मण्डली के हो?

मण्डली के हो?
डेविड क्लाउड
पद कण्ठ: मत्ती १६:१८; प्रेरित २:४०-४२; १ तिमोथी ३:१५; हिब्रू १०:२५
मण्डलीको महत्त्व
- मण्डलीलाई स्थापना गर्नुभएको येशूले हो; यो नै वर्तमान युगका लागि उहाँबाटको संरचना हो, महान् आज्ञा पूरा गराउने उहाँको माध्यम हो (मत्ती १६:१८; २८:१८-२०)।
- मण्डली परमेश्वरको घर हो, सत्यको खाँबो र जग हो (१ तिमोथी ३:१५)। यस अन्धकारपूर्ण संसारलाई चाहिएको कुरा नै सत्यता हो अनि संसारले सत्यलाई देख्न सकून् भनेर नै येशूले मण्डलीलाई सत्यको जग हुनलाई र सत्यलाई उचाल्नलाई त्यसको सृजना गर्नुभयो। सत्यको प्रतिरक्षा गर्नु, परमेश्वरका जनहरूलाई त्यसमा तालिम दिनु र विश्वभरि त्यसको घोषणा गर्नु मण्डलीको जिम्मेवारी हो।
- प्रेरितदेखि प्रकाशसम्म, मण्डली मुख्य विषयवस्तुको रूपमा भेटिन्छ। यो ११० पटक उल्लेख भएको छ। प्रेरितको पुस्तकमा प्रथम मण्डलीहरूको स्थापना भएको पाउँदछौं। नयाँ नियमको अधिकांश भाग मण्डलीहरूलाई सम्बोधन गरी लेखिएको छ, जस्तै रोमको मण्डलीलाई र कोरिन्थको मण्डलीलाई। प्रकाशको पुस्तक सातओटा निश्चित मण्डलीहरूलाई सम्बोधन गरी लेखिएको छ (प्रकाश १:४)। साथै कुनै निश्चित मण्डलीलाई सम्बोधन नगरिएका पत्रहरूमा पनि मण्डलीलाई नै दृष्टिगत गरिएको पाइन्छ। जस्तै, हिब्रूको पुस्तक मौलिक रूपमा यहूदी विश्वासीहरूलाई लक्षित गरेर लेखिएको भए तापनि त्यसमा माण्डलिक जीवन सम्बन्धित निकै जोडदार अर्तीहरू भेटिन्छन् (हिब्रू १०:२५; १३:७, १७)। याकूबको पत्रको सवालमा पनि उही कुरा भन्न सकिन्छ (जस्तै, याकूब ५:१४), साथै पत्रुसको पत्र (१ पत्रुस ५:१-४) र यूहन्नाका पत्रहरूको सवालमा पनि (३ यूहन्ना ९-११)।
पवित्रशास्त्रले ख्रीष्टियनहरूलाई दिएको नमुना भनेको मण्डलीप्रति समर्पित हुनु र त्यसका सेवाहरू र कार्यहरूमा विश्वासयोग्य बन्नु हो।
मण्डलीको स्वायत्तता (autonomy): मण्डली र मण्डलीहरू
कुनै इलाकामा भएका मण्डलीहरूको एउटा समूहलाई सम्बोधन गर्नुपर्दा बाइबलले मण्डली (एकवचन) भन्ने शब्दावली प्रयोग गर्दैन। त्यस्तो अवस्थामा, सधैँ मण्डलीहरू (बहूवचन) प्रयोग गर्दछ — गलातीयाका मण्डलीहरू (१ कोरिन्थी १६:१), म्यासिडोनियाका मण्डलीहरू (२ कोरिन्थी ८:१), यहूदीयाका मण्डलीहरू (गलाती १:२२), एशियाका मण्डलीहरू (प्रकाश १:४)। ‘नेपालको मण्डली’ वा ‘अमेरिकाको मण्डली’ जस्ता शब्दावली बाइबलीय होइनन्। ‘मण्डली’ शब्दावलीको यस्तो किसिमको प्रयोग रोमन क्याथोलिक चर्चबाट आएको हो र प्रोटेस्टेन्टहरूले रोमबाट निस्केपछि पनि यसलाई निरन्तरता दिएका हुन्।
प्रेरितहरूले मण्डलीलाई एउटै शिर, ख्रीष्टको अधीनतामा रहनुपर्ने एउटा स्वायत्त संस्थाको रूपमा स्थापित गरे। प्रत्येक मण्डलीको आफ्नै अगुवाहरू हुन्छन्, आफ्नै कार्ययोजना हुन्छन्। यो नमुना पावलको पहिलो मिसनरी यात्रादेखि शुरु भएको पाइन्छ (प्रेरित १४:२३)।
१ तिमोथी ३:१५ मा ‘परमेश्वरको घर’ भनेर उल्लेख गरिएको मण्डली एल्डर तथा डिकनहरू भएको मण्डली हो (१ तिमोथी ३:१-१४)।
यो कुरा प्रकाश १:४ मा देख्न सकिन्छ जहाँ प्रत्येक मण्डलीलाई छुट्टाछुट्टै गरी सम्बोधन गरिएको छ। प्रकाश १:१२-१३ मा येशू मण्डलीहरूको बीचमा उभिरहनुभएको छ, जो मण्डलीहरू सुनका सामदानहरूले जनाइएका छन्। पुरानो नियमको भेट हुने पालभित्र एउटा मात्र सामदान थियो, तर नयाँ नियमको प्रबन्धमा त्यहाँ धेरैओटा समादानहरू छन् किनकि प्रत्येक नै एउटा ज्योति हो। प्रत्येक मण्डली नै “सत्यको खाँबो र जग हो” (१ तिमोथी ३:१५)।
मण्डलीमा सदस्यता
मण्डली सदस्यताको सिद्धान्त प्रेरितको पुस्तकमा पाइन्छ जुन कुराको अभ्यास पहिलो मण्डलीदेखि नै शुरु भएको पाइन्छ। प्रेरित १:१५ मा सदस्यहरूको नामावली राखिएको देखिन्छ। प्रेरित २:४१ मा पेन्टेकोस्टका दिनमा बचाइएकाहरू “तिनीहरूमा थपिए” भन्ने कुरा पाउँछौं। यसको माने पन्ध्रौं पदमा पहिल्यै उल्लेख भएकाहरूको जमातमा थपिए भन्नु हो। बचाइएका र बप्तिस्मा गरिएकाहरू मण्डलीमा थपिएका थिए। मण्डली सदस्यताको अभ्यास थियो त्यो।
केंख्रेयामा भएको मण्डलीकी फिबी (रोमी १६:१) र कलस्सेका मण्डलीका ओनेसिमस र एपाफ्रास (कलस्सी ४:९, १२) का उदाहरणहरूले हामीलाई मण्डली सदस्याताको सिद्धान्त सिकाउँदछन्। यी विश्वासीहरू अन्य ठाउँहरूमा कामकाजले जानुपर्दा पनि उनीहरूको आ-आफ्ना स्थानीय मण्डलीसितको आवद्धतालाई कायम राखिएको छ।
मण्डली सदस्यता आवश्यक हुनुका चारओटा कारणहरू
मण्डलीका धेरै कुरा जस्तै मण्डली सदस्यता पनि एउटा व्यावहारिकताको विषय हो। मण्डलीमा सदस्यता भन्ने कुरा नै भएन भने, को-को मण्डलीभित्रका हुन् र को-को यसबाहिरका हुन् कसरी जान्ने?
- मण्डली सदस्यता आवश्यक पर्छ किनकि प्रत्येक मण्डली एउटा शरीर हो र एउटा परिवार हो।यद्यपि परमेश्वरको बृहत् परिवार पनि छ, प्रत्येक मण्डली आफैंमा पनि एउटा परिवार हो र त्यसको आफ्नै कार्ययोजनाहरू हुन्छन्। नयाँ नियममा प्रत्येक मण्डली आ-आफ्नै सदस्यहरूसहितको एक आत्मिक शरीर पनि हो। पावलले कोरिन्थको मण्डलीलाई भने, “अनि एउटा अङ्गले दुःख पायो भने सबै अङ्गहरूले त्योसँगै दुःख भोग्छन्; अथवा एउटा अङ्गले आदर पायो भने सबै अङ्गहरूले त्योसँगै आनन्द मनाउँछन्। अब तिमीहरू ख्रीष्टको शरीर हौ, र एक-एक गरी चाहिँ अङ्गहरू हौ” (१ कोरिन्थी १२:२६-२७)। यस वर्तमान संसारमा “ख्रीष्टको शरीर” को सर्वोपरि व्यावहारिकता स्थानीय मण्डलीमा नै अभ्यास हुने कुरा हो।
- सत्यमा एकता कायम राख्नलाई मण्डली सदस्यता आवश्यक पर्छ।शिक्षा र अभ्यासमा विश्वासीहरूको एउटै मन हुनुपर्छ भनेर बाइबलले आवश्यक ठान्दछ (१ कोरिन्थी १:१०)। यसैकारणले हो हाम्रो मण्डलीको एउटा विश्वासको विस्तृत विवरण छ र हरेक सदस्य त्यसमा सहमत हुनुपर्छ भन्ने माग राख्दछौं। सदस्यताबिना परमेश्वरले माग राख्नुभएअनुसार झूटा शिक्षकहरूलाई मण्डलीभित्र छिर्नदेखि रोक्ने र सत्यतामा हाम्रो एकता कायम राख्ने उपाय हुँदैन।
- अनुशासन कायम राख्नलाई मण्डली सदस्यता आवश्यक पर्छ (१ कोरिन्थी ५:११-१३)।१ कोरिन्थी ५ मण्डली अनुशासन सम्बन्धी हो र पद १२ मा हामी देख्छौं त्यहाँ तिनीहरू छन् जो मण्डलीभित्रका हुन् र अरू जो मण्डलीबाहिरका हुन्। कुनै पनि एक माण्डलिक जमातले को भित्रका हुन् र को बाहिरका हुन् र को अनुशासनमा राखिएका छन् र को छैनन् भनेर कसरी जान्न सक्दछ यदि त्यहाँ कुनै न कुनै किसिमको सदस्यता प्रणाली छैन भने? हामीले अघि नै भनिसक्यौं, यो व्यावहारिकताको सवाल हो। बाबुआमाले अरू मानिसका छोराछोरीलाई अनुशासन गर्न सक्दैनन्, र त्यसरी नै एउटा मण्डलीले आफ्नै परिवारको सदस्य नभएकाहरूलाई अनुशासन गर्न सक्दैनन्। साथै पद ११ अनुसार अनुशासनमा राखिएकाहरूले अरू सदस्यहरूसित खान सक्दैनन् भनिएको छ; यसले व्यक्तिगत सङ्गति र प्रभु-भोज दुवैलाई समेट्दछ। आफ्ना सदस्यहरूको सवालमा अनुशासन कायम राख्नलाई मण्डली परमेश्वरका सामु जिम्मेवार हुन्छ र अनुशासनमा राखिएकाहरूले प्रभु-भोज लिन सक्दैनन्। त्यसैले को परिवारभित्रका हुन् र को बाहिरका हुन् भनेर मण्डलीले छुट्ट्याउन सक्ने उपाय हुनु आवश्यक देखिन्छ।
- अधिकारको निम्ति मण्डली सदस्यता आवश्यक छ।नयाँ नियममा तीन पटक मण्डलीमा हामीमाथिका “अगुवाहरू” को उल्लेख छ (१ थेस्सलोनिकी ५:१२; हिब्रू १३:७,१७)।यी पवित्रशास्त्रहरू अनुसार हरेक विश्वासी मण्डली अगुवाहरूको अधिकारमुनि रहनुपर्छ। यदि सदस्यता भन्ने कुरा छैन भने मण्डली अगुवाहरूले कसरी आफूहरूले अगुवाइ गर्नुपर्नेहरू को हुन् भनेर जान्न सक्नेछन् र? के मण्डलीमा आउने जोकोहीलाई अगुवाइ गर्ने अधिकार हुन्छ र पास्टरहरूसँग? अवश्य हुँदैन; त्यहाँ कुनै न कुनै सदस्यता प्रणाली हुनु जरुरत छ जसमा मण्डलीले नयाँ सदस्यहरूलाई स्वागत गर्ने एउटा मानदण्ड हुन्छ र सदस्यता चाहनेको हकमा एउटा समर्पणताको आवश्यकता पर्ने हुन्छ।
बिगतदेखि केही विश्वासीहरू मण्डली सदस्यताको सम्बन्धमा मसित असहमत भएका छन्। उनीरूलाई मुक्तिद्वारा ख्रीष्टको अङ्ग हुनुबाहेक अन्य कुनै सदस्यताको खाँचो छैन भन्ने कुरामा उनीहरू विश्वस्त छन्, र कति पटक पास्टरीय अधिकारको सवालमा उनीहरूको नकारात्मक धारणा भएको पाइएको छ। मैले एक पटक एकजना मण्डली डुलुवालाई प्रश्न गरेँ, “तपाईंमाथि कसले शासन गर्छ?” तिनले भने, “ख्रीष्टले”। मैले भने, “तर हिब्रू १३:७ र १७ ले त ख्रीष्टकै बारेमा नभएर मण्डली अगुवाहरूको कुरा गरेको छ नि।” तिनी निरुत्तर भए।
त्यस्ता गाउँ-शहर हुन्छन् जहाँ एउटा खाँटी नयाँ नियम मण्डली भेट्टाउनै सकिन्न। त्यस्तो परिस्थितिमा एक विश्वासीजनले परमेश्वरको अगुवाइ खोज्दै जे सर्वोत्तम छ त्यो नै गर्नुपर्छ, तर यो भनेको सामान्य नियमको कुरा नभएर अपवादको कुरा हो। म आफै त्यस्तो परिस्थितिमा पर्न गएँ भने, म कि त एउटा असल मण्डली शुरु गर्नलाई मैले गर्न सक्ने जे छ त्यो भ्याएसम्म गर्नलाई प्रयास गर्नेथिएँ, कि त म त्यस्तो मण्डलीको एक विश्वासयोग्य सदस्य बन्न सक्नलाई अर्को ठाउँमा बसाइ सर्नेथिएँ। साथै म त्यस्ता विश्वासीहरूलाई पनि चिन्छु जो एउटा असल मण्डलीमा उपस्थित हुनलाई एक वा बढी घण्टा गाडी चढेर जाने गर्छन्। भन्नुपर्दा, म एउटा जोडीलाई चिन्छु जो तीन घण्टा गाडी चढ्छन् (दुईतर्फी गर्दा ६ घण्टा) किनकि आफ्नो घरबाट त्यो भन्दा नजिकको कुनै असल मण्डली छैन र हालमा उनीहरूको बसाइ सर्न सक्ने स्थिति पनि छैन।
मण्डलीप्रतिको विश्वासयोग्यता
हरेक विश्वासी मण्डलीप्रति विश्वासयोग्य हुनुपर्छ। यो महत्त्वपूर्ण कुरा हो र यसका कारणहरू निम्न प्रकार छन्:
- विश्वासीलाई मण्डलीको शिक्षा र प्रचार चाहिन्छ (प्रेरित २:४२; कलस्सी १:२८)। विश्वासीहरूलाई तालिम दिनलाई र चेला बनाउनलाई परमेश्वरले नियुक्त गर्नुभएको बाइबल इन्स्टिट्युट भनेको नै मण्डली हो। मण्डलीहरूलाई बगालको वृद्धि र उन्नति गर्न अनि भ्रमहरूबाट त्यसको सुरक्षा गर्नका लागि परमेश्वरले सेवाकार्यमुखी दानयुक्त व्यक्तिहरू दिनुहुन्छ (एफेसी ४:१२-१५)।
- विश्वासीलाई अरू ख्रीष्टियनहरूको सङ्गति चाहिन्छ (प्रेरित २:४२)। प्रभुलाई प्रेम गर्ने उस्तै मन भएका दाजुभाई तथा दिदीबहिनीहरूसितको सङ्गति भनेको ख्रीष्टियन हुर्काइ र भ्रमहरूदेखिको सुरक्षाको आवश्यक भाग हो।
- विश्वासीलाई प्रभु-भोज चाहिन्छ (प्रेरित २:४२)। “रोटी भचाइ” भन्नाले प्रभु भोज भन्ने बुझिन्छ र साथै खानपानको साथमा हुने सङ्गति पनि बुझिन्छ। प्रभु-भोज एक मण्डलीले गर्ने प्रभुबाटको आज्ञा (ordinance) हो। नयाँ नियममा यो सधैं एक माण्डलिक कार्य हो (१ कोरिन्थी ११:२०-३४)। जे. भर्नन मक्गी (J. Vernon McGee) जस्ता कोही-कोही “रेडियो पास्टरहरू” ले आफ्ना रेडियो स्रोताका समूहहरूलाई प्रभु भोज कार्य गर्ने गराउँछन्, तर यो बाइबलसम्मत छैन। एउटा रेडियो कार्यक्रम मण्डली होइन, र रेडियो वा टेलिभिजन वा इन्टरनेटमार्फत सुनिने कुनै प्रचारकलाई आफ्नो पास्टर भन्न मिल्दैन।
- विश्वासीलाई प्रार्थनाहरू चाहिन्छ (प्रेरित २:४२)। पहिलो मण्डलीको प्रसङ्गमा उल्लेखित चारओटा अनिर्वार्य आत्मिक क्रियाकलापमध्येमा प्रार्थना एउटा हो। यसले माण्डलिक प्रार्थनालाई जनाउँदछ।
- विश्वासीलाई अन्य दाजुभाई तथा दिदीबहिनीबाटको अर्तीपूर्ण सेवा चाहिन्छ (हिब्रू १०:२४-२५)। माण्डलिक सभा भनेको खालि उपस्थित भई बसेर हेर्ने एउटा मुक दर्शक खेल जस्तो मात्र होइन। हरेक विश्वासी अरू दाजुभाई तथा दिदीबहिनीहरूलाई कसरी सहायता र आशिष बन्न सक्छु भन्दै परमेश्वरसित प्रार्थना गर्दै मण्डलीमा उपस्थित हुनुपर्छ। हामीले एक-अर्कालाई असल-असल कामहरूका निम्ति हौसला दिनुपर्छ र प्रभुमा एक-अर्कालाई अर्ती दिनुपर्छ।
- विश्वासीलाई आत्मिक सुरक्षा चाहिन्छ (“त्यो दिन जति नजिक-नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उति नै बेसी हामी यसो गर्ने गरौं”, हिब्रू १०:२५)। मण्डली एउटा परिवार जस्तो हो; परमेश्वरका सन्तानका लागि यो एउटा पालनपोषण र सुरक्षाको ठाउँ हो। ख्रीष्टको आगमन नजिकिँदै जाने क्रममा त्यहाँ थुप्रै शक्तिशाली आत्मिक शत्रुहरू हुनेछन् र झन्-झन् प्रबल बन्दै जानेछन् भनेर बाइबलले चेताउनी दिएको छ। मण्डलीमा उपस्थित हुनलाई जो हेलचेक्र्याइँ गर्छन् र जोहरू त्यति समर्पित हुँदैनन् तिनीहरू संसार, शरीर र शैतानद्वारा निलिने खतरामा छन् (१ पत्रुस ५:८)।
- विश्वासीलाई अनुशासनको सेवा चाहिन्छ (१ कोरिन्थी ५)। हामीले मण्डली अनुशासनलाई माथि नै उल्लेख गरिसकेका छौं तर हरेक विश्वासी मण्डलीको अधिकारप्रति जवाफदेही हुनुपर्छ। बच्चाले अनुशासन गर्दैन तर उसलाई अनुशासन चाहिन्छ; त्यस्तै गरी ख्रीष्टियनलाई पनि चाहिन्छ।
- विश्वासीले आफ्ना आत्मिक वरदान र सेवाबाट योगदान दिनुपर्छ (१ कोरिन्थी १२:१२-२७; १ पत्रुस ४:१०)। मण्डली भनेको धेरैजना अङ्ग मिलेर बनेको शरीर हो जसमा ती अङ्गहरूका परमेश्वरबाट पाएका फरक-फरक वरदानहरू र सेवाहरू हुन्छन्। यदि विश्वासीले मण्डलीको बेवास्ता गर्छ र ठीक तरिकाले ऊ सहभागी हुन मान्दैन भने मण्डली कमजोर तुल्याइँदछ र यस संसारमा त्यसबाट पूरा हुनुपर्ने परमेश्वरको योजना पूरा हुन पाउँदैन। हरेक विश्वासीले सोध्नुपर्छ, “म कुन सेवामा भाग लिन सक्छु? मण्डलीमा म कसरी प्रभुको सेवा गर्न सक्छु? मेरो भाग के हो?” ऊ परमेश्वरमा बलियो बन्न खोज्नुपर्छ, र परमेश्वरको वचनबाट झन्-झन् बुद्धि प्राप्त गर्न खोज्नुपर्छ ताकि उसले आफ्नो स्थान र सेवा जान्न सकोस्।
- विश्वासीले आफ्ना दसौं अंश र भेटीहरूबाट योगदान दिनुपर्छ (मलाकी ३:१०)। मोशाद्वारा दिइएको व्यवस्थाको प्रबन्धअन्तर्गत दसौं अंश र भेटीहरू मन्दिरमा ल्याइन्थे तर दसौं अंश दिने अभ्यास मोशाभन्दा पनि पहिलाको प्राचीन समयदेखिको हो। अब्राहामले त्यस बेलाका परमेश्वरका पूजाहारी मेल्किसेदेकलाई दसौं अंशहरू दिए (उत्पत्ति १४:१८-२०)। नयाँ नियमका विश्वासीहरूको सवालमा दसौं अंश दिने काम एउटा राम्रो शुरुआत हो भन्ने हामी विश्वास गर्छौं। परमेश्वरका जनहरूले विश्वासयोग्य भई दसौं अंश दिन्छन् भने मण्डलीका खाँचोहरू पूरा भइरहनेछन्। दसौं अंश दिने काम बुद्धिमानी, न्यायोचित योजना हो; जससँग धेरै छ उसले धेरै दिन्छ। तर हामीले परमेश्वरलाई दिने दसौं अंश मात्र हो भनेर सोच्नुहुँदैन। वास्तवमा मोशाको व्यवस्था अन्तर्गत “दसौं अंश” भनेको आफ्नो आम्दानीको कम्तीमा २०% हुन्थ्यो। इस्राएलीहरूले आफ्ना सबै आम्दानीको १०% दिनुपर्थ्यो (गन्ती १८:२४-२८; नहेम्याह १०:३८), र त्यसबाहेक उनीहरूले वार्षिक चाडहरूमा भेटीहरू ल्याउनुपर्थ्यो (जसलाई चाडको दसौं अंश वा दोस्रो दसौं अंश भनिन्थ्यो)। साथै उनीहरूले गरिबहरूलाई पनि दिनुपर्थ्यो। पहिलो मण्डलीको नमुना भनेको विश्वासीहरूले आफ्ना भेटीहरूलाई मण्डलीमा ल्याई अगुवाहरूको सामु राखिदिनुपर्थ्यो (प्रेरित ४:३४-३७); उक्त उदाहरणमा दसौं अंशको कुरा त थिएन, तर यसले के चाहिँ देखाउँछ भने विश्वासीहरूले दिने काम मण्डलीमा र मण्डलीद्वारा गर्थे र भेटीहरू मण्डलीका अगुवाहरूको जिम्मामा सुम्पिइन्थे।
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।