सेभेन्थ-डे एड्भेन्टिजमको इतिहास

डेविड क्लाउड

सेभेन्थ-डे एड्भेन्टिजमदेखि होसियार

सेभेन्थ-डे एड्भेन्टिस्ट (Seventh-day Adventist) सम्प्रदायको शुरुआत सन् १८६० मा अमेरिकाबाट भएको हो। नेपालीमा “सेभेन्थ-डे” को अर्थ “सातौं दिन” हुन्छ र यसले शनिवारको दिनलाई आराधनाको दिन मान्ने कुरालाई इङ्गित गर्दछ। “एड्भेन्टिस्ट” को अर्थचाहिँ “आगमनवादी” हुन्छ र यसले प्रभुको आगमनको घोषणा गर्नका लागि परमेश्वरले उनीहरूलाई चुन्नुभएको हो भन्ने उनीहरूको विश्वासलाई जनाउँदछ। विश्वभरिमा उनीहरूको सङ्ख्या १ करोड ५० लाख रहेको छ। उनीहरूका ६१,००० चर्चहरू २०३ राष्ट्रहरूमा छन्।

सेभेन्थ-डे एड्भेन्टिजमको इतिहास

सेभेन्थ-डे एड्भेन्टिजमको शुरुआत सन् १८०० ताकाको “पुनरागमन लहर” सँगै भएको हो। सन् १८१८ मा विलियम मिलर (William Miller) नामक एक ब्याप्टिष्ट प्रचारकले संसारमा ख्रीष्टको पुनरागमन सन् १८४३ मा हुनेछ भन्ने निष्कर्ष निकाले। त्यो गलत साबित भएपछि तिनले मिति बदलेर अक्टुवर २२, १८४४ लाई पुनरागमनको मिति ठहराए। तिनको यस किसिमको विश्वास खास गरी दनियलको पुस्तकको गलत व्याख्यामा आधारित थियो (जसअनुसार उनले अगमवाणीको एक दिनलाई इतिहासको एक वर्षसित बराबर भएको ठानेका थिए)। दसौं हजार मानिसले मिलरलाई पछ्याए अनि त्यस उत्तेजनापूर्ण माहोलमा अनेक थरीका समूह पैदा भए जसमा सबका सब नै ख्रीष्टको निकट आगमनको प्रतिक्षा गर्दैथिए।

सन् १८४४ पछि मिलरले मिति निर्धारण गर्ने कामलाई परित्याग गरी आफ्नो भूल स्वीकार गरे, तर तिनका कतिपय अनुयायीहरू भने सेभेन्थ-डे एड्भेन्टिस्टवादको स्थापना गर्नपट्टि लागे।

सन् १८४४ मा जेम्स ह्वाइट (James White), जोसेफ बेइट्स (Joseph Bates) आदिले विश्राम दिन (शनिवार) पालन गर्ने अभ्यासको थालनी गरे र पर्चाहरू मार्फत आफ्ना विचारलाई प्रकाशित गरे।

साथै उनीहरूले १७ वर्षीया एलेन हार्मन (Ellen Harmon) का दर्शनहरूलाई पछ्याए। परमेश्वरले तिनलाई सन् १८४४ को अक्टुवरमा “न्यायिक छानबिन” (“investigative judgment”) का लागि येशू स्वर्गस्थित महापवित्रस्थानभित्र प्रवेश गर्नुभएको कुरा देखाउनुभयो भनी तिनले दाबी गरीन्। यो नै एड्भेन्टिस्ट चर्चको आधारभूत शिक्षा हो। कस-कसले उद्धार पाउने र को-कोचाहिँ नष्ट हुने भन्ने कुराको निधो गर्ने उद्देश्यमा येशूले एक‍-एकको लेखा छानबिन गर्न थाल्नुभएको छ भनेर एलेनले सिकाए। प्रकाश १४:९-१२ को “तेस्रो स्वर्गदूतको सन्देश” का बारेमा आफूले एउटा दर्शन पाएकी भनेर पनि तिनले दाबी गरीन्। तिनका अनुसार आइतवारको दिनमा आराधना गर्ने कामचाहिँ पशु (ख्रीष्ट विरोधी) को चिन्ह हो र आइतवार आराधना गर्नेहरूले दण्ड पाउनेछन्। तिनका अनुसार परमेश्वरका आज्ञा पालन गर्नेहरूचाहिँ अन्तिम दिनहरूमा विश्राम दिन पालन गर्नेहरू हुन्। सेभेन्थ-डे एड्भेन्टिस्टहरूले आफ्नो नाउँको आधार यसैलाई बनाएका छन्। तिनीहरू आफूलाई विश्राम दिन पालन गर्ने र ख्रीष्टको आगमनको बाटो तयार पार्ने अन्तिम दिनको मण्डली भएको दाबी गर्छन्।

सन् १८४६ मा एलेन हार्मनले जेम्स ह्वाइटसित बिवाह गरे र ती दुईजना सेभेन्थ-डे एड्भेन्टिस्टका मुख्य अगुवाहरू बने। सन् १८४४ देखि १९१५ को अविधिभित्रमा श्रीमति ह्वाइटले २,००० ओटा दर्शन र सपनाहरू देखे अरे। आफ्ना दर्शनहरूलाई लिखित रूपमा संरक्षित गरिन आज्ञा गरिएको भन्ने दाबी गर्दै तिनले १००,००० भन्दा बढी पन्नाका हस्तलेखहरू निकालिन्।

सेभेन्थ-डे एड्भेन्टिस्टको नेतृत्व वर्गले आफ्नो विश्वासको एउटै आधार बाइबल नै भएको दाबी गर्छन् तर वास्तविक कुरा के हो भने एलेन ह्वाइट (Ellen White) विना सेभेन्थ-डे एड्भेन्टिजमको अस्तित्व नै हुनेथिएन।

तसर्थ, एड्भेन्टिजमको लहर शुरुदेखि नै अबाइबलीय भएको हामी देख्दछौं। यसको नेतृत्व एउटी महिलाद्वारा गरियो जुनचाहिँ पवित्र शास्त्रले निषेध गरेको छ (१ तिमोथी २:१२) अनि यसले ख्रीष्टको आगमन हुने मिति तोक्न खोज्यो जुन पनि निषेधित कुरा हो।

“तर त्यस दिन र त्यस घडीको विषयमा कसैले जान्दैन, अहँ, स्वर्गका दूतहरूले पनि जान्दैनन्, तर मेरा पिताले मात्र” (मत्ती २४:३६)।

“यसकारण जागा रहो, किनभने तिमीहरूका प्रभु कुन घडी आउँछन्, सो तिमीहरू जान्दैनौं” (मत्ती २४:४२)।

“यसकारण तिमीहरू पनि तयार बस; किनभने मानसका पुत्र तिमीहरूले सोच्दै नसोचेको घडीमा आउँछन्” (मत्ती २४:४४)।

“तर त्यस दिन र त्यस घडीको विषयमा कसैले जान्दैन, न ता स्वर्गमा हुने दूतहरूले, न पुत्रले, तर पिताले मात्र। तिमीहरूले होसियार बस, जागा रहो र प्रार्थना गर; किनकि त्यो समय कहिले हुन्छ, तिमीहरू जान्दैनौ” (मर्कूस १३:३२-३३)।

“पिताले आफ्नै अधिकारमा राख्नुमभएका समयहरू वा घडीहरूको विषयमा जान्ने काम तिमीहरूको होइन” (प्रेरित १:७)।

ख्रीष्टको आगमन सम्बन्धी बाइबलले प्रस्टै सिकाएको कुरालाई बेवास्ता गरेकाले एड्भेन्टिस्टहरू भ्रम मार्गमा झन् झन् अघि बढ्दै गए।

यस अध्ययनमा हामी सेभेन्थ-डे एड्भन्टिजमका केही झूटा शिक्षाहरूलाई विश्लेषण गर्नेछौं र तिनलाई बाइबलको सत्यतासित तुलना गर्नेछौं।

झूटा शिक्षा #१ — अनुग्रहसित व्यवस्था मिसाइएको सुसमाचार

उनीहरूको भनाइमा मुक्ति विश्वासद्वारा अनुग्रहले पाइन्छ भन्ने भए तापनि वास्तवमा सेभेन्थ-डे एड्भेन्टिजमले अनुग्रहसित व्यवस्थाका कामलाई जोडेर सुसमाचारलाई अर्कै ढङ्गले परिभाषित गरेको छ।

सेभेन्थ-डे एड्भन्टिस्ट शिक्षाअनुसार, पापीले परमेश्वरको व्यवस्था पालन गर्न सक्नका निमित्त र त्यसद्वारा उसले ठीक चरित्र विकास गरेर ऊ स्वर्गको योग्य बन्न सक्नका निमित्त परमेश्वरले उसलाई दिनुहुने क्षमा र क्षमता नै अनुग्रह हो। जुन व्यक्ति परमेश्वरको अनुग्रहले ठीक चरित्र विकास गर्न विफल हुन्छ ऊ स्वर्ग पुग्दैन अरे। विश्वासीलाई स्वर्गतिर उकास्ने दुई पखेटा विश्वास र काम हुन् भनेर उनीहरू सिकाउँछन्।

यस्ता झूटा शिक्षा सिकाउनेहरूको बयान पावल प्रेरितले सुहाउँदो तवरले गरेका छन्:

“अनि सुटुक्कै भित्र ल्याइएका झूटा भाइहरूले गर्दा, जो हामीलाई बन्धनभित्र हुल्नाका निम्ति ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासूसी गर्नालाई सुटुक्कै भित्र आए” (गलाती २:४)।

मुक्ति सम्बन्धी सेभेन्थ-डे एड्भेन्टिस्टको शिक्षा अतिसूक्ष्म भएको हुनाले चनाखो भई त्यसको प्रमाण प्रस्तुत गरिनु जरूरी छ। सेभेन्थ-डे एड्भेन्टिस्टहरूले सर्वसाधारणका निम्ति छापेका आफ्ना लेखोटमा आफूहरूले विश्वास गरेका कुरालाई प्रायः परिमार्जन गरी प्रस्तुत गरेका हुन्छन्, अरूका दृष्टिमा शास्त्रसम्मत ठानिनलाई। ख्रीष्टिय जन झूटा चर्चहरूको छलकपटदेखि सावधान रहनुपर्छ। तिनीहरू परिस्थिति हेरी जीउको रङ बराबर बदलिरहने छेपारो जस्तै हुन्छन्। तिनीहरू एकातिर शास्त्रसम्मत देखिन खोज्दै भन्छन्, “हामी तपाईंजस्तै हौं”। अर्कोतिर तिनीहरू अनेक थरी झूटा शिक्षा हुल्छन् र विश्वासी जनलाई बाइबलीय मण्डलीबाट खिँचेर लैजान खोज्छन्। यो अचम्मलाग्दो कुरो होइन। नयाँ नियमले बारम्बार झूटा शिक्षकहरूको छलकपटको उल्लेख गरेको छ। येशूले झूटा शिक्षकहरूलाई भेंडाको भेषमा आएका ब्वाँसा हुन् भन्नुभयो (मत्ती ७:१५)। तिनीहरूले धेरैलाई बहकाउन खोज्नेछन् भनी उहाँले चेताउनी दिनुभयो (मत्ती २४:४-५)। पावल प्रेरितले तिनीहरूलाई “छलकपट काम गर्नेहरू” (२ कोरिन्थी ११:३) भन्ने संज्ञा दिए। उनले तिनीहरूको “चलाकी र छलपूर्ण धूर्तता” (एफेसी ४:१४) को उल्लेख गरेका छन्। तिनीहरू “कपट्याइँको कारणले झूट बोल्छन्” (१ तिमोथी ४:२) भनी उनले भनेका छन्।

आउनुहोस्, एड्भेन्टिस्ट प्रकाशनहरूबाट उद्दृत तलका भनाइहरूलाई सतर्क भई विचार गरौं। केवल विश्वासद्वारा अनुग्रहले मुक्ति पाइने कुरामा विश्वास गरेको दाबी गर्दै तिनीहरू अनुग्रहको परिभाषालाई अदल-बदल गर्छन्। अनुग्रहसित व्यवस्था मिसाइएको झूटा सुसमाचार नै यसको नतीजा हो।

सेभेन्थ-डे एड्भेन्टिस्ट पर्चाबाट:

“ख्रीष्टले त्यस धनी जवान शासकलाई जे भन्नुभयो, संसारको हरेक मानिसलाई उही भन्नुहन्छ: ‘तिमी जीवनमा पस्न चाहन्छौ भने आज्ञाहरू पालन गर’ (मत्ती १९:१७)। अर्को शब्दमा, स्वर्ग पस्नका लागि आवश्यक स्तर भनेको परमेश्वरका दस निर्दिष्ट बेहोराअनुसार अर्थात् दस आज्ञाअनुसार निर्माण भएको चरित्र हो… तपाईंको जीवन परमेश्वरको व्यवस्थाको मापदण्डसम्म पुर्‍याउन प्रमुख निर्माता आफैं तपाईंलाई साथ दिन तपाईंसितै र तपाईंभित्र हुनुहुनेछ” (Charles Everson, Saved by Grace, pp. 45-46)।

सेभेन्थ-डे एड्भेन्टिस्ट पत्राचार अध्ययन मालाबाट:

“के तपाई ख्रीष्टियन बन्न चाहनुहुन्छ? … ख्रीष्टकहाँ जाने सिँढी थोरै छन्, बुझ्नलाई सरल र सजिला छन्, र हामी जानकारीका लागि परमेश्वरबाटको मार्गदर्शक पुस्तकमा हेर्नेछौं … विश्वास; ख्रीष्टियन बन्नलाई पहिलो सिँढी यो हो। … दोस्रो सिँढी हो पश्चात्ताप … आफ्ना पापका लागि दुःखित बन्नु र तिनलाई परित्याग गर्नु नै पश्चात्ताप हो … ख्रीष्टियन बन्नका लागि त्यसपछिको सिँढी हो स्वीकार … साँचो पश्चात्ताप र स्वीकार भनेको पाप गर्न छाड्नु मात्र नभएर विगतका भूलहरू सुल्टाउनलाई गर्न सकिने सबथोक गर्नु हो … त्यसपछिको सिँढी बप्‍तिस्मा हो, र यसको प्रमाण प्रेरित २:३८-३९ मा पाइन्छ … पाँचौं, हामीभित्रको ख्रीष्टद्वारा आज्ञापालन … यसरी एउटा ख्रीष्टियन बन्नका लागि चढिनुपर्ने आवश्यक सिँढीहरू खुलस्त भएका छन्: परमेश्वरलाई विश्वास गर्नु, हाम्रा पापको पश्चात्ताप गर्नु र स्वीकार गर्नु, बप्‍तिस्मा लिनु, अनि प्रभुका सबै आज्ञाहरू पालन गर्नु। … ऊ ढलपल होला र लड्ला पनि, तर ऊ अठोटका साथ, परमेश्वरबाटको सामर्थ्य तुल्याउने शक्तिले विजयी बन्नलाई फेरि उठेर अघि नै बढ्दछ। उसले पश्चात्ताप गर्छ, क्षमा माग्छ र सठीक जीवन जिउन ईश्वरीय मद्दत माग्छ भने त्यसरी लडिँदा त्यो उसको विरुद्धमा गनिनेछैन” (New Life Voice of Prophecy Guide, #12)।

एड्भेन्टिजमले यस शिक्षालाई “अनुग्रहद्वाराको मुक्ति” भन्ने नाउँले जनाउँछ, तर प्रभुका प्रेरितहरूले प्रचार गरेको अनुग्रह यो होइन।

1. बाइबलअनुसार, मुक्ति व्यवस्थाका कामविना, केवल अनुग्रहले केवल विश्वासद्वारा पाइन्छ। पढ्नुहोस्: यूहन्ना ३:१६; ६:२८-२९; प्रेरित १५:१०-११; १६:३०-३१; रोमी ३:१९-२५; ४:१-८; ११:६; गलाती ३:१०-१३; एफेसी २:८-१०; तीतस ३:४-७।

ख्रीष्टको शुभ समाचार भनेको व्यवस्थाका काम पैदा गर्ने अनुग्रहद्वारा हामीले मुक्ति पाउने भन्ने होइन। शुभ समाचार भनेको त हामी व्यवस्थाविना नै केवल परमेश्वरको अनुग्रहले केवल विश्वासद्वारा हामीले मुक्ति पाउँछौं भन्ने हो। जो-जो मुक्ति पाउन चाहन्छन् तिनीहरू यिनै महिमापूर्ण सर्तमा आउनुपर्छ, सिद्ध मुक्तिका निमित्त केवल बहाइएको रगतमाथि मात्र भरोसा राख्‍दै आउनुपर्छ।

आ-आफ्नो मुक्तिलाई सिद्ध बनाउने हेतुले मोशाको व्यवस्थामा फर्कने खोज्नेहरू पहिलो शताब्दीका गलातीकै भूल फेरि दोहोर्‍याउनेहरू हुन्।

“हे बुद्धिहीन गलातीहरूहो, सत्यता पालन नगर्नू भनेर कसले तिमीहरूलाई मोहमा पार्‍यो? तिमीहरूको बीचमा त, तिमीहरूका आँखाकै सामु येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको सफासँग देखाइनुभएको थियो। तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु – तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीण छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्ध्याउँछौ? के तिमीहरूले यति धेरै दुःख व्यर्थैमा खप्यौ त? हो भने साँच्चै व्यर्थैमा खप्यौ। यसकारण जसले तिमीहरूका बीचमा सामर्थ्यका कामहरू गर्नुहुन्छ, के यो उहाँले व्यवस्थाकै कामहरूद्वारा गर्नुहुन्छ कि विश्वासको समाचारद्वारा? जसरी अब्राहामले पनि परमेश्वरलाई विश्वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो। यसकारण तिमीहरूले यो कुरा जान – जो-जो विश्वासबाटका हुन्, तिनीहरू नै अब्राहामका सन्तान हुन्” (गलाती ३:१-७)।

नयाँ नियमका यी सुस्पष्ट शिक्षाहरूका बाबजुद पनि मोशाको व्यवस्थामनि आफैलाई राख्‍न जिद्दी गर्नेहरू साँचो मुक्तिदेखि बाहिर छन्। New Life Voice of Prophecy पत्राचार अध्ययन माला जस्ता प्रकाशनहरूमा व्यक्त गरिएका आफ्ना सम्प्रदायका शिक्षाहरू विश्वास गर्ने सेभेन्थ-डे एड्भेन्टिस्ट शिक्षकहरू साँचो मुक्तिदेखि बाहिर रहेकाहरूमध्ये हुन्; तिनीहरू गलाती व्यवस्थावादीहरू हुन्।

“तर त्यस बेला परमेश्वरलाई नचिनेर तिमीहरूले तिनीहरूको सेवा गर्‍यौ, जो स्वभावैले ईश्वरहरू होइनन्। तर अब तिमीहरूले परमेश्वरलाई चिनेपछि, तर बरु परमेश्वरद्वारा चिनिएपछि तिमीहरू कसरी फेरि दुर्बल र निकम्मा प्राथमिक शिक्षाहरूतर्फ फर्किन्छौ? फेरि पनि त्यसको दास हुने इच्छा गर्दछौ? तिमीहरू दिन, महिना, समय र वर्षहरू मान्दछौ। व्यर्थमा मैले तिमीहरूका लागि मेहनत गरें कि भनी मलाई तिमीहरूसँग डर लागेको छ” (गलाती ४:९- ११)।

“हे मेरा साना नानीहरूहो, जबसम्म ख्रीष्ट तिमीहरूमा बनिनुहुन्न, तबसम्म म फेरि तिमीहरूका लागि प्रसूति-वेदनामा हुन्छु; म अहिले नै तिमीहरूका साथमा हुने र आफ्नो सोर बदली गर्ने इच्छा गर्दछु; किनकि तिमीहरूको विषयमा मलाई शङ्का छ” (गलाती ४:१९-२०)।

“जुन स्वतन्त्रताद्वारा ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभयो, त्यसैमा बलियो गरी खडा होओ, र फेरि दासत्वको जुवामनि नजेलिओ। हेर, म पावल तिमीहरूलाई भन्दछु: यदि तिमीहरूले खतना गरायौ भने ख्रीष्टबाट तिमीहरूलाई केही लाभ हुनेछैन। किनकि म फेरि खतना भएको हरेक मानिसलाई चेताउनी दिन्छु – सारा व्यवस्था पालन गर्नाका निम्ति ऊ ऋणी हुन्छ। तिमीहरू, जो व्यवस्थाबाट धर्मी हुन चाहन्छौ, ख्रीष्टबाट अलग भएका छौ, अनुग्रहबाट खसेका छौ। किनकि आत्माद्वारा हामी विश्वासले धार्मिकताको आशाको बाटो हेर्दछौं” (गलाती ५:१-५)।

2. मुक्ति सुनिश्चित कुरा हो। साँचो सुसमाचार अनुसार विश्वासी जन पूर्णतया ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहले बचाइन्छ र निजसँग अनन्त जीवन हुन्छ।

मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि यो पापीले कमाउँदै नकमाएको सित्तैंको वरदान हो (एफेसी २:८-९)।

प्रापकले यदि त्यसको लागि केही गर्छ वा केही तिर्छ भने उक्त “वरदान” उपरान्त वरदान कहलिँदैन।

मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि मुक्ति भनेकै विश्वासी जन परमेश्वरद्वारा धर्मी ठहरिनु हो (रोमी ३:२१-२४)।

“धर्मी ठहरिनु” भन्ने शब्दको अर्थ यही हो। “धर्मी ठहरिनु” र “परमेश्वरको धार्मिकता” भन्ने कुरालाई रोमी ३:२१-२४ मा साटासाट गर्न सकिने गरी प्रयोग गरिएको तथ्यलाई ध्यान दिनुहोस्। साथै, उक्त धार्मिकता “विश्वासद्वारा” प्राप्‍त गरिन्छ, “उहाँको अनुग्रहले सित्तैंमा” पाइन्छ। पापीको मूल समस्या के हो? ऊ धार्मिकताबिहीन हुनु नै होइन र? तसर्थ, परमेश्वरले यदि उसलाई धर्मी ठहराउनुहुन्छ भने उसलाई अब अरू के चाहियो? पापीको अधर्म येशूले लिनुहुन्छ र येशूको धार्मिकता पापीले प्राप्‍त गर्दछ (२ कोरिन्थी ५:२१)।

मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि यो वर्तमानमै हाम्रो स्वामित्वमा हुने कुरा हो।

निम्न पदहरूमा मुक्तिलाई एउटा सम्भावनाको रूपमा नभएर निश्चयताको रूपमा, वर्तमान स्वामित्वको रूपमा बयान गरिएको छ।

  • धार्मिकता, वर्तमान स्वामित्वको कुरा हो (रोमी ५:९)।
  • परमेश्वरसितको शान्ति वर्तमान स्वामित्वको कुरा हो (रोमी ५:१)।
  • परमेश्वरसितको मिलाप वर्तमान स्वामित्वको कुरा हो (रोमी ५:१०)।
  • प्रायश्चित, वर्तमान स्वामित्वको कुरा हो (रोमी ५:११)।
  • अनन्त जीवन वर्तमान स्वामित्वको कुरा हो (१ यूहन्ना ५:११-१३)।
  • परमेश्वरको सन्तान हुनु वर्तमान स्वामित्वको कुरा हो (एफेसी १:५)।
  • ख्रीष्टमा ग्रहणयोग्य बनिनु वर्तमान स्वामित्वको कुरा हो (एफेसी १:६)।
  • पापहरूको क्षमा वर्तमान स्वामित्वको कुरा हो (एफेसी १:७)।
  • ख्रीष्टमा जीवित पारिएको हुनु वर्तमान स्वामित्वको कुरा हो (एफेसी २:१)।
  • स्वर्गको लागि योग्य बनाइएको हुनु वर्तमान स्वामित्वको कुरा हो (कलस्सी १:१२)।
  • अन्धकारको सामर्थ्यबाट छुटकारा पाएको हुनु वर्तमान स्वामित्वको कुरा हो (कलस्सी १:१३)।
  • येशूको राज्यभित्र सारिएको हुनु वर्तमान स्वामित्वको कुरा हो (कलस्सी १:१३)।
  • कृपा, वर्तमान स्वामित्वको कुरा हो (१ पत्रुस २:१०)।
  • पापबाट निको पारिएको हुनु वर्तमान स्वामित्वको कुरा हो (१ पत्रुस २:२४)।

कुनै पनि व्यक्ति या त बाँचेको हुन्छ या त हराएको हुन्छ; ऊ या त पूर्णतया बचाइएको हुन्छ या त पूर्णतया हराएको हुन्छ। मध्यवर्ती स्थिति छैन त्यहाँ, मुक्तितिर बढ्दै जाने वा मुक्तिलाई सिद्ध बनाउँदै लाने कुरै छैन यहाँ। मुक्ति पाउन के तपाईं ख्रीष्टको रगतमा भरोसा गर्दै हुनुहुन्छ, केवल ख्रीष्टको रगतमा? यदि त्यसो हो भने, बाइबलले भन्दछ माथि उल्लेखित सबै आत्मिक आशिषहरू तपाईंका भइसके र तीबाहेक अरू थुप्रै आशिषहरू समेत, र ती सब ख्रीष्टमा सुनिश्चित आशिषहरू हुन्!

मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि यो परमेश्वरको सामु एउटा पूर्णतया नयाँ ओहोदा हो।

मुक्ति भनेको ख्रीष्टमा एउटा पूर्णतया नयाँ ओहोदा हो (रोमी ५:१-२)। पापी जन या त आदममा हुन्छ या त ख्रीष्टमा। यदि ऊ ख्रीष्टमा छ भने उसँग सबै आत्मिक आशिषहरू हुन्छन्।

“हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ” (एफेसी १:३)।

साथै हेर्नुहोस्, रोमी ६:११, एफेसी १:६, १ यूहन्ना ५:१२।

परमेश्वरका सामु विश्वासीको एउटा नयाँ स्थान (ओहोदा) छ, र साथै यस संसारमा उसको दिन-दिनको हिँडाइ पनि छ। उसको नयाँ ओहोदा बदलिन सक्दैन किनकि त्यो पूर्णतया येशूले क्रूसमा हाम्रो लागि गरिदिनुभएको काममाथि बसालिएको बास्तविकता हो। ओहोदा र हिँडाइलाई अल्मल्याउनु सुसमाचारलाई बङ्ग्याउनु हो। एफेसीको पुस्तकलाई विचार गरौं। अध्याय १-३ ले ख्रीष्टमा भएको विश्वासीको नयाँ ओहोदालाई बयान गर्दछ; अध्याय ४-६ ले यस संसारमा हुने विश्वासीको हिँडाइलाई बयान गर्दछ। एफेसी ५:८ ले भन्दछ,

“किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिनीहरू ज्योति हौ; ज्योतिका सन्तानहरूझैं हिँड।”

ख्रीष्टमा विश्वासीको नयाँ ओहोदा छ जुनचाहिँ कहिल्यै बदलिन सक्दैन, अनि उसलाई यस संसारमा उक्त ओहोदासित मिल्ने ढाँचामा हिँड्नलाई अर्ती दिइएको छ। कलस्सी ३:१,३ ले उही कुरा गर्दछ:

“यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहनुभएको छ…किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ।”

उसको नयाँ ओहोदामा एक विश्वासी जन पापको लेखि मरेको छ र ख्रीष्टसित बिउँताइएको छ। उसको अभ्यास (हिँडाइ) मा ऊ उक्त अनन्त बोलावटसित मिल्ने ढाँचामा माथिका कुराहरू खोज्दै जिउनुपर्छ।

विश्वासीको नयाँ ओहोदा उसले नयाँ जन्म पाउने बित्तिकै अनन्तसम्मै सुरक्षित हुन्छ। तर उसको हिँडाइ भने उसको आज्ञाकारिता अनुसार बदलिँदछ।

कस्तो उदेकको मुक्ति! विश्वासीले जति ख्रीष्टमा भएको आफ्नो सुनिश्चित ओहोदालाई बुझ्दछ, त्यति नै हृदयदेखि उसले आफ्नो मुक्तिदाता परमेश्वरको सेवा गर्न चाहनेछ।

मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि विश्वासी जनलाई पापदेखि बचाइने कुरा निश्चित रूपमा प्रतिज्ञा गरिएको छ।

“यसकारण अब उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढ्ता गरी हामी उहाँद्वारा क्रोधबाट बचाइनेछौं। किनकि शत्रु हुँदाखेरि उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसित हाम्रो मिलाप भयो भने मिलाप पाएपछि ता झन् बढ्ता गरी उहाँको जीवनद्वारा हामी बचाइनेछौं” (रोमी ५:९-१०)।

मुक्ति सुनिश्चित हुन्छ भनी हामी जान्दछौं किनकि विश्वासी जन परमेश्वरको शक्तिले सुरक्षित हुन्छ।

“हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले आफ्नो ठूलो दयाअनुसार येशू ख्रीष्टको मरेकाहरूबाटको बौरिउठाइद्वारा एउटा जिउँदो आशाका निम्ति हामीलाई नयाँ गरी जन्माउनुभएको छ; एउटा अविनाशी, निष्कलङ्क र ओइलिएर नजाने पैतृक-सम्पत्तिका निम्ति, जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ; अनि तिमीहरूचाहिँ अन्तिम समयमा प्रकट हुनालाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छौ” (१ पत्रुस १:३-५)।

केवल परमेश्वरको शक्तिको खातिर नै चौथो पदमा उल्लेखित पैतृक-सम्पत्तिलाई आफूले उपभोग गर्ने कुरामा विश्वासी जन निश्चित हुन सक्दछ।

यसको तात्पर्य एकजना व्यक्ति, आफूले चाहेको जस्तोसुकै तरिकाले जीवन व्यतित गरे तापनि उसले “विश्वास गरेको छु” मात्र भनेकै आधारमा, स्वर्ग जान्छ भन्ने होइन। नयाँ गरी नजन्मिकन मुक्ति पाउनु असम्भव छ भनेर प्रभु येशू ख्रीष्टले भन्नुभयो (यूहन्ना ३:३,७); अनि नयाँ जन्म भनेको कुरा त जीवनै परिवर्तन गराउने एउटा आश्चर्यजन अनुभव हो।

“यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्” (२ कोरिन्थी ५:१७)।

जब पापी नयाँ गरी जन्मन्छ, तब उसले परमेश्वरबाट एउटा नयाँ स्वभाव प्राप्‍त गर्दछ। अब उसँग नयाँ चाहनाहरू हुन्छन्। उसभित्र भएको परमेश्वरबाटको स्वभावले उसलाई परमेश्वरको तरिकामा जीवन व्यतित गर्न प्रोत्साहित तुल्याउँछ। उसभित्र अन्तरबास गर्नुहुने पवित्र आत्माले उसलाई पवित्रता र सत्यताको निम्ति चाहना गर्ने झुकाव दिनुहुन्छ। ख्रीष्टलाई मुखले स्वीकार गर्ने तर परमेश्वरको मार्गलाई प्रेम नगर्ने व्यक्ति भनेको त मुक्ति नै नपाएको व्यक्ति हो जो मुक्तिरहित नै देखा पर्नेछ; ऊ या त कपटी हो या त भ्रममा परेको व्यक्ति हो जसले कहिल्यै पनि साँचो मुक्तिलाई पाएकै छैन।

माथिका अध्ययनहरूबाट प्रमाणित कुरा यो हो कि साँचो बाइबलीय मुक्ति सेभेन्थ-डे एड्भेन्टिस्टको अनिश्चयताव्यवस्थावादी समिश्रण बाट पूरै स्वतन्त्र छ। एड्भेन्टिस्ट सुसमाचार झूटो छ।

झूटा शिक्षा #२: विश्रामदिनको पालना

सेभेन्थ-डे एड्भेन्टिस्टवादको शिक्षाअनुसार विश्रामदिन आदम अदनको बगैंचामा छँदै उसलाई दिइएको थियो र सबै मानिसहरूले त्यसलाई पालना गरोस् भन्ने परमेश्वरको मनसाय हो।

“परमेश्वरले अदनमा विश्रामदिनको स्थापना गर्नुभयो; अनि उहाँ हाम्रो सृष्टिकर्ता हुनुभएको कारण हामीले उहाँलाई पुज्नुपर्ने तथ्य जबसम्म रहन्छ, तबसम्म विश्रामदिन त्यस कुराको चिन्ह र सम्झनाको रूपमा रहिरहनेछ। …विश्रामदिन पालना सत्य परमेश्वरप्रतिको निष्ठाको चिन्ह हो” (एलेन ह्वाइट, द ग्रेट कन्ट्रोभर्सी, पृष्ठ ३८६)।

एड्भेन्टिस्टवादको तर्क यस्तो छ: येशू र उहाँका प्रेरितहरूले विश्रामदिन पालन गरे, त्यसैले सबै ख्रीष्टियनहरू त्यसै गर्न बाध्य हुन्छन्।

“…सबै दस आज्ञाहरू ख्रीष्टियन प्रबन्धअन्तर्गत बाध्यात्मक हुन्छन् र तीमध्ये कुनै एउटालाई पनि परिवर्तन गर्ने ख्रीष्टको विचार थिएन भन्ने कुरा यसबाट पुष्टि हुन्छ। तीमध्ये एउटाचाहिँ सातौं दिनलाई विश्रामदिनको रूपमा मान्नुपर्ने आज्ञा हो…” (बाइबल फुटलाइट्स्, पृष्ठ ३७)।

“येशूको नमुना स्पष्ट र अविचलित छ। उहाँको चलन विश्रामदिन पालन गर्ने चलन थियो… तरैपनि संसारमा आज अनौठो परिस्थिति पाउँदछौं। हाम्रो नमुना उही ख्रीष्ट नै हुनुहुन्छ, हाम्रो मार्गदर्शन उही बाइबल नै छ, तर ख्रीष्टियनहरूले मान्ने विश्रामदिन चाहिँ दुइटा छन्…” (जर्ज भान्डिमान्, प्लानेट इन् रिबेलियन, पृष्ठ २७७)।

ख्रीष्टियनहरूले चौथो शताब्दीसम्मै विश्रामदिन पालन गरे अनि त्यसपछि कन्स्टान्टिन (Constantine) ले नियम बदलेर मण्डलीहरूलाई जबरजस्ती आइतबारको दिन आराधना गर्न लाए भनेर एडभेन्टिस्टहरू दाबी गर्छन्।

“कन्स्टान्टिन रोमका सम्राट थिए। उनी सूर्यपूजक थिए साथै उनी चतुर राजनीतिज्ञ पनि थिए। उनी सबैलाई खुशी पार्न चाहन्थे। आफू मूर्तिपूजक छँदै उनले हप्‍ताको पहिलो दिनमा — ‘सूर्यको आदर गर्ने दिनमा’ — सबै सरकारी कार्यालयहरू बन्द गरियोस् भन्ने आदेश जारी गरे। रोममा स्थापित भएको मण्डलीले चाहिँ मूर्तिपूजासित सम्झौता गर्दा शारीरिक फाइदा हुने सजिलैसित देख्न सके… त्यसैले केही थोरै वर्ष बितेपछि आइतबारले स्थान पायो, लाओडेसियाको सभामा रोमको मण्डलीले परमेश्वरको स्पष्ट आज्ञालाई खारेज गर्‍यो र सातौं दिनको सट्टामा हप्‍ताको पहिलो दिन मान्ने आदेश जारी गर्‍यो (प्लानेट इन् रिबेलियन, पृष्ठ २९०)।

बाइबलले के भन्दछ?

  1. विश्रामदिन उत्पत्ति २:२-३ मा उल्लेख भए तापनि, उजाडस्थानमा छँदा इस्राएललाई त्यो नदिइएसम्म विश्रामदिन मानिसलाई सुम्पिएको थिएन (नहेम्याह ९:१३-१४)। आदम लगायत अन्य आदिम पुरुषहरू (patriarchs) [हनोक, नूह, अब्राहाम आदि] ले विश्रामदिन पालन गरे भनेर एलेन ह्वाइट (Ellen White) ले सिकाउनु भनेको उनले बाइबलमा थप-थाप गर्ने अवैध काम गर्नु हो।
  2. विश्रामदिन मानवजाति सबैलाई दिइएको थिएन तर इस्राएल र परमेश्वरको बीचको विशेष चिन्हको रूपमा केवल इस्राएललाई मात्र दिइएको थियो (प्रस्थान ३१:१३,१७)। विश्रामदिन सृष्टिको प्रारम्भदेखि मानवजातिले मान्दै आएको भए, त्यसलाई विशेष चिन्हको रूपमा इस्राएललाई दिन सकिँदैनथ्यो।
  3. एउटा विश्वासी विश्रामदिनको बन्धनभित्र छैन भनेर नयाँ नियमले सिकाउँछ। कलस्सी २:१६-१७ पढ्नुहोस्।

    “यसकारण खानेकुरा वा पिउने कुरा वा चाडको विषयमा वा औंसी वा विश्रामदिनहरूका विषयमा कसैले तिमीहरूको न्याय नगरोस्; यीचाहिँ आउनेवाला कुराहरूको छायाँ हुन्, तर शरीर ता ख्रीष्टको हो” (कलस्सी २:१६-१७)।

  4. विश्रामदिन मुक्तिको एउटा प्रतिरूप थियो।

    “यसकारण परमेश्वरका जनहरूका निम्ति विश्रामदिनको विश्राम बाँकी नै छ। किनकि जसले उहाँको विश्राममा प्रवेश गरेको छ, परमेश्वरले आफ्ना कामबाट विश्राम लिएझैं उसले पनि आफ्ना कामहरूबाट विश्राम लिएको छ” (हिब्रू ४:९-१०)।

    परमेश्वरले सृष्टि गर्ने कामलाई सिद्ध्याउनुभएपछि सातौं दिनमा उहाँले विश्राम जसरी लिनुभयो त्यसरी नै आज एउटा विश्वासी जनले पनि ख्रीष्टले सिद्ध्याउनुभएको काममा विश्राम लिन्छ। परमेश्वरको विश्राममा प्रवेश गर्न, एकजना व्यक्तिले परमेश्वरको कामलाई स्वीकार गर्नुपर्छ र आफ्नै कामबाट विश्राम लिनुपर्छ (यूहन्ना ६:२८-२९); मुक्तिलाई परमेश्वरको सित्तैंको वरदानको रूपमा ग्रहण गर्नुपर्छ।

  5. येशू व्यवस्थाको अधीनतामा जन्मनुभएको हुनाले व्यवस्थाका मागहरू पूरा गर्नलाई उहाँले विश्रामदिन पालन गर्नुभयो। गलाती ४:४-५ पढ्नुहोस्। प्रभु येशू, पापीहरूलाई व्यवस्थाको श्रापबाट छुटकारा दिनलाई र पुत्रत्वको अनन्त स्वतन्त्रताभित्र ल्याउनलाई, आफैं एउटा दास बन्नुभयो र मोशाको व्यवस्थाको अधीनतामा जन्म लिनुभयो।

    “तर जब समय पूरा भयो, तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीद्वारा जन्मनुभयो, व्यवस्थाको अधीनतामा जन्मनुभयो — हामी धर्मपुत्र हुन पाऔं भनेर यस व्यवस्थाको अधीनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिनालाई जन्मनुभयो” (गलाती ४:४-५)।

  6. पावल प्रेरित लगायत शुरुको मण्डलीले विश्रामदिन पालन गरेको थियो भनेर प्रमाणित गर्न सकिन्न। पावल, विश्रामदिनमा सभाघरहरूमा भेला भएका यहूदीहरूलाई सुसमाचार प्रचार गर्न गएको कुरा सत्य हो, तर यसको अर्थ उनले विश्रामदिन पालन गरे भन्ने होइन। बाइबलअनुसार पावल विश्रामदिनमा सभाघरहरूहुँदो जानुको उद्देश्य सुसमाचार प्रचार गर्नलाई थियो। पावलको इच्छा ख्रीष्ट प्रचार गर्नु थियो। आफ्नै जाति यहूदीहरूका लागि उनको ठूलो बोझ थियो। त्यसैले उनी ख्रीष्ट प्रचार गर्न यहूदीहरू जहाँ थिए त्यहीँ जाने गर्थे। प्रेरित १३:१४-४४; १६:१३-१४; १७:२-४; १८:४ मा हेर्नुहोस्।
  7. शुरुका ख्रीष्टियनहरू विश्रामदिनमा नभएर पहिलो दिनमा नै भेला हुन्थे र आराधना गर्थे भन्ने कुराको थुप्रै प्रमाणहरू बाइबलमा र अन्यमा पनि भेटिन्छ।
  • पहिलो दिनमा येशू मरेकाहरूबाट बौरनुभयो (मर्कूस १६:९)।
  • पहिलो दिनमा येशू प्रथम पटक आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो (मर्कूस १६:९)।
  • पहिलो दिनमा येशू आफ्ना चेलाहरूसित फरक-फरक ठाउँमा भेट गर्नुभयो (मर्कूस १६:९-११; मत्ती २८:८-१०; लूका २४:३४; मर्कूस १६:१२-१३; यूहन्ना २०:१९-२३)।
  • पहिलो दिनमा येशूले चेलाहरूलाई आशिष दिनुभयो (यूहन्ना २०:१९)।
  • पहिलो दिनमा येशूले चेलाहरूलाई पवित्र आत्माको वरदान प्रदान गर्नुभयो (यूहन्ना २०:२२)।
  • पहिलो दिनमा येशूले चेलाहरूलाई सुसमाचार प्रचार गर्नलाई आदेश दिनुभयो (यूहन्ना २०:२१ र मर्कूस १६:९-१५ तुलना गर्नुहोस्)।
  • पहिलो दिनमा येशू स्वर्गमा उठाइनुभयो, पिताको दाहिने हातमा बस्नुभयो, र सबैका शिर तुल्याइनुभयो (यूहन्ना २०:१७; एफेसी १:२०)।
  • पहिलो दिनमा प्रथम पटक बौरिउठ्नुभएका ख्रीष्टको सुसमाचार प्रचारिएको थियो (लूका २४:३४)।
  • पहिलो दिनमा येशूले चेलाहरूलाई पवित्रशास्त्रहरूको अर्थ खोलिदिनुभयो (लूका २४:२७,४५)।
  • पहिलो दिनमा पवित्र आत्मा ओर्लिआउनुभयो (प्रेरित २:१)। पेन्टेकोस्ट, डोलाइने बलिको विश्रामदिनपछिको ५० औं दिनमा पर्थ्यो (लेवी २३:१५-१६)। त्यसैले पेन्टेकोस्ट सधैं आइतबारमा पर्थ्यो।
  • ख्रीष्टियनहरू आराधना गर्न पहिलो दिनमा भेला हुन्थे (प्रेरित २०:६-७; १ कोरिन्थी १६:२)।

त्यसबेलादेखि बहुसङ्ख्यक ख्रीष्टियनहरू आराधना गर्न हप्‍ताको पहिलो दिनमा जुट्दै आएका छन्। उनीहरू आफ्नो मुक्तिदाताको बौरिउठाइलाई आदर गर्दै त्यसो गर्दै आएका छन्। ख्रीष्ट विश्रामदिनमा चिहानभित्र हुनुहुन्थ्यो र पहिलो दिनमा उहाँ मरेकाहरूबाट बौरिउठ्नेमा जेठो भइकन बौरनुभयो। विश्रामदिनले पुरानो सृष्टिको अन्तिम दिनलाई सङ्केत गर्छ (उत्पत्ति २:२)। आइतबार नयाँ सृष्टिको प्रथम दिन हो।

  1. आइतबार विश्रामदिन होइन। बाइबल-विश्वासी ख्रीष्टियनहरू आइतबार जुटेर विश्रामदिन पालन गर्दैनन्। नयाँ नियमको विश्वासीले मोशाका व्यवस्थाका कामहरूदेखि छुटकारा पाएको छ। विश्वासीहरूलाई पवित्र दिनहरूको सवालमा न्याय गर्नुहुँदैन भनेर रोमी १४:१-३ र कलस्सी २:१६-१७ ले प्रस्टै बताउँछ। गलातीहरूले पवित्र दिनहरू मान्न थालेकाले उनीहरूले मुक्ति पाएका छैनन् कि भनेर पावल प्रेरितलाई डर लागेको थियो! गलाती ४:१०-११, २० पढ्नुहोस्।
  2. आइतबारलाई स्थान दिनु नै पशुको चिन्ह हो भन्ने धारणा बाइबलमा पाइँदैन। उक्त धारण एलेन ह्वाइटबाट आएको हो। ख्रीष्टविरोधीले “ठहर्‍याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्‍न गर्नेछ” (दानिएल ७:२५) भन्ने कुरा सत्य हो, तर यो विश्रामदिन वा आइतबारको कुरा गरिएको हो भनेर बाइबलले कहीँ बताएको छैन। ख्रीष्टविरोधीले कुन-कुन व्यवस्थाहरू फेर्नेछ भनेर बाइबलले खुलस्त बताउँदैन।

झूटा शिक्षा #३: प्राण स्वाप (Soul-Sleep )

सेभेन्थ-डे एड्भेन्टिस्ट मण्डलीले यो सिकाउँछ कि मृतकहरू न ता स्वर्ग जान्छन् न नरक जान्छन् तर बौरिउठाइको दिनसम्म तिनीहरूका प्राणहरू चिहानभित्र अचेत अवस्थामा सुतिरहन्छन्।

“मरेको हुनु भनेको स्वर्ग जानु होइन; नरक जानु होइन; पर्गेटरी जानु होइन। अँ, मरेको हुनु भनेको कतै जानु होइन। यसको मतलब केवल जीवनको अन्त हुनु हो। …मृत्यु भनेको जीवन रोकिनु हो, जीवनरहित हुनु हो, जीवनको ठीक विपरितमा हुनु हो। … ऊ अब जिइरहेको छैन; उसको शरीर जिइरहेको छैन; उसको प्राण जिइरहेको छैन; उसको आत्मा जिइरहेको छैन; उसको मन जिइरहेको छैन। विचार-शक्ति अन्त हुन्छ, चेतना अन्त हुन्छ, समझ-शक्ति अन्त हुन्छ, ज्ञान अन्त हुन्छ, विचार अन्त हुन्छ” (When A Man Dies, p. 20)।

एड्भेन्टिस्टवादले यो सिकाउँछ कि शरीर र प्राण मृत्युको घडीमा अलग-अलग हुन सक्ने तत्त्वहरू होइनन्।

“शरीर मरेर सुत्‍न जाँदा मान्छेको प्राण उसको एउटा छुट्टै, चेतनशील भागको रूपमा रहिरहन्छ भन्ने अर्थमा कतै प्रस्तुत छैन… मान्छेको प्राण उसको साससँगै आउँछ; उसको साससँगै जान्छ। … शरीरबिना त्यो कुनै काम वा शक्तिमा प्रकट हुन वा क्रियाशील हुन सक्दैन, शरीरबिना त्यसको कुनै अस्तित्व नै छैन…” (When A Man Dies, pp. 32,33)।

आत्माचाहिँ सास हो भनेर उनीहरू सिकाउँछन्।

“…अय्युब २७:३ लाई ध्यान दिनुहोस्: ‘मेरो शरीरमा प्राण रहुञ्जेल, र परमेश्वरको सास [आत्मा] मेरो नाकमा रहुञ्जेल।’ फेरि यहाँ आत्मालाई ‘सास’ भनी रूपान्तर गर्न सकिन्छ भन्ने कुरा पाउँदछौं। पवित्र शास्त्रमा यी दुई शब्दहरू प्रायः साटासाट गर्न सकिने गरी प्रयोग भएका छन्। … अब सुन्नुहोस्। ‘र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भए।’ परमेश्वरले मानिसलाई एउटा जिउँदो प्राण दिनुभयो भनेर हामीलाई पवित्र शास्त्रमा कतै बताइएको छैन। जीवनको साससित शरीरको मिलन भयो र फलस्वरूप मानिस जीवित प्राणी भएको हो। …यो स्पष्ट छ कि मानिसले परमेश्वरबाट पाएको र उसको मृत्यु हुँदा परमेश्वरकहाँ फर्की जाने आत्माचाहिँ परमेश्वरले उसको नाकभित्र राख्‍नुभएकै कुरा हो। …जब ऊ मर्छ तब ती दुई छुट्टिन्छन्। माटो भूमिमा फर्की जान्छ। सास, अथवा जीवनको झिल्कोचाहिँ, सो दिनुहुने परमेश्वरकहाँ फर्केर जान्छ, चाहे त्यो पवित्र जनको होस् वा पापीको। जिउँदो, भावनाशील, गतिशील प्राण कतै जाँदैन। त्यो केवल एक चेतनशील तत्त्व हुन छाड्छ जबसम्म बौरिउठाइको बिहान हुँदैन जुनबेला शरीर र जीवनको सासको पुनर्मिलन हुँदछ। यो नै विशुद्ध र सरल पवित्र शास्त्र हो!” (Planet in Rebellion, pp. 320-323)

बाइबलले के भन्दछ?

१) पवित्रशास्त्रमा “प्राण” भन्ने शब्द विभिन्न अर्थमा प्रयोग भएको छ। कहिलेकाहिँ यसले सम्पूर्ण मान्छेलाई जनाउँछ। तर धेरैपटक यसले मृत्युपछि शरीरभन्दा छुट्टै अस्तित्वमा रहने मानिसको एउटा चेतनशील, अभौतिक भागलाई जनाउँछ। बाइबलका शब्दलाई तिनलाई भेटिने प्रसङ्गबाट परिभाषित गरिनु आवश्यक छ।

पुरानो नियममा प्राणलाई मानिसको अभौतिक, चेतनशील भागको रूपमा प्रस्तुत गरिएको छ भन्ने उदाहरणस्वरूप उत्पत्ति ३५:१८ र १ राजा १७:२१-२२ लाई लिन सकिन्छ। उत्पत्ति ३५ मा राहेलको मृत्युको उल्लेख भएको छ, र हामीलाई यो बताइएको छ कि जब उनी मरिन् उनको प्राणले बिदा लिए। “तिनको प्राण जाने बेलामा (किनभने तिनी मर्न लागिन्) …” १ राजा १७ मा एकजना ठीटा मरेर पनि एलियाको माध्यमद्वारा फेरि बौराइए। बाइबलले स्पष्टै भन्छ कि उनको प्राण बिदा भएर फेरि फर्की आयो: “…हे परमप्रभु मेरा परमेश्वर, फेरि यस बालकको जीवन [प्राण, soul] यसमा फर्कोस्। परमप्रभुले एलियाको पुकार सुन्नुभयो, र त्यसमा जीवन [प्राण, soul] फर्क्यो र त्यो बाँच्यो।” यो प्रस्ट छ, प्राण र मृत्युका बारेमा एलियाको धारणा एड्भेन्टिस्टहरूको जस्तै थिएन।

नयाँ नियममा पनि “प्राण” भन्ने शब्द मानिसको शरीरभन्दा छुट्टै आत्मिक भागलाई जनाउन प्रयोग भएको छ। “… अब शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूरा रीतिले पवित्र पारेका होऊन्; अनि तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनसम्म दोषरहित अवस्थामा सुरक्षित राखिएका होऊन्” (१ थेस्सलोनिकी ५:२३)। मानिस तीन-खण्डे प्राणी हो भनेर यहाँ हामीलाई बताइएको छ। पावलले मानिस भनेकै प्राण हो भन्दैनन्; बरु उसँग प्राण हुन्छ भनेर भन्छन्।

२) पवित्रशास्त्रमा “आत्मा” भन्ने शब्द पनि विभिन्न अर्थमा प्रयोग भएको छ। “प्राण” भन्ने शब्द सम्पूर्ण मान्छेलाई जनाउन सधैं प्रयोग नगरिएर बरु धेरैपटक मानिसको अभौतिक भागलाई जनाउन प्रयोग गरिएजस्तै, “आत्मा” भन्ने शब्द पनि सधैं सास भन्ने अर्थमा प्रयोग गरिएको छैन। आत्मा धेरैपटक मानिसको चेतनशील, अभौतिक भागलाई जनाउन प्रयोग गरिएको छ जुन भाग उसको शरीरभन्दा छुट्टै हुन्छ र मृत्युको घडीमा शरीरदेखि अलग्गिन्छ।

यस अर्थमा “आत्मा” भन्ने शब्द “हृदय” भन्ने शब्दसित साटासाट गर्न मिल्ने गरी उत्पत्ति ४५:२६-२७ मा प्रयोग गरिएको छ। “यो कुरा सुनेर तिनको हृदय-गति नै रोकियो [heart fainted] किनकि तिनले उनीहरूको कुरा पत्याएनन्। तर उनीहरूलाई भनिपठाएका योसेफका सबै कुरा सुनेपछि र आफूलाई ल्याउन भनी योसेफले पठाएका गाडाहरू देखेपछि उनीहरूका बाबु याकूबको होश [आत्मा, spirit] फर्क्यो।” यो स्टष्टै छ कि यहाँ आत्मालाई सासको अर्थमा लिइएको छैन! प्रस्थान ६:९ मा इस्राएलका सन्तानहरूलाई आत्माको नैराश्य [anguish of spirit] भएको कुरा उल्लेख छ। के उनीहरूको भएको नैराश्य सासको नैराश्य हो त! यो त अनर्थ हो। पवित्रशास्त्रमा “आत्मा” भन्ने शब्द सासभन्दा बेग्लै कुरा हो भन्ने प्रस्ट छ। फेरि प्रस्थान ३५:२१ मा भेट हुने पालको निर्माणका लागि योगदान दिनेहरूको वर्णन यसरी गर्दछ, “जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन [spirit] इच्छुक भए।” व्यवस्था २:३० यसको अर्को उदाहरण हो। यहाँ हामी परमेश्वरले राजा सीहोनका मन अर्थात् आत्मा [spirit] लाई कठोर बनाउनुभएको कुरा पढ्छौं। १ राजा २१:५ मा राजा आहाबको आत्मा दुःखित [sad spirit] भएको (नेपाली बाइबलमा, “ठुस्केको”) कुरा पढ्छौं। अवश्य नै कुनै पनि यी खण्डहरूमा आत्मा भनेको सास भनेर अर्थ लगाउन सकिन्न। आत्मा भनेको सास हो भन्ने सीमित अर्थ लगाउने सेभेन्थ-डे एड्भेन्टिस्टको शिक्षा बाइबलकै अर्थ विपरित छ।

३) नयाँ नियमले मृत्यु भनेको आत्माले शरीरलाई छोडेर जानु हो भनेर स्पष्ट बयान गर्दछ। जब हामी नयाँ नियममा आइपुग्छौं, पुरानो नियमको अध्ययनपछि बाँकी हुन सक्ने कुनै पनि अनिश्चतताहरू पूर्ण प्रकाशको उज्यालोमा बिलाएर जान्छ। नयाँ नियमभरि नै मृत्युको सम्बन्धमा एउटै एकनासको शिक्षा पाइन्छ। यहाँ मृत्यु आत्माले शरीरलाई छोड्ने कार्यको रूपमा देखिन्छ। मृत्यु भनेको अलग हुनु हो, समाप्‍त हुनु होइन। (आदम र हव्वाले फल खाएकै दिन यही अर्थमा मरेका हुन्। उनीहरूको आत्मिक मृत्यु भएको हो। उनीहरू “पाप र अपराधहरूमा मरेका” हुन्। पछिबाट उनीहरू भौतिक रूपमा पनि मरे अनि प्राण शरीरदेखि अलग हुन गयो।) मृत्युको शास्त्रसम्मत शिक्षा नयाँ नियमको युगभरि नै यही नै रहँदै आएको छ।

मृत्यु भनेको आत्माले शरीरलाई छोडेर अर्कै चेतनशील अस्तित्वमा जानु हो भन्ने कुरा विश्वास गर्नका लागि नयाँ नियमले प्रदान गरेका आधारहरू यस प्रकार छन्।

पहिलो, मर्ने त शरीर हो (याकूब २:२६)।

दोस्रो, मृत्यु एउटा छोडेर जाने कार्य हो भनेर पावलले गवाही दिएका छन्। हेर्नुहोस्, २ कोरिन्थी ५:६-७; फिलिप्पी १:२३-२४; र २ तिमोथी ४:६।

तेस्रो, क्रूसमा टाँगिएको कुकर्मीलाई येशूले दिनुभएको प्रतिज्ञाले मृत्यु भनेको छोडेर जाने कार्य हो भन्ने कुरा देखाउँछ। “अनि येशूले उसलाई भन्नुभयो: “म तिमीलाई साँच्चै भन्दछु, आज नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ।” एड्भेन्टिस्टहरूको दाबी छ, यो पद ठीक प्रकारले अनुवाद भएको छैन। “आज नै” लाई “म तिमीलाई साँच्चै भन्दछु” को अगाडि राखिनुपर्छ अरे। कुनै पनि बाइबल अनुवाद यसरी गरिएको छैन। यो केवल झूटा एड्भेन्टिस्ट शिक्षासित मिलाउनका लागि यो खण्डलाई टेढामेढा पार्ने प्रयास मात्र हो। प्रभु येशू ख्रीष्टले त्यस पश्चत्तापी कुकर्मीलाई ऊ त्यही दिन उहाँसित स्वर्गलोकमा हुनेछ भनेर उसलाई प्रतिज्ञा गर्नुभएको हो।

चौथो, लाजरस र धनी मानिसको बयानले मृत्यु भनेको बिदा हुने कार्य हो भनेर देखाउँछ।येशूले यस बयानमा व्यक्ति विशेषका नामहरू प्रयोग गर्नुभएकोबाट यो एउटा दृष्टान्त मात्र नभई वास्तविक ऐतिहासिक घटना हो भन्ने प्रमाणित गर्दछ। प्रभुका दृष्टान्तहरूमा यस्ता विवरण पाइँदैनन्। अनि यदि यो एउटा दृष्टान्त नै भएको भए तापनि यसले वास्तविक सत्यता नै सिकाएकै ठहरिन्थ्यो। “… त्यो माग्ने मर्‍यो, र स्वर्गदूतहरूद्वारा अब्राहामको काखमा पुर्‍याइयो; त्यो धनी मानिस पनि मर्‍यो, र गाडियो। अनि नरकमा भयानक पीडामा तड्पिँदै त्यसले आफ्ना आँखा उठायो…” (लूका १६:२२-२३)। यस खण्डले मृत्युचाहिँ प्राणलाई कि स्वर्ग कि नरक पुर्‍याउने पृथ्वीबाटको बिदाइ हो भन्ने कुरा सिकाउँदछ।

पाँचौं, मरेर गएका पवित्र जनहरू बौरिउठाइको घडी तथा बाँचेकाहरूको र्‍याप्चरको घडीमा ख्रीष्टसित स्वर्गबाट फेरि आउनेछन्। यस कुराले देखाउँछ कि मरेका पवित्र जनहरू उनीहरू मृत्यु हुँदा स्वर्ग जान्छन्। “किनकि येशू मर्नुभयो र बौरेर उठ्नुभयो भनी हामी विश्वास गर्दछौं भने उसरी नै येशूमा सुतेकाहरू पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ” (१ थेस्सलोनिकी ४:१४)। बाइबलअनुसार, एड्भेन्टिस्टहरूको दाबीको बाबजुद, मृतकहरू चिहानभित्र सुतिरहेका छैनन्। बरु उनीहरू स्वर्गमा छन् र उनीहरू त्यहाँबाट येशूसँगै फेरि आउनेछन्!

छैटौं, यूहन्नाले देखेका स्वर्गीय दर्शनहरूले [सङ्कष्टकालमा] मरेका पवित्र जनहरू उनीहरूको बौरिउठाइको दिन नआएसम्म र संसारमा हुने सङ्कष्टकालको अवधिभरि स्वर्गमा अवस्थित भएको देखाउँछ। प्रकाश ६:९-११ पढ्नुहोस्। यो अर्को अकाट्य गवाही हो कि मरेर गएका पवित्र जनहरू चिहानमा सुतिरहेका छैनन् तर पृथ्वीमा हुनेवाला ख्रीष्टको दोस्रो आगमनका लागि पर्खेर स्वर्गमा नै वास गरिरहेका छन्।

सातौं, एउटा पहाडमाथि प्रभु येशूको रूप परिवर्तन हुँदा मोशा र एलिया देखा पर्नाले मृतकहरूको मृत्यु भएपछि उनीहरू बौरेर नउठेसम्म चेतनशील अवस्थामा रहेका हुन्छन् भन्ने कुरालाई प्रमाणित गर्दछ। लूका ९:२८-३३। पत्रुस र अन्य प्रेरितहरूले भविष्यमा हुने हजार वर्षे राज्यको केवल एक दर्शनमात्र देखिरहेका थिएनन् भन्ने कुरा मोशा र एलिया उहाँको हुन लागिरहेको मृत्युका बारेमा प्रभुसित कुरा गरिरहेको तथ्यले पुष्टि गर्दछ। मोशा र एलिया मरिसकेका भए तापनि उक्त पहाडमाथि देखा परे र यरूशलेममा चाँडै हुन आउने घटनाका बारेमा कुराकानी गरे। मोशा र एलिया चिहानभित्र सुतिरहेका छैनन् भन्ने कुरा यसबाट छर्लङ्गै देखिन्छ।

मान्छेको आत्मा र प्राण हुन्छ जुनचाहिँ मृत्युको घडीमा उसको शरीरलाई छोडेर कि स्वर्ग कि नरकमा सधैंका लागि बास गर्नलाई जाँदछ भन्ने कुरा नयाँ नियमको यस सर्वेक्षणबाट स्पष्ट बुझिन्छ। बाइबलले मृत्युलाई दुवै सुत्‍ने कार्य र बिदा हुने कार्य भनेर बयान गर्दछ। मृत्यु भनेको शरीर सुत्‍नु हो र आत्माचाहिँ बिदा भएर जाने कार्य हो।

पुरानो नियममा समेत मृत्यु भनेको आत्माले शरीरलाई छोडेर जाने कार्य हो भनेर हामीलाई सिकाइएको छ। उत्पत्ति २५:८ मा “अब्राहाम … मरे [gave up the ghost], र आफ्ना मरेका पिता-पुर्खाहरूसँग मिल्न गए।” उनी चिहानमा मिल्न गए भन्ने मात्र अर्थ यसको हुन सक्दैन, किनकि अब्राहामका पिता-पुर्खाहरू माम्रेमा गाडिएका थिएनन्। उनीहरू धेरै पर हरानमा गाडिएका थिए (उत्पत्ति ११:३१-३२)। उत्पत्ति ३५:१८ मा राहेलको प्राण उनको मृत्यको घडीमा बिदा भएको कुराको उल्लेख छ। १ राजा १७ मा विधवाको छोराको मृत्यु हुँदा उसको प्राणले छोडेर गएको कुरा छ (पद २१-२२)। परमेश्वरले मोशालाई गन्ती २७:१३ मा उनी आफ्ना मानिसहरूमा “मिल्न जाने” कुरा गर्नुभयो। यसको अर्थ मोशा चिहानमा सुतिरहनेछन् भन्ने हुन सक्दैन किनकि, पहिलो, मोशाका मानिसहरू उनी मरेका उजाडस्थानमा गाडिएका थिएनन्। दोस्रो, मोशा शताब्दियौं पछि येशूसँगै उहाँको रूप परिवर्तन हुँदा पहाडमाथि देखा परे र त्यस बेला उनी पूरै चेतनशील रूपमा प्रस्तुत थिए।

पवित्रशास्त्रमा जहाँ हेरे पनि मृत्युको अर्थ चिहानभित्र अचेत अवस्थामा हुनु होइन भन्ने देखिन्छ। जुन खण्डहरूमा मृत्युलाई सुत्‍नुको संज्ञा दिइएको छ ती खण्डहरूले वास्तवमा कवितात्मक भाषा प्रयोग गर्दैछन्। मृत्युको चर्चा गर्ने पुरानो नियमका कुनै कुनै खण्डहरूमा, विशेष गरी उपदेशकमा, त्यसलाई संसारको दृष्टिकोणबाट बताएको पाइन्छ। त्यस अर्थमा यो साँचो हो कि मरेकाहरूले परमेश्वरलाई यस संसारमै प्रशंसा गर्दैनन्। उपदेशकको मूलधारा “सूर्य मुनि” को कुरा हो र त्यसले परमेश्वरको प्रकाशबिना जीवनलाई बुझ्न खोज्ने मान्छेको प्रयासको बयान गर्दछ।

४) अमरताको शिक्षा नयाँ नियम नदिइएसम्म पूर्ण रूपमा प्रकट भइसकेको थिएन। १ तिमोथी १:९-१० पढ्नुहोस्। ख्रीष्ट आउनुभएपछि मात्र चिहानभन्दा पारी सम्बन्धीको शिक्षालाई पूर्ण प्रकाशमा ल्याइयो। त्यसैले हामीले नयाँ नियमलाई पुरानो नियमको प्रकाशमा अर्थ लाउने काम गर्नु हुँदैन बरु पुरानोलाई नयाँको प्रकाशमा अर्थ लाउनुपर्छ!

झूटा शिक्षा #४ — दुष्टहरू अस्तित्वहीन भई जानेछन् (Annihilation of the Wicked)

सेभेन्थ-डे एड्भेन्टिस्टवादको शिक्षाअनुसार मुक्ति नपाएकाहरू अग्नि कुण्डमा जलेर शेष हुनेछन्।

“अनन्त पीडाको परिकल्पना, बेबिलोनको घिनलाग्दो मद्यमा मिसिएको झूटा शिक्षाहरूमध्ये एउटा हो… त्यसैले, कहिल्यै नटुङ्गिने पीडामा छटपटिँदै परमेश्वरलाई निन्दा गर्ने हराएका आत्माहरू भन्ने हुन्नन्; [स्वर्गमा गाइने] बचेकाहरूको गीतहरूसित [नरकबाट] आफ्ना चिच्याहटरहरू मिसाउने त्यस्ता नीच प्राणीहरू नरकमा हुन्नन्” (एलेन ह्वाइट, द ग्रेट कन्ट्रोभर्सी, पृष्ठ ४७०, ४७७)।

उनीहरूको दाबीअनुसार, दुष्टहरूको अनन्त पीडा भन्ने कुरा परमेश्वरको प्रेम र दयासित सामञ्जस्य गर्नै नसकिने कुरा हो।

“मरेका दुष्टहरू अनन्तसम्म जलिरहने नरकमा आगो र गन्धकले तड्पिरहनेछन् भन्ने शिक्षा, प्रेम र दयाको सारा भावनाको र साथै न्याय भन्ने कुराप्रतिको हाम्रो आफ्नै संवेदनशीलताको पनि ज्यादै प्रतिकूल छ” (एलेन ह्वाइट, द ग्रेट कन्ट्रोभर्सी, पृष्ठ ४६९)।

बाइबलले के भन्दछ?

१) मुक्ति नपाएकाहरूले सदासर्वदा पीडाको अनुभव गर्नेछन् भनेर बाइबलले सिकाउँछ। मत्ती २५:४६; प्रकाश १४:१०-११; प्रकाश २०:१०-१५। मर्कूस ९ मा प्रभु येशूले तीन-तीन पटक नरकलाई “कहिले पनि ननिभ्ने आगो…जहाँ तिनीहरूको कीरा मर्दैन, र आगो निभ्दैन” (मर्कूस ९:४३-४८) भनेर बयान गर्नुभयो। यी शब्द अनन्त पीडाको बयान गर्ने शब्द हुन्।

एडभेन्टिस्टहरू भन्छन्, आगोचाहिँ अनन्त भए तापनि दण्ड अनन्त हुनेछैन। यो व्याख्या हुनै नसक्ने व्याख्या हो, किनकि ख्रीष्ट येशूले मुक्ति नपाएकाहरूको दण्ड कुनै शासनायुक्त मृत्युभन्दा वा अस्तित्वहीन हुन जानुभन्दा पनि भयङ्कर हुनेछ भनेर सिकाउनुभयो। मर्कूस ९:४२ अनुसार परमेश्वरको दण्डमा पर्नुभन्दा त घिच्रोमा एउटा जाँतो झुन्ड्याएर समुद्रभित्र फालिनु असल हो। ठीक यसपछिको पदमा येशूले नरकको डरलाग्दो बयान गर्न थाल्नुभयो। अर्को शब्दमा, नरक कुनै पनि डरलाग्दो विपत्ति वा विनाशभन्दा पनि भयङ्कर हुनेछ। त्यहाँको पीडा नटुङ्गिने गरी सदाकालीन हुनेछ। मत्ती २६:२४ मा प्रभुले अस्तित्वहीन अवस्थाको तुलनामा यहूदाको दण्ड झन् नराम्रो हुनेछ भन्नुभयो। “…त्यो मान्छे नजन्मिएकै भए त्यसका लागि असल हुनेथ्यो।”

नरकमा अनन्त पीडा हुनेछ भन्ने बाइबलको शिक्षा हामीलाई बुझ्न गाह्रो हुन सक्छ, तर परमेश्वरले उक्त शिक्षा प्रकट गर्नुभएको छ अनि हाम्रो जिम्मेवारी भनेको यसलाई विश्वासैद्वारा ग्रहण गर्नु हो। नरक आगोको ठाउँ हो र त्यो यस्तो ठाउँ हो जहाँ हुने पीडा अनन्तसम्मै हुनेछ। जीवन भनेको ख्यालठट्टा होइन भनेर पवित्रशास्त्रका यी खण्डहरूले प्रत्येक पुरुष, महिला, बालकलाई बेसरी चेताउनी दिँदैछन्। मुक्ति भनेको यस्तो कुरा हो जसलाई पाउन हामीले एक घण्टा पनि ढिलो गर्नु हुँदैन। हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्न सक्नुहुने मुक्तिदातामा प्राप्त गर्न सकिने त्यो सुरक्षा पाउनलाई हामीले एकछिन पनि खेर फाल्नुहुँदैन। ख्रीष्टका लागि हराएका आत्माहरू खोज्नलाई कुनै परिश्रम बाँकी राख्‍नुहुँदैन। स्वर्गको आनन्दजस्तै नरकको पीडा पनि अनन्त नै हुनेछ।

२) परमेश्वरको करूणाले उहाँको पवित्र न्यायलाई रद्द गर्दैन। प्रभु येशू ख्रीष्टको प्रायश्चितकारी बलिदानले परमेश्वरको न्यायको मागलाई एकदम सन्तोषजनक रूपमा पूरा गरेकै हो, तर मुक्ति पाउनका लागि दिइएको उहाँको त्यत्रो ठूलो निमन्त्रणालाई इन्कार गर्नेहरूले आफ्ना पापहरूका लागि दण्ड भोग्नैपर्ने हुन्छ। मानिसहरूलाई उनीहरूका पापहरूदेखि उद्धार गर्नलाई भनेर परमेश्वरले आफ्नो पुत्रलाई क्रूसमा मर्न भनी प्रदान गर्नुभयो। यस प्रायश्चितकारी बलिदानद्वारा परमेश्वरको पवित्र न्यायको माग पूरा गरियो (यशैया ५३:११), अनि यो सुनेर पश्चात्ताप गर्दै विश्वास गर्ने हरेक पापीलाई उहाँले पूरै क्षमा गर्ने र अनन्त जीवन प्रदान गर्ने प्रतिज्ञा गर्नुभएको छ। उनीहरूका पापका लागि मुक्तिदाताले भोग्नुभएको दुःखलाई अस्वीकार गर्नेहरूले ती पापका लागि आफैं दुःख भोग्नुपर्ने हुन्छ। ख्रीष्टलाई इन्कार गर्नेहरूलाई परमेश्वरले उनीहरूको पापहरूका लागि अनन्तसम्मै पीडा भोगाउनु भयो भने उहाँले अन्याय गर्नुभएको ठहरिन्छ भनेर एड्भेन्टिस्टवादले दाबी गर्दछ, तर परमेश्वरकै न्यायमाथि प्रश्‍न उठाउनलाई हामी को हौं र?

झूटा शिक्षा #५ — एलेन ह्वाइट भविष्यदर्शिका थिइन्

सेभेन्थ-डे एड्भेन्टिस्टवादले एलेन ह्वाइट भविष्यदर्शिका थिइन् भन्ने विश्वास राख्दछ। उनीहरूका लेखहरूबाट सङ्कलित निम्नलिखित उद्दरणहरूलाई विचार गरौं:

“श्रीमती एलेन जी. ह्वाइटले भविष्यवाणीको सकली वरदानको अभ्यास गर्दथिन् भनेर सेभेन्थ-डे एड्भेन्टिस्टवादले विश्वास राख्दछ। परमेश्वरले उनीसित ईश्वरीय दर्शनहरूमा अनुग्रहसाथ बल्नुभयो र परमेश्वरले उनीद्वारा आफ्नो मण्डलीलाई प्रेरणापूर्ण सन्देशहरू पठाउनुभयो। …उनी एक आत्मिक अगुवा र अग्रज निर्माता र पथप्रदर्शक भएकी नाताले सेभेन्थ-डे एड्भेन्टिस्ट मण्डली उनीप्रति ऋणी छ। यसका अगुवाहरूले आत्माहरू जित्ने अधिकांश माण्डलिक क्रियाकलापहरूमा परमेश्वरका यी दासीका भविष्यदर्शनहरू भनेर विश्वास गरिएका कुराहरूमार्फत शुरुदेखि नै अगुवाइ पाएका हुन्” (D.A. Delafield, Ellen G. White and the Seventh-day Adventist Church, pp. 2, 10-11).

“मोशा, पावल र यूहन्नालाई प्रेरणा प्रदान गर्नुहुने पवित्र आत्माले ह्वाइट दिदीलाई पनि प्रेरणा प्रदान गर्नुभयो। भविष्यवक्ताहरूको प्रेरणा एउटै हुन्छ” (The Spirit of Prophecy Treasure Chest, p. 30)।

“एलेन ह्वाइट पुस्तकहरूलाई एउटा टेलिस्कोप [दूरदर्शी यन्त्र] सित दाँजिएको छ जसले परमेश्वरको वचनमा प्रकट गरिएका ईश्वरीय योजनाहरूको दर्शनलाई विशाल रूपमा प्रकट गरिदिन्छ” (Ellen G. White and the Seventh-day Adventist Church, p. 34)।

“हामी विश्वास गर्दछौं, यी सन्देशहरूलाई हरेक विश्वासीले दृढतापूर्वक पछ्याउनुपर्छ। बाइबलपछि र त्यससितको प्रसङ्गमा तिनीहरूलाई पढ्नुपर्छ र अध्ययन गर्नुपर्छ। पवित्र अभिलेखमाथि तिनीहरूले चहकिलो गरी प्रकाश पार्दछन् (Prophetic Guidance,Lesson 16, p. 60)।

“अगमवाणीको आत्माका लेखोटहरूलाई समग्ररूपमा नै स्वीकार गरिनुपर्छ भनेर एकरूपताले माग गर्दछ। एक भागलाई स्वीकार गरेर अर्को भागलाई इन्कार गर्नुको औचित्य देखाउन हामी सक्दैनौं। जस्तै, श्रीमती ह्वाइटका किताबहरूमध्येबाट भक्तिपरक चरित्रको किताबलाई चाहिँ स्वीकार गर्नु तर शिक्षा, नैतिकता वा स्वस्थ्य मानदण्डका बारेमा उहाँले लेख्‍नुभएका कुरामाथि प्रश्न उठाउनु भनेको एक भागलाई स्वीकार गरेर अर्को भागलाई इन्कार गर्नु हो” (Prophetic Guidance, Lesson 18, p. 70)।

बाइबलले के भन्दछ?

१) श्रीमती ह्वाइटले त्यस्ता शिक्षाहरू सिकाइन् जोचाहिँ नयाँ नियमको प्रकाशसित मेल खाँदैनन्। यशैया ८:२० र रोमी १६:१७-१८ पढ्नुहोस्। कुनै समूहले धेरैओटा सत्य शिक्षाहरू अँगालेको छ भन्दैमा त्यसका झूटा शिक्षाहरूप्रति हामीले आँखा चिम्लनुपर्छ भन्ने होइन। इसाईमतका झूटा नक्कलहरूलाई हेर्दा तिनीहरू जहिले पनि सत्य र झूटको कुमिश्रण भएको हामी पाउँदछौं। गलातीका झूटा शिक्षकहरू धेरैजसो शिक्षाहरूमा शास्त्रसम्मत नै थिए भन्ने बुझिन्छ। त्रिएकता, ख्रीष्टको ईश्वरत्व, बौरिउठाइ र बाइबलको ईश्वरीय प्रेरणाको सम्बन्धमा उनीहरूको शिक्षा शास्त्रसम्मत थिएन भन्ने कुनै आधार पाइन्न, तर पावलको सुसमाचारमा उनीहरूको थप-थाप गर्ने कार्यले उनीहरूमाथि परेमश्वरकै श्राप ल्यायो (गलाती १:८-९)। भन्ने हो भने, सतहमा शास्त्रसम्मत देखिएकाले नै उनीहरू झनै खतरनाक थिए। मूसा मार्ने विष कम्तीमा ९५% अहानिकारक हुन्छ।

जुन शिक्षा हामीले सिकेका छौं, त्यसको विपरित फाटो ल्याउने र ठक्कर खुवानेहरूलाई चिनिराख र तिनीहरूबाट टाढा बस भनेर हामीलाई रोमी १६:१७ ले चेताउनी दिँदछ। सेभेन्थ-डे एड्भेन्टिस्टवाद यस कुराको दोषी छ। मृत्यु, विश्राम-दिन, नरक, ख्रीष्टको वर्तमानकालिन सेवाकार्य, मोशाको व्यवस्था, मण्डलीमा स्त्रीको स्थान, अन्तिम दिनहरू आदि विषयमा प्रेरितहरूले सिकाएका शिक्षाको विपरित सेभेन्थ-डे एड्भेन्टिस्टवादले फाटो ल्याउने काम गर्दछ।

२) एलेन ह्वाइटले आफ्नै कुरा काटे; उनी एक कपटी थिइन्।

दुइटा उदाहरणहरूलाई विचार गरौं:

स्त्रीहरूले गर-गहना लाउनुहुँदैन भनेर तिनले सिकाइन्।

“गर-गहना र हर प्रकारको आभूषणको प्रदर्शनीदेखि अलग रहेको साधा पहिरन नै हाम्रो विश्वासलाई सुहाउने कुरा हो” (White, Testimonies, vol. 3, p. 366)।

एलेन ह्वाइटले आफ्नै शिक्षालाई पालना गरिनन्। तिनले सेता मणीहरू जडिएका महँगा सुइराहरू (broaches) र सिक्रीहरू जस्ता गरगहना लगाइन्। “के एलेन ह्वाइटले गरगहना लगाइन्?” (Did Ellen White Wear Jewelry?) भन्ने लेखमा एस. क्लिभल्याण्ड र डी. एण्डर्सनले यस तथ्यको दस्तावेजीकरण गरेका छन् (http://www.ellenwhiteexposed.com/contra7.htm)।

फोटोग्राफी मूर्तिपूजा हो भनेर तिनले सिकाइन्।

“फोटो बनाउने र लेनदेन गर्ने काम एक किसिमको मूर्तिपूजा हो। हाम्रो दृष्टिदेखि स्वर्गलाई छेक्नका लागि शैतानले भ्याएसम्म गरिरहेको छ। चित्र-मूर्तिहरू बनाएर उसलाई हामी मद्दत नगरौं” (White, Messages to Young People, p. 316)।

आफ्नै शिक्षाको विपरित, श्रीमती ह्वाइट फोटो खिँचिनका लागि बारम्बार प्रस्तुत हुनुभयो।

३) स्त्रीहरूले पुरुषहरूलाई सिकाउनुहुँदैन न ता उनीहरूमाथि अधिकार गर्नु नै हुन्छ।मण्डलीहरूको नेतृत्व गर्न परमेश्वरले स्त्रीहरूलाई होइन पुरुषहरूलाई बोलाउनुहुन्छ (१ तिमोथी २:११-१२)। प्रेरितहरूमध्येमा स्त्री कोही थिएनन् र स्त्रीहरू पास्टर-एल्डरहरू बन्न योग्य हुँदैनन् (१ तिमोथी ३:१-२; तीतस १:५-६)। एलेन ह्वाइटले यी आज्ञाहरूको ठीक विपरितमा जीवन बिताइन्। सेभेन्थ-डे एड्भेन्टिस्ट मण्डलीको विकासक्रममा उनी एक प्रमुख व्यक्तित्व थिइन्। उनले पुरुषहरूका ठूला जमातहरूलाई सम्बोधन गरिन्।

४) यस युगका लागि अगमवाणीको सकली वरदानको उद्देश्य पूरा भइसकेपछि त्यो बन्द हुनेछ भनेर पहिल्यै उल्लेख भएको थियो।

“प्रेम कहिल्यै टल्दैन। तर चाहे भविष्यवाणीहरू होऊन्, ती बितेर जानेछन्; चाहे भाषाहरू होऊन्, ती बन्द हुनेछन्; चाहे ज्ञान होस्, त्यो बितेर जानेछ। किनभने हाम्रो ज्ञान अधुरो छ, अनि हाम्रो भविष्यवाणी अधुरो छ। तर जब सिद्धचाहिँ आउँछ, तब जो अधुरो, त्यो हटाइनेछ” (१ कोरिन्थी १३:८-१०)।

पहिलो कोरिन्थी तेह्रौं अध्यायको प्रसङ्ग आत्मिक वरदानहरूको हो। बाह्रौंदेखि चौधौं अध्यायहरूसम्मको पूरै खण्डले यसैको चर्चा गर्दछ। १ कोरिन्थी १३:८‍-१० ले अगमवाणी, ज्ञान र अन्यभाषा जस्ता प्रकाशकीय वरदानहरूको चर्चा गर्दछ जुन वरदानहरूद्वारा परमेश्वरले शुरुका मण्डलीहरूसित बोल्नुभयो। यी वरदानहरूले तिनको ईश्वरीय उद्देश्य पूरा गरिसकेपछि बितेर जानेवाला थिए जसरी विगतका युगहरूमा पनि तिनीहरूसित सम्बन्धित परमेश्वरबाटका अन्य तत्त्वहरू पनि बितेर गएका छन्।

भविष्यवाणीहरू बितेर जानेछन् भनेर बाइबलले बताएको त छ, तर प्रश्न उठ्छ, त्यो कहिले भयो त? यसको जवाफ एफेसी २:२० मा भेटिन्छ। यस पदले भविष्यवक्ताहरू र प्रेरितहरूलाई एउटै समूहमा समावेश गरेको छ र उनीहरूले मण्डलीको जग बसाल्ने काम गरेको हो भन्ने कुरा बताएको छ। उनीहरूले सुसमाचार प्रचार गरे, शुरुका मण्डलीहरू स्थापना गरे र परमेश्वरको प्रेरणा पाएर नयाँ नियम लेखे। तब उनीहरूले गर्नुपर्ने काम पूरा भयो। जग बलियो गरी बसालियो र उनीहरूको अब खाँचो रहेन। जसरी आज शुरुका जस्तै प्रेरितहरू एउटै छैनन्, त्यसरी नै आज ईश्वरीय प्रकाश प्राप्‍त गर्ने र प्रकाशित गर्ने भविष्यवक्ताहरू पनि छैनन्। यस अर्थमा “भविष्यवाणीहरू” “बितेर” गए।

एलेन ह्वाइटसित नयाँ नियमको जस्तै भविष्यवाणीको वरदान हुनै सक्दैनथ्यो किनकि प्रेरितहरू र भविष्यवक्ताहरू जब बितेर गए र बाइबल लेख्ने काम पूरा भयो त्यतिखेर भविष्यवक्ताको वरदान पनि बितेर गयो।

इसाई विश्वास प्रेरितहरूकै समयमा पवित्र जनहरूलाई एकैचोटि सदाका निम्ति सुम्पिएको थियो (यहूदा ३)। त्यसमा कुनै कुरा थपिनुहुन्न, त्यसलाई अदलबदल गरिनुहुन्न। बरु, त्यसैका निम्ति संघर्ष गरिनुपर्छ। “परमेश्वरको जन हरेक असल कामका निम्ति पूर्ण रूफले सुसज्जित भई सिद्ध होओस्” (२ तिमोथी ३:१६-१७) भनेर पवित्र आत्माले आवश्यक सबै कुरा दिइसक्नुभएको छ। यस कुराले पूर्ण रूपमा दिइएको पवित्र-शास्त्रहरूलाई जनाइरहेको छ जसको अन्तिम पुस्तकको अन्तिम अध्यायमा आएर एउटा छाप लगाइएको पाइन्छ जसले परमेश्वरबाट कुनै नयाँ वा ताजा वचन पाएको छु भनेर दाबी गर्ने सबै मानिसहरूलाई त्यसो नगर्नालाई कडा चेताउनी दिँदछ (प्रकाश २२:१८-१९)।

के श्रीमती ह्वाइटले बाइबलमा भएका कुराहरूमा थप‍-थाप गर्ने काम गरिन्? प्रारम्भिक लेखहरू (Early Writings, पृष्ठ १४-२०), नाम गरेको उनको पुस्तकमा एउटै दर्शनमा उनले यी कुराहरू थप्ने काम गरिन्: येशूको केश मुन्द्रा मुन्द्रा परेको र कुमसम्मको छ र उहाँको तुरही चाँदीको छ भनेर उनले लेखिन्। स्वर्गसम्म उक्लन सात दिन लाग्छ भनेर उनले लेखिन्। रूखका फेदहरू पारदर्शी सुनले बनेको, फलचाहिँ सुन र चाँदीको मिश्रणले बेनको जस्तै देखिएको, चाँदी जस्तैले बनेका घरहरू, मोती जडिएका खम्बाहरू, सुनका तखताहरू, फुलैफूलका मैदानहरू, पखेटा भएका “स-सानाहरू” १,४४,००० का नाउँ कुँदिएका ढुङ्गाका पाटीहरू र धेरै माइल लामो चाँदीको टेबुलको वर्णन उनले गरेकी छन्।

परमेश्वरले शैतानलाई क्षमा प्रदानको प्रस्ताव राख्नुभयो (The Great Controversy, pp. 495-96), सर्पका पखेटा थिए (Spiritual Gifts, vol 3, pp. 39-40), हनोकको अनुहार ज्योतिर्मय थियो (Spiritual Gifts, vol. 3, p. 57), स्वर्गदूतहरू आफूसित सुनका पत्तीहरू (cards) बोक्छन् (Early Writings, p. 39) भनेर उनले लेखे।

एलेन ह्वाइटका दर्शनहरूले बाइबलका भविष्यवाणीहरूमा थप-थाप गर्ने काम गर्‍यो भन्ने कुरामा कुनै शङ्का छैन। यस युगका लागि बाइबललाई नै परमेश्वरको अन्तिम वचनको रूपमा स्वीकार नगर्नेहरूले झूटा दर्शनहरू र भविष्यवाणीहरू मार्फत अर्को वचन पाइरहनेछन्। सेभेन्थ-डे एड्भेन्टिस्टवाद यही ठूलो भ्रमको उपज हो।

५) एलेन ह्वाइटका भविष्यवाणीहरू पूरा भएनन्। व्यवस्था १८:२२ मा हेर्नुहोस्।

सेभेन्थ-डे एड्भेन्टिजम र एलेन ह्वाइटका लेखहरू (Seventh-day Adventism and the Writings of Ellen White) नाम गरेको पुस्तकमा जे. मार्क मार्टिन (J. Mark Martin) ले श्रीमती ह्वाइटले प्रकाशन गरेकी थुप्रै झूटा भविष्यवाणीहरूको अभिलेख राखेका छन् जसमा निम्न कुराहरू समेत उल्लेख छन्:

पुरानो यरूशलेम कहिल्यै पुनःनिर्माण हुनेछैन

“मैले यो पनि देखें, पुरानो यरूशलेम कहिल्यै पुनःनिर्माण हुनेछैन; अनि जम्मा पारिने समयका लागि प्रभुका सन्तानका मनहरूलाई यी कुराहरूतिर लैजान शैतानले आफूले भ्याएसम्म प्रयास गर्दैथियो” (Early Writings, p. 75)।

तर वास्तवमा, १९४८ मा इस्राएलको वर्तमान राष्ट्रको जन्म भएदेखि यता पुरानो यरूशलेम व्यापकरूपमा पुनःनिर्माण भएको छ।

सन् १८५६ मा बाँचिरहेका एड्भेन्टिस्टहरूले येशूको पुनःआगमन देख्नेछन्

मई १८५६ मा [अमेरिकाको] मिशिगन राष्ट्रको ब्याटल क्रिकमा भएको एउटा सभामा एलेन ह्वाइटले त्यहाँ उपस्थितमध्ये केही व्यक्तिहरू “येशूको आगमनको घडीमा बदली हुनका लागि संसारमा रहिरहनेछन्” (Testimonies for the Church, vol. 1, pp. 131-132)।

बेलायतले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्नेछ

“…बेलायतले जब युद्धको घोषणा गर्नेछ, तब सबै राष्ट्रहरूको आ-आफ्नै स्वार्थ पूरा गर्न चाहनेछ, अनि त्यहाँ व्यापक युद्ध र व्यापक गडबड हुनेछ। …यो राष्ट्र [संयुक्त राज्य अमेरिका] धूलोसम्मै होच्च्याइनेछ” (Testimonies for the Church, vol 1, p. 259)।

तर वास्तवमा, बेलायतले युद्धको घोषणा गरेन र संयुक्त राज्य अमेरिका धूलोसम्मै होच्च्याइएन।

झूटा शिक्षा #६ — न्यायिक छानबिन (Investigative Judgment)

येशू, उहाँलाई स्वीकार गर्नेहरूका काम तथा विचारहरूको अभिलेखहरूको न्यायिक छानबिन गर्नालाई स्वर्गको महापवित्र स्थानभित्र पस्नुभएको छ भनेर एलेन ह्वाइटले सिकाए। उक्त इन्साफ दस आज्ञामा आधारित हुन्छ अरे र यिनै मापदण्डले प्रत्येक व्यक्तिको चरित्रको जाँच गरिन्छ र उनको अनन्त गन्तव्य निर्धारण गरिन्छ अरे। यस न्यायिक छानबिनको कालखण्डमा विश्वभरि सुसमाचार प्रचार गर्नालाई परमेश्वरले सेभेन्थ-डे एड्भेन्टिस्ट चर्चलाई स्थापना गर्नुभएको हो अरे। छानबिनको काम सकिएपछि ख्रीष्ट संसारमा फेरि आउनुहुनेछ, दुष्टहरूलाई नाश गर्नुहुनेछ, मुक्ति पाएकाहरू (त्यसबेलासम्म चिहानमा सुतिरहेको अवस्थाबाट) बौराइनेछन्, र सबै पाप शैतानलाई बोकाइनेछ अरे।

“हरेक मानिसका कामलाई परमेश्वरका सामु पूनरावलोकन गरिन्छ र प्रत्येक कुरा विश्वासयोग्य भएको वा नभएको कुराको अभिलेख गरिन्छ। एक-एक गलत वचन, स्वार्थपूर्ण काम, अधुरो कर्तव्य-पालना, र हरेक गोप्य पाप र आडम्बरलाई भयङ्कर विस्तृत रूपमा किटान गरी स्वर्गका पुस्तकहरूमा प्रत्येक व्यक्तिको नामसँगै अभिलेख गरिन्छ… मानिसका चरित्र र जीवनको न्यायिक जाँच गरिने मापदण्ड चाहिँ परमेश्वरको व्यवस्था हुनेछ। …प्रत्येकको नाम त्यहाँ उल्लेख गरिन्छ, प्रत्येक मामिलालाई नियालेर जाँचिन्छ। नामहरू स्वीकृत या अस्वीकृत हुन्छन्। पश्चात्ताप नगरिएका र क्षमा नपाएका भनी कसैका पापहरू अभिलेखका पुस्तकहरूमा बाँकी नै रहेका भेटिए भने तिनका नामहरू जीवनको पुस्तकदेखि मेटाइनेछन् र तिनीहरूका सुकर्महरूका अभिलेखलाई परमेश्वरको सम्झनाको पुस्तकदेखि मेटाइनेछन्। …जस-जसले पापबाट साँच्चै पश्चात्ताप गरेका छन्, र आफूहरूको प्रायश्चितकारी बलिदानको रूपमा ख्रीष्टको रगतलाई विश्वासद्वारा दाबी गरेका छन्, जसका नामसँगै क्षमा पाएको भन्ने उल्लेख स्वर्गका पुस्तकहरूमा छन् भने, तिनीहरू ख्रीष्टको धार्मिकताको भागीदार भएका छन् भने र तिनका चरित्रहरू परमेश्वरको व्यवस्थासित बराबर भएको भेटिए भने तिनीहरूका पापहरू मेटाइनेछन् र तिनीहरू चाहिँ अनन्त जीवनको योग्य ठहराइनेछन्। …पश्चात्ताप नगरिएका र परित्याग नगरिएका पापहरू क्षमा गरिनेछैनन् र अभिलेखका पुस्तकहरूबाट मेटाइनेछैनन्, तर बरु तीचाहिँ परमेश्वरको दिनमा पापीका विरुद्धमा गवाहीस्वरूप खडा हुनेछन्” (एलेन ह्वाइट, द ग्रेट कन्ट्रोभर्सी, पृष्ठ ४२४-४२५, ४२८)।

“मेरका धर्मी जनहरू न्यायको दिन नआइपुगेसम्म बौरेर उठाइनेछैनन् जुनबेला तिनीहरू ‘जीवनको बौरिउठाई’ को योग्य ठहराइनेछन्। तसर्थ न्यायिक छानबिनमा उनीहरूको अभिलेखहरूको जाँच गरिँदा र उनीहरूको मामिलाको फैसला गरिँदा उनीहरू व्यक्तिगत रूपमा त्यहाँ उपस्थित हुनेछैनन्। …सबैको जाँच गरिनुपर्ने हुन्छ र कुनै दाग वा चाउरी वा त्यस्तो कुनै कुरा पनि नभएको भेट्टाइनुपर्ने हुन्छ। …न्यायिक छानबिनको काम जब बन्द हुन्छ, जीवन या मृत्युका लागि सबैको गन्तव्य निर्धारण भइसकेको हुनेछ” (एलेन ह्वाइट, द ग्रेट कन्ट्रोभर्सी, पृष्ठ ४३१-४३२)।

“न्यायिक छानबिन जब बन्द हुन्छ, तब ख्रीष्ट आउनुहुनेछ, र हरेकलाई उसको कामअनुसारको प्रतिफल दिनलाई उहाँसित आफ्नो इनाम हुनेछ। …ख्रीष्टले पापको शुरुआतकर्ता र पाप गर्नलाई उक्साउने शैतानमाथि यी सबै पापहरूलाई हालिदिनुहुनेछ। इस्राएलका पापहरू बोक्ने बलिको बोकालाई ‘एकलास ठाउँमा’ पठाइन्थ्यो (लेवी १६:२२); त्यसरी नै, परमेश्वरका जनहरूलाई पाप गर्न उक्साएका ती सबै पापहरूको दोष बोकेर शैतान एक हजार वर्षसम्म पृथ्वीमा बन्दी गराइनेछ जुनचाहिँ त्यसबेला उजाड हुनेछ, बासिन्दारहित हुनेछ, अनि अन्तमा सबै दुष्टहरूलाई नष्ट पार्ने आगोमा उसले पापको पूर्ण दण्ड भोग्नेछ” (एलेन ह्वाइट, द ग्रेट कन्ट्रोभर्सी, पृष्ठ ४२७)।

बाइबलले के भन्दछ?

१) विश्वासीलाई दस आज्ञाद्वारा न्याय गरिनेछैन र उसको सेवा स्वीकारयोग्य नभेटिएको खण्डमा उसले आफ्नो मुक्ति गुमाउनेछैन। विश्वासीसित अनन्त जीवन छ (यूहन्ना ३:१६)। ऊ मृत्युबाट जीवनमा सरिसकेको छ (यूहन्ना ५:२४)। ऊ ख्रीष्टमा सुरक्षित छ र परमेश्वरको महिमाको आशामा खडा छ र त्यसमा आनन्द मनाउँदछ (रोमी ५:१-२)। भविष्यको आउनेवाला क्रोधको उसलाई कुनै डर छैन किनकि ऊ ख्रीष्टमा पूर्ण छ (रोमी ५:९)। उसका पापको सबै दण्ड ख्रीष्टमाथि हालियो र ऊ चाहिँ सदाका लागि मुक्त छ। विश्वासीको अधर्मलाई ख्रीष्टले आफैमाथि लिनुभयो र विश्वासीलाई ख्रीष्टले आफ्नै धार्मिकता प्रदान गर्नुभयो (२ कोरिन्थी ५:२१)।

निम्न खण्डहरूमा बयान गरिएको न्याय र सेभेन्थ-डे एडभेन्टिजम्को न्यायिक छानबिनका बीचका केही महत्त्वपूर्ण भिन्नताहरूलाई विचार गर्नुहोस्:

  1. ख्रीष्टले गर्नुहुने विश्वासीहरूको न्यायले उनीहरूको मुक्तिको निर्धारण गर्ने होइन। १ कोरिन्थी ३ को न्यायमा खडा हुनेहरू उनीहरूले मुक्ति पाउने हुन् कि होइनन् भन्ने कुराको निर्धारण गरिनलाई होइन तर उनीहरूले मुक्ति पाइसकेका हुनाले त्यहाँ खडा हुनेछन्। १ कोरिन्थी ३ मा न्याय गरिनेहरू तिनीहरू हुन् जसले आफ्नो जीवनलाई मजबुत जग येशू ख्रीष्टमाथि बसालेका छन् (१ कोरिन्थी ३:११-१२)।
  2. विश्वासीको न्यायको परिणामस्वरूप उसले दण्ड पाउँदैन, पीडा भोग्दैन न ता ऊ परमेश्वरदेखि अलग नै पारिन्छ। जुन विश्वासीहरूका कामहरू जाँचिदा अयोग्य ठहरिन्छन् तिनीहरूलाई शर्म हुनेछ र इनाम गुमाउनेछन् तर मुक्ति गुमाउनेछैनन्। “कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ; तर ऊ आफैचाहिँ बाँच्नेछ, तर आगोबाट उम्केजस्तो” (१ कोरिन्थी ३:१५)। हामीलाई योभन्दा स्पष्ट अभिव्यक्ति अर्को चाहिन्छ र?
  3. साथै, विश्वासी जन आफ्ना प्रभुको सामु व्यक्तिगत रूपमै देखा पर्नेछन्।“किनकि…हामी सबै ख्रीष्टको न्यायआसनका सामु देखा पर्नुपर्छ” (२ कोरिन्थी ५:१०)। एडभेन्टिस्टवाद अनुसार विश्वासीको न्याय ऊ पृथ्वीमा रहँदा वा चिहानमा सुतिरहेको बखतमा सन् १८४४ र दोस्रो आगमनको बीचको अवधिमा स्वर्गीय महापवित्रस्थानको भित्रपट्टि गरिन्छ। प्रेरित पावलले सिकाएको कुरा यो होइन।

२) लेवी १६ अध्यायको बलिको बोकालाई शैतानको अर्थ लाउनु अबाइबलीय हो।प्रायश्चितको दिनका बोकाहरू — एउटा मारिने र अर्को एकलासमा छाडिने — दुवै प्रभु येशू ख्रीष्टका प्रतीक हुन्। मारिने बोकाले ख्रीष्टको प्रायश्चितको कार्यलाई चित्रण गर्दछ: यो एक रगतको बलिदान हो। छाडिने बोकाले ख्रीष्टको प्रायश्चित कार्य पर्याप्‍त थियो भन्ने कुरा दर्शाउँछ: यो एकैचोटी सदाका लागि पूर्णरूपमा सिद्ध कार्य थियो। बलिको बोकालाई शैतानको अर्थ लाउनु ईश्वर-निन्दा हो। एडभेन्टिस्टवादले यो सिद्धान्तको पुष्टि पवित्र शास्त्रको ठीक-ठीक अर्थ लाउने कार्यद्वारा भेट्टाउँदैन, तर एलेन ह्वाइटका दर्शनहरूमा भेट्टाउँछ; उनीहरूले बाइबलको प्रकाशमा थप्ने काम गरेका छन् भन्ने यो पनि अर्को उदाहरण हो।

झूटा शिक्षा #७ — मोशाको व्यवस्थाको दुरुपयोग

मोशाको व्यवस्थालाई दुरुपयोग गर्नु सेभेन्थ-डे एड्भेन्टिस्टवादको एउटा मूलभूत त्रुटि हो। पावलका समयमा धेरै यहूदीहरू यही झूटा सिद्धान्तका दोषी थिए। यही झूटा सिद्धान्तलाई सामना गर्दै उनले गलातीहरूलाई एउटा पत्र पनि लेखेका थिए।

व्यवस्था सम्बन्धी एड्भेन्टिस्टवादका तीनओटा त्रुटिहरू

१) एड्भेन्टिस्ट शिक्षाअनुसार व्यवस्था र अनुग्रह विपरित सिद्धान्तहरू होइनन् बरु यी दुवै नै आपसमा मिलेर मानिसलाई मुक्ति दिलाउनका लागि काम गर्दछन्।

“उद्धार पाएका सबै अनुग्रहले बचाइन्छन् भन्दैमा उक्त तथ्यले कुनै कालखण्ड [dispensation, प्रबन्ध] मा पनि परमेश्वरको व्यवस्थालाई अरू कालखण्डमा भन्दा अनावश्यक तुल्याउँदैन। (Charles Everson, Saved By Grace, p. 11)।

२) एड्भेन्टिस्ट शिक्षाअनुसार मोशाको व्यवस्था नै परमेश्वरले विश्वासीहरूलाई न्याय गर्ने मानदण्ड हो।

परमेश्वरको व्यवस्था “न्यायको दिनमा मानिसका चरित्र र जीवनलाई जाँच्ने मानदण्ड हो। …न्यायमा “योग्य ठहरिएकाहरू” ले धर्मीहरूको बौरिउठाइमा भाग पाउनेछन्” (Ellen White, The Great Controversy, pp. 423-425)।

३) एड्भेन्टिस्ट शिक्षाअनुसार मोशाको व्यवस्था विश्वासीको जीवनको नियम हो।

“अनुग्रहले बचाइएको भन्दैमा ऊ व्यवस्थालाई बेवास्ता गर्न वा तोड्न स्वतन्त्र हुँदैन, बरु ऊ दोबर गरी त्यसको पालना गर्न बाध्य हुन्छ। …त्यसैले, नयाँ करारमा व्यवस्था महत्त्वहीन भएको देख्दैनौं बरु यसले करारको केन्द्रीय स्थान ओगटेको पाउँदछौं भन्ने कुरा ज्यादै स्पष्ट छ” (Charles Everson, Saved By Grace, pp. 23,26)।

“आज यस संसारमा व्यवहार सम्बन्धी सिद्ध नियम केवल दस आज्ञा मात्र हुन्। परमेश्वरले मानिसलाई दस आज्ञा जीवनको नियमको रूपमा दिनुभयो” (J.L. Shuler, The Great Judgment Day, pp. 113-114).

बाइबलले के भन्दछ?

व्यवस्था सम्बन्धी नयाँ नियमका सबै खण्डका सारांशलाई यहाँ सूचित गरिएको छ। प्रत्येक खण्डलाई बाइबलमै पल्टाएर अध्ययन गर्नलाई पाठकलाई आग्रह गरिन्छ। विश्वासीलाई ख्रीष्ट येशूमा दिइएको महिमित र अनन्त स्वतन्त्रतालाई जानेर तपाईंले प्रभुमा सान्त्वना र उत्साह पाउनुहुनेछ भन्ने कुरामा हामी निश्चित छौं।

१) मोशाको व्यवस्थाको प्रमुख उद्देश्य एउटै छ, त्यो हो मानिसलाई येशू ख्रीष्टतर्फ डोर्‍याउनु। मानिस व्यवस्थाबिना केवल विश्वासद्वारा र केवल अनुग्रहले मुक्ति पाउँछ र धर्मी ठहरिन्छ। मानिसको पतित अवस्थाले गर्दा व्यवस्थाले उसलाई केवल दोषी ठहराउन मात्र सक्छ। व्यवस्था साँच्चै पवित्र र असल छ तर यसले पापी मानिसलाई उसको दुष्ट अवस्थाको महसुस गराउनु र उसलाई ख्रीष्टकहाँ डोर्‍याउनु बाहेक अरू केही गर्न सक्दैन। हेर्नू: रोमी ३:१९-२०; ५:२०; रोमी ७:७-१३; १ कोरिन्थी १५:५६; २ कोरिन्थी ५:५-१३; गलाती २:१६; ३:९-२४; १ तिमोथी १:६-११।

“व्यवस्थाले कुनै बल नभएकोलाई ‘तिमी बलियो हुनुपर्छ’ भन्ने माग राख्छ र उसले त्यो पूरा गर्न नसके उसलाई सराप दिन्छ। सुसमाचारले कुनै बल नभएकोलाई बल दिन्छ र त्यो प्रकट गरेकोमा उसलाई आशिष दिन्छ। व्यवस्थाले आज्ञाकारिताको परिणामस्वरूप जीवन दिने प्रस्ताव राख्छ, सुसमाचारले आज्ञाकारिताको एउटै मात्र उचित जगको रूपमा जीवन दिन्छ” (C.H. Mackintosh, Notes on the Pentateuch, pp. 232-233)।

२) विश्वासीमाथि मोशाको व्यवस्थाको कुनै अधिकार छैन; ऊ व्यवस्थाको पकडबाट पूरै बाहिर ख्रीष्टमा स्थापित गरिएको छ। विश्वासी ख्रीष्टमा सिद्ध बनाइएको हुनाले व्यवस्थाले जसरी ख्रीष्टमाथि दण्डको आज्ञा ल्याउन सक्दैन त्यसरी नै विश्वासीमाथि पनि सक्दैन। जिउँदो पत्नीमाथि मरेको पतिको जसरी कुनै अधिकार हुँदैन त्यसरी नै विश्वासीमाथि व्यवस्थाको कुनै अधिकार छैन। विश्वासीले आफ्नो जीवनलाई बौरिउठ्नुभएको ख्रीष्टको शक्तिले व्यवस्थाको मानदण्ड अनुरुप बनाउनुपर्छ र यदि ऊ त्यसो गर्न असफल भएको खण्डमा न्यायको दिनमा व्यवस्थाले उसलाई दोषी ठहराउनेछ भन्ने एड्भेन्टिस्ट शिक्षालाई प्रेरितहरूले सिकाएनन्। रोमी ५:१-२,६-११; ६:३-७; ८:८-१०; १०:४; ७:४; गलाती ३:२४-२९।

३) दस आज्ञा मृत्युको करार हो जुनचाहिँ ख्रीष्टमा हटाइएको छ। एड्भेन्टिस्टहरू यसमा आपत्ति जनाउँछन्: ख्रीष्टको क्रूसले दस आज्ञामा निहित नैतिक व्यवस्था (moral law) लाई हटाएको होइन केवल विधिहरूको व्यवस्था (ceremonial law) लाई मात्र हटाएको हो अरे। तर नयाँ नियममा दस आज्ञालाई समेत मृत्युको करारको रूपमा बयान गरिएको छ! समग्रमा मोशाको व्यवस्थाको प्रमुख उद्देश्य एउटै थियो; पतित मानिसलाई उसको पाप देखाउन र मुक्तिदाताको खाँचो देखाउन नै उक्त व्यवस्था परमेश्वरद्वारा दिइएको थियो। हेर्नू: २ कोरिन्थी ३:६-१३।

प्रेरित पावलअनुसार ढुङ्गामा लेखिएको व्यवस्था ख्रीष्टमा हटाइयो; यो दस आज्ञाकै कुरा गरिएको हो। दस आज्ञा मृत्यु र दण्डको सेवा थियो भन्दै पावल प्रेरितले हामीलाई दुई‍-दुई पटक बताउँछन्! कुरा योभन्दा पनि स्पष्ट कति हुनुपर्‍यो? एड्भेन्टिस्ट शिक्षक विश्वासीकहाँ आएर मोशाको व्यवस्था उसको जीवनको नियम हो भन्नु भयङ्कर खराबी हो।

४) मोशाको व्यवस्था विश्वासीको जीवनको नियम होइन। विश्वासीलाई त ख्रीष्टलाई पहिरन र पवित्र आत्मालाई पछ्याउन पो आज्ञा दिइएको छ। विश्वासीको लक्ष्य व्यवस्थाको रूपमा ढालिनु नभएर ख्रीष्टको रूपमा ढालिनु पो हो (रोमी ८:२९)। पवित्र आत्माले विश्वासीको जीवनलाई बदलेर प्रभु येशूको रूपमा ढाल्ने काम गर्नुहुन्छ। रोमी ८:११-१४; ८:२९; १३:१३-१४; २ कोरिन्थी ३:१८; गलाती ५:१६-२५; एफेसी ४:२०-२४; कलस्सी ३:९-११।

“यदि व्यवस्था साँच्चै विश्वासीको जीवनको नियम हो भने, त्यो कुरा नयाँ नियममा कहाँ उल्लेख छ त? परमेश्वरको प्रेरणाले लेख्दा पावलको विचारमा त्यस्तो कुनै कुराको छनक कतै पाइन्न: “किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि। अनि जतिजना यस नियममुताबिक हिँड्छन्, उनीहरूमाथि र परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा रहिरहून्” (गलाती ६:१५-१६)। कुन “नियम”? व्यवस्था? अहँ; तर “नयाँ सृष्टि”। कहाँ भेटिन्छ त यसलाई, के प्रस्थान २० अध्यायमा? त्यहाँ त “नयाँ सृष्टि” को बारेमा एक शब्द छैन। बरु उल्टो त्यसले मानिसलाई उसकै अवस्थामा — उसको प्राकृतिक अथवा पुरानो-सृष्टिको अवस्थामै — सम्बोधन गर्दछ र उसले वास्तवमा के गर्न सक्छ भनेर उसलाई परीक्षणमुनि राख्ने काम गर्दछ। अब यदि विश्वासीहरू हिँड्ने नियम व्यवस्था हुँदो हो त, पावल प्रेरितले उसको आशीर्वाद किन अर्कै नियममुताबिक हिँड्नेमाथि उच्चारण गरे? किन उनले ‘जतिजना दस आज्ञाको नियममुताबिक हिँड्छन्’ भनी नभनेका होलान्? जीवनमा हिँड्नका लागि परमेश्वरको मण्डलीसित अझ उच्च नियम छ भन्ने कुरा के यस खण्डबाट स्पष्ट हुँदैन र?” (C.H. Mackintosh, Notes on the Pentateuch, pp. 232-233)।

“एउटा ख्रीष्टियन भएको हैसियतले म दस आज्ञाका सबै नैतिक नियमहरूको पालना गर्दछु, ती नियमहरू व्यवस्थामा भएकाले होइनन्, तर सुसमाचारमा भएकाले। परमेश्वरको उपासना गर्न नयाँ नियममा पचास पटक आज्ञा गरिएको छ; मूर्तिपूजा बाह्र पटक निषेध गरिएको छ; ईश्वर-निन्दा चार पटक; बाबुआमालाई आदर गर्नुपर्ने आज्ञा छ पटक; व्यभिचार बाह्र पटक निषेध गरिएको छ; चोरी छ पटक; झूटा गवाही चार पटक; र लोभ नौ पटक। [मार्टिन] लुथर भन्छन्, ‘दस आज्ञा हामी अन्यजाति र ख्रीष्टियनहरूलाई लागु हुँदैन तर केवल यहूदीहरूलाई मात्र’। त्यसैले त पावलले आफ्ना चौधओटै पत्रहरूमा एकपटक पनि विश्रामदिनको नाउँ लिँदैनन् — केवल एउटै खण्डमा मात्र जहाँ त्यसलाई उनले सिङ्गो व्यवस्थासँगै वर्गीकरण गर्दै त्यो पूरै खारेज भइसकेको कुराको घोषणा गर्छन्। यही नै शुरुको मण्डलीको मान्यता थियो” (William C. Irvine, Heresies Exposed, p. 165)।

५) व्यवस्था र अनुग्रह दुई बेग्लाबेग्लै सिद्धान्तहरू हुन् जसलाई मुक्तिका लागि समिश्रण गर्न सकिन्न। हामीले यस तथ्यलाई सेभेन्थ-डे एड्भेन्टिस्टको अनुग्रहसित व्यवस्था मिसाइएको झूटा सुसमाचार उपशीर्षक अन्तर्गत हेरिसकेका छौं। हेर्नू: प्रेरित १५:८-११; रोमी ३:१८-२५; ४:४-५; ११:६; एफेसी २:८-१०।

६) विश्वासीहरूलाई जीवनको नियमस्वरूप मोशाको व्यवस्थामा फर्काउनु भनेको उनीहरूलाई फेरि व्यवस्थाको बन्धनमा थुन्नु हो। यो झूटा शिक्षा सिकाउने र त्यसलाई पछ्याउने दुवैले आफूमाथि सराप निम्त्याउने काम गर्दछन्। विश्वासीहरूलाई जीवनको नियमस्वरूप मोशाको व्यवस्थामा फर्काउन खोज्नेहरूलाई प्रेरितहरूले कडाभन्दा कडा शब्दले दोषी ठहराएका छन्। धर्मी ठहरिएको मानिसका लागि व्यवस्था एक आशिष हो भन्ने सेभेन्थ-डे एड्भेन्टिस्ट शिक्षालाई यस तथ्यले रद्द गर्दछ। हेर्नू: गलाती १:७-९; २:४; ३:१-९; ४:९-११, १९-२१; ५:१-९।

येशू ख्रीष्ट मानिसलाई व्यवस्थाको बन्धनबाट छुटकारा दिन आउनुभयो। मान्छेको पापको कारण व्यवस्थाले माग गरेको दण्ड हटाउन उहाँले छुटकाराको दाम तिर्नुभयो। विश्वासीहरूलाई व्यवस्थामा फर्काउन खोज्नेहरूले मानिसहरूलाई धोका दिने काम गर्दैछन् अनि ख्रीष्टले सम्पन्न गरिसक्नुभएको कार्य र उहाँमा पाइने साँचो बाइबलीय स्वतन्त्रतादेखि अन्यत्र डोर्‍याउने काम गर्दैछन्। उनीहरूको झूटा सुसमाचारको कारण उनीहरू आफैं श्रापमुनि छन्, र उनीहरूले अरूहरूलाई समेत सत्यतादेखि भड्काउने काम गर्दैछन्। मुक्तिको लक्ष्य विश्वासीलाई व्यवस्थातर्फ डोर्‍याउनु होइन, तर उसलाई ख्रीष्टमा सिद्धरूपमा उपस्थित गराउनु हो!

झूटा शिक्षा #८ — शाकाहारीवाद (Vegeterianism)

एलेन ह्वाइटले मांसहारी भोजनको विरुद्धमा चेताउनी दिए र शाकाहारी सिद्धान्तको समर्थन गरे।

“प्रभुको आगमनलाई पर्खनेहरूको बीचमा मासु खाने काम एक दिन बन्द हुनेछ; उनीहरूको नियमित आहार मासुरहित हुनेछ। यस कुरालाई हामीले सदा ध्यानमा राख्नुपर्छ र त्यसतर्फ क्रमिक रूपमा प्रगति गर्दै जाने प्रयास गर्नुपर्छ। मासु खाने अभ्यास गर्दा हामी परमेश्वरको प्रकाशसित सहमत भइरहेका हुन्छौं भनी म मान्न सक्दिनँ, जुन प्रकाश हामीलाई दिन उहाँलाई असल लागेको छ। विशेष गरी स्वास्थ्य सम्बन्धी हाम्रा सबै संस्थाहरूले फलफूल, अन्न र सागसब्जीमा बाँच्न आफैलाई सिकाउँदै जानुपर्छ” (Ellen White, Counsels on Diet and Foods, pp. 380-81)।

“हाम्रा सेवकहरूले मासु खाने काम गरेर खराब नमुना नदेखाऊन्। तिनीहरू लगायत तिनका परिवारहरूले स्वास्थ्य सुधारको प्रकाशको मानदण्डमुताबिक जीवन बिताऊन्। हाम्रा सेवकहरूले आफ्नै प्रकृति र आफ्ना नानीहरूका प्रकृतिलाई पशुको जस्तो नबनाऊन्” (Ellen White, Spalding and Magan, p. 211)।

योचाहिँ एलेन ह्वाइटको स्वास्थ्य योजनाअन्तर्गतको शिक्षा थियो जुनचाहिँ उनलाई १८६३ मा ईश्वरीय प्रकाशद्वारा दिइएको थियो भनेर तिनले दाबी गरिन्।

आज सेभेन्थ-डे एड्भेन्टिस्टको जनरल कन्फरेन्सको न्युट्रीशन काउन्सील (General Conference of Seventh-day Adventist’s Nutrition Council) ले मासु, माछा, कफी र चिया सेवन नगर्नलाई सल्लाह दिन्छ।

यहाँ हामी केवल शाकाहारीवादको विषयलाई मात्र छुनेछौं। आदमदेखि नूहसम्म, उत्पत्ति १:२९-३० को ईश्वरीय आज्ञाबमोजिम मानिस शाकाहारी थियो, तर जलप्रलयपछि मानिसलाई सागपातको साथसाथै मासु पनि खानलाई निर्देशन दिइयो (उत्पत्ति ९:३)। मोशाको व्यवस्थाअन्तर्गत इस्राएल जातिले मासु खाने कामलाई निरन्तरता दिइरह्यो, र कुनैकुनै प्राणीलाई शुद्ध भनेर तोकियो भने अरूलाई अशुद्ध। प्रभु येशू ख्रीष्ट एक यहूदीको रूपमा व्यवस्थाको अधीनमा हिँड्नुभयो। उहाँ शाकाहारी हुनुहुन्नथ्यो। उहाँले माछा खानुभएको कुरा हामीलाई थाहा छ (लूका २४:४२-४३) र उहाँले भेडाको मासु खानुभयो जुनचाहिँ निस्तार चाडमा आवश्यक वस्तु थियो (प्रस्थान १२:६-८)।

नयाँ नियममा भोजन सम्बन्धी केवल तीनओटा मात्र शिक्षा छन्।

पहिलो, पुरानो नियमका भोजन सम्बन्धी प्रतिबन्धहरू नयाँ नियम विश्वासीका लागि अबउप्रान्त लागु हुँदैनन् भन्ने शिक्षा पत्रुसलाई सिकाइयो (प्रेरित १०:९-१६)। यस कुराको सत्यतालाई जोड दिनका लागि उसलाई “उठ पत्रुस, मार र खाऊ” भन्ने आज्ञा तीतीन पटक दोहोराइयो। यस खण्ड एक्लैले पनि निम्न दाबीहरूलाई झूटो साबित गर्छ: व्यवस्थाअन्तर्गतका खानेकुरा सम्बन्धी प्रतिबन्धहरू नयाँ नियम मण्डलीहरूमा लागु हुन्छ भन्ने दाबी, व्यवस्थाअन्तर्गतका खानेकुरा सम्बन्धी प्रतिबन्धहरू स्वास्थ्यको आधारमा दिइएका थिए भन्ने दाबी (त्यसो भएको भए त परमेश्वरले तिनलाई आजसम्मै जारी राख्नुहुनेथ्यो), मासु खानु स्वास्थ्यकर होइन भन्ने दाबी, शाकाहारीवाद उत्कृष्ट अभ्यास हो भन्ने दाबी, र पशुहरूलाई मार्नु निर्दयी काम हो भन्ने दाबी।

दोस्रो, नयाँ नियमको प्रबन्धमा भोजनको विषय पूर्णरूपले व्यक्तिगत स्वतन्त्रता अन्तर्गत पर्दछ भन्ने कुरा सिकाइएको छ (रोमी १४:१-६) र यस्ता विषयमा हामीले अरूलाई न्याय गर्न हुँदैन भनेर सिकाइएको छ (रोमी १४:१३)।

तेस्रो, मांसहारी भोजनको विरुद्धमा सिकाउनेका बारेमा हामीलाई चेताउनी दिइएको छ (१ तिमोथी ४:१-६) र शाकाहारी भोजन खानुपर्छ भन्ने शिक्षाचाहिँ दुष्टात्माहरूको शिक्षा हो भनिएको छ। एलेन ह्वाइट शैतानको नियन्त्रणमुनि रहेकी झूटा शिक्षिका थिइन् भनेर चिन्न सक्नलाई तिनको यो एउटै मात्र झूटो शिक्षा पनि पर्याप्त छ।

यस विषयमा बाइबलको सुस्पष्ट शिक्षालाई नाघेर जानु र बाइबलीय आधार भएजस्तै गरी वा गैरबाइबलीय अगमवाणी वा अन्य स्रोतबाट ईश्वरीय समर्थन जुटाउन खोजेर खानेकुरा सम्बन्धी नियम बनाउनु झूटा शिक्षा हो।

नयाँ नियमले प्रस्टै बताउँदछ,

“परमेश्वरले सृष्टि गर्नुभएको हरेक वस्तु असल छ, र धन्यवादसाथ लिइयो भने कुनै कुरा पनि अस्वीकार गरिने लायकको छैन; किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिन्छ” (१ तिमोथी ४:४-५)।

यसर्थ, पवित्र शास्त्रअनुसार वर्तमान प्रबन्धअन्तर्गत भोजनको विषय निजी र वैयक्तिक कुरा हो। हरेक व्यक्ति फरक हुन्छ, हरेकको बेग्लै उपपाचन प्रक्रिया, स्वाद, संस्कृति, जीवन शैली, स्वास्थ्य र पेशा हुन्छ; र भोजन यिनै कुरामा आधारित हुनुपर्छ, बाइबलबाट लिइएको भन्ने कुनै कथित नियममा होइन।

सबै प्रकारका खानेकुरा उत्तिकै स्वास्थ्यकर हुन्छन् भन्ने होइन; तर कुरा यत्ति हो, बाइबलले कुनै एउटा खालको निश्चित भोजन हुनुपर्छ भनेर सिकाउँदैन, र पवित्रशास्त्रले शाकाहारीवादलाई जरुर समर्थन गरेको छैन।

हिब्रूको पुस्तकका लेखकले चेताउनी दिए:

“नाना प्रकारका र अनौठा शिक्षाहरूद्वारा यता र उता नलगिओ; किनकि अनुग्रहद्वारा हृदय स्थिर हुनु असल कुरा हो; खानेकुराहरूद्वारा होइन, जसद्वारा तिनमा भागी हुनेहरूलाई कुनै फाइदा भएन” (हिब्रू १३:९)।

मुक्ति र आत्मिक जीवन तपाईंको भोजनले निर्धारित हुने होइनन् तर तपाईंले ख्रीष्टको अनुग्रहको सुसमाचारको अधीनमा आफूलाई सुम्पनुभएको छ या छैन भन्ने कुराले निर्धारित हुने हुन्। मासुहरू र विशेष आहारको शिक्षा भनेको अनौठो र अबाइबलीय शिक्षा हो!

१८६३ मा उनले देखेका दर्शनका आधारमा मांसहारी भोजनको विरुद्धमा उनको आफ्नै शिक्षाको बाबजुद पनि एलेन ह्वाइटले आफ्नो प्रायः बाँकी जीवनभरि नै मासु खाइरहिन्। यसलाई विस्तृत रूपमा अभिलेख गरिएको छ (अङ्ग्रेजीमा) निम्न वेबपृष्ठमा: “Oysters and Herrings” by M. Chugg and D. Anderson, http://www.ellenwhiteexposed.com/contra6.htm.

NEXT POST: आनसानहोङ्ग: झूटा ख्रीष्ट

Print Friendly, PDF & Email
© 2007-2020 Copyright - Word of Truth, Nepal