विकासवादको परिचय

विकासवादको परिचय भाग १

 

  1. डार्विनवादलाई खण्डन गर्न सक्न वैज्ञानिक हुनुपर्दैन।

बाइबल विश्वास गर्ने व्यक्ति वैज्ञानिकहरूदेखि डराउनुपर्दैन।

रिडर्स डाइजेस्ट (Reader’s Digest) को विज्ञान तथा प्रविधिका भूतपूर्व सम्पादक डा० लोवेल पोन्ट (Dr. Lowell Ponte) ले हामीलाई यो सम्झना गराउँछन् कि वैज्ञानिकहरू ईश्वरहरू होइनन् यद्यपि उनीहरू केहिलेकाहीँ आफूहरू ईश्वरहरू भएझैं ठान्छन्:c

“वैज्ञानिकहरू भट्टिको पियक्कडभन्दा बढी जान्कार हुँदैनन् यदि विषयवस्तु उनीहरूको दखलको साँघुरो क्षेत्रभन्दा बाहिरको पर्‍यो भने। वास्तवमा धेरैपटक उनीहरू भट्टिको पियक्कडभन्दा मूर्ख हुन्छन् किनकि वैज्ञानिक अधिकारी भएकाले उनीहरू यस्तो धारणाले कतिपटक उन्मत्त हुन्छन् कि उनीहरू एउटा विषयमा विज्ञ भएकाले उनीहरूसित सबै विषयहरूमा ईश्वरहरूको जस्तै अधिकारले बोल्ने अधिकार हुन्छ” (Dr. Lowell Ponte, “Science Wars,” FrontPage Magazine, Feb. 27, 2004).

डार्विनवादको सवालमा कानून प्राध्यापक फिलिप जोनसन (Phillip Johnson) ले गरेको आलोचना सही छ: 

“विकासवादजस्तो चौडा विषयसित व्यवहार गर्नुपर्दा वैज्ञानिक हुनु आफैमा फाइदा नहुन सक्छ किनकि विकासवादको प्रसङ्गले विज्ञानका धेरै हाँगाबिगालाई छुन्छ र साथै यसमा दार्शनिक मुद्दाहरू समेत मुछिएका छन्। आफ्‍नै क्षेत्रमा तल्लीन वैज्ञानिकहरू स्वभावैले आफ्‍नै क्षेत्रमा एकदमै सीमित हुने गरी विशेषज्ञ बनेका हुन्छन् अनि एउटा वैज्ञानिक उसको दखलको क्षेत्रभन्दा बाहिर केवल अर्को सामान्य मान्छे बराबर हुन्छ” (Phillip Johnson, Darwin on Trial, p. 13)

हामीले यो कुरा नबिर्सौं कि ईश्वरीय सत्यता शक्तिशालीलाई नभएर कमजोरलाई प्रकट गरिएको छ (मत्ती ११:२५; १ कोरिन्थी १:२६-२८)। अझ, समझ भएको “गरिब” ले “धनी मानिस” लाई जाँच्न सक्छ जो आफ्‍नै दृष्टिमा बुद्धिमान् छ (हितोपदेश २८:११)।

विश्वासीसित उसले विकासवादको मतलाई जाँच्न उसलाई चाहिने सबै कुरा छ: हामीसित परमेश्वरको वचन छ (२ तिमोथी ३:१६-१७) र हामीसित परमेश्वरको आत्मा हुनुहुन्छ (१ यूहन्ना २:२७)।

प्रत्येक दर्शनशास्त्र (philosophy, सिद्धान्तशास्त्र वा तत्त्वशास्त्र) लाई यही कसीमा जाँचिनुपर्छ (२ कोरिन्थी १०:५; कलस्सी २:८; १ तिमोथी ६:२०-२१)।

सामान्य ज्ञान (common sense) ले विकासवादको हरेक पाटोलाई खण्डन गर्दछ। जस्तै, विचार गरौं, जथाभावी हुने वंशानुगत उत्परिवर्तन (random genetic mutation) हरूद्वारा विकास हुन्छ भन्ने विकासवादी धारणा। जीवनमा कुनै पनि कुरा यसरी हुने गर्दैन। कुनै लेखोटलाई लिऊँ। जस्तै, उत्पत्ति अध्याय १ लाई। जथाभावी टाइप गरेर यो कहिल्यै सृजना हुन सक्दैन। अनि यदि कुनै लेखोटमा जथाभावी परिवर्तनहरू गरिए भने त्यसको नतीजा सधैं नै एउटा अझ विकसित लेखोट नभएर विकृत लेखोट हुन जान्छ। स्पेस शटल (space shuttle) जस्तो एउटा अन्तरिक्ष यानलाई विचार गरौं। त्यसका २० लाख पार्टपूर्जा हुन्छन् (तरैपनि त्यो कुनै एक-कोषीय ब्याक्टेरिया भन्दा ज्यादै सरल रचना हो)। जथाभावी अन्धा परिवर्तनहरू गरेर त्यस्तो यान कहिल्यै सृजना गर्न सकिन्न नता निर्मित यानलाई अझ विकसित बनाउन सकिन्छ। जटिल वस्तुहरू जथाभावी आकस्मिक घटनाहरूले निर्माण हुने गर्दैनन्। खास भन्नुपर्दा, विकासवादको मुद्दा “रकेट साइन्स” जस्तो गाह्रो विषय होइन!

  1. सृष्टि विज्ञानका सामग्रीका फाइदाहरू

सृष्टि विज्ञानका सामग्रीहरू परमेश्वरका जनहरूलाई शैतानका झूटहरूको विरुद्धमा मज्बुत पार्न असाध्य उपयोगी छन्, विशेष गरी युवाहरूलाई। तीतस १:९-११ ले यो बताउँछ कि झूटा शिक्षकहरूका मुखहरू बन्द गर्नलाई प्रचारकहरू र शिक्षकहरू आवश्यक हुन्छन्। सृष्टि विज्ञानका सामग्रीको पहिलो उद्देश्य यही हो। डार्विनवादलाई रद्द गर्न सकिन्छ किनकि यसलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाणहरू छैनन् भनेर युवाहरूले यो देख्न खाँचो छ।

सृष्टि विज्ञानका सामग्रीहरूले विश्लेषणात्मक विचार शैली र खाँटी तर्कज्ञान सिकाउँछ। हिब्रूका लेखकले यो बताउँछन् कि आत्मिक र नैतिक ज्ञानेन्द्रियहरूलाई अभ्यासद्वारा तालीम दिइनुपर्छ (हिब्रू ५:१४)।

सृष्टि विज्ञानका सामग्रीहरूले विश्वासीको हृदयलाई सर्वशक्तिमान् सृष्टिकर्ता परमेश्वरको नजिक लान्छ र उसलाई उहाँको चरित्र र सामर्थ्यका पाठहरू सिकाउँछ। रोमी १:२०

सृष्टि विज्ञानका सामग्रीहरू सुसमाचार प्रचार कार्यमा उपयोगी हुन्छन्।

  1. बाइबललाई विश्वास गर्न सकिँदैन भन्ने भ्रमदेखि होशियार हुनुहोस्।

आफ्‍नो विश्वासलाई बाइबलमा लगाइराख्नेहरू कहिल्यै निरुत्साहित भएका छैनन्।

सन् १८५९ मा डार्विनले On the Origin of Species प्रकाशन गरेको समयलाई विचार गरौं। एफ सी बउर (F. C. Baur) जस्ता सन्देहवादीहरूले नयाँ नियम त्यसका घटनाहरू घटेको एक शताब्दि वा त्यसभन्दा पछि लेखिएको हो अनि त्यो पुस्तौंसम्म मुखको बोलीबाट हस्तान्तरण हुँदै आएका किंवदन्तीहरूमा आधारित लेखोट हो भन्ने दाबी गरे। सन्देहवादीहरूले प्रेरितको पुस्तक ऐतिहासिक त्रुटीहरूले भरिएको छ भनेर दाबी गरे। उनीहरूले यो दाबी गरे कि मोशाले बाइबलका सुरुका पुस्तकहरू लेखेका होइनन् किनकि उनको समयमा लिपिको ज्ञान पर्याप्त रूपमा विकास भएको थिएन।

तर वास्तवमा यी आलोचनात्मक धारणहरू पो किंवदन्ती वा भ्रम ठहरिए र बाइबल सप्रमाणित भयो। बाइबलमा भरोसा कायम राख्नेहरू सही ठहरिए।

नयाँ नियमको मितिको सम्बन्धमा र प्रेरितको पुस्तकका ऐतिहासिक त्रुटीहरूको सम्बन्धमा उठेका आलोचनात्मक धारणाहरू प्रख्यात पुरातत्त्वविद विलियम राम्से (William Ramsay) र अरूहरूद्वारा निर्णायक रूपमै रद्द गरिए। लिपिको सवालमा पुरातत्त्विदहरू अब जान्दछन् कि यो कम्तिमा ईपू ३१५० तिर विकास भएको थियो अनि हामीले व्यक्तिगत रूपमा यसको प्रमाण धेरैओटा प्रख्यात पुस्तकालय र म्यूजियमहरूमा देखेका छौं। त्यो भनेको मोशाभन्दा १५०० वर्ष अगाडिको कुरा हो र यसले हामीलाई बाइबलीय कालक्रम (chronology) अनुसार आदमकै जीवनकालसम्म पुर्‍याउँछ।  १९ औं शताब्दिको पछिल्लो समयदेखि पुरातत्त्विदहरूले यो आविष्कार गरे कि मिश्र र मेसोपोटामियाका प्राचीन राज्यहरू साक्षार समाजहरू थिए जहाँ पाठशाला र पुस्तकालयहरू थिए। ऊगारित, मारी, ऊर, एब्ला, निप्पूर, नीनवे र अन्य ठाउँहरूमा पुस्तकालयहरू उत्खनन गरिएका छन्। पाठकले यस विषयमा “बाइबलका पुरातात्त्विक रत्नहरू” शीर्षक यूट्यूब भिडियोबाट थप जानकारी पाउन सक्नुहुन्छ (https://www.youtube.com/watch?v=eSFik5oCcbg)।

सन्देहवादीहरू गलत मात्र थिएनन्, उनीहरू अत्यन्तै गलत थिए।

तरैपनि कैयौं मानिसहरू “बाइबललाई विश्वास गर्न सकिन्न” र “विकासवाद सत्य हो” भन्दै अनन्ततामा गएका छन्।

आर्थर कीथ (Arthur Keith) को दु:खद उदाहरणलाई विचार गर्नुहोस्। ऊ २० औं शताब्दिको सबैभन्दा चर्चित शरीरविज्ञान विशेषज्ञ (anatomist) थियो तर ऊ पिल्टडाउन भ्रम (Piltdown Hoax) ले ठगियो। उसको किताब Antiquity of Man ले पिल्टडाउनलाई सर्वोत्कृष्ट मिसिङ लिङ्क (missing link) को रूपमा मान्यता दियो। आफ्‍नो जीवनीमा कीथले आफू सुसमाचार प्रचार सभाहरूमा गएको र ख्रीष्टलाई झण्डै ग्रहण गर्न लागेको तर उत्पत्तिको सृष्टिको विवरण किंवदन्ती भनेर प्रमाणित भएको उसलाई लागेकोले आफूले सुसमाचारलाई इन्कार गरेको कुरा बताउँछन् (Melvin Bubenow, Bones of Contention, p.59)। वास्तवमा किंवदन्ती खास विकासवाद थियो अनि कीथले त्यसको भरमा आफ्‍नो अनन्त आत्माको जुवा खेल्यो। सन् १९५३ मा उसले पिल्टडाउन झूटो साबित भएको जानकारी पायो तर त्यसबेलासम्ममा ऊ मानवीय बुद्धिवाद (humanistic rationalism) मा डुबिसकेको बूढो मानिस भइसकेको थियो र “ख्रीष्टियन विश्वासको उल्लेख्य विरोधी” थियो। हामीलाई थाह भएसम्म ऊ त्यही धारणा लिएर मर्‍यो। उसले बाइबलका प्रमाणहरूलाई अझ बढी होशियारपूर्वक र प्रार्थनापूर्वक खोजी गर्नुपर्थ्यो। बाइबलका आलोचकहरूले र विकासवादीहरूले सिकाएका कुरालाई ग्रहण गर्न ऊ ज्यादा तत्पर हुनुहुँदैनथ्यो। यो विषय अत्यन्तै गम्भीर छ।

निरन्तर बदलिरहने अप्रमाणित “सिद्धान्तहरू” को भरोसामा म आफ्नो अनन्त गन्तव्यलाई सुम्पन अस्वीकार गर्दछु। विश्वभरिका वैज्ञानिकहरूले विकासवादलाई साँचो मानोस् (हुन त कतिले मान्दैनन्), म मतलब राख्दिनँ। उनीहरूको मतलाई समर्थन गर्न उनीहरूले वास्तविक प्रमाण प्रस्तुत गर्नुपर्छ। यो उनीहरूले कहिल्यै गरेका छैनन्।

  1. विकासवाद एउटा “सिद्धान्त” (theory) होइन।

विकासवादलाई एउटा सिद्धान्तको संज्ञा दिनदेखि हामी होशियार छौं। किनभने विकासवाद एउटा वैज्ञानक सिद्धान्त (theory) वा अवधारणा (hypothesis) समेत कहलिन योग्य छैन।

“वैज्ञानिक सिद्धान्तहरूमा गणितीय नमुना निर्माण गर्ने काम (quantitative modeling), अनुसन्धनात्मक तथ्याङ्कहरू (experimental data), पूर्वानुमान (prediction) लगायत अवलोकन (observation) द्वारा बारम्बार प्रमाणीकरण (repeated validation) समावेश हुन्छन्। विकासवादको दर्शनशास्त्र / कथाको कुनै पनि पाटोमा “सिद्धान्त” (theory) भन्ने कुरा छैन। प्रथम प्रोटीनको निर्माणको, पहिलो डिएनएको निर्माणको, पहिलो कोषका उपसंरचनाहरू (substructures) को निर्माणको, पहिलो कोषको निर्माणको, बहुकोषीय प्राणीहरूको निर्माणको, जाति-जातिबीचको रूपान्तरण (transition) को, इत्यादि कुनै सिद्धान्त छैन। केवल कथाहरू मात्र छन्। त्यहाँ कुनै वंशानुगत तथ्याङ्क छैन, उत्परिवर्तनहरू (mutations) र प्राकृतिक छनोट (natural selection) ले नयाँ, जटिल तन्तुहरू, अङ्गहरू वा प्राणीहरू पैदा गरेको अवलोकनको एउटै उदाहरण छैन। साथै विकासवाद एउटा अवधारणा (hypothesis) पनि होइन जुन भनेको अवलोकन गरिएका तथ्यहरूको एउटा तर्कसङ्गत व्याख्या हो जुनचाहिँ अनुसन्धनात्मक तथ्याङ्कहरू र विश्लेषणको प्रयोग गर्दा जानिएका भौतिक नियमहरूसित मेल खान्छन्। जब एउटा अवधारणालाई फराकिलो तवरले विभिन्न परिस्थितिहरूमा बारम्बार परीक्षण गरिँदा त्यो खडा रहिरहन्छ तब त्यसबाट एउटा सिद्धान्तको उदय हुन्छ। विकासवाद दुवै शब्दावलीको अयोग्य छ। विकासवाद वैज्ञानिक समर्थन बिनाको, केवल एउटा दार्शनिक, अझ एउटा धार्मिक धारणाको रूपमा योग्य छ जसले बाइबलीय सत्यतालाई कथाहरूद्वारा विस्थापन गर्ने उद्देश्य बोकेको छ” (David Stone, Ph.D. physics, e-mail to author, August 21, 2011)।

  1. विकासवादको प्रमाण यति पातलो छ कि धेरैजना धर्मनिरपेक्ष वैज्ञानिकहरूले समेत यसलाई विश्वास गर्दैनन्।

न्यू योर्क अकाडेमी अफ साइन्सेज (New York Academy of Sciences) को गणितीज्ञ र अनुसन्धानकर्ता आइ० एल० कोहेन:

“…विकासवादले प्रतिपादन गरेको एक-एक धारणा (त्यसलाई पछिबाट जतिसुकै सच्च्याइए तापनि) काल्पनिक छ र त्यसलाई माइक्रोबायोलोजी, जीवाश्महरू र गणितीय सम्भावना (mathematical probability) का धारणाहरूले समर्थन गर्दैनन्। डार्विन गलत थियो। … विकासवाद विज्ञानकै सम्भवत: सबभन्दा ठूलो भूल हो” (Cohen, Darwin Was Wrong: A Study in Probabilities, 1984, pp. 209,210)।

प्रिन्सटन यूनिभर्सिटी (Princeton University) बाट दर्शनशास्त्रमा डाक्टर उपाधिप्राप्त र कोलम्बिया यूनिभर्सिटी (Columbia University) बाट गणीत र जीवशास्त्रमा पोस्टडक्टरल अध्ययन पूरा गरेको डेविड बर्लिन्स्की (David Berlinski):

“जीवनका संरचनाहरू जटिल छन् अनि यस मनुष्य संसारमा जटिल संरचनाहरू बनाइने भनेको सुनियोजित ढङ्गको योजनावद्ध प्रकृयाद्वारा हो। एउटा सियो अस्तित्वमा ल्याउन पनि बुद्धिको एउटा क्रिया चाहिन्छ; जीव बनोटहरू किन अन्य तरिकाले आउँथे र? … धेरै वर्षसम्म जीवशास्त्रीहरूले सन्देहवादलाई विकासवादी धारणाको परिधिमा राखिराख्न सफल भए जहाँ जीवाश्मविदहरू (paleontologists), जीव-वर्गीकरणविदहरू (taxonomists) र दर्शनशास्त्रीहरू रुमलिरहन्छन्। तर आलोचनाको आगो जल्दै-जल्दै आएर उक्त परिधि अब साँघुरो हुँदैछ, डार्विनमतको मुटुको झन् झन् नजिकिँदैछ” (The Deniable Darwin, June 1, 1996)।

न्यूजिल्याण्डको यूनिभर्सिटी अफ ओटागो (University of Otago) को परमाणविक जीवशास्त्रका वरिष्ठ अन्वेषणकर्ता र लण्डनको किङ्ग्स कलेज (King’s College) बाट डाक्टर उपाधिप्राप्त माइकल डेन्टन (Michael Denton):

“विकासवादसित मेरो मूल समस्या यो हो कि त्यहाँ यति धेरै अति नै जटिल अङ्गहरू, प्रणालीहरू र बनोटहरू छन्, एउटा चराको फोक्सोको स्वभावदेखि लिएर रक लब्स्टरको आँखासम्म, जसको सम्बन्धमा म यो कल्पना गर्न सक्दिनँ कि कसरी यी कुराहरू जथाभावी भएका परिवर्तनहरू थुप्रिएर हुन आए। जथाभावी भएका स-साना परिवर्तनहरूको सञ्चयद्वारा यी सबै कुराहरू निर्माण भएको हो भन्ने कुरा निल्नु भनेको सामान्य ज्ञान (common sense) लाई घोर रूपमा अस्वीकार गर्नु हो भन्ने कुराले म प्रभावित छु। यो त सरासर अर्थहीन दाबी हो विशेष गरी अधिकांश कुराहरूको सवालमा जसको विषयमा कसैले पनि त्यो कसरी आयो भनेर एउटा मान्न सकिने व्याख्याको विचार पनि गर्न सक्दैन। अनि यो नै एउटा ज्यादै गम्भिर प्रश्न हो जसलाई सबैले आँखा चिम्लिन्छन्, सबैले नदेखे जस्तै गर्छन् र सबैले मानौं बढारेर खाटमुनि लुकाउन खोज्छन्” (“An interview with Michael Denton,” Access Research Network, Vol 15. No. 2, 1995; the interview was produced in conjunction with the University of California and was first in a series of interviews with noted scientists and educators entitled Focus on Darwinism)।

एपिजेनेटिक्स शीर्षक गरेको किताब (Epigenetics: A Treatise on Theoretical Biology and The Phylogeny of Vertebrata) का लेखक स्वीडेनका जीवशास्त्री सोरेन लभट्रप:

“म यो विश्वास गर्दछु कि एक दिन डार्विनवादी किंवदन्तीलाई विज्ञानको इतिहासमा सबैभन्दा ठूलो धोकाको दर्जा दिइनेछ” (Darwinism: The Refutation of a Myth, 1987)

कोलम्बिया यूनिभर्सिटीबाट गणीतमा डाक्टर उपाधिप्राप्त र एमआइटी, यूसीएलए र ओरिगन स्टेट यूनिभर्सिटीमा गणीतका प्राध्यापक वोल्फग्याङ्ग स्मीथ (Wolfgang Smith):

“कुरा यो छ कि विकासवादको मतले संसारलाई बाढले झैं लगेको छ, त्यसको वैज्ञानिक मर्यादाको बलले होइन तर अल्पसङ्ख्य‍कद्वारा मात्र बुझ्न सकिने एउटा किंवदन्ती (gnostic myth) को हैसियतले। भन्नुपर्दा यसले यो दाबी गर्छ कि जीवहरूले आफैलाई सृष्टि गरे, जो भनेको, निचोडमा, एउटा आध्यात्मिक (metaphysical) दाबी हो। … यसरी आखिरमा विकासवाद साँच्ची नै वैज्ञानिक भेषमा आभूषित एउटा आध्यात्मिक मत हो” (Teilhardism and the New Religion, p.24)

लण्डनस्थित म्यूजिअम अफ न्याचूरल हिस्ट्री (Museum of Natural History) को वरिष्ठ जीवाश्मविद कोलीन प्याटरसन (Colin Paterson):

“एउटै मूलबाट जीवहरू आए भन्ने विकासवादी अवधारणाको व्याख्यात्मक मूल्य भनेको शून्य छ! विकासवादले केवल कुनै ज्ञान प्रदान नगर्ने मात्र होइन यसले अज्ञानता प्रदान गर्दछ। यो कसरी सम्भव भयो कि मैले दस-दस वर्ष विकासवादको क्षेत्रमा काम गरें तरैपनि मैले एउटै कुरा त्यसबाट सिक्न सकिनँ? यस कोठामा हुनुहुनेहरूमध्ये धेरैजसोले यो कुरा स्वीकार गर्नुपर्छ कि गत दस वर्षको अवधिभित्र विकासवादको आधार तथ्यहरूबाट विश्वासमा सरेको छ! हेर्दा यस्तो पक्कै पनि देखिन्छ कि विकासवादको विषयमा ज्ञानको तह उल्लेख्य रूपमा न्युन छ। केवल हामी यति जान्दछौं कि यसलाई स्कूलमा पढाइनुहुँदैन। हामीले यसको बारेमा जानेको कुरा भनेको यति नै हो” (Patterson, in an address given at the American Museum of Natural History, Nov. 5, 1981; cited from White and Comninellis, Darwin’s Demise, p.47)।

  1. विकासवादी मत अन्तिम दिनहरूको सत्यत्यागको एउटा उपज हो।

१९ औं शताब्दिमा सत्यत्यागको विस्फोटन भयो। सन्देहवादको वातावरण जहाँसुकै थियो। ईश्वरशास्त्रीय मडर्निज्म, ह्यूमनिज्म, यूनिटेरियनवादले डार्विनवादी विकासवादलाई स्वीकार गर्न माटो तयार पारेको थियो।

त्यसबेलाको सन्देहवादको वातावरणको बयानलाई विचार गर्नुहोस्:

“त्यो यस्तो समय थियो जब जीवहरूको उत्पत्तिको बारेमा कल्पना-परिकल्पनाहरूको विगविगी थियो, जब सबभन्दा खाँटी सिद्धान्तहरू समेत परिमार्जित हुँदै थिए र जटिल बनाइँदैथिए यतिसम्म कि खाँटी सिद्धान्तर कहाँ अन्त हुन्छ र झूटा सिद्धान्त कहाँ सुरु हुन्छ भनेर जान्न सम्भवै थिएन।  (Gertrude Himmelfarb, Darwin and the Darwinian Revolution, p.234)

“मैले भेटेको हरेक विचारशील व्यक्ति धार्मिक विश्वासका सबै मुख्य-मुख्य बुँदाहरूको सवालमा आफ्‍नो हृदयमा शङ्काको अवस्थामा छ।” (Thomas Huxley, cited from Adrian Desmond Huxley, p. 160).

“जर्मनी, स्वीटजरल्याण्ड, र हल्याण्डका मण्डलीहरूको अनात्मिक अवस्था … र सर्वसाधरण मानिसहरूको बीचमा रहेको डरलाग्दो व्याप्त सन्देहवाद, अविश्वास, र नास्तिकवादको कारण निश्चय पनि के थियो भने ती राष्ट्रहरूका बहुसङ्ख्यक रूपमा रहेका प्रमुख पास्टरहरू र ईश्वरशास्त्रीय प्राध्यापकहरूले यस्ता आलोचनाहरूको समर्थन गरिरहेका थिए … यस्तै कुरा … इङ्ग्ल्याण्ड, स्कटल्याण्ड र अमेरिकामा पनि [फैलिरहेको थियो] … (L.W. Munhall, The Highest Critics vs. the Higher Critics, 1896)

“अविश्वासको बाढी रोक्ने फाटकहरू अब खुल्ला भएका छन्, अनि नास्तिकवाद हामीमाथि उर्लेर आइरहेको छ” (George Romanes, 1878, cited from Ian Taylor, In the Minds of Men, p. 371).

“आराधनास्थलहरूमा हाजिरी घट्दो छ र पवित्र कुराहरूका निम्ति आदरभाव हराउँदैछ। हामी यो विश्वास गर्दछौं कि यसको कारण धेरै हिसाबले पुल्पिटबाट निस्केका सन्देहवादको झिल्काहरूले गर्दा हो र जो सर्वसाधारण मानिसहरूको बीचमा सल्किएर फैलिएको छ।” (C.H. Spurgeon, 1887, Sword and the Trowel, November 1887). 

आत्मिक सन्देहवादको यस्तो वातावरणमा हो विकासवादको मत जन्मेको र फस्टाएको।

  1. विकासवाद बाइबल अगमवाणीको एउटा पूरा हुवाइ हो र त्यसैले यो  बाइबलको ईश्वरीय उद्भवको एउटा प्रमाण हो।

२ पत्रुस ३:३-७ लाई विचार गर्नुहोस्। २००० वर्ष अगाडि लेखिएको यस भविष्यवाणीले हाम्रो समयको व्याप्त भौतिकवादी, विकासवादी विचारधारालाई बयान गर्दछ। भविष्यवाणीले यो बताउँछ कि गिल्ला गर्नेहरू आउनेछन् जोहरूले विश्वव्यापी जलप्रलय र ख्रीष्टको दोस्रो आगमनलाई इन्कार गर्नेछन्। भविष्यवाणीले गिल्ला गर्नेहरूलाई “अजान रहन चाहनेहरू” भनेर दोष लाउँछ (पद ५)। साथै यसको पछाडि उनीहरूको अभिप्राय यो रहेको बताइएको छ कि उनीहरू परमेश्वरका नियमहरूलाई परित्याग गर्न र आफ्‍नै अभिलाषाहरूअनुसार जिउन चाहन्छन् (पद ३)। यस भविष्यवाणीले डार्विनवादीको प्राकृतिक, यूनिफोर्मिटेरियन धारणा (“सबै कुरा सृष्टिको शुरुबाट जस्ता थिए, त्यस्तै चलिरहेका छन्”, पद ४) लाई बयान गरेको छ। गिल्ला गर्नेहरूसँग एउटा भौतिकवादी, अलौकिक, ईश्वरीय कुरालाई अस्वीकार गर्ने  विश्वास छ। जसरी रिचार्ड लेवोन्टिन (Richard Levontin) ले स्वीकार गरेको छ, “हामी अघिबाटै भौतिकवादप्रति समर्पित छौं। … हामी परमेश्वरलाई (‘ईश्वरीय खुट्टालाई ढोकाबाट’) भित्र छिर्न दिन सक्दैनौं” (Billions and Billions of Demons,” The New York Review, Jan 9, 1997, p.31).

 

येशूको ऐतिहासिक प्रमाण

सन्देहवाद (skepticism): “वस्तुस्थिति र तथ्यहरूको अध्ययनद्वारा वास्तविक स्वरूपको मूल्याङ्कन नगरी अधूरो वा अधकल्चो छोड्ने र जानीजानी कुरा बङ्ग्याएर भिन्न रूपमा प्रचार गरी सन्देह फैलाउने विचार वा सिद्धान्त” (बृहत् शब्दकोष)

न्देहवादीहरूमा पनि त्यस्ता केही उग्र सन्देहवादीहरू छन् जोहरूले येशू एक ऐतिहासिक व्यक्ति हुनुभएको कुरालाई समेत इन्कार गर्छन्। निम्न कारणहरूले गर्दा यो एउटा अशिक्षित अडान हो:

  1. येशूको ऐतिहासिकता सम्बन्धीको विवाद वर्तमान समयमा मात्र उठाइएको नयाँ कुरा हो।
  2. येशूको प्रमुख साक्षी नयाँ नियमको लेखोट हो जसलाई गैर-इसाई दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख ठहरिन्छ।
  3. बाइबलबाहेक, अन्य त्यस्ता गैर-इसाई स्रोतहरू सुरूबाटै अस्तित्वमा छन् जसले येशूको अस्तित्वलाई प्रमाणित गर्दछन्।
  1. येशूको ऐतिहासिकता सम्बन्धीको विवाद वर्तमान समयमा मात्र उठाइएको एउटा नयाँ कुरा हो।

इन्साइक्लोपिडिया ब्रीटानिकाले भन्छ:

“यी अलग-अलग अभिलेखहरूले प्राचीन समयहरूमा इसाईमतका शत्रुहरूले समेत येशूको ऐतिहासिकतालाई कहिल्यै शङ्का गरेनन् भन्ने कुरा प्रमाणित गर्दछन्। यो विवाद पहिलो पटक केही लेखकहरूद्वारा १८ औं शताब्दिको अन्तमा, १९ औं शताब्दिको समयमा र २० औं शताब्दिको सुरुमा उठाइएको थियो, त्यो पनि अपर्याप्त आधारमा” (“Jesus Christ”, Encyclopedia Britannica, १९७४)।

जारोस्लाभ पेलिकन (Jaroslav Pelikan) ले अवलोकन गर्छन्:

“व्यक्तिगत रूपमा उहाँको विषयमा जोसुकैले जेजस्तो सोचे तापनि वा विश्वास गरे तापनि नासरतका येशू झण्डै बीस-बीस शताब्दिहरूसम्म पश्चिमी संस्कृतिको इतिहासमा प्रधान व्यक्ति रहनुभएको छ” (Jesus Through the Centuries, p.1)

डी. जेम्स केनेडी (James Kennedy) ले थप्नुहुन्छ:

“अहिलेसम्म युद्धमा उत्रेका सबै सेनाहरू, महासागर तरेका लडाकु जहाजहरू, बैठक बसेका सबै  सांसदीय सभाहरू, शासन गरेका सबै राजाहरू – ती सबैका संयुक्त प्रभावभन्दा पनि उहाँको एक्लो जीवनले यस पृथ्वीमा मानिसको जीवनलाई अझ बढी प्रभाव पारेको छ।”  (What if Jesus had Never Been Born? p.9)

  1. येशूको प्रमुख साक्षी नयाँ नियमको लेखोट हो जसलाई गैर-इसाई दृष्टिकोणबाट समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख मानिन्छ।

नयाँ नियम ख्रीष्टको मृत्युको लगत्तै पछि लेखिएको थियो भन्ने कुराको प्रमाण अकाट्य छ। बाइबलको स्वरूप अध्ययन अन्तर्गत यस कुरालाई हामीले हेरिसक्यौं।

जोन ए टी रोबिन्सन (John A.T. Robinson) ले रिडेटिङ द न्यू टेस्टामेन्ट (Redating the New Testament) मा यो निष्कर्ष निकालेका छन् कि पूरै नयाँ नियम ७० एडीभन्दा अगाडि लेखिएको थियो।

पुरातत्त्व विज्ञानका सर्वोत्कृष्ट अग्रज विलियम राम्से (William Ramsay) ले यो लेखे:

“नयाँ नियमको कुनै पनि पुस्तकको मितिलाई एडी ८० भन्दा पछाडि राख्न अबउसो कुनै ठोस आधार छैन भनेर हामी अब जोडदारसित भन्न सक्दछौं। यो भनेको आजका नयाँ नियमका आलोचकहरूले तोकेको १३० एडी देखि १५० एडीको मितिभन्दा पूरै दुई पुस्ता अगाडिको मिति हो।” (William Ramsay, Recent Discoveries in Bible Lands, 1955, p.136).

“नयाँ नियमको प्रत्येक पुस्तक एक बप्तिस्मा गरिएको यहूदीद्वारा पहिलो शताब्दिको ४० देखि ८० एडीमा लेखिएको हुनुपर्छ भन्ने कुरा म ठान्दछु” (William Ramsay, “Christianity Today”, Jan 18, 1963).

विलियम अल्ब्राइट, अर्को प्रभावशाली पुरातत्त्वविदले लेखे:

“नयाँ नियम जस्तो हो भनेर पहिला विश्वास गरिन्थ्यो ठीक त्यस्तै रहेछ भनेर प्रमाणित भएको छ अर्थात् नयाँ नियम करिब २५ देखि ८० एडीका बीच लेखिएको ख्रीष्ट र उहाँका चेलाहरूका शिक्षाहरू हुन्। कूमरानबाट पत्ता लागेका तथ्यहरूले यो प्रमाणित गर्दछ (William F. Albright, From Stone Age to Christianity, p.23).

जसरी हामीले हेरिसक्यौं, मौलिक लेखोटहरू लेखिएको केही थोरै दशक मात्र बितेपछिको मिति रहेको खण्डहरू हामीसित छन्, अर्थात् पहिलो शताब्दिको अन्तितिरको मिति रहेको र साथै दोस्रो शताब्दिको सुरुतिरको मिति रहेको नयाँ नियमका खण्डहरू अस्तित्वमा छन्। अनि थुप्रै-थुप्रै सङ्ख्यामा तिनका प्रतिलिपिहरू अस्तित्वमा हुनु भनेको इतिहासमै अद्वित्तीय कुरा रहेको छ। पाण्डुलिपिहरूको प्रमाण कतिको बलियो छ भन्ने कुराको सवालमा अर्को कुनै प्राचीन पुस्तक नयाँ नियमको तुलनामा अलिकित नजिक पनि आइपुग्दैन।

  1. येशूको अस्तित्वलाई प्रमाणित गर्ने बाइबलबाहेक अन्य त्यस्ता गैर-इसाई स्रोतहरू पहिलेदेखि नै छन्।

निम्न उदाहरणहरू जोश म्याक्डावेलको पुस्तक द न्यू एभिडेन्स द्‍याट डिमान्ड्स ए भर्डिक्ट (The New Evidence That Demands a Verdict) बाटका हुन्:

कोर्नेलियस ट्यासीटस् (Cornelius Tacitus), पहिलो शताब्दिका एक रोमी इतिहासकार:

“जसबाट [ख्रीष्टियमत भनिने] यो नामको सुरुआत भयो, ती ख्रीष्टसले तिबेरियासको शासनकालमा हाम्रा प्रशासकहरूमध्ये एकजना पोन्टियस पिलातसको अधिकारअन्तर्गत सबैभन्दा अधिकतम नापको सजाय भोगे…” (Annals XV, c. 115 AD).

स्वेतोनियस (Suetonius), हेड्रियन सम्राट (AD 117-138) का प्रमुख मन्त्री:

“ख्रेस्टसको सम्बन्धमा यहूदीहरूले बारम्बार दङ्गा मच्च्याइरहेका हुनाले उनले तिनीहरूलाई रोमबाट निष्कासन गरिदिए” (Life of Claudius, 25:4)

ओरोसियस (Orosius):

“लेखक ओरोसियसले यो निष्कासन कार्य क्लाउडियसको शासनकालको नवौं वर्षमा अर्थात् ४९ एडीमा भएको थियो भनेर उल्लेख गर्छन्। यसले यो गवाही दिइरहेको छ कि क्रूसीकरण भएको १५-२० वर्ष नबित्दै रोममा एउटा ख्रीष्टियन समुदाय थियो। प्रेरितको पुस्तकमा यो रोमी प्रमाणको एउटा अचम्मलाग्दो पुष्टिकरण भेटिन्छ। जब पावल एथेन्सबाट कोरिन्थमा आए उनले त्यहाँ “पोन्टसमा जन्मेका अक्विला नामका एकजना यहूदीलाई भेट्टाए; (तिनी आफ्नी पत्नी प्रिस्किल्लासित भर्खरै इटालीबाट आएका थिए; किनभने क्लाउडयसले सबै यहूदीहरूलाई, रोमबाट निस्कनू भनी हुकुम गरेका थिए” (प्रेरित १८:२)। (Werner Keller, The Bible as History, pp. 390.391)

जोसीफस (Josephus) (AD 37-100)

जोसीफस रोमी सम्राटहरूको मातहतमा रहेर सेवा गर्ने एक यहूदी अगुवा थिए। उनले यहूदीहरूको बारेमा “यहूदी युद्धहरू” नाम गरेको र साथै “यहूदीहरूको इतिहास” नाम गरेको (Jewish Wars, Antiquities of the Jews) दुईटा इतिहासका पुस्तकहरू लेखे। निम्न खण्डहरूमा उनले येशूको अस्तित्वलाई मानिलिएका छन् साथै बप्तिस्मा दिने यूहन्नाको अस्तित्वलाई र उनको बप्तिस्मालाई र येशूका भाइ याकूब र उनी सहीदको रूपमा मारिएको कुरालाई मानिलिएका छन्।

“…उनले [महापूजाहारी हन्नासले] न्यायकर्ताहरूको सन्हेद्रीनलाई भेला गरे र ख्रीष्ट भनिएका येशूको भाइलाई उनीहरूका सामु ल्याए जसको नाम याकूब थियो अनि अरुलाई पनि, अनि उनीहरूको विरुद्धमा व्यवस्था भङ्ग गर्नेहरू भनी दोष फैसला निर्धारण गरेपछि उनीहरूलाई ढुङ्गाले हानेर मारिनका लागि सुम्पिदिए” (Antiquities, 20:9.1)

“अब कतिपय यहूदीहरूले यो सोचे कि हेरोदको सेनाको विनाश परमेश्वरबाटको थियो, अनि उसले यूहन्नाको विरुद्धमा गरेको कामको सजायस्वरूप त्यो न्यायोचित थियो पनि, ती यूहन्ना जसलाई बप्तिस्मा दिनेवाला भनिएको थियो; किनभने हेरोदले उनला‌ई मारे जो एक असल मानिस थिए जसले यहूदीहरूलाई सद्गुण अभ्यास गर्न, एकअर्काप्रति धार्मिकताको व्यवहार गर्न र परमेश्वरप्रति भक्ति गर्न र उनको बप्तिस्मामा आउनलाई आज्ञा गरे” (Antiquities, 28:5.2).

थालस (Thallus)

थालसले ५२ एडी ताका एउटा इतिहास लेखे जसमा उनले ख्रीष्टको मृत्यु र बौरिउठाइको बेलाको अन्धकार र भूकम्पको बयान गरे।

मारा बार-सेरापियोन (Mara Bar-Serapion)

सिरियाका एक दर्शनशास्त्रीले एडी ७० ताका आफ्‍नो छोरालाई एउटा पत्रमा यसरी लेखे:

“उनीहरूको बुद्धिमानी राजालाई मृत्युदण्ड दिएर यहूदीहरूलाई के फाइदा भयो र? त्यसकै पछि त हो उनीहरूको राज्य नै समाप्त भएको” (FF Bruce, The New Testament Documents: Are They Reliable, p.114).

प्लिनी द यङ्गर (Pliny the Younger)

उनी एक रोमी लेखक र प्रशासक थिए। सम्राट ट्राजन (Trajan) लाई एडी ११२ तिर लेख्दा उनले ख्रीष्टलाई उल्लेख गर्छन् र सुरुका ख्रीष्टियनहरूको उपासना गर्ने तरिकालाई बयान गर्छन्:

“एउटा निश्चित तोकिएको दिनमा उज्यालो खस्नु अघि उनीहरूको भेला हुने आदत थियो, जब उनीहरूले क्रमैसङ्ग एउटा भजन ख्रीष्टलाई गाउँथे, एक ईश्वरलाई, अनि आफूहरूलाई एउटा गम्भीर वाचाले बाँध्थे, कुनै दुष्ट कामहरू नगर्न, कहिल्यै झूटो काम नगर्न, चोरी वा व्यभिचार नगर्न, कहिल्यै झूटो वचन नबोल्न, आफूलाई सुम्पिएको भरोसालाई कहिल्यै धोका नदिन जब कसैले त्यो विषय खुलाउनलाई बल गर्ला; त्यसपछि उनीहरू विसर्जन हुने उनीहरूको आदत थियो र त्यसपछि फेरि खानेकुरा खानलाई जम्मा हुन्थे — तर त्यो साधारण र निर्दोष किसिमको खानेकुरा हुन्थ्यो।”

ताल्मूद (Talmud)

एडी ७० देखि २०० का बीच लेखिएका यहूदी ताल्मूदका लेखोटहरूले येशूलाई उल्लेख गर्छन्। यदि उनीहरूलाई येशूको अस्तित्वकै कुनै पनि शङ्का थियो भने ती यहूदी रब्बीहरूले त पक्कै पनि त्यो नभनी छोड्दैनथे!

“यस्तो सिकाइएको छ: निस्तार चाडको पूर्वसंध्यामा येशूलाई झुण्ड्याइयो … उनको पक्षमा कुनै पनि कुरा नभेटिएकोले उनीहरूले उनलाई निस्तारचाडको पूर्वसंध्यामा झुण्ड्याए” (Babylonian Talmud, Sanhedrin 43a).

सामोसाटाका लुसियन (Lucian of Samosata)

लुसियन दोस्रो शताब्दिका एक ग्रीक लेखक थिए जसले ख्रीष्टियनहरूको उपहास गर्थे।

“तपाईंहरूलाई थाहै छ, ख्रीष्टियनहरूले आजसम्म एकजना मान्छेलाई पूज्छन् — ती प्रसिद्ध व्यक्ति जसले उनीहरूका नयाँ रीतिहरू स्थापना गरे जसलाई फलस्वरूप क्रूसमा टाँगियो … उनीहरू क्रूसमा टाँगिएको सन्तलाई पूज्दछन् अनि उहाँका नियमहरूअनुसार हिँड्छन्।” 

नोर्मन गाइस्लर (Norman Geisler) ले यी गैर-इसाई प्रमाणहरूलाई संक्षेपमा यसरी सूचित गरेका छन्:

“ख्रीष्टको जीवनको सम्बन्धमा जानकारी दिने प्राथमिक स्रोतहरू चाहिँ सुसमाचारका चार पुस्तकहरू हुन्। तरैपनि त्यहाँ उल्लेखनीय गैर-ख्रीष्टिय स्रोतहरू पनि छन् जो यी सुसमाचारीय अभिलेखहरूसित मेल खान्छन् र थप जानकारी दिन्छन्। अधिकांश रूपमा यी स्रोतहरू पहिलो शताब्दिका ग्रीक, रोमन, यहूदी र सामरी स्रोतहरूबाट आउँछन्। संक्षेपमा ती गैर-इसाई स्रोतहरूले निम्न कुराका जानकारी दिन्छन्:

  • येशू नासरतबाटका एक ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो।
  • उहाँले एक बुद्धिमानी र सद्‍गुणले भरिएको जीवन बिताउनुभयो।
  • उहाँलाई प्यालेस्टाइनमा पोन्तियस पिलातसको प्रशासनले तिबेरियास सिजरको शासनकालमा निस्तारचाडको समयमा यहूदी राजा भनेर क्रूसमा टँगायो।
  • तीन दिनपछि उहाँ  मरेकाहरूबाट बौरनुभएको कुरा उहाँका चेलाहरूद्वारा विश्वास गरिएको थियो।
  • उहाँले असाधरण अद्‍भुत कामहरू गर्नुहुन्थ्यो भनेर शत्रुहरूले स्वीकार गरे र तिनलाई जादुगरीको संज्ञा दिए।
  • उहाँका चेलाहरूको सानो झुण्ड द्रुतगतिले वृद्धि भएर र रोम जति परसम्म पनि फैलियो।
  • उहाँका चेलाहरूले बहूईश्वरवादलाई इन्कार गर्थे, नैतिक जिवन जिउँथे र ख्रीष्टलाई परमेश्वरको रूपमा उपासना गर्थे।

नयाँ नियमका सुसमाचारीय पुस्तकहरूमा ख्रीष्टलाई जसरी दर्शाइएको छ, यो (गैर-इसाई अभिलेखहरूबाटको) तस्वीरले त्यसकै समर्थन गर्दछ” (Geisler, Baker Encyclopedia of Christian Apologetics).

मायामी विश्वविद्यालयका इतिहासका प्राध्यापक एडविन यामाउचीले यो भन्छन् कि अरू कुनै पनि धार्मिक संस्थापक (जोरोआस्तर, बुद्ध, महम्मद) को भन्दा येशूका धेरै र उत्तम ऐतिहासिक अभिलेखहरू छन् (“Jesus Outside the New Testament: What is the Evidence?” Jesus Under Fire, edited by Micahel Wilkins and J.P. Moreland, 1995).

यी सबै प्रमाणहरूलाई इन्कार गरी बस्ने त्यहाँ गिल्ला गर्नेहरू छन्, तर त्यो चाहिँ हठीपनको अन्धोपना हो। मानिसको हृदय यति भ्रष्ट छ र छली छ कि प्रमाणको थुप्रोको पहाडै भएपनि त्यो अविश्वासमा लागिरहन सक्छ। तर अर्कोतिर धेरैजना व्यक्तिहरू छन् जोहरूले बाइबललाई झूटो साबित गर्न र ख्रीष्ट परमेश्वर हुनुहुन्न भन्ने कुरा प्रमाणित गर्न जमर्को गरेका थिए तर बरु अकाट्य प्रमाणहरूलाई स्वीकार गरे र ख्रीष्टका सामु उहाँलाई प्रभु र मुक्तिदाता मान्दै घुँडा टेके। (हेर्नुहोस्, wayoflife.org “Men Who Were Converted Trying to Disprove the Bible”)

 सारांशमा येशूको ऐतिहासिकताको प्रमाण अन्तर्गत प्रमुख बुँदाहरू

  1. येशूको ऐतिहासिकता सम्बन्धी विवाद वर्तमान समयमा मात्र उठाइएको नयाँ कुरा हो
  2. येशूको प्रमुख साक्षी नयाँ नियम, गैर-इसाई दृष्टिकोणबाट समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख हो।
  3. बाइबलबाहेक, अन्य त्यस्ता गैर-इसाई स्रोतहरू सुरूबाटै छन् जसले येशूको अस्तित्वलाई प्रमाणित गर्दछन्।

येशुको ऐतिहासिक प्रमाण सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. येशूको ऐतिहासिकतालाई हामी किन शङ्का गर्दैनौ भन्ने कुराका तीन कारण के-के हुन्?
  2. येशूको ऐतिहासिक अस्तित्वको सम्बन्धमा सन्देहवादीहरूले शङ्का व्यक्त गर्न थालेको कुन समयदेखि हो?
  3. पहिलो शताब्दिको अन्त्य नहुँदै येशूलाई उल्लेख गर्ने चारजना गैर-इसाई लेखकहरूको नाम बताउनुहोस्।

 

साभार: उपर्युक्त सामग्री Way of Life Literature द्वारा प्रकाशिक लेखक डेविड क्लाउडको An Unshakable Faith – A Course in Christian Apologetics पुस्तकबाट उहाँको अनुमतिले नेपालीमा अनुवाद गरी यस वेबसाइटमा प्रकाशन गरिएको हो।

यस अध्ययनमालाका अन्य पाठहरू पढ्न चाहनुहुन्छ?

हल्लाउन नसकिने विश्वास

मृतसागरका चर्मपत्रहरू

मृतसागरका चर्मपत्रहरू
(The Dead Sea Scrolls)

मृतसागरका चर्मपत्रहरू सम्बन्धी तथ्यहरू

मृतसागरको उतर-पश्चिमी किनारका गुफाहरूमा

मृतसागरका चर्मपत्रहरू सन् १९४७ देखि १९५६ को अवधिभित्र यरूशलेमको दक्षिण-पश्चिम दिशामा, २१ किलोमीटर दुरीमा रहेको मृतसागरको उतर-पश्चिमी किनारका ११ ओटा गुफाहरूमा भेट्टाइएका थिए। समुद्री सतहभन्दा १३०० फिटमनि अवस्थित ती गुफाका सुक्खा मौसमको कारणले ती चर्मपत्रहरू संरक्षित रहे।

चर्मपत्रहरूमध्ये पाँच भागको चार भाग जति हिब्रूमा लेखिएका थिए र २५% जति चाहिँ बाइबलका पुस्तकहरू थिए। त्यहाँ उत्पत्तिको १५ प्रति, प्रस्थानको १७ प्रति, लेवीको १३ प्रति, गन्तीको ८ प्रति, व्यवस्थाको २९ प्रति, यहोशूको २ प्रति, न्यायकर्ताको ३ प्रति, यशैयाको २१ प्रति, यर्मियाको ६ प्रति, इजिकिएलको ६ प्रति, भजनसङ्ग्रहको ३६ प्रति, हितोपदेशको २ प्रति र रूथको ४ प्रति छन्।

१९९० को दशकको सुरुतिर गरिएका आधुनिक परीक्षणहरूद्वारा ती बाइबलीय चर्मपत्रहरू ख्रीष्टको समयभन्दा दुई शताब्दी पुरानो भएको भेटिए (George Bonani, “Carbon-14 Tests Substantiate Scroll Dates,” Biblical Archaelogy Review, November/December 1991, p.72).

मृतसागरका चर्मपत्रहरूमध्ये सबभन्दा महत्त्वपूर्ण र पूरा पुरानो नियमको पुस्तकचाहिँ यशैयाको महान् चर्मपत्र (Great Isaiah Scroll) हो जसमा यशैयाका जम्मै ६६ पुस्तकहरू छन्। पहिलो गुफामा भेटिएको यो चर्मपत्र भेडाको छालाको १७ टुक्राहरूमा लेखिएको छ र तिनलाई सिलाएर २४ फिट लामो बेरुवा चर्मपत्र बनेको छ। यो कम्तिमा चार पटक कार्बन-१४ विधिले परीक्षण गरिएको छ र नतीजा अनुसार यो ३३५ देखि १०७ इसा पूर्व पुरानो सामग्री रहेको पाइएको छ। अन्य तरिकाको जाँच (जस्तै, सिक्का र अन्य मानव निर्मित सामग्री, लेखन सामग्री र शैली) ले यसलाई १५०-१०० इसा पूर्व मितिको भएको ठानिएको छ। तसर्थ यो ख्रीष्टभन्दा कम्तिमा एक शताब्दि अगाडि लेखिएको थियो।

यशैयाको महान् चर्मपत्र

ख्रीष्टियन अपोलोजेटिक्सका निम्ति मृतसागरका चर्मपत्रहरूको महत्त्व
(अपोलोजेटिक्स् = विश्वासको प्रतिवाद)

  1. यी चर्मपत्रहरूले पुरानो नियमको ३९ ओटा पुस्तक रहेको पारम्पारिक क्यानोनलाई पुष्टि गर्दछन्।
    एस्तरबाहेक पुरानो नियमको प्रत्येक पुस्तकका अंशहरू त्यहाँ छन् जसले गर्दा पवित्रशास्त्रको मानिँदै आएको क्यानोनलाई समर्थन गर्दछ।
  2. यी चर्मपत्रहरूले बाइबलका भविष्यवाणीहरू पहिले नै लेखिएका थिए भन्ने कुराको प्रमाण दिन्छन्।
    मृतसागरका चर्मपत्रहरूले यो प्रमाणित गर्दछन् कि पुरानो नियममा भएका मसीही भविष्यवाणीहरू येशूको जन्म हुनुभन्दा अगाडि नै लेखिएका थिए। फलस्वरूप यसबाट यो प्रमाणित हुन्छ कि ती भविष्यवाणीहरू परमेश्वरबाटै आएका थिए!
  3. यी चर्मपत्रहरूले म्यासोरेटिक हिब्रू बाइबललाई प्रमाणिकृत गर्दछन्।
    मृतसागरका चर्मपत्रहरूले म्यासोरेटिक हिब्रू लेखोट (Massoretic Hebrew text) लाई प्रमाणिकृत गर्ने बलियो गवाही प्रदान गर्दछ जुन हिब्रू लेखोटबाट नै रेफर्मेशनका महान् बाइबलहरू अनूदित भए जस्तै, जर्मनमा लूथर बाइबल, अङ्ग्रेजीमा किङ्ग् जेम्स बाइबल र स्पेनिशमा रिएना भालेरा बाइबल।म्यासोरेटिक हिब्रू लेखोट १५ औं शताब्दिमा छापाखाना (वियोज्य टाइप, movable type) को आविष्कार हुनुभन्दा अगाडिका हिब्रू शास्त्रीहरूको अतिसावधान परिश्रमद्वारा संरक्षित रहँदै आएको थियो। (प्रथम छापिएको हिब्रू बाइबल १४८८ मा छापिएको थियो)।“मासोरेत” भन्ने शब्दले बाइबलको विश्वासयोग्य प्रसारण (प्रेषण) लाई जनाउँछ। म्यासोरेटिक शास्त्रीहरूले हस्तलेखहरूका एक-एक शब्दको गन्ती गर्थे अनि गल्ती भेटिएको खण्डमा सम्बन्धित खण्डलाई नष्ट गरिनुपर्थ्यो। मृतसागरमा भेटिएका ६०-६५ प्रतिशत बाइबल चर्मपत्रहरू म्यासोरेटिक शास्त्रीहरूले प्रतिलिपि बनाउने लेखोट नै रहेका छन्। यो अचम्मको कुरा हो किनभने म्यासोरेटिक लेखोटको सबभन्दा पुरानो कोडेक्स (सङ्ग्रह) (जस्तै आलेप्पो) र मृतसागरका चर्मपत्रहरूका बीच १००० वर्ष भन्दा बढी समयको अन्तर छ। जस्तै, यशैयाको महान् चर्मपत्र १००-१५० इसा पूर्व मितिको हो भने आलेप्पो कोडेक्स ९२० एडी मितिको  हो।मृतसागरका चर्मपत्रहरू र म्यासोरेटिक लेखोटका बीच रहेका भिन्नताहरू ज्यादै न्यून छन्, धैरै हिसाबमा हिज्जे वा व्याकरणसित सम्बन्धित रहेको वा एक शब्द छुटेको वा थपिएको वा हिब्रू अक्षर अदलबदल भएको भेटिन्छ। जस्तै, गुफा #१ मा भेटिएका दुईटा यशैयाका चर्मपत्रहरूमध्ये एउटामा यशैया ६:३ बाट एउटा “पवित्र” छुटेको छ, जोचाहिँ शास्त्रीले प्रतिलिपि बनाउँदा छुटपुट हुन गएको भनेर स्पष्टै जान्न सकिन्छ।
  4. यशैयाको महान् चर्मपत्रको यशैया ५३ लाई आलेप्पो कोडेक्ससित तुलना गर्दा, त्यहाँ केवल तीनओटा अक्षर मात्र खास फरक छन्। डा० अर्न्सट वर्थवाइनले यशैयाको महान् चर्मपत्र र म्यासोरेटिक लेखोटका बीचको सहमतिलाई “असाधारण” (striking) को संज्ञा दिन्छन् अनि आडोल्फो रोइटमानले यसलाई “असामान्य ढङ्गले बराबर” (extraordinarily close) भनेर बयान गर्छन् (Wutherwein, The Text of the Old Testament, 1979, p. 144; Roitman, The Bible in the Shrine of the Book, 2006, p.43).

दि श्राइन् अफ दि बुक
(The Shrine of the Book)

रोमी ३:१-२ मा परमेश्वरले पवित्रशास्त्रको रखवाली गर्ने जिम्मेवारी यहूदीहरूल‍ाई सुम्पिनुभयो भन्ने पावलको अभिव्यक्तिको प्रकाशमा हेर्दा, म्यासोरेटिक हिब्रू बाइबलको आधिकारिकताको सबैभन्दा महान् दुई ऐतिहासिक गवाहीहरू इस्राएल म्यूजियमको शाखा यरूशलेमस्थित श्राइन् अफ दि बुकमा संरक्षित रहेको तथ्य उल्लेखनीय छ। उनीहरू नै मृतसागरका गुफाहरूमा भेटिएको यशैयाको महान् चर्मपत्रका र साथै आलेप्पो कोडेक्सका संरक्षकहरू हुन् जुन आलेप्पो कोडेक्स सबैभन्दा पुरानो पूर्णरूपमा रहेको म्यासोरेटिक पुरानो नियम हो।

इस्राएल म्यूजियमको शाखा यरूशलेमस्थित श्राइन् अफ दि बुक

आलेप्पो कोडेक्स (हिब्रूमा “हाक्काटेर” अर्थात् मुकुट भनेर चिनिन्छ) १० औं शताब्दि एडीमा तिबेरियासमा बनाइएको थियो जुन ठाउँ यरूशलेम ध्वस्त भएपछि यहूदी विद्वताको केन्द्र बन्यो। यो ठाउँ ताल्मूदको रचना-केन्द्र पनि थियो जुनचाहिँ यहूदी परम्पराहरूको सङ्ग्रह हो जुन परम्पराहरूलाई (अभ्यासमा) पवित्रशास्त्रकै बराबर अधिकारको स्थानमा उच्च पारियो जुन कुरालाई येशूले मत्ति १५ र २३ मा दोषी ठहराउनुभयो। आलेप्पोको हस्तलेख म्यासोरेटिक लेखोट हो। यसलाई सारेर उतार्ने श्लोमो बेन बोयाआ थिए अनि त्यसमाथि स्वरवर्णका चिन्हहरू थपिदिने काम प्रख्यात निपुण शास्त्री हारून बेन आशेर थिए। (म्यासोरेटिक लेखोटलाई बेन आशेर लेखोट पनि भनिन्छ)। झण्डै १००० वर्षसम्म यो नै “पुस्तकहरू सच्च्याउन प्रयोग गरिने मानदण्ड लेखोट थियो” जुन अवधिभित्र “शास्त्रीहरूका पुस्ता-पुस्ताले यससित दाँज्ने उद्देश्यले यात्रा गरे” (रोइटमान, p. 62)। यो १०९९ देखि १३७५ सम्म मिश्रदेशमा काइरोको सभाघरमा रहेको थियो र त्यसपछि सिरियाको आलेप्पोको सभाघरमा सारियो जहाँ यो दुई‍टा ताल्चाले बन्द गरिएको धातुले बनेको एउटा बाकसमा राखियो, “एलियाको गुफाभित्र” (उनीहरूको परम्पराअनुसार अगमवक्ता एलिया त्यहाँ निर्वासन गरिएका थिए)। त्यसका चाबीहरू दुई प्रमुख मानिसहरूको अधिकारमा हुन्थ्यो र त्यसलाई खोल्नुपर्दा सभाघरका अगुवाहरूको अधिकारले ती दुवैजनाको उपस्थितिमा मात्र खोल्न मिल्थ्यो। डिसेम्बर २, १९४७ मा संयुक्त राष्ट्र संघले एउटा यहूदी राष्ट्र स्थापना गर्नलाई समर्थन जनाएपछि अरब मुलुकहरूभरि हुलदङ्गा मच्चियो र हुलदङ्गा गर्दै आएका मुसलमानहरूद्वारा आलेप्पो सभाघर नाश गरियो। हुलदङ्गीहरूले त्यो फलामको बाकसलाई फुटाए र कोडेक्सको पन्नाहरूबाट च्यातिदिए र भुइँमा फ्याँकिदिए। पञ्चग्रन्थको अधिकांश भाग हरायो साथै अरू खण्डहरू पनि। कसैले उक्त क्षतिग्रस्त कोडेक्सलाई बचाए र केही वर्षसम्म लुकाएर राखे। १९५८ मा आलेप्पो कोडेक्सलाई एउटा वाशिङ् मिशिनभित्र लुकाएर टर्कीमा तस्करी गरियो अनि त्यहाँबाट त्यसलाई यरूशलेममा ल्याइयो (रोइटमान, p. 65)। छ वर्ष लगाएर धेरै मेहनतसित इस्राएल म्यूजियमले यसको पुनर्निर्माण गर्‍यो र आज यो श्राइन् अफ दि बुकमा प्रदर्शनीमा राखिएको छ।

आलेप्पो कोडेक्स

आलेप्पो कोडेक्स श्राइन् अफ दि बुकमा प्रदर्शनीमा

पुनरावलोकन प्रश्नहरू

  1. मृतसागरका चर्मपत्रहरू कहिले भेट्टाइए?
  2. मृतसागरका चर्मपत्रहरू कहाँ भेट्टाइए?
  3. अधिकांश चर्मपत्रहरू कुन भाषामा लेखिएका थिए?
  4. चर्मपत्रहरूमध्ये कति प्रतिशतचाहिँ बाइबलका पुस्तकहरू रहेका छन्?
  5. मृतसागरका चर्मपत्रहरूका बाइबलीय पुस्तकहरू कुन मितिका रहेका छन्?
  6. मृतसागरका चर्मपत्रहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण पुस्तक कुन रहेको छ?
  7. उक्त चर्मपत्रको लम्बाइ कति छ?
  8. ख्रीष्टियन अपोलोजेटिक्सका निम्ति मृतसागरका चर्मपत्रहरू कुन तीनओटा
    हिसाबमा महत्त्वपूर्ण रहेका छन्?
  9. त्यसमा पुरानो नियमका कतिओटा पुस्तकहरूका खण्डहरू रहेका छन्?
  1. मृतसागरका चर्मपत्रहरू र म्यासोरेटिक हिब्रू लेखोटका बीच कति वर्षको
    अन्तर रहेको छ?
  2. महान् यशैया चर्मपत्रको यशैया ५३ र आलेप्पो कोडेक्सका बीच
    कतिओटा अक्षरको अन्तर रहेको छ?
  3. रोमी ३:१-२ मा पावलले यहूदीहरूलाई रहेको लाभको सम्बन्धमा के
    भनेका थिए?
  4. आलेप्पो कोडेक्स कुन शताब्दिमा बनाइयो?
  5. आलेप्पो कोडेक्स कुन शहरमा बनाइयो?
  6. उक्त कोडेक्सलाई किन “आलेप्पो” भनियो?
  7. हारून बेन आशेर को थिए?
  8. आलेप्पो कोडेक्सको हिब्रू नाम के रहेको छ र त्यसक माने के हो?
  9. आलेप्पो कोडेक्स आज कहाँ राखिएको छ?

साभार: उपर्युक्त सामग्री Way of Life Literature द्वारा प्रकाशिक लेखक डेविड क्लाउडको An Unshakable Faith – A Course in Christian Apologetics पुस्तकबाट उहाँको अनुमतिले नेपालीमा अनुवाद गरी यस वेबसाइटमा प्रकाशन गरिएको हो।

इस्राएल सम्बन्धी भविष्यवाणी

बाइबलका उदेकलाग्दा भविष्यवाणीहरू यसको ईश्वरीय उद्‍भवको एउटा प्रमाण हो। यी भविष्यवाणीहरू स्पष्ट छन्, विस्तृत छन् र अचूक छन्। तर यसको तुलनामा गैर-बाइबलीय भविष्यवाणीहरू फरक छन्, जो अस्पष्ट र गलत छन्। चौथो शताब्दिका सिबील (Sybil) अगमवक्तिनीहरूलाई विचार गर्नुहोस्। कन्स्टान्टीन (Constantine) लाई टाइबर नदीको किनारस्थित युद्धभूमिमा भेट्नु अघि जब म्याक्सेन्टियस  (Maxentius) ले तिनीहरूसित सोधखोज गरे, उनलाई यो बताइयो कि “त्यस दिनमा रोमको  शत्रु नष्ट हुनेछ।” यो भविष्यवाणी यति अस्पष्ट थियो कि जसले जिते पनि उसलाई यो लागु गर्न सकिन्थ्यो! नोस्ट्रादामस (Nostradamus) का भविष्यवाणीहरू “अप्रकट” र “अस्पष्ट” थिए। हिटलरलाई बयान गर्ने भनिएको निम्न भविष्यवाणीलाई विचार गर्नुहोस्: “भोकले उग्र पशुहरू नदीहरू पौडेर तर्नेछन्: उक्त प्रान्तको अधिक भाग हिस्टरको विरुद्धमा हुनेछ। एक महान् व्यक्तिद्वारा ऊ फलामको खोरभित्र घिसारिनेछ जब उक्त जर्मन बच्चाले कुनै कुरा अवलोकन गर्नेछैन” (centuries #2, quatrain #24)। यो यति अस्पष्ट छ कि यसको कुनै अर्थ छैन। ज्योतिषशास्त्रलाई विचार गर्नुहोस्। त्यसका पूर्वानुमानहरू प्राय: एकदम अस्पष्ट हुन्छन्, जस्तै, “केही साथीहरूलाई यस्तो लाग्न सक्छ कि तिमीले उनीहरूलाई बेवास्ता गर्दैछौ।” अनि जब ज्योतिषशास्त्रले अलिक किटानसाथ पूर्वानुमान गर्दछ, तब त्यो प्राय: गलत हुन्छ। ब्रिटेनका दुई प्रख्यात ज्योतिषीहरूले यो पूर्वानुमान गरे कि हिटलरले दोस्रो विश्व युद्ध थाल्नेछैन। एडवर्ड लिन्डो (Edward Lyndoe) ले भने, “नाजीहरूले ब्रिटेनलाई हमला गर्ने रे? मलाई हाँस नउठाउनुहोस्! मेरो तालिकाहरूमा त्यसको एउटै सङ्केत देखिँदैन (June 25, 1939)। जीन डिक्सन (Jean Dixon) लाई विचार गर्नुहोस्। तिनले यो भनिन् कि अमेरिकाभन्दा पहिला सोभियतहरूले चन्द्रमामा टेक्नेछन्, तेस्रो विश्व युद्ध सन् १९५८ मा सुरु हुनेछ, र सन् १९६७ मा क्यान्सरको औषधी पत्ता लाग्नेछ। एडगार केसी (Edgar Cayce) लाई विचार गर्नुहोस्। उनले यो भविष्यवाणी गरे कि सन्  १९६८ मा चीन ईसाई बन्नेछ र सन् १९९९ मा हारमागेडोनको युद्ध चल्नेछ। इस्लामको भविष्यवाणीलाई विचार गर्नुहोस्। निम्न कुराले इस्लामको मसीह “दज्जल” लाई जनाउँछ। “आफूसित पानी र आगो लिएर दज्जल निस्किआउनेछन् अनि जुन कुरा मानव जातिले पानी भनी देख्छन् त्यो जल्ने आगो हुनेछ र जुन कुरा आगो भनी देख्छन् त्यो चीसो र मीठो पानी हुनेछ” (Hadiths of Bukhari)। हिन्दू भविष्यवाणीलाई विचार गर्नुहोस्। निम्न बयान कलियुगको हो: “जब छल, झूट, अल्छेपना, निन्द्रा, उपद्रव, नैराश्य, शोक, भ्रम, डर र गरिबी व्यापक हुनेछ, त्यो नै कलियुग हो।” यो त यति अस्पष्ट छ यस बयानले मानिसको पतन भएदेखिको जुनसुकै समयलाई पनि बयान गर्न मिल्छ। तुलनामा बाइबलका भविष्यवाणीहरू प्राय: स्पष्ट र विस्तृत छन् र ती कहिल्यै चुकेका छैनन्। जस्तै, ख्रीष्टको पहिलो आगमन सम्बन्धीका भविष्यवाणीहरूले उहाँको आगमनको एकदम ठिक समय, उहाँको एकदम ठिक जन्मस्थान, उहाँका हातपाउहरू क्रूसमा छेडिने कुरा, क्रूसबाट उहाँले बोल्नुहुने शब्दहरू, सिपाहीहरूले उहाँका वस्त्रका निम्ति गोला हाल्ने कुरा, उहाँलाई धनी मानिसको चिहानमा गाडिने कुरा, र अन्य थुप्रै घटनाहरूलाई बयान गरेका थिए। इस्राएल सम्बन्धी भविष्यवाणीहरू पनि उत्तिकै विशुद्ध छन्। भनिन्छ, फ्रेड्रिक द ग्रेट (Frederick the Great) ले एक पटक बाइबलको ईश्वरीय उद्‍भवको प्रमाण एउटै शब्दमा दिन लाए। उनको आत्मिक सल्लाहकारले जवाफ यसरी दिए, “यहूदी, मौसुफ” (Robert Newman, “Israel’s History Written in Advance,” Evidence for Faith, edited by John Montgomery, pp. 193-201). इस्राएलीहरू एउटा राष्ट्रको रूपमा भर्खरै सङ्गठित बनेको अवस्थामा, उनीहरू प्रतिज्ञाको देशभित्र पस्नु अगाडि नै मोशाले उनीहरूको सम्पूर्ण इतिहासको भविष्यवाणी गर्‍यो। परमेश्वरले यो चेतावनी दिनुभयो कि इस्राएल यदि उहाँको व्यवस्थादेखि मोडियो भने परमेश्वरले त्यसलाई न्याय गर्नुहुनेछ। हेर्नुहोस् व्यवस्था २८:२५-३२, ३६-३७, ६३-६७; ३०:१-६ यो भविष्यवाणी ईपू १४५० ताका लेखिएको थियो, अर्थात् लगभग ३,५०० वर्ष अगाडि। उक्त भविष्यवाणीले इस्राएल विदेशी शक्तिहरूद्वारा पराजित हुने कुरा, आफ्‍नो भूमिबाट निस्कासन गरिने कुरा, पृथ्वीको पल्लो छेउसम्म छरपुष्ट पारिने कुरा, र फेरि फर्काइने कुराको बयान गर्दछ। १. भूमिको मरुस्थलीकरण मोशाले यो बताए कि इस्राएल एउटा मरुभूमि बन्नेछ। वर्षाचाहिँ धूलो र बालुवा हुनेछ (व्यवस्था २८:२३-२४), अनि भूमिचाहिँ “गन्धक, नुन र जलिरहेको आगो” हुनेछ (व्यवस्था २९:२३)। इस्राएल ईपू १५ औं शताब्दीमा कनानभित्र प्रवेश गर्दा, त्यो एउटा बगैँचा जस्तै फलवन्त भूमि थियो, अनि परमेश्वरले उक्त भूमिमा अघिल्लो र पछिल्लो वर्षा पठाउनुभयो। त्यसको ४०० वर्ष अघि अब्राहामको समयमा, इस्राएलको दक्षिण भागमा रहेको यर्दनको बेंसी “जहाँतहीँ पानीले राम्ररी सिँचिएको, परमप्रभुको बगैंचाजस्तो … थियो (उत्पत्ति १३:१०)। परमेश्वरले त्यसलाई “दूध र मह बग्ने” भूमिको रूपमा बयान गर्नुभयो, जसको माने भूमि राम्ररी सिँचिएको थियो र प्रशस्त पाल्तुपशुले र फूल फुल्ने बोटविरूवाले लटरम्म थियो (व्यवस्था ३१:२०)। रूबेन र गादका कुलहरू यर्दनको पूर्वपट्टि बसोबासो गरे किनकि तिनीहरूका “अति धेरै गाईबस्तुहरू थिए” अनि तिनीहरूले यो देखे कि “त्यो ठाउँ गाईबस्तुका निम्ति उपयुक्त ठाउँ थियो” (गन्ती ३२:१)। उनीहरूले वर्तमान जोर्डन राष्ट्रको दक्षिणी भागको बयान गर्दैथिए जो आज एक उराठिलो मरुभूमि रहेको छ। त्यतिखेर त्यो मरुभूमि थिएन, तर इस्राएलको पाप र मूर्तिपूजाको कारण परमेश्वरले वर्षा बन्द गरिदिनुभयो र भूमि एक बाँझो मरुभूमि बन्यो, अनि आज अधिकांश भूमि  नै त्यस्तै छ। इस्राएलको अधिकांश भागहरूमा जे उब्जनी गरिन्छ त्यो सिँचाइले मात्र गर्न सकिन्छ। आज केही भेडाहरू पालेर जसोतसो जीविका धान्न सकिन्छ (सिँचाइ गरिएका र्‍याञ्चहरूलाई छोडेर), तर बथान का बथान भने पाल्न सकिन्न। इस्राएलको भूमि स्वयं प्राचीन बाइबल भविष्यवाणीको शुद्धता दर्शाउने शक्तिशाली गवाही हो। आधुनिक इस्राएलले प्रविधिद्वारा कृषि जगतमा उदेककै काम गरेको छ, तरैपनि ८०% भूमिको अझै निर्जल वा अर्ध-निर्जल अवस्थामा कुनै परिवर्तन ल्याउन सकिएको छैन। अनि यो चाहिँ बाइबल भविष्यवाणीको पूरा हुवाइस्वरूप परमेश्वरकै न्याय थियो। २. छिन्न-भिन्नकरण र सतावट व्यवस्था २८:६३-६७ यो भविष्यवाणी तब पूरा हुन थाल्यो जब ईपू ५८६ मा इस्राएलको पहिलो मन्दिर नष्ट गरियो र ७० वर्ष लामो बेबिलोनी निर्वासन सुरु भयो, तर त्यो सुरु मात्र थियो। मोशाले यो बताएका थिए कि व्यवस्थाको पुस्तकको भविष्यवाणी “अन्तिम दिनहरूमा” (व्यवस्था ३१:२९) पूरा हुनेछ जुन कालखण्ड चाहिँ ख्रीष्टको पहिलो आगमनपछि मात्र सुरु भयो। ७० एडीमा इस्राएलको दोस्रो मन्दिर रोमीहरूद्वारा नष्ट भयो अनि ६५ वर्षपछि यरूशलेम पूरै भत्काइयो जब रोमले बार कोक्भा विद्रोहलाई दमन गर्‍यो। उक्त ठाउँमा जूपिटरको नाममा समर्पित अर्कै शहर निर्माण गरियो। सम्राट हेड्रियनले यहूदीयाको नाम परिवर्तन गरेर सिरिया प्यालेस्टिना राख्यो। थुप्रै यहूदीहरूको संहार गरियो अनि बाँकीजसो कि त कैद गरी लगिए वा विश्वका अन्य ठाउँमा भागेर गए। इस्राएलले १९०० वर्ष लामो छिन्न-भिन्नकरण अनुभव गर्दै आएको छ अनि ऊ भाग्दै जहाँ पुगे पनि सताइएको छ र पीडित भएको छ। उसलाई रोमीहरू, ग्रीकहरू, मुसलमानहरू, रोमन क्याथोलिक चर्च, बाइजन्टाइनहरू र अर्थडक्स चर्च, स्पेनिशहरू (यहूदीहरू १४९२ मा स्पेनदेखि निस्कासन गरिए), भेनिसियनहरू (यहूदीहरू छुट्टै महल्लामा बस्नुपर्थ्यो), रूसेलीहरू (यहूदीहरू रूसदेखि १८८० को दशकमा  निस्कासन गरिए), जर्मनीहरू, सुरूका लुथरनहरू, अनि अरू धेरैद्वारा घृणित भएको छ। अनि आज फेरि एन्टिसेमिटिज्मको पुनर्जागरण भएको छ। दोस्रो विश्व युद्धको ‘हलकस्ट’ जसअन्तर्गत ६० लाख यहूदी मारिए, व्यवस्था २८ को प्राचीन अगमवाणीको अर्को पूरा हुवाइ थियो। यरूशलेमस्थित हलकस्ट म्यूजियमले जर्मनहरूको हातबाट भोग्नु परेको तीतो शोकको गवाही दिइरहेको छ। मुख्य म्यूजियमका नौंओटा ग्यालरीहरू हलकस्टको फरक-फरक चरणलाई दर्शाउन छुट्ट्याइएका छन्, हिटलरको उदयदेखि उसको मृत्युसम्म। त्यहाँ आकुल बनाउने त्यस्ता सयौं फोटोहरू र वस्तुहरू छन्। मध्यरातमा गिरफ्तारिहरू। ध्वस्त सभाघरहरू। पाखुरामा पट्टीको वा स्टार अफ डेविडको चिन्ह लगाएर हिँड्नुपरेका यहूदीहरू। यहूदीहरू खिसी गरिएका, पिटिएका, थुकिएका, जलाइएका, गोली हानिएका, विष खुवाइएका। लाशका ह्रासहरू। वस्तु बोक्ने रेलका डिब्बाहरूबाट हेरिरहेका दयनीय अनुहारहरू। भोकमरिले पीडित मानिसहरू। तरैपनि इस्राएल उसको छिन्न-भिन्नकरणको लामो शताब्दीहरू भरि एउटा छुट्टै जातिको रूपमा रहिरह्यो। सन् १७५४ मा बिशप थोमस न्यूटन (Bishop Thomas Newton) ले यहूदीहरूको बारेमा यो लेखे:
“उनीहरूको संरक्षण साँच्ची नै ईश्वरीय नियन्त्रणको एउटा सबैभन्दा उत्कृष्ट काम हो। उनीहरू सबै जातिहरूका बीच तितरबितर छन्, तरैपनि कसैसित मिसिएका छैनन्। … उनीहरूले आफ्‍नो वंशावली संसारकै सुरुदेखि उतार्न सक्छन्। …युद्धहरू, संहारहरू र सतावटहरूपछि उनीहरू अझै अस्तित्वमा छन्; उनीहरू अझै थुप्रै छन्। अलौकिक शक्तिले नभए कसले उनीहरूको यस्तो तवरले संरक्षण गरेको हो जसरी अन्य कुनै पनि विश्वको राष्ट्रलाई गरिएको छैन?” (Dissertation on the Prophecies, VIII, section 2).
Walter Scott ले लेखे:
“एक समय मिस्र, असिरिया, बेबिलोन, पर्सिया, ग्रीस र रोमका सामर्थी राजतन्त्रहरू उठे, फस्टाए र ढले, स्थायी रूपमा कुनै परिणामहरू नछोडीकन गए। तर ती प्राचीन राज्यहरूको भन्दा अगाडिदेखिको विश्वसनीय इतिहास भएका यहूदीहरू भने हामीसँग आजसम्म छँदै छन्। मुखाकृति र राष्ट्रिय चरित्रको दृष्टिमा यहूदी झण्डै ४,००० वर्षको इतिहासमा पनि बदलिएको छैन। … यहूदीहरू एउटा जतिको रूपमा नाश गरिनु सम्भव छैन। परमेश्वर नै उनीहरूका रक्षक र संरक्षक हुनुहुन्छ, उनीहरू उहाँको न्याय शासनको मुनि रहँदा पनि जस्तो आज उनीहरू छन्। यहूदीहरू घरबिहीन, देशबिहीन, सरकारबिहीन, नेतृत्वबिहीन भएर पनि जातीय विश्वासमा, भावनामा र आशामा अन्यजातिहरूदेखि छुट्टै जातिको रूपमा रहेका छन्, जसरी उनीहरू थिए दाऊद र सुलेमानका दिनहरूमा” (Walter Scott, At Hand, Or, Things That Must Shortly Come to Pass, 1910)।
3. आफ्‍नै भूमिमा उनीहरूको पुनस्थापना बाइबल भविष्यवाणीले इस्राएलको छिन्न-भिन्नकरण र कष्टको मात्र नभएर इस्राएल फेरि आफ्‍नो भूमिमा फर्काइनेछ भन्ने कुराको पनि बयान गरेको छ (व्यवस्था ३०:१-५)। अन्य थुप्रै भविष्यवाणीहरूले इस्राएलको फर्काइलाई बयान गर्दछ। बाइबल विश्वासीहरूले यो जान्दथे कि इस्राएल पुनस्थापित हुनेछ किनकि भविष्यवाणीहरूले यसको माग गरेको थियो। जस्तै, सन् १९१० मा ओटोमान साम्राज्यले इस्राएलको भूमिमाथि राज्य गर्दै गरेको समयमा, जुन बेला थोरै मात्र यहूदीहरू त्यहाँ बसोबासो गर्दथे, त्यसबेला Walter Scott ले लेखे:
“वचनमा योजनाबद्ध रूपमा रहेको भविष्यवाणीको व्यवस्थित प्रणालीको आवश्यकता बमोजिमको वस्तुस्थिति सृजना हुनलाई पहिलो र अपरिहार्य आवश्यकता नै हिब्रू राष्ट्रको पुनस्थापना हो। अगमवाणीको सम्पूर्ण भविष्य यही प्राथमिक तथ्यमा निर्भर छ। यस पृथ्वीमा परमेश्वरको शासन प्रणालीको केन्द्रमा अन्यजाति होइन तर यहूदी रहेको छ। त्यसैले आफ्‍नो भूमिमा यहूदा पुनस्थापित हुनु नै सबै कुरालाई प्रभावित पार्ने जड कुरो हो। यो नै शताब्दियौंको महान् राजनीतिक घटना हुनेछ जसले विश्वकै ध्यानाकर्षण गर्नेछ। … जुनसुकैबेला र जोसुकैद्वारा यहूदाको पुनस्थापना पूरा होस्, यसको फलस्वरूप विश्वको सम्पूर्ण राजनीतिक शासन प्रणालीलाई प्रभाव पार्नेछ। … इस्राएल पल्यालेस्टाइनमा पुनस्थापित हुनु नै भविष्यवाणीले माग गरेको पहिलो र आधारभूत आवश्यकता हो” (Walter Scott, At Hand, Or, Things Which Must Shortly Come to Pass, 1910)।
बाइबल अगमवाणीमाथिको उनीहरूको विश्वासले गर्दा जुन कुरा वाल्टर स्कट र अरू बाइबल विश्वासीहरूले लामो समयदेखि अगाडिबाटै देखेका थिए त्यो कुरा सन् १९४८ मा पूरा हुन गयो। इस्राएल पवित्र भूमिमा पुनस्थापित मात्र भएन, उसले आफू एउटा आधुनिक राष्ट्रको रूपमा स्थापित भएको पनि घोषणा गर्‍यो।

दुई चरणमा हुने पुनस्थापना

इस्राएल फर्केर आउने कुरा इजिकिएल ३७:१-१४ को अचम्मको भविष्यवाणीमा बयान गरिएको छ। यहाँ इस्राएललाई सुख्खा हड्डीहरूको बेंसीको रूपमा वर्णन गरिएको छ। पद ११ ले यसको अर्थ प्रकाशन गरेको छ: यी हड्डीहरूचाहिँ इस्राएलको सम्पूर्ण घराना हुन्।” विगतको २००० वर्षसम्मको इस्राएलको अवस्था नै सुख्खा हिड्डीहरूको अवस्था थियो। इस्राएल संसारकै पल्लो छेउ-छेउसम्म छरपुष्ट पारिएको थियो र हेर्दा ऊ मरिसकेको र खत्तम भइसकेको जस्तो देखिन्थ्यो। इजिकिएललाई यो बताइन्छ कि इस्राएल फेरि जीवित पारिनेछ र दुई चरणहरूमा पुनस्थापित गरिनेछ। पहिलो, ऊ भूमिमा फर्काइनेछ तर आत्मिक रूपमा मरेको अवस्थामा। पद ८ ले यो बताउँछ कि मरेका हड्डीहरू उठाइए तर “तिनमा सास थिएन।” त्यसपछि उसले आत्मिक पुनर्जागरणको अनुभव गर्नेछ। यो चाहिँ महासङ्कष्टकालमा हुनेछ, ठिक ख्रीष्टको पुनरागमन हुनुभन्दा अगाडि। आज इस्राएल ठिक यही अवस्थामा छ। सन् १९४८ मई १४ को मध्यरातमा नयाँ राष्ट्र इस्राएलको घोषणा गरियो। औपचारिक घोषणाले यो बतायो: “हामी यसद्वारा प्यालेस्टाइनमा यहूदी राष्ट्रको स्थापनाको घोषणा गर्दछौं जसलाई मेदिनाथ  इस्राएल (इस्राएलको राष्ट्र) भनिनेछ। … इस्राएल राष्ट्र सबै देशहरूमा तितरबितर भएका यहूदीहरूको अनुगमनको निम्ति खुल्ला हुनेछ। … सारा संसारभरि भएका यहूदीहरूलाई इस्राएललाई छुट्कारा दिलाउने पुस्तौंदेखिको सपना साकार बनाउने यस महान् संघर्षमा अनुगमनको काम र विकासको काममा हामीसित एकजुट हुन अनि हाम्रो साथमा खडा हुन हामी आह्वान गर्दछौं। सर्वशक्तिमान् परमेश्वरमाथि भरोसा राख्दै, मातृभूमिको माटोमा रहेर, तेल अबिबको शहरमा, यस विश्रामदिनको साँझ, ल्यारको पाँचौं, ५७०८ मा, मईको चौधौं, १९४८ मा, यस अस्थायी राष्ट्रिय परिषदको बैठकमा हामी यस घोषणापत्रमा हामी हस्ताक्षर गर्दछौं।” एघार मिनेट पछाडि अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान, एक ब्याप्टिस्ट, ले इस्राएललाई स्वीकार गरेको कुरा घोषणा गरे। संसारभरि यहूदीहरूले हर्षोल्लास मनाए। जताततै सभाघरहरूमा धन्यवादको सेवाहरू भए। रोममा यहूदीहरू आर्च अफ टाइटस (Arch of Titus) मुनि जुलुस निकाले, जुन आर्च ७० एडीमा भएको यरूशलेमको विध्वंशको स्मारक हो। उनीहरू भन्दैथिए, “हामी मरेकाहरूबाट फर्की आएका छौं!” यो त इजिकिएल ३७ को अति नाटकीय पूराहुवाइ थियो। प्राचीन रोमी साम्राज्य उसको सम्पूर्ण महिमासित टलेर गइसक्यो तर इस्राएल छँदैछ। तुरुन्तै यो नयाँ यहूदी राष्ट्र आफ्‍नो स्वतन्त्रताको निम्ति युद्धमा (War of Independence) होम्मिनुपर्‍यो जब यहूदीहरू अरबीहरूको विशाल र सुसज्जित सेनाहरूको विरुद्धमा आफ्नो प्रतिरक्षा गर्न बाध्य बने। अरब संघ (Arab League) मा मिस्र, जोर्डन, सिरिया, लेबनन र इराक एकजुट भएको थियो। ब्रिटेनले अरबीहरूलाई अस्त्रले सुसज्जित गर्न र यहूदीहरूलाई अस्त्ररहित पार्न भ्याएसम्म प्रयास गर्‍यो। इस्राएलका शत्रुहरूले देशबाहिरबाट मात्र हमला गरेका होइनन्; उनीहरूले युद्ध सुरु हुनुभन्दा अगाडिबाटै देशभित्र बलियो गरी मोर्चा बाँधिसकेका थिए।  इस्राएलले सबै कुराका बाबजुद स्वतन्त्रताको निम्ति युद्ध (War of Independence) जित्न सफल भए, तर यो उसको सङ्घर्षको सुरुआत मात्र थियो। सन् १९५६ मा मिस्रसित सूएज युद्ध (Suez War) युद्ध गरियो र इस्राएलका जहाजहरूलाई सूएज कनालमार्फत प्रवेशमार्ग खुला राख्न मिस्रलाई मान्ने बनाइयो। त्यसपछि सन् १९६७ मिस्र, जोर्डन, सिरिया र इराकसित छ-दिने लडाइँ (Six-Day War) चल्यो जसमा साउदी अरब, सुडान, टुनिसिया, मोरक्को र अल्जेरियाले अरब गठबन्धनलाई सेना र हातहतियार दिएर साथ दिएको थियो। छ- दिने लडाइँ (Six-Day War) पछि १९६८-७० मा इस्राएलको विरुद्धमा मिस्रको वार अफ अट्रिशन (War of Attrition) नामक युद्ध चल्यो। त्यसपछि सन् १९७३ मा योम किप्पूर युद्ध (Yom Kippur War) चल्यो जब इस्राएललाई योम किप्पूर अर्थात प्रायश्चितको दिनमा हमला गरियो, दक्षिणमा मिस्रद्वारा र उत्तरमा सिरियाद्वारा। यी दुई मुस्लिम राष्ट्रहरूलाई साथ दिनेहरू यी थिए: लेबनन, इराक, कूवेत, जोर्डन, साउदी अरब, अल्जेरिया, टुनिसिया, लिबिया, सुडान, यूगाण्डा, क्यूबा, मोरोक्को र पाकिस्तान। सोभियत संघले हवाइजहाजहरू, ट्याङ्कहरू र हर प्रकारका अस्त्रहहरू प्रबन्ध गर्नुको साथसाथै इस्राएलको हवाइ शक्तिलाई तारो बनाउँदै हजारौं क्षेप्यास्त्रहरू प्रबन्ध गरे। इस्राएलले आफूसित भएको भन्दा अत्यधिक सैन्यशक्तिको सामना गर्नुपर्‍यो। इस्राएल विरुद्धका यी प्रमुख युद्धहरू वास्तविकताको सानो एक छेउ मात्र हो। प्यालेस्टाइन अधिकारी (Palestine Authority), प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (the Palestine Liberation Organization), हमास (Hamas), हज्बोल्ला (Hezbolla), र इस्लामी जिहाद (Islamic Jihad) जस्ता मुस्लिम समूहरूहरूसित इस्राएलको बारम्बार सैन्य द्वन्द्व चलेको छ। यस प्रकारले भयङ्कर विरोधका बीच इस्राएल भूमिमा फर्केर आएको छ, अनि त्यहाँ इस्राएलको उपस्थिति हुनु नै एउटा अटुट आश्चर्यकर्म रहेको छ। तर इस्राएल आत्मिक रूपमा अन्धा छ र मरेको छ, ठिक जस्तो इजिकिएलले भविष्यवाणी गरेको थियो। यसका लक्षणहरू ज्यादै प्रत्यक्ष छन्। इस्राएलको आत्मिक अन्धापना आफ्‍नो मसीहप्रति रहेको उसको हठी अस्वीकारमा प्रत्यक्ष देख्न सकिन्छ। हाम्रो यहूदी गाइडले यो बताए कि इस्राएलमा ख्रीष्टलाई खुल्लमखुल्ला प्रचार गर्न वा सुसमाचारका पुस्तिकाहरू वितरण गर्ने काम कानून विपरित छ। जब हामीलाई उनीसित येशू मसीहको बारेमा कुरा गर्न खोज्यौं तिनले सुन्नै मानेनन् र “त्यो तपाईंको राय हो” भनेर कुरा टुङ्गाइदिए। यसले अधिक सङ्ख्यामा रहेका यहूदीहरूको डरलाग्दो अवस्थालाई दर्शाउँछ। इस्राएलको आत्मिक अन्धापना इस्राएलको अति स्वाभिमानी घमन्डमा प्रत्यक्ष देखिन्छ। प्राय: इस्राएल घमन्डले फुलेको छ र आफ्नो पुनस्थापनाको आश्चर्यकर्म र आधुनिक युद्धहरूमाथिको विजयका लागि इस्राएलले परमेश्वरलाई महिमा खासै दिने गर्दैन। यी महान् आश्चर्यकर्महरूका लागि धन्यवाद र स्वीकारको एक अंश परमेश्वरलाई दिएजस्तो गरे तापनि इस्राएलका अगुवाहरू र प्रख्यात योद्धाहरू र प्रविधिलाई अधिकांश श्रेय दिने गरिन्छ। गिदोनको समयदेखि केही बदलिएको छैन जब परमेश्वरले इस्राएलको ठूलो सेनाको कटौति गरेर केवल ३०० लडाकु मात्र प्रयोग गर्नुभयो यस हेतुले विजयका लागि इस्राएलले आफैमा गर्व नगरोस्। इस्राएलको आत्मिक मृत्यु र अन्धापना यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि आजका अधिकांश यहूदीहरू सेक्यूलर छन्, यसको माने उनीहरू पुरानो नियम पवित्रशास्त्रको सम्बन्धमा कि त थोरै चासो राख्छन् कि त केही चासो राख्दैनन्। उनीहरू केही धार्मिक परम्परा र रीति पछ्याउँछन्, तर तिनीहरूको हृदय परमेश्वरदेखि टाढा छ। उनीहरू परमेश्वरको बारेमा कुरा त गर्छन् तर उहाँको आज्ञा मान्दैनन्। इस्राएलका सबभन्दा प्रतिष्ठित आधुनिक योद्धाहरू व्यभिचारी र शबाथ भङ्ग गर्नेहरू थिए। इस्राएलको आत्मिक मृत्यु यस कुरामा पनि प्रत्यक्ष देखिन्छ कि उसले परमेश्वरको वचनको अधिकारमाथि रब्बीहरूको परम्परालाई राखेको छ। एकदमै कट्टरहरूसमेत  पहिलेका फरिसीहरूभन्दा केही फरक छैनन्। उनीहरू प्रार्थना गर्छन् तर उनीहरूका प्रार्थनाहरू व्यर्थको देखावटी रीति मात्र हुन्। उनीहरू महापवित्रस्थानको नजिक हुन वेलिङ वाल (Wailing Wall) नेर जान्छन् र आफ्‍ना फाइलेक्टरीहरू (phylacteries) लाई ठ्याक्कै मिलाएर लगाएको कुरालाई, कस्तो तरिकाले र निश्चित हल्लने तरिकाले प्रार्थना गरेको आदि कुरालाई निकै महत्त्व दिँदै देखाउँछन्। उनीहरू खानपीनका नियम (कोशर) पालन गर्छन् तर बाइबलले भनेको भन्दा धेरै पर जान्छन्। जस्तै बाख्राको पाठोलाई आमाको दूधमा नउमाल्नू भनिएको छ (व्यवस्था १४:२१)। यहूदी परम्पराले यसमा थपेर दूध वा दूधबाट बनेको चीजजस्तो कुनै कुरासित खाइनु हुँदैन भन्छ। (चीजबर्गर खान नपाइने!) परमेश्वरको व्यवस्थाले यो भनेको छैन। यो मान्छेको व्यर्थको परम्परा हो जो परमेश्वरको पवित्र व्यवस्थामा थपियो। येशूको समयमा जस्तै, आज पनि यहूदीहरू भुसुनालाई चाल्छन् तर ऊँटलाई निल्छन् (मत्ती २३:२४)। इस्राएलको आत्मिक अन्धापना पुरातत्त्वको अध्ययनमा प्रत्यक्ष देखिन्छ। बाइबलको सत्यताको पक्षमा प्रमाणहरू भेट्टाउने काममा अग्रपन्थीमा हुनुपर्ने यहूदी पुरात्त्वविदहरू सबैभन्दा  उग्र शत्रुका रूपमा खडा छन्। हामीलाई बताइएको छ कि तेल अबीबका पुरातत्त्वविदहरू बाइबलीय सन्देहवादको अग्रपन्थीमा छन्। एबाल डाँडा (Mt. Ebal) मा रहेको यहोशूको वेदीलाई उत्खनन गरेका आदम जर्टाल (Adam Zertal) ले स्टिभ रड (Steve Rudd) लाई यो बताए कि “इस्राएलका विभिन्न विश्वविद्यालयहरूमा रहेका प्राध्यापकहरू नै पुरातत्त्व क्षेत्रमा रहेका सबभन्दा बाइबल-विरोधी तत्त्वहरू हुन्” (“Joshua’s Altar”, https://www.bible.ca/archeology/bible-archeology-altar-of-joshua.htm) तर उसको अन्धापनाको बाबजुद नै इस्राएलले बाइबल भविष्यवाणी पूरा गर्दैछ। ऊ भूमिमा फर्केको छ अनि तेस्रो मन्दिर निर्माण गर्ने तयारीमा छ जुन कुरा बाइबलमा भविष्यवाणी गरिएको छ। बाइबलको ईश्वरीय प्रेरणाको मौन गवाहीको रूपमा, टेम्पल माउन्ट (Temple Mount) को पारिपट्टि ठिक अघिल्तिर एउटा २० लाख डलरको सुनको सामदान खडा छ, तेस्रो मन्दिरको पर्खाइमा। बाइबलले बताउँछ कि यो मन्दिरमा ख्रीष्टविरोधी बस्नेछ (मत्ती २४:१५; २ थेस्सलोनिकी २:४)।  इस्राएल पुनर्जीवित पारिने काम महासङ्कष्टको समयमा हुनेछ जोचाहिँ मण्डलीयुगका पवित्र जनहरूको र्‍याप्चरपछि हुनेछ। साभार: उपर्युक्त सामग्री Way of Life Literature द्वारा प्रकाशिक लेखक डेविड क्लाउडको An Unshakable Faith – A Course in Christian Apologetics पुस्तकबाट उहाँको अनुमतिले नेपालीमा अनुवाद गरी यस वेबसाइटमा प्रकाशन गरिएको हो।

ख्रीष्टको बौरिउठाइको प्रमाण

“चिहान रित्तो थियो र ख्रीष्टका शत्रुहरूले यसलाई नकार्न सकेनन्” (Ernest Kevan, The Resurrection of Christ, 1961, p.14) “प्रमाण भनेको कस्तो हुन्छ त्यो मलाई थाह छ। अनि म तपाईंलाई भन्दछु, यस्तो प्रमाण जस्तो बौरिउठाइको प्रमाण छ, त्यो आजसम्म कहिल्यै ढलेको छैन” (Lord Lyndhurst or John Singleton Copley, Attorney General of Great Britain, Lord Chancellor of England, High Steward of the University of Cambridge, सम्भवत: निम्न मौलिक रचनाबाट: Theodore Martin, A Life of Lord Lyndhurst). “यति कुरा स्पष्ट भनिनुपर्छ कि हामीलाई येशूको मृत्युको बारेमा र उहाँको मृत्यु हुनुभन्दा ठीक अघिका घडीहरूमा यरूशलेम र यरूशलेम नजिक घटेका विस्तृत घटनाहरूको सम्बन्धमा यति धेरै जानकारी छ कि त्यसको तुलनामा प्राचीन संसारकै अर्को कुनै पनि मानिसको मृत्युको बारेमा हामीलाई त्यति जानकारी छैन।” (Wilbur Smith, Therefore Stand, p. 360). “रित्तो चिहान कसरी रित्तो भयो भनेर बताउन खोज्ने आश्चर्यकर्मरहित व्याख्याहरूले एउटा निर्दयी छनोटको सामना गर्नुपर्ने हुन्छ: उनीहरूले कि त आफूलाई अनुकूल पर्ने किसिमको प्रमाणको पुनर्लेखन गर्नुपर्ने हुन्छ कि त उपलब्ध प्रमाणहरूको सवालमा आफूहरूले उचित व्यवहार नगरेको भनेर स्वीकार गर्नुपर्ने हुन्छ। प्रमाणसित मेल खाने एउटै अवधारणा यो हो कि येशू वास्तवमै बौराइनुभयो। जुन मानिसले आफ्‍नो मृत्यु र बौरिउठाइको भविष्यवाणी गर्नुभयो अनि भन्नुभए जस्तै ठ्याकै हुन गयो, उहाँ परमेश्वर नभए को हुनुहुन्छ त?” (Winfred Corduan, No Doubt about it: The Case for Christianity, p. 277).

परिचय

  1. बाइबलले यो बताउँछ कि ख्रीष्टको बौरिउठाइका त्यहाँ “अनेकौं अचूक प्रमाणहरू” छन् (प्रेरित १:३)। वास्तवमा यो घटना प्राचीन इतिहासकै सर्वोत्कृष्ट रूपमा अभिलेख गरिएको घटना मध्ये एक हो। बाइबलीय ख्रीष्टियन विश्वास अन्धो धार्मिक विश्वास होइन!
  2. येशू, बाइबल र इसाईमत, ख्रीष्टको बौरिउठाइकै कुराले कि त खडा रहन्छ कि त ढल्दछ! बाइबलको दाबी यो छ कि येशू सम्बन्धी बाइबलका विवरणहरू ऐतिहासिक विवरण हुन्, प्रत्यक्षदर्शीका विवरण हुन् (लूका १:१-४; २ पत्रुस १:१५-१६; १ यूहन्ना १:३)। ती विवरण यदि ऐतिहासिक रूपमा अचूक छैनन् भने तिनलाई अस्वीकार गरिनु उचित हो। ख्रीष्टले आफ्‍नो आधिकारिकतालाई बौरिउठाइले जाँच्न सकिने रूपमा प्रस्तुत गर्नुभयो (कम्तीमा पनि सात पटक उहाँले आफू मारिनुहुने र त्यसपछि मरेकाहरूबाट बौराइनुहुने कुरा गर्नुभयो — मत्ती १६:२१; १७:९,२२-२३; २०:१८-१९; २६:३२; लूका ९:२२-२७; यूहन्ना २:१८-२२)।पावलले यो लेखे कि ख्रीष्टियन विश्वास ख्रीष्टको बौरिउठाइमा निर्भर रहेको विश्वास हो (१ कोरिन्थी १५:१४-१७)।

ख्रीष्टको बौरिउठाइका तीन महान् प्रमाणहरू

1. सुसमाचारका वृत्तान्तहरूका चरित्र

सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका र यूहन्ना) का वृत्तान्तहरूको चरित्रलाई हेर्दा ती आफैले यस्तो प्रमाण दिइरहेका छन् कि ती वृत्तान्तहरू आफूले लेखेको कुरा वास्तविक हुन् भन्ने कुरा विश्वास गर्ने प्रत्यक्षदर्शीहरूद्वारा लेखिएका हुन् जोहरूले बिना बढाइचढाइ र बनावटी कुरा नगरी सत्य बोल्दैथे। ती वृत्तान्तहरूका विवरणहरूलाई विचार गर्नुहोस्।
“यूहन्नाको सुसमाचारमा पूरापूर व्यक्तिगत स्पर्शको चरित्र भेटिन्छ; त्यसमा एउटा प्रत्यक्षदर्शीको मात्र नभएर एकजना सचेत अवलोकनकर्ताको प्रमाणका सबै लक्षणहरू भेटिन्छन् … चेलाहरू दगुरेर गएको, उनीहरू चिहानमा कोपछि को आइपुगेको र छिरेको, यूहन्ना पहिला आफूलाई रोकेर होचो प्रवेशद्वारभित्र हेर्दा सूती कपडा पडिरहेको देखेको तथ्य, जब कि पत्रुस, बढी साहसी, पहिला भित्र छिरेको … सुती कपडा र रूमालको अवस्था र स्थानको बयान … यी त आफूले वास्तवमै देखेको व्यक्तिको बयान बाहेक अरू केही हुन सक्दै-सक्दैन, जुन व्यक्तिको सम्झनामा उक्त दृश्यको छाप अझै पनि रहिरहेको छ, जसको निम्ति त्यो रित्तो चिहान र छोडिएको कात्रोको दृश्य, उसको विश्वास र जीवनमै एक निर्णायक विन्दु बनेको थियो।” (E. Day, On the Evidence of the Resurrection, pp. 16-17)
ती वृत्तान्तहरूको खरापनलाई (निष्कपटतालाई) विचार गर्नुहोस्। कसैले एउटा धर्म सुरू गर्नु छ त उसले त्यसका अग्रजहरूको बढाइचढाइ गर्छ तर सुसमाचारका लेखोटहरूले इसाईमतका संस्थापकहरूलाई ज्यादै कमजोर व्यक्तिहरू भएको तस्वीर प्रस्तुत गर्दछन् (जस्तै पत्रुसलाई ख्रीष्टले शैतानको संज्ञा दिँदै हप्काइनुपरेको, मत्ती १६:२३; पत्रुसले ख्रीष्टलाई तीन-तीनपटक इन्कार गरेको; चेलाहरू भागेको, लुकेको; ख्रीष्ट उनीहरूकहाँ देखा परिसक्नुभएपछि पनि थोमा र अरूहरूले शङ्का गरेको)।

अझ, यदि ख्रीष्टको बौरिउठाइको घटना पुरुषहरूद्वारा रचिएको बनावटी कुरा थियो भने, उनीहरूले विश्वास गर्नेहरूमा पहिलो चाहिँ स्त्रीहरू थिए भनेर पक्कै पनि भन्ने थिएनन्। त्योबेलाको समाजको नजरमा स्त्रीहरूको कुनै आधिकारिकता हुँदैनथ्यो। त्यसबेलाको समयमा स्त्रीहरूले कानूनी अड्डामा साक्षी समेत बन्न पाउँदैनथे, कुनै कुनै अवस्थामा बाहेक (J.P. Moreland, Scaling the Secular City, p. 168)। घटना वास्तवमै त्यस्तै नभएको भए र लेखकहरू सत्यको र सत्यको मात्र अभिलेख गर्नलाई पूरै समर्पित व्यक्तिहरू नभएका भए, स्त्रीहरूले पहिला विश्वास गरे भनेर खास लेखिने खालको कुरै थिएन। यो असाधारण खरापना यस कुराको बलियो प्रमाण हो कि सुसमाचारका लेखोटहरू सत्य, रङले नपोतिएका वृत्तान्तहरू हुन्।

2. रित्तो चिहान

येशूको चिहान रित्तो भएको कुरा दुईटा तथ्यले प्रमाणित गर्दछन्: पहिलो, यहूदी अगुवाहरू उहाँको शरीर चेलाहरूले चोरेका हुन् भन्ने झूट फैलाउन बाध्य भए (मत्ती २८:११-१५)। यदि येशूको शरीर कतै न कतै भएको भए त उनीहरूले खोजेर त्यसलाई अवश्य प्रस्तुत गरिहाल्थे। दोस्रो, क्रूसीकरणको केही थोरै हप्तापछि नै, पत्रुसले सार्वजनिक रूपमा, उक्त रित्तो चिहानबाट धेरै पर पनि होइन, बौरिउठाइको प्रचार गरे र ३,००० जतिले विश्वास गरे, जसको थोरै समयपछि “पुजाहारीहरूको एउटा ठूलो भीडले” अनि “धेरै जनाले” विश्वास गरे (प्रेरित २:३७-४२; ६:७; ११:२१)। यदि शरीरलाई प्रस्तुत गर्न सक्ने कोही थिए भने वा त्यो नभेटिनुको मुनासीव कारण बताउन सक्ने कोही थिए भने, तिनीहरूले अवश्य सो गरिहाल्थे! रित्तो चिहान किन रित्तो थियो भनेर बताउने प्रयास स्वरूप निम्न परिकल्पनाहरू प्रस्ताव गरिएका छन्:
“बाइबल आलोचनाको भूमि एउटा विशाल चिहानडाँडा जस्तो देखा पर्छ। निकै कल्पनाशक्ति भएका सन्देहवादीहरूले दिमाग घोटेर विभिन्न परिकल्पना रचेका छन् तर ती एक-एक नै रद्दी ठहरिएर मिल्काइँदा तिनका हड्डीहरूले उक्त चिहानडाँडा भरिन पुगेको छ … कसैलाई लाग्दो हो, यति धेरैपटक दोहोरिएको विफलताले गर्दा विरोधीहरूले अब प्रयास गर्न छाड्नेछन्। तर कहाँ हुनु। उनीहरू अविरल रूपमा लागिरहन्छन्, अनि मानिसहरू अझै आफ्‍ना दिमाग घोट्दैछन्, कल्पनाशक्तिलाई ओभरटाइम काममा लाउँदैछन्, उनीहरू भएभरको विद्वता र चतुरता प्रदर्शनी गर्दैछन्। उनीहरू ऐतिहासिक प्रमाणको एउटा अजेय चट्टानलाई नष्ट गर्नलाई, हामीले देख्दा, व्यर्थका प्रयास गर्दैछन् जुन चट्टानमाथि नै बौरिउठामाथिको ख्रीष्टियन विश्वास गर्वका साथ, नहक्लीकन, खडा रहिरहेको छ।” (John Lilly)

१. कतिले यो भन्छन् कि येशू बेहोश मात्र हुनुभएको थियो र चिहानभित्रको चीसोले उहाँको होश फर्केर आएको मात्र हो।

उहाँ वास्तवमा मरिसक्नुभएको कुरालाई पेशागत सिपाहीहरूले पक्का गरिसकेको तथ्यले यो परिकल्पना रद्द हुन्छ (यूहन्ना १९:३१-३४)। सोच्ने हो भने, झण्डै-झण्डै मरिसकेको एउटा मान्छेले चिहानको त्यत्रो गह्रौं ढुङ्गालाई हटाउन सक्न कहाँ सम्भव थियो र? अनि त्यसपछि गएर आफ्‍ना चेलाहरूलाई आफू मृत्युबाट बौरेको हुँ भनेर विश्वास दिलाउनु कसरी सम्भव हुन्थ्यो र? ख्रीष्टले भोग्नुभएका शारीरिक यातनाहरूलाई विचार गर्नुहोस्: भयङ्कर प्रहारहरू खेप्नु, काँटीले हात र पाउलाई छेडिनु; एकातिर भाला रोपिनु (यूहन्ना १९:३४); अधिक मात्रामा रगत र शरीरका द्रव्यहरू गुमाएको हुनु।

२. कतिले यो भन्छन् कि स्त्रीहरू अर्कै चिहानमा पुगे।

The Historical Evidence for the Resurrection of Jesus Christ मा Kirsopp Lake ले यो दाबी गर्छन् कि स्त्रीहरू अँध्यारोमा अलमलिएर अर्कै चिहानमा पुगेका हुन्। यो कुरा सुसमाचारका वृत्तान्तहरूको विपरित मात्र छैन, यो अर्थ न व्यर्थको कुरा हो। स्त्रीहरू अर्कै चिहानमा पुगेका भए अनि त्यही गल्तीको आधारमा ख्रीष्ट बौरनुभयो भनी खबर पुर्‍याएका भए, त्यो कुराको स्पष्टिकरण उहिल्यै भइसक्थ्यो। प्रथमत, चेलाहरू बुद्धु थिएनन्। उनीहरूले एक दुई दिग्भ्रमित स्त्रीहरूकै गवाहीका निम्ति आफ्‍नो ज्यान फाल्नेवाला थिएनन्। उनीहरूले ती स्त्रीका बयानलाई अवश्य होशियारपूर्वक जाँच्नेथिए र सत्यतथ्य के हो भनेर टुङ्गो लाउनेथिए। त्यति मात्र कहाँ हो र, अझ पहिला यहूदी अगुवाहरू आफै गएर ‘खास चिहान यो पो हो’ र ‘ई शरीर यहाँ छ’ भनेर देखाइदिएर यो मामिलाको उहिल्यै टुङगो लगाइसक्थे!

३. कतिले यो भन्छन् कि चेलाहरूलाई मतिभ्रम भएको थियो।

यदि मतिभ्रम भएको थिए भने त्यो व्यापक मतिभ्रम भएको हुनुपर्छ किनकि पावलले यो लेखे कि बौरिउठ्नुभएका ख्रीष्ट एउटा अवसरमा एकै पटक ५०० भन्दा बढी व्यक्तिकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५-५-८)! पावलले पहिलो कोरिन्थीको पत्र लेख्दाको बेला ती प्रत्यक्षदर्शीहरू अधिकांश अझै जीवितै थिए। पावलले उहिले-उहिले भएको घटनाको कुरा गरिरहेका थिएनन्। जोश म्याकडावेल (Josh McDowell) को अवलोकनलाई विचार गर्नुहोस्: “हामी ती ५०० जनालाई एउटा अड्डा अदालतमा खडा गराऔं जोहरूले येशूलाई उहाँको मृत्यु र दफनपछि जीवित देखे। अब  सोच्नुहोस्। यदि ती ५०० जनाले ६-६ मीनेट मात्र आ-आफ्नो गवाही बक्न पाए भने — उनीहरूलाई केरकार गर्दाको समयलाई जोडेर समेत — तपाईंलाई ५० घण्टा बराबरको प्रत्यक्ष (first hand) बयान उपलब्ध हुनेथ्यो। अब त्यसमा थप्नुहोस् अरू थुप्रै प्रत्यक्षदर्शीहरूको गवाही। यो भनेको त इतिहासकै सबैभन्दा ठूलो, एकतर्फी मुद्दाको सुनुवाइ हुन जान्थ्यो।” (Evidence for Resurrection) यस्तो अनुमानले “ख्रीष्टलाई एउटा धोखेबाज बनाउँछ र उहाँका चेलाहरूलाई उल्लू बनाउँछ” भन्ने फ्र्याङ्क मोरीसनको अभिव्यक्ति सही हो। ती चेलाहरूले पछिबाट आफ्‍नो गवाहीका निम्ति बिनाडर कति ठूला संत्रास र सतावटहरू भोगे। उनीहरूले सामना गरेका ती सतावटहरूलाई हेर्दा, उनीहरू भित्र-भित्र शङ्का बोक्दै आधा मनले यस मतमा लागिरहेका व्यक्तिहरू थिए भन्न सक्नै त्यहाँ कुनै ठाउँ नै छैन।

४. कतिले यो भन्छन् कि उनीहरूले अर्कैलाई देखेका हुन् जसले येशूको रूप धारण गरेका थिए। (Hugh Schonfield, The Passover Plot)

यो त यति हास्यास्पद छ कि यसको खण्डन गर्नलाई समय खेर नफाल्दा हुन्थ्यो। तीन-तीन वर्ष येशूसँगै हिँडेका चेलाहरूले उहाँलाई चिन्न सक्ने थिएनन् र? एकछिन अलमलमा पर्नु, केही छोटो अवधिको लागि समेत दिग्भ्रमित हुनु, एउटा कुरा हो, तर समय बित्दै जाँदा निज आखिरमा एक धोखेबाज हुन् भनेर महसुस भइहाल्ने कुरा हो नि।

५. कतिले भन्छन्, उहाँको शरीर चोरिएको थियो।

यो कथन यहूदी अगुवाहरूको रचना थियो। उनीहरूले गार्डहरूलाई घुस दिए यो झूट बोल्न लगाए कि चेलाहरूले येशूको शरीर चोरे (मत्ती २८:११-१५)। यो एउटा असम्भव कुरा हो। पहिलो, उनीहरू सुतिरहेका भए, शरीरलाई के भयो भनेर उनीहरूले कसरी जान्न सक्थे र? अनि यदि चोरिएकै भए पनि, कसले चोरे भनेर कसरी जान्न सक्थे र? दोस्रो, गार्ड ड्यूटीमा सुत्नु भनेको मृत्युदण्डको सजाय पाइन्थ्यो त्यसबेला। एकजना सम्म गार्ड सुतेको कुरा सायद सोच्न सकिन्छ, तर सब का सब नै निदाएको हुनु भनेको सोच्नै योग्य कुरा होइन। विशेष गरी यस्तो असाधरण अवसरमा कि शरीर नचोरियोस् भन्ने हेतुले उनीहरू गार्ड बस्दैछन् ताकि क्रूसमा टाँगिएका येशू मरेकाबाट बौरिउठ्नुभयो भनी नभनियोस्। सबै सुते? सम्भव छ, तर विश्वास गर्न योग्य छैन। विशेष गरी जब यो विचार गरिन्छ कि ती गार्डहरू संसारकै सबभन्दा कडा अनुशासनमुनि रहेका सिपाहीहरू थिए। ड्यूटीमा निदाउनु भनेको त रोमी सिपाहीको लागि मृत्युदण्ड थियो। तरैपनि ती सिपाहीहरूलाई मारिएन, न ता शासकवर्गले उनीहरूलाई दोषी नै ठहराए। अवश्य नै ती शासकहरू शरीरलाई थुनेर राख्ने आफ्‍नो योजना विफल भएको देख्दा बेसरी लज्जित भएका र चिढिएका थिए। तेस्रो, उनीहरूको कामकुराले यो देखाउँछ कि यहूदी अगुवाहरूले आफ्‍नै बयानलाई विश्वास गर्दैनथे। शरीर छैन भन्ने कुरा जब उनीहरूले थाह पाए, खै त, उनीहरूले चेलाहरूलाई बोलाएर कही सोधखोज गरेनन्, नता शरीर खोज्नपट्टि नै लागे। यसले त झन् बौरिउठाइ भएकै थियो भन्ने कुरालाई प्रमाणित गर्दछ। किनकि शरीर त्यहाँ छैन भन्ने कुरा स्वीकार गरेका मान्छेको भाषा हो यो। जब शरीर त्यहाँ छैन भनेर उनीहरूले स्वीकार गर्छन्, तर चोरिएको हो भन्ने कुरा जब झूटो र विश्वास गर्न नसकिने भनेर देखाइन्छ (किनभने पहरा दिएका उनीहरूले नै हुन्, छाप लगाएका उनीहरूले नै हुन् अनि चेलाहरूको भयभीत अवस्थालाई जब विचार गर्छौं) बौरिउठाइको प्रमाण त झनै खण्डन गर्नै नसकिने बन्दछ। अझ कुरा केलाऊँ, कसले चोरे होला त ख्रीष्टको शरीरलाई?
  1. यहूदीहरूले निश्चय पनि चोरेनन्, किनकि उनीहरू उहाँ बौरनुभएको होइन भन्ने कुरा प्रमाणित गर्न चाहन्थे।
  2. रोमी सरकारले निश्चय पनि चोरेन, किनकि चिहानलाई औपचारिक सील छाप लगाएर थुन्ने कुरा रोमी सरकारले नै गरेको थियो। अनि आफैले शरीर चोरेर ख्रीष्टियनहरूलाई ‘उहाँ बौरनुभएको छ’ भन्दै प्रचार गर्न दिनु भनेको त उनीहरूकै लक्ष्यको ठीक विपरित कुरा हुन्थ्यो।
  3. अरमिथियाका यूसुफले निश्चय पनि चोरेनन्। उनी येशूका चेला थिए र चोर्नका निम्ति उनलाई अभिप्रेरित गराउने कुनै कुरा छैन। अझ भन्नुपर्दा, एकलै त चोर्न सक्ने कुरा पनि भएन। त्यत्रो ढुङ्गा हटाउन कसैको सहायता चाहिन्थ्यो नै अनि ढिलो चाँडो उक्त कुरा ‘एक कान दुई कान मैदान’ भइसक्थ्यो।
  4. चेलाहरूले निश्चय पनि चोरेनन्। पहिलो, उनीहरू आफ्नै ज्यानको डरमा लुकिरहेका थिए। दोस्रो, उनीहरूलाई मौकै थिएन, किनकि चिहानमा सरकारी सीलछाप लगाइएको थियो र अझ गार्डहरूद्वारा त्यो सुरक्षित थियो। तेस्रो, त्यस्तो षड्यन्त्र रचेर र त्यसलाई पूरा गर्न सक्ने खुबी भएको उनीहरूको कुनै अगुवा थिएन। अघिका अगुवा पत्रुस अब एक टुटेका व्यक्ति थिए, ख्रीष्टको चेलापनमा अघि बढ्ने कुरा त परै जाओस्, उनले आफ्‍नै पेशामा फर्केने सोच बनाइसकेका थिए (यूहन्ना २१:३)। चौथो, उनीहरू जानाजानी झूटको लागि दु:ख भोग्न र मारिन रोजेका हुँदो हो त उनीहरू महामूर्ख हुन्! चेलाहरूले अरूले देखेका कुराको लागि ज्यान फालेका होइनन् (जस्तो मुस्लिमहरू कोरानका निम्ति मर्छन्), तर उनीहरू त आफैले देखेका कुराको दाबी गर्दै मरेका हुन् (प्रेरित ४:१८-२०)। पाँचौं, यति धेरैजना मानिस मिलोमतो गरी शरीर चोरेका भए, त्यो कुरालाई गुप्तमा लुकाएर राख्नु असम्भव कुरा हो। यदि चेलाहरूले चोर्न सम्भवै भएको भए पनि, पछिको इसाईमतको इतिहास नै फरक हुनेथ्यो। ढिलो चाँडो सत्य-तथ्य जानेको कोही न कोही व्यक्तिबाट गोप्य कुरा खुलिसक्थ्यो। छैटौं, नयाँ नियममा भेटिने जस्तो यति महान् नैतिकताको धर्म जसले सत्यता र इमानदारीतालाई उच्च मान्छ, यस्तो नीच कपटमा आधारित हुनु एउटा असम्भव कुरा हुनेथ्यो।
“कसैले पनि, चाहे सरकारी वा गैरसरकारी निकायले, उहाँको अवशेषहरूलाई प्रस्तुत गर्न वा कुनै चिहानलाई देखाउन पूर्ण रूपमा विफल भएको तथ्यले नै शरीरलाई चिहानबाट अन्यत्र लगिएको थियो भन्ने कुरामा आधारित हरेक परिकल्पनालाई आखिरमा ढालेर छोड्छ” (Morrison, Who Moved the Stone?)।
हामी यो नबिर्सौं, सुरुका ख्रीष्टियनहरूले ख्रीष्ट मरेकाहरूबाट बौरनुभएको छ भन्ने उनीहरूको गवाहीका निम्ति यथार्थमा के कस्ता कुरा भोगे। उनीहरू परिवार र साथीभाइबाट बाहेक भए, समाजकै शत्रुहरू गनिए र घृणित भए, यातनाहरू भोगे , वर्षौं सम्म अँध्यारो, मुसाग्रस्त कोठरीहरूमा कैद गरिए। जग्गा जम्मीन खोसिए; क्रूसमा टाँगिए, जिउँदै गाडिए, जङ्गली पशुहरूद्वारा च्यातचुत पारिए, जीउ टुक्रा-टुक्रा गरी काटिए, बाँधेर तन्काइने र्‍याकहरूमा राखेर पोलिए, उनीहरूका जिब्राहरू च्यातेर निकालिए, आँखाहरू फुटाइए। साथै उनीहरूले परिवारका प्रियहरूको सास्ती, यातना र मृत्युलाई आफ्‍नै आँखाले हेर्नुपर्ने पीडा भोगे।
“उनीहरूका प्रभु भर्खरै एउटा सार्वजनिक न्यायलयको फैसलाले एक कुकर्मी ठहराइएर नष्ट हुनुभएको छ। उहाँको धर्मले सारा संसारकै धर्महरूलाई हटाउने प्रयास गर्‍यो। हरेक राष्ट्रका नियमहरू उहाँका चेलाहरूका शिक्षा-सिद्धान्तहरूका विपरित थिए। संसारमा भएका सबै शासकवर्ग तथा ठूला बडा व्यक्तित्वहरूका इच्छा-आकांक्षा र अभिलाषाहरू तिनका विरुद्ध थिए। संसारको रीतिरिवाज उनीहरूको विरुद्धमा थियो। यो नयाँ विश्वासलाई, जतिसक्दो कसैलाई ठेस नखुवाउने र शान्तिपूर्ण ढङ्गले फैलाउन खोज्दा समेत उनीहरूले केवल तिरस्कार, विरोध, गिल्ला-गलौज, तीता सतावटहरू, कोर्राहरू, कैदहरू, यातनाहरू र निर्दयी मृत्युहरूको मात्र अपेक्षा गर्न सक्थे। तरै पनि यही विश्वासलाई उनीहरूले जोशका साथ फैलाए; अनि यी सबै दयनीय कष्टहरू उनीहरूले हतोत्साहित नभईकन भोेगे। अझ रमाउँदै-रमाउँदै भोगे। जब एक पछि अर्कोलाई दर्दनाक मृत्युदण्ड दिइयो, बचेकाहरूले आफ्‍नो काम झनै ठूलो जोश र अठोटका साथ सम्पन्न गरे। सैन्य युद्धको इतिहासका अभिलेखहरूमा समेत यस्तै वीरता, समर्पणता, धैर्यता कातरतारहित सहासको उदाहरण पाउन मुस्किल पर्छ। आफ्‍नो विश्वासको आधार के हो र आफूहरूले बेजोडसाथ समर्थन गरेका महान् तथ्यहरू र सत्यताहरूको प्रमाणहरू के के हुन् भनेर राम्रोसित उनीहरूलाई पुन: विचार गर्न अभिप्रेरित गर्ने प्रशस्तै कुराहरू थिए। अनि यी अभिप्रेरित गर्ने कुराहरू भयङ्कर ग्लानि ल्याउने गरीकन र एकदम दोहोरिने तवरले उनीहरूको ध्यानमाथि दबाब पर्ने गरीकन आउँथे। यसैकारण, यदि येशू मृत्युबाट वास्तवमै बौरिउठ्नुभएको होइन भने अनि यस तथ्यलाई उनीहरूले अन्य कुनै पनि तथ्यलाई जति पक्का गरी जान्न सक्थे त्यति पक्का गरी नजानेका भए उनीहरू ती सत्यताहरूलाई समर्थन गरिरहन उनीहरू लागेको लागै, लागेको लागै गरिरहन असम्भव कुरा थियो। … यदि उनीहरूको गवाही सत्य थिएन भने, एउटा झूटो जालसाजी गवाही बनाउन उनीहरूलाई अभिप्ररित गर्न सक्नै त्यहाँ कुनै कुरा थिएन।” (Simon Greenleaf, An Examination of the Testimony of the Four Evangelists by the Rules of Evidence Administered in the Courts of Justice, 1846)
(ख्रीष्टको बौरिउठाइको तेस्रो महान् प्रमाण: परिवर्तित जीवनहरू — यो खण्ड पछि थपिनेछ)। साभार: David Cloud, An Unshakable Faith: A Christian Apologetics Course, 2011)