बाइबललाई श्रदाञ्जलि

बाइबललाई श्रदाञ्जलि

 

बाइबलमा परमेश्वरकै मन छ, मानिसको अवस्था छ, मुक्तिको मार्ग छ, दुष्टहरूको विनाश छ र विश्वास गर्नेहरूको सुख छ। यसका शिक्षाहरू पवित्र छन्, यसका नीतिहरू आधिकारिक छन्, यसका इतिहासहरू सत्य छन् र यसका फैसलाहरू अपरिवर्तनीय छन्। बुद्धिमान हुन यसलाई पढ्नुहोस्, सुरक्षित हुन विश्वास गर्नुहोस्, पवित्र हुन पालन गर्नुहोस्। डोर्‍याउनलाई यसमा ज्योति छ, सामर्थ्य दिने भोजन छ, ढाडस दिने साहारा छ।

यात्रीको नक्सा हो यो, परदेशीको लौरो, चालकको कम्पास हो यो र तलवार योद्धाको। ख्रीष्टियनको राजपत्र हो यो। यहाँ सत्ययुग पुनर्स्थापित हुन्छ, स्वर्ग खोलिन्छ, नरकका ढोकाहरू प्रकट हुन्छन्। ख्रीष्ट यसको केन्द्रीय विषय हो, हाम्रो भलाइ यसको उद्देश्य र परमेश्वरको महिमा यसको लक्ष्य।

यसले स्मृतिलाई भर्नुपर्छ, हृदयलाई नियन्त्रण गर्नुपर्छ, पाउहरूलाई डोर्‍याउर्नुपर्छ। यसलाई बिस्तारै पढ्नुहोस्, बारम्बार पढ्नुहोस्, प्रार्थनासहित पढ्नुहोस्। यो, ऐश्वर्यको खानी हो, महिमाको स्वर्गलोक हो र सुखको नदी हो। यो तपाईंलाई यस जीवनमा दिइएको छ, न्यायको दिनमा खोलिन्छ र यसलाई सदासर्वदा स्मरण गरिनेछ। यसमा सबभन्दा ठूलो जिम्मेवारी छ, अधिक परिश्रमलाई इनाम छ र यसका पवित्र कुराहरूसित खेलबाड गर्नेहरू सबलाई दण्ड छ।

(अङ्ग्रेजीबाट अनूदित)

बाइबल एक अद्‍भुत पुस्तक

बाइबल एक अद्‍भुत पुस्तक

 

बाइबलको ईश्वरीय उद्‍भवको प्रमाण

डेविड डनलाप

“बाइबल अरू पुस्तक जस्तो होइन” — यो भनाइ खास अपुग छ, तरैपनि सत्य! बाइबल, संसारको इतिहासमा सबभन्दा प्रिय पुस्तक हो भने सबभन्दा घृणित पनि। छापाखानाको आविष्कारपछि सर्वप्रथम मुद्रित पुस्तक बाइबल नै हो र पनि आजसम्म संसारमा अधिकतम संख्यामा विक्री हुने पुस्तक यही हो, त्यो पनि संसारको झण्डै सबै भाषाहरूमा। यसका दाबीहरू, सत्यताहरू र भविष्यवाणीहरू अद्वित्तीय र प्रभावशाली छन् र तिनमा जीवनलाई बदल्ने सामर्थ्य लुकेको छ। यसैकारण परमेश्वरले आफ्नो वचनलाई जिउँदो (हिब्रू ४:१२) को संज्ञा दिनुभएको छ! साथै परमेश्वरले आफ्नो वचनको संरचनामा जीवन-तत्त्व समावेश गर्नुभएको छ। शताब्दियौंदेखि परमेश्वरले यी पवित्र शास्त्रहरूद्वारा हरेक युग र संस्कृतिका मानिसहरूका हृदयहरूलाई खिँच्दै आउनुभएको छ — गरिब र धनी, घमण्डी र नम्र, शिक्षित र अनपढ। बाइबलले सिकाएका र समर्थन गरेका कुराहरू अद्‍भुतरूपमा अचूक छन्। बाइबलको मूल सन्देश मुक्तिको सन्देश हो। तरैपनि इतिहास, प्रकृति, विज्ञान वा पुरातत्त्वको विषयलाई छुँदा बाइबलको ज्ञान अग्रणी स्थानमा रहेको पाइन्छ जुन ज्ञान साँचो र सत्यापनीय भएको पाइन्छ। जीवनका सबभन्दा गहन प्रश्‍नहरूको जवाफ खोज्नेले बाइबलको बुद्धि, ज्ञान र नैतिक सिद्धान्तहरू देखेर यिनैलाई बाइबलको ईश्वरीय उद्‍भवको प्रमाणस्वरूप पाउँदछ। बाइबल भनिने यस अद्‍भुत वास्तविकताको सन्तोषजनक व्याख्या एउटै मात्र छ — यो परमेश्वरकै प्रेरणाबाट दिइएको पुस्तक हो।

बाइबल परमेश्वरको प्रेरणाबाट दिइएको

“सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो र शिक्षाका लागि, भूलदोष देखाउनका लागि, सुधारका लागि र धार्मिकताको तालिमका लागि लाभदायक छ” (२ तिमोथी ३:१६)। बाइबल ईश्वरीय प्रेरणाबाट आएको हो भन्नुको तात्पर्य के हो? उक्त प्रेरणाको लम्बाइ र चौडाइ व्यक्त गर्न “पूर्ण” र “शाब्दिक” जस्ता व्याख्यात्मक शब्दहरू प्रयोग गरिन्छन्। “पूर्ण” शब्दले बाइबलको प्रत्येक पुस्तक, अध्याय र पदलाई सङ्केत गर्दछ। “शाब्दिक” ले चाहिँ बाइबलको प्रत्येक शब्द नै ईश्वर-प्रेरित हो भन्ने तथ्यलाई जनाउँछ। तसर्थ, प्रेरणाको माने बाइबलका मानवीय लेखकहरूमाथिको पवित्र आत्माको अलौकिक प्रभाव हो जुन प्रभावले गर्दा उनीहरूका सम्पूर्ण लेखोटहरू सत्य, अचूक र त्रुटिरहित रहन्छन्। तरैपनि, यो उल्लेखनीय छ कि बाइबलले आफ्नो प्रेरणाको तथ्यलाई प्रस्टै उल्लेख गरे तापनि यसले आफ्नो प्रेरणाको पक्षमा कहिल्यै बहस गर्न खोज्दैन। कसै-कसैले यस असङ्गति [paradox] लाई देखेर ताजुब मानेका छन्। एकपटक लोकप्रिय बाइबल शिक्षक सी एच म्याकिन्टोश (१८२०-१८९६) लाई सोधियो, किन बाइबलले आफ्नो प्रेरणाको पक्षमा बहस गर्दैन? उनले जवाफ दिए, “त्यो त सूर्य चम्किरहेको छ कि छैन भनेर प्रमाणित गर्न एउटा टर्च-लाइटलाई आकाशतिर देखाए बराबर हुन्छ!” भनाइको तात्पर्य यो थियो कि बाइबल आफै नै सर्वोत्तम प्रमाण हो। त्यसो भए तापनि बाइबलको शुरूदेखि अन्तसम्म नै अद्वित्तीय र अनन्त परमेश्वरकै लक्ष्यण भेटिन्छ।

अविनाशी पुस्तक बाइबल

कुनै पुस्तक विशेष छ भने त्यो पच्चीस वर्षसम्म पनि छापिन सक्छ। जुनचाहिँ एक शताब्दिभरि पढिन्छ त्यसलाई असाधारणमा गन्नु पर्छ, तर एक हजार वर्षसम्म रहिरहने पुस्तकहरू त एकदम थोरै हुन्छन्। तरैपनि बाइबल हजारौं वर्षदेखि संसारमै सबभन्दा लोकप्रिय पुस्तक बन्न सफल भएको छ यद्यपि पटक-पटक यसलाई आक्रमण गर्न र निमिट्यान्न पार्न भएभरको जमर्को गरिएको कुरा इतिहासले बताउँदछ।

रोमी सम्राट डायोक्लेटियन (ई सं ३०३) को समयदेखि लिएर शताब्दियौंभरि हाम्रै समयसम्म, थुप्रैले बाइबललाई संसारबाटै निमिट्यान्न पार्न प्रयास गरेका छन्। सैनिक शक्ति र दमनद्वारा रोमी साम्राज्य, क्याथोलिक चर्च, कम्युनिष्ट सरकारहरू लगायत मुस्लिम सरकारहरूले बाइबललाई आक्रमण गर्न र नष्ट गर्न खोजेका छन्। तर उनीहरूले हासिल गरेको सफलता न्यून छ। अठारौं शताब्दिमा बाइबलले भोल्टेयर, थोमस पेन आदि जस्ता “इनलाइटनमेन्ट” स्केप्टिक र नास्तिक दार्शनिकहरूको आक्रमण खप्यो। तर उनीहरूको प्रयास झनै कम प्रभावशाली भेटियो। फ्रान्सेली मानववादी [humanist] भोल्टेयरले एकपटक घोषणा गरे, “अबको पचास वर्षभित्रमा संसारबाट बाइबलको नाम निशाना मेटिनेछ।” तर भोल्टेयरको मृत्यु भएको पचास वर्षपछि, भोल्टेयर बसेकै घरबाट त्यहाँ भएको उनकै छापाखाना प्रयोग गरी जेनेभा बाइबल सोसाइटीले धमाधम बाइबलहरू छाप्न थाले। त्यस्ता आक्रमणले बाइबलमाथिको विश्वासलाई कमजोर तुल्याएन बरु झन् मजबुत तुल्यायो। विश्वासको खातिर कठोर सतावट भोग्ने फ्रान्सेली ह्युगनटहरूले बाइबल र इसाईमतलाई तीन कामदारहरूको घनको प्रहारमुनि रहेको फलामको अचानोसित तुलना गरेर चित्र कोरेका छन् जसमुनि निम्न शब्दहरू कुँदिएका छन्:

“घन जति बजार्छन्
र स्वर जति उचाल्छन्,
त्यति नै तिनीहरूले,
आफ्ना घन खियाउँछन्!”

परमेश्वरको वचन अविनाशी छ भन्ने तथ्य आजको दिनसम्मै पुष्टि भएको छ। बाइबलले हामीलाई याद गराउँदछ, “घास ओइलिहाल्छ, र फूल झरिहाल्छ, तर परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ” (१ पत्रुस १:२४-२५)।

पुरातात्त्विक प्रमाण

पुरातत्त्व विज्ञानको विस्तृत अन्वेषण र कैयौं आविष्कारहरूले बाइबलीय घटनाहरूको वास्तविकतालाई समर्थन गरेको पाइन्छ। पुस्तौंदेखि आलोचकहरूले बाइबलीय घटनाहरूको ऐतिहासिकता र सत्यताको खिल्ली उडाउँदै आए। तर, गत पच्चीस वर्ष यताका पुरातत्त्वका आविष्कारहरूले बाइबल ठीक तर उदारवादी विद्वानहरू बेठीक प्रमाणित गरेको छ। बीसौं शताब्दीका सर्वोत्कृष्ट यहूदी उत्खनक डा नेल्सन ग्लुएकले यसरी लेखेका छन्:

निर्विवादरूपमा यो भन्न सकिन्छ कि पुरातत्त्वको कुनै पनि आविष्कारले बाइबलको एउटै बुँदालाई समेत खण्डन गरेको छैन। बरु थुप्रै पुरातात्त्विक आविष्कारहरू प्रकाशमा आएका छन् जसले बाइबलका ऐतिहासिक कथनहरूलाई प्रस्ट रूपरेखामा वा पक्का प्रतिरूपमा समर्थन गरेको पाइएको छ।(१)

बाइबलीय अभिलेखको पुरातात्त्विक समर्थनको उत्तम उदाहरणस्वरूप हेरोदको शासनकालीन जनगणनालाई लिन सकिन्छ जुनचाहिँ कुरेनियस सिरियाका राज्यपाल हुँदा सम्पन्न भएको थियो। पुस्तौंसम्म उदारवादी विद्वानहरूले त्यस्ता जनगणनाहरू अवास्तविक हुन् भनी खिल्ली उडाए। उनीहरूको तर्क यो थियो: कुनै पनि सरकारले आफ्ना सम्पूर्ण नागरिकहरूलाई आ-आफ्ना जन्मस्थानमा जबरदस्ती कसरी पठाउन सक्लान् र? उनीहरूले बाइबल विश्वास गर्ने इसाईहरूलाई त्यस्तो जनगणना प्राचीन मध्यपूर्वमा भएको थियो भन्ने प्रमाण निकाल्न चुनौती समेत दिए। तर, गत केही वर्षहरूमा लेखोटहरू भेटिएका छन् जसले त्यस्ता जनगणनाहरूलाई समर्थन गर्दछन्। ख्रीष्टियन विद्वान डा जोन म्याकरेले, आफ्नो पुस्तक आर्किअलजी एण्ड द न्यू टेस्टामेन्ट (पुरातत्त्व र नयाँ नियम) मा पहिलो शताब्दीबाटको एउटा लेखोट प्रस्तुत गर्नुहुन्छ जसमा यसरी लेखिएको छ:

मिश्रका अधिपति गायस भिबियस म्याक्सिमस [बाट]: घर-घरको जनगणना लिने समय अब आइपुगेको हुनाले कारणवश आ-आफ्नो इलाकाबाहिर बसोबास गरिरहेका सबैलाई आ-आफ्नै घरमा फर्कनलाई बाध्य गराउन आवश्यक परेको छ ताकि उनीहरूले गणनाको नियमित काम पूरा गरून् र साथै आ-आफ्नो भूमिको खेतीपातीमा यत्‍नपूर्वक ध्यान दिऊन्।(२)

यो लगायत अन्य थुप्रै आविष्कारहरूले पवित्र शास्त्रको साँचोपनलाई समर्थन गर्दछ। बाइबलको अभिलेखलाई थप समर्थन गर्ने केही पुरातात्त्विक नव-आविष्कारहरू यस प्रकार छन्: एल्बा शीलालेखहरू, हित्ती साम्राज्य, येरीहोका पर्खालहरू, “चौतारा” (येशूलाई न्याय गरिएको स्थान) र बेथसैदाको पोखरीको अस्तित्व।

सप्रमाणताको जाँच

इसाई बाइबल विद्वानहरूले बाइबलको विश्वस्तता देखाउनलाई बाइबलका पाण्डुलिपिहरूको “सप्रमाणताको जाँच” लाई प्रमुख आधारशिलाको रूपमा औंल्याउने गरेका छन्। सप्रमाणताको जाँच (Authenticity Test) अनुसार कुनै लेखोटको सकलीपन, मूल हस्तलिखित गुरुकापीबाट उतारिएका प्रतिलिपिहरूको संख्या, मूल गुरुकापी तथा प्रतिलिपिहरूका बीचको समयावधि र प्रतिलिपिहरूका बीचको असङ्गतिको परिमाणको आधारमा निर्धारण गरिन्छ। यस जाँचअनुसार दौंतरी लेखोटहरूको तुलनामा बाइबलको नयाँ नियम सबभन्दा सकली लेखोट ठहर्दछ। हालसम्म नयाँ नियमका २०,००० हस्तलिखित प्रतिलिपिहरू अस्तित्वमा रहेका छन् भने पाण्डुलिपि संख्यामा नयाँ नियमपछि दोस्रो स्थान ओगट्ने होमरको इलियदको मात्र ६४३ प्रतिलिपिहरू छन्। अझ, नयाँ नियम पाण्डुलिपिहरूमध्ये सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचना गरिएको समयको अत्यन्तै नजिकका छन्। साथै पाण्डुलिपिहरूबीच मात्र २% भिन्नता रहेको पाइन्छ जुनचाहिँ अधिकांशरूपमा हिज्जे र बिराम चिन्ह (punctuation) जस्ता सामान्य कुरामा सीमित छन्! पाण्डुलिपिहरूबीचको कुनै पनि अन्तरले इसाई विश्वासको एउटै पनि आधारभूत बुँदालाई फेरफार गर्दैन। यसैकारण ब्रिटिश म्युजियम (सङ्ग्रहालय) का भूतपूर्व निर्देशक तथा नयाँ नियम लेखोटका विद्वान, सर फ्रेडरिक जी केन्यनले यसरी भनेका छन्:

मौलिक रचना र त्यसको सबभन्दा पुरानो प्रमाणका मितिहरूबीचको समयावधि यति सानो छ कि त्यो वास्तवमै नगण्य छ जसको कारण पवित्र शास्त्र हामीकहाँ दुरुस्तै आइपुगेको छ भन्ने तथ्यमाथि उठ्न सक्ने शंकाको रहलपहल अंश समेत अब हटिसकेको छ। नयाँ नियमका पुस्तकहरूको सप्रमाणता र साँचोपना (integrity) दुवै अपरिवर्तनीयरूपमा स्थापित भएको मान्न सकिन्छ।(३)

तसर्थ, सप्रमाणताको जाँचले बाइबलको नयाँ नियमलाई प्राचीन उत्कृष्ट साहित्यमा सबभन्दा विश्वसनीय लेखोटको रूपमा रहेको प्रमाण दिन्छ! तर अन्य प्रतिष्ठित साहित्यको पाण्डुलिपिहरूलाई हेर्दा उल्लेखनीय अन्तर पाउँदछौं। उदाहरणको लागि, ट्यासीटसको एनल्स (Tacitus’s Annals) को सबभन्दा पुरानो प्रतिलिप त्यसको मौलिक रचनाभन्दा १,००० वर्ष पछिको छ अनि जम्मा प्रतिलिपिहरू संख्यामा आज २० ओटा मात्र छन्। त्यस्तै गरी सुटोनीयसको द ट्वेल्भ सिजर्स (Suetonius’s The Twelve Ceasars) को सबभन्दा पुरानो प्रतिलिपि त्यसको मौलिक रचनाभन्दा ८०० वर्ष पछिको छ अनि प्रतिलिपिहरू संख्यामा जम्मा ८ ओटा मात्र छन्। तुलनामा नयाँ नियमका सबभन्दा पुराना प्रतिलिपिहरू मौलिक रचनाको ५० वर्षभित्रै लेखिए अनि पाण्डुलिपिहरूको जम्मा संख्या आज झण्डै २४,००० पुगिसकेको छ।

मृत-सागरका चर्मपत्रहरू

१९४७ मा आफ्नो हराएको बाख्रा खोज्दै गरेको एउटा गोठाला ठिटोले पाण्डुलिपि इतिहासमै एक उच्चतम महत्त्वको आविष्कार गरे। मृत-सागरको उत्तर-पश्चिमी तटतिर फर्केको चुनढुङ्गाको गुफाहरूमा उनले ९०० भन्दा बढी हस्तलेखहरू भेट्टाए जसमा बाइबलीय र गैर-बाइबलीय गरी ३५० ओटा बेग्लाबेग्लै कृतिहरू पाइए। एउटै गुफामा मात्र ५२० ओटा गुरुकापीहरू भेटिए जो ई पू तेस्रो शताब्दीसम्म पुराना थिए। ती चर्मपत्रका मुठाहरूमा पुरानो नियमका पुस्तकहरूमध्ये एस्तरको बाहेक सबै पुस्तकहरूका प्रतिलिपिहरू भेटिए। १९४७ मा यी चर्मपत्रहरू प्रकाशमा नआएसम्म पूर्ण पुरानो नियमको सबभन्दा पुरानो पाण्डुलिपि ई सं ९०० वरिपरिको मात्र थियो। कुमरानको गुफा #१ मा भेटिएको ई पू १२५ मितिको भनी ठहरिएको एउटा मृत-सागर चर्मपत्रको मुठामा यशैयाको पूरै अगमवाणी रहेको पाइयो। उक्त मुठा त्यसबेलासम्म उपलब्ध कुनै पनि पाण्डुलिपि (म्यासोरेटिक टेक्स्ट) भन्दा १,००० वर्ष अघि लेखिएको थियो। गजबको कुरा के भने, अघिल्लो र पछिल्लो लेखोटहरूलाई परस्पर तुलना गर्दा ९५% दुरुस्तै भेटिए। बाँकी ५% अन्तर केवल हिज्जे, व्याकरण र चिन्ह [punctuation] को तलमाथिमा सीमित रहेको पाइयो। मृत-सागर चर्मपत्रहरूको आविष्कारले प्रतिलिपिहरूको शुद्धताको निम्ति पुरानो नियम पवित्र शास्त्रका यहूदी लेखनदासहरूको असाधारण समर्पणता प्रकट गर्दछ। यी प्राचीन लेखोटहरू हाम्रा वर्तमान बाइबलसित यति विधि मिलेको देख्दा आलोचक तथा अविश्वासीहरू स्तब्ध भए। यसरी नयाँ नियम पाण्डुलिपिहरूको नयाँ अनुसन्धान (textual research) लगायत मृत-सागर चर्मपत्रहरूले सबै मुनासीब शंकालाई पन्छाएको छ र बाइबलको अपूर्व शुद्धतालाई प्रमाणित गरेको छ।

भविष्यवाणीको प्रमाण

बाइबलका भविष्यवाणीहरू यस पुस्तकको ईश्वरीय-उद्‍भवको सर्वोत्कृष्ट हृदयग्राही प्रमाणहरूमध्ये एउटा हो। बाइबलका करिब ३,८५६ पदहरू प्रत्यक्ष वा अप्रत्यक्षरूपमा भविष्यवाणीसित सम्बन्धित छन् — प्रत्येक ६ ओटामा एउटा पदले भावी घटनाहरू बताउँदछ। दुवै पुरानो र नयाँ नियमले भावी विश्व घटनाहरूको ईश्वरीय प्रकाश प्रस्तुत गर्दछन्। टायरको विनाश, यरुशलेमको आक्रमण, बेबिलोन र रोमको पतन — प्रत्येक नै बाइबलमा किटानसाथ भविष्यवाणी गरिएका थिए र तिनमा उल्लेखित सानो भन्दा सानो बुँदा समेत हुबहु पूरा भए। यस तथ्यलाई लिएर तुलनात्मक अध्ययन गर्दा विश्वका अन्य धर्महरूको दाँजोमा बाइबलको अलग्गै स्थान देखिन्छ। बुद्ध धर्म, हिन्दु धर्म, इस्लाम धर्म र कन्फ्युसियस धर्म प्रत्येकको आफ्नै धर्मग्रन्थ छ, तर उल्लेखनीय कुरा के भने ती शास्त्रहरूमा भविष्यवाणी पाइँदैन। मानौं परमेश्वरले यही सत्यतालाई आधार बनाएर आफूलाई संसारका “ईश्वर” भनाउँदाहरूदेखि पृथक राख्‍नुहुन्छ। संसारलाई परमेश्वरको चुनौती यस प्रकार छ — “मजस्तै को छ र? त्यसले घोषणा गरोस्। त्यसले बताओस् र मेरो अगि राखोस्… जे हुन आउँछ त्यसले हामीलाई अघिबाटै बताओस्… तर मैले भन्ने कुरा म, परमप्रभु आफैले नै भन्नेछु, र त्यो ढीलो नभई पूरा हुनेछ। मैले भनेको कुरा म पूरा गर्नेछु” (यशैया ४४:७, इजकिएल १२:२५, २४:१४; यर्मिया २८:९)। तुलनामा जुनसुकै भाषाको एउटै पनि मानवीय कृति बाइबलको बनोट र संरचनाको अलिकति पनि नजिक आउन सक्दैन। यथार्थ यही हो — केवल एक सर्वज्ञानी विचारकर्ताले मात्र यस पुस्तकहरूको पनि पुस्तकको रचना गर्न सम्भव थियो।

निष्कर्ष

बाइबल परमेश्वरबाटै दिइएको हो भन्ने कुराको समर्थन गर्ने प्रमाणहरूको सँगालो वृहत् र विश्वसनीय छ। पवित्र शास्त्रको ऐतिहासिक, वैज्ञानिक र नैतिक प्रमाण एक अल्गो र अटल गढी जस्तै खडा छ। तथापि उदारवादी आलोचक र अविश्वासीहरूले यसमाथि हमला नगरेका होइनन्, यसलाई चुनौतीहरू नदिएका होइनन् तरैपनि पवित्र शास्त्रको सत्यतालाई कमजोर तुल्याउन तीमध्ये एउटै प्रयास पनि सफल भएको छैन। बाइबल एक विश्वव्यापी सन्देश बोकेको पुस्तक हो जुन सन्देश सबै मानिसका लागि हो। यो एउटै मात्र पुस्तक हो जसमा दुवै बालक र विद्वानले उत्तिकै आनन्द लिन सक्दछ। यसको सरल, जीवन परिवर्तन गर्ने शक्तिले राष्ट्रिय सीमानाहरू, सांस्कृतिक पर्खालहरू र भाषीय भिन्नताहरूलाई पार गरेर करोडौंलाई शान्ति, आनन्द र क्षमा ल्याउँदछ। बाइबलले मात्र खराब मान्छेलाई सज्जन बनाउँदछ र विद्रोहीलाई पवित्र जन बनाउँदछ। बाइबलको सबभन्दा ठूलो प्रमाणचाहिँ यसले तपाईंमा ल्याउन सक्ने जीवनको परिवर्तन हो।

उद्धृत रचनाहरू

(१) डा नेल्सलन ग्लुएक, रिभर्स इन द डेजर्ट, (न्यू योर्क, न्यू योर्क: ग्रोभ, १९६०), पृष्ठ ३१

(२) डा जन म्याकरे, आर्किअलजि एण्ड द न्यू टेस्टामेन्ट, (ग्र्याण्ड र्‍यापिड्स्, मिशिगन: बेकर, १९९१), पृष्ठ १५५

(३) फ्रेडरिक जे केन्यन, द स्टोरि अफ द बाइबल, (ग्र्याण्ड र्‍यापिड्स्, मिशिगन: अर्डम्यान्स्, १९६७), पृष्ठ १३३

बाइबल कसरी अध्ययन गर्ने

बाइबल कसरी अध्ययन गर्ने

 

बाइबल कसरी अध्ययन गर्ने?

(Robert F. Ramey, Joy of Discovery in Bible Study)

धेरैजसो मानिसहरू बाइबल विरलै पढ्छन् — समस्यामा पर्दा होला वा मण्डली सभामा बस्दा। उनीहरू आफ्नो बाइबलीय ज्ञान अर्काबाट प्राप्‍त गर्न सन्तुष्ट छन्। अरूहरूचाहिँ बाइबल नियमित रूपमा पढ्छन् तर पवित्र शास्त्रका अनमोल रत्नहरू पत्ता लगाउने विधि जान्दैनन्। यहाँ वर्णन गरिएको अध्ययन विधिले परमेश्वरको सत्यतालाई सार्थक रूपमा जान्नलाई मदत मिल्नेछ। प्रयोग गरी हेर्नुहोस्! पढ्नुहोस्, २ तिमोथी २:१५।

खुड्किलो १ – अवलोकन गर्नुहोस्

चाबी पद:यूहन्ना ५:३९ “खोजी गर”

चाबी प्रश्‍न:
पवित्र शास्त्रले के बताउँछ?

उद्देश्य: सबै शब्द, सूक्ष्म विवरण र सजिलै छुट्न सक्ने विचार-भावना समेत पत्ता लगाउनु। कति पटक आफ्नै आँखाका अगाडिका कुरा देख्न सक्दैनौं हामी। हामी खोजतलाश गर्न जान्दैनौं। हामी हतार-हतार पढ्छौं। यसरी पदले प्रस्टै बताएको कुरा सजिलै छुट्न सक्छ।

अर्थ: “खोजी गर” को मतलब, प्रत्येक शब्द र वाक्यांशलाई हेर्नु, अवलोकन गर्नु, तलाश गर्नु, ध्यान लगाउनु, ख्याल गर्नु, विचार गर्नु।

विधि: दोहोर्याइ-तेहर्याइ पढ्नुहोस्। टिपोट गर्नुहोस्। प्रश्न गर्नुहोस्: को? के? कसले? कहिले? कहाँ? किन? कसरी? आफ्नै शब्दमा उतार्नुहोस्।

खुड्किलो २ – अर्थ बुझ्नुहोस्

चाबी पद: मत्ती २४:१५ “पढ्नेले बुझोस्”

चाबी प्रश्‍न:
पवित्र शास्त्रको माने के हो?

उद्देश्य: बाइबल लेखकले कुन अर्थमा लेखे र आफ्नो पाठकवर्गले के बुझेको उनी चाहन्थे सो कुराको व्याख्या गर्नु, अर्थ खोल्नु।

अर्थ: व्याख्या गर्नु, स्पष्ट पार्नु, अर्थ बताउनु, माने खोल्नु।

विधि: संस्कृति, भाषा र समयको दूरी को समस्या समाधान गर्नु। सो गर्न सक्न हामीलाई अनुवादहरू, शब्दकोषहरू, मानचित्र हरू आदिको मदत चाहिन्छ।

 

आफूले भन्नुभएको कुराको सम्बन्धमा परमेश्वर गम्भीर हुनुहुन्छ। समस्या के हो भने परमेश्वरको वचन पढ्न लाग्दा हामी प्रायः हाम्रा आफ्नै विचार र पूर्वधारणाहरू ल्याउँछौं र बाइबलको अर्थलाई हाम्रै पूर्वधारणामा मोड्छौं। यसैले त हो, मान्छेहरू बाइबललाई प्रयोग गरेर आफूले चाहेको जेसुकै कुरालाई प्रमाणित गर्न सक्छन्। तर उनीहरूले बाइबललाई प्रयोग गरेका होइनन्, बरु दुरुपयोग गरेका हुन् किनभने उनीहरूले परमेश्वरको पवित्र वचनमाथि उनीहरूका आफ्नै व्याख्याहरू जबरदस्ती लाद्ने काम गर्दछन्।

परमेश्वरले जे भन्नुभयो, त्यही भन्न दिनुको सट्टा हामी बाइबले जे भनेको चाहन्छौं वा हाम्रो विचार अनुसार बाइबलले के भन्नुपर्थ्यो भन्ने लाग्छ त्यहीअनुरूप अर्थ लगाउँछौं। यो आत्मगत तरिका हो र यसले साँचो बाइबल अध्ययनमा ह्रास ल्याउँछ; परमेश्वरले यसलाई मान्यता दिनुहुन्न। हामी परमेश्वरकहाँ नम्र हृदय लिएर आउनुपर्छ, हाम्रा सबै पूर्वधारणाहरूलाई पन्छाएर आउनुपर्छ र भन्नुपर्छ, “प्रभु तपाईंको मार्ग सिकाउनुहोस् मलाई। मलाई सिक्न सहायता गर्नुहोस्, उल्टो सिकेकोलाई सुल्टो सिक्न, सिकेको कुरालाई फेरि सिक्न सहायता गर्नुहोस्। मेरो विचारलाई सुधार्नुहोस्। आफ्नो कुराको पक्षमा होइन तर तपाईंले भन्नुभएको कुराको पक्षमा मेरो विचारलाई मोड्न सहायता गर्नुहोस्।”

परमेश्वरको पवित्र आत्माले हाम्रा समझका आँखाहरूलाई खोलिदिनुभएको होस् ताकि हामी परमेश्वरको सत्यता जान्न सकौं ताकि हामी परमेश्वरको सत्यतामा हिँड्न सकौं (२ यूहन्ना ४; ३ यूहन्ना ३-४)।

 

खुड्किलो ३ – अभ्यास गर्नुहोस्

चाबी पद: याकूब १:२२ “पालन गर्नेहरू होओ”

चाबी प्रश्‍न:
मेरो निम्ति पवित्र शास्त्रको माने के हो?

उद्देश्य: आत्मिक पाठहरू सिक्नु, अनुग्रहमा बढ्नु र फलस्वरूप जीवन बदलिनु। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुराले आफ्नो जीवन परिवर्तित हुनु।

अर्थ: गर्नु, काममा ल्याउनु, पालन गर्नु, विश्वास गर्नु, प्रयोगमा ल्याउनु, व्यावहारिक बनाउनु आदि।

विधि: यी प्रश्नहरूको जवाफ दिनुहोस्: कुनै प्रतिज्ञा छ जुन म विश्वास गरूँ? कुनै नमुना छ, म देखासिकी गरूँ? कुनै पाप जसबाट म अलग रहूँ? कुनै कर्तब्य, म पालन गरूँ? कुनै प्रार्थना जुन म पनि गरूँ? आदि।

 

“बाइबल शिक्षा, केवल सिकाउनकै लागि सिकाइनु जस्तो नीरस र अर्थहीन काम अरू छैन होला। सत्यता, जब जीवनसम्मत हुँदैन, बाइबलीय अर्थमा त्यो सत्यता नै होइन, त्यो अर्कै कुरा हो, सत्यता भन्दा निम्न कुरा हो। बाइबलचाहिँ परमेश्वर, मानिस र सृष्टिको बारेमा मानिसलाई थाह नभएका कुराहरूको तथ्यहरूको सँगालो मात्र होइन। यो त ती तथ्यहरूमा आधारित अर्तीको पुस्तक हो। बाइबलको अधिकांश भागले मानिसलाई आफ्नो चाल बदलेर आफ्नो जीवनलाई त्यसका पन्नाहरूमा प्रकाशित परमेश्वरको इच्छाअनुरूप बनाउँदै लैजान मानिसलाई मनाउने जोडदार प्रयास गरेको पाइन्छ। पालना नगरिएसम्म ईश्वर-शास्त्र बिनाकामको हुन्छ। सबै शिक्षाको पछाडि एउटै उद्देश्य हुन्छ, त्यो हो नैतिक काम। नैतिक जिम्मेवारी-बोध बिनाको बाइबल प्रचारलाई कुनै विरोध आउँदैन। तर जब त्यो सत्यता श्रोताको हृदयको विरुद्धमा छ भनी जब उसलाई बोध गराइन्छ, तब युद्ध प्रारम्भ हुन्छ। ठीक-ठीक शिक्षालाई जीवनसित असम्बन्धित रूपमा प्रस्तुत गरुञ्जेल मानिसले बिनाआपत्ति मण्डली सभा आउने, सहायता गर्ने गर्दछ। प्रचलित इसाईवाद अधिकांशरूपमा वस्तुगत सत्यतालाई संगीतले मीठो बनाइएको र धार्मिक मनोरञ्जनले स्वादिलो बनाइएको अभ्यासभन्दा बढी छैन।”

— ए डब्लू टोजर

 

खुड्किलो ४ – तुलना गर्नुहोस्

चाबी पद: १ कोरिन्थी २:१३ “तुलना गर्दै”

चाबी प्रश्‍न:
पवित्र शास्त्रको अन्य खण्डहरूमा के उल्लेख छ?

उद्देश्य: आफूले अध्ययन गरिरहेको पवित्र शास्त्रको खण्डलाई बाँकी बाइबलसित मिलान गर्नु। बाइबलको प्रत्येक खण्डलाई पूर्ण बाइबलसितको सम्बन्धमा देखिनु आवश्यक छ। एउटा रूखलाई राम्ररी देखेपछि त्यसलाई सम्पूर्ण वनसितको त्यसको सम्बन्धमा देख्‍नुपर्छ। बाइबल एक सिङ्गो एककृत सँगालो हो र सबै भागहरू कसरी आपसमा जोडिएका छन् सो देख्न आवश्यक छ।

अर्थ: पवित्र शास्त्रका खण्डहरूको परस्पर सम्बन्धलाई जोड्नु, तिनलाई पूर्णतामा हेर्नु, सम्मिलन गर्नु।

विधि: आफूलाई प्रश्न गर्नुहोस्: मैले भर्खरै अध्ययन गरेको खण्डलाई बाइबलका कुनचाहिँ अन्य पदहरू, खण्डहरू वा अध्यायहरूसित मिलान गर्न सक्छु। मैले अध्ययन गरेको कुरालाई प्रकाश पार्ने वा समर्थन गर्ने अन्य समानन्तर खण्डहरू म भेट्टाउन सक्छु कि? यसमा, बाइबलको पन्नाहरूको प्रायः तलपट्टि पाइने सन्दर्भ पद (क्रस रेफरेन्स) हरू र क्रमशब्द पुस्तकहरूबाट मदत मिल्न सक्छ।

 

बाइबल यसरी पढ्नुहोस्

1. प्रार्थनासहित (भजनसंग्रह २५:४-५; ११९:१८)
2. नियमितरूपमा (मत्ती ४:४; अय्युब २३:१२)
3. विस्तारै (१ कोरिन्थी १४:१९)
4. ध्यानपूर्वक (यूहन्ना ५:३९)
5. क्रमिकरूपमा (१ कोरिन्थी १४:४०)
6. प्रश्नहरूसहित (माथि उल्लेखित)
7. प्रेमपूर्वक (भजनसंग्रह ११९:९७)
8. आदरपूर्वक (यशैया ६६:२)
9. विश्वाससहित (हिब्रू ४:२)
10. आज्ञाकारीपूर्वक (प्रकाश १:३; २२:७,१४; याकूब १:२२)।