परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ?

परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ?
रोमी १२
डेविड क्लाउड
कण्ठ गर्नुपर्ने पदहरू: रोमी १२:१-२
यस संसारमा परमेश्वरको एउटा ठूलो काम छ र यस काममा भाग लिन उहाँले आफ्ना जनहरूलाई बोलाउनुभएको छ भन्ने कुरा हामी रोमी १२ अध्यायमा देख्छौं। हरेक विश्वासीको निम्ति परमेश्वरको एउटा सिद्ध इच्छा छ। यदि तपाईंले मुक्ति पाउनुभएको छ भने तपाईं परमेश्वरको सेवामा बोलाइनुभएको छ।
परमेश्वरको इच्छा जाँचेर थाहा गरिनुपर्छ भन्ने कुरा हामी यहाँ देख्छौं। मुक्ति सित्तैंको दान हो तर परमेश्वरको इच्छा एउटा इनाम हो जसको निम्ति हामी लागिपर्नु आवश्यक छ।
मुक्ति पाइसकेपछि परमेश्वरको इच्छा जान्न चाहने व्यक्तिको लागि रोमी १२ मा पाँच खुड्किलाहरूलाई जोड दिइएको छ।
१) परमेश्वरको इच्छा जान्न हामीले आज नै परमेश्वरको इच्छा गर्नुपर्छ (रोमी १२:१-२)।
बाइबलअनुसार परमेश्वरको इच्छा भनेको आज नै गरिने कुरा हो, न कि भोलि म केही गरूँला भन्ने कुरा। विश्वासी वर्तमानको बारेमा गनगन गर्छ वा अल्छी बन्छ र भविष्यलाई मात्र हेरी बस्छ र बेग्लै खालको परिस्थितिको आशा गरी बस्छ र परिस्थिति बदलिए म परमेश्वरको इच्छा पूरा गरूँला भनेर सोची बस्छ भने उसले कहिल्यै परमेश्वरको इच्छा गर्नेछैन। भविष्यलाई हामीले परमेश्वरको हातमा छोडिदिनुपर्छ र आजका परिस्थितिहरू जतिसुकै कठिन भए तापनि हामीले आजकै अवसरहरूलाई काममा लगाउनुपर्छ।
हाम्रा जीवनका सबै परिस्थितिहरू परमेश्वरकै हातमा छन् (रोमी ८:२८, १ कोरिन्थी १७-२४)। परिस्थितिलाई हेरेर गनगन गर्नुचाहिँ परमेश्वरको इच्छाको विरुद्धमा गनगन गर्नु हो। यो एकदमै ठूलो पाप हो जुन पाप इस्राएलीहरूले बारम्बार उजाडस्थानमा दोहोर्याएका थिए (१ कोरिन्थी १०:१०)।
यो कुरा नयाँ विश्वासीहरूलाई लागु हुन्छ। तपाईं जुन परिस्थितिमा हुनुहुन्छ त्यही परिस्थितिलाई स्वीकार गर्दै आत्मिक रूपमा बढ्नलाई र ख्रीष्टको सेवा गर्नलाई आफूले जे-जे जान्नुभएको छ तिनलाई गर्न थालेर नै परमेश्वरको इच्छा शुरू हुन्छ। मैले मुक्ति पाएको पहिलो सालमा मैले कस्तो सेवकाई गरेको परमेश्वर चाहनुहुन्थ्यो भन्ने कुरा मलाई थाह थिएन। मलाई यति मात्र थाह थियो कि मैले बाइबल सिक्न अनि मण्डलीमा विश्वासयोग्य हुन अनि बाइबलले जे-जे गर्न मलाई सिकाउँछ त्यही मैले गर्न थाल्नुपर्छ भन्ने कुरा मलाई थाह थियो र मैले त्यही गर्न थालेँ। मेरो जीविकोपार्जनको लागि त्यसबेला म एउटा छापाखानामा मेशिन चलाउने काम गर्थें तर त्यो पेशा नै मेरो जीवन त थिएन। मेरो जीवन परमेश्वरलाई खोज्नु र ख्रीष्टको सेवा गर्नु थियो र परमेश्वरको इच्छाको निम्ति आफैलाई तयारी पार्नु थियो। यसरी मैले उक्त अवसरद्वारा पूरा फाइदा लिन सकेँ र आउने दिनका लागि एउटा असल जग बसाल्न सकेँ।
यो कुरा अविवाहितहरूलाई लागु हुन्छ। बाइबल कलेजमा मेरो एकजना साथी थियो जो सधैं पत्नी पाउने बारेमा धेरै समय चिन्तामा बिताउँथ्यो, यतिसम्म कि पढाइमा ध्यान दिने उसको क्षमतामा ह्रास आयो। यदि मैले विवाह गरेको छैन भने यो कुरा वर्तमान समयको लागि फाइदाजनक छ भन्ने कुरा मैले महसुस गर्नुपर्छ किनकि म बढी समय प्रभुको निम्ति अलग गर्न सक्छु अनि मैले यो समयलाई काममा लगाउनुपर्छ र भविष्यको बारेमा प्रभुमा भरोसा गर्नुपर्छ (१ कोरिन्थी ७:३२-३४)। विवाहको शुरुआत परमेश्वरले गर्नुभएको हो र कसरी ठीक समयमा ठीक जोडीहरूलाई मिलाउनुपर्छ भन्ने कुरा उहाँ जान्नुहुन्छ।
यो कुरा विवाहितहरूलाई लागु हुन्छ। तपाईंको जीवनसाथीले मुक्ति पाएको होस् वा नहोस् सम्भव भएसम्म त्यही अवस्थामा नै आफ्नो जीवनसाथीलाई नछोडी परमेश्वरको सेवा गर्नु परमेश्वरको इच्छा हो (१ कोरिन्थी ७:१२-१७)। तपाईंसँग छोराछोरी भए पनि, नभए पनि परमेश्वरको सेवा गर्नुपर्छ। गर्भमाथि परमेश्वरको नियन्त्रण हुन्छ (उत्पत्ती २०:१८, २९:३१, ३०:२२)। यदि तपाईंसँग छोराछोरी छन् भने तिनीहरूलाई वाधकका रूपमा नहेर्नुहोस्। बरु तिनीहरूलाई परमेश्वरको महिमाको लागि हुर्काउन आफैलाई अर्पण गर्नुहोस्। यदि तपाईंसँग छोराछोरी छैनन् भने चिन्ता नगर्नुहोस्। तपाईंले परमेश्वरको सेवा गर्न पाउनुभएको अवसरलाई प्रयोग गर्नुहोस् र परमेश्वरले उहाँको आफ्नै समयमा र इच्छाअनुसार छोराछोरी प्रबन्ध गर्नुहुन्छ भनी जानेर उहाँको बाटो हेर्नुहोस्।
यो कुरा युवाहरूलाई लागु हुन्छ। युवा अवस्था फाइदाजनक छ र बेफाइदाजनक पनि छ। युवाले परमेश्वरलाई जान्न र उहाँको सेवा गर्न उसको युवा अवस्थामा नै आफूलाई समर्पण गर्नुपर्छ। पछि सेवा गर्छु अहिले गर्दिनँ भन्नु हुँदैन। धेरै युवाहरूले आफ्नो जीवनको बारेमा धेरै व्यर्थका कुरा, मूर्ख कुरा सोच्छन् तिनीहरू आफ्नो जीवनको बारेमा बूढो भएपछि मात्र गम्भीर हुन्छौं भन्ने विचार गर्छन्। तिनीहरूले यसरी युवा अवस्थाको सुन्दर अवसरलाई खेर फाल्दछन् र भविष्यको लागि युवा अवस्थामा नै तयार हुनुपर्ने कुरामा चुक्छन्।
२) परमेश्वरको इच्छा जान्न समर्पणता र लगनशीलता चाहिन्छ (रोमी १२:१)।
आफ्नो शरीरलाई जिउँदो बलिदानको रूपमा चढाउनुको माने आफ्नो शरीर र आफ्नो जीवनलाई ख्रीष्टको सेवामा लगाउनु हो।
यो एक स्वेच्छापूर्वक गरिने निर्णय हो। हामीले मुक्ति पाउनैपर्छ भनेर परमेश्वरले हामीसित जबरजस्ती गर्नुहुन्न र मुक्ति पाएपछि हाम्रो जीवन सम्पूर्ण रूपमा उहाँलाई समर्पण गर्नैपर्छ भनेर पनि उहाँले हामीसित जबरजस्ती गर्नुहुन्न। यो काम हामीले इच्छुक हृदयले गरेको उहाँ चाहनुहुन्छ। त्यसैले परमेश्वरको इच्छा जान्न चाहनेहरूले कठिन निर्णयहरू गर्नुपर्ने हुन्छ। मैले स्वार्थी इच्छाहरूको पछि लाग्नु भन्दा ख्रीष्टलाई आफनो जीवन समर्पण गर्न रोज्नुपर्छ। मैले शरीरलाई इन्कार गर्नुपर्छ र पवित्र आत्माको पछि लाग्नुपर्छ। धेरैजसो मानिसहरूले आफ्ना जीवनहरू पैसा, मोजमज्जा, ऐस-आराम, सुरक्षा, प्रतिष्ठा र अरू यस्ता कुराहरूका निम्ति समर्पित गर्दछन्। परमेश्वरको सन्तानलाई यीभन्दा उच्च बोलावटको पछि लाग्न सौभाग्य छ।
यो एक परमेश्वरको प्रेमको उत्प्रेरणाले गरिने निर्णय हो। हामी परमेश्वरलाई प्रेम गर्छौं किनभने उहाँले हामीलाई पहिला प्रेम गर्नुभयो। हामी मुक्ति पाउन भनी परमेश्वरको इच्छालाई पछ्याउँदैनौं; तर मुक्ति पाएको हुनाले हामी परमेश्वरको इच्छालाई पछ्याउँछौं र हामी उहाँलाई खुसी पार्न चाहन्छौं जसले हामीलाई उहाँको अनुग्रहद्वारा कलवरीको क्रूसमा ठूलो मूल्य तिरीकन बचाउनुभयो।
यो एक उचित निर्णय हो। यो उचित हो किनभने परमेश्वरलाई चिन्नु र उहाँको सेवा गर्नु जीवनकै उद्देश्य हो (उपदेशक १२:१३)। यो उचित हो किनभने परमेश्वरको इच्छाबाट अलग भएर बिताइने जीवन व्यर्थ हो। उपदेशकको पुस्तकको मुख्य विषय यही हो। यदि म आफ्नो जीवन परमेश्वरको सेवाको निम्ति भन्दा अरू कुरा गर्न प्रयोग गर्छु भने मैले यो जीवन व्यर्थैमा फालिरहेको हुन्छु। साथै ख्रीष्टमा मेरो जीवन समर्पण गर्न एकदमै उचित छ किनभने यसले ठूलो इनाम ल्याउँदछ (हिब्रू ११:२४-२७)। पछिबाट शहीद बनेका एकजना मिसनरीले भने, “त्यो मूर्ख होइन जसले गुमाउन नसकिने कुरालाई प्राप्त गर्न जोगाउन नसकिने कुरालाई सुम्पिदिन्छ”।
यो एक व्यक्तिगत निर्णय हो। युवाहरू धेरै पटक आफ्ना साथीहरूले के सोचिरहेका छन् वा के गरिरहेका छन् भन्ने कुरामा एकदमै चासो राख्छन्। उनीहरू “समक्षकीहरूको दबाब” प्रति संवेदनशील बन्ने गर्छन्, तर म परमेश्वरको इच्छा जान्न चाहन्छु भने म त्यसभन्दा माथि उठ्नुपर्छ र परमेश्वरलाई मात्र खुशी पार्नलाई ध्यानकेन्द्रित हुनुपर्छ।
यो एक दैनिक निर्णय पनि हो। प्रभुको इच्छामा आफैलाई सुम्पने कुरा केवल एकचोटि मात्र गरेर हुने कुरा होइन तर यो कुरा बारम्बार गरिनुपर्ने कुरा हो। कति पटक मानिसहरू मण्डलीमा वा बाइबल सम्मेलनमा सुनेको प्रवचनले जोशले भरिन्छन् र प्रभुको इच्छाको लागि आफूलाई सुम्पन्छन् तर जब जीवनका नानाथरीका कठिनाइ र आत्मिक लडाईंको सामना गर्नुपर्दा उनीहरूको त्यो समर्पणता सेलाएर जान सक्छ यदि दैनिक रूपमा त्यसलाई नवीकरण गरिएन भने।
३) परमेश्वरको इच्छा जान्न अलगपनता चाहिन्छ (रोमी १२:२)।
संसारका दुष्ट कुराहरूदेखि अलग हुनुपर्ने कुरा परमेश्वरको इच्छा जान्ने सम्बन्धमा मुख्य विषय हो। संसारको दुष्ट कुराबाट अलग हुने कुरा ऐच्छिक विषय होइन, यो हरेक विश्वासीलाई गर्नै पर्ने अनिवार्य कुरा हो किनभने परमेश्वर पवित्र हुनुहुन्छ र यो दुष्ट संसार परमेश्वरको विरोधमा छ।
“संसारसित एकनासे नहोओ” भन्ने आज्ञाले हामी स्वभावैले कमजोर छौं अनि संसारद्वारा हामी सजिलै ढालिन सक्छौं भन्ने कुरालाई इङ्गित गर्दैछ। संसार आफ्नो दृष्टिकोणको प्रचार-प्रसार गर्नमा जोशिलो छ। संसार चुप लागेर बस्दैन र त्यो आफ्नै सुरमा हिँड्न सन्तुष्ट छैन। संसारले विश्वासीलाई आफ्नो विचारधारा र जीवन शैलीमा ढाल्न खोज्छ। रक सङ्गीतकार कोर्टनी लवले भनेकी छन्,”म आफ्नो विचारधारालाई समाज-संस्कृतिमाथि लाद्न चाहन्छु” (स्पीन पत्रिका, Oct.1988, p.100)।
तसर्थ परमेश्वरको इच्छा जान्नलाई अलगपनताको नितान्त खाँचो छ। निम्नलिखित महत्त्वपूर्ण पदहरूलाई ध्यान दिनुहोस्: एफेसी ५:११, तीतस २:२, याकूब ४:४, १ यूहन्ना २:१५-१७।
संसार, ख्रीष्टिय परिवारहरू र मण्डलीहरूमा रक एण्ड रोल पप संस्कृति (rock & roll pop culture) को माध्यमद्वारा प्रचुर मात्रामा छिरेको छ तर परमेश्वरको सिद्ध इच्छा जान्न चाहने विश्वासीले त्यसलाई इन्कार गर्नुपर्छ र परमेश्वरको पवित्रता र धार्मीक्ताको पछि लाग्नुपर्छ।
४) परमेश्वरको इच्छा जान्नलाई बदली हुँदै जान खाँचो छ (रोमी १२:२)।
परमेश्वरको इच्छा जान्न समर्पणता र अलगपनताले मात्र पुग्दैन। परमेश्वरको इच्छा जान्न आत्मिक रूपमा बदली हुँदै जान खाँचो छ। यसले ख्रीष्टिय जीवनमा बढ्दै जाने प्रकृयालाई जनाउँछ र यो नै संसारमाथि विजयी हुने उपाय हो। बदली हुने प्रकृयाद्वारा विश्वासीमा ख्रीष्टको स्वरूप यति मजबुत गरी निर्माण हुँदै जान सक्छ कि संसारले उसलाई आफ्नो मूर्ख र भ्रष्ट स्वरूपमा ढाल्न सक्नेछैन।
आत्मिक बदली परमेश्वरको वचनद्वारा मनको नयाँ हुवाइद्वारा आउँछ। हामीले परमेश्वरका विचारहरू सोच्न सिक्नुपर्छ जसको फलस्वरूप जीवनको बदली हुन्छ। अनि परमेश्वरका विचारहरू सोच्न हामीले परमेश्वरको वचन पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ र मनन गर्नुपर्छ। परमेश्वरको वचन जानेर नै हामी परमेश्वरको इच्छा जान्नेछौं। परमेश्वरको वचनमा ख्रीष्टको मन अन्तर्निहित छ (१ कोरिन्थी २:१६) अनि उहाँले अगुवाइ गर्ने आफ्नो वचनद्वारा नै हो (भजनसङ्ग्रह १:१-३; ७३:२४; ११९:९; यूहन्ना ८:३१-३२)। धुलोले ढाकिएको बाइबल फोहोर हृदयको सङ्केत हो। कि त बाइबलले तपाईंलाई पापदेखि अलग राखेको हुन्छ, कि त पापले तपाईंलाई बाइबलदेखि अलग राखेको हुन्छ। परमेश्वरले बाइबलको विपरितमा कहिल्यै अगुवाइ गर्नुहुन्न। जस्तै, परमेश्वरले एक पत्नीलाई आफ्नो पतिलाई त्यागेर परपुरुषको पछि लाग्न वा एउटा पतिलाई आफ्नी पत्नीलाई त्यागेर परस्त्रीको पछि लाग्न अगुवाइ गर्नुहुन्न (मत्ती १९:९-१०; १ कोरिन्थी ७:१०-११)। परमेश्वरले एक स्त्रीलाई प्रचारक बन्न अगुवाइ गर्नुहुन्न (१ तिमोथी २:१२)। परमेश्वरले मानिसहरूलाई झूटा शिक्षा र अभ्यासभित्र अगुवाइ गर्नुहुन्न (रोमी १६:१७)। परमेश्वरले कुनै पुरुषलाई पास्टर बन्न अगुवाइ गर्नुहुन्न यदि ऊ त्यसको लागि दानप्रदत्त र योग्य छैन भने (१ तिमोथी ३:१-७)। उहाँले विश्वासीलाई अविश्वासीसँग विवाह गर्न वा व्यापारमा साझेदारी हुन अगुवाइ गर्नुहुन्न (२ कोरिन्थी ६:१४-१८)। उहाँले एक आमालाई आफ्नो घरको हेलचेक्र्याइँ हुने गरी पेशागत काममा हात हाल्न अगुवाइ गर्नुहुन्न (तीतस २)। उहाँले विश्वासीलाई मण्डलीदेखि टाढा रहनुपर्ने किसिमको पेशागत काम गर्नलाई अगुवाइ गर्नुहुन्न (हिब्रू १०:२५)।
आत्मिक बदली पवित्र आत्माको सामर्थ्यद्वारा आउँछ। हामीले आफूलाई पवित्र आत्माको नियन्त्रणमा सुम्पनुपर्छ, उहाँलाई नै हाम्रो गाडीरूपी जीवनको चालक हुन दिनुपर्छ। “आत्माले भरिनु” भनेको यही हो। हेर्नोस् गलाती ५:१६-१७; एफेसी ४:३०,५:१८।
आत्मिक बदली एउटा प्रक्रिया हो। यो रातारात हुने कुरा होइन। बदली हुन समय लाग्छ, यसमा लागिरहनुपर्छ र समर्पणता चाहिन्छ। बदली हुँदै जाने हो भने बाइबल पढ्ने, गुप्तमा प्रार्थना गर्ने, मण्डली सभाहरूमा उपस्थित हुने जस्ता आत्मिक बानीहरू बसाल्नु आवश्यक छ।
५) परमेश्वरको इच्छा जान्न सेवारत हुनुपर्छ (रोमी १२:३-६)।
परमेश्वरको सिद्ध इच्छा जान्न ख्रीष्टमा समर्पित भएर, संसारबाट अलग भएर, र बाइबल पढेर मात्र पुग्दैन तर परमेश्वरको सेवामा व्यस्त हुनुपर्छ। यसले चेलापनलाई जनाउँछ।
परमेरश्वरको इच्छा थाहा पाउनु भनेको कुनै कुरा अकस्मात् नभएसम्म निष्क्रिय भई पर्खेर बस्नु होइन। बरु कुनै पनि घडीमा आफूले जे गर्नुपर्छ भनेर थाहा छ त्यो गर्नमा व्यस्त रहनु हो। अनि त्यसरी अगाडि बढ्ने क्रममा परमेश्वरले मलाई उहाँको सिद्ध इच्छामा पलपलमा, कदमकदममा, दिन प्रति दिन, हप्ता-हप्तामा, एक देखि अर्को वर्षमा डोर्याउँदै लानुहुन्छ। बाइबल पढ्दै जाँदा हामीले बाइबलको आज्ञापालन गर्दै जानुपर्छ अनि त्यसो गर्ने क्रममा हामी परमेश्वरको इच्छामा हिँडिरहेका हुन्छौं।
सेवकाइका दुई पक्षहरू छन् भन्ने कुरा रोमी १२ अध्यायले हामीलाई सम्झना गराउँछ। त्यहाँ साधारण सेवकाइ (रोमी १२:९-२१) छ र विशेष सेवकाइ (रोमी १२:६-८) पनि छ। हरेक विश्वासीको निम्ति परमेश्वरबाटको विशेष दान र सेवकाइ हुन्छ र उक्त विशेष दान र सेवकाइ थाहा पाउनलाई हामी परमेश्वरको साधारण बोलावटमा व्यस्त भइरहनुपर्छ जुनचाहिँ आज्ञाकारी र पवित्र जीवनमा हिँड्दै जानु हो। जब विश्वासीले बाबुआमाको आज्ञापलन गर्ने, आफ्नी पत्नीलाई प्रेम गर्ने, आफ्नो पतिलाई आदर गर्ने, मण्डलीप्रति विश्वासयोग्य हुने, सुसमाचार प्रचार गर्ने, दुष्ट कुराबाट अलग रहने, दशांसा दिने र प्रार्थना गर्ने जस्ता परमेश्वरले चाहनुभएका र उसले जानेकै कुराहरूमा अगाडि बढ्छ तब परमेश्वरले उसलाई अगुवाइ गर्दै जानुहुन्छ र उसको लागि उहाँबाटको विशेष सेवकाइ र दानलाई झन् झन् स्पष्टरूपले प्रकट गर्दै लानुहुन्छ।
रोमी १२ मा हामी देख्छौं कि परमेश्वरको इच्छा जान्नलाई सचेत भएर सोच्न खाँचो छ (रोमी १२:३)। यसको मतलब मैले मेरो खास बोलावटलाई जान्नुपर्छ र आफ्नो विषयमा सोच्नुपर्ने भन्दा अत्यन्तै बढी सोच्नुहुन्न। यहाँ नम्रताको आवश्यकता छ। परमेश्वरले मलाई जति दिनुभएको छ त्यो भन्दा पनि बढी मैले पाउनुपर्छ भनेर सोच्नु हुँदैन। उदाहरणको लागि, नेपालमा एकजना दुई फुट अग्लो मान्छे छ। ऊ संसारकै सबभन्दा पुड्को मान्छे हो। बाइबलअनुसार उसलाई परमेश्वरले नै बनाउनुभएको हो र उसले येशू ख्रीष्टमा विश्वास गरेको खण्डमा र उहाँको इच्छा खोजेको खण्डमा उसले आफ्नो विषेश दान र सेवकाइलाई थाह पाउन सक्नेछ तर उसले आफ्नो विशेष अवस्थाको पनि ख्याल राख्न आवश्यक पर्नेछ। यदि ऊ पेशागत बास्केटबल खेलाडी हुन चाहेमा ऊ अवश्य नै एकदम निराश बन्नेछ! कति मानिसहरू राम्ररी गीत गाउन सक्दैनन्, तर उनीहरू गायक हुन चाहन्छन्। कतिजना नानीहरूसँग काम गर्न सिपालु हुँदैनन्, तर तिनीहरू नानीहरूसित सम्बन्धित सेवकाइमा लाग्न चाहन्छन्। कति मानिसहरू प्रचार गर्नै सक्दैनन्, तर पनि प्रचारक हुन चाहन्छन्। कतिजनामा पास्टर हुन योग्य छैनन् तर पास्टर हुन चाहन्छन्। मैले कतिजना यस्ता मानिसहरू देखेको छु जोहरू परमेश्वरले उनीहरूलाई जुन व्यक्ति बन्नलाई बोलाउनुभएको थियो त्यसमा सन्तुष्ट नभएर उनीहरू अर्कै व्यक्ति बन्न चाहे र फलस्वरूप उनीहरू जीवनदेखि असन्तुष्ट र निराश बने र साथै मण्डलीमा गडबडी पनि ल्याए।
सचेत भएर सोच्नुको मतलब विश्वासीले आफ्नो विषयमा सोच्नुपर्ने भन्दा अत्यन्तै कम पनि सोच्नु हुँदैन। हरेक विश्वासीको विशेष बोलावट हुन्छ। वर्तमान संसारमा प्रभुले गरिरहनुभएको काममा उसको एउटा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । मानव शरीरमा धेरै अङ्गहरू हुन्छन् र सिङ्गो शरीरको कामकुरामा प्रत्येक अङ्गको महत्त्वपूर्ण भूमिका हुन्छ। मण्डलीमा पनि यस्तै हुन्छ।
रोमी १२ ले परमेश्वरको इच्छा जान्नलाई मण्डली अनिवार्य छ भन्ने कुरा हामीलाई सम्झना गराउँछ। पावलले ४ पदमा “शरीर” लाई उल्लेख गर्दछन्। यसले मण्डलीलाई जनाउँछ। मण्डली सत्यको खाँबो र जग हो र परमेश्वरको घर हो (१ तिमोथी ३:१५)। चेला बनाउन र तालिम दिनलाई परमेश्वरले नियुक्त गर्नुभएको संस्था मण्डली हो। मण्डली आत्मिक सुरक्षाको ठाउँ हो। मण्डली विश्वव्यापी सुसमाचार प्रचारको केन्द्रिय कार्यालय हो। प्रथम मिसनरीहरू मण्डलीबाटै पठाइएका थिए (प्रेरित १३:१-४)।
परमेश्वरको इच्छा जान्ने काम जटिल काम होइन। केवल परमेश्वरमा आफूलाई समर्पण गर्नुपर्छ र तपाईं जहाँ हुनुहुन्छ त्यहीँबाट शुरु गरेर प्रत्येक पाइला-पाइलामा उहाँको आज्ञापालन गर्नुपर्छ। हेर्नोस् भजनसङ्ग्रह ३७:२३।
परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ सम्बन्धी पुनरावलोकन प्रश्नहरू
- परमेश्वरको इच्छा जान्नलाई आवश्यक पाँचओटा कुराहरू के-के हुन्?
- परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन् भन्ने कुरा कुन पदले भन्दछ?
- इस्राएलीहरूले उजाडस्थानमा पटकपटक दोहोर्याएको पाप के थियो?
- यदि विश्वासीको अविश्वासी पति वा पत्नी छ भने के उसले आफ्ना पति वा पत्नीलाई छोड्न मिल्छ?
- धेरैजना युवाहरू आफ्नो युवावस्थालाई के गर्छन्?
- आफ्नो शरीरलाई जिउँदो बलिदानको रूपमा चढाउनुको माने के हो?
- ख्रीष्टको सेवा गर्नु किन उचित छ?
- मोशाले परमेश्वरको सेवा गर्न निर्णय गरेको कुरा कुन पुस्तकको कुन अध्यायमा बयान गरिएको छ?
- संसार कुन हिसाबले प्रचार-प्रसार गर्नमा तल्लीन छ?
- रोमी १२:२ को अतिरिक्त, संसारबाट अलग हुनुपर्छ भनेर सिकाउने अन्य चारओटा प्रमुख खण्डहरू कुन-कुन हुन्?
- आत्मिक बदली कसरी आउँछ?
- जवान मानिसले परमेश्वरको वचनलाई ध्यान दिएर नै आफ्नो चाल शुद्ध राख्न सक्छ भनेर बताउने पद कुन हो?
- सेवकाइका दुई पक्षहरू के-के हुन्?
- विश्वासीले आफ्नो बोलावटको बारेमा सचेत भएर सोच्ने कसरी हो?
- परदेशहरूमा प्रथमपटक मिसनरीहरू पठाउने संस्था कुन थियो?
- परमेश्वरको इच्छामा आफूलाई समर्पण गरेर पछुताएका कतिजनालाई तपाईंले भेट्नुभएको छ?
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।