बाइबल १

Study Series

बाइबल १

डेविड क्लाउड

पद कण्ठ: भजनसङ्ग्रह ११९:१०५; लूका २४:२७; रोमी १५:४

बाइबल के हो?

बाइबल, परमेश्वरले आफूलाई मानवजातिकहाँ प्रकट गर्नलाई दिनुभएको पुस्तक हो। यसले जीवनका सबै महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिन्छ जस्तै, परमेश्वर को हुनुहुन्छ? मानिसको उत्पत्ति कहाँबाट भयो? जीवनको उद्देश्य के हो? यो संसार किन दुःखकष्टले भरिएको छ? मान्छे किन मर्छ? मृत्युपछि के हुन्छ? मान्छे कसरी परमेश्वरसित ठीक सम्बन्धमा गाँसिन सक्छ? येशू को हुनुहुन्छ? उहाँ किन मर्नुभयो? भविष्यमा के हुनेवाला छ?

बाइबल परमेश्वरले चुन्नुभएका करिब ४० जना अगमवक्ताहरूद्वारा लेखियो अनि तिनीहरूले परमेश्वरद्वारा उनीहरूलाई दिइएका शब्दहरू लेखे (२ पत्रुस १:२१)। यो करिब १६०० वर्षको, करिब १५०० ई. पू. देखि ९० एडीसम्मको, अवधिभित्र लेखियो।

“बाइबल” भन्ने शब्द ग्रीकको “बिब्लोस्” बाट आउँछ जसको माने “पुस्तक” हो। बाइबल एउटै पुस्तक हो र यसले एकै स्वरमा बोल्छ, तर यो मुख्य दुइटा खण्डमा विभाजित छ — पुरानो नियम र नयाँ नियम। अझ, ‍बाइबलमा ६६ ओटा छुट्टै पुस्तकहरू छन्: पुरानो नियममा ३९ पुस्तकहरू, नयाँ नियममा २७। पुस्तकहरू अध्यायहरूमा विभाजित छन् र हरेक अध्याय पदहरूमा विभाजित छन् ताकि खण्डहरूलाई खोज्न सहज होस्। जस्तै, यूहन्ना ३:१६ ले यूहन्नाको पुस्तक, त्यसको तेस्रो अध्यायको १६ औं पदलाई जनाउँछ।

“नियम” भन्नाले करार वा सम्झौतालाई जनाइन्छ।

पुरानो नियम (OLD TESTAMENT) मोशाको व्यवस्थाद्वारा मानिससितको परमेश्वरको करार हो। व्यवस्था, परमेश्वरको पवित्रता र मानिसको पापी अवस्था प्रकट गरी येशूको आगमनको लागि बाटो तयार पार्ने उद्देश्यमा दिइएको थियो (रोमी ३:१९-२०)।

पुरानो नियम मूलतः हिब्रू भाषामा लेखियो।

पुरानो नियम निम्‍न प्रमुख खण्डहरूमा विभाजित छ:

व्यवस्था (The Law) — उत्पत्तिदेखि व्यवस्था। यस खण्डलाई पञ्चग्रन्थ (Pentateuch, अर्थात् “पाँच पुस्तकहरू”) भनिन्छ। यसले आकाश र पृथ्वीको सृष्टि, अदनको बगैँचामा मानिसको पतन, नूहको समयको विश्वव्यापी जलप्रलय, बाबेलको धरहरा र भाषाहरूको उत्पत्ति, अब्राहामको बोलावट र उसका छोराहरूबाट यहूदी जातिको शुरुआत, मिस्रदेशमा इस्राएलको दासत्व र त्यसबाटको प्रस्थान र (दस आज्ञासहितको) परमेश्वरको व्यवस्था दिने कामको बयान गर्दछ।

इतिहास (The History) — यहोशूदेखि एस्तर। यस खण्डमा प्रतिज्ञाको देशलाई उनीहरूले कब्जा गरेदेखि बेबिलोनी कैदसम्मको इस्राएलको अर्थात् यहूदी राष्ट्रको इतिहास पाइन्छ।

पद्य पुस्तकहरू (The Poetic Books) — अय्यूबदेखि श्रेष्ठगीत। यो खण्ड परमेश्वरको उपासना, दुःखकष्टको उद्देश्य र सतहमा हेर्दाको पार्थिव अस्तित्वको व्यर्थता जस्ता जीवनका गहन प्रश्नसित सम्बन्धित छ।

अगमवक्ताहरू (The Prophets) — यशैयादेखि मलाकी। यस खण्डमा इस्राएल, समग्रमा मानवजाति, र येशू ख्रीष्टका बारेमा भविष्यवाणीहरू छन्।

नयाँ नियम (NEW TESTAMENT) ख्रीष्टद्वारा किनिएको मुक्तिद्वारा मानिससितको परमेश्वरको करार हो। नयाँ नियममा ख्रीष्टको अलौकिक जन्म, जीवन, मृत्यु, बौरिउठाइ र स्वर्गारोहण, ख्रीष्टका प्रेरितका शिक्षाहरू र भविष्य सम्बन्धीका अगमवाणीहरू छन्।

नयाँ नियम ग्रीक भाषामा लेखियो।

नयाँ नियम निम्न प्रमुख खण्डहरूमा विभाजित छ:

सुसमाचारहरू (The Gospels) — मत्ती, मर्कूस, लूका र यूहन्ना। यी चार सुसमाचारहरूले येशू ख्रीष्टको जन्म, जीवन, मृत्यु, बौरिउठाइ र स्वर्गारोहणको बयान गर्दछन्। साथै यिनीहरूमा उहाँको दोस्रो आगमनको भविष्यवाणीहरू पनि छन्।

प्रेरितका कामहरू (The Acts of the Apostles) — प्रेरितको पुस्तकमा प्रथम चर्चहरू (मण्डलीहरू) को स्थापना र विस्तारको इतिहास बताइएको छ।

पावलका पत्रहरू (Paul’s Epistles) — रोमीदेखि फिलेमोन। यी पत्रहरू विभिन्न मण्डलीहरू र व्यक्तिहरूलाई ख्रीष्टियन शिक्षा सिकाउनलाई पावल प्रेरितद्वारा लेखिएका हुन्।

साधारण पत्रहरू (The General Epistles) — हिब्रूदेखि यहूदा। यी पत्रहरूलाई “साधारण पत्रहरू” भनिन्छ किनकि यीचाहिँ मण्डलीहरूलाई नभएर सबै ख्रीष्टियहरूलाई साधारण हिसाबमा लेखिए। यीचाहिँ पावल, याकूब, पत्रुस, यहूदा र यूहन्नाद्वारा लेखिए।

भविष्यवाणी (Prophecy) — प्रकाश। यस पुस्तकमा वर्तमान संसारको अन्तको बारेमा भविष्यवाणीहरू छन्।

नयाँ र पुरानो नियमबीचको सम्बन्ध निम्न तुलनाबाट देख्‍न सकिन्छ:

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email