अध्याय १ – मण्डलीको जन्मदिन

Study Series

अध्याय १ – मण्डलीको जन्मदिन

(प्रेरित १-२)

नयाँ नियम चार सुसमाचारका पुस्तकहरूबाट शुरू हुन्छ (मत्ती, मर्कूस, लूका, यूहन्ना)। नयाँ नियमको पाचौँ पुस्तकको नाम के हो?___________। चार सुसमाचारका पुस्तकले ख्रीष्ट माथि स्वर्ग उठाइनुभएको दिनसम्मको उहाँको जीवनको बारेमा बताउँदछ। प्रेरितको पुस्तकले हामीलाई शुरूको मण्डलीको जीवनको बारेमा बताउँदछ जुन बेला बौरिउठनु भएको ख्रीष्टले पत्रुस र पावल जस्त व्यक्तिहरूमा र द्वारा ठूला र महान कार्यहरू गर्दैहुनुहुन्थ्यो।

प्रेरितहरूको कामलाई वास्तवमा येशू ख्रीष्टका कार्यहरू भनिनुपर्छ किनभने प्रेरितको पुस्तकको अध्ययन गर्दैजाँदा येशू ख्रीष्टले आफ्‍ना चुनिएका प्रेरितहरूद्वारा र प्रेरितहरूमा (जस्तै पत्रुस, यूहन्ना र पावल) कार्य गरिरहनु भएको देख्दछौँ।

प्रभु येशू ख्रीष्ट आज पनि “कामहरू” गर्दैहुनुहुन्छ। उहाँको कार्य गर्नलाई उहाँले तयार हातहरू, मुखहरू, जीब्रोहरू, खुट्टाहरू र हृदयहरू प्रयोग गर्नुहुन्छ किनभने उहाँ मानिसहरूद्वारा काम गर्नुहुन्छ (उहाँ आफ्‍नो मण्डलीद्वारा काम गर्नुहुन्छ) । जसरी उहाँले पत्रुस, यूहन्ना, स्टिफनस र पावलद्वारा काम गर्नुभयो, त्यसरी नै उहाँले तपाईंद्वारा पनि गर्नसक्नुहुन्छ। के तपाईंले जीवित परमेश्वरलाई तपाईंमा र तपाईंद्वारा काम गर्न दिइरहनुभएको छ (हिब्रू १३:२१; फिलिप्पी २:१३)?

तपाईंले अध्ययन गर्नुहुने यस पुस्तकको पहिलो बाह्र अध्यायहरू (प्रेरित १-१२) मा प्रेरित पत्रुसको मुख्य भुमिका वा पात्र रहेको छ। यस पुस्तकको बाँकी खण्ड (प्रेरित १३-२८) मा प्रेरित पावलको मुख्य भुमिका वा पात्र रहेको छ।

पत्रुस र पावल कुनै असाधारण शक्ति भएका मानिसहरू थिएनन्, तर उनीहरू हामीहरू जस्तो छौँ, त्यस्तै थिए र परमेश्वरले नै उनीहरूलाई उदेकको तरिकाले प्रयोग गर्नुभयो। उही परमेश्वर जसले पत्रुस र पावललाई प्रयोग गर्नुभयो त्यही परमेश्वर हुनुहुन्छ जसले आज हामीलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्छ।

 

परमेश्वरको उदेकको प्रतिज्ञा

प्रेरित १:४ मा हामीले परमेश्वरले दिनुभएको एउटा उदेकको प्रतिज्ञाको बारेमा पढ्छौं। परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि एक दिन त्यस्तो आउनेछ जब उहाँले पवित्र आत्मा (जो शान्तिदाता पनि कहलिनुहुन्छ) लाई पठाउनुहुनेछ। यूहन्नाको सुसमाचारको पुस्तकका १४, १५ र १६ अध्यायहरूमा सरसरती हेर्नुहोस् र परमेश्वरले पवित्र आत्मा (शान्तिदाता) पठाउनुहुने प्रतिज्ञा गर्नुभएको पदहरू भेट्टाउनुहोस्।

यूहन्ना १४, पदहरू _________________________
यूहन्ना १५, पदहरू _________________________
यूहन्ना १६, पदहरू _________________________

प्रभु येशूले पवित्र आत्मा उनिहरूभित्र वास गर्न आउनुहुने प्रतिज्ञा गर्नुभयो। आत्माले उनीहरूलाई सिकाउने र उनीहरूलाई शान्ति दिने, र उनीहरूलाई सबै सत्यतामा डोर्‍याउने काम गर्ने वाला हुनुहुन्थ्यो थियो। ख्रीष्टले चेलाहरूलाई छोड्न लाग्दै हुनुहुन्थ्यो, तर पवित्र आत्मा उनीहरूकहाँ आउँदैहुनुहुन्थ्यो। ख्रीष्ट माथि (स्वर्गमा) फर्कन लाग्दै हुनुहुन्थ्यो थियो तर पवित्र आत्मा तल ओर्लन लाग्दै हुनुहुन्थ्यो।

प्रतीक्षाको अवधि

कैयौँ पटक परमेश्वरको प्रतिज्ञाहरू पूरा हुन हामीले प्रतीक्षा गर्नुपर्ने हुन्छ। प्रेरित १:४ मा चेलाहरूलाई पिताको प्रतिज्ञालाई ____________ भनिएको छ (उनीहरू शान्त रहन र पर्खनु पर्ने थियो)। लूका २४:४९ मा पनि उनीहरूलाई त्यही कुरा बताइएको छ।

तपाईं कसैलाई पर्खनु परेको समयलाई याद गर्नुहोस्। सायद तपाईं एयरपोर्ट अथवा बस पार्कमा गएर कोही व्यक्ति नआइपुगुन्जेल पर्खनु परेको थियो होला। प्रतीक्षाको पनि अवधि हुन्छ (कहिले पाँच मिनट, कहिले एक घण्टा, कहिले त अझै बढी)। जब प्रतीक्षा गरिएको व्यक्ति आइपुग्दछ, के तपाईंले अझै पर्खनु पर्छ? _____________

प्रभु येशू स्वर्ग फर्किनु भन्दा अगाडि, उहाँले चेलाहरूलाई उनीहरूले एक व्यक्ति (पवित्र आत्मा) लाई पर्खनु पर्ने विषयमा बताउनुभयो र त्यो प्रतीक्षाको अवधि केही दिन लामो थियो (प्रेरित १:५)। त्यसलाई निम्न चित्रद्वारा दर्शाउन सकिन्छ:

शक्तिशाली सामर्थ्य

लूका २४:४९ मा उनीहरूले माथिबाटको सामर्थ्य नपाउन्जेल चेलाहरूलाई पर्खिरहन आज्ञा दिइएको थियो। पवित्र आत्मा परमेश्वर हुनुहुन्छ र उहाँ सर्वशक्तिमान् हुनुहुन्छ। उहाँसँग परमेश्वरको सामर्थ्य छ (प्रेरित १:८ सँग तुलना गर्नुहोस्)। पवित्र आत्माबिना परमेश्वरको निम्ति जिउन र उहाँको साक्षीहरू बन्न सामर्थ्य नै हुने थिएन। पवित्र आत्माबिना परमेश्वरको निम्ति काम गर्न खोज्नु भनेको पेट्रोल वा डिजल बिना गाडी गुडाउन खोज्नु जस्तै हो! यो असम्भव छ! त्यसरी काम नै हुँदैन! तपाईंमा ताकत र सामर्थ्य हुनैपर्छ नत्र ता तपाईंको केही सीप लाग्नेछैन र केही गर्न सक्नुहुनेछैन! येशूले भन्नुभयो, “बाट अलग भएर तिमीहरूले _______ गर्न सक्दैनौ” (यूहन्ना १५:५)। परमेश्वरको सामर्थ्यबिना हामी केही गर्न सक्दैनौँ।

विश्वासीहरूले सामर्थ्य पाउन सक्ने केवल परमेश्वरबाट मात्र हो। पवित्र आत्मा विश्वासी भित्र काम गर्नुहुँदा उनीहरू निकै सामर्थी हुँदछन्। पवित्र आत्माको कार्यबिना, उनीहरू केही पनि गर्न सक्दैनन्!

ख्रीष्टको आगमनको प्रतिज्ञा

प्रेरित १ अध्यायमा अर्को एउटा महान् प्रतिज्ञा दिइएको छ। यो एघारौँ पदमा पाइन्छ। येशू भर्खर मात्र स्वर्ग उचालिनुभएको थियो। जब चेलाहरू माथि आकाश तर्फ हेर्दैथिए, दुईजना स्वर्गदूतहरू उनीहरूसँग कुरा गरे र उनीहरूलाई एउटा अचम्मको प्रेतिज्ञा दिए। त्यही येशू जो माथि जाँदैहुनुहुन्थ्यो फेरि आउँदैहुनुहुन्छ। जुन तरिकाले उहाँ माथि जानुभयो, त्यही तरिकाले उहाँ तल ओर्लनुहुनेछ। यसलाई निम्न चित्रद्वारा दर्शाउन सकिन्छ:

पेन्टेकोस्टको दिन

परमेश्वरले कुनै एक दिन आफ्‍नो पवित्र आत्मालाई पठाउनुहुने प्रतिज्ञा गर्नुभयो। यो महान् घटना पे___________को दिनमा पूरा भयो (प्रेरित २:१)। हरेक वर्ष यहूदीहरूको लागि मुख्य तीनवटा चाडहरू हुने गर्थे (निस्तार चाड, झुपडीहरूको चाड र पेन्टेकोस्टको चाड)। उनीहरूका अरू चाडहरू पनि थिए तर यीचाहिँ सबभन्दा मुख्य चाडहरू थिए। यी ठूला चाडहरूमध्ये पेन्टेकोस्ट एउटा थियो र समस्त रोमी सम्राज्यबाट यहूदीहरू यो महत्त्वपूर्ण चाड मनाउन येरूशलेमको शहरमा भेला हुने गर्दथे (प्रेरित २:५ पढ्नुहोस्)। यस महत्त्वपूर्ण दिनको विषयमा लेवी २३:१५-२२ मा वर्णन गरिएको छ। पूरानो नियमको समयहरूमा यो एउटा विशेष दिन थियो, तर प्रेरित २ अध्यायमा पढ्दा यो दिन अझ बढी महत्त्वपूर्ण हुन गएको देख्दछौँ। येशू मरेकाहरूबाट बौरनुभएको पचास दिनपछि र स्वर्ग फर्कनुभएको दस दिनपछि, परमेश्वरले एउटा विशेष काम गर्नुभयो। उहाँले पवित्र आत्मालाई विश्वासीहरूको हृदयभित्र वास गर्नलाई र एउटा नयाँ संरचना निर्माण गर्नलाई पठाउनुभयो जसलाई भनिन्छ मण्डली

तीन असाधारण घटनाहरू

उक्त दिन अति नै विशेष थियो भनी परमेश्वरले स्पष्ट गर्न चाहनुभयो। परमेश्वरले एउटा उदेकको काम गर्दैहुनुहुन्थ्यो र त्यो मानिसहरूले जानून् भनी उहाँले चाहनुभयो। पेन्टेकोस्टको दिनमा परमेश्वरले गर्नुभएका अत्यन्तै विशेष कार्यहरू तीनओटा थिए।

१) आँधीझैँ आवाज

पेन्टेकोस्टको दिनमा जब विश्वासीहरू एकै ठाउँमा थिए, अचानक स्वर्गबाट एक प्रकारको आवाज आयो जुन आवाज शक्तिशाली र भारी आँधीको झैँ थियो (हेर्नुहोस् प्रेरित ३:२)। त्यो आवाज कुनै हुरीवतास वा चट्याङ्गबाट आएको थिएन तर त्यो स्वर्गबाट आयो भनेर उल्लेख छ। त्यो दिन परमेश्वरले एउटा ज्यादै विशेष, ज्यादै अद्वित्तीय कार्य गर्दैहुनुहुन्छ भन्ने कुरा हरेकले जानेको चाहनुहुन्थ्यो।

बाइबलमा पवित्र आत्मालाई हावासँग तुलना गरिएको छ (यूहन्ना ३:८)। हावा अदृश्य हुन्छ, हामीले यसलाई देख्न सक्दैनौँ। तर अदृश्य हावाले अनेकौँ छक्कलाग्दा कामहरू गर्न सक्छ: यसले जहाजलाई समुद्र पारी पुर्‍याउँछ, चङ्गालाई माथि आकाशमा राखिराख्छ, रूख ढाल्छ र त्यस्तै अरू थुप्रै काम गर्न सक्छ। हामीले हावालाई देख्न सक्दैनौँ, तर हावाले गरेको कामलाई देख्न सक्छौँ।

पवित्र आत्मा अदृश्य हुनुहुन्छ। हामीले पवित्र आत्मालाई देख्न सक्दैनौँ। जब परमेश्वरले पेन्टेकोस्टको दिनमा पवित्र आत्मा पठाउनुभयो, उहाँले आँधी (हावा) जस्तो सुनिने ठूलो आवाज सुनिन दिनुभयो। केही एकदम विशेष कुरा हुँदैछ भनी चेलाहरूले जानेको परमेश्वर चाहनुहुन्थ्यो। यदि परमेश्वरले यसो नगर्नुभएको भए चेलाहरूले यसो भन्न सक्नेथिए, “पवित्र आत्मा साँच्चै आउनुभयो कि आउनुभएन होला। हामीले केही पनि देखेनौँ र हामीले केही सुनेनौँ पनि। कुनै कुरा साँच्ची नै भयो कि भएन?” त्यस दिन वास्तवमै केही विशेष कुरा हुँदैछ भनेर परमेश्वरले ज्यादै स्पष्ट गरी देखाउनुभयो।

२) आगाका जस्ता जिब्राहरू

चेलाहरूले केही अचम्मको कुरा सुनेका मात्र होइनन्, तर उनीहरूले अचम्मको केही कुरा देखे पनि (प्रेरित २:३) उनीहरूले आगाका जस्ता चिरा परेका जिब्राहरू देखे। ती जिब्राहरू छुट्टिए र त्यहाँ भएका हरेक विश्वासीहरू माथि बसे! परमेश्वरले एउटा विशेष काम नै गर्दैहुनुहुन्थ्यो।

कहिलेकाहीँ पवित्र आत्मालाई आगोसँग पनि तुलना गरिएको छ (१ थेस्सलोनिकी ५:१९- आगोलाई निभाएझैँ पवित्र आत्मालाई पनि निभाउन सकिन्छ।)। परमेश्वरले उहाँको उदेकको उपस्थितीको ज्योतिले हरेक विश्वासीलाई उज्ज्वलित पार्न चाहनुहुन्छ। प्रेरित २:३ अनुसार परमेश्वरले हरेक विश्वासीमा काम गर्दैहुनुहुन्थ्यो र तीमध्ये एउटै पनि छुटेका थिएनन्। हरेक चेलामाथि आगोको जस्ता जिब्राहरू बसेका थिए। परमेश्वर एकदम विशेष काम गर्दैहुनुहुन्थ्यो र हरेक विश्वासी यस काममा समेटिएका छन् भनी सबैले जानेको उहाँ चाहनुहुन्थ्यो।

३) भिन्दा भिन्दै भाषाहरू

परमेश्वरले त्यस दिन अरू पनि विशेष काम गर्नुभयो। प्रेरित २:४ मा हामीले सिक्यौँ कि उनीहरू सबैजना पवित्र आत्माले भरिए र उनीहरू अन्य भाषाहरूमा बोल्न थाले। प्रेरित २:४-११ पढ्नुहोस्। कस्तो अचम्मको काम! परमेश्वरले यी गालीलका मान्छेहरूलाई अरू थुप्रै भाषाहरू बोल्न सक्ने तुल्याउनुभयो जुन भाषाहरू उनीहरूले कहिल्यै पनि सिकेका थिएनन् र जानेका थिएनन्।

मण्डलीको जन्म भयो

जब पवित्र आत्मा आउनुभयो, मण्डलीको जन्म भयो। पवित्र आत्मा विश्वासीहरूको शरीरमा रहनको निम्ति आउनुभयो, र यो शरीरलाई मण्डली भनिन्छ। पत्रुसले प्रचार गरेपछि कतिजनाले विश्वास गरे र बाँचे (प्रेरित २:४१)?______________________। मण्डली बढ्दैथियो। यसपछि परमेश्वरले हरेक दिन निरन्तर उहाँको मण्डलीमा थप्न थाल्नुभयो (प्रेरित २:४७)। एकपटक येशूले भन्नुभएको थियो, “म _______ मण्डली बनाउनेछु” (मत्ती १६:१८)। कुनै दिन भवनको निर्माण सकिनेछ र उहाँ आउनुहुनेछ र हामीलाई स्वर्ग लानुहुनेछ (१ थेस्सलोनिकी ४:१३-१८)।

डरपोकबाट साहसी प्रचारक

प्रभुलाई तीन पटक इन्कार गर्ने डरपोक को थिए (लूका २२:५५-६२)?_________________ दुई महिना पनि नबित्दै पेन्टेकोस्टको दिन आयो। हिम्मत साथ उभिएर हजारौँ यहूदिहरूलाई, ख्रीष्टलाई क्रूसमा टँगाउने मानिसहरूलाई समेत प्रचार गर्ने साहसी व्यक्ति को थिए (प्रेरित २:१४)? _______________ यस मानिसको हृदयमा परमेश्वरले ठूलो कार्य गर्नुभयो! पत्रुसलाई परिवर्तन गर्नुहुने परमेश्वर हामीलाई पनि परिवर्तन गर्न सक्ने परमेश्वर हुनुहुन्छ (उहाँको पवित्र आत्माको सामर्थ्यले)!

के परमेश्वरले आज पनि कुनै विशेष काम गर्दै हुनुहुन्छ?

पेन्टेकोस्ट विषेश दिन थियो र त्यस्तो किसिमको दिन कहिल्यै दोहोरिएको छैन। आज एउटा व्यक्तिले ख्रीष्टमाथि विश्वास गरेको घडी के हुन्छ? जब तपाईंले ख्रीष्टलाई आफ्‍नो मुक्तिदाताको रूपमा स्वीकार गर्नु भयो, के तपाईंले आँधी र तूफानको जस्तो चर्को आवाज सुन्नुभयो?_____________ के आगोको जस्तो चिरा परेका जिब्राहरू आएर तपाईंको टाउकोमाथि बसे?____________________ के तपाईंले अन्य भाषाहरूमा बोल्न थाल्नुभयो?________________

आज पवित्र आत्मा तपाईंभित्र वास गरिरहनुभएको छ भनी तपाईंले कसरी जान्न सक्नुहुन्छ? १ कोरिन्थी ६:१९; रोमी ८:९ र २ तिमोथी १:१४ पढ्नुहोस्। म जान्दछु पवित्र आत्मा मभित्र वास गर्नुहुन्छ किनकि ____________________________________________________ । म त्यो जान्दछु किनभने परमेश्वरले सो भन्नुभएको छ! मलाई आवाजहरूको र देखिने कुराहरूको खाँचो छैन। त्यो सत्यता बताउने परमेश्वरकै पक्का वचन मसँग छ।

पवित्र आत्मा तपाईंभित्र वास गरिरहनुभएको छ भनी तपाईंले कसरी जान्न सक्नुहुन्छ? यदि पवित्र आत्मा साँच्चै तपाईंको जीवनमा अन्तरवास गर्नुभएको छ भने, के त्यसले केही भिन्नता ल्याउँछ? पवित्र आत्मा तपाईंसँग हुनुहुन्छ भनेर तपाईंले अरूहरूलाई कसरी देखाउन सक्नुहुन्छ? गलाती ५:२२-२३ पढ्नुहोस्। के तपाईंले विद्युत देख्न सक्नुहुन्छ?_____________। विद्युतले वास्तवमै काम गरिरहेको छ भनी तपाईं कसरी जान्न सक्नुहुन्छ? चीम-बत्तीमा? रेडियोमा? पवित्र आत्मा साँच्चै विश्वासीमा काम गरिरहनुभएको कुरा कसरी जान्न सकिन्छ? ___________________________________________

के तपाईं येशू ख्रीष्टको मण्डलीको एक अङ्ग हुनुहुन्छ? के पवित्र आत्मा तपाईंको हृदयभित्र वास गर्नुहुन्छ? येशू ख्रीष्टमा भएको तपाईंको नयाँ जीवनको प्रमाण दिन के तपाईंले पानीको बप्तिस्मा लिनुभयो (प्रेरित २:४२)? परमेश्वरले आज उदेकको कार्य गर्दैहुनुहुन्छ! परमेश्वर निकै विशेष काम गर्दैहुनुहुन्छ! के तपाईं परमेश्वरले गरिरहनुभएको काममा सहभागी हुनुहुन्छ? के परमेश्वरले तपाईंको हृदयमा अचम्मको काम गर्दैहुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email