अध्याय १० – तेस्रो प्रचार यात्रा

अध्याय १० – तेस्रो प्रचार यात्रा
(प्रेरित १८-२१)
पावलको तेस्रो प्रचार यात्रा अघिल्लो दुई यात्राहरूभन्दा फरक थियो। अघिल्लो दुई यात्राहरूमा पावल नयाँ-नयाँ ठाउँहरूमा पुगेका थिए अनि ती ठाउँहरूमा उनले सुसमाचार प्रचार गरे र मण्डलीहरू स्थापना गरे। तेस्रो यात्रामा पावल कुनै पनि नयाँ ठाउँमा गएनन् तर उनी पहिल्यै गएका शहरहरूका विश्वासीहरूलाई स्थिर पार्दै गए (प्रेरित १८:२३)।
पवित्र आत्माले दोस्रो प्रचार यात्रामा पावललाई एसियाभन्दा अन्यत्र नै जान निर्देशित गर्नुभयो (प्रेरित १६:६) किनभने उनले बढी समय यूरोपमा अर्थात् फिलिप्पी, थेस्सलोनिका, कोरिन्थ, एथेन्स, इत्यादि शहरहरूमा बिताएको परमेश्वरले चाहनुभयो। तेस्रो प्रचार यात्रामा, पावलको अधिकांश समय एसियामा वा एफेससको शहरमा बित्यो।
तलको नक्सामा पावल आफ्नो तेस्रो प्रचार यात्रामा गएका ठाउँहरूलाई देखाइएको छ। उनको अधिकांश समय (करिब तीन वर्ष) एफेसस शहरमा बितेको कुरालाई यादमा राख्नुहोस्:
अन्धविश्वास, जादु, टुना र मूर्तिहरू
एफेससका बासिन्दाहरू धेरै अन्धविश्वास गर्ने मानिसहरू थिए। तिनीहरू जादु र टुना-मुनामाथि विश्वास गर्दथे। तिनीहरूले मूर्तिहरू र झूटा देउताहरूलाई पूज्दथे। पावल त्यस शहरमा सत्य र जीवित परमेश्वरको सन्देश लिएर आइपुगे।
विशेष आश्चर्यकर्महरू
परमेश्वरले पावललाई अश्चर्यकर्महरू गर्न प्रयोग गर्नुभयो (प्रेरित १९:११)। रोग लागेका बिरामीहरूलाई के गरियो (प्रेरित १९:१२)? _________________________________। दुष्टात्मा लागेकाहरूलाई के भयो (प्रेरित १९:१२)? ____________________________________________________।
यी आश्चर्यकर्महरू अनौंठो शैलीका थिए। पावलको जीउमा छुवाइएका रूमाल, गम्छा वा एप्रोनहरू बिरामी वा दुष्टात्मा लागेकाहरूकहाँ ल्याइन्थ्यो र रोग लागेकाहरू तथा भूतात्मा लागेकाहरू निको हुन्थे। यस सन्दर्भमा हामी प्रभु येशूद्वारा गरिएका आश्चर्यकर्मलाई सम्झौं: जसले उहाँको (येशूको) _________को __________ मात्र भए पनि छुन्थे र एकदम निको हुन्थे (मत्ती १४:३६ पढ्नुहोस्)। यसको अर्थ येशूको वस्त्र जादुमय थियो अथवा पावलले उनको जीउमा छुवाइएका रूमालहरूमा जादुमय शक्ति हालिदिन्थे भन्ने होइन। यसको मतलब परमेश्वरले मानिसहरूलाई विशेष किसिमले निको पार्न चाहनुभएको थियो भन्ने मात्र हो। यदि परमेश्वरले हरेकलाई कुनै पात वा घाँस मात्र छोएर निको पार्न चाहनुभयो भने, के उहाँले त्यसो गर्न सक्नुहुन्छ?_____________। इतिहासको एक समयमा त परमेश्वरले मानिसहरूको एउटा समूहलाई यस्तो प्रकारले सम्म निको पार्नुभयो कि यी मानिसहरूले निको पारिन केवल हेर्नु पर्थ्यो (गन्ती २१:६-९ पढ्नुहोस् र यूहन्ना ३:१४-१६ सँग तुलना गर्नुहोस्)।
पावलको नक्कल गर्नेहरू
जब मानिसहरूले यी आश्चर्यकर्महरू देखे, त्यहाँ सातजना यहूदीहरू खडा भए जसले पावलले गरिरहेको जस्तै गर्न खोजे (प्रेरित १९:१४-१५)। पावलले “येशू ख्रीष्टको नाममा” दुष्टात्माहरू निकालेको तिनीहरूले देखेका थिए, र त्यही “सुत्र” प्रयोग गरे हुन्छ होला भन्ने तिनीहरूलाई लाग्यो। सायद तिनीहरूले यस्तो सोचे होला, “यदि पावललाई यसले काम दिन्छ भने हामीलाई पनि दिन्छ!” तिनीहरूलाई लाग्यो, पावलको “जादुमय सुत्र” लाई प्रयोग गरियो भने दुष्टात्माहरू मानिसबाट बाहिर निस्कनेछन्!
यी “नक्कल गर्नेहरू” एकजना मानिसकहाँ आए जसलाई दुष्टात्मा लागेको थियो। सायद तिनीहरूले यसो भनेका थिए: “हे दुष्ट आत्मा, यस मानिसबाट बाहिर निस्की भनी हामी येशूको नाममा तँलाई आदेश दिन्छौं।” अचानक दुष्टात्माले त तिनीहरूलाई जवाफ दिँदै यसो पो भन्यो, “ ___________ म चिन्छु, र ____________ म चिन्छु; तर तिमीहरूचाहिँ को हौ?” (प्रेरित १९:१५)।
यदि येशूले यस दुष्टात्मालाई बाहिर निस्कन आज्ञा दिनुभएको भए, के त्यसले मान्थ्यो होला (मर्कूस १:२३-२६ पढ्नुहोस्)?____________। यदि पावलले यस दुष्टात्मालाई बाहिर निस्कने आज्ञा दिएका भए, के त्यसले मान्थ्यो होला (प्रेरित १६:१६-१८ पढ्नुहोस्)?_____________। के दुष्ट आत्माले यी “नक्कल गर्नेहरूको” आज्ञा मान्यो? __________ । किन?
दुष्ट आत्माहरू निकाल्न पावल बिलकुल सफल हुनु पछाडिको कारण के थियो? उनले “जादुमय सुत्र” प्रयोग गरेर त्यो भएको थिएन, तर जीवित परमेश्वरले उनलाई त्यसो गर्न प्रयोग गर्दै हुनुहुन्थ्यो। दुष्ट आत्माहरू पावलसँग डराएका होइनन्, तर तिनीहरू पावलले प्रेम गरेका र सेवा गरिरेका परमेश्वरसँग डराएका हुन्। के यी सातजना यहूदीहरूले जीवित परमेश्वरलाई प्रेम र सेवा गर्थे? ________। पावलसँग कुनै सुत्रभन्दा ज्यादै ठूलो कुरा थियो। उनको साथमा परमेश्वरको सामर्थ्य थियो!
आज पनि मुक्ति नपाएका मानिसहरूले ख्रीष्टियनहरूको हुबहु नक्कल गर्न खोज्छन्। कहिले काहिं मुक्ति नपाएका मानिसहरूले खाना खानु अगाडि प्रार्थना गर्छन्। तिनीहरू प्रायः चर्चघर जान्छन् र येशूको नाममा प्रार्थनाहरू भन्छन् र बाइबल पनि पढ्छन्। के यी सब कुराहरू गरेर एउटा व्यक्ति ख्रीष्टियन बन्छ? _______। यस्ता किसिमका मानिसहरू ख्रीष्टियनको “नक्कलेहरू” हुन्, तर परमेश्वर तिनीहरूको साथमा हुनुहुन्न। येशू ख्रीष्टसँग तिनीहरूको साँचो व्यक्तिगत सम्बन्ध छैन। तपाईं चिडियाघर जान सक्नुहुन्छ र बाँदरको नक्कल गर्न सक्नुहुन्छ, तर यसले तपाईंलाई बाँदर त बनाउँदैन नि, बनाउँछ त?
ती सातजना यहूदी मानिसहरूलाई के भयो? तिनीहरू दुष्ट आत्मामाथि विजय पाउन चाहन्थे, तर उल्टो दुष्ट आत्मा तिनीहरूमाथि विजयी भयो! प्रेरित १९:१६ अनुसार त्यो अशुद्ध आत्मा लागेको मान्छे तिनीहरूमाथि बुरुक्कै उफ्र्यो। त्यसले तिनीहरूलाई वशमा पार्यो, घायल बनायो र ती सातैजना घरबाट भागे। कसरी एकजना मान्छे सातजना मान्छेमाथि विजयी हुन सक्यो? के दुष्ट आत्माले मानिसलाई महाशक्ति दिन सक्छ (मर्कूस ५:२-५)? __________। पावलसँग जे थियो त्यो तिनीहरूसँग रहेनछ भनी यी यहूदीहरूले बुझे!
किताब जलाउनेहरू
कुनै व्यक्तिले परमेश्वलाई चिनेपछि उसित कतिपय त्यस्ता थोकहरू हुन सक्छन् जसलाई उसले परित्याग गर्नुपर्छ। यी थोकहरू उनको पुरानो जीवनका अवशेषहरू हुन्, तर अब उसो ती थोकहरू उनको नयाँ जीवनका अंश होइनन्। मानौं एउटा व्यक्तिसँग गाँजा, भाङ्ग, चरेस र अन्य हानिकारक लागू पदार्थहरू छन्, साथै उसको कोठामा अश्लिल पत्रिकाहरू पनि छन्। एकदिन उसले ख्रीष्टमाथि विश्वास गर्दछ, मुक्ति पाउँछ र एउटा पूरै नयाँ जीवन पाएको हुन्छ (२ कोरिन्थी ५:१७)। अब ती लागू पदार्थहरू र पत्रिकाहरूलाई उसले के गर्नुपर्छ? के ती थोकहरू उसको नयाँ जीवनका अंश हुन्? ____________। एक व्यक्तिको जीवनमा कतिपय त्यस्ता कुराहरू हुन सक्छन् जसलाई उसले हटाउनुपर्दछ!
एफेसस शहरका धेरै विश्वासीहरूसँग केही पुस्तकहरू थिए जो उनीहरूको पुरानो, अन्धविश्वासको जीवनको अंश थियो। उनीहरूसँग सबै किसिमका जादुका पुस्तकहरू र टुना-मुनाका पुस्तकहरू थिए। ती भएभरका पुस्तकहरूलाई उनीहरूले के गरे (प्रेरित १९:१९ पढ्नुहोस्)?
- उनीहरूले तिनलाई मुक्ति नपाएको मानिसहरूलाई दिए।
- उनीहरूले तिनलाई जलाइदिए।
- उनीहरूले तिनलाई धेरै मूल्यमा बेचिदिए।
- उनीहरूले तिनलाई राखिछाडे र पढिरहे।
ती पुस्तकहरूको दाम धेरै थियो (प्रेरित १९:१९ पढ्नुहोस्), तर ती विश्वासीहरूले तिनलाई जलाइदिने इच्छा गरे। उनीहरूले तिनलाई बेच्न चाहेनन् नत्र ता ती खराब पुस्तकहरू अरु व्यक्तिहरूले पढ्ने थिए।
यदि तपाईं साँचो ख्रीष्टियन हुनुहुन्छ भने, के तपाईंले नाश गर्नु पर्ने तपाईंका केही थोकहरू छन् कि? खराब सङ्गीत? कुनै खराब किताब वा पत्रिका? कुनै खराब क्यासेटहरू? शरीर वा दिमागका लागि हानिकारक अरु थोकहरू?
पावलका विरुद्धमा डायना पूजकहरू
प्राचीन संसारको नौ आश्चर्यहरू मध्ये एउटा चाहिँ एफेसस शहरमा रहेको डायनाको विशाल मन्दिर थियो। उक्त मन्दिर डायना देवी (अर्थात् अर्टेमिस) को उपासनाका लागि बनाइएको थियो। डायनाको मन्दिर विश्व-प्रख्यात थियो। यो निकै विशाल धार्मिक केन्द्र थियो जुन १०० ओटा भन्दा बढी सङ्गमरमरका स्तम्भहरूले बनेको थियो। हरेक स्तम्भ साठी फिट अल्गो थियो। मन्दिरभित्र डायनाको मूर्ति थियो। यो मूर्ति आकाशबाट झरेर आएको भन्ने एफेससका मानिसहरूको अन्धविश्वास थियो (प्रेरित १९:३५ पढ्नुहोस्)।
एफेससका मानिसहरू एकदम धर्मकर्म र अन्धविश्वासमा डुबेका हुनाले, तिनीहरूले चाँदीले बनाइएका स-साना डायनाका मूर्तिहरू र प्रतिरूपहरू किन्न रुचाउँदथे। तिनलाई “चाँदीका मन्दिरहरू” भनिन्थ्यो र सुनारहरूले तिनलाई बनाउँथे। यी साना मूर्तिहरू मन्दिरभित्रको त्यस विशाल मूर्तिका प्रतिमा थिए। ती “चाँदीका मन्दिरहरू” बेचेर सुनारहरूले कति राम्रो नाफा खान्थे त्यो सजिलै बुझिने कुरा हो (प्रेरित १९:२४)।
उक्त शहरमा त्यतिबेला एउटा कुराले ती लोभी सुनारहरूको ध्यानाकर्षण गर्यो। पावल तिनीहरूको शहरमा मुक्तिको सुसमाचार सुनाउँदै आइपुगेका थिए। धेरै मानिसहरूले उनको प्रचारलाई विश्वास गर्दैथिए र मुक्ति पाइरहेका थिए। एक व्यक्तिले विश्वास गरेपछि के उसले ती “चाँदीका मन्दिरहरू” किन्नपट्टि लागिरहनुहुन्छ? ____________। ती मूर्तिहरू उनीहरूको पुरानो जीवनका अंश हुन् कि नयाँ जीवनका? ______________________। के ख्रीष्टियनहरूले मानिसको हातले बनाएको कुनै थोकलाई पूजा गर्नुहुन्छ (प्रेरित १९:२६)? _____________।
पावलले मानिसहरूलाई स्वर्गमा हुनुहुने सत्य परमेश्वरको बारेमा बताएको कारणले सुनारहरू धन्यवादी भए जस्तो के तपाईँलाई लाग्छ? _______। जति धेरै पावलले प्रचार गरे, त्यति “चाँदीका मन्दिरहरू” थोरै बिके र सुनारहरू क्रोधित भए (प्रेरित १९:२४-२८)। तिनीहरूले शहरका मानिसहरूलाई उक्साए, र तिनीहरू ठूलो भीड लागेर एक विशाल रङ्गशालाभित्र दगुरे (प्रेरित १९:२९)। यो फुटबल रङ्गशाला जत्रै ठूलो थियो, र २५,००० मानिसहरू अटाउने क्षमता थियो! करिब दुई घण्टाजति त्यो ठूलो भीड एउटा नारा लगाई कराइरहे। मानिसहरू के भन्दै कराइरहे (प्रेरित १९:३४)? ______________________________________ _______________। अन्त्यमा शहरका एकजना हाकिम आएर भीडलाई शान्त पार्न सफल भए र होहल्ला थामियो। यसपछि शहरमा नबस्नु उत्तम होला भनी पावलले निर्णय गरे।
प्राय: पावल पुगेको हरेक ठाउँमा मानिसहरूले कि त मुक्ति पाए कि त तिनीहरू क्रोधित भए! एफेससमा घटेको पनि यही थियो। कोही विश्वासीहरू बने र अरुहरू विद्रोही बने।
प्रचारको बीचमा निदाएर मरेका मानिस!
प्रचार यात्राको अन्ततिर पावल यरूशलेम शहर तर्फ लाग्दै थिए र उनी ट्रोआस शहरमा आए।
लामो प्रचार
हप्ताको कुन दिनमा विश्वासीहरू रोटी भाँच्न (प्रभु भोज) र परमेश्वरको वचनको प्रचार सुन्न भेला हुन्थे (प्रेरित २०:७)? _______________________________। उक्त दिन कुन बार पर्थ्यो ?___________________। हप्ताको पहिलो दिनमा कुनचाहिँ महान् घटना घटेको थियो जसको कारण ख्रीष्टियन विश्वासीहरूलाई यो दिन उनीहरूको उपासनाको दिन बन्यो (लूका २४:१,३४)? ____________________________________________________।
जब ट्रोआसका मानिसहरू हप्ताको पहिलो दिनमा मण्डलीको रूपमा भेला भए त्यसबेला उनीहरूका प्रचारक को थिए (प्रेरित २०:७)? _____________। बाइबलले बताउँदछ कि उनले ______________सम्म वचन दिरहे (प्रेरित २०:७)। के तपाईंको पाष्टरले कहिल्यै मध्यरातसम्म प्रचार गर्नुभएको छ? ____________। पावलले कतिखेर प्रचार सुरु गरे, हामीलाई बताइएको छैन, तर हामीलाई बताइएको छ कि पावलले ________________________ वचन दिँदै गए (प्रेरित २०:९)! यो निकै लामो प्रचार थियो!
कहिले काँही अगुवाले सामान्यभन्दा केही लामो समयसम्म प्रचार गर्नुभयो भने हामीले गलत सोच्नुहुँदैन। के तपाईंले कहिल्यै टेलिभिजनको अगाडि एक घण्टा वा बढी समय लगातार बिताउनुभएको छ? के तपाईंले कहिल्यै रेष्टुरेन्टको टेबुलमा ४५ मिनेटदेखि १ घण्टासम्म बसेर मीठो खानाको स्वाद लिनुभएको छ? अगुवाले हामीलाई त्यस्तो सन्देश दिँदै हुनुहुन्छ जुन हामीले टेलिभिजनमा हेर्ने कुनै पनि कार्यक्रमभन्दा धेरै महत्त्वपूर्ण हुन्छ! उहाँले हामीलाई यस्तो आत्मिक भोजन खुवाउँदै हुनुहुन्छ जसले हाम्रो प्राणहरूलाई तृप्त पार्दछ! हामीले परमेश्वरलाई त्यस्तो पाष्टरको निम्ति धन्यवाद दिनुपर्छ जसले बाइबललाई प्रेम गर्नुहुन्छ र जसले हामीलाई परमेश्वरको वचन यति धेरै सुनाउनुहुन्छ कि उहाँ कहिले काहीँ रोकिन पनि चाहनुहुन्न। स्मरण रहोस्, महान् प्रचारकहरू मध्ये एकजनाले ला_________ वचन दिए (प्रेरित २०:९), र एक पटक त उनले मध्यरातसम्मै प्रचार गरे!
निदाउनुको खतरा
पावलले प्रचार गरिरहेको भवनभित्र धेरैजना विश्वासीहरू भेला भएका थिए। त्यो ठाउँ भीडले भरिएको मात्र नभएर सम्भवतः आगोका बत्तीहरूको कारणले निकै गर्मी पनि हुनुपर्छ (प्रेरित २०:८)। धेरैजनालाई सुत्न पनि ढिलो भइसकेको थियो (प्रेरित २०:७)। सायद त्यो गर्मीले होला र रात पनि छिप्पिन थालिसकेकोले होला, एकजना युवक भुसुक्कै निदाएछन् र झ्यालमा बसेका हुनाले तेस्रो तल्लाबाट तल खसेछन्! जब विश्वासीहरूले तिनलाई उठाए, तब उनीहरूले तिनी _______________ भेट्टाए (प्रेरित २०:९)। पावलले यस मानिसको निम्ति के गरे (प्रेरित २०:१०,१२)? _________________________________________________। यूटिखसले सावधानी अपनाएनन् र जागो भएर बसेनन्। पावलका कुरामा ध्यान दिनुको सट्टा तिनी निदाए र मरे।
तपाईं नि? यदि तपाईँ सावधान रहनुभएन र प्रचार गरिएको परमेश्वरको वचन सुन्नुभएन भने के तपाईँलाई कुनै भयङ्कर घटना हुनेछ? यदि पाष्टरले भनिरहनुभएको कुरामा तपाईंले ध्यान दिनुभएन भने, के तपाईंमाथि कुनै ठूलै दुर्घटना आइपर्नेछ?
सायद तपाईंले सोचिरनुभएको होला, “अवश्य हुनेछैन! म मण्डली भवनमा बस्दा लड्ने गरी र आफैलाई घाइते बनाउने गरी म त्यस्तो जोखिमपूर्ण ठाउँमा म कहाँ बस्छु र। यूटिखसलाई भएको घटना मलाई कहिल्यै पनि हुनेछैन! मैले परमेश्वरको वचन ध्यानपूर्वक सुनिनँ भने पनि मलाई खासै कुनै खतरा छैन।”
परमेश्वरको वचन नसुन्नाले खतरा
धोका नखानुहोस्! यदि परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरालाई सुनेनौं भने त्यहाँ साँच्ची नै खतरा छ। अझ भन्नुपर्दा, हामी यूटिखसभन्दा पनि ठूलो समस्यामा पुग्न सक्छौं। तपाईंले तलका पदहरू पढ्नुहुँदा आफैलाई यो प्रश्न सोध्नुहोस्: परमेश्वरले भन्नुभएको कुरा ध्यानसित नसुन्नुमा त्यहाँ के-कस्तो खतरा छ? हिब्रू २:१-३; हिब्रू ३:१५; हिब्रू ५:११ र प्रेरित २८:२६-२८ पढ्नुहोस्।
प्रचारकलाई ध्यानपूर्वक नसुनेकोले यूटिखस शारीरिक खतरामा परेका थिए। तर परमेश्वरले हामीलाई उहाँको वचनमा भन्नुभएको कुरालाई सुन्दैनौं भने हामी ठूलो आत्मिक खतरामा पर्न सक्छौं। निदाएको मानिसबाट हामीले पाठ सिकौं!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)