Entries by Pradesh Shrestha

जिउँदो पानी

– प्रदेश श्रेष्ठ

नेपालका उच्च हिमचुलीहरूबाट करिब ३००० हिमनदीहरू बग्दछन्।  ती पग्लेर करिब ६००० नदीहरूमा मिसिन्छन्। हजारौं झरना, खोला, नदीनाला र तालहरूले सिंचित हाम्रो देश जलस्रोतमा धनी मात्र होइन अति सुन्दर पनि छ। तर हिमालको काखमा बसेर पनि धेरैले स्वच्छ पानी पिउन पाउँदैनन्। केवल २५ प्रतिशत जनसंख्यालाई मात्र सफा पानीको पहुँच छ। त्यसैले देशमा पखाला, टाइफाइड र हैजाको प्रकोप व्यापक छ। एक भनाइ छ, “शुद्ध पानी, स्वस्थ्य जीवन।”

तर जिउँदो पानी भने अर्कै हुन्छ। पानी शुद्ध पिए पनि तिर्खा फेरि लाग्छ। तर तिर्खा फेरि नलाग्‍ने जिउँदो पानीको रहस्य यहाँ बताउँदैछौं। यहाँ हामी जिउँदो पानीको मुहान देखाउँदैछौं। आउनुहोस्, पिउनुहोस् र आफ्नो सम्पूर्ण आत्मिक प्यास मेटाउनुहोस्। 

येशू र सामरी स्त्री

जिउँदो पानीको चर्चा येशूले एउटी स्त्रीसित गर्नुभयो जब उनी इनारमा पानी भर्न आइन्। उनी पाँच पटक पोइला गएकी स्त्री थिइन्। त्यसरी नै तृप्ति नदिने धन, मान, सत्ता र भोगविलासको पछाडि आज पनि मानिस कुदिरहेको छ। प्रिय पाठक, खुशी हुन र शान्ति पाउन तपाईं कस्ता प्रयास गर्दै हुनुहुन्छ?

जाँदछौ दुर-दुर सुखको खोजमा, पाउँदछौ केवल क्षणिक तृप्ति

एकान्तमा हृदय रुन्छ, खै कहाँ पायौ त साँचो शान्ति?

येशूले स्त्रीसित पानी माग्‍नुभयो। उनलाई कौतूहल लाग्यो, किनकि ती स्त्री सामरी थिइन्—एक मिश्रित जाति भएकाले सामरीहरूलाई छुवाछुतको व्यवहार गरिन्थ्यो। तर येशू मानिस मात्र होइन—उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वर पक्षपाती हुनुहुन्न। उहाँ सम्पूर्ण मानवजातिका सृष्टिकर्ता र मुक्तिदाता हुनुहुन्छ। ती स्त्रीले येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा चिन्न बाँकी थियो, तरैपनि अब उनी उहाँको कुरा सुन्न तयार भइन्।

“यदि तिमीले परमेश्वरको दानलाई जानेकी भए, र ‘मलाई पानी पिउन देऊ’ भनी तिमीलाई भन्ने को हो, चिनेकी भए तिमीले पो उनलाई माग्‍थ्यौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए।”(१) येशूको आशय स्पष्ट थियो— “आत्मिक तृप्ति दिने म नै हुँ।” हो, येशूले मात्र पापक्षमा र शान्ति दिनुहुन्छ। इनारलाई इङ्गित गर्दै येशूले भन्नुभयो, “यस पानीबाट पिउने हरेक फेरि तिर्खाउनेछ; तर जसले त्यो पानीबाट पिउला, जो म उसलाई दिनेछु, ऊ कहिल्यै तिर्खाउनेछैन; तर जुन पानी म उसलाई दिनेछु, त्यो ऊभित्र अनन्तजीवनका निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।”(२) अन्तत: सामरी स्त्रीको जीवन नयाँ भयो, जब उनले येशूमाथि विश्वास गरिन् र अनन्त जीवनको दान पाइन्।

फर्केर आऊ येशूकहाँ, पीर बिसाई लेऊ शान्ति

साँचो मुक्ति, साँचो शान्ति, चाहनुहुन्छ प्रभु दिन

समय हुँदै प्रभु येशूकहाँ आऊ न आऊ चाँडै लिन।

फोहोर मुहानको समस्या

पानीको भन्दा हृदयको प्रदूषण बढी घातक छ।

“अब शरीरका कामहरू प्रकट छन्, ती यी हुन्: परस्त्रीगमन, व्यभिचार, अशुद्धता, कामुकता, मूर्तिपूजा, टुनामुना, शत्रुता, झगडा, डाहा, क्रोध, विरोध, फूट, दलबन्दी, द्वेष, हत्या, मतवालापन, मोजमज्जा र यही प्रकारका कुराहरू; यस्ता-यस्ता काम गर्नेहरू परमेश्वरको राज्यका हकवाला हुनेछैनन्।”()

भन्नुपर्दा, मानिसको हृदय पापको फोहोरको मुहान बनेको छ। मानिसको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमन्ड, मूर्खता निस्कन्छन्; यी सबै खराब कुराहरू भित्रबाटै निस्कन्छन् र मानिसलाई अशुद्ध बनाउँछन्।(४) यसैकारण मानिसमा अशान्ति र असन्तुष्टि छ। सामरी स्त्रीलाई जस्तै, के तपाईंलाई पनि पापक्षमा, धार्मिकता र जिउँदो पानीको आवश्यकता छैन र?

जिउँदो पानी केहो?

इस्राएलका कतिपय भूमिहरू चुनढुङ्गाका पत्रले ढाकिएका पाइन्छन्। नेपालमा भूमिगत पानी भेट्न जमीनमा इनार खनिन्छ। तर प्राचीन इस्राएलमा आकाशे पानी जम्मा गर्न चुनढुङ्गामा १५-४० फिट गहिरो इनार खनिन्थ्यो र प्लास्टरले लेपिन्थ्यो। यसरी जमाइएको पानी प्रदूषित हुनु स्वाभाविक थियो। यसकारण इनारको पानीभन्दा मुहानमा उम्रिरहेको ताजा जरुवा पानीको बढी महत्त्व हुन्थ्यो। मुहानको पानीलाई जिउँदो पानी भनिन्थ्यो।

जिउँदो पानीको वरदान

येशूले अनन्त जीवनलाई जिउँदोपानीको उपमा दिनुभयो।“जुन पानी म उसलाई दिनेछु, त्यो ऊभित्र अनन्त जीवनका लागि उम्रिरहने पानीको मुहान बन्नेछ।”(२) उहाँमाथि विश्वास गर्नेले जिउँदो पानीरूपी अनन्त जीवन पाउँछन्। उनको आत्मा फेरि कहिल्यै प्यासा हुनेछैन। “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्‍नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो—उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।”(५)हामीलाई अनन्त जीवन दिनको लागि येशूले हाम्रा पापका लागि रगत बगाई क्रूसमा मर्नुभयो र तेस्रो दिनमा बौरनुभयो। उहाँको रगतको बलिदानमा मात्र पापक्षमा छ; उहाँको बौरिउठाइमा मात्र अनन्त जीवनको निश्चयता छ। उहाँमाथि विश्वास गर्नुहोस् र पापक्षमा, अनन्त जीवन, मुक्ति र शान्ति पाउनुहोस्।

अनन्त जीवन के हो?

“अनि तिनीहरूले तपाईं एकमात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्—अनन्त जीवन यही हो।”(६)

सत्य परमेश्वरलाई चिन्ने हो भने तपाईं मूर्तिपूजा छोडेर विश्वका सृष्टिकर्ता परमप्रभुकहाँ फर्किनुहोस् र येशूलाई ग्रहण गर्नुहोस्। बाइबलले भन्छ, “जतिले उहाँलाई ग्रहण गरे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो—अर्थात् तिनीहरूलाई, जसले उहाँको नाममा विश्वास गर्छन्”(७) जसरी शारीरिक जीवनको लागि पानी पिउनुपर्छ, त्यसैगरी आत्मिक जीवन पाउनका लागि तपाईंले येशूलाई हृदयदेखि लिनुपर्छ।

बाइबलले भन्छ, ख्रीष्ट येशू पापीहरूलाई मुक्ति दिनका लागि संसारमा आउनुभयो।() उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ र पितासँग उहाँ एक हुनुहुन्छ।() खानु, पिउनु वा लाउनु नै जीवन होइन। परमेश्वरलाई आफ्नो पिता भनी चिन्नु र उहाँको पुत्रलाई आफ्नो मुक्तिदाता भनी चिन्नु साँचो र अनन्त जीवन हो।

अनन्त जीवनको निम्ति निमन्त्रणा

बाइबलका भविष्यवाणीहरू तब पूरा भए जब ख्रीष्ट हाम्रा पापहरूका लागि मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौराइनुभयो।(१०) येशू ख्रीष्टको रगताम्मे बलिदानका कारण परमेश्वरले हामी अयोग्य पापीहरूसँग अनुग्रहपूर्ण व्यवहार गर्नुहुन्छ। यसको अर्थ, पुत्रमाथि विश्वास गर्नेहरूलाई उहाँले सित्तैंमापापक्षमा र अनन्त जीवन प्रदान गर्नुहुन्छ। तर परमेश्वरको अनुग्रहपूर्ण निमन्त्रणालाई अस्वीकार गर्नेहरू भने आफ्नै पापमा मर्नेछन् र परमेश्वरको डरलाग्दो न्यायमा पर्नेछन्। मित्र, मुक्तिदाता येशूलाई अस्वीकार नगर्नुहोस्! बरु आफ्नो पाप स्वीकारेर आफूलाई सत्य परमेश्वरतर्फ मोड्नुहोस् र अनन्त जीवन पाउनको निम्ति प्रभु येशू ख्रीष्टमाथि सम्पूर्ण हृदयले विश्वास गर्नुहोस्। जिउँदो पानीको मुहान येशू नै हुनुहुन्छ।

“आओ!” अनि जसले सुन्छ, उसले भनोस्: “आओ!” अनि जो तिर्खाउँछ, ऊआओस्। अनि जसले चाहन्छ, उसले सित्तैंमा जीवनको पानी लेओस्।(११)

बाइबल सन्दर्भ: (१) यूहन्ना ४:१०; (२) यूहन्ना ४:१३-१४; (३) गलाती ५:१९-२१; (४) मर्कूस ७:२१-२३; (५) यूहन्ना ३:१६; (६) यूहन्ना १७:३; (७) यूहन्ना १:१२; (८) १ तिमोथी १:१५; (९) यूहन्ना १०:३०; (१०) १ कोरिन्थी १५:३-४; (११) प्रकाश २२:१७