प्रभु भोज

प्रभु भोज

प्रभु-भोजको अर्थ

बाइबलले के भन्दछ?

प्रभु येशू ख्रीष्टले मण्डलीलाई दुइटा विधिहरू दिनुभएको छ। पहिलो, पानीको बप्‍तिस्मार दोस्रो, प्रभु-भोज। यी दुवैलाई प्रेरित २:४१-४२ मा उल्लेख गरिएको छ। यहाँ हामी प्रभु-भोजको बारेमा अध्ययन गर्नेछौं।

प्रभु-भोजका विभिन्न नामहरू

१) सहभागीता (हेर्नुहोस् १ कोरिन्थी १०:१६)

सहभागी हुनुको अर्थ “सङ्गति, संलग्न हुनु, साझा जीवनको भागीदार हुनु” भन्ने बुझिन्छ। यो केवल पास्टर, एल्डरहरू र डिकनहरू मात्र सहभागी हुने कुरो होइन तर सबै विश्वासीहरू भाग लिने, साझा रूपमा सहभागी हुने कुरो हो। बाइबलले भन्दछ, “किनकि हामी __________-एउटै रोटीबाट भाग लिन्छौं” (१ कोरिन्थी १०:१७)। यो हाम्रो लागि आशिष हो कि हामी बौरिउठ्नुभएको हाम्रो प्रभुसित सहभागी भई त्यसमा रमाहट गर्न सक्छौं र साथै एकअर्कासित पनि (१ यूहन्ना १:३; साथै दाँज्नुहोस् १ कोरिन्थी १:९)।

२) प्रभुको टेबल

यो १ कोरिन्थी १०:२१ मा भेटिन्छ — “तिमीहरूले प्रभुको _____________बाट , साथै दुष्ट आत्माहरूको टेबलबाट भाग लिन सक्दैनौ” (१ कोरिन्थी १०:२१)। प्रभु येशूले सर्वप्रथम प्रभु-भोजको शुरूआत गराउनुहुँदा सो एउटा टेबलकै वरिपरि गरिएको थियो। एउटा टेबलकै सामुमा प्रभुले पहिलो पटक रोटी भाँच्नुभयो र कचौरा दिनुभयो। “टेबल” ले हामीलाई सङ्गतिको सम्झना गराउँदछ (दाँज्नुहोस् प्रकाश ३:२० — “म… ऊसँग भोजन खानेछु, अनि उसले मसँग खानेछ”)। एउटै टेबलमा बस्नेहरूले एउटै भोजनमा भाग लिन्छन्। सबै विश्वासीहरू एउटै मुक्तिदाताको भागीदार हुन्छन्। सबै विश्वासीहरू उहाँको बहाइएको रगतमा भरोसा गर्दछन्। सबै विश्वासीहरू उहाँको जीवनमा साझा रूपमा भागीदार भइरहेका हुन्छन्।

३) प्रभु-भोज (१ कोरिन्थी ११:२०)

क्रूसमा टाँगिनुभन्दाको अघिल्लो रात येशू आफ्ना चेलाहरूसित एउटै भोजनमा सहभागी हुनुभयो। उक्त भोजनपछि येशूले रोटी र कचौराको शुरूआत गर्नुभयो (लूका २२:२०; १ कोरिन्थी ११:२५)।

४) यूकरिस्ट

यो एउटा ग्रीक शब्द हो जसको माने “धन्यवाद दिनु” भन्ने हुन्छ। रोटी भाँच्नुअघि र कचौरा बाँड्नुअघि येशूले परमेश्वरलाई धन्यवाद दिनुभयो (मत्ती २६:२७; लूका २२:१९ र १ कोरिन्थी ११:२४)। प्रभु-भोज एउटा विशेष समय हुनुपर्दछ जब विश्वासीहरूले परमेश्वरलाई ख्रीष्टले उनीहरूका लागि गरिदिनुभएको कामका लागि धन्यवाद दिन्छन्।

५) रोटी भँचाइ

येशूले त्यस रात गर्नुभएको कार्य यही नै थियो (मत्ती २६:२६) र येशूका चेलाहरूले यसलाई निरन्तर रूपमा गर्दै आएका छन् (प्रेरित २:४२)।

येशू ख्रीष्टद्वारा शुरूआत गरिएको विधि

प्रभु-भोजको विधि प्रभु येशूलाई धोका दिइएकै रात शुरूआत गरिएको थियो। भोलिपल्ट नै येशू क्रूसमा जानु थियो र हाम्रो लागि दुःख सहँदै आफ्नो रगत बहाउनु थियो। उक्त रात येशूले के गर्नुभयो भन्ने कुरा सुसमाचारीय पुस्तकहरूमा (मत्ती २६२६-३०; मर्कूस १४:२२-२६; लूका २२:१९-२०) र १ कोरिन्थी ११:२३-२५ मा पढ्दछौं।

१ कोरिन्थी ११:२४-२५ मा पाइने आज्ञाहरूलाई ध्यानपूर्वक हेरौं:

  • लेओ (पद २४)

  • खा____ (पद २४)

  • मेरो सम्झनामा यो ________ (पद २४)

  • जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो ___________ (पद २५)।

हामी प्रभु-भोज लिने गर्छौं किनकि यसो गर्न हामीलाई येशू ख्रीष्टले नै अह्राउनुभएको छ! यो आज्ञा येशूको हो। तसर्थ, यसलाई मण्डलीले पालन गर्नैपर्छ!

प्रभु-भोजले केको चित्रण गर्दछ?

बप्‍तिस्माले जस्तै प्रभु-भोजले पनि एउटा ज्यादै महत्त्वपूर्ण चित्र प्रस्तुत गर्दछ। रोटीले चाहिँ ____________________ (मत्ती २६:२६) को चित्रण गर्दछ र कचौराले चाहिँ _____________________ (मत्ती २६:२७-२८) को चित्रण गर्दछ। जब येशूले “यो मेरो शरीर हो”“यो मेरो रगत हो” भन्नुभयो, त्यसको तात्पर्य के थियो? रोमन क्याथोलिकहरूले प्रभु-भोजको रोटी बदलिएर ख्रीष्टकै वास्तविक शरीरमा परिवर्तित हुन्छ भनेर विश्वास गर्दछन्। साथै उनीहरू यो पनि विश्वास गर्छन् कि अङ्गुरको रस बदलिएर येशूकै रगतमा परिवर्तित हुन्छ।

मानौं एकजनासित आफ्नो पत्‍नीको एउटा चित्र वा फोटो छ। एक दिन उलसे आफ्नो साथीलाई उक्त फोटो देखाउँदै भन्छ, “हेर, यो मेरो पत्‍नी हो।” उसको भनाइको तात्पर्य के हो? कागतको त्यो सानो टुक्रा नै उसको पत्‍नी हो भन्ने त पक्कै पनि होइन। उसको भनाइको तात्पर्य यो हो: “यसले मेरो पत्‍नीलाई जनाउँदछ। यो मेरो पत्‍नीको चित्रण हो। जब तपाईं यो चित्रणलाई हेर्नुहुन्छ तब तपाईं मेरो पत्‍नीको बारेमा सोच्नुहुन्छ।

येशूको भनाइको तात्पर्य ठीक यस्तै थियो। येशूले भन्नुभयो, “यो मेरो शरीर हो” र यी शब्दहरूको माने यो हो: “यसले मेरो शरीर जनाउँदछ। यो रोटी मेरो शरीरको चित्रण हो। जब तिमीले यो रोटीलाई हेर्छौ तब तिमीले मेरो शरीर र म क्रूसमा मरेको बेला तिम्रो निम्ति मैले जे गरिदिएँ त्यसको बारेमा सोच्नेछौ। येशूले “यो मेरो रगत हो” भन्नुको तात्पर्य के थियो?

सम्झनाको समय

हामीले किन प्रभु-भोज लिनुपर्छ भनेर प्रभु येशूले हामीलाई बताउनुभएको छ। हामीले किन रोटीबाट खानुपर्छ र कचौराबाट पिउनुपर्छ भनेर उहाँले हामीलाई बताउनुभएको छ। उहाँले भन्नुभयो, “मेरो ________________ यो गर” (१ कोरिन्थी ११:२४,२५)। मानिसमा विर्सने प्रवृत्ति छ भनेर परमेश्वर जान्नुहुन्छ। महत्त्वपूर्ण कुराहरू समेत विर्सने हाम्रो स्वभाव छ! तर एउटा कुरा हामीले कहिल्यै विर्सेको चाहनुहुन्न परमेश्वरले। हाम्रो मुक्तिदाताले हाम्रो निम्ति क्रूसमा के गरिदिनुभयो सो कुरा हामीले कहिल्यै विर्सेको चाहनुहुन्न।

उहाँको शरीर पापको निम्ति एउटा बलिदानस्वरूप चढाइएको थियो

(हेर्नुहोस् १ पत्रुस २:२४; ३:१८; २ कोरिन्थी ५:२१)

उहाँको रगत हाम्रा पापहरू क्षमा गर्न सकियोस् भनेर बहाइएको थियो

(हेर्नुहोस् मत्ती २६:२८; एफेसी १:७; प्रकाश १:५)

प्रभु-भोज यस्तो समय हो जब हामी फर्केर क्रूसलाई विचार गर्छौं र उहाँ हाम्रो सट्टामा मर्नुहुँदा येशूले के गरिदिनुभयो भनेर सम्झना गर्दछौं।

प्रभु-भोजमा सहभागी हुनुपर्नेहरू को हुन्?

येशूले सबैलाई नै रोटीबाट खान र कचौराबाट पिउनलाई आज्ञा गर्नुभएन। योचाहिँ उहाँले आफ्ना चेलाहरूलाई गर्न अह्राउनुभएको कुरा थियो। प्रेरित २:४१-४६ मा हामी सिक्छौं कि “______________ गर्नेहरू सबै एकैसाथ थिए” (पद ४४) अनि यिनै व्यक्तिहरूले “रोटी भाँच्दै” खाएका थिए (पद ४२ र ४६)।

प्रभु-भोज लिनु अगाडि यी चारओटा कुराहरू निश्चित गर्नुहोस्:

१) प्रभु-भोज लिनलाई तपाईंले मुक्ति पाएको हुनुपर्छ। तपाईंले येशू ख्रीष्टमा विश्वास गरेको हुनुपर्छ अर्थात् तपाईंको अनन्त मुक्तिका लागि उहाँले क्रूसमा गरिदिनुभएको कार्यमा तपाईंले भरोसा गरेको हुनुपर्दछ।

२) मुक्ति पाएको छु भनी आफूले जानेको हुनुपर्छ। कतिलाई मुक्तिको निश्चयता नै पाएका हुँदैनन्। मैले मुक्ति “पाएँ होला”, “पाउने आशा छ”, “पाएँ जस्तो लाग्छ” भन्ने जस्ता कुरा गर्छन् उनीहरू तर हामीसित अनन्त जीवन छ भन्ने कुरा हामीले “___________” (१ यूहन्ना ५:१३) गरेको परमेश्वर चाहनुहुन्छ।

३) प्रभु-भोज लिनु अगाडि तपाईंले आफूलाई जाँच्नुपर्छ, योग्य रीतिले सो लिनलाई तयार हुनुपर्छ (१ कोरिन्थी ११:२७-३१)। बाबु-आमाले आफ्ना नानीहरूलाई यस्तो नियम सिकाउने गरेको पाइन्छ: “हात नधोउञ्जेल खान पाइन्न है!” त्यस्तै विश्वासीले पनि सफा हातबिना प्रभुको टेबलमा खान हुन्न। पाप र परमेश्वर मिल्न सक्दैन। पवित्र परमेश्वर अशुद्ध विश्वासीसित सङ्गति गर्न सक्नुहुन्न (दाँज्नुहोस् यूहन्ना १३:८; १ यूहन्ना १:५-९)। प्रभु-भोजबाट लिनु अगाडि एउटा विश्वासीले यसरी महसुस गर्नुपर्छ: “ख्रीष्टबिना म फोहोर छु, परमेश्वरको सामु म जानै सक्तिन। म यही अवस्थामा परमेश्वरकहाँ जान सक्तिन। पाप र परमेश्वर मिल्नै सक्दैन। परमेश्वरलाई धन्यवाद होस् कि मेरो एक मुक्तिदाता हुनुहुन्छ जसले मलाई शुद्ध पार्नुहुन्छ। धन्यवाद छ परमेश्वर कि येशू ख्रीष्टको रगतले मलाई सब पापबाट शुद्ध पारिरहन्छ (१ यूहन्ना १:७)। परमेश्वरको सामु म जान मिल्ने एउटै उपाय छ — येशू ख्रीष्ट र उहाँको क्रूसद्वारा। म परमेश्वरकहाँ यही बाटो (कल्वरी क्रूस) भएर जानुपर्दछ। प्रभु, धन्यवाद! मलाई धोइदिनुभयो। धन्यवाद, पवित्र परमेश्वरसित म अब सङ्गति गर्न सक्दछु। यसका लागि येशू ख्रीष्टले क्रूसमा जे गरिदिनुभयो, धन्यवाद छ त्यसको निम्ति।”

४) प्रभु-भोज ठीक तरिकाले लिन तयार हुनुपर्छ। प्रभु-भोज एउटा गम्भीर समय हो। हाम्रा मुक्तिदाता प्रभु येशूको व्यक्तित्वलाई मनन गर्दै उहाँले हाम्रो निम्ति के गरिदिनुभयो भनेर गहिरिएर सोच्ने समय हो यो। धन्यवाद र मननको समय हो यो। खेल्ने समय होइन। खुसुखुसु कुरा गर्ने समय होइन यो। जिभ्रोको स्वादमै सीमित हुने समय होइन यो। त्यसो गर्नेहरूले आफूहरू प्रभु-भोज लिन तयार नभएको कुरा प्रकट गरिरहेका हुन्छन्।

के तपाईंले प्रभु-भोज लिन हुन्छ? प्रायः जसो मण्डलीहरूमा सार्वजनिक रूपमा ख्रीष्टलाई स्वीकार नगरेको र पानीको बप्‍तिस्मा नलिएको व्यक्तिलाई प्रभु-भोज दिइँदैन। पक्कै पनि यो हल्कासाथ गरिने कार्य होइन। जे गरिन्छ त्यो बुझेर गर्नुपर्छ, सो गर्नुको कारण जान्नुपर्छ।

प्रभु-भोज कहिले-कहिले लिइनुपर्छ?

प्रभु-भोज कहिले कहिले लिइनुपर्छ भनेर प्रभु येशूले भन्नुभएन। उहाँले “जहिले-जहिले” वा “अक्सर” भन्नुभयो (१ कोरिन्थी ११:२५-२६) तर कति पटक भनेर तोक्नेभएन। कुनै मण्डलीहरूमा प्रभु-भोज हप्‍तैपिच्छे लिइन्छ। कुनै मण्डलीहरूमा दुई-दुई महिनामा लिइन्छ। यस सिलसिलामा मण्डलीहरू दुइटा खतरादेखि जोग्गिनुपर्छ:

१) खतरा #१ — प्रभु-भोज धेरैपटक हुनाको खतरा

प्रभु-भोज बढी नजिक-नजिक समयमा लिइँदा यसले आफ्नो विशेषता गुमाउने सम्भावन हुन्छ। प्रभु-भोज सकभर अर्थपूर्ण हुनु जरूरी छ। कुनै पनि कुरा धेरैपटक दोहोर्‍याइँदा एउटा रीति बन्ने सम्भावना हुन्छ (रीति भन्नाले नबुझीकन, कारणै नजानीकन कुनै काम गर्नु)। प्रभु-‍भोज सधैं एउटा विशेष र अर्थपूर्ण अभ्यास हुनुपर्छ। हामीले प्रभु-भोज नजिक-नजिक लिने नै हो भने हामीले यसको महत्त्वको यथार्थलाई आफ्नो हृदयका सामु ताजा राख्‍ने हर प्रयास गर्दै हाम्रो महान् परमेश्वर र मुक्तिदाताको सम्झना गर्नुपर्छ।

२) खतरा #२ — प्रभु-भोज थोरैपटक हुनाको खतरा

प्रभु-भोज पर-पर मात्र लिइँदा हामीले यसको आशिष गुमाउँदछौं। अङ्ग्रजी किङ्ग जेम्स् भेर्सन बाइबलमा “often” भनेर अनुवादित शब्दलाई नेपालीमा “जहिले-जहिले” (१ कोरिन्थी ११:२५-२६) भनी रूपान्तर गरिएकोमा यसलाई “अक्सर” भनेर पनि अनुवाद गर्न सकिन्छ। प्रभु-भोज पर-पर मात्र लिइँदा “अक्सर” गर्नेगर भन्ने प्रभुको आज्ञा पनि उल्लङ्घन हुन जान्छ।

प्रभु-भोजको आशिष नगुमाऔं र साथै प्रभु-भोजको अर्थ नगुमाऔं भनेर हाम्रो स्थानीय मण्डलीले प्रभु-भोज महिनाको प्रायः एकपटक (वर्षमा प्रायः १२ पटक) लिने गर्दछ। तरैपनि हामीले भन्दा धेरैपटक वा थोरैपटक प्रभु-भोज लिने बाइबलीय मण्डलीहरूलाई कुनै नराम्रो दृष्टिले हामीले हेर्न चाहन्नौं।

प्रभु-भोज लिँदा कहाँ कसरी हेर्ने?

पछिल्तिर — क्रूसमा हेरौं र सम्झना गरौं, त्यहाँ उहाँले आफ्नो शरीर बलिदानस्वरूप चढाउनुहुँदा र आफ्नो बहुमूल्य रगत बहाउनुहुँदा प्रभु येशूले मेरो निम्ति के गरिदिनुभयो (१ पत्रुस १:१८-१९; २:२४; ३:१८; २ कोरिन्थी ५:२१; एफेसी १:७; मत्ती २६:२८)।

माथितिर — पिताको दाहिने बाहुलीमा बस्नुभएको येशूलाई हेरौं जहाँ उहाँले मेरो निम्ति अन्तर्बिन्ती (हिब्रू ७:२५; रोमी ८:३४) र वकिल (१ यूहन्ना २:१-२) को काम गर्दै हुनुहुन्छ।

अघिल्तिर — येशूको आगमनको बाटो हेरौं (तीतस २:१३) यस प्रतिक्षामा पर्खँदै गर्दै (१ कोरिन्थी १:७-८) कि जब उहाँ आउनुहुनेछ तब उहाँले मभित्र शुरू गर्नुभएको मुक्तिको महान् कामलाई पूरा गर्नुहुनेछ (फिलिप्पी १:६; ३:२०-२१)। पावल बताउँछन्, जब-जब विश्वासीहरूले प्रभु-भोज लिन्छन् तब‍-तब त्यसबाट उहाँ _______________ (१ कोरिन्थी ११:२६) प्रभुको मृत्युको प्रचार (घोषणा) हुँदछ। यसर्थ प्रभु-भोजमा फर्केर क्रूसमा हेर्ने काम हुनुका साथै अघिल्तिर उहाँको आगमनलाई पनि हेरिन्छ।

आफूभित्र — येशूले मभित्र के काम गर्दै हुनुहुन्छ भनेर हेरौं (१ कोरिन्थी ११:२७-३२; फिलिप्पी २:१३)।

१ कोरिन्थी ११:२८ अनुसार विश्वासीले “आफैलाई ______________।” ग्रीकअनुसार यसको अर्थ मैले आफैलाई परीक्षण गर्नुपर्छ। मैले आफैलाई प्रमाणित गर्नुपर्छ। मेरो हृदय प्रभुसित ठीक छ कि छैन भनेर निश्चय गर्न मैले आफैलाई जाँच्नुपर्छ। “मभित्र कुनै असल कुराले वास गर्दैन” (रोमी ७:१८) भनेर मैले महसुस गर्नुपर्छ। साथै मलाई शुद्ध पार्ने महान् मुक्तिदाता त्यहाँ हुनुहुन्छ भनेर पनि मैले महसुस गर्नुपर्छ (१ यूहन्ना १:७,९)! १ कोरिन्थी ११:३१ मा भनिएको छ, “हामीले आफैलाई जाँच्यौं भने”। ग्रीकअनुसार यसको अर्थ मैले आफूलाई पूरापूर न्याय गर्नुपर्छ। थाह भएको कुनै पाप भए त्यसलाई मैले स्वीकार गर्नुपर्छ र आफू पवित्र परमेश्वरका सामु दोषी भएको मानिलिनुपर्छ। मुक्तिदाता येशू मेरो निम्ति मर्नुभयो र मेरा सब पापको दण्ड तिरिदिनुभयो भनी स्वीकार गर्नुपर्छ। ख्रीष्टबिना परमेश्वरसित सङ्गति गर्नु असम्भव थियो तर ख्रीष्टद्वारा (उहाँको क्रूसले गर्दा) म परमेश्वरको सामु आउन सक्छु र परमेश्वरसितको सङ्गतिमा रमाउन सक्छु। प्रभु-भोज लिने जो कोहीले आफैलाई जाँच्दैन र आफैलाई न्याय गर्दैन र परमेश्वरको सामु ख्रीष्टको क्रूसद्वारा आउँदैन भने ऊ प्रभु-भोजमा अयोग्य रीतिले सहभागी हुँदै छ (१ कोरिन्थी ११:२७)। ऊ प्रभु-भोजको आशिष र अर्थदेखि बञ्चित रहन्छ। परमेश्वरले उसलाई ताडना दिनुपर्ने हुन्छ, १ कोरिन्थी ११:३०-३२)।

अर्को पटक प्रभु-भोज लिनुहुँदा निम्न चार “हेराइ” हरूको विचार गर्न सक्नुहुन्छ:

१) पछिल्तिर हेर्दै — “प्रभु, तपाईंले क्रूसमा मेरो निम्ति जे गरिदिनुभयो, त्यसको लागि धन्यवाद छ।”

२) माथितिर हेर्दै — “प्रभु, तपाईं मेरो मुक्तिदाता र प्रभु हुनुहुन्छ र यस घडी समेत मेरो सहायक र रक्षक हुनुहुन्छ।”

३) अघिल्तिर हेर्दै — “प्रभु, धन्यवाद छ तपाईं आउँदै हुनुहुन्छ, सायद आज नै।”

४) आफूभित्र हेर्दै — प्रभु, धन्यवाद छ कि मेरा पापहरू स्वीकार गरें भने मेरा पापहरू क्षमा गर्न र मलाई सबै अधर्मबाट शुद्ध पार्न तपाईं विश्वासयोग्य र धर्मी हुनुहुन्छ” (१ यूहन्ना १:९)।

बप्‍तिस्मा र प्रभु-भोजको तुलना

पानीको बप्‍तिस्‍मा

प्रभु-भोज

एकपटक मात्र लिइने

धेरैपटक लिइने

ख्रीष्टियन जीवनको प्रारम्भमा लिइने

ख्रीष्टियन जीवनभरि लिइने

चाबी शब्द: सम्बन्ध (सम्मिलीकरण) हेर्नुहोस् रोमी ६:३-४ विश्वासी जन ख्रीष्टसित एकसाथ जोडिएको छ।

चाबी शब्द: सहभागीता (सङ्गति) हेर्नुहोस् १ कोरिन्थी १०:१६; ११:२८,३१ विश्वासी जन येशू ख्रीष्टसित सङ्गति गर्न पाउँदछ।

क्रूसको कारण मसित नयाँ जीवन छ!

क्रूसको कारण म आफूसित भएको नयाँ जीवनमा रमाहट गर्न सक्छु!

म ख्रीष्टमा एउटा नयाँ सृष्टि हुँ!

म ख्रीष्टमा एउटा नयाँ सृष्टिको रूपमा हिँड्नुपर्छ!

ख्रीष्टमा मेरो ओहोदा सिद्ध छ! परमेश्वरले मलाई आफ्नो सिद्ध पुत्रमा देख्‍नुहुन्छ!

मेरो वास्तविक अवस्था हुनुपर्ने जस्तो नै सधैं छैन। मैले आफैलाई जाँच्नुपर्छ र आफैलाई न्याय गर्नुपर्छ ताकि म परमेश्वरकहाँ क्रूसद्वारा आऊँ र उहाँसित सङ्गतिमा रहिरहूँ (१ कोरिन्थी ११:२८-३२; १ यूहन्ना १:५-९)।

अध्ययन प्रश्‍नहरू

  1. पानीको बप्‍तिस्माले के को चित्रण दिन्छ? प्रभु-भोजले के को चित्रण दिन्छ?
  2. पानीको बप्‍तिस्मा कसले लिन मिल्छ? कसले लिन मिल्दैन।
  3. प्रभु-भोज कसले लिनुपर्छ? कसले लिन हुँदैन?
  4. पानीको बप्‍तिस्माले के मिल्दछ? प्रभु-भोजले के मिल्दछ?
  5. पानीको बप्‍तिस्मा किन एकपटक मात्र लिइन्छ? विश्वासीले प्रभु-भोज किन धेरैपटक लिन्छ?
  6. यदि तपाईंले बप्‍तिस्मा लिनुभएको छैन भने किन लिनुभको छैन?
  7. यदि तपाईंले प्रभु-भोज लिनुभएको छैन भने किन लिनुभएको छैन?

भर्खरै ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गरेको नयाँ विश्वासीलाई तपाईंले पानीको बप्‍तिस्माको बारेमा कसरी व्याख्या गर्नुहुन्छ? उक्त व्यक्तिलाई प्रभु-भोजको बारेमा कसरी व्याख्या गर्नुहुन्छ?

Print Friendly, PDF & Email