अध्याय ९ – दोस्रो प्रचार यात्रा

Study Series

अध्याय ९ – दोस्रो प्रचार यात्रा

 

(प्रेरित १५-१८)

प्रेरित पावलले नयाँ नियमका धेरैओटा पुस्तकहरू लेखे, जस्तै: फिलिप्पी, १ र २ थेस्सलोनिकी, १ र २ कोरिन्थी र ऐफेसी। यी पत्रहरू ती मण्डलीहरूलाई लेखिएका थिए जो क्रमशः फिलिप्पी, थेस्सलोनिका, कोरिन्थ र एफेसस शहरहरूमा पर्दथे। एक समय ती कुनै पनि शहरमा मण्डलीहरू थिएनन्। त्यहाँ ती मण्डलीहरू कसरी शुरु भए त? यी शहरका मानिसहरूले मुक्तिको सुसमाचार पहिलो पटक सुन्ने मौका कसरी पाए? अब हामी पावलसित दोस्रो प्रचार यात्रा मानौ सँगसँगै गर्दैछौं (प्रेरित १५:३६-१८:२२)। परमेश्वरले यी महत्त्वपूर्ण शहरहरूमा मण्डली सुरु गर्न पावललाई अचम्मको तरिकाले प्रयोग गर्नुभएको कुरा हेर्दै जाऔं।

तलको नक्साले पावलको दोस्रो प्रचार यात्रामा उनी पुगेका महत्त्वपूर्ण स्थानहरू देखाउँदछ:

यस पाठमा पावलले प्रचार यात्रामा अनुभव गरेका प्रत्येक घटनाको अध्ययन गर्न हामी समय लिनेछैनौं। यी कुराहरूको बारेमा तपाईं आफैले प्रेरित १५-१८ अध्यायहरूमा पढ्न सक्नुहुन्छ। बरु हामी दुईओटा कुराहरूलाई नजिकबाट हेर्नेछौं: १) यस यात्रामा यूहन्ना मर्कूसलाई साथमा लैजान पावलले इन्कार गरेको कुरा; २) फिलिप्पी शहरमा पावलले भोगेका जोखिमपूर्ण घटनाहरू।

नयाँ प्रचार टोलीको सुरूवात

मानौं तपाईं बजारमा केही किनमेल गर्न जानुपर्‍यो र बजारका मानिसहरूले तपाईंलाई समाते, थुके, तपाईंको अनुहारमा मुक्का हाने, तपाईंलाई खोलामा फालिदिए र तपाईंलाई तिनीहरूले फेरि कहिल्यै देख्न नपरोस् भनी भने। के त्यो ठाउँमा फेरि फर्केर जाने मन हुन्छ होला तपाईंलाई?

एक पटक पावल एउटा शहरमा गएका थिए जहाँ उनलाई अति नराम्रो व्यवहार गरियो। पावलको पहिलो प्रचार यात्रा (अध्याय ८) मा उनलाई सताइएको थियो, शहरबाट घिसारेर बाहिर निकालिएको थियो, र मर्ने गरी ढुङ्गाले हानिएको थियो! उनलाई यसरी दुर्व्यवहार गरिएका शहरहरूमा फेरि फर्केर जान के पावलले इच्छा गरे (प्रेरित १५:३६)? _____________। कस्तो साहस!

पावलले आफ्‍नो साथमा बर्नबासलाई लाने इच्छा गरेका थिए (प्रेरित १५:३६), तर बर्नबासले भने कसलाई पनि साथमा लान चाहन्थे (प्रेरित १५:३७)? __________। के पावललाई उक्त निर्णय उचित लाग्यो (प्रेरित १५:३८)? _________। यूहन्ना मर्कूस पहिलो प्रचार यात्रामा सहयोगी भएर आएका त थिए, तर जस्तो हुन गयो, उनी हुनुपर्ने जस्तो सहयोगी भएका थिएनन्। यूहन्ना मर्कूस फर्किए अनि पावल र बर्नबाससँग गएनन् (प्रेरित १३:१३; १५:३८ पढ्नुहोस्)।

यूहन्ना मर्कूस जाने विषयमा बर्नबास र पावलको ठूलै मतभेद भयो। आखिरमा बर्नबासले मर्कूसलाई आफ्‍नो साथमा लगे र साइप्रसको टापुतर्फ यात्रा गरे (प्रेरित १५:३९)। पावलको नयाँ प्रचारक मित्र को भए (प्रेरित १५:४०)? __________। यो नयाँ समूह केही ठाउँहरूमा गए जहाँ पावल उनका पहिलो प्रचार यात्रामा गएका थिए।

ऊ हुने तर म चाहिँ किन नहुने?

सायद यूहन्ना मर्कूसले यसो भने होलान्, “पावल किन मलाई लैजान चाहँदैनन्? सिलास चाहिँ पावलसँग जान पाए तर मचाहिँ पाइनँ। ममा के खराबी छ र?” कहिलेकाहीँ अरुले नै केही काम गर्न वा कहीँ जान पाएको तर तपाईंले नपाउनुभएकोमा के कहिल्यै तपाईंलाई यस्तो किन भयो होला भनेर प्रश्‍न उठेको छ? सायद तपाईंको अभिभावकले तपाईंको भाई वा बहिनीसँग केही विशेष व्यवहार गर्नुभएको, तर तपाईंसँग नगर्नुभएको होला। सायद तपाईंको विद्यालयको खेलकुद कक्षाबाट फुटबल खेल्नको लागि मान्छे छनोट गर्ने कार्य हुँदैछ, र तपाईंको साथी सँधै पहिल्यै छनौट हुन्छ तर तपाईं सँधै अन्तिममा पर्नुहुन्छ। तपाईंलाई प्रश्न उठ्न गयो होला, “ऊ हुने तर म चाहिँ किन नहुने?”

सायद स्कूलको शिक्षकले पनि अरु विद्यार्थीहरूलाई विशेष काम अह्राउनुहोला, तर तपाईंलाई त विरलै अह्राउनुभएको जस्तो लाग्ला। कहिले काहीँ अरु व्यक्तिले मात्र सधैं राम्रो अवसर पाएको जस्तो देखिन्छ। यस्तो किन हुन्छ? तपाईंलाई कहिलेकाहीँ त बेसरी चिच्च्याऊँ जस्तो लाग्छ कि, “म किन नहुने? ममा के कमी छ र?”

यहाँ ध्यानमा राख्नुपर्ने केही कुराहरू छन्:

१) यो उचित समय नहुन सक्छ।

पावलको पहिलो प्रचार यात्रामा यूहन्ना मर्कूस उपयोगी भएनन् र पावलले तिनलाई आफ्‍नो साथमा दोस्रो प्रचार यात्रामा लैजान इन्कार गरे। तर २ तिमोथी ४:११ मा हेर्नुहोस् र पावलले केही वर्षपछि मर्कूसको बारेमा के भनेका छन् (पावलको मृत्यु हुनुभन्दा केही समय अगाडिको कुरा हो)। के यो समयमा चाहिँ पावलको निम्ति मर्कूस उपयोगी थिए? __________। मर्कूस अब पहिला भन्दा उमेरदार भइसकेका थिए, विगतबाट उनले धेरै पाठहरू सिकिसकेका थिए, र तिनी पहिलाभन्दा बलिया भएका थिए। वास्तवमा, परमेश्वरले मर्कूसलाई मर्कूसको सुसमाचार लेख्न प्रयोग गर्नुभयो, जुन हाम्रो नयाँ नियमको दोस्रो पुस्तक हो!

केही कामहरू गर्न वा कुनै ठाउँहरूमा जानुभन्दा अगाडि कति पटक हामी उमेरदार (बुद्धिमानी वा बलियो) नहुन्जेल हामीले पर्खनु पर्ने हुन्छ।

२) परमेश्वरले तपाईंलाई धैर्य गर्न सिकाउन खोज्नुभएको हुन सक्छ।

कहिलेकाहीँ हाम्रो मनोभाव घमन्डी हुन्छ, “म पर्खन सक्दिन; मैले यो अहिले नै गरिहाल्नुपर्छ!” तर जीवनमा हामीले पर्खनै पर्ने कतिपय कुराहरू हुन्छन् भनी परमेश्वरले हामीलाई सिकाउनै पर्छ। ६ कक्षाको विद्यार्थीले केही कुराहरू गर्न सक्छ जो ५ कक्षाको विद्यार्थीले गर्न सक्दैन र ५ कक्षाको विद्यार्थीले केही कुराहरू गर्न सक्छ जो ४ कक्षाका विद्यार्थीहरूले गर्न सक्दैनन्। ५ कक्षाको विद्यार्थीको अवसरहरू प्राप्त गर्न तपाईं ५ कक्षामा नपुगुन्जेल पर्खनैपर्छ, र ६ कक्षाका विद्यार्थीहरूले गर्ने कुराहरू गर्न तपाईं ६ कक्षा नपुगुन्जेल पर्खनैपर्छ!

३) तपाईं तयार नहुनु अर्को कारण हुन सक्छ

सात वर्षको बालकले गाडी साह्रै मन पराउला र गाडी गुडाउन साँच्चै रहर गर्ला, तर यदि उसलाई त्यो उमेरमा गाडी गुडाउने अनुमति दिइयो भने, ठूलै विनाश हुनेछ! पावलसँग जोखिमपूर्ण प्रचार यात्रामा जान मर्कूस तयार थिएनन्। यदि सिपाहीले बन्दुक चलाउन सिकेको छैन भने उसलाई युद्धमा पठाउनु बुद्धिमानी काम होइन!

४) तपाईंले स्वीकार गर्न सिक्नुपर्ने केही कुराहरू त्यहाँ हुन सक्छन्।

जीवनमा त्यस्ता केही कुराहरू हुन्छन् जसलाई हामीले खुशीसाथ स्वीकार गर्नुपर्छ। उदाहरणको निम्ति, उत्पत्ति ३७ अध्यायमा याकूबले अरु छोराहरूलाई भन्दा यूसुफलाई बढी प्रेम गरेको कुरा उनको निम्ति एउटा एकदम विशेष लबेदा बनाइदिएर देखाए। के यूसुफका दाजुहरूले यसलाई खुशीसाथ स्वीकार गर्न सिके? यदि तिनीहरूको मनोभाव ठीक भइदिएको भए, तिनीहरूले यसो भन्ने थिए: “हाम्रा निम्ति बुबाले विशेष किसिमको लबेदाहरू बनाइदिनुभएको भए हामीलाई पनि मन पर्नेथ्यो तरैपनि यूसुफलाई यो विशेष व्यवहार गरिएकोमा हामी धन्यवादी नै छौं। यद्यपि हाम्रा बुबाले यूसुफलाई धेरै प्रेम गर्नुहुन्छ, हामी जान्दछौं कि उहाँले हामीलाई पनि प्रेम गर्नुहुन्छ र उहाँको सक्दो प्रिय छोराहरू बन्न हामीले प्रयास गर्नुपर्छ। हामी यूसुफको पनि असल दाजुहरू बन्ने इच्छा गर्दछौं”। के उनीहरूको विचार यस्तै थियो (उत्पत्ति ३७:४ पढ्नुहोस्)? ______________।

मानौं फुटबल खेलको निम्ति छनोट कार्यमा तपाईं सँधै अन्तिममा पर्नुहुन्छ। के यो तपाईंले स्वीकार गर्न सिक्न सक्ने कुरा हो? भन्नुपर्दा परमेश्वरले सबैलाई ठूलो खेलाडी हुने क्षमता पनि त दिनुहुन्न नि। सायद त्यहाँ अरु कति कुराहरू होलान् जसमा खलाडीहरूले भन्दा तपाईंले अझ राम्रो गर्न सक्नुहोला । के तपाईं सक्दो खेल्ने प्रयास गर्न पाएकोमा र खेल्नै नसक्ने गरी आफू एक अपाङ्ग नभएकोमा धन्यवादी बन्न सक्नुहुन्छ?

५) आफूले गर्न पाएको कुराको निम्ति धन्यवादी हुनुहोस्!

उहाँको रूप परिवर्तन हुँदा येशूले आफ्‍नो साथमा डाँडामाथि तीनजना चेलाहरूलाई मात्र लानुभयो (मत्ती १७:१ पढ्नुहोस्)। के फिलिप जान पाए? __________। फिलिपको मनोभाव कस्तो हुनु राम्रो हुन्थ्यो?

  1. “तिनीहरू जान हुने र म चाहिँ किन नहुने? किन येशूले ती तीनजनालाई साथमा लैजानुभयो र मलाई यी अरु नौजना सँग छाड्नुभयो?”
  2. “मलाई प्रभुसँग माथि डाँडामा जान मन थियो, तर उहाँले मलाई लानुभएन; मेरो निम्ति सर्वोत्तम के हो उहाँ जान्नुहुन्छ। मलाई बाह्र चेलाहरूमध्ये एक हुन ख्रीष्टले चुन्नुभएकोमा म धन्यवादी छु। मलाई प्रभुबाट दिनहुँ सिक्ने सुन्दर मौका छ!”

अर्कोपालि तपाईंको सट्टामा अरु कसैले कुनै कुरा गर्ने मौका पाउँदा रिसाउनु र ईर्ष्यालु बन्नुको सट्टा असल र धन्यवादी मनोभाव कायम राख्न याद गरौं!

६) तपाईं विश्वासयोग्य हुनुहुन्छ भनी प्रमाणित गर्नुहोस्!

यदि यूहन्ना मर्कूस पहिलो प्रचार यात्रामा विश्वासयोग्य सहायक भइदिएको भए र छोडेर नफर्किएको भए के पावलले तिनलाई दोस्रो प्रचार यात्रामा लानेथिए? ___________। पहिलो प्रचार यात्रामा यूहन्ना मर्कूस विफल भएकाले उनी दोस्रो मिसनरी यात्रामा लागिन अयोग्य छन् भन्ने कुरा पावललाई लागेको थियो।

मानौं तपाईंको अभिभावकले तपाईंलाई साथीहरूसँग जङ्गलमा वनभोज जाने अनुमति दिनुभयो। समयमा घर नफर्कीकन तपाईं दुई घण्टा ढिलो आउनुभयो। त्यसपछि, कुरा झन बिगार्न, वनपालेले तपाईंको अभिभावकलाई फोन गर्छन् र उहाँहरूलाई भन्दछन् कि तपाईंले वनभोज क्षेत्रमा फोहोर र जूठो फाल्नुभयो र गलत ठाउँमा आगो बाल्नुभयो। के तपाईंको अभिभावकले एक हफ्तापछि तपाईंलाई वनभोज जान दिनुहुनेछ होला? यदि कुनै व्यक्तिले तपाईंलाई विश्वास गरेको चाहनुहुन्छ भने, तपाईंले आफूलाई विश्वासयोग्य प्रमाणित गर्नैपर्छ!

यस महत्त्वपूर्ण प्रचार यात्रामा लैजान मर्कूसलाई विश्वास गर्न पावललाई गाह्रो भइरहेको थियो र तिनलाई साथमा लैजान चाहेनन्। पछिबाट मर्कूसले आफू विश्वासयोग्य भएको देखाए (२ तिमोथी ४:११)।

  1. ऊ हुने तर म किन नहुने?
  2. म हुने तर ऊ किन नहुने?

यदि हामीले ठीक सोच्न र परमेश्वरलाई धन्यवाद दिन सिकेनौं भने यी दुई प्रश्नहरूले हामीलाई धेरै समस्या दिन सक्छ।

परमेश्वरलाई धन्यवाद दिनाले र ठीक सोचाइले मलाई कसरी परिवर्तन गर्न सक्छ? परमेश्वर नै मलाई चाहिएको परमप्रभु हुनुहुन्छ। परमेश्वर नै मलाई चाहिएको जीवन हुनुहुन्छ। आज मेरो निम्ति परमेश्वरको योजना छ र उद्देश्य छ र स्थान छ। मैले प्रभु येशू ख्रीष्टमा नै परमेश्वरको योजना, स्थान र उद्देश्य भेट्टाउनेछु!

पवित्र आत्माद्वारा निर्देशित

पाठको शुरुमा भएको नक्सालाई फेरि एकपल्ट हेर्नुहोस्। के एसियामा उनीहरूले परमेश्वरको वचन प्रचार गरेको पवित्र आत्मा चाहनुहुन्थ्यो (प्रेरित १६:६)? _____________। यसको अर्थ परमेश्वरले एसियामा भएका मानिसहरूको वास्ता गर्नुहुन्न भन्ने होइन, तर एसियाको निम्ति यो परमेश्वरको समय थिएन। पछि उनीहरू एसिया गएर त्यहाँ सुसमाचार प्रचार गर्नेवाला थिए। वास्तवमा, यही दोस्रो प्रचार यात्रामै, टोली एफेससमा गएको थियो जुन एसियाको राजधानी शहर थियो (प्रेरित १८:१९)। परमेश्वरको गवाही भएकोले, हामी ठीक ठाउँमा, ठीक समयमा, ठीक व्यक्तिलाई ठीक सन्देश सुनाइरहेको हुनुपर्छ!

प्रचार टोली बिथानिया पनि जान खोजेको थियो। के आत्माले उनीहरूलाई त्यहाँ जाने अनुमति दिनुभयो (प्रेरित १६:७)? ____________। पवित्र आत्माले उनीहरू कहाँ गएको चाहनुभयो (प्रेरित १६:९)? ____________________________। यस टोलीको कार्यकारी स्वयं परमेश्वर हुनुहुन्थ्यो—उनीहरूलाई निर्देशन गर्दै र उनीहरूलाई ठीक समयमा ठीक स्थानमा पठाउँदै हुनुहुन्थ्यो। यो सुसमाचार प्रचार कार्य र मण्डलीहरूको स्थापना (सुरुवात) पावलको काम थिएन। यो कसको काम थियो (प्रेरित १३:२ सित दाज्नुहोस्)? __________________________।

म्यासिडोनिया (जसलाई आज ग्रीस भनिन्छ) यूरोपको भाग मानिन्छ। यूरोपमा प्रचार टोली पुगेको यो प्रथम पटक थियो। उनीहरू आइपुगेको प्रथम महत्त्वपूर्ण शहर फिलिप्पी थियो।

फिलिप्पी

फिलिप्पी शहरमा कुनै सभाघर थिएन, त्यसैले यी प्रचारकहरू खोलाको किनारमा गए जहाँ मानिसहरू प्रार्थना गर्नका निम्ति प्रायः भेला हुन्थे। यहाँ पावलले केही महिलाहरूलाई परमेश्वरको वचन सुनाए। परमेश्वरले कसको हृदय खोलिदिनुभयो (प्रेरित १६:१४)? _________________। के तिनलाई पानीको बप्तिस्मा दिइयो (प्रेरित १६:१५)? ___________। के तिनले प्रचारकहरूलाई दया देखाइन् (प्रेरित १६:१५)? ________________।

एकदिन पावलको एउटी केटीसँग भेट भयो जसले जोखना हेर्दथी (अर्थात् भाग्य बताउँदथी, जसले भविष्यमा हुने घटना बताउन सक्दथी)—प्रेरित १६:१६ पढ्नुहोस्। ऊ भाग्य बताउने भएकीले, तिनले आफ्‍ना मालिकका निम्ति पैसा कमाउने गर्थी (प्रेरित १६:१६)। अन्त्यमा यस केटीभित्र भएको दुष्टात्मालाई पावलले के गरिदिए (प्रेरित १६:१८)? ____________________________________________________________। आफूभित्र दुष्टात्मा नभईकनै ती केटीले जोखना हेर्न सक्थी? _____________। के उनले आफ्‍ना मालिकका निम्ति अब कमाउन सकी (प्रेरित १६:१९)? __________। पावलले जे गरे के त्यस कामको निम्ति तिनका मालिकहरू खुशी र आभारी भए (प्रेरित १६:१९-२०)? ________।

याद गर्नुहोस् फिलिप्पीका हाकिमहरूले पावल र सिलाससँग कस्तो व्यवहार गरे (प्रेरित १६:२२-२४)। उनीहरूका लुगाहरू च्यातिए। उनीहरूलाई धेरै कोर्रा लगाइयो। उनीहरूलाई भित्रपट्टिको झ्यालखानामा हालियो। उनीहरूको खुट्टा ठिँगुराहरूमा कसिलो गरी हालियो।

यदि यस्तो नमीठो घटना हामीले भोग्नुपरेको भए हामी सायद रून्थ्यौं होला, दु:ख पोख्नेथ्यौं होला, गनगन गर्नेथ्यौं र चिन्तित हुन्थ्यौं होला। पावल र सिलासले के गरे (प्रेरित १६:२५)? ___________________________________________। उनीहरूको त गजबको प्रार्थना सभा र भजनको सङ्गति भइरहेको थियो! उनीहरू परमेश्वरको प्रशंसा गाइरहेका थिए! अरु कैदीहरू पक्कै पनि यो के भइरहेको छ भनी दङ्ग परे! यी दुईजना मानिसहरू फरक छन् भनी तिनीहरूले थाह पाए! यी मानिसहरू जीवित परमेश्वरका थिए।

पछिबाट पावलले फिलिप्पीहरूलाई एउटा पत्र लेखे। उनले फिलिप्पी ४:४ के लेखेकाछन् पढ्नुहोस्। के पावलले आफूले प्रचार गरेको कुरा अभ्यास पनि गर्दथे? _____________।

धेरै पटक, जब विश्वासीहरू प्रशंसा गर्न थाल्छन् तब परमेश्वर काम गर्न थाल्नुहुन्छ! परमेश्वरले ठूलो आश्चर्यकर्म गर्नुभयो (प्रेरित १६:२६)। झ्यालखानाका हाकिम हतार-हतार उठे र परमेश्वरले गर्नुभएको आश्चर्यकर्म देखेर, पावल र सिलासको सामु भुइँमा घोप्टो परे र भने, “मुक्ति पाउनालाई मैले के गर्नुपर्छ?” तिनले ठीक प्रश्न गरे र पावल र सिलास उनलाई ठीक जवाफ दिन तयार थिए।

मुक्ति पाउनालाई एउटा व्यक्तिले के गर्नुपर्छ? पावल र सिलासले के जवाफ दिए (प्रेरित १६:३०-३१)?

  1. असल जीवन बिताउने प्रयास गर्नुहोस्।
  2. दस आज्ञा पालन गर्नुहोस्।
  3. तपाईंको छिमेकीलाई प्रेम गर्नुहोस् र अरुको भलाइ गर्नुहोस्।
  4. प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्।
  5. परमेश्वरलाई आफ्‍नो सारा हृदयले र आफ्‍नो सारा प्राणले प्रेम गर्नुहोस्।

मानिसहरूले हामीलाई मुक्तिको विषयमा प्रश्न गर्दा हामी ठीक जवाफ दिन तयार हुनुपर्छ!

पावलले झ्यालखानाका हाकिमलाई यसो पनि भने, “तपाईंको परिवारले मुक्ति पाउनेछ!” (प्रेरित १६:३१)। परिवार भन्नाले सम्भवतः हाकिमकी पत्‍नी लगायत छोराछोरीहरू पर्दथे र साथै घरमा काम गर्नेहरू पनि थिए। पावलले “तपाईं र तपाईंको परिवारले मुक्ति पाउनुहुनेछ” भन्नुको तात्‍पर्य के थियो?

यसको मतलब के झ्यालखानाको हाकिमले ख्रीष्टमा विश्वास गरे भने तिनको घरानाले पनि स्वत: मुक्ति पाउनेछन् भन्न खोजेको हो? यदि आज बाबुले ख्रीष्टमा विश्वास गर्‍यो भने, के यसको मतलब तिनको परिवारको सबैजना स्वत: ख्रीष्टियान हुन्छ? पावलको तात्पर्य त्यो थिएन। प्रेरित १६:३१ मा, पावलले वास्तवमा यसो भन्दै थिए:

“यदि तपाईंले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुभयो भने, तपाईंले मुक्ति पाउनुहुनेछ, र यदि तपाईंको परिवारले प्रभु येशू ख्रीष्टमा विश्वास गरे भने उनीहरूले पनि मुक्ति पाउनेछन्।”

के पावलले झ्यालखानाको हाकिमको घरमा भएका सबैलाई सुसमचार प्रचार गरे (प्रेरित १६:३२)? __________। के तिनको घरका सबैले परमेश्वरमाथि विश्वास गरे (प्रेरित १६:३१)? _______। के उनीहरू सबैले मुक्ति पाए (प्रेरित १६:३१)? ________। के उनीहरू सबैलाई बप्तिस्मा दिइयो (प्रेरित १६:३३)?_______________। तपाईंको निम्ति तपाईंको बुबा-आमाले विश्वास गर्दिन सक्नुहुन्न। यो तपाईं आफैले गर्नु पर्ने केही कुरा हो। यदि तपाईंले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुभयो भने, तपाईंले मुक्ति पाउनुहुनेछ!

आगामी पाठमा हामी पावलको तेस्रो प्रचार यात्रामा भएका केही घटनाहरूलाई हेर्नेछौं!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email