बाइबल २

Study Series

बाइबल २

डेविड क्लाउड

पद कण्ठ: १ कोरिन्थी १०:११; १ थेस्सलोनिकी २:१३; २ तिमोथी ३:१६-१७

बाइबलको ईश्वरीय प्रेरणा

बाइबल परमेश्वरबाट चुनिएका अगमवक्ताहरूद्वारा लेखिएको हो। तिनीहरूले परमेश्वरबाट दिइएका शब्दहरू लेखे। यसलाई “ईश्वरीय प्रेरणा” (divine inspiration) भनिन्छ। यो कुरा सिकाउने मुख्य दुईटा खण्डहरूलाई विचार गर्नुहोस्:

२ तिमोथी ३:१३-१७

पवित्रशास्त्रको प्रेरणा सम्बन्धी यो चाबी खण्ड हो र यसले धेरैओटा महत्त्वपूर्ण सत्यताहरू सिकाउँछ।

  1. बाइबल अन्य सबै पुस्तकहरूभन्दा अलग छ (२ तिमोथी ३:१५)। यहाँ बाइबल-शास्त्रलाई “पवित्र” भनिएको छ। यसको माने हो “अलग, भिन्न”। बाइबल एक्लै मानिसलाई दिइएको परमेश्वरको दिव्य वचन हो।
  2. बाइबल परमेश्वरबाटको हो (“परमेश्वरको प्रेरणाद्वारा दिइएको हो”, २ तिमोथी ३:१६)। ग्रीकबाट अक्षरशः अनुवाद गर्दा, यस पदले पवित्रशास्त्र “परमेश्वरबाट निश्वासित भएको” (God-breathed) हो भन्दैछ। यद्यपि यो मानिसहरूद्वारा लेखियो, बाइबल परमेश्वरको सास निश्वासनबाट दिइएको हो। बाइबलले आफ्नै बारेमा गरेको दाबी हो यो। यदि यसमा त्रुटीहरू र काल्पनिक कथाहरू भेटिएका भए यो झूटो साबित हुनेथ्यो। आफ्नो प्रेरणाको चर्चा गर्नुपर्दा पवित्रशास्त्रले प्रेरणाको तरिकालाई नभएर त्यसद्वारा आएको तयारी सामग्रीलाई मुख्य विषय बनाउँदछ। परमेश्वरले विभिन्न तरिकाले बोल्नुभयो (सपनाहरूद्वारा, दर्शनहरूद्वारा, स्वर्गदूतहरूद्वारा, प्रत्यक्षरूपमा – जस्तै सिनै पर्वतमा, आदि) तर हरेक अवस्थाको सवालमा आखिरमा ती लेखोटहरू ईश्वर-प्रेरित थिए।
  3. बाइबल पूर्णरूपमा नै परमेश्वरबाटको हो (“सबै पवित्रशास्त्र”, २ तिमोथी ३:१६)। सबै पवित्रशास्त्र परमेश्वरबाट आएको हो भनिएको छ। यहाँ पवित्रशास्त्रलाई जनाउने शब्द “ग्राफे” हो र यसको माने “लेखोट” वा “पुस्तक” हो। यसले “पूर्ण प्रेरणा” (plenary inspiration) लाई जनाउँछ जसको माने पूर्णरूपमा, पूरै, सबै भन्ने हुन्छ।
  4. बाइबल, त्यसको सबभन्दा सुक्ष्म बुँदा समेत, परमेश्वरबाटको हो (२ तिमोथी ३:१५)। यहाँ पवित्रशास्त्रलाई जनाउने शब्द, “ग्राम्मा” हो र यसले एउटा अक्षरलाई जनाउँदछ। यसरी, बाइबलका सबैभन्दा मसिना विवरणहरू पनि परमेश्वरबाटका हुन्। यसलाई “शाब्दिक प्रेरणा” (verbal inspiration) भनिन्छ।
  5. बाइबल एउटै पुस्तक हो र यसको एउटा सर्वोपरि विषयवस्तु छ र त्यो हो येशू ख्रीष्टमा प्रबन्ध गरिएको मुक्ति (२ तिमोथी ३:१५)। बाइबल, नानाथरीका धार्मिक लेखोटहरूको सङ्ग्रह होइन। यो त परमेश्वरले आफूलाई प्रकट गर्नलाई, मुक्तिको मार्ग बताउनलाई, युग‍हरू सम्बन्धी उहाँको योजनालाई प्रकट गर्नलाई उहाँले रचना गर्नुभएको सिङ्गो पुस्तक हो। सिङ्गो बाइबलमा बाइबलको हरेक भागको महत्त्वपूर्ण भूमिका रहेको छ।
  6. बाइबलले विश्वासीहरूलाई भ्रमदेखि जोगाउन सक्छ (२ तिमोथी ३:१३-१५)। यदि बाइबलमा काल्पनिक कथाहरू, त्रुटीहरू, र लेखकका बारेमा, आश्चर्यकर्मका बारेमा र भविष्यवाणीहरूका बारेमा असत्य दाबीहरू भएका भए, यो पूर्णरूपमा आधिकारिक हुन सक्दैनथ्यो र यसले झूटा शिक्षाहरूदेखि सुरक्षा प्रदान गर्न सक्दैनथ्यो!
  7. बाइबल एक ख्रीष्टियनलाई पूर्ण र परिपक्क्व बनाउनलाई पर्याप्‍त छ (२ तिमोथी ३:१७)। एक असिद्ध, अपूरो पुस्तकले सिद्धता ल्याउन सक्दैनथ्यो, अनि बाइबलले परमेश्वरको जनलाई सिद्ध बनाउन सक्ने भएको हुनाले यो स्पष्ट छ कि उसलाई अन्य केही कुराको आवश्यकता पर्दैन। तसर्थ, एक विश्वासीको जीवनमा र मण्डलीमा बाइबल नै विश्वास र अभ्यासको एकमात्र अधिकार हो।

२ पत्रुस १:१९-२१

पवित्रशास्त्रको प्रेरणा सम्बन्धी यो अर्को चाबी खण्ड हो।

  1. पवित्रशास्त्र अन्धकारमा बलिरहेको बत्ती हो (२ पत्रुस १:१९)। अन्धकारपूर्ण स्थान संसार हो। यद्यपि यहाँ केही सत्यता भ्रमसित मिश्रित रूपमा रहेको पाइन्छ, संसारलाई अन्धकारपूर्ण स्थानको रूपमा दर्शाइएको छ किनकि मानिसले परमेश्वरबाटको प्रकाशबिना आत्मिक सत्यता जान्न सक्दैन। बाइबल नै त्यो प्रकाश हो जो अन्धकारको बीचमा बलिरहेको छ।
  2. बाइबल मानिसको इच्छाबाट तयार भई आएको कुरा होइन (२ पत्रुस १:२१)। अन्य पुस्तकहरू मानव लेखकको इच्छाका परिणाम हुन्, तर बाइबलचाहिँ होइन। परमेश्वरले केही निश्चित व्यक्तिहरूलाई चुन्नुभयो र उहाँको सन्देश प्रकाशन गर्नलाई उनीहरूलाई चलाउनुभयो। पवित्र आत्माले जब काम गर्नुभयो तब ती चुनिएका मानिसहरूले परमेश्वरका शब्दहरू बोले र लेखे।
  3. यस खण्डले बाइबल कुन तरिकाले दिइएको थियो भनेर बयान गर्दछ। परमेश्वरले मानिसहरूलाई प्रयोग गर्नुभयो, तर उहाँले उनीहरूलाई यस्तो प्रकारले प्रयोग गर्नुभयो कि तिनीहरूले जे लेखे त्यो परमेश्वरको वचन थियो। प्रेरणा र प्रकाशको विषयलाई छुँदा बाइबलले परमेश्वरलाई मुख्य विषय बनाउँदछ। हामीलाई प्रक्रियाको सम्बन्धमा एकदमै थोरै कुरा बताइएको छ। प्रेरणाको प्रक्रिया एउटा नखुलाइएको रहस्य हो। यो काम पवित्र आत्माद्वारा रहस्यमय ढङ्गले पूरा भयो। प्रेरणाको प्रक्रियाको बारेमा हामीले चिन्ता गर्नुपर्दैन; उक्त कुरा सम्पन्न भएकै हो भन्ने परमेश्वरको गवाहीलाई हामीले विश्वास गर्नुपर्छ र तयारी सामग्री अर्थात् बाइबलमाथि आफ्नो विश्वासको अभ्यास गर्नुपर्छ। आधुनिक शास्त्रज्ञहरू प्रायः ठीक यसको उल्टो गर्ने गर्छन्। तिनीहरू ईश्वरीय पक्षलाई नभएर मानवीय पक्षलाई मुख्य विषय बनाउँछन्। यसको कारण यो हो, प्रायःजसो आधुनिक शास्त्रज्ञहरू विश्वासको सिद्धान्तअनुसार चल्दैनन्। उनीहरू आफ्नै समझ र मानवीय विद्वत्ताअनुसार चल्दछन्। यो तरिकाले कुनै पनि मानिसले परमेश्वरको सिद्ध वचनलाई जान्न सक्दैन, किनकि “बिनाविश्वास परमेश्वरलाई खुशी पार्नु असम्भव छ” (हिब्रू ११:६)।
  4. “आफ्नो निजी व्याख्या” भन्ने वाक्यांशले बाइबलका लेखकहरूलाई जनाउँछ (२ पत्रुस १:२०)। सन्दर्भमा, योचाहिँ प्रकाश प्रदान गर्ने कार्यलाई जनाउँदैछ, त्यसलाई बुझ्ने कार्यलाई होइन। बाइबलका लेखकहरूले मानिसलाई दिइएको परमेश्वरको प्रकाशलाई आफ्नै विचारअनुसार व्याख्या गरेनन्; उनीहरूलाई पवित्र आत्माद्वारा परमेश्वरको प्रकाश दिइयो। उनीहरूले कतिपटक आफूले लेखिरहेका कुराहरूलाई समेत बुझेनन् (१ पत्रुस १:१०-१२)।

बाइबलको क्यानन (The Canonization of the Bible)

बाइबलको क्यानन भन्नाले पुरानो र नयाँ नियमका ६६ पुस्तकहरूको आधिकारिक सूची भन्ने बुझिन्छ। “क्यानन” शब्दको माने “एक नर्कट”, एउटा नाप्ने छडी, हो। यसले कुनै पनि कुरालाई एउटा स्थापित नियम वा मानदण्डले जाँच्ने प्रक्रियालाई जनाउँछ। पवित्रशास्त्रको क्यानन विश्वासद्वारा स्वीकार गरिनुपर्ने कुरा हो, किनकि त्यो यथार्थतः कसरी सम्पन्न भयो भन्ने कुराको ऐतिहासिक अभिलेख अस्तित्वमा छैन। परमेश्वर जसले पवित्रशास्त्र प्रदान गर्नुभयो उहाँले नै आफ्ना जनहरूलाई कुन-कुन पुस्तकहरू समावेश गरिनुपर्छ भनी डोर्‍याउनुभयो।

पुरानो नियमलाई यहूदीहरूले सङ्कलन गरेका हुन्। यहूदीहरूलाई नै हो परमेश्वरले हिब्रू पवित्रशास्त्रहरूको संरक्षण गर्ने काम दिनुभएको (रोमी ३:१-२)। उनीहरूले पवित्रशास्त्रको पालना सधैँ त गरेनन्, तरैपनि उनीहरूले यसलाई आदर गरे र हरेक बिन्दु र मात्रा समेत परमेश्वरको प्रेरणाबाट दिइएको वचन हो भनी विश्वास गरे। ख्रीष्ट आउनुभन्दा कम्तिमा पनि १०० वर्ष अगाडिका मृत सागरका चर्मपत्रहरू (The Dead Sea Scrolls) मा पुरानो नियमका उही पुस्तकहरू नै थिए जो आज हाम्रा बाइबलहरूमा रहेका छन्। कुमरान (Qumran) गुफाहरूमा पुरानो नियमका ३९ ओटा पुस्तकहरूमध्येमा एस्तरको पुस्तक बाहेक अरू जम्मै पुस्तकहरू भेटिए, तरैपनि यहूदी क्याननमा एस्तरको पुस्तक समाविष्ट पुस्तक नै थियो भन्ने कुरा सर्वविदितै छ।

नयाँ नियमलाई शुरुका मण्डलीहरूले सङ्कलन गरेका हुन्। उक्त प्रक्रिया परमेश्वरका आत्माको अगुवाइमा भएको थियो। पवित्र आत्माले प्रेरितहरूलाई सबै सत्यताभित्र डोर्‍याउनुहुनेछ भनी येशूले प्रतिज्ञा गर्नुभएको थियो (यूहन्ना १६:१३; १ यूहन्ना २:२०)। शुरुका मण्डलीहरूले ती प्रेरितीय लेखोटहरूलाई परमेश्वरको वचन भनी ग्रहण गरे। १ थेस्सलोनिकी २:१३ मा हेर्नुहोस्।

क्यानन प्रक्रिया (canonization process) कुनै अस्तव्यस्त खाले प्रक्रिया थिएन, जस्तो बाइबल इतिहासका धेरजसो हिजोआजका पुस्तकहरूले बयान गर्ने गर्छन्। त्यसको यथार्थ इतिहास समयको हुस्सुभित्र छिपिएको भएता पनि हामी विश्वासैद्वारा जान्दछौं कि परमेश्वरको आत्माले विश्वासीहरूलाई यस विषयमा ठीक-ठीक गरी डोर्‍याउनुभएको थियो। दोस्रो शताब्दीमा आइपुग्दासम्म विश्वासीहरूले पूरै नयाँ नियमलाई पवित्रशास्त्रको रूपमा साधारणतया स्वीकार गरिसकेका थिए भन्ने कुराको प्रमाण छ। पाठ्यग्रन्थका कतिपय मडर्निस्टिक अर्थात् नवीन विचारधारा राख्‍ने समालोचकहरू (modernistic textual critics) ले समेत दोस्रो शताब्दीको बीचमा नआइपुग्दै ग्रीक नयाँ नियमको वर्तमान २७-पुस्तकीय क्यानन अस्तित्वमा रहेको निष्कर्ष निकालेका छन्। (हेर्नुहोस्, David Trobisch, The First Edition of the New Testament, Oxford/New York: Oxford University Press, 2000)। दोस्रो शताब्दीबाट हामीलाई प्रमाण मिलेको छ कि प्रत्येक मण्डलीसँग प्रेरितका लेखोटहरूका आ-आफ्नै प्रतिलिपि हुने गर्थ्यो ता कि उनीहरू त्यसलाई पढ्न र त्यसबाट प्रचार गर्न सकून्। त्यसबेलाका एक प्रचारक, जस्टिन मार्टर (Justin Martyr) ले लेखे, “अनि आइतबार भनिने दिनमा शहरहरूमा वा गाउँहरूमा बस्नेहरूको एउटै स्थानमा सभा हुने गर्छ, र समयले भ्याएसम्म त्यहाँ प्रेरितहरूका पत्रहरू वा भविष्यवक्ताहरूको लेखोटहरूबाट पढेर सुनाइने गरिन्छ। पाठकले भ्याइसकेपछि सभापतिले प्रवचनमा हामीलाई यी उत्तम कुराहरूको देखासिकी गर्नलाई आग्रह गर्छन् र निमन्त्रणा गर्छन् (Justin Martyr, Apology)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email