कप्तान आलेन गार्डनर

गाह्रो काम खोज्ने मान्छे (सन् १७९४-१८५१)

संसारको नक्सामा दक्षिण अमेरिकाको सबभन्दा दक्षिणी टुप्पामा पाटागोनिया (Patagonia) र टेरा देल फुएगो (Terra del Fuego) भेट्टाउन खोज्नुहोस्। त्यहाँका मानिसहरू अरू कुनै ठाउँका मानिसहरूभन्दा खराब थिए। तिनीहरू मान्छेको मासु खाने नरभक्षी थिए र प्राणीहरूमा सबैभन्दा घिनलाग्दा थिए। त्यसबाहेक तिनीहरू सबभन्दा निर्दयी पनि थिए। बोल्दाखेरि उनीहरूको आवाज घाँटीभित्रको खकार निकाल्न खोजेको जस्तो सुनिन्थ्यो अनि उनीहरूको कुरा बुझ्न त असम्भवै थियो। उनीहरू यो विश्वास गर्थे कि एउटा असल आत्मा घाममा बस्ने गर्छ र जूनमा दुईटा खराब आत्मा बस्ने गर्छन् अनि असल मानिसहरू मरेपछि घाममा जान्छन् र खराब मानिसहरू जूनमा। कल्पना गर्नुहोस् यस्ता मानिसहरूलाई सुसमाचार सुनाउनु र ख्रीष्टमा डोर्‍याउनु कति गाह्रो कुरा थियो। धेरै वर्ष अगाडिको कुरा हो, एकजना जवान मानिस थिए जसले यो भने कि उनी सबभन्दा गाह्रो ठाउँमा प्रचारकको रूपमा पठाइन चाहन्थे जहाँ सबभन्दा कठीन थियो। उनले सजिलो काम मागेनन् वा खोजेनन्। उनले सबभन्दा गाह्रो काम रोजे। उनको नाम थियो कप्तान आलेन गार्डनर। यी साहसी बहादुर व्यक्ति सन् १७९४ मा इङ्ल्याण्ड देशमा जन्मेका थिए। सानो केटो छँदै उनले समुद्र मन पराउँथे र उनलाई इङ्गलिश नेभल कलेजमा पानी जहाज चलाउने तालीम दिइयो अनि पछि उनी पानी जहाजको कप्तान बने। जहाजमा यात्रा गर्ने क्रममा उनी चीन गए। त्यसबेलाका चीनीयाहरू भयङ्कर मूर्तिपूजामा डुबेका देखेर उनको हृदयमा उनीहरूलाई र उनीहरू जस्तै अरूहरूलाई सहायता गर्ने गहिरो इच्छा उत्पन्न भयो। उनले आफ्‍नो सम्पूर्ण हृदय प्रभु येशू ख्रीष्टलाई दिए अनि जहाजको कप्तान छँदै उनले यात्रा गर्ने क्रममा जति सक्दो आफ्‍नो जहाजबाट बिदा मिलाएर उनी विदेशका बासिन्दाहरूको अवस्था पत्ता लगाउन उनी पुगेका देशदेशका भित्री-भित्री भागहरूमा छिर्थे। यस प्रकारले उनी पाटागोनिया र वरिपरिका पहाडहरूका जङ्गली स्वभावका बासिन्दाहरूको विषयमा रूची राख्न थाले। उनी अब ३० वर्षका मानिस भइसकेका थिए र उनको हृदय एउटा मिसनरी (प्रचारक) बन्ने गहिरो चाहनाले भरिएको थियो। तर उनलाई मिसनरीको रूपमा पठाउन कसैले सहायता गरेन। दस वर्ष बित्यो। उनका बाबुआमा मरे अनि साथै उनको पत्नी पनि मरी। उनको अलिकति कमाइ थियो र यदि कसैले उनलाई मिसनरीको रूपमा परदेश पठाउन नसकेको खण्डमा उनले आफैलाई मिसनरीको रूपमा पठाउने निर्णय गरे। उनी र उनका एकजना पोल्याण्डका साथी पहिला अफ्रिका गए अनि जूलू जातिका बीच सुसमाचार सुनाउन थाले — एकजना दोभाषेको सहायताले प्रचार गरे र साना बाबुनानीहरूलाई पढ्न र लुगा लाउन सिकाए। तीन वर्ष बितेपछि कप्तान गार्डनर इङ्ल्याण्ड फर्के र मिसनरीहरूको एक टोलीलाई लिएर फर्के तर जूलूहरू र बोअरहरूको लडाइँले उक्त मिसनरी काम बन्द भयो। यस्ता हराएका मूर्तिपूजकहरूको बीचमा मेहनत गर्ने कप्तानको इच्छा कहिल्यै सेलाएर गएन। उनी दक्षिण अमेरिका गए र दुई वर्ष जति यात्रा गरे र न्यू गिनीमा काम थाल्ने निर्णय गरे तर उनी इङ्ल्याण्डको रोयल नेवीका अफिसर भएकाले डचहरूले उनलाई विश्वास गरेनन् र उनलाई सुसमाचार सुनाउने काम गर्न दिएनन्। तब उनले टेरा देल फुएगोलाई आफ्‍नो मिसनरी क्षेत्र बनाउने निर्णय गरे। त्यहाँका जङ्गली बासिन्दाहरू उनीसँग मित्रभाव राख्न चाहेनन्। उनी इङ्ल्याण्ड फर्के र यी अन्धकारमा बसिरहेका मुक्तिदाता येशू ख्रीष्टको असल खबरको ज्ञान नभएका मानिसहरूलाई सहायता गर्न मानिसहरूको इच्छा जगाउन खोजे तर उनको प्रयास व्यर्थ भयो। तर उनले केही बाइबलहरू र नयाँ नियमहरूको अनुदान पाए र उनी यसलाई ठाउँ-ठाउँमा बाँड्दै यात्रा गरे। फेरि इङ्ल्याण्ड फर्केर उनले फेरि मानिसहरूको इच्छा जगाउन खोजे तर फेरि उनी विफल भए तर अन्तमा उनका केही साथीहरू मिलेर पाटागोनियामा परमेश्वरको वचन पुर्‍याउने उद्देश्यले एउटा समिति बनाए र रबर्ट हन्टलाई प्रचारकको रूपमा पठाए। कप्तान गार्डनरचाहिँ आफ्‍नै खर्चमा प्रचारकको साथमा गए। तर बिडम्बनाको कुरा, त्यहाँका बासिन्दाहरू अर्कै ठाउँमा सरिसकेका थिए। उनीहरूलाई खोज्ने सबै प्रयास विफल भयो। ती आदिवासीहरू कतै भेटिएनन्। केही समयपछि उनीहरूको मुखिया र केही अरू फर्केर आए तर उनीहरूको भावना यति अभद्र र नराम्रो थियो कि उनीहरूले स्थापना गरेको आफ्‍नो बस्ने ठाउँ छोडेर जानुपर्ने भयो। त्यही बाटो भएर गइरहेको इङ्ल्याण्डको एउटा पानी जहाजले उनीहरूलाई घर फर्काइदियो। के यो साहसी मिसनरी अब निराश बने होला त? अहँ, अलिकति पनि निराश बनेनन्। उनलाई यो लाग्थ्यो कि ती भ्रष्ट र बिग्रेका मानिसहरूलाई येशूको खाँचो छ अनि उनीहरूलाई ख्रीष्ट प्रचार गर्न उनलाई पहिला भन्दा झन् आतुर लाग्यो। सन् १८४८ मा उनी फेरि यात्रा गरे, ती मानिसहरूका बीचमा केही हुलमिल गरे अनि उनीहरूलाई सहायता गरियोस् भनेर विन्ती गर्न फेरि इङ्ल्याण्ड फर्के। उनलाई एकजना पानी जहाजको मिस्त्रीबाहेक अरू चारजना मानिसहरूसित जान सहायताको प्रबन्ध गरियो। धेरै कठिनाइसाथ बल्लतल्ल उनीहरू जमिनमा उत्रे तर ती आदिवासीहरू विश्वासै गर्न नसकिने यति बेईमान थिए कि उनीहरू जहाजमै बसोबासो गरेर उनीहरूकहाँ जानेआउने गर्दै प्रचार कार्य गर्न खोजे। आफूसित भएकोभन्दा असल साधन-सामग्रीहरू लिएर आउन कप्तान गार्डनर फेरि आफ्‍नो देश फर्के। फेरि पनि उनको कुरामा कसैले चासो देखाएनन्, तर आखिरमा १००० पाउन्ड रकम बराबरको सहयोग जम्मा गरियो जसमध्ये ३०० पाउन्ड उनी आफैले अनुदान दिएका थिए अनि उनी फेरि फर्के। यी जङ्गली स्वभावका मानिसहरूलाई येशू ख्रीष्टमा डोर्‍याउने पूरा जोशले उनको आत्मा जलिरहेको थियो। यस यात्रामा उनको साथमा अरू ६ जना गए। उनीहरूले आफूसित ६ महिनाको लागि पुग्ने खाद्यान्न बोकेका थिए र थप ६ महिनाको चाहिने खाद्यान्न सामग्रीहरू पिटकन टापुमा जान लागेको अर्को जहाजमा पठाए। तर खाद्यान्न सामग्रीको यो दोस्रो सप्लाइ लिएर उनीहरूकहाँ पुर्‍याइदिन कुनै पनि पानी जहाज राजी भएन। त्यसैले ती खाद्यान्न फोकल्याण्डमा पठाइयो। त्यहाँका राज्यपालले त्यहाँबाट उनीहरूका ती खाद्यान्न पठाइदिन त खोजे तर कसैले लिगदिएनन्। मिसनरीहरूको त्यो सानो टोली खानेकुराको अभावले दरिद्र अवस्थामा पुगे अनि फुएगी आदिवासीहरूले उनीहरूलाई कुनै दया देखाएनन्। खानलाई उनीहरूसित चिप्लिकिरा जस्ता समुद्री शङ्खकिरा, जङ्गली ज्वानोको डाँठ र समुद्री झार थियो अनि पिउनलाई उनीहरूले चट्टानहरूको खोपिल्टाहरूमा जम्मा भएको आकाशको पानी पिए। अन्तमा एउटा पानी जहाज पठाइयो यी साहसी मानिसहरूको खोजीमा अनि यो पत्ता लाग्यो कि उनीहरू भोकले मरिसकेका रहेछन्। उनीहरूको लाशहरू भेटिए र उनीहरूले लेखेका डायरीहरू जसमध्ये कप्तान गार्डनरको डायरी पनि थियो। उनले लेखे, “मिस्टर मेडमेन्ट हिजो यति गल्नुभएको थियो कि उहाँ मध्यान्नसम्म आफ्‍नो खाटबाट उठ्नुभएन अनि त्यसबेलादेखि मैले उहाँलाई देखेको छैन; त्यसैले हिजो मेरो मुखमा केही परेन। म आफू रहेको ठाउँ छोड्न सक्दिनँ अनि म जान्दिनँ उहाँ शरीरमा हुनुहुन्छ कि अनुग्रही परमेश्वरको उपस्थितिको आनन्द लिँदैहुनुहुन्छ जसको सेवा उहाँले यति विश्वासयोग्य रूपमा गर्नुभयो। अहिले बिहानको दस बजे म यो लेख्दैछु। स्वर्गमा हुनुहुने मेरा पितालाई धन्यवाद होस् मैले पाइरहेका धेरै कृपाहरूका लागि — एउटा आरामदायी खाट छ, पीडा छैन, भोकको इच्छा पनि छैन; यद्यपि अत्यन्तै कमजोर छु र मेरो खाटमा थोरै पनि चल्न सक्दिनँ, चल्न खोज्दा ठूलो परिश्रम पर्छ; तर उहाँको चुलिएर पोखिने प्रशस्त अनुग्रहले म पूर्ण शान्तिमा राखिएको छु, मेरा मुक्तिदाताको प्रेमको भावले  र सबै कुरा बुद्धिसाथ र कृपासाथ योजना गरिएको छ भन्ने निर्धक्कताले म ताजा भएको छु अनि म यो प्रार्थना गर्दछु कि म त्यो पूर्ण आशिष पाउन सकूँ जो प्रदान गरिन नि:सन्देह यो योजना गरिएको हो। मेरा फिक्रीहरू सबै परमेश्वरमाथि राखिएका छन्, अनि म केवल उहाँको समय र उहाँको असल इच्छा मात्र पर्खिरहेको छु — उहाँले मेरो अन्त्य गर्न उहाँलाई जसरी ठीक लाग्छ त्यसरी गर्नलाई। चाहे म मरूँ वा बाँचू, त्यो उहाँमै भएको होस्; म आफ्‍नो शरीर र मेरो प्राण उहाँको वास्ता र रेखदेखमा सुम्पँदछु अनि म यत्नपूर्वक यो प्रार्थना गर्दछु कि उहाँले मेरी प्रिय पत्नी र नानीहरूलाई उहाँका पखेटाका छत्रछायाँमुनि लिनुभएको होस् अनि उनीहरूलाई पूर्णरूपले सान्त्वना र सुरक्षा दिनुभएको होस् अनि बलवान् र पवित्र तुल्याउनुभएको होस् ताकि हामी सँगै मिलेर यो भन्दा उज्यालो त्यो अनन्त संसारमा उहाँको भलाइ र अनुग्रहको निम्ति उहाँलाई भज्न र पूज्न सकौं किनकि उहाँले हामीलाई उहाँको बहुमूल्य रगतले किन्नुभयो र आगोको जलनबाट थुतेर निकाल्नुभयो र हामीलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो र उहाँको स्वर्गीय राज्यको हकदारहरू तुल्याउनुभयो। आमेन।” तीमध्ये एक निडर मानिस मिस्टर विलियम्सले यो लेखे कि उनको शरीर कमजोर भए तापनि उनको आत्मा बलियो र खुशी छ अनि उनले आफ्‍नो अवस्था र परिस्थितिलाई संसारको अर्को कुनै पनि जिउँदो मानिससित साट्न चाहँदैनन्। उनलाई यो लाग्यो कि मृत्यु अब नजिक आउँदै गरेको भए तापनि उनी आफू हिँड्नु पर्ने कर्तव्यको मार्गमा छन्। यो सबै एकदम दु:खलाग्दो थियो र कप्तान गार्डनरको मिसन विफल भएको जस्तै देखिन्थ्यो। तर त्यसो होइन। उनको साहसी र शूरवीर प्रयासको कहानी टाढाटाढा सम्म फैलियो अनि उनको जीवनले जे हासिल गर्न सकेन उनको मृत्युले हासिल गर्न सफल भयो — त्यसले मानिसहरूलाई यसरी भन्न विवश पार्‍यो, “परमेश्वरको सहायताले त्यो मिसनको काम जारी राखिनेछ।” अनि यस्तै भयो। अरूहरू त्यहाँ गए। त्यहाँका आदिवासीका साना बाबुहरूलाई तालीम दिन इङ्ल्याण्ड ल्याइयो। एउटा जहाजले मिसनरीहरू त्यहाँ लगे जुन जहाजको नाम आलेन गार्डनर राखियो। कोहीकोही त्यहाँ मारिए, तर सट्टामा अरूहरू गए। अन्तमा प्रभुको काम त्यहाँ फस्टायो अनि धेरैजना क्रूर वासिन्दाहरू येशू ख्रीष्टमा नयाँ सृष्टि बनें। — आफू मृत्यु हुनुभन्दा एकदुई दिन अगाडि मिस्टर विलियम्सले यो लेखेका थिए: “कुनै कुराले यसमा एउटा कुरा थप्न मलाई रोक्नु अघि, घरका मेरा सबै प्रियजनहरू यस कुरामा ढुक्क होऊन् कि यी कुराहरू लेखेको रातमा म बयान गर्न सकिने भन्दा बढी खुशी थिएँ अनि मेरा अवस्थाहरूलाई कुनै पनि जीवित मानिससित साट्ने थिइनँ। उनीहरू यस कुरामा पनि ढुक्क होऊन् कि मेरा आशाहरू अमरताले पूर्ण भएर फक्रिरहेका थिए; कि स्वर्ग र प्रेम र ख्रीष्ट, जसको अर्थ एउटै हो र उही ईश्वरीय कुरा हो, मेरो हृदयमा थिए; कि महिमाको आशा र स्वर्गमा मेरो लागि राखिएको आशाले मेरो सम्पूर्ण हृदयलाई आनन्द र रमाहटले भरेको थियो अनि मेरा निम्ति जिउनु ख्रीष्ट हो र मर्नु लाभ हो। म दुईटा कुराको बीचको दोधारमा छु, शरीरमा रहूँ कि ख्रीष्टसित हुन बिदा लिऊँ जुन अति नै बढी असल छ। उनीहरूलाई थाहा होस् कि मैले उनीहरूलाई प्रेम गरें र उनीहरू एक एकको निम्ति प्रार्थना गरें। परमेश्वरले उनीहरू सबैलाई आशिष दिनुभएको होस्।”
Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype
Print Friendly, PDF & Email