स्वेच्छाचारी ख्रीष्टियनका सन्तापहरू

स्वेच्छाचारी ख्रीष्टियनका सन्तापहरू

 

स्वेच्छाचारी ख्रीष्टियनका सन्तापहरूको निम्न लिखित विस्तृत अध्ययनले पाप र संसारिकपनामा जीवन बिताइरहेका साँचो विश्वासीहरूको बारेमा बाइबलले के भन्छ भनी जान्न हामीलाई मद्दत गर्नेछ:

परमेश्वरसितको टुटेको सङ्गति

ख्रीष्टियन जीवनका आशिषहरू असिमित छन्, तर तीमध्ये एउटा चाहिँ ती अरु सबै एकमुष्ठ राखिएको बाँकी आशिषहरू भन्दा पनि धेरै मुल्यवान छ, र त्योचाहिँ ख्रीष्टमा परमेश्वरसितको सङ्गति हो। मुक्ति पाएको मानिस दिन व दिन र हरेक पल पलमा परमेश्वरसित हिँड्न र कुरा गर्न सक्छ। येशू ख्रीष्टको रगतले उसको आत्मा र परमेश्वरको बीच पापको कारणले एक समयमा रहेको त्यो ठूलो खाँदलाई सदाको निम्ति हटाइदिएको छ। ख्रीष्टको रगतमा राखिएको विश्वासद्वारा, एउटा विश्वासी महान् र उदेकको परमेश्वरको उपस्थितिमा प्रवेश गर्छ।

समाजको नजरमा एउटा विश्वासी कुनै मूल्यको नहोला, तर ऊ महिमाको परमेश्वरसित हिँड्न सक्छ। मानिसहरूद्वारा ऊ दोष लगाइएको होला, घृणा गरिएको होला, तर ऊ परमेश्वरको आँखाको नानी हो, र उसले परमेश्वरको स्नेहमा न्यानोपन पाउँछ। एउटा ख्रीष्टियनको कुरा यस संसारका मान्यगन्यहरू मध्ये एउटैले पनि नसुन्लान्, तर राजाहरूका राजासित इच्छ्याएको बेला उसले बातचित गर्न सक्छ। एउटा विश्वासीले रोग-बिमार, गिल्ला र खिल्ली, गरिबी, र अन्य धेरै कष्टप्रद परीक्षाहरू सहनुपर्ने हुन सक्ला, तर परमेश्वरसित हिँड्ने मानिसले यो सिक्न सक्छ कि त्यस सङ्गतिमा आनन्द, शान्ति, मीठास र बुद्धि छ अनि सबै परीक्षाहरूको चरम तीतोपनलाई मत्थर पार्ने सामर्थ्य छ। एउटा ख्रीष्टियन मान्छेको साथ नपाएर एक्लो हुन सक्ला; उनको मित्रहरूले पनि उसलाई त्याग्लान्, तर उसलाई थाहा छ कि उसित एकजना साथी छन् जो भाइभन्दा पनि बढी नजिकमा टाँसिन्छन्।

परमेश्वरसित सङ्गति गर्नु कत्रो सम्पत्ति! र यो सम्पत्ति येशू ख्रीष्टद्वारा पाइएको हो। बहुमूल्य प्रभु येशू, महिमाको परमेश्वर, मानिसहरूको आनन्द, इनामहरूको पनि इनाम, विश्वासीहरूको हिस्सा हुनुहुन्छ। उहाँ विश्वासीहरूका, र विश्वासीहरू उहाँका हुन्। एउटा ख्रीष्टियन उहाँकै शरीरका, उहाँकै मासुका, उहाँकै हड्डीहरूका अङ्ग हो (एफेसी ५:३०); यसरी परमेश्वर र विश्वासीबीच गहिरो सम्बन्ध हुन्छ।

ख्रीष्टमा यी सबै कुरा पाइसकेको भए तापनि; यस जीवनमा ख्रीष्टलाई आफ्नो हिस्सा बनाउन रोजेर मात्र एउटा विश्वासीले दैनिक रूपमा यी कुराहरूको आनन्द मनाउन सक्छ। एउटा विश्वासीले ज्योतिमा हिँड्न, खुरन्धार परमेश्वरको इच्छा पछ्याउन, आफ्नो पापहरू स्वीकार गर्न रोज्नुपर्छ, नत्रता परमेश्वरसँगको सङ्गतिमा रमाउन ऊ विफल हुन्छ जसको निम्ति उसले छुटकारा पाएको थियो।

परमेश्वरसँको सङ्गतिमा नहिँडेर, विश्वासीले माथि उल्लेखित आनन्दहरू र यावत थोकहरू गुमाइरहेको हुन्छ। परमेश्वरसँग टुटेको सङ्गति चाहिँ कमजोर, रोकिएको प्रार्थना, आत्मिक अगुवाइको अभाव, पाप र शैतानमाथि सामर्थ्यको अभाव, आत्मिक समझदारी र इच्छामा अभाव इत्यादि कुराहरूमा प्रकट हुन्छ। कत्रो नोक्सान!

जीवनमा सबैभन्दा बहुमूल्य आशिष नै ख्रीष्टमा परमेश्वरसँगको सङ्गति हो। परमेश्वरको सन्तानको सबैभन्दा धन्य हिस्सा एउटा विश्वासीको निम्ति गुमेको हुन्छ जसले स्वीकार नगरेको पापमा र संसारिकपनामा जीवन बिताएको हुन्छ।

परमेश्वरको ताडनाको हात

परमेश्वरका सन्तानहरू पापमा जीवन बिताइरहेको बेला उहाँ चुपचाप बस्नुहुँदैन। उहाँको सिद्ध इच्छामा ल्याउन उहाँले प्रभावशाली कदमहरू चाल्नुहुन्छ। उहाँले पवित्र शास्त्रहरूबाट हप्काउनुहुन्छ (२ तिमोथी २:२५; ३:१६)। उहाँले शैतानबाट क्लेशहरू आउन दिनुहुन्छ (१ तिमोथी १:२०)। उहाँले रोगहरूद्वारा र दैनिक जीवनका परिस्थितिहरूद्वारा ताडना दिनुहुन्छ (भजनसङ्ग्रह ३८:१-८)। कुनै अवस्थाहरूमा, उहाँले मृत्युद्वारा पनि ताडना दिनुहुन्छ (१ कोरिन्थी ११:३०)। पापमा लागिरहेको जनहरूसँग परमेश्वरले कडा व्यवहार गर्नुहुन्छ, र हाम्रो जीवनमा परमेश्वरको बाहुलीलाई चिनेर अनि स्वीकारद्वारा र आज्ञाकारीताद्वारा उहाँलाई प्रतिक्रिया दिएर हामीले असल गर्दछौं।

“म तिमीलाई शिक्षा दिनेछु; अनि तिमीले कुन मार्गमा चल्नुपर्ने हो, सो तिमीलाई सिकाउनेछु; म मेरो आँखाले तिमीलाई अगुवाइ गर्नेछु। तिमीहरू समझ नभएको घोडा वा खच्चरजस्ता नहोओ, जसको मुख लगाम र करेलीले रोक्नुपर्छ, नत्र ती तिम्रा नजिकमा आउँछन्।” (भजनसङ्ग्रह ३२:८,९)।

सेवा गर्ने र फल फलाउने अवसरहरू पुनर्स्थापित हुन नसक्ने गरी गुम्नु

परमेश्वरको इच्छाभन्दा बाहिर बिताएको जीवन एउटा ठूलो नोक्सानि हो! परमेश्वरको सेवाको निम्ति प्रयोग गर्न सकिने बहुमूल्य घडीहरू व्यर्थमा खेर गएका छन्। परमेश्वरलाई समर्पित गर्न सकिने र विकास गर्न सकिने मूल्यवान दानहरू व्यर्थमा गुमाइएका छन्। परमेश्वरको निम्ति परिवर्तन हुन सक्ने जीवनहरू अपरिवर्तित नै रहेका छन्। पाउन सकिने आशिषहरू, इनामहरू, र आनन्दहरू सँधैको निम्ति पाप र सांसारिकपनाको वेदीमा बलि चढाइएका छन्। गुमाइएका अवसरहरूको सबैभन्दा दुःखलाग्दो भागचाहिँ सायद यही हो: ती फेरी कहिल्यै प्राप्त गर्न सकिनै छैनन्। ती सँधैको निम्ति गुमाइएका छन्। यही जीवनमा मात्र हामी ख्रीष्टको सेवामा प्रवेश गर्न सक्दछौं र हराएकाहरूलाई सुसमाचार प्रचार गर्न सक्दछौं। यही जीवनमा मात्र हामी दुष्ट र विरोधी संसारमा परमेश्वर र सत्यताको निम्ति खडा हुन सक्छौं। यही जीवनमा मात्र येशू ख्रीष्टको महिमाको निम्ति पापहरूको सामना गर्न हामीले रोज्न सक्छौं।

ख्रीष्टको न्यायआसनका सामु लेखा बुझाउनुपर्ने दिन

लापर्वाह ख्रीष्टियनको निम्ति ख्रीष्टको न्यायआसनमा के राखिएको हुन्छ? परमेश्वरको महिमाको खातिर प्राप्त गर्न सकिने इनाम र आशिषहरू गुमाइनेछ (१ कोरिन्थी ३:११-१५)। धन गुमाइनेछ (१ तिमोथी ६:१७-१९)। शर्ममा पर्नुपर्नेछ (१ यूहन्ना २:२८)। शारीरिक जीवनले प्रभु येशूलाई पुर्याइएको अनादरको कारणले पीडा हुनेछ।

परमेश्वरको सिद्ध इच्छालाई वेवास्ता गर्नु अनि त्यसपछि पवित्र जनहरू र स्वर्गदुतहरूको उपस्थितिमा ख्रीष्टको न्यायआसनको सामु उभिनु, र विद्रोहमा अनि परमेश्वरको इच्छा विपरीत जीवन बिताएको हुनाले र त्यसैकारण सांसारिक जीवनमा शैतानको कुरालाई बढावा दिएको हुनाले इन्साफको कारण शर्ममा पर्नु कस्तो भयानक कुरा हो।

त्यसैले हराएका होऊन् वा मुक्ति पाएका, लापर्वाह नामधारीहरूलाई उनीहरूको स्वेच्छाचारीपनामा ढुक्क हुन दिनुहुँदैन। आत्मिक बेवास्ताको विरुद्धमा एउटा असल प्रचारकले तुरही बजाउनै पर्छ।

जोहरूले परिवर्तन भएको जीवनको प्रमाण दिँदैनन् तिनीहरू हराएका हुन्छन् र अनन्त दण्डको निम्ति बाँधिएका हुन्छन्। यदि तिनीहरूले मुक्ति पाएका छन् तर आत्मिकरूपमा नबढेका पुड्काहरू हुन् भने, उनीहरूले स्वेच्छाचारी ख्रीष्टियानको सन्तापहरू सहनेछन्।

प्रचारकहरू एउटा व्यक्ति हराएको वा शारीरिक अवस्थामा उभिरहेको छ कि छैन भनी खुट्याउन परमेश्वरको बुद्धिले भरिपूर्ण हुनुपर्छ र त्यस समस्यालाई बाइबलीय चुनौती दिन तयार हुनुपर्छ।

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype

जीवन परिवर्तन नभएको नामधारीको भयानक अवस्था

जीवन परिवर्तन नभएको नामधारीको भयानक अवस्था

डेविड क्लाउड

जीवन परिवर्तन नभएको नामधारी सत्यता कहिल्यै नजानेको र दाबी नगरेको व्यक्तिको भन्दा भयानक अवस्थामा हुन्छ।

“किनकि प्रभु र मुक्तिदाता येशू ख्रीष्टको पहिचानद्वारा तिनीहरू संसारका अशुद्धताहरूबाट उम्केका छन्, तर फेरि ती कुराहरूमा फसे, र हारे भने तिनीहरूको पछिल्लो अवस्थाचाहिँ अघिल्लोभन्दा खराब हुन्छ। किनकि धार्मिकताको बाटो जानेपछि तिनीहरूलाई सुम्पिएको पवित्र आज्ञाबाट फर्कनुभन्दा त यसलाई नजान्नु नै तिनीहरूका निम्ति असल हुनेथ्यो। तर यस सत्य उखानमुताबिक तिनीहरूलाई भएको छ: ‘कुकुर फेरि आफ्नै छादपट्टि फर्क्यो, र नुहाइएको भुनी फेरि आहाल खेल्न फर्क्यो।” (२ पत्रूस २:२०-२२)

वर्तमान समयका इसाई प्रचारकहरूको भन्दा पत्रुसको चेताउनी कति भिन्न छ। उनले नामधारी विश्वासीहरूको कुनै आशा नभएको कुरा मात्र देखाएनन्, तर यस्ता मानिसहरूले बरु सत्यताको बारेमा कहिल्यै नसुनेको भए नै असल हुनेथ्यो भनी भने।

यसको अर्थ पत्रुसले विश्वासीहरूको अनन्त सुरक्षामा विश्वास गर्दैनथे भन्ने होइन। १ पत्रूस १:२-५ मा उनले विश्वासीहरू परमेश्वरको पूर्वज्ञानअनुसार चुनिएका, येशू ख्रीष्टको रगतको छिट्काउ परेका, बौरिउठाइको एउटा जिउँदो आशाका निम्ति नयाँ गरी जन्मिएका, स्वर्गमा सुरक्षित राखिएको निश्चित पैतृक-सम्पत्तिका हकवालाहरू हुन् भनी सिकाएका छन्। त्यो निश्चित अहोदा हो! विश्वासीहरू परमेश्वरको शक्तिले सुरक्षित राखिएका छन् भनी उनले भन्छन्। विश्वासीहरू स्वर्ग पुग्नेछन् भन्ने कुरामा कुनै शङ्का छैन।

तरैपनि यिनै प्रेरितले बाइबलीय मुक्तिको प्रमाण नदिने व्यक्तिलाई त्यस्तो सुरक्षा छ भनी बताउँदैनन्। उनले संसारको दुर्गन्धमा फेरि फर्केर जाने व्यक्तिलाई कुनै सुरक्षा छ भनी बताउँदैनन्, किनभने त्यो व्यक्तिले ऊ कहिल्यै पनि नयाँ गरी जन्मेको छैन भनी देखाउँछ।

पत्रुसले हामीलाई सम्झना गराउँछन् कि जीवन परिवर्तन नभएको नामधारी एउटा सुँगुर जस्तै हो, जो नुहाइएपछि पनि, आहाल खेल्न फर्किन्छ। सुँगुर हिलोमा फर्किन्छ किनभने उसको बाहिरी स्नानले उसको सुँगुर स्वभावलाई परिवर्तन गरेको छैन। नामधारी ख्रीष्टियन उसको पापपूर्ण जीवनमा फर्किन्छ, वा पापपूर्ण जीवनलाई कहिल्यै त्याग्दैन, किनभने उसको स्वभाव परिवर्तन नै भएको छैन, कारण उसले नयाँ जन्म पाएकै छैन।

माथि अध्ययन गरिएका पाँच बुँदाहरूमा उल्लेखित शास्त्रका पदहरूलाई सरल ढङ्गले हेर्ने हो भने, ती पदहरूले जीवन परिवर्तन नभएको नामधारीलाई मुक्तिको थोरै आशा पनि दिँदैन। यस्ता कुराहरू कहिले काहिँ मानवीय दृष्टिकोणबाट न्याय गर्न कठिन हुन्छ, विशेष गरी नयाँ वा पछि हटेका विश्वासीहरूको सवालमा, तर बाइबलले सिकाउँछ कि उनीहरूमा केही परिवर्तन त हुन्छ नै। मुक्तिले सँधै भिन्नता ल्याउँछ। मुक्तिले फरक पार्छ।

परिवर्तन कत्तिको ठूलो हुन्छ?

साँचो विश्वासीले खासै ठूलो परिवर्तन नदेखाउन सम्भव छ। २ पत्रुस १ अध्यायले नयाँ विश्वासी ठीकसँग आत्मिक रूपमा हुर्कन विफल हुने अनि त्यसपछि उसले मुक्ति पाएको कुरा नै बिर्सन सक्ने सम्भावना छ भनी देखाउँछ। हामीले पहिल्यै अध्ययन गरिसकेका शास्त्रहरूमुताबिक, यदि यस्तो अवस्था हो भने पनि त्यहाँ मुक्तिको स्पष्ट प्रमाण हुन्छ। त्यहाँ अवश्य पनि परिवर्तन हुनेछ।

उदाहरणको निम्ति लूतलाई लिनुहोस्। तिनले आफ्नो जीवनमा निकै मूर्ख निर्णयहरू गरे। तिनले परमेश्वरको इच्छालाई भन्दा बढी संसारलाई प्रेम गरे अनि संसारका आनन्दहरू र इनामहरूलाई रोजे। फलस्वरूप, तिनले आफ्नो सम्पूर्ण परिवारलाई संसारमै गुमाए। तिनले आफ्नो गवाही र साक्षीको सामर्थ्यलाई गुमाए। तिनले आफ्नो जीवन व्यर्थैमा खेर फाले। तरैपनि, नयाँ नियममा उल्लेखित खण्डहरू अनुसार हामी जान्दछौं कि लूत मुक्ति पाएका मानिस थिए। २ पत्रूस २:७-८ ले लूतलाई “धर्मी” भन्दछ र उसित धर्मी मन थियो भनी भन्दछ जुन मनचाहिँ सदोमका चालचलनको कारणले विरक्त भएको थियो।

लूतले मुक्तिको प्रमाण देखाएका थिए भन्ने स्पष्ट छ। उनका सदोमका ती हराएका, मूर्ती पूजक छिमेकीहरू भन्दा सत्य परमेश्वरतर्फ उनको बेग्लै व्यहोरा थियो। परमेश्वरका सन्देशवाहकहरूका निम्ति उनको प्रेम थियो, जुनचाहिँ उनले स्वर्गदुतहरूलाई स्वागत गर्दा प्रमाणित भयो। परमेश्वरको वचनप्रति उनको डर थियो, जुनचाहिँ स्वर्गदुतहरूद्वारा चेतावनी दिइँदा उनको व्यवहारबाट देखियो। लूतले उनी जिउनु पर्ने तरिकाले जिएनन्, तर आफ्नो मुक्तिको प्रमाण थुप्रै तरिकाहरूबाट उनले दिए। जीवन परिवर्तन नभएको नामधारीभन्दा उनी धेरै भिन्न थिए।

सुसमाचार प्रचारकहरूको लूतजस्ता धेरै मानिसहरूसँग जम्काभेट हुन्छ। उनीहरूले मुक्ति पाएका छन् भन्नलाई धेरै कारणहरू छन्, तरैपनि उनीहरू परमेश्वरको इच्छाभन्दा निकै टाढा छन्। उनीहरूसँग कसरी व्यवहार गर्नुपर्छ? के सुसमाचार प्रचारकले “परमेश्वरको महिमा होस् तपाईँले मुक्ति पाउनुभएको छ” भनेर त्यत्तिकैमा छोडिदिने?

मुक्ति पाएका तर पाप र सांसारिकपनामा जीवन बिताइरहेका मानिसहरूलाई परमेश्वरको के सन्देश छ?

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype

के तिनीहरूले मुक्ति पाएका छन् त?

के तिनीहरूले मुक्ति पाएका छन् त?

 

डेविड क्लाउड

ख्रीष्टमा अनन्तसम्म सुरक्षित भइन्छ भन्ने शिक्षाले केवल विश्वास गरेको छु भनेर स्वीकार गर्ने वा एउटा प्रार्थना गर्ने जोकोहीलाई समेत सुरक्षाको प्रतिज्ञा दिन्छ भनेर आज धेरैजना मानिसहरूले ठान्ने गरेको देखिन्छ। यदि एउटा व्यक्तिले मुक्तिको निम्ति परमेश्वरलाई पुकारा गरेको दाबी गर्छ भने, हामीले शङ्का गर्न मिल्दैन अरे। यद्यपि एउटा नामधारीले परमेश्वरको कुराहरूलाई, बाइबललाई, मण्डलीलाई, अथवा ख्रीष्टियन सङ्गतिलाई वास्तै गर्दैन भने, यद्यपि ऊ अविश्वासी जस्तो जिउँदछ र उसले दाबी गरेको ख्रीष्टको नामको ऊ निरन्तर कलङ्क बन्छ भने पनि, हामीले उसको दाबीलाई अविश्वास गर्नु हुँदैन भन्ने गरिन्छ।

कुनै जागृति सभामा वा अरु विशेष कार्यक्रमहरूमा यतिउति जनाले मुक्ति पाए भनेर दाबी गरिने साधारण अभ्यासलाई विचार गरौं। एकजना प्रचारकले हालसालै लेखेका थिए कि गएको वर्षमा उनको सेवकाइद्वारा ८०० जना भन्दा धेरै मानिसहरूले मुक्ति पाएका थिए। उनको तात्पर्य के हो? उनको तात्पर्य चाहिँ ८०० जना भन्दा धेरै मानिसहरूले विश्वास गरेको दाबी गरेका थिए वा ८०० जनाले एउटा प्रार्थना गरेका थिए। तीमध्ये कतिजनाले बप्‍तिस्मा लिए भन्ने कुरा बरु साँच्चै कतिजनाले मुक्ति पाएको हुन सक्छ भन्ने कुराको अझ राम्रो सङ्केत हुनेथ्यो अनि अझ त तीमध्ये कतिजनाले बप्‍तिस्मा लिएर एक खाँटी मण्डलीमा आवद्ध भएर प्रभुको सेवा गर्नमा लागिरहे भन्ने कुरा कतिजनाले साँच्चै मुक्ति पाएका थिए भन्ने कुराको सङ्केत हुनेथ्यो। प्रेरितको पुस्तकले पेन्टेकोष्टको दिनमा ३००० जनाले मुक्ति पाएको कुरा बताउँछ, तर यो पुस्तकले यो पनि बताउँछ कि कसरी “तिनीहरू प्रेरितहरूको शिक्षामा, सङ्गतिमा, रोटी-भचाँइमा र प्रार्थनाहरूमा दृढ्तापूर्वक लागिरहे” (प्रेरित २:४२)।

धेरै वर्ष अगाडि, मेरी श्रीमती र म कुनै एउटा मण्डलीमा दिदी-बहिनीहरूको आत्मा जित्ने कार्यक्रममा जाने जिम्मा पाएका थियौं। यो कार्यक्रम चाहिँ “निर्णय लिने” विषयमा केन्द्रित रहने किसिमको एउटा प्रचलित ढाँचामा आधारित थियो र मानिसहरूलाई “पापीको प्रार्थना” दोहोर्याउनलाई प्रोत्साहन गर्ने चलाखीपूर्ण तरिकाहरू अपनाइन्थ्यो। दिदी-बहिनीहरू यस्ता सभाहरूबाट फर्केर आउँदा यतिउति “आत्माहरूले मुक्ति पाए” भनेर विवरण दिनु नौलो कुरा थिएन। तर समस्या यो थियो कि साधारणतयाः ती “मुक्ति पाएका आत्माहरू” लाई परमेश्वरको आज्ञा पालन गर्ने कुनै इच्छा हुँदैनथ्यो।

फलानोले “मुक्ति पाए” भन्ने शब्द हामी निकै नै प्रयोग गर्छौं जब कि तिनले “ख्रीष्टलाई स्वीकार गरे” भन्नु बरु बढी उपयुक्त हुनेथ्यो। विश्वासको स्वीकार गर्नु र विश्वास साँच्चै गर्नुमा फरक छ भन्ने कुराका बीच अलमल नहोस्। मैले चिनेका केही प्रचारकहरूले उनीहरूको प्रचारमा र शिक्षामा यी दुईबीच स्पष्ट भिन्नता राखेका छन्, तर आत्मा जितिएका नतिजाको विषयमा कुरा गर्दा भने हामी प्रायः अलमलमा पर्ने गर्छौं। के यो हामी सङ्ख्यात्मक प्रतिवेदन दिन व्यग्र भएकाले यस्तो भएको हो कि?

पापीको प्रार्थना गर्नेहरूलाई “सुरक्षाको निश्चयता” दिने चलन पनि अर्को समस्या हो। सिकाउनेले पापीको प्रार्थना गर्नेलाई यसो भन्छ, “रोमी १०:१३ मा भएको परमेश्वरको प्रतिज्ञा अनुसार, तपाईं आज मर्नुभयो भने कहाँ जानुहुनेछ?” त्यो भर्खरै विश्वासको स्वीकार गर्नेले भन्छ, “म स्वर्ग जानेछु”। तर यो त भयङ्कर गम्भीर कुरा हो। कसैलाई सुरक्षाको प्रतिज्ञा प्रदान गर्न सक्नलाई हामी को हौं र? हामीले मानिसहरूलाई भन्नुपर्छ कि ख्रीष्टले तिनीहरूलाई मात्र अनन्त मुक्तिको प्रतिज्ञा गर्नुभएको छ जोहरूले साँचो पश्चात्ताप गर्दछन् र उहाँमा भरोसा गर्दछन्, तर कसैले पश्चात्ताप गरेको छ र ख्रीष्टमा भरोसा राखेको छ भनी निश्चित रूपमा जान्न सक्ने हामी को हौं र? त्यहाँ अनन्त सुरक्षा छ भन्ने कुराको बारेमा मानिसहरूलाई उत्साह दिऔं, तर उनीहरूलाई व्यक्तिगत रूपमा त्यो अनन्त सुरक्षा दिने प्रयास गर्न हतार नगरौं। त्यो त पवित्र आत्माको काम हो।

जीवन परिवर्तन नभएका नामधारीहरूलाई बाइबलले कुनै आशाको प्रतिज्ञा दिँदैन, र हामीहरूले पनि दिनुहुँदैन। ख्रीष्टमा अनन्त सुरक्षा छ भन्ने स्पष्ट रूपमा सिकाए पनि, शास्त्रहरूले हलुका दाबीलाई त्यस्तो सुरक्षाको प्रतिज्ञा गर्दैन। कतिजना हुन्छन् जो साँच्ची नै ख्रीष्टसित साँचो सम्बन्ध राख्दै मण्डली आउँछन् भने अरु कतिजना अन्य कुनै मनसायहरूले आफूले मुक्ति पाएको दाबी गर्नेहरू पनि हुन्छन्।

अनुग्रहमा कामहरू थप्न खोजेको होइन

मैले मुक्तिको निम्ति अनुग्रहमा कामहरू थप्ने बारेमा कुरा गरेको होइन भनी म बताउन चाहन्छु। सुसमाचार यो हो कि येशू मेरा पापहरूका निम्ति मर्नुभयो र गाडिनुभयो अनि पवित्र शास्त्रहरूमुताबिक मरेकाहरूबाट बौरेर उठ्नुभयो, र उहाँले पूरा गर्नुभएको काममा भरोसा गरेकोले मैले मुक्ति पाएको हुँ। मुक्ति परमेश्वरको अनुग्रहको वरदान हो। सुसमाचार “हेर र बाँच” भन्ने सन्देश हो। मेरो ख्रीष्टिय हुर्काईले मलाई मुक्ति दिँदैन, र यसले मैले मुक्ति पाउनलाई सहायता पनि गर्दैन। यो त मेरो मुक्तिको प्रतिफल हो।

मैले अनुग्रहको बाइबलीय सन्देशमा कुनै कुरा थपिरहेकोछु भनी कसैले पनि सोच्नुभएको म चाहदिनँ। मैले यसो गरिरहेको होइन। म के भन्दैछु भने बाइबलले मुक्तिको निम्ति पश्चात्ताप र मुक्तिद्वारा देखिने परिवर्तनहरूमा जोड दिन्छ। अनि परमेश्वरले जुन कुरामा जोड दिनुहुन्छ त्यही कुरामा जोड दिन हामी चुक्नु हुँदैन।

पापरहित सिद्धताको कुरा गरेको होइन

मैले कुनै पनि प्रकारको पापरहित सिद्धताको विषयमा कुरा गरिरहेको पनि होइन भनेर म भन्न चाहन्छु। केही विश्वासीहरू अरु भन्दा चाँडो हुर्कन्छन् भन्ने कुरा मैले महसुस गरेको छु। कोही चाहिँ अरु भन्दा धेरै फलवान् हुन्छन्। साँचो रूपमा नयाँ गरी जन्मेको विश्वासी शारीरिक अनि सांसारिक र लापरवाही गर्ने व्यक्ति हुन सम्भव छ। तर हरेक शारीरिक विश्वासीले उसको मुक्तिको प्रमाण दिन्छ। उसको जीवनमा परिवर्तनहरू हुनेछ। जसरी ख्रीष्टले हामीलाई सिकाउनुभयो, कसैले तीस गुणा, कसैले साठी गुणा, र कसैले सय गुणा फलहरू फलाउँछन्। साँचो मुक्ति पाएको हरेकले केही न केही फल अवश्य फलाउँछ भन्ने कुरामा म जोड दिरहेकोछु।

निम्न लिखित पाँच बाइबलीय सत्यताहरूले ती मित्रहरूको निम्ति हामीलाई बोझ दिएहको होस् जोहरूले मुक्ति पाएको दाबी त गरेका छन् तर जीवनमा मुक्तिको कुनै प्रमाण देखाएकाछैनन्।

मुक्तिले पश्चात्तापको माग गर्दछ

“तर त्यस अज्ञानताको समयहरूलाई परमेश्वरले वास्ता गर्नुभएन; तर अब सबै ठाउँमा सबै मानिसहरूलाई पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ।” प्रेरित १७:३०

नयाँ नियमका सुसमाचार प्रचारकहरूले केवल दाबीको खोजी गरेनन्; उनीहरूले पश्चात्ताप, दृढ विश्वास र परमेश्वरको महिमाको निम्ति बदलिएको जीवनहरूको खोजी गरे। परमेश्वरको महान् आज्ञाको आज्ञाकारी हुँदै सबै जातिहरूलाई चेला बनाउनु, कुनै सम्झौताबिना नै परमेश्वर तर्फको पश्चात्ताप र प्रभु येशू ख्रीष्ट माथि विश्वासको सन्देश घोषणा गर्नु उनीहरूको उद्देश्य थियो (प्रेरित २०:२१)।

बप्तिस्मा दिने यूहन्नाले बप्तिस्मा लिन चाहनेहरूबाट पश्चात्तापको माग गरे:

तब उनीद्वारा बप्तिस्मा लिन आउने भीडलाई उनले भने: “हे विषालु साँपका सन्तानहो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? यसकारण पश्चात्ताप लायकका फल फलाओ… अनि अहिले पनि रूखहरूको जरामा बन्चरो राखिएको छ; यसकारण असल फल नफलाउने हरेक रूख काटेर ढालिन्छ र आगोभित्र फालिन्छ।” (लूका ३:७-९)।

प्रभु येशू ख्रीष्टले मुक्ति पाउन चाहने सबैजनाबाट पश्चात्तापको माग गर्नुभयो:

“म तिमीहरूलाई भन्दछु, होइन; तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ।” (लूका १३:३)

“म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।” (लूका ५:३२)

पावल र अरु प्रेरितहरूले दुबै यहूदीहरू र ग्रीकहरूबाट पश्चात्तापको प्रचार र माग गरे:

‘यी कुराहरू सुनेर तिनीहरू चुप भए, र यसो भन्दै परमेश्वरलाई महिमा दिए: “तब ता परमेश्वरले अन्यजातिहरूलाई पनि जीवनका निम्ति पश्चात्ताप दिनुभएछ!”’ (प्रेरित ११:१८)

“तर त्यस अज्ञानताको समयहरूलाई परमेश्वरले वास्ता गर्नुभएन; तर अब सबै ठाउँमा सबै मानिसहरूलाई पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ।” (प्रेरित १७:३०)

“मेले दुवै यहूदीहरू र ग्रीकहरूलाई परमेश्वरतर्फ मन फिराउनुपर्छ र हाम्रा प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ भनी यत्नपूर्वक गवाही दिरहें।” (प्रेरित २०:२१)

“तर पहिले दमस्कसमा भएकाहरूलाई, अनि यरूशलेम र यहूदियाका सारा इलाकामा, र अन्यजातिहरूलाई, ‘पश्चात्ताप गर र परमेश्वरकहाँ फर्क, अनि पश्चात्ताप लायकका कामहरू गर!’ भन्दै प्रचार गरे।” (प्रेरित २६:२०)

“कतिले ढिलाइ भनी सम्झेझैं आफ्नो प्रतिज्ञाबारे प्रभु ढिलो गर्नुहुन्न; तर कोही पनि नष्ट नहोस्, तर सबैले पश्चात्ताप गरून् भन्ने इच्छा राखेर उहाँले हामीतर्फ धीरज देखाउनुहुन्छ।” (२ पत्रूस ३:९)

पश्चात्तापको माने मनको परिवर्तन हो जसको फलस्वरूप जीवनमा परिवर्तन आउँछ। यसको उदाहरण कोरिन्थका विश्वासीहरूद्वारा दिइएकोछ जसले उनीहरूको माझको त्यो ठूलो पापको बारेमा भएको आफ्नो घमण्डी र दुष्ट बिचार बदलेका थिए। एउटा मण्डली सदस्यले आफ्नो सौतेनी-आमासित व्यभिचार गरेर बसिरहेको थियो। यस दुष्टतामा दुःखित हुनुको सट्टामा मण्डलीको गवाहीलाई नष्ट गर्दै, उनीहरू “घमण्डले फुलिएका” थिए (१ कोरिन्थी ५)। प्रेरित पावलले, यस कुराको विषयमा जानेपछि, तिनीहरूलाई हप्काए र त्यस पाप गर्ने मानिसलाई सङ्गतिबाट हटाउने आदेश दिए। पावलले लेखेको पत्रको प्रत्युत्तरमा कोरिन्थका विश्वासीहरूले आफैलाई नम्र तुल्याए र समस्यालाई सुधारे। ती भाइहरूलाई पावलको दोश्रो पत्रमा, उनले उनीहरूले “पश्चात्ताप” गरेको मुल्याङ्कन गरे।

“किनकि मैले पत्रद्वारा तिमीहरूलाई शोकित पारेको भए तापनि म पछुतो मान्दिनँ – तथापि पहिले पछुतो मानेको थिएँ – किनकि त्यही पत्रले तिमीहरूलाई थोरै समयका निम्ति भए तापनि शोकित पार्यो भन्ने कुरा म थाह पाउँछु। अब म आनन्द मनाउँछु, तिमीहरू शोकित पारियौ भनेर; किनकि परमेश्वरको रीतिअनुसार तिमीहरू शोकित पारियौ; यसैकारण तिमीहरूलाई केही कुरामा हानि भएन। किनकि ईश्वरीय रितीअनुसारको शोकले मुक्ति पाउनाका निम्ति पछुतो गर्नु नपर्ने किसिमको पश्चात्ताप उत्पन्न गराउँछ; तर सांसारिक शोकले मृत्यु उत्पन्न गर्छ। किनकि ईश्वरीय रीतिअनुसार शोकित भएको कुरा हेरिहाल: यसले तिमीहरूमा कस्तो उत्सुकता उत्पन्न गर्यो! अँ, आफ्नो विषयमा कस्तो सफाइ; अँ, कति रस; अँ, कति डर; अँ कस्तो ठूलो लालसा; अँ, कस्तो जोश; अँ कस्तो बदला उत्पन्न गर्यो! यस कुरामा तिमीहरू निर्दोष छौ भन्ने कुरा तिमीहरूले सबै कुराबाट आफूलाई प्रमाणित गरेर देखायौ।” (२ कोरिन्थी ७:८-११)

यस उदाहरणमा पश्चात्तापको बारेमा केही पाठहरू छन्। पहिलो, पश्चात्ताप भनेको मनको पूर्ण परिवर्तन हो। कोरिन्थीहरूले उनीहरूको समूहमा भएको पापको बारेमा आफ्नो मन पुरै परिवर्तन गरे। दोस्रो, पश्चात्ताप देख्न सकिन्छ। प्रेरितले उनीहरूको परिवर्तित काममा र व्यवहारमा नै पश्चात्ताप देखे। तेस्रो, पश्चात्ताप परमेश्वरको वचनको फल हो। प्रेरित पावलको पत्र परमेश्वरको वचन थियो र कोरिन्थीहरूलाई पश्चात्ताप गर्न तुल्याउने यही वचन थियो। यदि हामी पुरूष र स्त्रीलाई पश्चात्तापमा आउन मद्दत गर्न चाहन्छौं भने, हामीले परमेश्वरको वचन प्रयोग गर्नै पर्छ; पापीको मन परिवर्तन गर्न सक्ने पर्याप्त सामर्थ्य अरु कुनै पनि कुरामा छैन।

हामी यो पनि सिक्न सक्छौं कि मुक्ति पाइसकेको भए तापनि एउटा विश्वासीको जीवनमा पश्चात्तापको आवश्यकता परिरहन्छ। पश्चात्तापको परिणाम चाहिँ फेरि-कहिल्यै-नदोहरिने नयाँ जन्म पाउनु हो। यो दोहरिँदैन, किनकि यसद्वारा एउटा व्यक्ति परमेश्वरको परिवारभित्र जन्मन्छ। नयाँ जन्म पश्चात् पनि, दैनिक जीवनमा एउटा विश्वासी अनुग्रहमा बढ्नको निम्ति कुनै निश्चित कुराहरूको विषयमा पश्चात्तापमा निरन्तर लागिरहनु आवश्यक पर्न सक्छ।

पश्चात्तापबिना कुनै पनि मानिसले मुक्ति पाउन सक्दैन भनी बाइबलले बताउँछ—अर्थात परमेश्वर, जीवन, पाप, येशू ख्रीष्ट इत्यादिको बारेमा परिवर्तन भएको मन। र एउटा पश्चात्तापी पापी मुक्तिको निम्ति परमेश्वरतर्फ फर्केको, र परमेश्वरले उसलाई ख्रीष्टमा नयाँ जीवन दिनुभएको जस्तै गरी यो परिवर्तन भएको मनले सधैं परिवर्तन भएको क्रियाकलाप नै फलाउँछ।

परमेश्वरको महान् आज्ञा अनुसार, एउटा सुसमाचार प्रचारकको उद्देश्य, सबै जातिहरूलाई चेलाहरू बनाउनु हो। येशू ख्रीष्टको नाममा “पश्चात्ताप र पापहरूको क्षमाको” प्रचार गरिनुपर्छ (लूका २४:४६-४७)। आत्मा जित्ने व्यक्तिको उद्देश्य चाहिँ यस्तो तरिकाले सुसमाचार प्रचार गर्नु हो ताकि मानिसहरूले उनीहरूको पाप र मुक्तिको आवश्यकता देखून् अनि पश्चात्ताप र विश्वासमा लिएर आउन्। विश्वास गने पश्चात्तापी पापीलाई नै परमेश्वरले मुक्ति दिनुहुन्छ।

मुक्ति पाउनको निम्ति एउटा पापीले आफ्नो जीवन बदल्नुपर्ने होइन। मुक्ति दिने र जीवन बदल्ने काम त परमेश्वरले गर्नुहुन्छ। तरैपनि बदलिएको मन चाहिँ चाहिन्छ। जसले परमेश्वर, पाप, ख्रीष्ट, र बाइबलको बारेमा आफ्नो मन कहिल्यै बदलेको छैन, उसले कहिल्यै पनि मुक्ति पाएको हुँदैन। बदलिएको जीवन पश्चात्तापको प्रमाण र फल हो। पापीले उसको जीवन बदल्नु पश्चात्ताप होइन; यो त एउटा पापी व्यक्ति परमेश्वरतर्फ झुक्नु हो, परमेश्वरतर्फ आफैलाई समर्पण गर्नु हो ताकि परमेश्वरले उसको जीवन बदल्न सक्नुभएको होस्।

मुक्तिको निम्ति नयाँ जन्मको आवश्यकता

येशूले जवाफ दिएर उनलाई भन्नुभयो: “साँचो-साँचो म तिमीलाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्न सक्दैन।” (यूहन्ना ३:३)

“यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्।” (२ कोरिन्थी ५:१७)

“तर हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा बाहेक अरु कुनै कुरामा म गर्व गर्दै गर्दिनँ, जसद्वारा संसार मेरा निम्ति, र मचाहिँ संसारका निम्ति क्रूसमा टाँगिएको छु। किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि।” (गलाती ६:१४,१५)

नयाँ जन्म परमेश्वरको कार्य हो। एउटा मानवले आफैलाई नयाँ जन्म दिन सक्दैन, नता उसले यसको निम्ति कुनै कार्य नै गर्न सक्छ। यसलाई सुरक्षित राख्‍न पनि उसले कार्य गर्न सक्दैन। परमेश्वरले नयाँ जन्म अनुग्रहको एउटा दान स्वरूप दिनुहुन्छ। तर उहाँले यो उनीहरूलाई मात्र दिनुहुन्छ जसले पश्चात्ताप गर्दछ र प्रभु येशू ख्रीष्टमा आफ्‍नो पूरा भरोसा राख्दछ।

किन धेरैजनाले मुखले स्वीकार गरे तापनि उनीहरू नयाँ जन्म पाएको जस्तो कहिल्यै देखिँदैनन् भन्ने कुरा यसैले प्रकट गर्दछ। तिनीहरूले पश्चात्ताप गरेका छैनन्, र तिनीहरू, त्यसैले, कहिल्यै पनि, नयाँ गरी जन्मेका छैनन्। तिनीहरू अझै पनि हराइरहेका छन्। नयाँ जन्म भनेको परमेश्वरले एउटा व्यक्तिलाई नयाँ स्वभाव दिनु हो; यो नयाँ स्वभाव नयाँ जीवनको फल फलाउन असफल कसरी हुन सक्छ र? के परमेश्वर एउटा व्यक्तिको दैनिक जीवनमा प्रकटै नभई उसको हृदयभित्र रहन सक्नुहुन्छ र? बाइबलले यो सम्भव छैन भनी सिकाउँछ।

मुक्तिले के-कस्ता परिवर्तनहरू ल्याउँछ?

नयाँ जन्मले एउटा व्यक्तिको जीवनमा के-कस्ता परिवर्तनहरू ल्याउँछन् भनी हामी आशा गर्न सक्छौं? बाइबलमा बताइएका केही परिवर्तनहरू निम्न बमोजिम छन्।

परमेश्वरसित नयाँ सम्बन्ध र परमेश्वरतर्फ नयाँ व्यवहार

“अनि तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्— अनन्त जीवन यही हो।” (यूहन्ना १७:३)

नयाँ जन्म पाएको व्यक्ति परमेश्वरको सन्तान भएको हुन्छ। परमेश्वर उसको मुक्तिदाता हुनुहुन्छ। परमेश्वरको आत्मा उसको हृदयभित्र स्थायी रूपमा वास गर्नुभएको हुन्छ। उसले परमेश्वरलाई चिन्ने इच्छा गर्छ। मुखले स्वीकार मात्र गर्ने तर परमेश्वरलाई चिन्न र उहाँलाई खुशी पार्न मतलबै नराख्‍ने व्यक्तिलाई यहाँ ठाउँ कहाँ छ त खै?

परमेश्वरको वचनको निम्ति प्रेम

“जो परमेश्वरबाटको हो, उसले परमेश्वरका वचनहरू सुन्छ; यसैकारण तिमीहरू सुन्दैनौ, किनभने तिमीहरू परमेश्वरबाटका होइनौ।” (यूहन्ना ८:४७)

नयाँ गरी जन्मेको मानिस पवित्र शास्त्रहरूको निम्ति भोकाउँछ। बाइबल परमेश्वरको स्वर हो, र नयाँ गरी जन्मेको मानिसले परमेश्वरको स्वरलाई प्रेम गर्छ। बाइबल परमेश्वरको व्यवस्था हो, र नयाँ गरी जन्मेको मानिसको हृदयमा परमेश्वरको व्यवस्था लेखिएको हुन्छ। बाइबलप्रतिको एउटा मानिसको व्यवहार नै उसको आत्मिक अवस्थाको एउटा स्पष्ट चिन्ह हो।

परमेश्वरका जनहरू प्रति प्रेम

“हामी जान्दछौं — हामी मृत्युबाट जीवनमा सरिसकेका छौं, किनभने हामी भाइहरूलाई प्रेम गर्छौं। जसले आफ्नो भाइलाई प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ।” (१ यूहन्ना ३:१४)

परमेश्वरका जनहरूप्रतिको नयाँ व्यवहार नयाँ गरी जन्मेको मानिसको चिन्ह हो। भाइसँग रहन नरूचाउने व्यक्ति मृत्युबाट जीवनमा सरेको छैन। विश्वासी दाजुभाइ दिदीबहिनीका सबै कुरालाई प्रेम गरिँदैन। हुन त विश्वासीहरूको सङ्ति समस्याहरू र झगडाहरूरहित हुँदैन। पछि हटाइले पवित्र जनहरूसँगको सङ्गतिमा अस्थायी रूपमा कसैको जीवनमा अवरोध ल्याउन सक्छ। नयाँ वा शारीरिक दाजुभाइहरूले पाको दाजुभाइहरूले जस्तै परिपक्क्व किसिमको प्रेम नगर्न सक्छ। भावनाहरूमा ठेस पुग्न सक्छ र अस्थायी फूटहरू आउन सक्छन्, तर नबदलिने तथ्य यो हो कि मुक्ति पाएका मानिसहरूले मुक्ति पाएका मानिसहरूलाई खास प्रेम गर्छन नै र उनीहरूसँग रहने इच्छा गर्छन् पनि।

परमेश्वरको मार्गहरू प्रति प्रेम

“जसले भलाई गर्दछ ऊ परमेश्वरबाटको हो; तर जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन” (३ यूहन्ना ११)

धार्मिकतालाई प्रेम नगर्ने व्यक्ति या त हराएको छ वा गम्भीर रूपमा पछि हटेको छ। पछि हटेको व्यक्ति भनेको यस्तो हो जसले एक समय मुक्तिको प्रमाण दिएको हुन्छ। यदि एउटा व्यक्तिले कहिल्यै पनि मुक्तिको प्रमाण दिएको छैन भने, ऊ पछि हट्ने व्यक्ति होइन; ऊ पछि हट्न सक्नको निम्ति उसले कहिल्यै केही पाएकै थिएन!

नयाँ जन्म भनेको साँचो विश्वासीको आत्मामा परमेश्वरको स्वभाव हालिनु हो। यो भनेको एकजना भित्र परमेश्वर वास बस्नु हो। र यो नयाँ स्वभाव बाहिरबाट देख्न सकिन्छ। परमेश्वर यदि भित्र वास गर्नुहुन्छ भने, एउटा मानिसको जीवन परिवर्तित हुन्छ। परमेश्वर, परमेश्वरको वचन, परमेश्वरका जनहरू, र परमेश्वरका मार्गहरू प्रति परिवर्तन भएको आफ्नो व्यवहार नदेखाउने मानिस मुक्ति पाएर स्वर्ग जाँदैछ भनी दाबी गर्ने कुनै बाइबलीय आधार हुँदैन।

मुक्ति धीरजद्वारा प्रमाणित हुन्छ

“मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, अनि म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछन्।” (यूहन्ना १०:२७)

“किनकि हामी ख्रीष्टका भागीदारहरू भएका छौं, यदि हामीले हाम्रो भरोसाको शुरुलाई अन्तसम्म बलियो गरी पक्रिराख्यौं भने” (हिब्रू ३:१४)

साँचो विश्वास लागिरहनमा लागिपर्छ; यो दृढ हुन्छ। मुक्तिदाताले आफ्नाहरूलाई सम्हाल्नुहुन्छ। मुक्ति पाएको जनले ठेस खान सक्छ र रोकिन सक्छ र कुनै समयहरूमा कमजोर भएर हुर्कन सक्छ, तर उसको विश्वास निरन्तर हुन्छ। एउटा व्यक्ति जसले अन्त्यमा प्रभु येशूबाट आफ्नो पिठ्यूँ पूरै फर्काउँछ त्यो उही हो जसले कहिल्यै साँचो विश्वासको शुरुआत गरेको थिएन। ख्रीष्टको कुराहरूमा ऊ भिजेको हुन सक्छ; परमेश्वरको टेबलबाट चाखेको हुन सक्छ, तर वास्तवमा उसले मुक्तिबाट कहिल्यै पनि पिएको छैन।

माथि उल्लेख गरिएको पदहरूले एउटा विश्वासीले आफैंलाई सुरक्षित राख्न परमेश्वरको कुराहरूमा लागिरहनु पर्छ भनी सिकाउँदैन; बरु त्यसो गरेर उनीहरूले मुक्ति पाएका रहेछन् भनी देखाउँछ भनी यी पदहरूले सिकाउँछ। परमेश्वरले उनीहरूभित्र काम गर्नुभएको कारणले उनीहरू विश्वासमा लागिरहन्छन्। उदाहरणको लागि: हिब्रू ३:१४ ले यदि हामीले विश्वासको अङ्गीकारलाई बलियो गरी पक्रिराख्यौं भने हामी ख्रीष्टका भागीदारहरू बनाइनेछौं भनी भन्दैन। यो पदले हामी भागीदारहरू भएका छौं भनी भन्दछ। बलियो गरी पक्रिराख्नु भनेको पहिल्यै भागीदार बनाइसकिएको मुक्तिको प्रमाण हो।

ख्रीष्टका कुराहरूमा लागिनरहने कुनै पनि व्यक्तिको सवालमा उसले मुक्ति पाएको छ भनेर भन्ने अधिकार बाइबलले कसैलाई पनि दिएको छैन। यसको अर्थ एउटा विश्वासीले आफूले ख्रीष्टमा मुक्ति पाएको छु भनेर किटान गरी निश्चित हुन सक्दैन भन्ने होइन। उसले मुक्ति पाएकै समयदेखि ऊ ख्रीष्टमा अनन्तको निम्ति सुरक्षित छ। बाइबलले नै यो बताउँछ। यसले उसलाई अल्छे बनाउँदैन; बरु यसले उसलाई उसको मुक्तिदाताको निम्ति प्रेम र उपासनाले उत्प्रेरित गराउँछ।

मुक्ति दिलाउने खालको विश्वासले काम गर्छ

“यही प्रकारले विश्वास पनि, यदि त्यसका कामहरू छैनन् भने एकलो भई मरेको हुन्छ।…….. तर हे बेकम्मा मानिस, कामहरूबिनाको विश्वासचाहिँ मरेको हुन्छ भनी के तिमी जान्न चाहन्छौ?” (याकूब २:१७,२०)

काम नगर्ने विश्वास मरेको विश्वास हो। एउटा व्यक्ति जसले मुक्ति पाएको दाबी गर्छ, तर ख्रीष्टप्रति र परमेश्वरका कुराहरूप्रति चासो छैन, ऊसँग अनौठो किसिमको “विश्वास” हुन्छ। यो पक्कै पनि मुक्ति दिलाउने खालको विश्वास होइन।

यस्तो व्यक्तिले सुसमाचारले सिकाएझैं परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ र पापको न्याय गर्नुहुन्छ भनी विश्वास गरे तापनि उसको आफ्नै पापपूर्ण मार्गहरूको निम्ति डराएको हुँदैन। त्यस जीवन परिवर्तन नभएको नामधारीले उसलाई पापबाट स्वतन्त्र गर्न येशूले कष्टपूर्ण, रक्ताम्मे मृत्यु सहनुभयो भनी विश्वास गरेको दाबी गर्छ, तरैपनि ऊ त्यही कुराहरूमा लागिरहन्छ जुन कुराहरूले गर्दा ख्रीष्टको मृत्युको आवश्यक परेको थियो। बौरिउठ्नुभएको ख्रीष्टले पापमाथि विजय दिनुहुन्छ भनी उसले विश्वास गरेको दाबी गर्छ, तरैपनि उसले सजिलै आफ्नो पाप त्याग्न सक्दैन भनी भन्दछ। येशूमा मात्र जीवन छ भन्ने विश्वास गरेको उसले दाबी गर्छ, तर दैनिक जीवनमा ख्रीष्टलाई खोज्न र चिन्न उसले केही मेहनत खर्च गर्दैन; बरु, संसारको दुर्गन्धित नालीबाट निरन्तर उसले खाइरहेको हुन्छ। यस संसारका मार्गहरूको विरूद्ध परमेश्वरको क्रोध प्रकट भएको कुरामा विश्वास गरेको उसले दाबी गर्छ, तर उसले उसको सांसारिक आनन्दहरू र मित्रहरू त्याग्न इन्कार गर्छ। बाइबल परमेश्वरको पवित्र वचन हो भनी विश्वास गरेको उसले दाबी गर्छ, तरैपनि उसको मन बाइबल बाहेकका सबै कुराहरू वा हरेक कुराहरूले भरिएको हुन्छ।

जीवन परिवर्तन नभएको नामधारीले ख्रीष्टले मण्डलीलाई निर्माण गर्नुभयो र प्रेम गर्नुभयो, र बाइबलले हरेक विश्वासीलाई मण्डलीमा रहन आज्ञा दिन्छ भनी विश्वास गरेको दाबी गर्छ, तरैपनि मण्डली जानुको सट्टा हरेक शनिबार बिहान उसले टिभीमा धार्मिक कार्यक्रम हेर्दैमा, वा यदा-कदा मण्डलीमा उपस्थित हुँदैमा परमेश्वर प्रसन्न हुनुहुन्छ भनी बहस गर्छ।

के यस्तो मानिससँग वास्तवमै विश्वास हुन्छ? हुँदैन; जसको विश्वास परिवर्तित जीवन र परमेश्वरका कुराहरूप्रतिको प्रेमद्वारा प्रमाणित गरिएको हुँदैन उसित मुक्ति दिलाउने साँचो विश्वास हुँदैन। ख्रीष्टमा विश्वास गरेको दाबी गर्ने तर परमेश्वरको मार्गहरूदेखि टाढा हिँड्ने व्यक्ति मुक्ति गुमाएको व्यक्तिजस्तो होइन; ऊ कहिल्यै मुक्ति नपाएका मानिसहरूकै समूहमा गनिन्छ।

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype

जीवन परिवर्तन नभएको नामधारी ख्रीष्टियन

जीवन परिवर्तन नभएको नामधारी ख्रीष्टियन

डेविड क्लाउड

प्रचारक: “महोदय, हामी परमेश्वरको खुशीको खबर सुनाउन आएका हौं। परमेश्वरसित तपाईंको सम्बन्धको बारेमा हामी केही कुरा सोध्न सक्छौं कि? के तपाईंले मुक्ति पाउनुभएको छ र के तपाईं स्वर्ग जाँदैहुनुहुन्छ?

नामधारी: “मुक्ति? अवश्य पनि मैले मुक्ति पाएको छु।”

प्रचारक: “तपाईंले आफ्‍नो मुक्तिको आशा कुन कुरामा आधारित बनाउनुभएको छ त?”

नामधारी: “केही समय अघि एकजना मित्रले मसँग येशूको बारेमा कुरा गर्नुभएको थियो र मैले पापीको प्रार्थना गरें र त्यस मित्रले मलाई केही पदहरू देखाएर मलाई भन्नुभयो कि म अब स्वर्गतिर जाँदैछु।”

प्रचारक: “अहो! हामीलाई यो कुरा सुनेर खुसी लाग्यो। के तपाईं अब परमेश्वरसँग हिँड्ने गर्नुहुन्छ?”

नामधारी: “खासै गर्दिनँ। म जसरी जिउनुपर्ने हो त्यसरी जिइरहेको त छैन होला सायद। तर त्यो त म र परमेश्वर बीचको कुरा हो। मैले आफूले गर्न सक्ने जति र मैले चिनेका धेरै मानिसहरूले जत्तिकै असल त गरिरहेकै छु। परमेश्वरको निम्ति जिउनु मलाई कति गाह्रो छ भन्ने कुरा तपाईं जान्नुहुन्न।”

प्रचारक: “के तपाईं नियमित रूपमा मण्डली जाने र परमेश्वरका जनहरूसित सङ्गति गर्ने गर्नुहुन्छ?”

नामधारी: “खासै गर्दिनँ, तर टि.भि. मा धार्मिक कार्यक्रमहरू हेर्ने गर्छु कहिलेकाहिँ। जे होस्, परमेश्वरसँग ठीक हुनलाई मान्छेलाई मण्डली जानुपर्छ भन्ने त छैन नि।”

प्रचारक: “तपाईंले मुक्ति पाउनु भएदेखि यता बाइबल त अवश्य पढ्नुहुन्छ होला नि।”

नामधारी: “म खासै धेरै बाइबल पढ्ने गर्दिनँ। मेरो आँखाको पनि समस्या छ अनि बाइबल मलाई त्यति अर्थपूर्ण पनि लाग्दैन।”

प्रचारक: “महोदय, हामी रुखो बन्न खोजेका त होइनौं, तर के तपाईंले साँच्ची नै मुक्ति पाउनुभएको छ र?

नामधारी: “सुन्नुहोस्, परमेश्वरसितको मेरो सम्बन्ध मेरो आफ्‍नै निजी मामिला हो। न्याय गर्नुहुँदैन भनेर बाइबलले भनेको छ नि, होइन र? मैले येशूमा र बाइबलमा तपाईंले गर्नुभए जत्तिकै विश्वास गर्छु र मसित कुरा गर्नुहुने त्यस मित्रले मैले मुक्ति पाएको छु र म स्वर्ग जाँदैछु भनेर भन्नुभएको थियो र उहाँले मलाई बाइबलबाट केही प्रतिज्ञाहरू पनि दिनुभएको थियो। म यसको बारेमा अरु कुरा गर्न चाहँदिनँ। त्यसमा पनि म अलिक व्यस्त नै छु। मेरो रोचक टेलिभिजन कार्यक्रम केही मिनटमै शुरु हुँदैछ र तपाईंले मेरो ढोका ढकढकाउनु भन्दा केही समय अघि मात्र फ्रिजबाट मैले चिसो बियर निकालेको थिएँ अब त तातो हुन थालिसक्यो होला।”

* * * * *

२ पत्रूस २:२०-२२ -– “किनकि प्रभु र मुक्तिदाता येशू ख्रीष्टको पहिचानद्वारा तिनीहरू संसारका अशुद्धताहरूबाट उम्केका छन्, तर फेरि ती कुराहरूमा फसे, र हारे भने तिनीहरूको पछिल्लो अवस्थाचाहिँ अघिल्लोभन्दा खराब हुन्छ। … तर यस सत्य उखानमुताबिक तिनीहरूलाई भएको छ: “कुकुर फेरि आफ्‍नै छादपट्टि फर्क्यो, र नुहाइएको भुनी फेरि आहाल खेल्न फर्क्यो।”

१ यूहन्ना २:४ –- “जसले ‘म उहाँलाई चिन्छु’ भन्छ, तर उहाँका आज्ञाहरूचाहिँ पालन गर्दैन, त्यो झूट हो, र त्यसमा सत्य छैन।”

तीतस १:१६ -– “हामी परमेश्वरलाई चिन्छौं भनी तिनीहरू दाबी गर्छन्, तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छन्; किनकि तिनीहरू घिनलाग्दा, अनाज्ञाकारी र हरेक असल कामका लागि निकम्मा छन्।”

मुक्ति पाएको दाबी गरेका तर आत्मिक परिवर्तनको अनुभव नै नगरेका यस्ता थुप्रै सङ्ख्यामा रहेका मानिसहरूको कारणले मुक्ति वास्तवमा के हो भनी जान्न मानिसहरूलाई कठिन हुन गएको छ। के ख्रीष्ट येशूमा भएको मुक्तिको केही अर्थ छ? के यसले कुनै फरक पार्छ?

नेपालमा र विश्वका अन्य ठाउँहरूमा यस्ता मानिसहरू थुप्रै सङ्ख्यामा छन् जोहरूले आफूले ख्रीष्टमा विश्वास गरेको दाबी त गर्छन्, तर परमेश्वर, परमेश्वरको पुस्तक, परमेश्वरका जनहरू र परमेश्वरको मार्गप्रति भने उनीहरू कुनै वास्ता देखाउँदैनन्।

प्रायः जसो तिनीहरूको बीचमा यस्तो किसिमको छाप परेको छ कि ख्रीष्ट उनीहरूका पापहरूको निम्ति मर्नुभएको कुरामाथि गरिएको उनीहरूको दिमागी स्वीकार नै स्वर्ग जाने टिकट हो। स्वर्ग भनेको आफू मरेपछि जानलाई एउटा असल स्थान हो भन्ने कुरामा उनीहरू सहमत छन्, र एकदिन त्यहाँ जान सकियोस् भन्ने हेतुले येशू उनीहरूको पापहरूको निम्ति मर्नुभएको कुरामा आफूहरूले विश्वास गरेको कुरा उनीहरूले बताउँछन्। तर यो बाहेक, आत्मिक कुराहरूमा उनीहरूको वर्तमान चासो भने थोरै छ वा भनौं, छँदैछैन।

माथिको उदाहरणमा प्रचारकले बाइबलको बारेमा कुराकानी गर्ने प्रयास गर्दा त्यस नामधारीलाई अल्छी लागेको वा रिस उठेको जस्तो देखियो। उसको ढोकामा प्रचारकले ढकढक्याउँनु अघि आफूले हेरिरहेको टेलिभिजन कार्यक्रमबाट सायद उसले आफ्‍नो ध्यान समेत नछोड्ला। त्यस नामधारी मिलनसार जस्तो देखिए तापनि उसको व्यवहारले प्रचारक यहाँबाट कहिले जाला अनि आराम पाऊँला भन्ने मनोभावलाई दर्शाइरहेको छ।

यस्तो किसिमको “विश्वासी” का नानीहरू र परिवार, सङ्गी साथीहरू, र छिमेकीहरूलाई मुक्तिको खास कुनै अर्थ रहेनछ भन्ने छाप बस्छ। अरुले हेर्दा मुक्ति त स्वर्ग जाने टिकटको ग्यारेन्टि दिने एक प्रकारको प्रार्थना मात्र रहेछ र वर्तमान दैनिक जीवनसँग यो कथित मुक्तिको कुनै पनि सरोकार रहेनछ भन्ने देखिन्छ। यो त भयङ्कर गलत सन्देश हो!

यस्तो खालको “विश्वास” मा पश्चात्तापको ठाउँ खै? क्रोधबाट भागेर ख्रीष्टकहाँ शरण लिन आउने कुरा खै (हिब्रू ६:१८)? मूर्तिहरूबाट परमेश्वरतर्फ फर्कने कुरा खै (१ थेस्सलोनिकी १:९)? नयाँ सृष्टि हुने कुरा खै (२ कोरिन्थी ५:१७)?

हामी छक्क पर्नु पर्दैन कि जहाँजहाँ यस्तो किसिमको रित्तो दाबीको बिगबिगी हुन्छ त्यहाँ मानिसहरू इसाईमतलाई खिसी गरिरहेका हुन्छन्। प्राय:जसो ख्रीष्टमा मुक्ति पाएझैं नक्कल गर्नेहरू, अवश्य पनि, ठट्टाका कारण नै हुन्।

त्यसैले झूटा शिक्षाहरूले निकै सफलता पाइरहेका कुरामा पनि हामी अचम्म मान्नु नै पर्दैन।

पश्चात्तापको बारेमा पनि अक्सर प्रचार भइरहेको छैन। मुक्ति भित्रबाट शुरु भएर बाहिरसम्म देखिने पवित्र आत्माद्वारा हुने परिवर्तन हो भनी देखाउने काम गरिएको छैन। परमेश्वरका कुराहरूको निम्ति कुनै जोश पैदा नगर्ने किसिमको “विश्वास” सित मानिसहरू सन्तुष्ट छन्। झूटा शिक्षकहरू आउँछन् र बाइबलले धर्मी जीवनको बारेमा धेरै बताएको तथ्य उनीहरूले देखाउँछन्। हुन त तिनीहरूले यस बारेमा ठीकै भनेका हुन्, तर परमेश्वरको सामु मानिसको धर्मीकरणको निम्ति कामहरूको स्थान छ भन्ने कुरामा तिनीहरू बिल्कुल गलत छन्।

मान्छेले आफ्‍नो जहाजलाई स्वर्गको सुरक्षित बन्दरगाहसम्म पुर्‍याउने दुई पतवारहरू विश्वास र कामहरू हुन् भन्ने भ्रमात्मक शिक्षा सिकाउन ती झूटा शिक्षाहरूलाई पृष्ठभूमि तब तयार भएको हुन्छ। पश्चात्तापबिनाको विश्वास पनि विश्वास हो भन्ने असन्तुलित शिक्षा व्यापक रूपमा मानिएकोले, विश्वासलाई भन्दा कामलाई बढी वा उत्तिकै महत्त्व दिएर आफ्‍नो झूटा शिक्षाहरूको खेती गर्न ती झुटा शिक्षकहरूलाई वातावरण तयार भएको हुन्छ।

त्यसैले सत्य बाइबलीय मुक्तिको सत्यतालाई बलियो गरी पक्रनु अत्यावश्यक भएको हामी देख्दछौं, जुन चाहिँ परमेश्वरतर्फको पश्चात्ताप र हाम्रो प्रभु येशू ख्रीष्टतर्फको विश्वास हो (प्रेरित २०:२१)। पवित्र शास्त्रहरूमुताबिक दुवै पक्षहरू आवश्यक छन्।

मुक्तिको पूर्ण बाइबलीय सन्देश प्रचार गर्नु कति धेरै जरूरी छ—कि पश्चात्ताप र पापहरूको क्षमा उहाँको नाममा हरेक जातिका बीच प्रचार गरिनुपर्छ (लूका २४:४७)। दुवै पक्षहरू सुसमाचारका नभई नहुने पाटाहरू हुन्। वास्तवमा यो हो “पूर्ण सुसमाचार” को माने, न कि पेन्टेकोस्टल अन्यभाषाहरू र ईश्वरीय चङ्गाइ!

मानिसहरूले मुक्ति पाएका र हराएकाहरू बीचको स्पष्ट भिन्नता देख्नु आवश्यक छ। मुक्तिको केही अर्थ छ भन्ने उनीहरूले सुन्न र देख्न आवश्यक छ; यसले भिन्नता ल्याउँछ। प्रभु येशू ख्रीष्टको क्रूस मानिसहरूलाई पाप र अपराधहरूबाट छुटकारा दिनालाई परमेश्वरको साधन थियो कि उहाँले “एउटा विशेष जातिलाई आफ्‍नै निम्ति शुद्ध” पार्न सक्नुभएको होस् भनेर – कुन अर्थमा शुद्ध? उनीहरू “असल-असल कामहरूमा जोशिलो” भएकोमा शुद्ध (तीतस २:१४)। क्रूसले नै भिन्नता ल्याउनुपर्छ।

भिन्नताको रेखा कोर्न, सत्यलाई झूटबाट अलग पार्नलाई सहायता गर्न यो अध्ययन तयार गरिएको छ।

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype