाइको उल्लेखै छैन।

३) आफ्‍ना सन्तानहरूको जीवनहरूमा परमेश्वरको अनुशासनको प्रभावकारिताको कारण पनि त्यहाँ प्रशंसा हुनेछ (हिब्रू १२:५-१०; यूहन्ना १५:१-१६)। त्यस दिन हामी देख्‍नेछौं हाम्रा पार्थिव जीवनहरूमा हामीलाई काँटछाँट गर्न, अनुशासन गर्न र ढाल्न परमेश्वरले कसरी काम गर्नुभयो, त्यो देख्नेछौं र परमेश्वरले गर्नुभएको काम देखेर हामी रमाहट गर्नेछौं।

ख्रीष्टको न्यायआसन सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. ख्रीष्टको न्यायआसनमा कसको न्याय हुनेछ?
  2. विश्वास नगर्नेहरूको ठूलो सेतो सिंहासनको न्याय कुन पुस्तकको कुन अध्यायमा भेटिन्छ?
  3. १ कोरिन्थी ३:१३ मा उल्लेख गरिएको आगो के हो?
  4. हामी ख्रीष्टको न्यायआसनको निम्ति कसरी तयार हुन सक्छौं?
  5. प्रकाश २:१८-१९ मा येशूका आँखाहरूलाई किन आगोका ज्वालाको रूपमा बयान गरिएका छन्?
  6. ख्रीष्टको न्यायआसनको सरोकार __________________सित छैन तर ____________________सित छ।
  7. मुक्तिलाई नयाँ नियममा कति पटक वरदानको रूपमा बयान गरिएको छ?
  8. ख्रीष्टको न्यायआसन आफ्‍नो बाबुको निम्ति काम गर्ने एकजना छोराजस्तै हुनेछ। कसरी?
  9. १ कोरिन्थी ३:१५ ले कसरी मुक्तिको अनन्त सुरक्षाको शिक्षा सिकाउँछ?
  10. ख्रीष्टको न्यायआसन ____________________ दिनलाई होइन तर ____________________ पाउन वा गुमाउनलाई हो।
  11. १ कोरिन्थी ३:१२ मा उल्लेख गरिएको “सुन, चाँदी र बहुमूल्य पत्थरहरू” के हुन्?
  12. “सुन, चाँदी र बहुमूल्य पत्थरहरू” खालको ख्रीष्टिय जीवनका केही उदाहरणहरू के-के हुन्?
  13. “काठ, घाँस र पराल” के हुन्?
  14. “काठ, घाँस र पराल” खालको ख्रीष्टिय जीवनका केही उदाहरणहरू के-के हुन्?
  15. ख्रीष्टको न्यायआसनमा दिइने तीन किसिमका इनामहरू के‍‍-के हुन्?
  16. ख्रीष्टको न्यायआसनले विश्वासीलाई कुन दुई प्रकारले उत्प्रेरित गराउँछ?
  17. ख्रीष्टको न्यायअासनमा हरेक विश्वाससँग परमेश्वरको प्रशंसा हुन कसरी सम्भव छ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email