अध्याय २ – लङ्गडो मानिसको चङ्गाइ

Study Series

अध्याय २ – लङ्गडो मानिसको चङ्गाइ

(प्रेरित ३-४)

चङ्गाइको आश्चर्यकर्म

पवित्र आत्मा आउनुभयो! मण्डलीको जन्म भयो! परमेश्वरले प्रेरितहरूद्वारा काम गर्दै हुनुहुन्थ्यो। यस पाठमा परमेश्वरले कसरी विशेष तरिकाले पत्रुस र यूहन्नाद्वारा काम गर्नुभयो भन्ने कुरा हामी हेर्नेछौं।

डाक्टरले शल्यक्रिया गर्दा एक जोडी पन्जाको प्रयोग गर्दछ। उक्त पन्जा हातमा लगाएर उसले शल्यक्रिया गर्न थाल्छ। त्यस कुशल डाक्टरले जे चाहन्छन् ती पन्जाहरूले त्यही गर्छन्। उक्त डाक्टरबिना ती पन्जाहरूले कत्तिको काम गर्न सक्छन्? ______________। ख्रीष्टबिना विश्वसीहरूले कत्तिको काम गर्न सक्छन् (यूहन्ना १५:५)?_____________________। डाक्टरले पन्जाको जोडीद्वारा काम गर्न खोजेको जस्तै परमेश्वरले पत्रुस र यूहन्नाद्वारा काम गर्न चाहनुभयो।

पन्जाहरूले यसो भन्नु मूर्खता हुने थियो, “हेर हामी कति महान् छौं! हामीले भर्खरै एउटा सफल शल्यक्रिया सम्पन्न गर्यौं र त्यस मानिसको ज्यान बचायौं!” वास्तवमा यदि बोल्न सक्ने भएक‍ा भए तिनीहरूले यसरी भन्नेथिए, “हामी एक जोडी पन्जा मात्र हौं, अरू केही होइनौं, तर हाम्रा एकजना महान् डाक्टर हुनुहुन्छ जसले हामीलाई काममा लगाईकन ठूला-ठूला कार्य सम्पन्न गर्न सक्नुहुन्छ। उहाँले नै सबै गर्नुहुन्छ, तर आफ्‍नो शल्यक्रियाको काम गर्न उहाँले हामीलाई प्रयोग गर्नुभएकोमा हामी धन्यवादी छौं!” आफूहरू केही पनि होइनौं भनी पत्रुस र यूहन्ना जान्दथे तर उनीहरूको एकजना महान् परमेश्वर हुनुहुन्थ्यो जसले उनीहरूलाई महान् तरिकाले प्रयोग गर्दैहुनुहुन्थ्यो!

पेन्टेकोस्टको चाडको केही दिन पछिको कुरा हो, एक दिन पत्रुस र यूहन्ना येरूशलेमको मन्दिरको परिसरभित्र पस्दैथिए। उनीहरू त्यहाँ किन जाँदै थिए (प्रेरित ३:१)?____________। समय करिब दिउँसोको ३:०० बजेको थियो (नवौं घडी)।

मन्दिरको ढोकामा एकजना लङ्गडो माग्ने थियो (प्रेरित ३:२)। ऊ लङ्गडो थियो र हिँड्न सक्दैनथ्यो। मन्दिरभित्र पस्नेहरूसित पैसाको भिख माग्न सकोस् भनेर हरेक दिन उसलाई बोकेर त्यहाँ ल्याइन्थ्यो। बाइबलले हामीलाई यस व्यक्तिको उमेर ४० वर्ष भएको बताउँदछ (प्रेरित ४:२२)।

कोही मानिस दुर्घटनामा परेर वा चोटपटक लागेर लङ्गडो बन्छन्। उदाहरणको लागि कुनै व्यक्ति गाडी दुर्घटनामा परेर, वा रूखबाट खसेर अथवा युद्धमा घाइते भएर लङ्गडो हुन सक्छन्। अरू व्यक्तिहरू शारीरिक दुर्बलता वा समस्या लिएरै जन्मन्छन्। यो मानिस जन्मैदेखि लङ्गडा थियो कि पछि लङ्गडा भएको थियो (प्रेरित ३:२)?__________। (यूहन्ना ९:१ सँग दाँज्नुहोस्)

वर्षौंदेखि दिन प्रति दिन यो व्यक्ति मन्दिरको ढोकामा बस्दै आएको थियो। मन्दिरभित्र पस्नेहरूले आफूले भीख मागिरहेको सुनून् र उनीहरू रोकिऊन् अनि उसलाई केही पैसा दिऊन् भनेर उसले आश गर्दथ्यो। मानिसहरूले उसमाथि कृपा देखाऊन् र उसको शारीरिक आवश्यकता पूरा हुने गरी उसलाई दिऊन् भनी उसले आशा गर्दथ्यो।

यस दिन मन्दिरभित्र को-को जाँदै थिए (प्रेरित ३:३)?________________________। जब उनीहरू त्यस मानिसको नजिकबाट भएर जाँदै थिए, उनीहरू रोकिएर केही देलान् भन्ने आशा सहित त्यस लङ्गडो मानिसले उनीहरूसँग कुरा गर्‍यो।

उनीहरू रोकेर अडिए (प्रेरित ३:४)! पत्रुसले त्यस मानिसतिर डिठ लगाएर हेर्दै भने, “हामीतिर हेर!”

यो मन्छे उत्साहित भयो। उसलाई उनीहरूबाट केही पाउने आशा भयो (प्रेरित ३:५)। उसले उनीहरूबाट के पाउने आशा राख्यो होला? ____________________। जीवनभरि घस्रेर हिँड्नुपरेको आफ्‍नो त्यो लङ्गडो अवस्थाबाट अब निको हुन्छु भनेर के उसले सोचेको थियो होला?________

यस मानिसलाई पत्रुसले के दिन सक्थे? (प्रेरित ३:६ पढ्नुहोस् र सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्):

  1. चाँदी
  2. सुन
  3. खाना
  4. चङ्गाइ
  5. केही पनि थिएन

त्यस मानिसलाई दिन पत्रुससँग पैसाको दान थिएन तर ऊसँग चङ्गाइको वरदान थियो (१ कोरिन्थी १२:९ पढ्नुहोस्) जसलाई उसले यस मानिसको जीवनमा प्रयोग गरे। के यस मानिसले सुन र चाँदी भन्दा पनि असल कुरा पाउन लागेको थियो?

पत्रुसले लङ्गडो मानिसलाई के भने (प्रेरित ३:६)? “उ___ र हिँ___।” उसले आफ्‍नो जीवनमै कहिल्यै नगरेको काम गर्न पत्रुसले उसलाई भन्दै थियो!

यस मानिसलाई निको हुन धेरै समय लाग्यो कि ऊ तुरुन्तै भयो (प्रेरित ३:७)?________ परमेश्वरले अचम्मको कार्य गर्नुभयो।

शुरुमा त्यो मन्छे उठ्यो, त्यसपछि ऊ हिँड्न थाल्यो, र तुरुन्तै ऊ खुशीले हिँड्न र उफ्रन थाल्यो! पहिलो पटक उसको खुट्टा र गोडाहरूले उसको शरीरलाई धान्न सकिरहेको थियो। जे भएको थियो त्यसको निम्ति के यो मान्छे परमेश्वरप्रति धन्यवादी थियो (प्रेरित ३:८-९)?_______________

तुरुन्तै यस मान्छे उफ्रँदै परमेश्वरको स्तुति गर्दै गरेको कुरामाथि मानिसहरूको ध्यान खिँचियो। मन्दिरको सुन्दर भनिने ढोकामा बसेर भिख माग्ने उही नै हो भनी के उनीहरूले चिने (प्रेरित ३:१०)?_______। उनीहरूले यस मन्छेलाई राम्ररी चिन्दथे। हरेकचोटी तिनीहरू मन्दिरमा प्रवेश गर्दा, ऊ त्यहीँ हुन्थ्यो! र ऊ त्यहाँ बस्ने गरेको वर्षौं भइसकेको थियो। तिनीहरूले त्यस व्यक्तिले मागेर बसेको देखेका थिए तर अब ऊ उफ्रिरहेको देख्दा तिनीहरू चकित परे!

स्कूलमा कुनै साथीको कल्पना गर्नुहोस्। तपाईं आफ्‍नो कक्षामा आउनुहुँदा उसलाई चराजस्तै उडिरहेको देख्नुभयो भने तपाईंलाई कस्तो लाग्छ होला? तपाईं छक्क पर्नुहुन्छ। तपाईंको साथी उड्न सक्नु असम्भव कुरा हो, जसरी यो मान्छेको लागि हिँड्नु र उफ्रनु असम्भव कुरा थियो। तर परमेश्वरको निम्ति कुनै पनि कुरा असम्भव हुँदैन (लूका १:३७)।

परमेश्वरले एक आश्चर्यकर्म गर्नुभयो र यो मानिसको निम्ति जुन कुरा असम्भव थियो त्यसलाई सम्भव तुल्याउनुभयो र मानिसहरूले अ____ र त____ माने” (प्रेरित ३:१०)।

ती मानिसहरूको दिमागमा एउटा ठूलो प्रश्न थियो: यो कसरी भयो? पत्रुसले छिट्टै नै यसको जवाफ दिन्छन्।

शक्तिशाली सन्देश

छक्कै परेका सयौं मानिसहरू यो व्यक्ति कसरी निको पारियो भनेर जान्नलाई भेला भए। त्यस अचम्मको चङ्गाइलाई पत्रुसले कसरी वर्णन गरे? के उनले घमण्ड गर्दै यसको सम्पूर्ण श्रेय आफैं लिए? के उनले यसो भने, “म तिमीहरूले यो जानेको चाहन्छु कि माछा माछा मार्ने पत्रुस एक महान् चङ्गाइकर्ता हुन्! मैले मेरो आफ्‍नै शक्तिले गरेको यो अचम्मको कार्य तिमीहरूले देखेको म चाहन्छु”? के पत्रुसले यस्तै भनेका थिए(प्रेरित ३:१२)?________। पत्रुस जान्दथे कि उनी डाक्टर होइनन् तर पन्जा मात्र हुन्। यो आश्चर्यकर्म प्रभु येशू ख्रीष्टको नाममा गरिएको थियो (प्रेरित ३:१६)।

विश्वासी भएर, हामी कति महान् छौं भन्दै मानिसहरूलाई बताउँदै हिँड्नुहुँदैन। तर हाम्रो मुक्तिदाता कति महान् हुनुहुन्छ भनेर बताउनुपर्छ! हामीले आफैंलाई देखाउनुहुँदैन बरु हामीले मुक्तिदातालाई देखाउनुपर्छ। पत्रुस र यूहन्नाले यही गरेका हुन्।

यस लङ्गडा मानिसको बारेमा फेरि विचार गर्नुहोस्। उसको उमेर ____ वर्ष भन्दा बढी भइसकेको थियो (प्रेरित ४:२२)। शायद वर्षौंदेखि उसले परमेश्वरले मलाई किन अपाङ्ग भएर जन्मन दिनुभयो भनेर सोच्ने गर्थ्यो होला। पूरै जीवनकाल भरी उसले माग्न बाहेक अरू केही गर्न सक्दैनथ्यो र शायद उसको लागि यो जीवन निकै कठीन थियो। तर यी सबैमा परमेश्वरको अचम्मको योजना थियो। यो रोग परमेश्वरको महिमाको निम्ति थियो, ताकि मानिसहरूले परमेश्वर कति महान् हुनुहुन्छ भनी जानून्। यदि यो मानिस कहिल्यै लङ्गडो नभएको भए, उनी निको पनि हुने थिएनन्। यो मानिस निको भएकोले हजारौं मानिसहरूले मुक्तिको असल समाचार सुन्ने अवसर पाए। पत्रुसले यी मानिसहरूलाई प्रचार गरे र उनीहरूलाई बताए कि मानिसको अपाङ्गपना हटाउने परमेश्वर उही परमेश्वर हुनुहुन्थ्यो जसले उनीहरूका पापहरू हटाउन सक्नुहुन्थ्यो (प्रेरित ३:१९,२६)।

यस चङ्गाइको आश्चर्यकर्मको कारणले धेरै मानिसहरूले मुक्तिको सुसमाचार सुन्ने मौका पाए, र ती जसले यस सुसमाचारलाई विश्वास गरे, उनीहरू आत्मिक रूपमा निको पारिए र उनीहरूलाई अनन्त जीवन दिइयो। के यही जीवित परमेश्वरले तपाईंको आत्मिक रोगलाई पनि निको पार्नुभई तपाईंलाई पूरै चङ्गाइ दिनुभएको छ?

परमेश्वरले आफ्‍नो मण्डलीमा मानिसहरूलाई अचम्म तरिकाले थप्दै हुनुहुन्थ्यो। प्रेरित ४:४ अनुसार, मण्डलीमा पुरुषको सङ्ख्या करिब _______ हजार थियो। याद गर्नुहोस्, पेन्टेकोस्टको दिनमा विश्वासीहरूको सङ्ख्या पुरुष र महिला सहित करिब ______ हजार थियो (प्रेरित २:४१)। ख्रीष्टले आफ्‍नो मण्डली बनाउँदै हुनुहुन्थ्यो (मत्ती १६:१८)। अपाङ्ग मानिस निको पारिएको दिन ख्रीष्टमा विश्वास गर्ने मानिसहरू थुप्रै थिए। के परमेश्वरले आज पनि मण्डलीमा मानिसहरू थप्दै हुनुहुन्छ?

पत्रुसले प्रचार गर्दा त्यो भीडमा तिनै मानिसहरू थिए जसले केही समय अगाडी मात्र ख्रीष्टलाई मारिनुपर्छ भनी माग गरेका थिए। यी तिनै मानिसहरू थिए जो “यसलाई क्रूसमा टाँग! यसलाई क्रूसमा टाँग! सिजरबाहेक हाम्रो कुनै राजा छैन!” भन्दै कराएका थिए। अब साहसी पत्रुस ती मानिसहरूका सामु खडा भएर उनीहरूलाई यसो भने: “जसलाई तपाईँहरूले क्रूसमा टाँग्नुभयो (प्रेरित ३:१३-१५) उहाँ अहिले जीवित हुनुहुन्छ (प्रेरित ३:१५,२६) र उहाँले तपाईंहरूलाई आशिष दिन र तपाईंहरूलाई तपाईंका पापहरूबाट बचाउन चाहनुहुन्छ (प्रेरित ३:१९, २६)”। यो त खुशीको खबर थियो।

परमेश्वर हामीभन्दा फरक हुनुहुन्छ। यदि हामी परमेश्वरको स्थानमा भएका भए हामीले यी मानिसहरूलाई न्याय गर्न र परमेश्वरको पुत्रलाई क्रूसमा चढाउनेहरूलाई नाश गर्ने निर्णय गर्नेथ्यौं होला। तर परमेश्वरले त उनीहरूलाई क्षमा दिन र बचाउन चाहनुभयो (१ तिमोथी २:४ सित तुलना गर्नुहोस्)।

अन्यायपूर्ण गिरफ्तारी

पत्रुस र यूहन्ना ती मानिसहरूसँग बोल्दै गर्दा धार्मिक गुरुहरू उनीहरूकहाँ आए (प्रेरित ४:१)। पत्रुस र यूहन्नाले मानिसहरूलाई मुक्तिको सुसमाचारको बारेमा सिकाउँदैछन् भनी के तिनीहरू आनन्दले भरिए (प्रेरित ४:२)?_________। यी मानिसहरूले पत्रुस र यूहन्नालाई लगे र भोलिपल्टसम्म थुनामा राखे (प्रेरित ४:३)!

साधारणतयाः कुनै मानिसले खराब काम गर्दा उसलाई थुनामा राखिन्छ। लङ्गडो मान्छेलाई गरेको अ____ का____को निम्ति पत्रुस र यूहन्ना थुनामा राखिएका थिए (प्रेरित ४:९)। साधारणतयाः कुनै मानिसले कसैलाई मारेको खण्डमा उसलाई पक्राउ गरिन्छ। पत्रुस र यूहन्ना त कसैलाई निको पारेको कारणले पक्राउमा परे। कस्तो अन्यायपूर्ण पक्राउ! यी तिनै धार्मिक गुरूहरू थिए जसले ख्रीष्टलाई पक्राउ गरेका थिए, जो प____ र ध____ हुनुहुन्थ्यो र जसले कहिल्यै कुनै गल्ती वा खराब गर्नुभएको थिएन (प्रेरित ३:१४)।

यी धार्मिक गुरूहरूले पत्रुस र यूहन्नालाई त्यस अचम्मको कार्य कसरी गरे भनी प्रेश्न गरे (प्रेरित ४:७)। पत्रुसको जवाफमा उनले आफैंलाई श्रेय दिए कि ख्रीष्टलाई (प्रेरित ४:१०)? ___________।पत्रुसले यी मानिसहरूलाई ती महान् चङ्गाइकर्ता (प्रेरित ४:१०) एक महान् मुक्तिदाता पनि हुनुहुन्छ (प्रेरित ४:१२) र उहाँ नै संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ (प्रेरित ४:१२) भनी बताए।

यी मानिसहरूले पत्रुस र यूहन्ना को रहेछन् भनी चिने?

  1. उनीहरू एकदम विद्धान र अति शिक्षित रहेछन् भनी
  2. उनीहरू देशकै अति उच्चस्तरिय विद्यालयमा तालिम पाएकाहरू रहेछन् भनी
  3. उनीहरू हेर्नामा अति लायक रहेछन् भनी
  4. उनीहरू येशूसँग थिए भनी

येशू नै उनीहरूलाई विशेष तुल्याउने कारण हुनुहुन्थ्यो! तपाईंको जीवनलाई पनि उहाँले नै विशेष बनाउन सक्नुहुन्छ।

कडा चेतावनी

धार्मिक अगुवाहरूलाई यो आश्चर्यकर्म घट्दै नघटेको भए हुन्थ्यो भन्ने लागिरहेको थियो। यस आश्चर्यकर्मलाई इन्कार गरेर बरु यसो भन्न पाए हुन्थ्यो जस्तो लागेको थियो, “सुन्नुहोस् सबैजना, यो मान्छे वास्तवमा निको पारिएको होइन। यो त एउटा छलकपटकको कुरा मात्र हो। पत्रुस र यूहन्ना कुशल जादुगर हुन् र तिनीहरूले तिमीहरू सबैलाई झुक्काएका मात्र हुन्।” के तिनीहरूले त्यसो भन्न सके त (प्रेरित ४:१४,१६)?____________

पत्रुस र यूहन्नालाई सजायँ स्वरुप मृत्युदण्डसम्म दिने तिनीहरूको इच्छा थियो, तर तिनीहरू मानिसहरूसँग डराएका थिए (प्रेरित ४:२१)। त्यस आश्चर्यकर्म भएकोमा खुशी हुनेहरू त्यहाँ हजारौं थिए (प्रेरित ४:४) र यी मानिसहरू जान्दथे कि पत्रुस र यूहन्नाले केही गलती गरेका थिएनन्।

तिनीहरूले गर्न सक्ने एउटै मात्र कुरा थियो, त्यो थियो उनीहरूलाई धम्काउनु (प्रेरित ४:१७,२१)! येशूको नाममा पटक्कै कुरा नगर्नु र शिक्षा नदिनु भनी तिनीहरूले उनीहरूलाई हुकुम दिए (प्रेरित ४:१८)। “यदि तिमीहरूले कुरा गर्‍यौ वा शिक्षा दियौ भने तिमीहरूलाई पख लास्!”। तिनीहरूको ठूलो धम्की यही थियो!

उनीहरूले अब कसको आज्ञा मान्ने? धार्मिक अगुवाको कि बौरिउठ्नुभएको प्रभुको?_________________। उनीहरूले कसको कुरा सुन्ने, धार्मिक अगुवाहरूको कि परमेश्वरको (प्रेरित ४:२०)?_________________। पत्रुस र यूहन्नाले भने, “हामीले _________________। कुराहरू हामीले बोल्नैपर्छ” (प्रेरित ४:२०)।

बोल्ने कि नबोल्ने? पत्रुस र यूहन्ना कोसँग बेसी डराए त? धार्मिक अगुवाहरूसँग कि परमेश्वरसँग? _____________। यदि उनीहरू निरन्तर बोलिरहे भने को चाहिँ बेखुसी हुनेथिए?___________________। यदि उनीहरूले परमेश्वरको विषयमा बोल्न बन्द गरे भने को चाहिँ बेखुशी हुने थिए?__________________________ पत्रुस र यूहन्नाले बेखुशी बनाउन नचाहेका व्यक्ति ________________ नै हुन्।

साहसको निम्ति प्रार्थना

पत्रुस र यूहन्ना झ्यालखानाबाट छुट्टिने बित्तिकै अरू विश्वासीहरूलाई भेट्न गए (प्रेरित ४:२३)। यहूदीहरूबाट आएको यस प्रकारको धम्कीको बारेमा थाह पाएपछि ती विश्वासीहरूले पहिलो काम के गरे?

  1. उनीहरूले दुखेसो गरे।
  2. ख्रीष्टियान हुनु निकै कठिन रहेछ त्यसैले ख्रीष्टलाई पछ्याउन छोड्नुपर्छ भन्ने निर्णय गरे।
  3. उनीहरूले स्वर्गका परमेश्वरसँग प्रार्थना गरे।
  4. उनीहरूले एक अर्का सँग वाद-विवाद गरे। कोहीले प्रचार गरिरहनुपर्छ भने र अरूले चाहिँ प्रचार गर्न बन्द गरिनुपर्छ भने।

उनीहरूले आफ्‍नो समस्या परमेश्वरकहाँ ल्याए। उनीहरूले गरेको पहिलो काम त्यही नै हो। प्रेरित ४:२९ मा उनीहरूले परमेश्वरसँग एउटै कुरा मागेको देख्दछौं। के उनीहरूले यसो भनेका थिए, “प्रभु! तिनीहरूले हामीलाई कसरी सताए भनी तपाईं जान्नुहुन्छ। अब विन्ती छ, हाम्रो ज्यान जोगाउनुहोस् र सतावटलाई हामीबाट हटाइदिनुहोस्”?____________। यी विश्वासीहरूले परमेश्वरको वचन डरबिना नै बोल्न सकौं भनी साहसहिम्मतको निम्ति प्रार्थना गरे! धार्मिक अगुवाहरूले जे नगर्न हुकुम दिएका थिए, त्यही नै गर्न सक्नलाई परमेश्वरले सहायता गर्नुभएको होस् भनी प्रार्थना गरे! धार्मिक अगुवाहरूले “नबोल” भने (प्रेरित ४:१८) र उनीहरूले “प्रभु! तपाईंको वचन साहससित बोल्न सहायता गर्नुहोस्” भनेर प्रार्थना गरे (प्रेरित ४:२९)। के परमेश्वरले उनीहरूको प्रार्थनाको जवाफ दिनुभयो (प्रेरित ४:३१)?

आज उहाँको निम्ति हामीले बोलेको परमेश्वर चाहनुहुन्छ। यदि परमेश्वरले हामीलाई मुक्तिको यति ठूलो दान दिनुभएको छ भने (रोमी ६:२३), अरूहरूलाई यसको बारेमा बताउन के हामी इच्छुक र उत्साहित हुनुपर्दैन र? यदि कुनै डाक्टरले हजारौंको ज्यान बचाउन सक्ने क्यान्सरको औषधी पत्ता लगाए भने के अरूहरूले त्यसको बारेमा जानोस् भन्ने उसले चाहँदैन र? असल खबर त फैलाइनुपर्छ! येशू ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ भनेर मानिसहरूले जान्नुपर्छ (प्रेरित ४:१२)। शुरुका ख्रीष्टियानहरूले जस्तै हामीले पनि परमेश्वरको वचन अरूहरूसित बाँड्नलाई साहस र हिम्मतको लागि प्रार्थना गर्न सक्छौं। जुन परमेश्वरले उनीहरूलाई बोल्न साहस दिनुभयो उही परमेश्वरले हामीलाई पनि आज बोल्नलाई साहस दिन सक्नुहुन्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email