पावल प्रेरित

पावल प्रेरित

 

हामीले बाह्रै चेलाहरूको अध्ययन गर्‍यौं र साथै यहूदालाई प्रतिस्थापन गर्ने व्यक्तिको समेत अध्ययन गर्‍यौं (अध्याय ११ मा मत्थियास)। यस अध्यायमा अब हामी एकजना मानिसको अध्ययन गर्नेछौं जोचाहिँ मौलिक बाह्र चेलामध्येका थिएनन् तर जसलाई परमेश्वरले एउटा ज्यादै विशेष प्रेरित हुनलाई बोलाउनुभएको थियो। यिनका बारेमा हामी सबैले सुनेका छौं र जानेका छौं; उनी हुन् पावल प्रेरित। नयाँ नियममा सम्पूर्ण बाह्र चेलाहरूको बारेमा दिइएको जानकारीको सँगालो जति छ त्योभन्दा बढी जानकारी पावल प्रेरितको बारेमा दिइएको छ! यिनको जीवनलाई राम्ररी अध्ययन गर्ने हो भने एउटा अध्यायले मात्र भ्याउने सकिन्न; एउटा किताबै लेख्नुपर्ने हुन्छ। हामी अहिले यी असाधारण व्यक्तिलाई केवल पुनःविचार गर्न चाहन्छौं र यिनको जीवनलाई सातओटा रोचक दृष्टिकोणहरूबाट हेर्न चाहन्छौं।

१) पावल, एक कट्टर यहूदी

पावलका नाउँ बास्तवमा दुइटा थिए।एक त उनलाई शाउल भनिएको छ साथै उनलाई पावल पनि भनिएको छ। मुक्ति पाउनु अगाडि उनलाई प्रायः शाउल नाउँले जनाइएको पाइन्छ। मुक्ति पाएपछि उनालाई प्रायः पावल भनिएको छ। यस अध्यायमा पनि हामी त्यसै गर्नेछौं।

टार्ससका शाउल एकदमै कट्टर यहूदी थिए। के तपाईं पनि कट्टर धर्मावलम्बी हुनुहुन्छ? के तपाईं हप्तैपिच्छे चर्च-सभामा जानुहुन्छ? के तपाईं खाना खानु अगाडि धन्यवाद दिनुहुन्छ? के तपाईं बाइबल पढ्नुहुन्छ? के तपाईं प्रार्थना गर्नुहुन्छ?

शाउल कट्टरमा पनि कट्टर यहूदी थिए। उनले आफ्नो कट्टर यहूदी जीवनको गवाही फिलिप्पी ३:४-६ मा दिएका छन्। उनी एउटा धर्मपरायण यहूदी परिवारमा जन्मे, हुर्के; शिशुवस्थामा उनको खतना गरियो; एउटा धर्मपरायण यहूदीले गर्नुपर्ने जम्मै काम-कर्तव्य उनले गर्दै आएका थिए; दस आज्ञालाई उनले यसरी पालन गरे कि उनलाई दोष लाउन सक्ने कोही थिएन (फिलिप्पी ३:६)। हामीलाई थाहा भएको अर्को कुरा, शाउल एक __________ थिए(फिलिप्पी ३:६ को आखिरी शब्द)। प्रायः फरिसीहरू कस्ता हुन्थे त्यसको बयान लूका १८:१०-१२ ले गरेको छ। तिनीहरू चौपट्टै कट्टर व्यक्तिहरू थिए र आफ्ना नजरमा उनीहरूजस्ता धर्मी कोही थिएनन्! शाउल त्यस्ता व्यक्ति थिए। शाउलको आफ्नै नजरमा उनी आफ्ना दौंतरी यहूदीहरूभन्दा कम धर्मपरायण थिए कि बढी (गलाती १:१४)? ________

के धर्मपरायण भएर पनि धर्मी नहुनु सम्भव छ? के धर्मपरायण भएर पनि नबाँचेको हुनु सम्भव छ? के बाह्यरूपमा थुप्रै कर्महरू गरेर पनि भित्रपट्टिचाहिँ हृदय पापले दुषित हुन र परमेश्वरसित ठीक सम्बन्धमा नहुन सम्भव छ? शाउल त्यस्ता व्यक्ति थिए। उनको नजरमा उनले परमेश्वरको सेवा गर्दैथिए र उहाँलाई खुशी पार्दैथिए, तर बास्तवमा उनी परमेश्वरकै विरुद्धमा लडिरहेका थिए!

२) पावलको भयङ्कर उपद्रव

धर्ममा एक कट्टर यहूदी तर आत्माचाहिँ नबाँचेको हुँदा शाउलले, उनकै शब्दमा, के कस्ता काम गरे (गलाती १:१३; फिलिप्पी ३:६ र १ कोरिन्थी १५:९)? ________________________________। शाउल मण्डलीका भयङ्कर शत्रु थिए। शाउल इसाईमतको विस्तारलाई ठ्याप्पै रोक्न चाहन्थे। येशू परमेश्वर नै हुनुहुन्छ भनेर उनले त्यतिबेला विश्वास गर्दैनथे।

त्यसबेला साहसी स्टिफनस प्रथम इसाई शहीद भएर मरे (प्रेरित ७:५४-६०)। स्टिफनसलाई ढुङ्गाले हानी-हानी मार्दा उक्त हत्याको समर्थन गर्दै त्यो भयावह दृश्यलाई उभिएर हेरिरहने त्यहाँ को थिए (प्रेरित ७:५७-५८)? ___________। चाँडै नै यी जवान व्यक्ति विश्वासीहरूलाई सताउने भीषण अभियानको नेतृत्व गर्ने भए (प्रेरित ८:१)। तिनले ख्रीष्टियनहरूलाई घरहरूहुँदो खनतलास गर्दै भेटिएका जतिलाई घिसारेर ________________मा हाल्दथे (प्रेरित ८:३)। शाउल एउटा गर्जने सिंहले जस्तै प्रभुका चेलाहरूलाई चोट पुर्‍याउने र हानि पुर्‍याउने काम गर्दै थिए (प्रेरित ९:१ पढ्नुहोस्)।

१ तिमोथी १:१३ मा पावलले आफू अविश्वासी हुँदाको आफ्नो चरित्रलाई बयान गरेका छन्। उनले प्रयोग गरेका तीनओटा शब्दहरूलाई हेरौं:

१) निन्दा गर्ने

“निन्दा गर्नु” भनेको कसैको विरोधमा उसलाई चोट पुर्‍याउने गरी घृणास्पद वचन बोल्नु हो। कुनचाहिँ सुन्दर नामको विरोधमा शाउल बोल्ने गर्थे (प्रेरित २६:९)? _______________। उनले ख्रीष्टलाई निन्दा मात्र गरेनन्, तर अरूलाई पनि त्यस्तै गर्न कर लाए (प्रेरित २६:११)। प्रभु येशू ख्रीष्टको विरोधमा खराब र घृणास्पद बोली बोल्ने मान्छेहरूलाई के तपाईंले चिन्नुहुन्छ? येशू प्रभुको नामलाई दुरुपयोग गर्दै सराप्ने मान्छेहरू चिन्नुहुन्छ?

२) सताउने

“सताउनु” शब्दको मूल अर्थ (ग्रीकमा) “पिछा गर्नु” भन्ने बुझिन्छ जसरी एउटा शिकारीले स्याललाई लखेट्छ वा पिछा गर्दछ। सताउनु भनेको कसैलाई हानि पुर्‍याउने ध्येयले लखेट्नु हो। शाउलले भेट्टाउन सकेजति विश्वासीलाई पिछा गरे र सताए (प्रेरित २६:११)। मुक्ति पाएपछि मात्र शाउलले बुझे, उनले बास्तवमा कसलाई सताउँदै थिए। कसलाई सताउँदै थिए उनले (प्रेरित २६:१४-१५) _________________। शरीर (मण्डली) लाई चोट पुर्‍याउँदा शिर (प्रभु येशू ख्रीष्ट, मण्डलीको शिर) लाई नै चोट लाग्छ।

३) अत्याचारी

शाउल अत्याचारी थिए। ग्रीक भाषामा यस शब्दको अर्थ हो, हिंसात्मक हुनु, “रिसले आगो” हुनु (प्रेरित २६:११), आक्रामक हुनु, चोट र हानि पुर्‍याउन मात्र खोजिरहनु। उनीहरू मारिएको देख्‍न पाउँदा उनी खुशी हुन्थे (प्रेरित २६:१०), र उनले मौका पाएसम्म उनीहरूलाई दण्ड दिन मन पराउँथे (प्रेरित २६:११)। तपाईं पनि त्यसबेलाको विश्वासी हुनुभएको भए, शाउलको नजिक पर्नु चाहिँ ज्यादै खतरा थियो।

तपाईं त्यसबेलाको विश्वासी हुनुभएको भए शाउलले एक दिन विश्वास गर्ला भनेर तपाईंले सपनामा पनि चिताउनु हुनेथिएन। बरु तपाईंले सायद यसरी भन्नुहुनेथ्यो होला, “परमेश्वरले पापीहरूलाई बचाउन सक्नुहुन्छ तर यो मान्छेले कुनै पनि हालतले मुक्ति पाउनेवाला छैन। ऊ त मण्डलीको नम्बर एक शत्रु हो! उसले हामी सबैलाई नष्ट गर्ने अठोट गरेको छ र कसैद्वारा, कुनै कुराले उसको मन बदलिनेवाला छैन। यो मान्छेको लागि कुनै आशा छैन।” शाउलले मुक्ति पाउला भन्ने सम्भावना भनेको एउटा ब्वाँसोले कुखुरालाई माया गर्ला भन्ने सम्भावना जत्तिकै देखिन्थ्यो!

के तपाईंले पनि आफ्नो जीवनमा कोही कोहीका निम्ति हार खाइसक्नुभएको छ कि? यस्तो भन्नुभएको छ कि – “त्यो मान्छे कहिल्यै बदलिनेछैन। त्यो मान्छेले कहिल्यै विश्वास गर्नेछैन।” तपाईंसँगै पढ्ने वा काम गर्ने कुनै मान्छे कहिल्यै ख्रीष्टियन बन्नेछैन भनेर सोच्नुभएको छ? शाउललाई अचम्म गरी बदल्नुहुने र उसलाई फनक्कै फर्काउन सक्नुहुने परमेश्वर नै आज मानिसहरूका जीवनहरूलाई परिवर्तन गर्नुहुने परमेश्वर हुनुहुन्छ। परमेश्वरतर्फ हेर्नुहोस्। परमेश्वरका निम्ति सबै कुरा सम्भव छन्। परमेश्वरको बचाउन सक्ने सामर्थ्यलाई कहिल्यै शङ्का नगर्नुहोस्। आफ्नो महान् कृपाले शाउललाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ र आज पनि उहाँको कृपाले महापापीहरूलाई बचाउन सक्नुहुन्छ (१ तिमोथी १:१५-१६ पढ्नुहोस्)।

३) पावलको उदेकलाग्दो परिवर्तन

शाउलको जीवन एक दिन बदलियो! उनी फनक्क फर्केर आफ्नो दिशा बदले। उनी गलत बाटोमा लम्किरहेका थिए तर यिनको जीवनमा एक दिन एक्कासी एउटा घटना घट्यो जसले गर्दा यी व्यक्ति फनक्कै फर्के! शाउलको जीवन परिवर्तनलाई प्रेरितको पुस्तकको तीनओटा ठाउँहरूमा बयान गरिएको छ: प्रेरित ९:१-९; प्रेरित २२:१-११ र प्रेरित २६:१-१८। त्यो बिर्सन नसकिने दिनमा के भएको थियो त? शाउलले के देखे? शाउलले एक्कासी कुन कुरालाई महसुस गर्न पुगे जुन कुरालाई उनले त्यस दिनसम्म महसुस गरेका थिएनन्? के शाउल येशूलाई प्रभु भनी मानेर पछ्याउन र उहाँको आज्ञा मान्न अब तयार भए (प्रेरित ९:६)? _________। मुक्ति पाएको धेरै समय नबित्दै शाउलले के गरे (प्रेरित ९:१८)?______________________________। के तपाईंले त्यस्तै गर्नुभएको छ? के तपाईं बदली हुनुभयो? के तपाईंले आफ्नो दिशा बदल्नुभयो? के परमेश्वरले तपाईंलाई बचाउनुभई फनक्क फर्काउनुभयो? तपाईं कुन दिशामा गइरहनुभएको थियो? तपाईं अब कुन दिशामा जाँदैहुनुहुन्छ?शाउल एक बदलिएका मानिस भए। के तपाईं एक बदलिएको व्यक्ति हुनुहुन्छ?

४) पावलको उल्लेखनीय सेवाकार्य

मुक्ति पाएको धेरै समय नबित्दै शाउलले के गरे (प्रेरित ९:२०)? __________________________________________________। उनले सुसमाचार प्रचार गरेका सुन्दा मानिसहरू किन ताजुप माने (प्रेरित ९:२१)? _________________________________________ _____________। मण्डलीका महाशत्रु शाउल मण्डलीका अब महाप्रेरित पावल बने। पावलको जीवन आमूल रूपमा बदलिएको थियो। उनी अब एक “नयाँ ________” बनेका थिए (२ कोरिन्थी ५:१७)। उनको आत्मामा ख्रीष्टले कत्रो काम गरिदिनुभएको छ भन्ने कुराको उनको अचम्मको गवाही थियो। त्यसबेला विश्वासीहरूले उनको बारेमा यस्तो कुरा गरिरहेका थिए: “जसले बितेका समयमा हामीलाई ____________ थिए, उनैले अहिले आफूले अघि ______ पारेको विश्वासलाई __________ गर्दा रहेछन्” (गलाती १:२३)। उनको जीवनमा यत्रो भिन्नता कुन कुराले ल्याएको थियो? प्रभु येशू ख्रीष्टसित उनको बास्तवमै भेट भएको थियो! तपाईंको नि?

पावल प्रेरितलाई प्रभुले एउटा ज्यादै विशेष सेवाकार्य दिनुभयो। पावल शुरूका बाह्र प्रेरितहरूमध्ये गनिँदैनन् तरैपनि परमेश्वरले उनलाई एक छुट्टै विशेष प्रेरित बनाउनुभयो (गलाती १:१ र रोमी १:१)। बौरिउठ्नुभएका ख्रीष्ट पावलकहाँ आउनुभई उनलाई आफ्नो एउटा विशेष दर्शन दिनुभयो (प्रेरित ९:५; १ कोरिन्थी ९:१; १ कोरिन्थी १५:८ मा पढ्छौं, “अनि सबैभन्दा _________ उहाँ मकहाँ — मानूँ समय पूरा नभई जन्मेको मान्छेकहाँ पनि ________________”)। ख्रीष्टले पावललाई विशेष रूपमा सिकाउने काम पनि गर्नुभयो (गलाती १:११-१२; एफेसी ३:३-५,७-९)। “प्रेरित” शब्दको अर्थ हो “पठाइएको व्यक्ति”। परमेश्वरले पावललाई ज्यादै विशेष काममा पठाउनुभयो जसको सन्दर्भमा पावललाई “अ_____________को प्रेरित” (रोमी ११:१३) भनिएको छ।पावलले रोमी साम्राज्यभरि अन्यजातिहरू (अर्थात् गैरयहूदीहरू, एफेसी ३:८) लाई प्रचार गरे र उनीहरूलाई ख्रीष्टको बारेमा बताए जसले उनीहरूलाई बचाउन र आफ्नो शरीर अर्थात् मण्डलीको अङ्गहरू बनाउन सक्नुहुन्थ्यो। पहिले सताउने शाउल साहससित ख्रीष्ट प्रचार गर्ने जोकोहीलाई पनि घृणा गर्थे। ख्रीष्टलाई चिनेपछि उनी आफैं साहसी प्रचारक बने, सायद मण्डली इतिहासकै सबैभन्दा महान् प्रचारक बने।

पावलको सेवाकार्य साँच्ची नै उल्लेखनीय थियो। नयाँ नियमका पन्नाहरू पल्टाउँदै जाँदा हामी त्यहाँ पावललाई नै मूख्य व्यक्तित्व र प्रमुख चरित्रको रूपमा पाउँछौं। उदाहरणको लागि प्रेरितको पुस्तकको १ देखि १२ अध्यायहरूमा मूलतः पत्रुसको बारेमा पाउँछौं तर प्रेरितको पुस्तकका आखिरी जम्मै १६ अध्यायहरू (१३ देखि २८ अध्यायसम्म) प्रेरित पावल तथा उनका मिसनरी यात्राहरूको बयानले भरिएका छन्। पावलका मिसनरी यात्राहरूलाई देखाउने बाइबलको मानचित्र हेरेर पावल कति धेरै ठाउँहरूमा पुगेका थिए भन्ने कुराको मोटामोटी ज्ञान पाउन सक्नुहुन्छ। साथै हामीले यो पनि याद गर्नुपर्छ कि नयाँ नियमको करिब आधा जति पुस्तकहरू पावलद्वारा लेखिएका हुन्। ख्रीष्टका यी समर्पित दासको सेवाकार्य र परिश्रम नहुँदो हो ता मण्डली इतिहास उस्तै हुनेथिएन।

पावल (शाउल) लाई बचाउनुमा परमेश्वरको उद्देश्य थियो।परमेश्वरले उनलाई बिनाकारण बचाउनुभएन, उहाँले उनलाई एउटा एकदम महत्त्वपूर्ण र विशेष कुराका लागि बचाउनुभयो। प्रेरित ९:१५ अनुसार, परमेश्वरले शाउललाई किन बचाउनुभएको थियो? _____________________________________________। प्रेरित २६:१६-१८ अनुसार, परमेश्वरले शाउललाई किन बचाउनुभएको थियो? _____________________________________________।

के तपाईं परमेश्वरको अनुग्रहले बचाइनुभयो? ___________। यदि बचाइनुभएको छ भने, परमेश्वरले तपाईंलाई केही न केहीका निम्ति बचाउनुभएको छ। तपाईंको लागि परमेश्वरको एउटा विशेष उद्देश्य हुनुपर्छ। तपाईंले कुनै न कुनै विशेष रूपमा उहाँको सेवा गरेको परमेश्वर चाहनुहुन्छ। जसरी पावलको जीवनलाई उहाँले विशेष रूपमा प्रयोग गर्नुभयो त्यसरी नै परमेश्वरले तपाईंको जीवनलाई पनि विशेष रूपमा प्रयोग गर्न चाहनुहुन्छ। प्रश्न एउटै मात्र छ: के परमेश्वरले जस्तो रोज्नुहुन्छ त्यसरी नै तपाईंको जीवन प्रयोग गरिनलाई तपाईं राजी हुनुहुन्छ? के तपाईंले आफ्नो पूरै जीवन उहाँलाई सुम्पनुभएको छ र यसरी भन्नुभएको छ, “तपाईंले जे चाहनुहुन्छ त्यो म गर्नेछु, तपाईंले जस्तो चाहनुहुन्छ त्यो म बन्नेछु र तपाईंले जहाँ चाहनुहुन्छ त्यहाँ म जानेछु”? के तपाईंले प्रेरित ९:६ मा पावलले जसरी भनेका छन् त्यसरी कहिल्यै भन्नुभएको छ, “हे प्रभु, म के _______ – तपाईं के चाहनुहुन्छ?” के तपाईं एउटा सफा भाँडो हुनुहुन्छ जसलाई प्रभुले प्रयोग गर्न सक्नुहुन्छ (प्रेरित ९:१५)?

याद राख्नुहोस्, पावल कुनै किसिमको “सुपर ख्रीष्टियन” थिएनन्। उनी तपाईंजस्तै व्यक्ति थिए। तपाईंको जस्तै पुरानो पाप स्वभाव पावलसित पनि थियो (रोमी ७:१४,१८,२४,२५ मा उनका अभिव्यक्तिलाई पढ्नुहोस्)। पावल जुन महान व्यक्ति बने उनी दिमागी वा ट्यालेन्टयुक्त व्यक्ति भएकाले त्यस्तो बनेका होइनन्, तर उनले भरोसा राखेका महान् परमेश्वर उनीसित हुनुभएको हुनाले हो। के उही परमेश्वर आज पनि तपाईंको निम्ति प्राप्य हुनुहुन्छ? ______________। के तपाईं आज पावलका परमेश्वरमाथि भरोसा राख्न सक्नुहुन्छ? ___________। के पावलका परमेश्वरले तपाईंलाई ख्रीष्टको महान् सेवक बनाउन सक्नुहुन्छ? _______________

५) पावलका अनगिन्ति कष्टहरू

पावलले मुक्ति पाएको लगत्तै पछि, उनले आफ्नो जीवनमा के कस्ता कुराहरूको आशा गर्न सक्नेछन् भन्ने कुराको बारेमा परमेश्वरले उनलाई अवगत गराउनुभयो— “किनभने उसले मेरा नामका निम्ति कति ________ _________ ______________, सो म उसलाई देखाउनेछु (प्रेरित ९:१६)।” सताउने निर्दयी शाउलका हातमा परेर धेरै विश्वासीहरूले कष्ट भोगेका थिए र कोही त मारिएका पनि थिए। शाउल पावल बनेपछि, विश्वासी जीवन कतिपटक कष्टपूर्ण हुँदो रहेछ भनेर उनलाई पनि सिक्नुपर्‍यो। भन्नुपर्दा, पावलले जीवनमा ज्यादै नै कष्ट भोगे।

२ कोरिन्थी ११:२३-२८ मा पावलले आफूले कसरी विभिन्न किसिमले दुःखकष्टहरू भोगे भन्ने बारेमा बताउँछन्। यी जम्मै कुराहरू कुनै एउटा व्यक्तिले भोगेका हुन् भनेर सुन्दा हामीलाई विश्वासै गर्न गाह्रो लाग्न सक्छ। उक्त सूचीलाई विचार गरौं:

२ कोरिन्थी ११:२३
परिश्रमहरूआफ्ना प्रभुका निम्ति परिश्रम गर्नु र मरिमेट्नु भनेको कस्तो कुरा हो सो पावल जान्दथे।
कोर्राहरूजेब्राका टाटेपाटे धर्सा हुन्छन्। कोर्राले पिटिएर पावलको शरीरमा राताराता धर्सा थिए।
कैदहरूझ्यालखानामा पर्नु कस्तो हुन्छ पावल जान्दथे (प्रेरित १६:१९-२४ पढ्नुहोस्)। उनको एउटै अपराध थियो, ख्रीष्टलाई प्रचार गरेको।
मृत्युहरूपावल बारम्बार मृत्युकै मुखमा पुगे। धेरै पटक उनको मृत्यु हुने सम्भावना भएको थियो।
२ कोरिन्थी ११:२४

पावलले यहूदीहरूको हातबाट ३९-३९ कोर्रा कतिपटक खाए? __________। त्यस्तो कुटाइ एक पटक पाउनु नै अति हुन्थ्यो।

२ कोरिन्थी ११:२५

पावल कतिपटक लौराले पिटिए? ____________। कतिपटक ढुङ्गाले हानिए? ______________। प्रायः मानिसहरू ढुङ्गाले हानिएपछि बाँच्दैनन्! प्रेरित १४:१९ पढ्नुहोस् जहाँ पावल ढुङ्गाले हानिएका घटना उल्लेख छ। कति पटक पावल चढेका जहाज भताभुङ्ग भयो (२ कोरिन्थी ११:२५)? ____________। एक पटक त्यस्तो बेलामा पावलले भू-मध्यसागरमा एक रात र एक दिन पौडी खेलेर बिताउनुपर्‍यो!

२ कोरिन्थी ११:२६

“जोखिमहरू” को अर्थ हो “खतराहरू”।उक्त शब्द यस पदमा कतिपटक भेटिन्छ? _________। पावलको जीवन निरन्तर खतरामा बित्थ्यो, तर पावलसित एक महान् परमेश्वर हुनुहुन्थ्यो जसले उनलाई यी सबै कुराहरूबाट जोगाउनुभयो।

२ कोरिन्थी ११:२७

परिश्रमले थकित हुनु, पीडा भोग्नु, भोको हुनु, तिर्खाउनु, रातभर जागो हुनु, खानेकुराबिहिन हुनु, जाडो हुनु, लुगा नहुनु भनेको कस्तो हुन्छ पावल जान्दथे।

पावलको उपर्युक्त सूची अचम्मकै छ। साथै हामीले यो याद गर्नुपर्छ, पावलले उक्त सूची आफ्नो सेवाकार्यको अघिल्लो चरणतिर (५५ एडी ताका) लेखेका हुन्। अझ १० वर्षको कष्ट काट्नु पावललाई बाँकी नै थियो त्यसैले उनले पछि भोगेका कैयौं कष्टहरू २ कोरिन्थी ११:२३-२७ मा उल्लेख भएकै छैनन्। (यसपछि उनले तीन-तीन पटक कैद भोगे र थप एक पटक उनी चढेका जहाज भताभुङ्ग भयो। सूची पूरा गर्ने हो भने पावलका अन्य थुप्रै दुःखकष्टका घटनाहरू थप्नुपर्ने हुन्छ जुन हामीलाई बताइएका पनि छैनन्।)।

कष्टहरूको यस्तो सूची पढेपछि सायद तपाईंलाई यस्तो विचार आउला: “पावलको हालत त दयनीय रहेछ। उनी दिक्क भई हरेस खाए होलान्। ख्रीष्टियन हुनु र एउटा प्रेरित बन्नु ठीक कामचाहिँ होइन रहेछ भन्ने उसलाई लाग्यो होला।” तर बास्तविकता ठीक यसको उल्टो थियो। फिलिप्पीको झ्यालखानामा दुःख भोग्दै गरेका बेला के उनी आफ्नो दुःख-पीडा देखेर गनगन गरिरहेका थिए (प्रेरित १६:२-२५)? ____________। के रोमी ८:३५ मा उल्लेखित कुराहरूको अनुभव पावलले गरे? ________। के ती कुराले पावललाई उनका मुक्तिदातादेखि अलग पार्न सके? __________। विजयी पावलले यसरी घोषणा गरे: “तर यी _______ कुराहरूमा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, ____________भन्दा पनि _________ छौं (रोमी ८:३७)। उनका अनगिन्ति कष्टका बीचमा पावल एक महान् विजेता थिए! प्रभु येशू ख्रीष्टले उनलाई गर्नुभएको महान् उपकारका निम्ति उनी यति कृतज्ञ थिए कि उनी आफ्ना मुक्तिदाता येशू प्रभुका निम्ति जेसुकै भोग्न पनि तयार थिए।

इसाई जीवन सजिलो मात्र हुने जीवन होइन। तपाईंले मुक्ति पाउनुभएकै छ भने तपाईंको अघिल्तिर एकदमै असजिला घडीहरू आइरहेका हुन सक्छन्। शैतानिक जगतले परमेश्वरको सन्तानलाई सजिलैसँग अगाडि बढिरहन प्रायः दिने गर्दैन। उहिलेदेखि नै कैयौं विश्वासीहरूले दुःखहरू सहँदै आ-आफ्ना जीवन यात्रा पूरा गर्दै आएका छन् । के कष्टहरूको बीचमा पनि रमाहट गर्न सकिन्छ (प्रेरित ५:४०-४१)? ______________। उहाँको नामको निम्ति सताइएका र दुःख पाएकाहरूको बारेमा प्रभु येशूले के भन्नुभएको छ (मत्ती ५:१०-१२)? ___________________________ _____________________________________________________।

प्रभुले पावललाई कष्टहरूमा रमाहट गर्ने थुप्रै अवसरहरू दिनुको साथसाथै उनलाई गजबका सौभाग्यहरू पनि दिनुभयो। जस्तो कि, के तपाईंलाई थाहा थियो, पावल एक पटक बास्तवमै स्वर्ग पुगेर आउन पाए? के तपाईं पनि एक दिन स्वर्ग पुग्नु सम्भव हुनेछ कि (यूहन्ना १४:३; १ थेस्सलोनिकी ४:१३-१८)? _________

६) पावलको साहसी मरण

पावलले नयाँ नियममा लेखेका अन्तिम पुस्तक २ तिमोथी हो।यो उनको मृत्यु हुनुभन्दा थोरै समय अगाडि मात्र लेखिएको थियो। के पावल मर्न तयार थिए (२ तिमोथी ४:६)? ___________। के पावललाई मृत्युको डर थियो (२ तिमोथी ४:७-८)?___________। फिलिप्पी १:२१,२३ र २ कोरिन्थी ५:८ अनुसार पावललाई शरीरको मृत्यु हुनु भनेको के हुनु थियो? __________ ________________________________________________________ _____________________________________। के उनी आफूलाई बचाउनुहुनेको साथमा हुन जानलाई खुशीसित प्रतिक्षा गर्दैथिए ? ____________। जीवन राम्ररी जिउनेहरू नै राम्ररी मर्न पनि तयार भएका हुन्छन् (२ तिमोथी ४:७ पढ्नुहोस्)।

पावलको मृत्युमा नीरो नाउँ गरेका एकजना रोमी सम्राटको हात थियो। एडी ६४ सालको कुरा हो, नीरोको शासनकालमा रोम शहरमा डरलाग्दो आगलागी भयो। ६ दिन ६ रातसम्मै आगो दन्किरह्यो। शहरको आधाभन्दा बढी भाग खरानीमा परिणत भयो। नीरो आफैले शहरको आगजनी गराएका हुन् भन्ने हल्लाले रोमी जनता आफ्ना सम्राटप्रति आक्रोशित भए। जनताको आक्रोशदेखि बच्न नीरोले रोमको आगजनीको आरोप ख्रीष्टियनहरूमाथि लादे। उक्त आरोप सत्य थिँदै थिएन तर ठूलो सङ्ख्यामा ख्रीष्टियनहरू गिरफ्तार गरिए र उनीहरूमाथि भयङ्कर सतावट आइपर्‍यो।

थुप्रै ख्रीष्टियनहरू क्रूसमा टाँगिए।कतिलाई जङ्गली पशुका छालाभित्र सिलाएर डरलाग्दा कुकुरहरूको अगाडि राखियो जसले उनीहरूलाई च्यातचुत पारेर मारे। महिलाहरूलाई रन्केका साँढेहरूसित डोरीले बाँधियो जसलाई ती पशुले घिसार्दै-घिसार्दै मारे। रात परेपछि ख्रीष्टियनहरू नीरोको बगैंचामा खम्बाहरूमा बाँधिए र (मानव बत्तीहरूका रूपमा) जलाइए। पावल एक रोमी नागरिक भएका हुनाले उनी पत्रुस जस्तै क्रूसमा टँगाइएनन्। बरु उनी तरवारले मारिए (सम्भवतः उनको टाउको काटियो)।

तपाईं आजै मर्नुभयो भने के तपाईं ख्रीष्टको साथमा पुग्नुहुनेछ? के तपाईं यस कुरामा निश्चित हुनुहुन्छ? तपाईं त्यो कसरी जान्नुहुन्छ?

७) पावलको अनन्त इनाम

विश्वासयोग्य पावलले आफ्ना प्रभुको हातबाट के पाउने आशा राखेका थिए (२ तिमोथी ४:८)? ________________________। पावलले रोमी ८:१८ मा आफ्नो भविष्यको आशाको बारेमा हामीलाई यसरी बताएका छन्, “किनकि म ठान्दछु, यस वर्तमान समयका दुःखकष्टहरू त्यस महिमासँग तुलना गरिने ___________का छैनन्, जो हामीमाथि प्रकट हुनेछ।” “योग्य” शब्दचाहिँ चीजबीजलाई जोख्दा प्रयोग हुने शब्द हो र यसले तराजु बराबर हुँदाको अवस्थालाई जनाउँछ। यहाँचाहिँ बताइएको छ, दुःखकष्टहरू महिमासँग तुलना गरिने योग्यका छैनन्, जसले तराजु बराबर नभएको जनाउँदैछ। तराजुको एकातिर धूलोको एउटा ज्यादै मसिनो र नगन्य कण मात्र छ जसलाई यस जीवनको सम्पूर्ण दुःखकष्टहरूको प्रतीक मान्न सकिन्छ (जुन दुःखकष्टहरू पावलको सन्दर्भमा एउटा उल्लेखनीय सूचीमा हामीले हेर्‍यौं पनि)। तराजुको अर्कोतिर फलामको एउटा विशाल ढलौट छ जसको वजन अरबौं टन छ। दुःखकष्टहरू अब तुलनामा नगन्य हुन्छन्! पावलले २ कोरिन्थी ४:१७ मा भनेका कुरासित पनि दाँज्नुहोस्। दुःखकष्टहरू हल्काछिनभरको लागि मात्र छन्। भविष्यमा हुने हाम्रो महिमा भने भारीअनन्त छन्। हामीले पनि पावलले जस्तै सबै कुरालाई अनन्तताको दृष्टिकोणबाट हेर्न सिकौं!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email