ख्रीष्टको पुनरागमनका दुई भिन्न चरणहरू

ख्रीष्टको पुनरागमनका दुई भिन्न चरणहरू
सङ्कष्ट-पूर्व आगमन (“र्याप्चर”) र सङ्कष्ट-पश्चात् आगमन (“दोस्रो आगमन) का बीच तुलनात्मक अध्ययन
१) कहिले?
क) र्याप्चर – सङ्कष्टकाल अघि (प्रकाश ३:१०)। मण्डली विश्वभरि आइपर्ने परीक्षाको उक्त घडीबाट जोगाइनेछ।
ख) दोस्रो आगमन – सङ्कष्टकाल पछि (मत्ती २४:२९-३०; प्रकाश १९:११-१६)।
२) कति छिटो?
क) र्याप्चर – “एकै छिनमा” (ग्रीकमा “अणु”, अक्षरशः “टुक्र्याउन नसकिने”; समयलाई वर्ष, महिना, दिन, घण्टा, मिनेट र सेकेण्डमा भाग लगाइन्छ, र समयको “अणु” भन्नाले समयको सबभन्दा सानु एकाइ भन्ने बुझिन्छ अथवा “आँखाको झिमिकमा” (१ कोरिन्थी १५:५२)। र्याप्चर एकदम अचानक हुनेछ। चाल पाउँदा नपाउँदै उक्त घटना घट्नेछ (जस्तो हनोकलाई हुन गयो, उत्पत्ति ५:२४; हिब्रू ११:५)। नभेटिने गरी अचानक एउटा मान्छे “र्याप्चर” (अपसरन) हुन गएको उदाहरण प्रेरित ८:३९ मा छ (आउनेवाला र्याप्चरलाई जनाउने ग्रीक शब्द हारपाजो (αρπαζω) त्यहाँ प्रयोग भएको छ)।
ख) दोस्रो आगमन – उक्त घटना चाल पाउन सक्ने गरी हुन्छ, ज्यादा छिटो हुँनेछैन (मत्ती २४:२७; प्रकाश १:७; भजनसङ्ग्रह २:२; प्रकाश १९:१९)। ख्रीष्टको दोस्रो आगमन संसारका सबैले प्रस्टै देखिने गरी हुनेछ, नदेख्ने कोही हुनेछैन।
३) मिति (घटनाको दिन)
क) र्याप्चर – अज्ञात दिन। प्रभु येशू ख्रीष्ट आफ्नो मण्डलीलाई लिनलाई अवश्य आउनुहुनेछ (यूहन्ना १४:३) तर कहिले भन्ने कुरा हामी जान्दैनौं (तुलना गर्नुहोस्, १ यूहन्ना २:२८ र ३:२ लाई जहाँ ग्रीक व्याकरणको संभाव्यतासूचक (subjunctive mood) प्रयोग भएको छ जसले उहाँको आगमनको यथार्थतालाई इङ्गित गर्नुको साथै उक्त घटनाको समय अनिश्चित भएको कुरालाई समेत जनाउँदछ।
ख) दोस्रो आगमन – तोकिएको दिन। दोस्रो आगमनको मिति कहिले पर्छ भनेर त्यसको दिन समेत हिसाब निकाल्न सकिन्छ। उक्त घटना ख्रीष्टविरोधीले इस्राएलसित करार सदर गरेको (दनिएल ९:२७) मितिबाट २५२० दिनमा घट्नेछ (७ वर्ष, अथवा ३०-३० दिनको ८४ महिना)। अथवा त्यो उजाड पार्ने घृणित बस्तु (मत्ती २४:१५) को समयदेखि १२६० दिन (३ १/२ वर्ष) पछि हुनेछ। हेर्नुहोस्, प्रकाश ११:२,३; १२:६,१४; १३:५; २ थेस्सलोनिकी २:८ (दोस्रो आगमनमा ख्रीष्टविरोधी नष्ट पारिन्छ)। तर माथि उल्लेखित करार सदर नभएसम्म कसैले पनि यस “तोकिएको दिन” कुन दिन पर्छ भनेर हिसाब निकाल्न भने सक्नेछैन।
४) पूर्व चिन्हहरू
क) र्याप्चर – चिन्हबिहीन (तीतस २:१३; प्रकाश २२:२०; आदि)। उहाँ आफ्नो मण्डलीलाई लिनलाई कुनै पनि घडी आउन सक्नुहुन्छ; उहाँ आउनसक्न पूरा हुनैपर्ने त्यस्तो कुनै कुरा छैन। केवल मण्डली निर्माणको पूर्णतालाई मात्र हामी पर्खिरहेका छौं (मत्ती १६:१८; रोमी ११:२५)। सो कहिले पूरा हुनेछ भन्ने कुरा परमेश्वर मात्र जान्नुहुन्छ।
ख) दोस्रो आगमन – थुप्रै चिन्हहरूसहित (मत्ती २४:३-२८)। ख्रीष्ट संसारमा फर्कन अघि थुप्रै कुरा पूरा हुनैपर्नेछ (जस्तै, प्रकाश ६-१८ का घटनाहरू)।
५) दृष्टिगोचरता
क) र्याप्चर – ख्रीष्टलाई मण्डलीले मात्र देख्नेछ (१ थेस्सलोनिकी ४:१७; १ यूहन्ना ३:२)।
ख) दोस्रो आगमन – ख्रीष्टलाई हरेक आँखाले देख्नेछ (प्रकाश १:७; मत्ती २४:२४-२७)।
६) घटनास्थल
क) र्याप्चर – आकाशमा (१ थेस्सलोनिकी ४:१७)
ख) दोस्रो आगमन – पृथ्वीमा (जकरिया १४:१४; प्रेरित १:११)।
७) घटनापश्चातको न्याय
क) र्याप्चर – ख्रीष्टको न्यायआसन (२ तिमोथी ४:१,८; १ पत्रुस १:७)
ख) दोस्रो आगमन – दुष्ट सेनाहरूको विनाश (प्रकाश १९:१७-१९) साथै बचेका जातिहरूको न्याय (मत्ती २५:३१-४६)।
८) पृथ्वीबाट लगिने को हुन् र पृथ्वीमा छोडिने को हुन्?
क) र्याप्चर – विश्वासीहरू लगिन्छन्, अविश्वासीहरू छोडिन्छन् (१ थेस्सलोनिकी ४:१३-१८; १ कोरिन्थी १५:५१-५३; यूहन्ना १४:३)
ख) दोस्रो आगमन – अविश्वासीहरू लगिन्छन्, विश्वासीहरू छोडिन्छन् (मत्ती २४:३७-४१ र लूका १७:३४-३७)। मत्ती २४:३८ मा हेर्नुहोस् जहाँ नूहका दिनमा अविश्वासी संसार इन्साफमा लगिएको थियो।
९) ख्रीष्टको आउनुको उद्देश्य
क) र्याप्चर – आफ्नो दुलहीलाई ग्रहण गर्न (यूहन्ना १४:३; १ थेस्सलोनिकी ४:१७)
ख) दोस्रो आगमन – आफ्नो राज्यलाई ग्रहण गर्न (लूका १९:२२; प्रकाश १९-२० अध्यायहरू)
१०) जिउँदा विश्वासीका शरीरहरू
क) र्याप्चर – मण्डली युगका मरिसकेका विश्वासीहरू बौराइन्छन् र आकाशमा उठाइन्छन् भने जिउँदा विश्वासीहरू अमर शरीरमा बदली गराइन्छन् (१ कोरिन्थी १५:५२-५३; १ थेस्सलोनिकी ४:१७)।
ख) दोस्रो आगमन – सङ्कष्टकालबाट बचेर निस्केका विश्वासीहरू प्राकृतिक शरीरमै हजार वर्षको राज्यभित्र प्रवेश गर्नेछन् (मत्ती २५:२३) र यिनै विश्वासीहरूका सन्तानहरूद्वारा पृथ्वी फेरि भरिनेछ।