गोही

के तिमीलाई थाहा थियो? बाचुन्जेल गोही ठूलो हुन छोड्दैन। उसको जीवनको प्रत्येक वर्ष ऊ बढेर झन् ठूलो हुन्छ। गोहीहरू बढेको बढै गरोस्- नगरोस् मानिसहरूलाई खासै वास्ता हुँदैन भनेर परमेश्वर जान्नुहुन्थ्यो, तर घोडाहरू, गाईहरू, कुकुरहरू, बिरालोहरू र कुखुराहरू ठूलो हुन कहिल्यै नरोक्किने हुँदो हो त मानिसलाई गाह्रो पर्छ भनेर उहाँ जान्नुहुन्थ्यो। उहाँले ती पशुहरूलाई ठीक साइजमा पुगेपछि उनीहरूलाई बढ्नदेखि रोक्नुहुन्छ। यदि गाई ठूलो हुँदै हात्तीजत्रो बन्यो भने किसानले एउटा भर्याङ चढेर दूध दुहुनु पर्ने हुन्थ्यो भनेर परमेश्वर जान्नुहुन्थ्यो। यदि तिम्रो कुकुर ठूलो हुन कहिल्यै नछोड्ने हो भने ऊ एकदिन यदि ठूलो हुन्थ्यो कि ऊ घरको ढोकाबाट छिर्न नसक्ने हुन्थ्यो। ऊ घरको भित्र-बाहिर दौडेर जान नसक्ने हुन्थ्यो र तिमी ऊसित खेल्न पाउँदैनथ्यो। परमेश्वर बुद्धिमान हुनुहुन्छ, होइन र? पशुहरू कतिसम्म ठूलो हुनुपर्छ भनेर उहाँ जान्नुहुन्छ।

गोहीको माउले आफ्ना अण्डाहरूलाई बालुवामा वा उसले जम्मा पारेको घाँस वा झारको थुप्रोमाथि पार्छ। उसले २० देखि ९० ओटा अण्डा पार्छ। त्यो त एकदम धेरै जस्तो लाग्छ, होइन र? यो किन हो भने गोहीको बच्चाका धेरै शत्रु हुन्छन् अनि धेरै पटक साना गोहीहरू अरू पशुद्वारा मारिन्छन्। माउ गोहीले केवल २ वा ३ ओटा मात्र अण्डा पार्दो हो त, सबै बच्चाहरू मारिन सक्थे। अनि धेरै समय नबित्दै संसारमा एउटै पनि गोही बाँकी हुँदैनथ्यो। तर जब त्यहाँ ८० वा ९० साना साना गोहीहरू हुन्छन्, तब कतिओटा गोहीहरू ठूलोसम्म बढ्न पाउँछन्। यसरी पृथ्वीमा गोहीहरू सधैं हुन सकून् भनेर परमेश्वरले यसरी पक्का गराउनुभयो।

माउ गोही आफ्ना अण्डामाथि कुखुरीले जस्तै ओथारो बस्दैन। सोच न, ऊ त यति भारी र भद्दा हुन्छ र थ्याच्च बसिदियो भने त उसले ती अण्डाहरूलाई फुटाइहाल्थ्यो। उसले बरु के गर्छ भने, ती अण्डालाई केवल घाम लाग्ने ठाउँमा छोडिदिन्छ। करिब ६ हप्तामा घामको न्यानोले अण्डाहरूलाई बचरा काढ्ने तुल्याउँछ। अनि त्यसपछि ती गोहीका बच्चाहरू निस्केर उनीहरूले आफ्ना लागि आफै खानेकुरा खोज्नुपर्छ।

साथै गोहीको ज्यादै अनौठो मुख हुन्छ। त्यसका मुन्तिरका दाँतहरू माथिल्लो जबडामा भएका विशेष खोपिल्टाहरूमा फिट हुन्छन्, ताल्चा जस्तै गरी; अनि यदि कुनै पनि कुरा ती जबडाहरूभित्र पर्न गयो भने, त्यो उम्कन सक्दैन। त्यस्तो मुखभित्र टाउको छिराएर हेर्न त तिमीलाई इच्छा छैन होला। यदि हेर्न गयौ भने तिमीले के देख्यौ भनेर हामीलाई बताउन तिमी फर्केर त आउन सक्दैनथ्यौ।

गोहीले आफ्नो खानेकुरा पानीमुनि बसेर चपाउन सक्छ। यदि उसले नदीको किनारमा कुनै पशुलाई पक्र्यो भने उसले आफ्नो मुखमा आफ्नो शिकार बोकेर ऊ हतार-हतार पानीभित्र छिर्न सक्छ, र पानीमुनि बसेर त्यसलाई चपाउन सक्छ। तर गोहीले पानीमुनि छँदा निल्न भने सक्दैन, अनि त्यसैले उसले आफ्नो खाना खान, ऊ कुनै खसेको रूखको मुढामाथि वा किनारतिर चढ्नुपर्छ। उसको घाँटीमा एउटा ठूलो ढोकाजस्तै हुन्छ जसले यस्तो किसिमले काम गर्छ कि यदि उसले पानीमुनि छँदै उसले निल्न थालेको खण्डमा ऊ निसास्सिन्छ र उसले सास फेर्न नसकेर मर्छ।

यस्तो हुनुमा ठ्याक्कै कारण के हो हामी जान्दैनौं तर परमेश्वरले गोहीलाई यसरी बनाउनुभएकोमा उहाँको कुनै न कुनै कारण छ भनेर हामी जान्दछौं। उहाँले गर्नुहुने सबै कामकुराको बारेमा हामीलाई एकएक कारण बताउनुभएको छैन, तर हामीलाई उहाँको बुद्धिमा हामीले विश्वास गर्नुपर्छ भनेर हामीलाई भन्नुभएको छ। बाइबलले भन्दछ, “धर्मी जन विश्वासद्वारा जिउनेछ” गलाती ३:११। हामीले परेमश्वरको बारेमा सबै कुरा कहिल्यै बुझ्न सक्दैनौं। वास्तवमा हामीले उहाँ कस्तो हुनुहुन्छ भनेर खास सानो भाग मात्र बुझ्न सक्छौं। बाइबलले बताउँछ कि अब्राहामले परमेश्वरमा विश्वास गरे अनि यो उसको निम्ति धार्मिकता गनियो रोमी ४:३। यहाँ एउटा कुरामा ध्यान देऊ – कि यहाँ अब्राहमले परमेश्वरलाई बुझे भनिएको छैन, तर उसले उहाँमाथि विश्वास गरे भनेको छ। यसमा निकै ठूलो भिन्नता छ नि, हो कि होइन?

एक पटक अफ्रिकामा भएका एकजना मिसनरी, सुसमाचार प्रचारक, अफ्रिकाको जाम्बेसी नदीको किनारै किनार हिँड्दै हुनुहुन्थ्यो। उहाँ हिँड्दै गर्दा त्यहाँ एउटा गुँडमा उनले दुईटा गोहीका अण्डाहरू देख्नुभयो। ती अण्डा तिम्रो हात जत्तिकै लामा थिए। उहाँले यो देख्नुभयो गर्नुभयो कि एउटा अण्डा थोरै चर्केको थियो। अनि त्यसैले उहाँ त्यसको छेवैमा हेरी बस्नुभयो त्यो अण्डाबाट बच्चा निस्कन्छ कि निस्कँदैन भनेर हेर्नलाई। चर्केको ठाउँमा अझ अलिक चर्क्यो, अनि एकछिन पछी अझ चर्क्यो। त्यसपछि पूरै अण्डा चर्केर पूरै खुल्यो र त्यसबाट एउटा बच्चा गोही बाहिर निस्क्यो। त्यो करिब १२ इञ्च लामो थियो अनि बिचारा ऊ त्यो सानो अण्डाभित्र लामो समयदेखि बस्दा-बस्दा उसको जीउ कक्रक्क र अरठ्ठ परेको थियो। उसले आफूलाई बालुवामाथि लमतन्न पारेर तन्कायो, उसको टाउको चाहिँ जङ्गलतिर फर्केको थियो, नदीको ठीक उल्टो दिशातिर। मिसनरीलाई यस्तो लाग्यो अब यसले के गर्नुपर्छ भनेर उसलाई थाह हुन्छ कि हुँदैन होला।

एक घण्टा जति घाममा आराम गरेपछि त्यो गोही फनक्क फर्क्यो र नदीतिर लम्किन थाल्यो। अब कसरी जान्यो त्यो सानो गोहीले ऊ पानीमा बस्ने पशु हो भनेर? के कसैले उसलाई पौडन सिकायो? अहँ, उसलाई नसिकाईकनै उसले पौडन जान्दथ्यो। त्यो गोही नदीतिर लाग्दै गर्दा, मिसनरीले आफ्नो औंलालाई गोहीको सानो नाकको माथितिर लगेर देखाउनुभयो। सानो गोहीले के गर्यो होला थाह छ? ऊ त्यो औंलालाई ताकेर फुत्रुक्कै उफ्र्यो मानौं उसका ती धारिला र नयाँ दाँतले टोकूँला जस्तै गरी। मिसनरीले समयमै आफ्नो औंला फुत्त झिक्नुभयो अनि त्यो सानो गोही नदीतिर छिटोछिटो लागिहाल्यो। कसले बतायो त्यो गोहीलाई उसका शत्रुहरू हुन्छन् भनेर? कसले सिकायो उसलाई त्यस्तो खराब स्वभाव देखाउनलाई? के कतै स्कूल छ जहाँ गोहीहरू गएर बस्न सक्छन् लहरै पछाडिका खुट्टामा उभिएर अनि ब्ल्याकबोर्डलाई हेरेर सिक्न? यो सिक्न कि यदि मान्छेले आफ्नो औंला उसको मुख वा नाकको ज्यादै नजिक ल्यायो भने उसले के गर्नुपर्छ? छैन जस्तो लाग्छ त्यस्तो स्कूल, छ र?

गोहीले यी सबै कुरा जान्दछ उसलाई परेमश्वरले दिनुभएको उसको पशु स्वभावको कारणले। हामीले जतिसुकै उसलाई सिकाए पनि गोहीलाई बदलेर अर्को स्वभावको बनाउन सकिँदैन। त्यो बदलिन सक्ने एउटै मात्र तरिका छ। परमेश्वरले उसलाई एउटा नयाँ स्वभाव दिनुभयो भने मात्र बदलिन सक्छ।

बाबु नानीहरू, पुरुष स्त्रीहरूको सम्बन्धमा पनि यस्तै हुन्छ। हामी जन्मने बित्तिकै हामीले गलत-गलत कामहरू गर्ने तरिका जान्न थाल्छौं। हामी धेरै सानो हुँदै हामीले नराम्रा कामहरू गर्न सिक्छौं। प्रभु येशूले हामीलाई बदल्नुभएर हामीले नयाँ जन्म नपाएसम्म हामीले केवल हाम्रो खराब, पापी स्वभावले हामीलाई गराउने कामहरू गरिरहन्छौं। येशू ख्रीष्टले तिमीहरू एकएकजनालाई बचाउन चाहनुहुन्छ र एउटा नयाँ स्वभाव दिन चाहनुहुन्छ, जुन स्वभावले परमेश्वरलाई खुशी पार्ने कामकुराहरू गर्न चाहन्छ। यदि तिमीले आफ्नो आत्माको लागि उहाँमाथि भरोसा गर्छौ भने उहाँले तिमीलाई उहाँमा एउटा नयाँ व्यक्ति बनाउनुहुनेछ।

यर्मिया १३:२३ के कूशीले आफ्‍नो छाला वा चितुवाले आफ्‍ना थोप्लाहरू बदल्न सक्छ र? तब ता तिमीहरूले पनि, जो खराबी गर्नमा अभ्यस्त भएका छौ, असल गर्न सकौला।

२ कोरिन्थी ५:१७ येसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर सबै कुराहरू नयाँ भएका छन्।

Translated by Pradesh Shrestha from Uncle Walter’s Animal Stories.