Entries by Pradesh Shrestha

ख्रीष्टमस के हो?

– जोसेफ हान

डिसेम्बर २५ ख्रीष्टमसको दिन पर्छ। उक्त दिनमा येशू ख्रीष्ट जन्मनुभएको उपलक्षमा विश्वभरि उत्सव मनाउने गरिन्छ।तर येशूको जन्म-मिति किटान गरी तोक्न सकिन्न भन्ने कुरा प्राय: ख्रीष्टियानहरूले बुझेका छन्। वास्तवमा डिसेम्बर २५को दिन मान्ने चलन इटालीको राजधानी रोमबाट ईस्वी सम्वत् ३३६ मा सुरु भएको हो। जे होस्, वास्तविकता यो हो कियेशू साँच्ची नै इस्राएलमा करिब २००० वर्ष अघि जन्मनुभएको हो।

कन्याबाटको जन्म

बाइबलले यो बताउँदछ कि येशू अनन्त परमेश्वरका पुत्र हुनुहुन्छ। संसारका मुक्तिदाता हुनाका निम्ति येशू स्वर्गबाट यसपृथ्वीमा आउनु आवश्यक थियो। अनि यसका लागि उहाँ एक मानिस बन्नु आवश्यक थियो। परमेश्वरले आजभन्दा६००० वर्ष अघि संसारको सृष्टिको सुरुमा मानिसका प्रथम पूर्खा आदमलाई रच्नुभएको थियो तर आदमले पाप गरे रसबै मानिसहरू उनकै पापी वंशबाट जन्म लिएकाले सबै पापी बनें। अब स्वर्गका येशू यस पृथ्वीमा मानिसको रूपमा प्रवेश गर्नुपर्दा उहाँ मानिसको पाप स्वभावसँग नमिलीकन कसरी जन्मन सक्नुभयो त? अद्भुत कुरा यो छ कि बाइबलकासयौं भविष्यवाणीहरू पूरा गर्नुहुँदै हजारौं वर्ष अघिदेखिका भविष्यवाणीहरू अनुसार येशू मरियम नाम गरेकी एक कन्यास्त्रीको गर्भद्वारा जन्मनुभयो! उहाँ परमेश्वरको सामर्थ्यद्वारा पुरुषबिना नै जन्मनुभयो। यसरी येशू मानव जातिको पापीस्वभावदेखि पूरै पृथक रहेर जन्मनुभयो। यशैया नाम गरेका परमेश्वरका भविष्यवक्ताले येशूको जन्म हुनुभन्दा ७०० वर्षअगाडी यसरी लेखेका थिए, “हेर, एउटी कन्या गर्भवती हुनेछिन्, र तिनले एउटा छोरा जन्माउनेछिन्, र उनको नामइम्मानुएल राख्नेछिन् [जसको अर्थ हो, ‘परमेश्वर हामीसित’]।”

येशूलाई भेट्न आएका गोठालाहरू

येशूको जन्म हुँदा त्यहाँ “राती आफ्नो बगालको हेरचाह गर्दै बारीमा बसिरहेका गोठालाहरू थिए” (लूका २:८)। स्वर्गबाटएक स्वर्गदूत उनीहरूकहाँ देखा परे र “बडो आनन्दको शुभ समाचार” सुनाए: बेथलेहेमको शहरमा मुक्तिदाता येशूजन्मिनुभएको छ तिमीहरूले उहाँलाई “लपेट्ने लुगाहरूमा बेरिएको . . . डुँडमा सुतिरहेको भेट्टाउनेछौ” (लूका २:१०-१२)।यो खबर पाएपछि गोठालाहरू हतार-हतार आफ्ना मैदानहरू छोडे, राती नै बेथलेहेम गए र ठूलो आनन्दका साथउनीहरूलाई जस्तो बताइएको थियो त्यस्तै भेट्टाए।

यदि हामीले मुक्तिदाता येशूलाई भेट्टाउने हो भने यी नम्र गोठालाहरूले जस्तै हामीले पनि आफ्ना-आफ्ना “मैदानहरू” याकुराहरू र मार्गहरू त्याग्नै पर्छ र “रात” वा आफ्नो परिस्थितिको विषयमा कुनै बाहाना नबनाई, बेसमय नभनी, ढिलासुस्तीनगरी उहाँलाई यत्नसित खोज्नुपर्छ।

येशूको जन्मको उद्देश्य

पापी मानिसको सट्टा मरिदिनका लागि परमेश्वरका पुत्र येशू स्वर्ग छोड्नुभई यस संसारमा जन्म लिनुभयो। बाइबलले योबताउँदछ कि एक मात्र सृष्टिकर्ता र सत्य परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले पापको न्याय गर्नैपर्छ। हामीलाई यो पनिबताइएको छ कि “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन्” र “धर्मी कोही छैन, एउटै पनि छैन” (रोमी ३:२३, १०)। झूटा ईश्वरहरू र मूर्तिहरू पूजेर, झूट बोलेर, चोरेर, हत्या गरेर (रिस गर्नु हृदयमा हत्या गर्नु बराबर हो), व्यभिचार गरेर (खराब इच्छाले हेर्ने कामलाई व्यभिचारलाई जस्तै न्याय गरिनेछ) र लोभ गरेर − परमेश्वरका नियमहरूतोडेर सबैले पाप गरेका छन्। यसैकारण सम्पूर्ण मानव जाति पवित्र परमेश्वरद्वारा अनन्त मृत्यु र नरकका निम्तिठहराइएका छन्। नरकलाई सदा-सर्वदा जलिरहने “आगोको झील” भनेर बाइबलमा वर्णित छ (प्रकाश २०:१५)।

तर एउटा असल खबर छ। यसलाई “सुसमाचार” भनिन्छ। सुसमाचार यही हो — येशू ख्रीष्ट स्वर्गबाट आउनुभई यससंसारमा, एउटा गोठमा, जन्मनुभयो। कसैले जिउन नसक्ने धर्मी र पापरहित जीवन उहाँले जिउनुभयो। जसको कारणयस दुष्ट र कपटी संसारले उहाँलाई घृणा गर्यो र झूटा आरोपका साथ उहाँलाई क्रूसमा मृत्यु-दण्ड भोग्नलाई सुम्पिदियो।तर येशू यही उद्देश्यले यस संसारमा आउनुभएको थियो। सबैका पापहरूको निम्ति सिद्ध बलिदान भएर क्रूसमा मर्नकोनिम्ति उहाँ जन्मनुभएको थियो। जब येशू यरूशलेमको कलवरी डाँडामा काँटीले ठोकिएर रगत बहाउँदै खाँबोमाझुण्डिरहनुभएको थियो, परमेश्वर पिताले मानिस जातिको सबै पापहरू आफ्ना पुत्र येशूमाथि राखिदिनुभयो र येशूलेत्यहाँ हाम्रो अनन्त दण्ड भोग्नुभयो र हाम्रो पापको सम्पूर्ण ऋण र जरिवाना तिरिदिनुभयो र चुक्ता गरिदिनुभयो। येशू हाम्रापापहरूको निम्ति मर्नुभएपछि उहाँलाई एउटा गुफाजस्तो चिहानमा गाडियो र एउटा ठूलो गोलो ढुङ्गाले त्यसको प्रवेश द्वारलाई बन्द गरियो। तब बाइबलले पहिल्यै भविष्यवाणी गरेअनुसार र येशू आफैले पनि पहिल्यै भन्नुभएअनुसार, उहाँमरेको-मरै हुनुभएन बरु तेस्रो दिनमा मृत्युलाई जितेर फेरि बौरिउठ्नुभयो र उहाँमाथि विश्वास गर्ने हरेकलाई पापको क्षमार अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभयो। त्यसपछि उहाँले आफूलाई जीवित भएको देखाउनुहुँदै आफ्ना चेलाहरूलाई ४०दिनसम्म शिक्षा दिनुभयो र स्वर्गमा फेरि फर्की जानुभयो। अब चाँडै नै, यस संसारको अन्तमा, सबैको न्याय गर्न र यसपृथ्वीमा सदा-सर्वदा राज्य गर्नलाई उहाँ स्वर्गबाट फेरि आउनुहुनेछ।

निमन्त्रणा: पश्चात्ताप गरी उहाँलाई ग्रहण गर्नुहोस्

प्रिय मित्र, ख्रीष्ट तपाईंका पापहरूका निम्ति मर्नलाई आउनुभयो र जन्मनुभयो। आफ्नो पापको निम्ति बाहाना बनाउँदैत्यसैमा लागिनरहनुहोस्, बरु तपाईंको हृदयदेखि नै पापबाट फर्कनुहोस्। आफ्ना पापहरू परमेश्वरलाई स्वीकार्नुहोस् रयेशू ख्रीष्ट तपाईंका पापहरूका निम्ति मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौरिउठ्नुभयो भनी सम्पूर्ण हृदयले उहाँलाईग्रहण गर्नुहोस् र विश्वास गर्नुहोस्। अनि जुन घडी तपाईंले उहाँलाई ग्रहण गर्नुहुन्छ, परमेश्वरले तपाईंका सबै पापहरूआफ्ना पुत्र येशूको खातिर क्षमा गर्नुहुनेछ, तपाईंलाई बचाउनुहुनेछ र तपाईंलाई नयाँ हृदय र अनन्त जीवन दिनुहुनेछ।यसैले हामी तपाईंसित विन्ती गर्दछौं, उहाँलाई पुकार्नुहोस् र आजै मुक्ति पाउनुहोस्! तपाईं ती नम्र गोठालाहरू जस्तैहुनुभएको होस् जसले आजभन्दा २००० वर्ष अगाडी त्यो “पहिलो ख्रीष्टमस” मा जन्मिनुभएको संसारका मुक्तिदाता प्रभुयेशू ख्रीष्टलाई भेट्टाए र विश्वास गरे!






मैले कसरी नयाँ जीवन पाएँ – मङ्गल रोकाया

– मङ्गल रोकाया

मेरो जन्म २०४१ सालको जेठ २५ गते हालको धुनीबेसी नगरपालिका वडा नं. ५ को लामिछानेटारमा भएको हो । म सानो हुँदा प्राय: विरामी भइरहने र रोगी खालको थिएँ । त्यो समयमा कतिपटक म विरामी हुँदा बेहोस पनि हुन्थें । ती कुराहरूको मलाई अहिले पनि राम्रै सम्झना छ ।

म सानैदेखि धेरै घमण्डी र रिसाहा खालको मान्छे थिएँ । आफूले भनेका र मागेका कुराहरू पाउनुपर्ने, नपाएमा रोइहाल्ने जिद्दी स्वभावको थिएँ । सानोमा दराज, ट्याङ्कातिरको पैसाहरू चोरेर चाउचाउ किनेर खान्थें, साईकल भाडामा लिएर चलाउने गर्थें, घरमा राखेको दूधको तर, घीउ लुकीलुकी चोरेर खाइदिने गर्थें।

मेरो हालसम्मको शैक्षिक योग्यता चाहिँ ब्याचलर पास हो । मेरो कक्षा १ देखि १० सम्मको पढाइ एकदमै राम्रो थियो, म प्राय: गरेर प्रथम द्वित्तीय र तृत्तीय भित्र पर्थें । उच्च शिक्षा लेवलमा चाहिँ मेरो पढाइ राम्रो भएन किनकि मैले त्यत्ति राम्रो ध्यान दिएर पढिनँ ।

म कक्षा ९ र १० मा पढ्दा मलाई केटासाथीहरू हुँदाहुँदै पनि केटी साथीहरू बनाउन मन लाग्थ्यो र मेरो पढाइ राम्रो भएर होला उनीहरू मसँग पढ्न सिक्‍न आउँथे। एवम् रीतिले मेरो केटी साथीहरूसँग बढी घुलमिल हुने गर्थ्यो। उनीहरू मसँग बसेर फोटो खिचाउन मन पराउँथे, दाँया-बाँया केटीहरू र आफू बीचमा बसेर फोटो खिचिन्थ्यो। अनि केटाहरूले मलाई प्लेब्वाई भनेर जिस्काउँथे । यी कुराहरूले गर्दा ममा आफू सुन्दर र ह्यान्डसम भएकोले केटीहरूले आफूलाई मन पराएको भन्ने घमण्डको भूत चढ्न थाल्यो। तरैपनि मैले केटीसाथीहरूबाट गलत र अनैतिक फाइदा उठाइने काम गरिनँ, किनकि मैले परमेश्वरलाई नचिने पनि उहाँले मेरो हृदयमा राखिदिनुएको विवेकले काम गरिरहेको थियो ।

२०५८ साल माघ महिनाको एक रातको कुरा हो। म १७ वर्षको थिएँ। आर्मीले राती घर घेरा हाली मेरो दाईलाई समातेर लग्यो। सङ्कटकालको समय थियो अनि दाई भूमिगत रूपमा माओवादी पार्टीमा लागेको थियो । दाईलाई समातेर लगेको कारणले गर्दा त्यसको बदला लिने विचार ममा आयो। साथै त्यो समयमा समाजमा छुवाछुत एकदमै गरिन्थ्यो, हेपिन्थ्यो। अब त्यसको पनि बदला लिने मेरो मुख्य लक्ष्य बनाएँ। बदला लिन सक्‍न म शारीरिक रूपमा बलवान हुनुपर्छ र छुवाछुत गर्नेलाई पिटेर, थर्काएरै तह लगाउनुपर्छ भन्ने भावना ममा आउन थाल्यो। साथै  एउटा नाम चलेको हिरो बन्ने सोंच ममा आयो ।

त्यसपछि म घरमै एकदमै कडा कसरत गर्न थालें । म आफैं एक्लै घरमा साँझ-साँझमा कराँते जस्तै सिक्‍न थाले । जिमको एक्सरसाइज पनि घरमै गर्न थालें र आफ्नो जिउडाल विशेष बनाएँ। मैले कम्मर ३१ ईन्च, छाती फुलाउँदा ४० ईन्च र पाखुरा फुलाउँदा १४ ईन्च बनाएँ । त्यसपछि ममा बलको, रूपको शारीरिक घमण्ड बढ्न थाल्यो । त्यो समयमा म हान्ने राँगोजस्तै झम्टिहाल्ने खालको भइसकेको थिएँ । 

त्यसपछि म काठमाण्डौंमा आर. आर. क्याम्पस आई. ए. मा भर्ना भएँ — पत्रकारीता र मेजर नेपाली विषय लिएर।

म सानैदेखि मूर्तिपूजा गर्ने, रीतिथिति मान्ने कट्टर हिन्दू थिएँ । साथै म क्याम्पस जान भनेर निस्कनुअघि विभिन्न कथित देवी-देउताकका नाम लिएर उनीहरूसँग सुरक्षा मागेर मात्र घरबाट निस्कने गर्थें। 

जब म क्याम्पस जानको लागि लोकल बस चढ्थें तब उक्त बस त्यो बेलाको सङ्कट कालको कारणले दुई ठाँउमा प्रहरी चेकिङ्गको लागि रोकिन्थ्यो र सबै पेसिन्जरहरू झारिन्थ्यो । चेकिङ्ग गरिसकेपछि पुनः बस चढिन्थ्यो । अनि म बसेको सिटमा यदि कोही युवा मानिस बस्यो भने ऊसँग मेरो झगडा पर्दथ्यो । उसलाई म जबरजस्ती उठाएर आफू सिटमा बस्थें । तर असक्त, बूढापाका, बच्चा बोकेका सुत्केरी, विरामी छन् भने म आफै आफू बसेको सिट छोडिदिन्थें र बस्‍नुस् भनी आग्रह गर्दथें । मेरो यस्तो व्यवहार चाहिँ राजेश हमालले मेरो हृदय चोरेको प्रमाण थियो । बसमा, माइक्रो बसमा चढ्दा पनि म कहिले भाडा थोरै दिने, माग्यो भने खुद्रा छैन भनी रिसाउने, ड्राइभर र खलासीसँग झगडा गरी थर्काउने बानी थियो मेरो । घरबाट चाहिँ क्याम्पस पढ्न भनी हिँडेको मान्छे, पढ्न नगई डान्स सिक्‍न भोटाहिटी जान्थें। क्याम्पसमा सरले भित्र ढोका ढेपेर पढाइरहेको बेलामा ढोका खोलेर “मे आई कम ईन सर” नभनीकनै म भित्र पस्थें र ढोका एकदमै जोडले हातले पछाडी हुत्याई एक्सन निकालेर  ढोका लगाउँथें। सबै साथीहरू र सर चकित भएर हेर्थे । सबै केटीहरूको ध्यान आफूतिर तान्नको लागि टाइट कपडा लगाउने, आँखीभौं उखेल्ने, क्रिम पाउडर लगाउने, हेराइमा र लवाइमा कामुकता प्रदर्शन गर्ने, हिन्दी फिल्म “तेरेनाम” को सलमान खानको जस्तो कपाल पाल्ने, सानो निहुँमा झगडा गर्न गइहाल्ने, दुईचार जना मान्छेलाई नगन्ने, ठिक पारिहाल्छु नि भन्ने अहमता पालेर हिड्ने दुष्टमा पनि महादुष्ट खालको मान्छे थिएँ म । त्यो बेलाको मेरो व्यवहार हेर्ने हो भने कि त मैले एकदुई जनाको ज्यान लिन्थें होला कि अरूले मेरो ज्यान लिन्थे होला, तर त्यस्तो घटना हुन नपाउँदै मेरो त्यो दादागीरी र घमण्ड लामो समय टिकेन । त्यसैघडी मैले सत्य परमेश्वरलाई नचिनेको भए तापनि उहाँले मलाई चिन्नुहुन्थ्यो र उहाँले तीखा सुइराहरूले मलाई घोच्न थाल्नुभयो। 

त्यसबेला मलाई जण्डिस रोग देखापर्यो । ज्वरो आउने, हातगोडा गल्ने, वाकवाकी लाग्‍ने र खान मन नलाग्‍ने समस्याहरू ममा देखा पर्न थाले । अनजानमा मैले मुख नबार्दा रोगले दिन-प्रतिदिन मलाई गाह्रो बनाउँदै लग्यो । आयुर्वेदिक औषधी खाएको त त्यो एकदमै तीतो थियो र खानेबित्तिकै मलाई उल्टी आउने गर्थ्यो। फेरि घरेलु जडिबुटीहरू प्रयोग गर्न थालें, खासै कम भएन । विभिन्न मानिसहरूले दिएका सुझाव-सल्लाहअनुसार अन्य औषधीहरू पनि प्रयोग गरें । तर खासै उपलब्धी भएन, तागतिला खानेकुराहरू नखाएको कारणले गर्दा म दिनप्रतिदिन कमजोर हुँदै गएँ। फलस्वरूप म लामै समय विरामी भएँ । सलमान खानको जस्तो मेरो जिउडाल सबै गयो, केवल हाड र छाला मात्र थियो मेरो शरीरमा, जसको कारणले म एकदमै आत्तिने र डराउने हुन थालें । मेरो मुटु हल्लिन्थ्यो, र सास फेर्न गाह्रो हुन्थ्यो, प्रेसर चेक गर्दा एकदमै बढी देखायो । तनावको कारणले अब म लामो समय बाँच्दिनँ होला, बढी बाँचे हप्‍ता-दसदिन बाँच्छु होला भनी मेरो मनले हरेश खाइसकेको थियो । त्यो समयमा मलाई एकदमै रुन मन लाग्थ्यो । त्यति बेला मेरो उमेर करिब बीस-एक्काइस बर्ष पुगेको थियो । अब छिट्टै नै मर्दैछु भनी मेरो मनले हार खाइसकेको थियो । मलाई एकदमै बाँच्न मन थियो, मर्न डर लाग्थ्यो। तर म बाँच्ने कसरी होला? कुनै उपचारले काम गरेको थिएन।

एक दिन म विरामी भएर बसिरहेको बेलामा भिनाजु मलाई झाँक्री लगाउनको लागि भनेर लिन आउनुभयो। भिनाजुको घरमा दुईतीन दिन झाँक्री लगाएँ तर मलाई निको हुन्छ जस्तो लागेन । फूपुदिदीले मलाई चारपाँच वर्षअघिदेखि नै येशू ख्रीष्टको बारेमा बताउनुभएको थियो । उहाँले जुनसुकै रोगी बिरामीहरूलाई पनि निको बनाउनुहुन्छ भनी बाइबलका विभिन्न चङ्गाइका विषयमा बताउनुभएको थियो । त्यस कुरालाई त मैले त्यतिखेर चासै दिएको थिइनँ। उहाँको प्रचारमा खाँटी सुसमाचारको सत्यता त केही थिएन, केवल शारीरिक चङ्गाइको प्रचार मात्र थियो ।

झाँक्रीले पनि मलाई निको बनाउन सक्दैन भन्ने भएपछि सास छउन्जेल आश भनेझैं अब म चर्च जान्छु भन्ने निर्णय गरें। अनि मेरो हृदयमा अन्तरद्वन्द्व चल्न थाल्यो । एउटा मनले भन्छ “तँ चर्चमा नजा, चर्चमा गइस् भने तेरो परिवारले तँलाई हेला गर्छ। घरबाट निकाल्छन्। तँलाई सम्पत्ति दिँदैनन्। साथीभाइहरूले त्याग्छन्, तँलाई घृणा गर्छन्।” अनि अर्को मनले भन्छ “तँ चर्च जा, तँ त्यहाँ गएपछि निको हुन पनि सक्छस्, तेरो लागि साथीभाई, धनसम्पत्ति, परिवार, ईज्जत भन्दा ज्यानै ठूलो हो।” अनि मैले चर्चमा जाने निर्णय गरें। भिनाजुले भोलिपल्ट मलाई बिस्तारै हिँडाएर ढुङ्गेअड्डा चर्चमा लगिदिनुभयो । 

त्यहाँ गएपछि पनि २ दिनको बसाइपछि मलाई निको होला जस्तो लागेन । किनकि मेरो मन धेरै नै आत्तिरहेको थियो । अनि म त्यहाँ बस्दै गर्दा बाइबल पल्टाएर हेर्न थालें, बाइबलका पुराना कुराहरू हेर्दाखेरि मलाई डर लाग्‍न थाल्यो । त्यहाँ बस्दै गर्दा प्रार्थना, सङ्गति हुन्थ्यो तर मलाई निको त भइरहेको थिएन । अनि “ग्रहण गरेपछि दुष्ट आत्मा लागेको भएपनि निको हुन्छ” भनी मलाई बताइयो, त्यसपछि मैले “ग्रहण गर्ने” विचार गरें शारीरिक रूपमा निको हुनको लागि । त्यहाँको ग्रहण गराउने अभ्यास बमोजिम पास्टरले अगाडी पुल्पिटबाट जे शब्द भन्यो त्यही शब्दलाई दोहोर्याएर उच्चारण गरेर “ग्रहण गरें” मैले । त्यसबेला मैले सोच्थें म निको त होऊँ न, त्यसपछि हिन्दू धर्ममा नै फर्किन्छु । एक डेढ महिना म त्यहीँ बसेर आयुर्वेदिक औषधी सेवन गरें । केही कम भयो, त्यसपछि म घरमा फर्कें । घरमा आएपछि म धार्के नवजीवन चर्चमा जान थालें । म घर फर्केको लगभग एक डेढ महिनापछि फेरि ज्वरो आउन थाल्यो र जण्डिस बढ्न थाल्यो, त्यसताका पनि मैले जण्डिसको औषधी निरन्तर नै खाइरहेको थिएँ । मैले मनमनै भनें, “मलाई निको बनाउनको लागि कोही पनि छैन, न औषधी, न देवी देउता, नता येशू ख्रीष्टले नै मलाई निको बनाउनु भयो।” मैले फेरि हरेस खाएँ । “यति सानो उमेरमा मलाई किन यति धेरै दुःख आइपरेको होला?” अब फेरि पनि “म मर्छु होला” भनी मेरो मनले हरेस खायो । म धेरै रोएँ । म रोएको देखेर आमाले “तँलाई येशू धर्म फापेन, छोडिदे” भन्नुभयो । म जानी-नजानी रुँदै भन्थें, “मरे पनि बाँचे पनि म उहाँको नै हो, म मरे पनि मर्छु, बाँचे पनि बाँच्छु, म उहाँलाई छोड्दिनँ।”

केही हप्‍तापछि चर्चबाट “बप्तिस्मा लिनुहोस्, भाइ” भनी पास्टर दाईले भन्नुभयो। बप्‍तिस्मा लिनुको मेरो मुख्य उदेश्य जण्डिसबाट निको हुनु थियो र दुष्ट आत्माले दुःख दिएको हो भने त्यसबाट छुटकारा हुन्छ भन्ने सोंच थियो । मलाई बप्‍तिस्मा सम्बन्धी राम्रो जानकारी थिएन र मेरो बुझाइ गलत थियो । त्यसपछि मैले औषधी नै खान छोडिदिएँ, त्यसपछि मैले करिब १ बर्ष फेरि मुख बारें र त्यसपछि मात्र थोरैथोरै मुख बार्नलाई छाड्दै गएँ ।

यति बेलासम्म पहिले ममा भएको शारीरिक सुन्दरताको घमण्ड र बलको घमण्ड सबै पत्तासाफ भइसकेको थियो, ती सबै बेकारकै रहेछन्, जीवित परमेश्वरले चहानुभयो भने मानिसलाई छिनको छिनमै ठाँउको ठाँउमै ल्याउन सक्‍नुहुँदो रहेछ, उहाँको अगाडी हामी त केही पनि होइनौं रहेछ भन्ने मलाई लाग्‍यो ।

केहि समयपछि मलाई चर्चमा क्‍वायर ग्रूपमा गाउनको लागि भनेर राखियो, म अगाडी गएर गाए पनि भित्र हृदयदेखिनै कहिल्यै पनि उहाँलाई महिमा दिन सकिनँ, मेरो प्राय ओंठे भक्ति नै हुन्थ्यो । विभिन्न नाटक, क्यारिकेचर, जवानहरूको ट्यालेन्ट-शोहरूमा भाग लिए तापनि उहाँको महिमा भन्दा पनि आफ्नै महिमाको निम्ति मैले भाग लिइरहेको हुन्थें । जसले मलाई फेरि पनि शैतानले अर्कै जुक्ति प्रयोग गरी पहिलेको जस्तै घमण्डी, हठी बनाउँदै लैजादैँ थियो ।

दिनहरू बित्दै जाने क्रममा २०६६ सालमा मेरो विवाह गजुरी चर्चबाट भयो । अब हामी पेन्टिकोस्टल चर्च जान थालेको लगभग ८/९ बर्ष भइसकेको थियो । पेन्टिकोस्टल चर्चको पास्टरको जीवनशैली लवाइ-खवाइ ठिक थिएन । जसको कारणले मण्डलीमा भद्रगोल अवस्था सृजना हुन पुग्यो । हामी केही व्यक्तिहरू मिलेर हाम्रा सबै परिवारहरू त्यहाँबाट निस्कने योजना बनायौं र छुट्टै झुण्ड सुरु गर्ने सोंच बनायौं । त्यसपछि दिपकजीले प्रदेश अङ्कलसँग शिक्षा सङ्गतिको लागि अनुरोध गर्नुभयो र हामी अहिलेको खाँटी शिक्षामा आउन पायौं । यो घटना हाम्रो आत्मिक जीवनकै ठूलो मोडको रूपमा हुन गयो । अहिले मलाई एकदमै खुसी लाग्छ, सायद यो घटना नघटेको भए हाम्रो आत्मा र स-परिवारकै आत्मा नरकमा तड्पिनु पर्थ्यो। 

सुरुमा पालुङ चर्चबाट दिलिप दाई आएर हामीलाइ सिकाउन थाल्नुभयो तब हामीले शिक्षामा आकाश जमिनको फरक पाउन थाल्यौं ।

  1. ग्रहणको विषयमा
  2. पवित्र आत्माको विषयमा
  3. मुक्तिको विषयमा 
  4. स्त्रीले मण्डलीमा सिकाउन हुन कि नहुने भन्ने विषयमा 
  5. अलगपनताको विषयमा, आदि ।

मलाई नयाँ जन्म पाउनको लागि पनि लामो समय लाग्यो । किनकि म पेन्टिकोस्टलहरूको भद्रगोल शिक्षामा ८/९ बर्ष भिजिसकेको थिएँ । म २०७२ साल चैत महिनाको समयमा ३ पाङ्ग्रे अटो रिक्सा किनेर चलाउनको लागि नारायणगढमा बस्‍न थालें । त्यसपछि म नारायणगढ चर्चमा शनिबार र सोमबार सभाहरूमा बस्‍न थाले। त्यसपछि मैले कसरी मुक्ति पाउने होला भनी मेरो मनमा विभिन्न प्रश्नहरू उब्जन थाले। मैले सुसमाचारलाई व्यक्तिगत रूपमा लिन सकिराखेको थिइनँ । म आज्ञापालनद्वारा मुक्ति पाउने कोशिशमा थिएँ, मैले मुक्ति कमाएर प्राप्‍त गर्न खोजिराखेको थिएँ । तर एक दिन प्रदेश अङ्कलले शनिबारको सभामा एफेसी २:८-९ पद प्रष्ट रूपमा प्रचार गर्नुभयो । “किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैंबाटको होइन, यो परमेश्वरको दान हो । कामहरूबाट होइन, नत्रता कसैले घमण्ड गर्नेछ ।” यो पदले मेरो हृदयमा काम गर्न थाल्यो । म कोठामा गएँ, त्यसलाई साँझमा राम्ररी मनन गरें । सुसमाचारका मुख्य-मुख्य सत्यताहरू (१ कोरिन्थी १५:३-४) लाई पनि राम्ररी मनन गरें अर्थात् प्राचीन भविष्यवाणीहरू दुरुस्त पूरा गर्नुहुँदै परमेश्वरका पुत्र निर्दोष प्रभु येशू ख्रीष्ट मेरै पापको लागि क्रूसमा मर्नुभएको कुरालाई, उहाँ मेरो लागि गाडिनुभएको कुरालाई र उहाँ मेरो लागि तेस्रो दिनमा मृत्युबाट फेरि बौरिउठ्नुभएको कुरालाई । प्रभुसित आफू पापी भएको स्वीकार गरें र पश्चात्ताप गर्दै सुसमाचारलाई व्यक्तिगत बनाएँ । त्यसैको भोलिपल्ट रुस्तमको जन्मदिनमा आफूले मुक्ति पाएको कुरा मैले प्रज्वल भाइलाइ बताएँ, धार्केमा दिपकलाई र मेरी पत्‍नी सृजनालाई पनि फोन गरी बताएँ । 

त्यसको केही महिनापछि म अटो रिक्साको व्याट्री विग्रिएको कारणले मैले सस्तैमा अटो बेची घर फर्कें । घरमा आइसकेपछि मलाई दिनप्रतिदिन मानसिक तनावहरू हुन थाले, आर्थिक कमजोरी, पारिवारिक समस्या, बेरोजगार इत्यादि, जसको कारणले गर्दा मेरो जीवन राम्रो देखिएन । म छिट्टै रिसाउने, घमण्डी हुने, बाइबल अध्ययनमा मन नलाग्‍ने, परिवारमा मनमुटाव हुने जस्ता समस्याहरू देखिन थाले । मैले नयाँ जन्म पाएको छैन कि क्या हो? मैले नयाँ जन्म अथवा मुक्ति पाएको भए मेरो जीवन किन ठिक छैन? जस्ता प्रश्नहरूले मलाई अलमल बनायो । त्यो समयताका प्रदेश अङ्कल, प्रज्वल भाइ, पत्रुस भाइ, दिपेन्द्र भाइहरूले मलाई विभिन्न पदहरू देखाईकन त्यो अलमलबाट छुट्नको लागि सहायता गर्नुभयो । मलाई यो अलमलबाट छुट्नको लागि सहायता गर्ने मुख्य खण्ड १ यूहन्ना १:८-१० थियो । यी पदहरूले मेरो जीवनमा पुनः मुक्तिको निश्चयतामा फर्कनको लागि सहायता गर्‍यो । मैले २०७७ पौष २० गते प्रभु येशू ख्रीष्टको आज्ञामुताबिक पानीको बप्‍तिस्मा लिएँ। मैले बप्‍तिस्मा लिएको केही महिनापछि एक दिन मेरी श्रीमति सृजना पनि परमेश्वरतिर आफ्नो मन फर्काइन् र येशू ख्रीष्टको रगतको बलिदानमा विश्वास गरिन् र नयाँ जन्म पाइन्, जसको कारण मलाई एकदमै खुसी लागेको छ । अब छोराछोरीलाई मुक्तिमा डोर्याउने जिम्मा हामी दुईजनामा आइपरेको छ ।

 

मैले मुक्ति पाइकोले आफैंभित्र देखिएका केही प्रमाणहरू:

  1. मैले मुक्ति पाएदेखि यता पाप गर्दा गाह्रो हुनु, तर पाप स्वीकार गर्दा हृदयमा आनन्द हुनु ।
  2. मुक्तिको लागि छोराछोरीप्रतिको प्रेम ।
  3. छोराछोरीलाई प्रभुमा हुर्काउनुपर्ने कारणले रोजगारको लागि विदेश नजाने निर्णय ।
  4. खाँटी शिक्षालाई अँगालिराख्‍ने निर्णय ।
  5. सांसारिक फिल्ममा अभिनय नगर्ने, आदि ।

मुक्ति पाएर बप्‍तिस्मा लिइसकेपछि म निम्‍न शिक्षा तालीममा परमेश्वरको अनुग्रहले सहभागी हुन पाइरहेको छु:

  1. “२ तिमोथी २:२” अनलाइन क्लास
  2. “हल्लाउन नसकिने विश्वास” को अनलाइन क्लास
  3. “विवाह र घर” को अनलाइन क्लास
  4. नारायणगढ पालुङ सेवकाइको मिटिङ प्रार्थना सभा

मेरो जीवनमा घटेका यी सबै घट्नाक्रमहरूका लागि र परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टमा मलाई दिनुभएको नयाँ जीवनको लागि र त्यसको साथमा दिनुभएका सबै आशिषहरूका लागि म मेरा परमेश्वर र मुक्तिदातालाई हृदयदेखि नै धन्यवाद चढाउँदछु ।

समाप्‍त

 






अराजकताको दिनमा हामी के गर्न सक्छौं?

अराजकताको दिनमा हामी के गर्न सक्छौं?

यस वर्तमान संसारमा, अराजकता र सत्यत्यागको बीचमा, परमेश्वरका जनहरूले के गर्न सक्छन्? हामीले ठ्याक्कै के गर्नुपर्छ भनेर परमेश्वरले बताउनुभएको छ।

अचम्म नमान्नुहोस्

विश्वको र ईसाइमत स्वीकार गर्नेहरूको अवस्थाको बारेमा परमेश्वरको वचनले भविष्यवाणी गरेको छ, अनि ठीक त्यही कुरा हामी अहिले हाम्रो दिनमा देख्दैछौं।

“यो पनि जानिराख! अन्तिम दिनहरूमा सङ्कटपूर्ण समयहरू आउनेछन्। किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बाबुआमाकोआज्ञापालन नगर्ने, बैगुणी, अपवित्र, स्वाभाविक माया नभएका, मेल गर्न नचाहने, झूटा दोष लाउने, आत्मसंयमी नभएका, कठोर, असललाई घृणा गर्ने, विश्‍वासघाती, जिद्दीवाल, घमण्डले फुलिएका, परमेश्‍वरलाई भन्दा बरु मोजमज्जालाई प्रेम गर्ने, भक्तिको भेष ता धारण गर्ने, तर त्यसको शक्ति इन्कार गर्नेहरू हुनेछन्; यस्ताहरूबाट पर बस।” (२ तिमोथी३:१-५)

आफ्नो मुक्ति पक्का गर्नुहोस्

अन्तिम दिनहरूको ईसाइमत शक्तिहीन खालको हुनेछ भनेर बाइबलले चेताउनी दिएको छ। “भक्तिको भेष ता धारण गर्ने, तर त्यसको शक्ति इन्कार गर्नेहरू हुनेछन्; यस्ताहरूबाटपर बस।” (२ तिमोथी ३:५)

आफूले साँच्ची नै नयाँ जन्म पाएको र ख्रीष्टलाई भेट्न तयार भएको हुनु पक्का गर्नु नित्तान्त आवश्यक छ।

चित्कारको लागि तयार हुनुहोस्

“किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौं – हामी जो जीवित छौं र प्रभुको आगमनसम्म रहिरहन्छौं, हामीले कुनै रीतिले पनि ती सुतेकाहरूलाई उछिन्नेछैनौं।किनकि प्रभु आफै चीत्‍कारसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्‍वरको तुरहीको साथमा स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्, त्यसपछि हामीजीवित र रहिरहेकाहरू प्रभुलाई हावामा भेट्का निम्‍ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौं; अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं। यसकारण यी वचनहरूद्वाराएक-अर्कालाई सान्त्वना देओ!” (१ थेस्सलोनिकी ४:१५-१८)

“रात धेरै बितिसक्यो, दिन नजिकै आइपुगेको छ; यसकारण अन्धकारका कामहरू फालौं र ज्योतिका हतियार भिरौं।” (रोमी १३:१२)

“तिमीहरूको कोमलता सबै मानिसहरूलाई थाह होस्! प्रभु नजिकै हुनुहुन्छ।” (फिलिप्पी ४:५)

“तिमीहरूले पनि धीरज धर! आफ्ना हृदयहरू स्थिर गराओ; किनकि प्रभुको आगमन नजिकै छ। हे भाइहरूहो, एउटाले अर्कोको विरोधमा गनगन नगर, नत्र तिमीहरू दोषीठहरिनेछौ; हेर, न्यायकर्ता ढोकाको अघिल्तिर खड़ा हुनुहुन्छ।” (याकूब ५:८-९)

“तर सबै कुराहरूको अन्त नजिकै आएको छ; यसकारण सचेत होओ, र प्रार्थनाका लागि जागा रहो!” (१ पत्रुस ४:७)

“अनि उनले मलाई भने: “यस पुस्तकको भविष्यवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि समय नजिकै छ।” (प्रकाश २२:१०)

आफ्नो स्वर्गीय नागरिकतामा मन लगाउनुहोस्

“यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँतिएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्‍वरको दाहिने हातपट्टि बसिरहनुभएको छ। माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन; किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्‍वरमा लुकेको छ। जब ख्रीष्ट, जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तबतिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ।” कलस्सी ३:१-४

साँच्चीकै नयाँ नियम मण्डलीहरू निर्माण गर्नुहोस्

“तर म ढिलो भएँ भने परमेश्‍वरको घरमा, जो जीवित परमेश्‍वरको मण्डली हो, सत्यताको खाँबो र जग हो, कसरी चल्नुपर्छ, सो तिमीले जान।” (१ तिमोथी ३:१५)

“तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे, तिनीहरूले बप्‍तिस्‍मा लिए; अनि त्यही दिनमा प्राय: तीन हजार मानिसहरू तिनीहरूमा थपिए। अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरूमा दृढ़तापूर्वक लागिरहे।” (प्रेरित २:४१-४२)

ख्रीष्टको महान् आदेश पूरा गर्नुहोस्

“अनि तिनीहरूकहाँ आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नुभयो: ‘स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। यसकारण तिमीहरू जाओ, र सबै जातिहरूलाई चेलाबनाओ, तिनीहरूलाई पिताको, पुत्रको र पवित्र आत्माको नाममा बप्‍तिस्‍मा देओ, मैले तिमीहरूलाई जे-जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ; अनि हेर, मसधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु।’ आमेन!” (मत्ती २८:१८-२०)

प्रार्थना गर्नुहोस्

“यसकारण म यो अर्ती दिन्छु: सबैभन्दा पहिले सबै मानिसहरूका निम्ति विन्तीहरू, प्रार्थनाहरू, निवेदनहरू र धन्यवादहरू चढ़ाइऊन्; सारा भक्ति र इमानदारीमा शान्ति र चैनकोजीवन बिताउन सकौं भनेर राजाहरू र सबै उच्‍च अधिकारीहरूका निम्ति चढ़ाइऊन्। किनभने यो कुरा परमेश्‍वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ; उहाँ सबैमानिसहरूले मुक्ति पाऊन्, र सत्यताको ज्ञानमा आऊन् भन्ने इच्छा गर्नुहुन्छ।” (१ तिमोथी २:१-४)

“सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, अनि यसैका निम्ति सारा प्रयत्न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्ती गर्दै जागा रहो” (एफेसी ६:१८)

नियम-कानून पालन गर्ने र गराउनेहरूको समर्थक बन्नुहोस्

“हरेक मानिस उच्‍च अधिकारीहरूको अधीनतामा रहोस्। किनकि कुनै अधिकारी नै छैन, जो परमेश्‍वरबाटको होइन; अनि जुन अधिकारीहरू छन्, ती परमेश्‍वरद्वारा नियुक्तगरिएका हुन्। यसकारण जसले अधिकारीको विरोध गर्दछ, त्यसले परमेश्‍वरकै विधिलाई विरोध गर्दछ; अनि विरोध गर्नेहरूले आफूमाथि दण्ड ल्याउनेछन्। किनकि शासकहरूअसल कामहरूका निम्ति होइन, तर खराब कामहरूका निम्ति डरका कारण हुन्। के तिमी अधिकारीसँग डराउन चाहँदैनौ? असल काम गर, र तिमीले अधिकारीबाट प्रशंसापाउनेछौ। किनकि तिनी भलाइका निम्ति तिम्रा लागि परमेश्‍वरका सेवक हुन्। तर तिमी खराब काम गर्दछौ भने डराऊ; किनकि तिनले व्यर्थमा तरवार भिर्दैनन्; किनकि तिनी ताखराब काम गर्नेमाथि क्रोध प्रकट गरी बदला लिने परमेश्‍वरका सेवक हुन्। यसकारण तिमीहरू क्रोधको कारणले मात्र होइन, तर विवेकको कारणले पनि अधीनतामा रहनुपर्छ।किनभने यही कारणले गर्दा तिमीहरूले कर पनि तिर्दछौ, किनकि तिनीहरू यही काममा निरन्तर लागिरहने परमेश्‍वरका सेवकहरू हुन्। यसकारण सबैलाई, तिनीहरूलाई दिनुपर्नेकुरा देओ: जसलाई कर दिनुपर्दछ, कर; जसलाई भन्सार दिनुपर्दछ, भन्सार; जसलाई डर दिनुपर्दछ, डर; जसलाई आदर दिनुपर्दछ, आदर देओ!” (रोमी १३:१-७)

साभार: लेखक डेविड क्लाउडको अङ्ग्रेजीबाट नेपालीमा अनूदित (wayoflife.org)

 






मण्डलीमा बोल्ने कि चुप बस्ने?

हालसालै एकजना पाठकले हामीलाई १ कोरिन्थी १४:३४-३५ को अर्थ के होला भनेर सोध्नुभएको थियो।

१ कोरिन्थी १४:३४-३५ — “तिमीहरूका स्त्रीहरू मण्डलीहरूमा चुप लागून्; किनकि उनीहरूलाई बोल्ने अनुमति छैन, तर आज्ञाकारी भएर रहने आज्ञा छ; व्यवस्थाले पनि यसै भन्छ। अनि उनीहरू केही सिक्न चाहन्छन् भने घरमा आफ्‍ना लोग्नेहरूलाई सोधून्; किनकि स्त्रीहरूका निम्ति मण्डलीमा बोल्नुचाहिँ शर्मको कुरा हो।”

यी दुईटा पदको अर्थप्रकाशन गर्न प्रथमत: हामीले १ कोरिन्थी १४:२६-४० को पूरै खण्डको सन्दर्भलाई ध्यान दिनुपर्छ।

“तब भाइहरूहो, के गर्ने त? जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूमध्ये हरेकसँग भजन हुन्छ, शिक्षा हुन्छ, भाषा हुन्छ, प्रकाश हुन्छ, अनुवाद हुन्छ। सबै कुराहरू उन्नतिका निम्ति नै गरिऊन्। यदि कसैले अन्य भाषा बोल्छ भने दुईजना अथवा बेसीभन्दा बेसी तीनजना होऊन्, र पालैसँग बोलून्, अनि एउटाले अनुवाद गरोस्। तर अनुवाद गर्ने कोही छैन भने मण्डलीमा ऊ चुप लागोस्; र मन-मनमा आफैसँग र परमेश्वरसँग बोलोस्। अनि भविष्यवक्ताहरूचाहिँ दुई वा तीनजना बोलून्, र अरूले जाँचून्। यदि छेवैमा बस्ने अर्कोलाई कुनै प्रकाश दिइयो भने पहिलोचाहिँ चुप लागोस्। किनकि सबैले सिकून् र सबैले सान्त्वना पाऊन् भनेर तिमीहरू सबैले एक एक गर्दै भविष्यवाणी गर्न सक्छौ। अनि भविष्यवक्ताहरूका आत्मा भविष्यवक्ताहरूकै अधीनमा हुन्छन्। किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ। तिमीहरूका स्त्रीहरू मण्डलीहरूमा चुप लागून्; किनकि उनीहरूलाई बोल्ने अनुमति छैन, तर आज्ञाकारी भएर रहने आज्ञा छ; व्यवस्थाले पनि यसै भन्छ। अनि उनीहरू केही सिक्न चाहन्छन् भने घरमा आफ्‍ना लोग्नेहरूलाई सोधून्; किनकि स्त्रीहरूका निम्ति मण्डलीमा बोल्नुचाहिँ शर्मको कुरो हो। अथवा के परमेश्वरको वचन तिमीहरूबाट निस्क्यो? कि तिमीहरूकहाँ मात्रा आयो? यदि कुनै मानिसले आफूलाई ‘भविष्यवक्ता हुँ’ वा ‘आत्मिक हुँ’ भन्ने सम्झन्छ भने जुन कुराहरू म तिमीहरूैलाई लेख्दछु, ती प्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गरोस्। तर कुनै मानिस अनजान छ भने ऊ अनजानै रहोस्। यसकारण भाइहरूहो, उत्सुकतापूर्वक भविष्यवाणी गर्ने लालसा गर, र भाषाहरू बोल्नालाई मनाही नगर। सबै कुराहरू शिष्टतापूर्वक र क्रमअनुसार गरिऊन् (१ कोरिन्थी १४:२६-४०)।

पूरै खण्डलाई हेर्दा यहाँ निम्न कुराहरू स्पष्ट हुन्छ:

  1. पावल प्रेरितले यस खण्डमा कोरिन्थ शहरका ख्रीष्टियनहरू एक ठाउँमा मण्डलीको रूपमा (“मण्डलीमा”, पद २८) भेला हुँदा (“जब तिमीहरू भेला हुन्छौ”, पद २६) को सन्दर्भमा केही निर्देशनहरू दिँदैछन्।
  2. त्यसरी भेला हुँदा कोरिन्थका विश्वासीहरूले “सबै कुराहरू उन्नतिका निम्ति नै गरिऊन्” (पद २६) भन्ने आधारभूत सिद्धान्तलाई पछ्याउनुपर्थ्यो। “उन्नति” ग्रीकमा “इकोदोमी” हो र यसले भवन निर्माण कार्यलाई जनाउँछ। “सबै कुरा उन्नतिका निम्ति गरिऊन्” भन्नाले मण्डलीमा एकअर्कालाई एउटा भवनलाई जस्तै आत्मिक रूपमा निर्माण गर्ने, बलियो र स्थिर बनाउने उद्देश्यले सबै कुराहरू गरिनुपर्छ भन्ने बुझिन्छ।
  3. यस खण्डको फराकिलो सन्दर्भ १ कोरिन्थी १४:१ बाट शुरु हुन्छ र बोल्ने कामको उद्देश्य मण्डलीको उन्नति हुनुपर्छ भनेर पावलले सिकाउँदै आएका छन्। अनि १४:२७ मा आएर पावलले यस्तो उन्नति हुन सक्न मण्डलीमा बोल्ने काम पालैसँग गरिनुपर्छ र एकजनाले बोल्दै गर्दा बाँकी जति “चुप” बस्नुपर्छ (ग्रीक “सिगाओ”) भनेर आज्ञा दिन्छन् (पद २७, ३०-३१)। “बोल्नु” ग्रीकमा “लालेओ” हो र नयाँ नियममा यो शब्दले केवल कुनै कुरा “भन्ने” (ग्रीकमा “लेगो”) कामलाई मात्र नभएर धेरै पटक सिकाउने कामलाई अर्थात् शिक्षकले बोल्ने कामलाई जनाएको छ, यद्यपि सधैं त होइन (मर्कूस २:२ मा यसलाई “प्रचार गर्नु” भनेर समेत अनुवाद गरिएको छ)।
  4. अन्यभाषाको सवालमा अनुवाद गर्ने व्यक्ति नभएको खण्डमा अन्यभाषा बोल्ने व्यक्ति “चुप लागोस्” (सिगाओ) भनिएको छ (पद २८)
  5. भविष्यवाणीको सवालमा अर्को व्यक्तिलाई पालो दिइनुपर्छ र “पहिलोचाहिँ चुप लागोस्” (सिगाओ) भनिएको छ (पद ३०)।
  6. यसै सन्दर्भमा मण्डलीमा स्त्रीहरूको बोल्ने काम (उही शब्द “लालेओ”) लाई पावल प्रेरितले निषेध गरेका छन्, उही शब्द “चुप लागून्” (सिगाओ) भन्ने शब्द प्रयो गरेर (पद ३४)। यस अघिको सन्दर्भबाट यो प्रस्ट भइसकेको छ कि यहाँ बोल्ने काम भन्नाले सम्पूर्ण मण्डली सभालाई सिकाउने कामलाई जनाउँछ। यो कुरा १ तिमोथी २:११-१२ सित तुलना गर्दा त्यहाँबाट पनि यस अर्थप्रकाशन सही हो भनेर पुष्टि हुन्छ। “स्त्रीले पूरा अधीनतामा बसेर चुपचापसँग सिकोस्। तर म स्त्रीलाई शिक्षा दिने अनुमति दिन्न, न ता पुरुषमाथि अधिकार जमाउने अनुमति नै दिन्छु; तर ऊ चुपचाप रहोस्।” किन? भन्ने प्रश्नको जवाफ पावलले पवित्र आत्माको प्रेरणाद्वारा लगत्तै यसरी दिन्छन्, “किनकि आदम पहिले बनाइए, त्यसपछि हव्वा” (१ तिमोथी २:१३)।

निष्कर्ष: स्त्रीहरूले आफूभन्दा कम उमेरका स्त्रीहरूलाई व्यावहारिक कुराहरू सिकाउन सक्छन् (तीतस २:३-५), बाबुनानीहरूलाई सिकाउन सक्छन् (१ तिमोथी २:१५; ५:१०), प्रिस्किल्लाले आफ्‍ना पतिसित मिलेर छुट्टै अपोलोसलाई सिकाउन सक्छन् (प्रेरित १८:२४-२८), तर पुरुष तथा स्त्रीहरू एकै ठाउँमा भेला भएको मण्डली सभामा सिकाउने काम गर्न स्त्रीहरूलाई परमेश्वरको वचनले अनुमति दिँदैन। यो निषेधाज्ञा आदम पहिले बनाइएको र हव्वा पछि बनाइएको कुरामा आधारित छ (१ तिमोथी २:१२-१३)। तसर्थ, यो सुरुका कुनै-कुनै मण्डलीहरूले मात्र मान्नुपर्ने नियम नभएर ख्रीष्टका सबै मण्डलीहरूले आज पनि पालन गर्नुपर्ने नियम हो।

 






के अन्यभाषा परमेश्वरसँग बोल्ने भाषा हो?

हाम्रो एकजना पाठकज्यूले निम्न पदको अर्थ के होला भनेर सोध्नुभएको थियो।

१ कोरिन्थी १४:२ “किनकि जसले अन्य भाषा बोल्छ, उसले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्छ; किनभने कसैले पनि बुझ्दैन; तर आत्मामा उसले रहस्यहरू बोल्छ।”

पहिलो शब्द “किनकि” एउटा संयोजक शब्द हो जसले १ को १४:२ लाई १ को १४:१ सित जोड्ने काम गर्छ जहाँ लेखिएको छ” प्रेमको पछि लाग, र आत्मिक वरदानहरूका निम्ति उत्सुकतापूर्वक लालसा गर, तर विशेष गरेर भविष्यवाणी गर्नाका निम्ति” (१ को १४:१)। यसकारण १ को १४:२ ले कोरिन्थका विश्वासीहरूले किन “विशेष गरेर भविष्यवाणी गर्नाका निम्ति” लालस गर्नुपर्छ भन्ने प्रश्नको जवाफ दिँदैछ (जुन कुरालाई हामी हेर्नेछौं।)  प्रश्न उठ्छ, अन्य कुन आत्मिक वरदान वा वरदानहरूको तुलनामा भविष्यवाणी गर्नका निम्ति लालसा गरिनुपर्ने हो त? यसको जवाफ १ को १४:३-४ मा भेटिन्छ, “तर जसले भविष्यवाणी बोल्छ, उसले मानिसहरूसित उन्नति, उत्साह र सान्त्वनाका कुराहरू बोल्छ। जसले अन्य भाषा बोल्छ, उसले आफ्‍नै उन्नति गर्छ; तर जसले भविष्यवाणी बोल्छ, उसले मण्डलीको उन्नति गर्छ”। यसबाट अब हामीलाई के स्पष्ट हुन्छ भने यस खण्डमा अन्यभाषाको वरदानलाई भविष्यवाणीको वरदानसित तुलना गरिँदैछ। 

अब हाम्रो चासोको पदलाई हेरौं:

“किनकि जसले अन्य भाषा बोल्छ, उसले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्छ।”

यसको माने के हो? यदि हामीले यस पदको अगाडि-पछाडि हेरेनौं भने, हामीलाई यसको माने यस्तो लाग्न सक्छ कि अन्य भाषाभनेको मानिसहरूसित बोल्न प्रयोग गरिने भाषा नभएर परमेश्वरसित बोल्ने विशेष भाषा हो।

तर के यो अर्थप्रकाशन ठीक हो? हामीले बिर्सन नहुने कुरा के छ भने, १ कोरिन्थीको मौलिक पत्र हाम्रो भन्दा बेग्लै भाषामा, हाम्रोभन्दा बेग्लै समयमा, करिब २००० वर्ष अगाडि, हाम्रो भन्दा बेग्लै लेखन शैलीमा, एक यहूदी (पावल) द्वारा ग्रीक भाषीहरूलाई लेखिएको एक लेखोट हो (परमेश्वरको प्रेरणाद्वारा तर मानिसको माध्यमद्वारा)। त्यसैले यदि सन्दर्भलाई बेवास्ता गरियो भने (अर्थ प्रकाशन गर्नलाई अगाडि र पछाडिका पदहरूलाई मध्यनजर गरिएन भने), कतिपटक अर्थको अनर्थ हुन जान सक्छ। त्यसोभए यसको माने के हो त?

सन्दर्भलाई अलिकति मात्र ध्यान दिने बित्तिकै यसको माने छर्लङ्ग हुन्छ। यहाँ दुईटा आत्मिक वरदानहरू अर्थात् अन्यभाषा र भविष्यवाणीको वरदानहरूलाई तुलना गरिएकोले प्रथमत: यी दुई दान कस्ता दान थिए भनेर तिनको गुणलाई बुझ्नुपर्छ। अनि यहाँ ती गुणहरू सन्दर्भबाट नै जान्न सकिन्छ।

अन्यभाषा भनेको कस्तो भाषा थियो? १ कोरिन्थी १४:५ बाट यो देख्न सक्छौं कि अन्यभाषा त्यस्तो भाषा थियो जसलाई अनुवादगर्न सकिन्थ्यो अर्थात् स्रोताले बुझ्ने भाषामा अनुवाद गरिएको खण्डमा निजले बुझ्न सक्ने संसारमै प्रयोग हुने कुनै वास्तविक भाषा थियो। यदि यसलाई अनुवाद गरिएन भने स्रोताले त्यो बुझ्न सक्दैनथ्यो (१ कोरिन्थी १४:२ “किनभने कसैले पनि बुझ्दैन”)। 

भविष्यवाणीको दान कस्तो दान थियो? १ कोरिन्थी १४:३ बाट यो देख्न सक्छौं कि कसैले भविष्यवाणी बोल्दा मण्डलीमा मानिसहरूले उत्साह र सान्त्वनाका कुराहरू अर्थात् उनीहरूलाई उन्नति गराउने कुराहरू प्राप्त गर्न सक्थे।

अब हाम्रो प्रश्न रहेको छ, १ को १४:२ को माने के हो? के यसको माने यो हो कि अन्य भाषा भनेको मानिसहरूसित बोल्न प्रयोग नगरिने तर परमेश्वरसित बोल्ने विशेष भाषा हो?

प्रथमत: अन्य भाषा मानिसहरूसित बोल्न प्रयोग नगरिने भाषा भन्न मिल्दैन, नत्र १ को १४:५ मा त्यसलाई अनुवाद गर्न सकिने कुरा उल्लेख हुनेथिएन।

दोस्रो, त्यसोभए किन अन्यभाषा बोल्दा “उसले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्छ” भनिएको हो त?

यसको जवाफ सरल छ। किनभने अन्यभाषा मानिसहरूले बुझ्न सक्दैनन् (“किनभने कसैले बुझ्दैन; तर उसले आत्मामा रहस्यहरू बोल्दछ” १४:२) तर परमेश्वरले बुझ्नुहुन्छ। तर त्यसलाई अनुवाद गरिएको भए मानिसहरूले पनि बुझ्नेथिए र उनीहरूको उन्नति हुनेथियो। त्यसैले अनुवाद गर्ने कोही नभएको खण्डमा अन्यभाषा बोल्ने व्यक्ति चुप बस्नुपर्छ भनेर पावल प्रेरितले भन्दछन् (१ को १४:२८)। 






परागसेचन

बालबालिका विशेष

ग्रीष्म यामको कुनै दिनमा तपाईंले खुल्ला मैदानतिर आफ्‍ना आँखाहरू उठाएर हेर्नुभयो भने तपाईंले त्यहाँ माहूरीहरू भुनभुनाउँदै यताउता उडिरहेका देख्नुहुनेछ। अनि पुतलीहरू पखेटा फ्याटफ्याट गर्दै मानौं फ्याँकिएका पातजस्तै दिशाहीन भई यताउता उडिरहेका तपाईंले देख्नुहुनेछ। सतहमा देख्दा अर्थहीन जस्तो तपाईंलाई लागे तापनि वास्तमा यी कुरा वैज्ञानिक ढङ्गले अति नियमपूर्वक हुने एउटा प्रक्रियाका भाग हुन् जुन प्रक्रिया एउटा आश्चर्यकर्म नै हो। यसलाई परागसेचन भनिन्छ।

एउटा फूलको सबैभन्दा मसिनो अङ्गलाई हेर्दा समेत त्यो आफ्‍नै जातअनुसारका अरू फूल उत्पादन गर्ने प्रमुख उद्देश्य पूरा गर्न रचना गरिएको देखिन्छ। हरेक अङ्गको रङ्ग, वासना, रूप, लमाइ र आकार सिद्धरूपमा यही उद्देश्यसित मिलेको पाइन्छ।

परागसेचनको समस्यालाई विचार गर्नुहोस्: फूलहरू उत्पन्न गर्न सक्ने बीजहरू विकास हुनलाई अति साना अविकसित बीजहरूिसत ठीक समयमा ठीक किसिमका सुक्ष्म पराग कणहरूको मिलन हुनुपर्छ। एउटा परागकणले आफ्‍नो काम गर्न सक्न त्यो केवल एक दुई घण्टा मात्र जीवित र सक्रिय रहन्छ। उक्त परागकणलाई  केही ईञ्च पर मात्र पुर्‍याइनुपर्ने हुन सक्छ अथवा त्यसलाई कैयौं किलोमीटर पर पुर्‍याइनुपर्ने पनि हुन सक्छ। यो उदेकको काम सम्पन्न हुन सक्नलाई परमेश्वरले हावा र किराहरूको रचना गर्नुभएको छ।

एकजना वैज्ञानिकले आफ्‍नो क्यामेरा एउटा फूलको केवल दुई ईञ्चको भागमाथि फोकस गरेर हेरेको थियो। उसले त्यहाँ प्रत्येक पाँच सेकेन्डमा एउटा किरा टुप्लुक्क आइपुगेको देख्यो। आठ घण्टाको अवधिभित्रमा त्यहाँ ५७६० पाहुनाहरू आइपुग्न भ्याए! कमिला एक मीनटमा एउटा आएको थियो। एउटा बारुला स्वाट्ट आइपुगेको थियो र एउटा कमिलोले उसलाई उसका पाउमा टेक्यो भनेर त्यसले खच्चरले जस्तै लात हान्यो! फूलहरूका केवल दुई ईञ्चभित्र यति धेरै काम भइरहेको छ! छुँदा र हल्लँदा परागकणहरू खस्छन् र तिनले आफ्‍नो काम गर्न पाउँछन् जसको फलस्वरूप बीजहरू बढ्न थाल्छन्।

हामीले एउटा शब्द प्रयोग गर्ने गर्छौं: संरक्षण। यो भनेको परमेश्वरले रचना गर्नुभएका प्रकृतिका ती नियम र सिद्वान्तहरू हुन् जसद्वारा सबै कुरा चलिरहन्छन्, जीवनलाई पाल्ने काम भइरहन्छ, एक पुस्तादेखि अर्को पुस्तासम्म जीवहरूको निरन्तरता रहिरहन्छ। परमेश्वरले सबै जीवित प्राणीहरू तिनका एक-एक अङ्गहरू र विशिष्ट रचनाहरू केवल बनाउनुभयो भन्ने मात्र होइन उहाँले ती सब जीवित प्राणीहरूलाई चलिरहने र काम गरिरहने तुल्याइरहनुहुन्छ भन्ने हो। परमेश्वर पालनहार हुनुहुन्छ। परमेश्वर संरक्षक हुनुहुन्छ।

भजनसङ्ग्रह १२१ मा भजन लेखकले लेखे:

“पहाडहरूतिर म मेरा आँखाहरू उठाउँछु; मेरो सहायता कहाँबाट आउँछ? मेरो सहायता परमप्रभुबाट नै आउँछ, जसले आकाश र पृथ्वी बनाउनुभयो। उहाँले तिम्रो पाउ चिप्लन दिनुहुनेछैन; तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँग्नुहुनेछैन। हेर, इस्राएललाई रक्षा गर्नुहुने उँग्नुहुनेछैन, न निदाउनुहुनेछ। परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ; परमप्रभु नै तिम्रो दाहिने हातपट्टि तिम्रो छहारी हुनुहुन्छ। दिनको समयमा सूर्यले तिमीलाई पोल्नेछैन, न ता रातको समयमा चन्द्रमाले प्रहार गर्नेछ। परमप्रभुले तिमीलाई सबै खराबीबाट रक्षा गर्नुहुनेछ; उहाँले तिम्रो प्राणको सुरक्षा गर्नुहुनेछ। परमप्रभु तिम्रो जावत-आवत अहिलेदेखि सदा-सर्वदा रक्षा गर्नुहुनेछ।”

हामी परमेश्वरलाई धन्यवाद दिइरहौं कि उहाँले फूलको एक-एक मसिनो कुराको रचना गर्न कति धेरै ध्यान पुर्‍याउनुभयो अनि हावा र किरा फटेङ्ग्राहरूको रचना गर्नुभयो जसद्वारा आँखाले देख्न नसकिने परागकणहरूलाई ठीक समयमा ठीक ठाउँमा पुर्‍याउन बन्दोबस्त गर्नुभयो ताकि बीज उत्पादन हुन सकोस्। यही परमेश्वरले झन् कति बढ्ता गरी आफ्‍ना प्रिय जनहरूसित ध्यानपूर्वक व्यवहार गर्नुहुन्छ र उनीहरूलाई वास्ता गर्नुहुन्छ।

के तपाईं उहाँको हुनुहुन्छ? के तपाईं उहाँका जनहरूमध्येका हुनुहुन्छ?

Translated and published with permission from bibleline.org