आधारात्मक बाइबल शब्दावली भाग ४

Study Series

आधारात्मक बाइबल शब्दावली भाग ४

डेविड क्लाउड

आशा (HOPE)

ख्रीष्टिय जीवनको कुरा गर्दा “आशा” भन्ने शब्दको माने हो ख्रीष्टमा भएको निश्चित, पक्का, निर्धक्कतापूर्ण मुक्ति। आशालाई सुरक्षित र दृढ लङ्गर (हिब्रू ६:१९), एउटा “बलियो सान्त्वना” (हिब्रू ६:१८), एउटा “अनन्त सान्त्वना” भनिएको छ (२ थेस्सलोनिकी २:१६)।

दैनिक जीवनमा प्रयोग गरिने “आशा” को अर्थभन्दा यो अर्थ ठीक विपरित छ। सामान्यतया हामी कुनै अनिश्चित कुरा व्यक्त गर्नुपर्दा यो शब्द प्रयोग गर्दछौं। कसैले यदि “म विदामा पहाड जाने आशा गर्दछु” भन्यो भने यसको मतलब ऊ निश्चित छैन भन्ने बुझिन्छ। येशू ख्रीष्टमा भएको मुक्ति ठीक विपरित छ; विश्वासी जन आफूले अनन्त जीवन पाएको छु भन्ने कुरामा निश्चित हुन सक्दछ।

यदि विश्वासीको मुक्ति अनिश्चित छैन भने यसलाई किन “आशा” भनिएको छ त? हामीले ख्रीष्टमा पाएको मुक्ति अनिश्चित भएकोले होइन तर त्यसलाई हामीले पूर्ण रूपमा उपभोग गर्न अझ बाँकी भएकोले हो (रोमी ८:२४-२५)।

महिमा (GLORY)

बाइबलमा “महिमा” ६ ओटा तरिकाले प्रयोग भएको छ:

  1. यसले गर्व गर्ने कामलाई जनाउँदछ (१ कोरिन्थी १:२९,३१; ३:२१; ४:७; ५:६; २ कोरिन्थी ५:१२; गलाती ६:१३)।
  2. यसले प्रशंसालाई जनाउँदछ (लूका २:१४; १७:१८; प्रेरित १२:२३; एफेसी १:६)।
  3. यसले परमेश्वरको चरित्रलाई जनाउँदछ: उहाँको पवित्रता, उच्च श्रेष्ठता, र ईश्वरीय सिद्धतालाई जनाउँदछ (यूहन्ना १:१४; रोमी १:२३)।
  4. यसले कुनै राजाको र तिनको राज्यको भव्यता र ऐश्वर्यलाई जनाउँदछ (मत्ती ६:२९; १९:२८; २५:३१; यूहन्ना १२:४१; १७:५,२२,२४; रोमी ९:२३; कलस्सी ३:४)।
  5. यसले परमेश्वरको उपस्थितिको वरिपरि हुने चम्किलो ज्योतिलाई जनाउँदछ। हेर्नुहोस् प्रस्थान १६:१०; ४०:३४,३५; लेवी ९:६,२३; गन्ती १४:१०; १ राजा ८:११; २ इतिहास ७:१-३; इजिकिएल १०:४; मर्कूस ९:२-३ (यस घटनालाई २ पत्रुस १:१७ मा “महिमा” भनिएको छ); १३:२६; लूका २:९; प्रकाश १:१६; २१:११,२३।
  6. यसले सुन्दरतालाई जनाउँदछ (यशैया २८:१; ६३:१)।

बाइबलले विश्वासीहरू ख्रीष्टसँग महिमामा हुनेछन् भन्नुको माने यसले माथिका सबै कुरालाई जनाउँदछ, अर्थात् ख्रीष्टको उपस्थिति र राज्यमा भएको प्रशंसा, श्रेष्ठता, ऐश्वर्य, पवित्रता, ज्यति र सुन्दरता भन्ने बुझिन्छ।

रहस्य (MYSTERY)

  1. सामान्य प्रयोगमा “रहस्य” भन्नाले कुनै गोप्य कुरा, बुझ्न गाह्रो कुरा, असाधारण र अर्कै आयामको कुरा भन्ने बुझिन्छ। बाइबलले यस शब्दलाई यस अर्थमा पनि कुनै कुनै ठाउँमा प्रयोग गर्दछ (एफेसी ५:३२; प्रकाश १७:५)।
  2. तर नयाँ नियमको धेरैजसो ठाउँमा प्रयोग भएको “रहस्य” भन्ने शब्दले ती सत्यताहरूलाई जनाउँदछ जो परमेश्वरले पुरानो नियमका समयहरूमा गोप्‍य राख्‍नुभएको थियो तर अब नयाँमा प्रकट गर्नुभएको छ। अर्थात् यस शब्दले यसले नयाँ नियमको प्रकाशलाई जनाउँदछ। विशेष गरी यसले मण्डली सम्बन्धित सत्यतालाई जनाउँदछ जसअनुसार अन्यजातितहरू र यहूदीहरू ख्रीष्टद्वारा एउटै नयाँ आत्मिक शरीरमा ल्याइएका छन् (मत्ती १३:११; १ कोरिन्थी २:७-१२; रोमी ११:२५; १६:२५-२६; एफेसी १:९; ३:१-१२; ६:१९; कलस्सी १:२५-२७; २:२; ४:३)। इस्राएलमा भएको परमेश्वरको मन्दिरले “रहस्य” शब्दको मानेलाई दर्शाउन मदत गर्दछ। पुरानो नियममा मन्दिरको बाक्लो पर्दाले परमेश्वरको उपस्थितिलाई छेकेको थियो, तर अब त्यो च्यात्तिएको छ र विगतमा छिपाइएका कुराहरू प्रकट भएका छन्।

चुनाउ (ELECTION)

बाइबलमा “चुनिएको” भन्ने शब्दले कम्तिमा चार कुराहरूलाई जनाउँदछ

  1. येशू ख्रीष्ट (१ पत्रुस २:६)
  2. शैतानसँगै पतन नभएका स्वर्गदूतहरू (१ तिमोथी ५:२१)
  3. परमेश्वरबाट चुनिएको इस्राएल जाति (रोमी ९:९-१३)। संसारको बीचबाट अब्राहामलाई बोलाउनुभयो, त्यसपछि इशमएलको सट्टा इसाहकलाई चुन्नुभयो, र एसावको सट्टा याकूबलाई चुन्नुभयो।
  4. येशू ख्रीष्टमा मुक्ति पाउनेहरू (मत्ती २४:२२,२४,३१; लूका १८:७; रोमी ८:३३; कलस्सी ३:१२; १ थेस्सलोनिकी १:४; २ तिमोथी २:१०; तीतस १:१; १ पत्रुस ५:१३; २ पत्रुस १:१०)। चुनाउलाई “पहिल्यै ठहर्‍याउनु” र “पहिल्यै ठहराएको” भनेर पनि बयान गरिएको छ (एफेसी १:५,११)।

मुक्तिका निम्ति चुनिएको भन्ने सम्बन्धमा केही पाठहरू

  1. चुनाउ परमेश्वरको पूर्वज्ञानमा आधारित कुरा हो (१ पत्रुस १:२)। परमेश्वरले यस युगमा मुक्तिको सुसमाचार सबै मानिसहरूलाई प्रदान गर्नुभएको छ र कस-कसले विश्वास गर्नेछन् र कस-कसले इन्कार गर्नेछन् भनेर उहाँ अगाडिबाटै जान्नुहुन्न।
  2. चुनाउको तात्पर्य यो हो कि परमेश्वरले मानिसको मुक्ति सृष्टिको शुरुआत हुनुभन्दा अगाडि नै योजना गर्नुभएको थियो (एफसी १:५,११)। यसको मतलब परमेश्वरले आफ्‍नो पूर्वज्ञानमा विश्वासीलाई एक महिमापूर्ण भविष्यको लागि पूर्वनिर्धारित गर्नुभएको छ (१ पत्रुस १:२-४); रोमी ८:२९-३०)। अर्थात् सवाल को-को पूर्वनिर्धारित भएका छन् भन्ने नभएर हामी केका लागि पूर्वनिर्धारित भएका छौं भन्ने हो।
  3. चुनाउको मतलब परमेश्वरले “सार्वभौम रूपले” कस-कसले मुक्ति पाउनेछन् र कसले पाउनेछैनन् भन्ने होइन। सबैले मुक्ति पाएको उहाँ चाहनुहुन्छ भनेर उहाँले प्रकट गरिसक्नुभएको छ (१ तिमोथी २:३-४; २ पत्रुस ३:९)। परमेश्वरको “सार्वभौम” इच्छा नै यो हो कि सबै मानिसहरूले मुक्ति पाऊन्! चुनिएकाहरू अर्थात् मुक्ति पाएकाहरू ती हुन् जस-जसले सुसमाचारलाई विश्वास गर्दछन् (यूहन्ना ३:१६)।

आधारात्मक बाइबल शब्दावली भाग ४ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. ख्रीष्टिय जीवनमा “आशा” को माने के हो?
  2. कुन पदले विश्वासीको आशालाई लङ्गरसित तुलना गरेको छ?
  3. कुन पदले विश्वासीको आशा सुरक्षित र दृढ छ भन्ने कुरा बताउँछ?
  4. कुन पदले विश्वासीको आशा “अनन्त सान्त्वना” हो भन्ने कुरा बताउँछ?
  5. विश्वासीको मुक्ति अनिश्चित छैन भने किन यसलाई आशाको संज्ञा दिइएको छ?
  6. बाइबलमा “महिमा” शब्दलाई कुन छ तरिकामा प्रयोग गरिएको छ?
  7. नयाँ नियममा “रहस्य” भन्ने शब्द प्रायः कुन अर्थमा प्रयोग भएको छ?
  8. “चुनिएको” भन्ने शब्दले कुन चार कुरालाई जनाउँछ?
  9. मुक्तिको निम्ति चुनाउ सम्बन्धी तीनओटा पाठहरू के के हुन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email