अध्याय १३ – परमेश्वरको मिसनरी रोममा

अध्याय १३ – परमेश्वरको मिसनरी रोममा
(प्रेरित २८)
भयानक आँधीबेहरी, जहाज दुर्घटना (प्रेरित २७:१४-४४) र सर्पले डसेको घटना (प्रेरित २८:३-६) पछि परमेश्वरले प्रतिज्ञा गर्नुभए अनुसार नै (प्रेरित २३:११), पावल रोममा सुरक्षित आइपुग्न सफल भए (प्रेरित २८:१६)।
पावल रोम आइपुग्नुभन्दा धेरै अगाडि नै, परमेश्वरले भन्नुभएको थियो: “त्यसरी नै तिमीले रोममा पनि ____________ दिनुपर्छ” (प्रेरित २३:११)। कसरी पावल रोममा परमेश्वरको गवाही हुनसक्थे? पावल रोममा स्वतन्त्र मानिसको रूपमा आएका थिएनन्; उनी एक कैदीको रूपमा आएका थिए! प्रेरित २८:१६ अनुसार एकजना सि_________ राखिएको थियो जसले पावललाई हरपल पहरा दिइरहेकै हुन्थ्यो! कसरी एउटा कैदी मिसनरी हुन सक्छ र? झ्यालखानामा हुँदा पावलले कसरी सुसमाचार प्रचार गर्न सक्छन् र?
पावलका शत्रुहरू निश्चय रमाउँदै थिए। तिनीहरूले यसो भनिरहेका थिए भनी हामीहरू अडकल काट्न सक्छौं: “खुशी मनाऔं! खुशी मनाऔं! महान् प्रचारक पावल अब झ्यालखानामा छ। उसले अब उप्रान्त प्रचार गर्न सक्नेछैन! उसले अब सुसमाचार फैलाउन सक्नेछैन! ख्रीष्टियन विश्वास अब साँच्चै समस्यामा छ किनभने यसको महान् प्रचारकले अब प्रचार गर्न नै सक्दैन! ख्रीष्टको सेवकले ठूलो दुःख सहन गइरहेको छ! धेरै समयपछि हामीले सुन्न पाएको सबैभन्दा राम्रो खबर यही हो! रोमीहरूले पावललाई धेरै वर्षसम्म झ्यालखानामा राखून् भन्ने हामी इच्छा गर्दछौं!”
सुसमाचारका ती विरोधीहरूले एउटा कुरा महसुस गर्न सकनेन्। रोमीहरूले पावललाई झ्यालखानामा कैद त गर्न सक्थे, तर त्यहाँ यस्तो एउटा कुरा छ जसलाई कैद गर्न सकिँदैन! तिनीहरूले पावललाई साङ्लाले बाँध्न सक्थे, तर त्यहाँ यस्तो एउटा कुरा छ जसलाई साङ्लाले बाँध्न सकिँदैन! पछि २ तिमोथी २:९ मा पावलले आफ्नो जीवनमा यस्ता शब्दहरू लेखे: “उसका निम्ति कुकर्मीले झैं कैदसम्म पनि म दुःख भोग्छु, तर ___________को ___________ कैदमा छैन।” परमेश्वरको वचन र परमेश्वरको सत्यतालाई बाँध्न सकिँदैन! तिनीहरूले पावललाई कैद गर्न सक्थे, तर पावलले प्रचार गरेको असल समाचारलाई भने तिनीहरूले कैद गर्न सक्दैनथे! तिनीहरूले पावललाई मार्न पनि सक्थे (र पछि तिनीहरूले मारे पनि), तर तिनीहरूले परमेश्वरको सत्यतालाई मार्न चाहिँ सक्दैनथे! “परमप्रभुको सत्यता ____________________ रहन्छ” (भजनसङ्ग्रह ११७:२)।
अघिल्लो पटक पावल झ्यालखानामा हालिएको बारेमा हामीले पहिल्यै अध्ययन गरिसक्यौं, जसलाई प्रेरित १६:१९-३४ मा लेखिएको छ। फिलिप्पीमा पावल झ्यालखानामा भए तापनि के परमेश्वरको वचन बढिरह्यो? ___________। परमेश्वरले पावललाई त्यस फिलिप्पी झ्यालखानामा अचम्म तरिकाले प्रयोग गर्नुभयो! परमेश्वर महिमित हुनुभयो (प्रेरित १६:२५); र कैदीहरू छक्क परे (प्रेरित १६:२५-२६)। झ्यालखानाका हाकिम र उनका सबै परिवारले परमेश्वरको वचन सुने र मुक्ति पाए (प्रेरित १६:२७-३४)! जब पावललाई झ्यालखानामा हालियो, तब अचम्मका घटनाहरू घटेका देखिन्छन्!
सुसमाचार रोमी सिपाहीहरूकहाँ पुग्छ
यद्यपि पावल रोममा कैदी थिए र यद्यपि उनी निरन्तर सिपाहीको रखवालीमा थिए (प्रेरित २८:१६), उनलाई केही हदसम्म स्वतन्त्रता पनि दिइएको थियो। धेरैजना पाहुना भेट्ने अनुमति उनलाई दिइएको थियो (प्रेरित २८:१७,२३,३०)। उनलाई पत्रहरू लेख्न पनि अनुमति दिइएको थियो। यी समयहरूमा उनले चारओटा पत्रहरू लेखे जसलाई आज हामीहरूले फिलिप्पी, एफेसी, कलस्सी र फिलेमोनलाई लेखिएका पत्रहरू भनेर चिन्दछौं। पावलले फिलिप्पीहरूलाई र एफेसीहरूलाई र कलस्सीहरूलाई व्यक्तिगत रूपमा प्रचार गर्न त सक्दैनथे, तर उनलाई उनीहरूलाई पत्रहरू मार्फत प्रचार गर्न सक्दथे। पावल आफ्नो कलमद्वारा प्रचार गर्न सक्षम थिए, र आज विश्वासीहरू यिनै चार पत्रहरूमा पाइने सत्यताहरूद्वारा सहयोग र सामर्थ्य पाइरहेका छन्! परमेश्वरको वचन कैदमा छैन!
परमेश्वरले किन पावललाई कैदमा पर्न र झ्यालखानामा पर्न दिनुभयो? फिलिप्पी १:१२ मा, पावलले फिलिप्पीहरूलाई लेखे र उनलाई किन यस्ता कुराहरू आइपरेका हुन् भनी बयान गरेका छन्। यस पदअनुसार, पावल झ्यालखानामा हुनाले सुसमाचारलाई बाधा र हानि पुर्यायो कि सुसमाचारको प्रगति र वृद्धि भयो? ____________________________________________________। पावल झ्यालखानामा भए तापनि, परमेश्वरको असल समाचार निरन्तर अगाडि बढी नै रह्यो। यो कसरी भयो त?
फिलिप्पी १:१३ मा परमेश्वरले उनलाई झ्यालखानामा अचम्मको तरिकाले प्रयोग गर्नुभएको बारेमा पावलले वर्णन गर्दछन्: “यहाँसम्म कि सम्पूर्ण दरवार र अरु सबै ठाउँमा मेरो बन्धनचाहिँ ख्रीष्टका निम्ति भएको हो भन्ने कुरा प्रकट भएको छ।” हामीले पहिल्यै देखिसक्यौं, पावललाई निरन्तर सिपाहीद्वारा रखवाली दिइएको थियो (प्रेरित २८:१६)। यी रोमी सिपाहीहरूले पालैपालो पावलको रखवाली गर्दथे। सम्भवत: हरेक ६ घण्टामा अर्को सिपाहीले पावलसँग रहनलाई पालो लिन्थ्यो।
कल्पना गर्नुहोस् पावलको रखवाली गर्न खटाइएको सिपाही तपाईं हुनुहुन्छ। यी पावलको बारेमा तपाईंले के कुरा फरक लाग्नेथ्यो? के पावल अरु धेरैजसो अपराधीहरू भन्दा भिन्न हुनेथिए? पावललाई नगरानी गरिरहेको सिपाही तपाईं हुनुभएको भए, पावलले कस्तो किसिमको जीवन बिताइरहेको तपाईंले देख्नुहुनेथियो? के तपाईंले तितोपना र निराश र हताश भएको मानिस देख्नुहुनेथियो वा तपाईंले आनन्द गरिरहेको मानिस देख्नुहुनेथियो? के आफ्नो खाना खानुभन्दा पहिले पावलले प्रार्थना गरेको तपाईंले देख्नुहुनेथियो? के अरु समयहरूमा पनि पावलले प्रार्थना गरिरहेको तपाईंले देख्नुहुनेथियो (फिलिप्पी १:३-४ पढ्नुहोस्)? के पावलले भजनमा परमेश्वरको महिमा गाइरहेको तपाईंले देख्नुहुनेथियो? के पावलले पवित्र शास्त्रहरू अध्ययन गरिरहेको तपाईंले देख्नुहुनेथियो?
पावलको रखवाला हुनु निकै रोचक हुन्थ्यो होला! सिपाहीले यसो भनेको हामी कल्पना गर्न सक्छौं: “ऊ एकदम अनौठो खालको कैदी हो! मैले ऊ जस्तो पहिला कहिल्यै देखेको छैन!” उसले सायद पावललाई यस्ता प्रश्नहरू पनि गर्नेथ्यो होला, “हैन, तपाईंको के कसुर छ? तपाईंले कसैको हत्या गर्नुभएको छ र? तपाईंले केही चोर्नुभएको छ र? तपाईंले कसैलाई हानि पुर्याउनुभएको छ र? तपाईंलाई किन कैद गरियो?” पावलको जवाफ हामी कल्पना गर्न सक्छौं: “मेरो एउटै कसुर भनेको यही हो कि मैले पापीहरूलाई मुक्ति दिन सक्नुहुने मुक्तिदाताको बारेमा मानिसहरूलाई सुसमाचार बताउँदै हिँडें! मैले कसरी मुक्ति पाएँ भनी म तपाईंलाई बताउनेछु!” त्यसपछि पावलले बयान दिँदथे होलान् कि कसरी उनी एक समय मण्डलीका शत्रु थिए, र कसरी उनले ख्रीष्टियानहरूलाई सताउँदथे जबसम्म उनले एकदिन बौरिउठ्नुभएको प्रभु येशू ख्रीष्टलाई दमस्कसको बाटोमा भेटेनन्।
हो, हरेक रखवाली गर्ने सिपाहीलाई पावलको जीवन हेर्ने र सम्भवत: पावलको कहानी सुन्ने अवसर मिल्थ्यो। तिनीहरूमध्येका हरेकले पावलले उनलाई भेट्न आएका मित्रहरूसँग कुरा गरिरहेको सुन्दथे। यी सिपाहीहरूले उनलाई ख्रीष्ट र मुक्तिको विषयमा प्रश्नहरू गर्न सक्दथे। यी सिपाहीहरूमध्येका कोहीले (प्रेरित १६ को फिलिप्पी जेलरजस्तै) पावलको सन्देशलाई विश्वास गरेको र मुक्ति पाएको हुन सक्छ। ती सिपाहीहरू एक ठाउँबाट अर्को ठाउँमा सरुवा भएको र रोमी सम्राज्यभर पठाइएको हुनुपर्छ। तिनीहरू जहाँ चाहन्थे त्यहीँ सुसमाचार लिएर जाँदथे! पावलको झ्यालखाना उनको पुल्पीट बन्न पुगेको थियो, र सिपाहीहरू चाहिँ मिसनरीहरूझैं सुसमाचारको घोषणा गर्न पठाइन्थे! यसर्थ, सुसमाचारको प्रगति भइरहेको छ भनी पावलले भनेकोमा हामीले अचम्म मान्नुपर्दैन (फिलिप्पी१:१२)!
मानौं वर्षभरि हरेक दिन, चौबिसै घण्टा, तपाईंको नगरानी राख्न विभिन्न मानिसहरू खटाइएका छन्! उनीहरूले तपाईंको जीवनको बारेमा के कस्ता कुरा देख्ने थिए? के उनीहरूले तपाईंले प्रार्थना गरिरहेको र बाइबल पढिरहेको देख्नेथिए? के तपाईंले तपाईंको बाबु-आमाको आज्ञा पालन गरेको र अरु प्रति दयालु भएको उनीहरूले देख्नेथिए? के उनीहरूले यसो भन्न सक्नेथिए, “यी जवान मानिस निकै विशेष छन्। उनकै उमेरका अरु जवान मानिसहरूभन्दा यिनी भिन्न छन्!” के ख्रीष्टले र बाइबलले तपाईंको जीवन भिन्न बनाएको उनीहरूले देख्न सक्नेथिए?
कल्पना गरौं कि तपाईंको हात भाँचियो र अस्पताल जानुपर्यो। तपाईंले भन्नुहोला, “किन परमेश्वरले मलाई यस्तो हुन दिनुभयो? के यसको निम्ति केही कारण होला? मलाई किन यस्तो भएको होला?” सायद परमेश्वरले तपाईंलाई त्यही अस्पतालमा प्रयोग गर्न चाहनुहुन्छ। पावललाई झ्यालखानामा प्रयोग गर्नुहुने सोहि परमेश्वरले तपाईंलाई पनि अस्पतालको कक्षमा प्रयोग गर्न सक्नुहुन्छ। त्यहाँ चौबिसै घण्टा मानिसहरू—नर्सहरू, डाक्टरहरू र अरु बिरामीहरू तपाईंको वरिपरि हुनेछन्। तपाईं ठिक त्यहीँ नै मिसनरी बन्न सक्नुहुन्छ! सायद उनीहरूले तपाईंको जीवनमा केही भिन्न कुरा देख्नेछन्। सायद तपाईंलाई उनीहरूसँग परमेश्वरको बारेमा कुरा गर्ने अवसर मिल्नेछ। सायद त्यहाँ हात भाँच्चिएको अर्को व्यक्ति हुनेछ जसलाई तपाईंले सहायता गर्न र ढाडस दिने प्रयास गर्न सक्नुहुनेछ।
भागेको दासले सुसमाचार पाउँछ
जब हामी फिलेमोनको सानो पुस्तक अध्ययन गर्दछौं, परमेश्वरले पावललाई झ्यालखानामा अझ कसरी मिसनरीको रुपमा प्रयोग गर्नुभयो भन्ने कुरा सिक्छौं। फिलेमोनलाई लेखिएको यस छोटो पत्रमा ओ_____________ नाम भएको एकजना भगुवा दासको बारेमा सिक्दछौं (फिलेमोन १०)। यो दास आफ्नो मालिक फिलेमोनबाट भागेर फरार भएको थियो। फिलेमोन कलस्सी मण्डलीका एक सदस्य थिए। स्पष्टरूपमा ओनेसिमसले फिलेमोनका केही कुरा चोरेका थिए र रोम शहरमा भागेर गएका थिए।
रोम भागेको यो दासको अचानक प्रेरित पावलसित जम्काभेट हुन्छ! सायद रोममा ओनेसिमसले कुनै अपराध काम गरे र फलस्वरूप झ्यालखानामा हालिए र सायद यसरी नै पावलले उनलाई भेटे। उनीहरूको भेट कसरी भयो भनी हामी निश्चय गरी जान्दैनौं, तर हामी यस कुरामा निश्चित छौं कि पावलले ओनेसिमसलाई मुक्तिको सुसमाचार सुनाए र अब उनी नयाँ गरी जन्मिसकेका थिए (फिलेमोन १०)। ओनेसिमस दास अब बाँचेका दास थिए!
सायद तपाईंले ज्यादै खराब कामहरू गर्नुभएको छ। ओनेसिमसले झैं तपाईंले केही मालसामानहरू चोर्नुभएको होला। सायद तपाईंले केही एकदम गलत कार्यहरू गर्नुभएको होला जुन तपाईं र परमेश्वरलाई बाहेक अरु कसैलाई थाह छैन। यदि यसो हो भने, तपाईंको निम्ति परमेश्वरसित एउटा खुशीको खबर छ। ओनेसिमसलाई क्षमा गर्न र मुक्ति दिन सक्नुहुने उही परमेश्वरले तपाईंलाई पनि क्षमा गर्न र मुक्ति दिन सक्नुहुन्छ! बाइबलले बताउँदछ, “तपाईंसित (परमेश्वरसित) पाप-______ छ” (भजनसङ्ग्रह १३०:४)। परमेश्वरका मिसनरी प्रेरित पावलले यस भागेका दाससित परमेश्वर पापीहरूलाई क्षमा दिन सक्नुहुन्छ भन्ने सुसमाचार बताउन सफल भए।
ओनेसिमस उसको मालिककहाँ फर्कनुपर्छ भनी पावल जान्दथे। मानौं ओनेसिमस अचानक आफ्नो मालिककहाँ फर्के। त्यस अवस्थामा ओनेसिमसलाई फिलेमोनले के भन्नेथिए होला? सायद उनले यस प्रकारले भन्नेथिए: “तिमी त चोर रहेछौ! तिमीले चोरेको मेरो पैसा फिर्ता दिनुपर्छ! पैसा चोरेकोले र भागेकोले तिमी सजाय पाउन योग्य छौ!”
फिलेमोनलाई थाहा थिएन कि उनीकहाँ फर्किरहेको दासचाहिँ भागेर गएको दासभन्दा निकै भिन्न थियो! यद्यपि ओनेसिमस अझै दास नै थियो, ऊ अब दासभन्दा धेरै नै बढी थियो। फिलेमोन १६ अनुसार ऊ एउटा प्यारो भा____ थियो। पावलले ओनेसिमस एक ख्रीष्टियन भाई हो भनी फिलेमोनलाई सम्झाउन यस संक्षिप्त पत्र लेखेका हुन् (जसलाई आज हामी फिलेमोनको पत्र भन्दछौं)।
के फिलेमोनले उनको दासलाई उसले गरेका सबै खराब कामका निम्ति क्षमा दिनुपर्थ्यो (एफेसी ४:३२ पढ्नुहोस्)? _________। जब अन्त्यमा फिलेमोनले पावलको पत्र पढे र उनको भगुवा दासचाहिँ अब एक विश्वासी भएको देखे तब उनको प्रतिक्रिया कस्तो थियो त्यो हामी निश्चय गरी जान्न त सक्दैनौं। सायद उनले यस प्रकारले भने होलान्:

के कसैले तपाईंलाई दुःखित तुल्याएको छ? यदि छ भने, उक्त व्यक्तिको बारेको सोच्नुहुँदा के तपाईंलाई रिस उठ्छ? यस मानिसले उसले गरेको कार्यको निम्ति सजाय पाओस भनी के तपाईं चिताउनुहुन्छ?
हामीले क्षमा गर्न सिकेको (कलस्सी ३:१३ पढ्नुहोस्), र ख्रीष्टद्वारा क्षमा पाउनु भनेको के हो भनी बुझेको परमेश्वर चाहनुहुन्छ। मानौं परमेश्वर हामीप्रति क्रोधित हुनुहुन्छ र मानौं हामीलाई पाप-क्षमा होइन बरु दण्ड दिइयोस् भनी परमेश्वरले निर्णय गर्नुभयो। परमेश्वरले त्यसो गर्नुभए त हामी सबै नाश हुनेथियौं! त्यहाँ कुनै आशा हुने थिएन! तर परमेश्वरको कृपा महान् छ (भजनसङ्ग्रह १०३:१०-१३ पढ्नुहोस्)! किनभने परमेश्वरले हामीले क्षमा गर्नुभएको छ (यदि हामीले ख्रीष्टलाई हाम्रो मुक्तिदाताको रूपमा स्वीकार गरेकाछौं भने), हामीले अरुलाई पनि क्षमा गर्न सिक्नुपर्छ! मत्ती १८:२३-३५ मा येशूले भन्नुभएको दृष्टान्तलाई राम्ररी विचार गर्नुहोस्, र हामीहरू सबैले क्षमा गर्न सिकौं जसरी हामीहरूले पनि क्षमा पाएकाछौं!
प्रेरित पावल झ्यालखानामा पनि परमेश्वरका मिसनरी थिए। उनको रखवाली गर्ने सिपाहीलाई पनि उनले सुसमाचार सुनाए। उनले भगुवा दासलाई सुसमाचार प्रचार गरे। उनले चारओटा पत्रहरू लेखे जुन पत्रहरूले शताब्दीऔंदेखि यता विश्वासीहरूलाई बलियो पार्न र साहस दिन मदत गर्दै आएको छ। पावल कैदी भए तापनि के उनले प्रचार गर्न र सिकाउन छाडे (प्रेरित २८:३१)?______________।
हामी प्रेरितको पुस्तकको अध्ययनको अन्त्यमा आइपुगेकाछौं। प्रभु येशू ख्रीष्टले पत्रूस, यूहन्ना, स्टिफनस, तिमोथी र पावल जस्ता विभिन्न मानिसहरूद्वारा काम गर्नुभएको हामीले देख्यौं। आज हामीसँग उही परमेश्वर हुनुहुन्छ जसले हामीद्वारा कार्य गर्न चाहनुहुन्छ! हामीसँग उही सुसमाचार छ! हामीसँग उही बाइबल छ! हामीसँग उही पवित्र आत्मा हुनुहुन्छ! घरमा, स्कूलमा, छिमेकीमा, वा अरु कुनै स्थानमा हामी जहाँ भए पनि, हामी जस्तो गवाही हुनुपर्ने हो त्यस्तै हुनलाई परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्! येशूले भन्नुभयो, “तिमीहरू मेरा निम्ति ___________ हुनेछौ” (प्रेरित १:८)।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)