येशू मर्नुभएपछि उहाँ कति दिनमा स्वर्ग जानुभयो?

एकजना पाठकले हामीलाई निम्न प्रश्न लेखेर पठाउनुभयो:
येशू मर्नुभएपछि उहाँ कति दिनमा स्वर्ग जानुभयो? निम्न पदहरूलाई कसरी बुझ्दा ठीक हुन्छ?
“अनि येशूले उसलाई भन्नुभयो: “म तिमीलाई साँच्चै भन्दछु, आज नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ” (लूका २२:४३)।
येशूले तिनलाई भन्नुभयो: “मलाई नछोऊ, किनभने म अझै माथि मेरा पिताकहाँ गएको छैनँ; तर मेरा भाइहरूकहाँ जाऊ, र उनीहरूलाई भनिदेऊ, मचाहिँ माथि मेरा पिता र तिमीहरूका पिता, अनि मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जान्छु” (यूहन्ना २०:१७)।
—
एउटा पदअनुसार उहाँ क्रूसमा मर्नुभएकै दिन स्वर्गलोकमा जानुभयो तर अर्को पदअनुसार उहाँ बौरेर उठ्नुभएपछि पनि अझै पिताकहाँ जानुभएको थिएन। यसबाट हामीले यति जान्न सक्छौं कि प्रभु क्रूसमा मर्नुभएपछि उहाँ पिताकहाँ जानुभएन, तर अर्कै ठाउँमा जानुभयो जसलाई नेपाली बाइबलमा “स्वर्गलोक” भनेर अनुवाद गरिएको छ। प्रभु जानुभएको “स्वर्गलोक” कहाँ थियो?
मत्ती १२:४० मा प्रभु येशूले भन्नुभयो, “किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसका पुत्र पनि पृथ्वीको पेटभित्र तीन दिन तीन रात हुनेछन्।”
“पृथ्वीको पेट” लाई पुरानो नियमले हिब्रूमा शओल (שְׁאוֹל) शब्दले जनाउँछ जसलाई नेपालीमा बाइबलमा “अधोलोक” भनेर अनुवाद गरिएको छ। “किनभने तपाईंले मेरो प्राणलाई अधोलोकमा छोड्नुहुनेछैन; न ता तपाईंले आफ्नो पवित्र जनलाई सड्न दिनुहुनेछ” (भजनसङ्ग्रह १६:१०)। यो भविष्यवाणी प्रभु येशू ख्रीष्टको बारेमा हो भनेर प्रेरित पत्रुसले बताएका छन् (प्रेरित २:३१)। ख्रीष्टको मृत शरीर तीन दिनसम्म यरूशलेमबाहिरको चिहानमा थियो तर उहाँको प्राण त्यतिखेर शओलमा अर्थात् अधोलोकमा अर्थात् पृथ्वीको पेटमा थियो। पृथ्वीको पेट भन्नाले पृथ्वीको भित्री भाग वा बीच भाग भन्ने बुझिन्छ, पृथ्वीको सतहमा देखिने कुनै पहरामा खोपेर बनाएको चिहान होइन।
“स्वर्गलोक” भनेर अनुवाद गरिएको शब्द ग्रीकमा पाराडिसोस् (παράδεισος) हो। पाराडिसोस् (अङ्ग्रेजीमा paradise) पर्सियन भाषाबाट आएको आगन्तुक शब्द हो जसले एउटा बगैंचा वा पार्कलाई जनाउँछ। अदनमा परमेश्वरले लगाउनुभएको बगैंचालाई जनाउन पुरानो नियमको प्राचीन ग्रीक अनुवाद (सेप्तुवजीन्त) मा यही पाराडिसोस् शब्द प्रयोग भएको छ (उत्पत्ति २:८)। उपदेशक २:५ को “फलका बगान” भनेर अनुदित ठाउँमा सेप्तुवजीन्तमा पाराडिसोस् शब्द भेटिन्छ। आदम र हव्वा अदनको बगैंचामा छँदा उनीहरू यस अर्थमा पाराडिसोस् अथवा “स्वर्गलोक” मा थिए र परमेश्वर स्वयं उनीहरूसित त्यहाँ भेट गर्नुहुन्थ्यो र उनीहरूसित कुराकानी गर्नुहुन्थ्यो (उत्पत्ति ३:८)। तर आदम र हव्वाले पाप गरेपछि परमेश्वरले उनीहरूलाई “अदनको बगैंचाबाट बाहिर निकाल्नुभयो” (उत्पत्ति ३:२३) र “धपाइदिनुभयो” (उत्पत्ति ३:२४) र त्यस दिनबाट उनीहरू परमेश्वरको पाराडिसोस् अथवा “स्वर्गलोक” बाट बञ्चित भए र उनीहरूको कोखमा भएको सम्पूर्ण मानव जाति समेत।
परमेश्वरमा विश्वास गर्ने जनहरू मृत्युपछि विश्राममा प्रवेश गर्छन् (भजनसङ्ग्रह १६:९; १ शमूएल २८:१५)। तर कहाँ? बाइबलको जवाफ दुईटा छ: पहिलो, ख्रीष्टको बलिदान अगाडिका विश्वासीहरू मरेपछि अधोलोकमा जान्थे (योना २:२ “अधोलोकको पेट”) तर। ख्रीष्टको बलिदान र बौरिउठाइपछिका विश्वासीहरू स्वर्गमा जान्छन् जहाँ ख्रीष्ट हुनुहुन्छ (२ कोरिन्थी ५:८, फिलिप्पी १:२३)।
तर अधोलोकमा त दुष्टहरू अर्थात् विश्वास नगर्नेहरू पनि पुग्छन् भनिएको छ (भजनसङ्ग्रह ९:१७)। यो कसरी हुन सक्छ? विश्वासी र अविश्वासी एउटै ठाउँमा? यसको जवाफ लूका १६:२२-२६ मा भेटिन्छ। विश्वासी लाजरस र धनी मानिस मरेपछि दुवै पृथ्वीको पेटमा गए। प्रभुको बयानअनुसार त्यहाँ दुईटा छुट्टा-छुट्टै ठाउँ छन् — विश्वासीहरूको लागि विश्रामको ठाउँ जसलाई “अब्राहामको काख” भनिएको छ (लूका १६:२३) र अविश्वासीहरूको लागि “ज्वाला” को ठाउँ (लूका १६:२४) जहाँ पीडा छ। धनी मानिसले लाजरसलाई अब्राहामसित देख्न सक्यो, अब्राहामसित कुराकानी पनि गर्न सक्यो तर उनीहरू एक ठाउँबाट अर्को ठाउँमा जान सक्दैनथे किनकि उनीहरूको बीचमा “एउटा ठूलो खाँद राखिएको” कुरा उल्लेख छ (लूका १६:२६)। यसबाट हामी बुझ्छौं अधोलोकमा रहेको अब्राहामको काख भनिने विश्वासीहरू जाने ठाउँ नै त्यो ठाउँ रहेछ जहाँ प्रभु क्रूसमा मर्नुभएपछि जानुभयो जहाँ त्यो विश्वास गर्ने डाँकु पनि गयो। त्यसलाई प्रभुले लूका २३:४३ मा “स्वर्गलोक” भन्नुभयो। तीन दिनपछि उहाँ त्यो ठाउँ छोड्नुभयो, आफ्नो शरीरभित्र प्रवेश गर्नुभयो र चिहानबाट बौरेर उठ्नुभयो।
अधोलोकमा आज विश्वासीहरू छैनन् किनभने प्रभुले आफ्नो स्वर्गारोहणको बेलामा उनीहरूलाई साथमा लानुभयो भन्ने बुझिन्छ एफेसी ४:८ अनुसार।
अनि प्रभु स्वर्गारोहण हुनुभएको चाहिँ उहाँ बौरिउठ्नुभएको ४० दिनपछि हो (प्रेरित १:२)। पावल प्रेरित स्वर्ग उठाइँदा आफू पुगेको ठाउँलाई उनले “स्वर्गलोक” (२ कोरिन्थी १२:३, पाराडिसोस्) शब्दले बयान गरेका छन्। साथै त्यस ठाउँलाई पावलले “तेस्रो स्वर्ग” (२ कोरिन्थी १२:२) भनेर पनि बयान गरे, अधोलोक होइन।