मुक्ति पाउन मैले के गर्नुपर्छ?

मुक्ति पाउन मैले के गर्नुपर्छ?

बाइबलले बताएको मुक्ति

प्रिय मित्र, तपाईं र मेरो निम्ति अनन्त मुक्तिको प्रबन्ध गरिएको छ। सृष्टिकर्ता परमेश्वरले, प्रेम र अनुग्रहले अभिप्रेरित हुनुभएर, यो महान् मुक्तिको प्रबन्ध गर्नुभएको कुरा पवित्र शास्त्र बाइबलले बताएको छ। यो नै मुक्तिको एउटै मात्र उपाय भएको हुनाले यसलाई बेवास्ता गर्नु भनेको आफ्नो अनन्त नोक्सानी हुनु हो। मुक्ति पाउन तपाईंले पहिले सत्यको ज्ञानलाई ग्रहण गर्न आवश्यक छ।

पहिलो, हामीलाई यो जान्न खाँचो छ — परमेश्‍वर को हुनुहुन्छ? परमेश्‍वको वचन बाइबलमा यसरी लेखिएको छ,

सेनाहरूका परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ (यशैया ६:३)।

जिउँदो परमेश्‍वर पवित्र हुनुहुन्छ। उहाँ सृष्टिकर्ता हुनुभएको हुनाले सृष्टि गरिएका सबै थोकदेखि उहाँ अलग हुनुहुन्छ। साथै उहाँ सबै पापदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ। यसैकारण एकजना प्राचीन अगमवक्ताले यसरी घोषणा गरे,

तर तिमीहरूका अधर्महरुले तिमीहरूलाई तिमीहरुका परमेश्वेरबाट अलग पारेका छन्, अनि तिमीहरूका पापहरुले उहाँको मुख तिमीहरूदेखि लुकाइदिएका छन्, र उहाँले सुन्नुहुन्न। (यशैया ५९:२)।

साथै बाइबलले यो सिकाउँछ, मैले मुक्ति पाउन सकूँ र म सत्यको ज्ञानमा आउन सकूँ भनेर आफ्नो सिद्ध पवित्रतामा र अचूक कृपामा परमेश्‍वरले मेरो निम्ति सारा प्रबन्ध गर्नुभएको छ! परमेश्‍वरको पुत्र येशूले भन्नुभएको छ,

बाटो सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन (यूहन्ना १४:६)।

बाइबलको अर्को ठाउँमा लेखिएको छ,

सबै मानिसहरूले मुक्ति पाऊन्, र सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। किनभने परमेश्‍वर एउटै हुनुहुन्छ; अनि परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्त हुनुहुन्छ अर्थात् ख्रीष्ट येशू, ती मानिस – जसले सबैका लागि छुटकाराको दामको रूपमा आफैलाई दिहाल्नुभयो (१ तिमोथी २:४-६)।

दोस्रो, हामीलाई यो जान्न खाँचो छ – म को हुँ? बाइबलमा मानिसको बयान यस्तो पाउँदछौं,

मूर्खले मन-मनमा भनेको छ: “परमेश्वर छैन।” तिनीहरु भ्रष्ट भएका छन्, तिनीहरुले घिनलाग्दा कामहरु गरेका छन्; असल गर्न कोही छैन। बुझ्ने कोही छ कि? परमेश्वरलाई खोज्ने कोही छ कि? सो हेर्न परमप्रभुले स्वर्गबाट मानिसका सन्तानहरुलाई हेर्नुभयो। तिनीहरु सबै एकातिर लागेका छन्; तिनीहरु सबै एकसाथ फोहोरी भएका छन्; असल गर्ने कोही छैन; अहँ, एउटै पनि छैन। (भजनसंग्रग १४:१-३)। सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमारहित हुनगएका छन्। धर्मी कोही छैन, एउटै पनि छैन (रोमी ३:२३,१०)।

तसर्थ म एक बाटो बिराएको, हराएको पापी हुँ। त, म कसरी पापी बनें? बाइबलमा लेखिएको छ,

हेर्नुहोस्, म अधर्ममा उत्पन्न भएँ, र पापमा मेरो आमाले मलाई गर्भधारण गरिन् (भजनसंग्रह ५१:५)।

बाइबलले बताउँछ, मेरो हृदय दुष्ट छ…

हृदय ता सबै कुराहरुभन्दा बढी छली हुन्छ, र त्यो असाध्य दुष्ट हुन्छ; कसले त्यो जान्न सक्छ र? हरेक मानिसलाई त्यसका चालअनुसार र त्यसका कामहरुको फलअनुसार प्रतिफल दिनलाई नै म परमप्रभु हृदयको खोजतलास गर्दछु, म अन्तस्करणलाई जाँच्दछु (यर्मिया १७:९-१०)।

प्रभु येशू भन्नुहुन्छ, मेरो हृदय खराब छ…

मानिसबाट जे बाहिर निस्कँदछ, त्यसैले मानिसलाई अशुद्ध पार्दछ। किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमण्ड, मूर्खता निस्कँदछन्; यी सबै खराब कुराहरू भित्रबाट नै निस्कँदछन्, र मानिसलाई अशुद्ध पार्दछन् (मर्कूस ७:२०-२३)।

तसर्थ, म सारा संसारको न्यायकर्ता परमेश्‍वरका सामु दोषी छु र पवित्र परमेश्वरको क्रोध र दण्डको आज्ञामुनि छु…

हरेक मुख चुप रहोस् र सारा संसार परमेश्‍वरको सामु दोषी ठहरियोस् (रोमी ३:१९)। किनकि सत्यलाई अधर्ममा दबाइराख्‍ने मानिसहरूका सबै अभक्ति र अधर्मको विरोधमा स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भएको छ… किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन्, न धन्यवादी भए; तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए, तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो। बुद्धिमान् छौं भन्ने दाबी गर्दै तिनीहरू मूर्ख बने, र अविनाशी परमेश्वरको महिमालाई विनाश हुने मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। तिनीहरूले परमेश्वरको सत्यतालाई झूटसँग साटे, र सृष्टिकर्ताको सट्टामा, जो साँच्चै सदासर्वदा धन्य हुनुहुन्छ, तिनीहरूले सृष्टिको पूजा र सेवा गरे (रोमी १:१८, २१,२२,२३,२५)। यसकारण हे न्याय गर्ने मानिस, तिमी जोसुकै भए तापनि तिम्रो कुनै बहाना छैन; किनभने जुन कुरामा तिमी अरूको न्याय गर्दछौ, त्यही कुरामा तिमीले आफैलाई दोषी ठहराउँदछौ; किनकि तिमी न्याय गर्ने आफैले ती कुराहरू गर्दछौ (रोमी २:१)। जसले उहाँमाथि विश्वास गर्दछ, ऊ दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो पहिल्यै दोषी ठहरिसकेको हुन्छ; किनकि त्यसले परमेश्वरका एक मात्र जन्माइएको पुत्रको नाममा विश्वास गरेको छैन। जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्‍नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ (यूहन्ना ३:१८,३६)।

तेस्रो, हामीलाई यो जान्न खाँचो छ – मैले पाउनुपर्ने दण्ड के हो?

मेरो पापी र दुष्ट अवस्थाले मैले पाउनुपर्ने दण्ड मृत्यु-दण्ड हो।

जुन मानिसले पाप गर्छ, त्यही मर्नेछ (इजिकिएल १८:४)। यस्ता-यस्ता काम [पाप] गर्नेहरू मृत्युदण्ड पाउन लायकका हुन्छन् भन्ने परमेश्वरको न्याय जानी-जानीकन पनि तिनीहरू ती काम नै गर्छन्। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (रोमी १:३२,६:२३)।

यस मृत्यु-दण्डको तात्पर्य यो हो – परमेश्वरको उपस्थितिदेखि सदाकालका लागि बञ्चित हुनु र शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अग्निकुण्डमा परमेश्वरबाटको अनन्त दण्ड भोग्नु।

परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ; तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको सामर्थ्यको महिमाबाट अनन्त विनाशको दण्ड पाउनेछन् (१ थेस्सलोनिकी १:८,९)। त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्: ‘हे श्रापिहरूहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ। अनि तिनीहरू अनन्त दण्डमा जानेछन् (मत्ती २५:४१, ४६)। तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो (प्रकाश २१:८)।

चौथो, हामीलाई यो जान्न खाँचो छ – सुसमाचार के हो?

उहाँको अचम्मको प्रेम र कृपाले परमेश्वरले आफ्नो प्रिय पुत्रलाई यस संसारमा पठाउनुभयो:

किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन, तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो (यूहन्ना ३:१७)।

येशू ख्रीष्ट अद्‍भुत रूपमा एक कन्या स्त्रीद्वारा जन्मनुभई यस संसारमा आउनुहुने भविष्यवाणी यसरी दिइएको थियो,

“अनि उनले पुत्र जन्माउनेछन्, र तिमीले उहाँको नाम ‘येशू’ राख्‍नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नुहुनेछ।” अब भविष्यवक्ताद्वारा प्रभुले भन्नुभएको कुरा पूरा होओस् भनेर यो सब भएको थियो: ‘हेर, कन्या गर्भवती हुनेछन् र एउटा पुत्र जन्माउनेछन्, अनि तिनीहरूले उहाँको नाम “इम्मानुएल” राख्‍नेछन्’ जसको अर्थ हो, ‘परमेश्वर हामीसित’ (मत्ती १:२१-२३)। किनभने मानिसका पुत्र हराएकोलाई खोज्न र मुक्त गर्न आएका हुन् (लूका १९:१०)। यो विश्वासयोग्य र हर प्रकारले ग्रहणयोग्य वचन हो — ख्रीष्ट येशू पापीहरूलाई मुक्ति दिनालाई संसारमा आउनुभयो (१ तिमोथी १:१५)।

प्रभु येशू ख्रीष्ट, जो अनादिदेखिका परमेश्वर र सारा थोकका सृष्टिकर्ता हुनुहुन्छ, मेरोसट्टामा मेरो निम्ति क्रूसमा मर्नुभयो जुन मृत्युद्वारा उहाँले मैले भोग्नुपर्ने मृत्यु-दण्ड पूरै तिरिदिनुभयो।

किनकि हामी कमजोर हुँदाखेरि नै, ठीक समयमा ख्रीष्ट भक्तिहीनहरूका निम्ति मर्नुभयो। किनकि धर्मी मानिसका निम्ति मुस्किलले कोही मर्ला; असल मानिसका निम्ति सायद कसैले मर्ने आँट गर्ला कि! तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ – हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो (रोमी ५:६-८)। पवित्र-शास्त्रहरूमुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो (१ कोरिन्थी १५:३)। हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौ भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो; उहाँकै चोटहरूद्वारा तिमीहरू निको पारियौ (१ पत्रुस २:२४)। किनकि हामीलाई परमेश्वरकहाँ पुर्‍याउनलाई ख्रीष्टले पनि – धर्मीले अधर्मीहरूका निम्ति पापहरूका लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो (१ पत्रुस ३:१८)। अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनुहुन्छ; र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापहरूका निम्ति पनि (१ यूहन्ना २:२)। उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ; यसैबाट हामी परमेश्वरको प्रेम थाह पाउँछौं (१ यूहन्ना ३:१६)। प्रेम यसैमा छ – हामीले परमेश्वरलाई प्रेम गर्‍यौं भनेर होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्ना पुत्रलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनालाई पठाउनुभयो (१ यूहन्ना ४:१०)।

तर, खुशीको कुरा, येशू मरेको मरै रहनु भएन! उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभयो। यसबाट यो प्रमाणित हुन्छ, पुत्र-परमेश्वरको क्रूसको बलिदान पापीहरूको पापको मूल्य चुक्ता गर्न पर्‍याप्‍त छ भनी पिता-परमेश्वर सन्तुष्ट हुनुभयो।

ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो र गाडिनुभयो, अनि पवित्र-शास्त्रहरूमुताबिक उहाँ तेस्रो दिनमा बौराइनुभयो अनि उहाँ केफासकहाँ, त्यसपछि बाह्रजनाकहाँ देखा पर्नुभयो; त्यसपछि उहाँ एकैचोटि पाँच सयभन्दा बेसी भाइहरूकहाँ देखा पर्नुभयो जसमध्ये धेरैजसो अहिलेसम्म छँदै छन्, तर कतिचाहिँ सुतिसके। त्यसपछि उहाँ याकूबकहाँ देखा पर्नुभयो; त्यसपछि सबै प्रेरितहरूकहाँ अनि सबैभन्दा पछि मकहाँ (१ कोरिन्थी १५:३-८)। जुन प्रभु येशू हाम्रा अपराधहरूका निम्ति सुम्पिइनुभयो, र हाम्रा धार्मिकताका निम्ति बौराइनुभयो (रोमी ४:२५)।

साथै उहाँको बौरिउठाइले यो पनि प्रमाणित गर्दछ, उहाँ (येशू ख्रीष्ट) ले आफू जो हुँ भन्नुभएको थियो त्यो सत्य सावित भयो, जसरी लेखिएको छ,

पवित्रताको आत्माअनुसार उहाँ मरेकाहरूबाट बौरेर उठ्नुभएको कारणले सामर्थ्यसहित परमेश्वरका पुत्र ठहरिनुभयो (रोमी १:४)।

यही नै हो हामी पापीहरूका निम्ति खुशीको खबर, अर्थात् सुसमाचार!

मुक्ति पाउन मैले के गर्नुपर्छ?

माथिका खण्डहरू अध्ययन गर्नुभई, येशू ख्रीष्ट को हुनुहुन्छ र उहाँले तपाईंको लागि क्रूसमा गरिदिनुभयो भनेर तपाईंले जानिसक्नुभयो भने अब तपाईंको जिम्मेवारी यो हो – प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नु। निम्न बाइबल पदहरूलाई विचार गर्नुहोस्:

“मुक्ति पाउनालाई मैले के गर्नुपर्छ?” अनि उनीहरूले भने: “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ” (प्रेरित १६:३०-३१)। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस् (यूहन्ना ३:१६)। जसले उहाँमाथि विश्वास गर्दछ, ऊ दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो पहिल्यै दोषी ठहरिसकेको हुन्छ; किनकि त्यसले परमेश्वरका एक मात्र जन्माइएको पुत्रको नाममा विश्वास गरेको छैन (यूहन्ना ३:१८)। जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्‍नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ (यूहन्ना ३:३६)।

विश्वास गर्नुको मतलब उहाँकहाँ आउनु हो:

अनि येशूले तिनीहरूलाई भन्नुभयो: “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, ऊ कहिल्यै भोकाउनेछैन; अनि जसले ममाथि विश्वास गर्छ, ऊ कहिल्यै तिर्खाउनेछैन…अनि जो मकहाँ आउँछ, उसलाई म कुनै रीतिले अफाल्नेछैनँ” (यूहन्ना ६:३५,३७)।

विश्वास गर्नुको मतलब उहाँलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभुको रूपमा लिनु अथवा ग्रहण गर्नु हो:

जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन् (यूहन्ना १:१२)। पापको ज्याला मृत्यु हो तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (रोमी ६:२३)।

 

साँचो गरी विश्वास गर्नेले निम्न कुराहरू महसुस र विश्वास गरेकै हुन्छ

१) प्रभु येशू ख्रीष्ट नै एक मात्र मुक्तिदाता हुनुहुन्छ। उहाँबिना अरू कसैमा पनि मुक्ति छैन:

न ता अरू कसैमा मुक्ति छ; किनभने स्वर्गमनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ (प्रेरित ४:१२)। ढोका म नै हुँ; कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउनेछ (यूहन्ना १०:९)। बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन (यूहन्ना १०:९)।

(२) प्रभु येशू मेरो मुक्तिका निम्ति मर्नुभयो र बौरेर उठ्नुभयो:

यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्‍यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्‍यौ भने तिमीले मुक्ति पाउनेछौ (रोमी १०:९)।

(३) प्रभु येशू मलाई बचाउन सक्नुहुन्छ (हिब्रू ७:२५; यशैया ५९:१; मत्ती १९:२४-२६)।

(४) प्रभु येशू मलाई बचाउन चाहनुहुन्छ (यूहन्ना ६:३७; १ तिमोथी २:४)

(५) यदि मैले प्रभु येशूलाई, केवल उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा भरोसा गरें भने उहाँले मलाई अहिले नै बचाउनुहुनेछ (यूहन्ना ३:१६)।

साथै मैले यो पनि महसुस गर्नुपर्छ कि मुक्ति निम्न तरिकाले पाइन्न

  • असल कामले पाइन्न
  • आज्ञाहरू पालन गर्ने प्रयासले पाइन्न
  • पानीको बप्‍तिस्माले पाइन्न

किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ (एफेसी २:८-९)।

मुक्ति पूर्ण रूपमा परमेश्वरको अनुग्रह र कृपाले विश्वासद्वारा पाइने कुरा हो। विश्वास गर्नु भनेको आफ्नो पूरै भरोसा येशू ख्रीष्टमा राख्‍नु हो (उहाँ जो हुनुहुन्छ, उहाँले जे गरिदिनुभयो र उहाँले जे भन्नुभएको छ)। यो दिमागले स्वीकार गर्ने कुरा मात्र नभई हृदयदेखि गर्ने कुरा हो।

मैले मुक्ति पाएँ भनेर कसरी जान्ने?

परमेश्वरले झूट बोल्न नसक्ने भएको हुनाले (तीतस १:२) र येशू ख्रीष्ट सदा विश्वासयोग्य हुनुभएको हुनाले (हिब्रू १३:८), मुक्ति सम्बन्धी उहाँ प्रतिज्ञाहरूलाई म पक्कासाथ र खुशीसाथ दाबी गर्दछु र तिनमा भरोसा गर्दछु: मत्ती ११:२८; यूहन्ना १:१२; ३:१६;३:१८; ३:३६; ५:२४; ६:३५; ६:३७; ६:४७; १०:९; ११:२५; प्रेरित १०:४३; १६:३१; रोमी १०:९; १०:१३; १ यूहन्ना ५:११-१२।

मैले मुक्ति पाइसकें! अब मैले के गर्नुपर्छ?

ख्रीष्टमा म विश्वासी भएको हुनाले मेरो प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जानु मेरो जिम्मेवारी हो (२ पत्रुस ३:१८)। एउटा स्वस्थ र बढ्ने विश्वासी हुनलाई मैले –

  1. पानीको बप्‍तिस्मा लिनुपर्छ किनकि यो ख्रीष्टको आज्ञा हो (मत्ती २८:१९-२०; प्रेरित १०:४८; २:३८)। बप्‍तिस्मा, ख्रीष्टमा मैले पाएको नयाँ जीवनको सार्वजनिक गवाही हो (२ कोरिन्थी ५:१४-१७; रोमी ६:३-११; गलाती २:२०)। (यस बारेमा राम्ररी बुझ्न, पढ्नुहोस्: बप्‍तिस्माको अर्थ)
  2. दिनहुँ मेरो बाइबल पढ्दै परमेश्वरको वचनरूपी आत्मिक भोजन खानुपर्छ (१ पत्रुस २:२; मत्ती ४:४; भजनसंग्रह ११९:९७)।
  3. दिनहुँ परमेश्वरसित प्रार्थनामा समय बिताउनुपर्छ (हिब्रू ४:१६; १ थेस्सलोनिकी ५:१७; लूका १८:१)।
  4. नियमित रूपमा बाइबल विश्वास गर्ने र बाइबल सिकाउने मण्डली (चर्च) सित सहभागी हुनुपर्छ (प्रेरित २:४२; हिब्रू १‍०:२५)।
  5. दिनहुँ परमेश्वरसित आफ्ना पापहरू स्वीकार गर्नुपर्छ। मेरा विचार, काम, जीवनमा जुन कुरा उहाँको पवित्रतासित मेल खाँदैन, ती कुराहरूको बारेमा म परमेश्वरसित सहमत हुनुपर्छ अर्थात् आफूले गरेको उक्त काम उहाँको दृष्टिमा पापपूर्ण छ भनेर स्वीकार गर्नुपर्छ (१ यूहन्ना १:८‍-२:२ विशेष गरी १ यूहन्ना १:९; भजनसंग्रह ५१:३-६; भजनसंग्रह ३२:२-६; हितोपदेश २८:१३)।
  6. अरूहरूका सामु ख्रीष्टलाई स्वीकार गर्नुपर्छ (भजनसंग्रह १०७:२; मत्ती १०:३२; रोमी १०:९-१०)। उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गर्न खुशी हुनुहोस्।
  7. मौखिक रूपमा र व्यावहारिक रूपमा एउटा असल गवाही हुनुपर्छ (प्रेरित १:८; यशैया ४३:१०-१२)। दुवै जीवन शैलीको गवाही र मुखको गवाहीद्वारा मैले अरूहरूलाई ख्रीष्टप्रति आकर्षित गर्नुपर्छ (फिलिप्पी २:१५-१६; कलस्सी ३:१७; १ पत्रुस ३:१५; कलस्सी ४:५-६)।

भूकम्पमा पनि आशा

भूकम्पमा पनि आशा

 

प्रदेश श्रेष्ठ

२०७२ साल बैशाख १२ गतेको भूकम्प र त्यसपछिका हजारौं परकम्पहरूले फैलाएको डर, त्रास, अनिश्चयता र निराशाको घडीमा हामी तपाईंसित यो जिउँदो आशाको सन्देश बाँड्न इच्छुक छौं। अहिले अँध्यारोमा रुमलिएको तपाईंको जीवन तपाईंले सोच्दै नसोचेको अचम्मको उज्यालोमा एक्कासी परिणत हुन सक्दछ। कैयौंको जीवन एक वा अर्को किसिमको कम्पनले यसरी बदलिएको पनि छ।

एउटा कुरा निश्चित छ: गत दिनका भूकम्पहरूमा तपाईंको ज्यान गएको भए, यो पृष्ठ तपाईंले आज पढ्नुहुने थिएन। के तपाईंको मनमा एउटा गम्भीर प्रश्न उठ्दैन र — “भूकम्पमा मर्ने ती ८,९६४ का साथसाथै म पनि मरेको भए म आज कहाँ हुन्थे होला?” यो एकदम जायज प्रश्न हो। माटोको शरीर माटैमा मिल्छ तर एउटा मान्छेको अनमोल, अमर आत्मा एक न एक ठाउँमा जान्छ — कि स्वर्गमा कि नरकमा। गु-डु-डु-डु गरी भूकम्प जाँदा आफ्‍नो ज्यान बचाउन तपाईं कुनै सुरक्षित स्थानतिर भाग्नुभयो। गरिब र करोडपति चौरमै बास बसे। सम्पत्तिभन्दा ज्यान ठूलो हो, प्रायः सबैको मुखबाट यही कुरा सुनिन्छ। आज सृष्टिकर्ता परमेश्वरको सन्देश सुनी आफ्‍नो ज्यानभन्दा पनि अनमोल आत्माको अनन्त सुरक्षाको लागि मुक्तिदाता येशू ख्रीष्टकहाँ भागी आउनुस्! किनभने येशूले भन्नुभयो, “मानिसले सारा संसार प्राप्त गरे तापनि आफ्‍नो आत्माचाहिँ गुमायो भनेत्यसलाई के फाइदा हुनेछ र?”१

पश्चात्ताप गर्नेलाई आशा!

काठमाडौंको धरहरा घर्ल्याम घुर्लुम्म ढलेर सयौंलाई पुर्‍यो। यस्तै घटनाको बारेमा येशूले भन्नुभयो, “ती अठारजना, जसमाथि सिलोआमको धरहरा खस्यो, र तिनीहरूलाई मार्‍यो; के तिनीहरूचाहिँ यरूशलेममा बस्ने सबै मानिसहरूभन्दा बढ्ता पापी रहेछन् भनी तिमीहरू ठान्छौ? म तिमीहरूलाई भन्दछु, होइन; तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ”।२ येशूको यस भनाइबाट हामी निम्न कुराहरू सिक्छौं —

  • भूकम्पमा मर्नेहरूभन्दा हामी धर्मी छैनौं। “धर्मी कोही छैन, एउटै पनि छैन…किनकि सबैले पाप गरेका छन्”।३
  • यसकारण हामी पनि नाश हुन योग्य छौं, शरीरमा मात्र नभई तर नरकमा समेत “किनकि पापको ज्याला मृत्यु हो”।४
  • तर, खुशीको कुरा, पापबाट पश्चात्ताप गर्नेहरूलाई आशा छ। पश्चात्ताप गर्नेहरू नरकमा जानेछैनन् तर स्वर्गमा जानेछन्। पश्चात्ताप नगरी मर्नेहरू दण्डमा पर्नेछन् किनकि “मानिसको निम्ति एक पटक मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।”५

“पश्चात्ताप कसरी गर्ने?”

विनाश हुने मानिस, चराचुरुङ्गीहरू, चारखुट्टे जनावरहरू र घस्रिने जन्तुहरू वा सृष्टिका अन्य कुनै थोक लगायत तिनका मूर्तिहरूलाई पूज्न छोड्नुहोस्। आफ्‍ना पापहरूको क्षमा पाउन मुक्तिदाता येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। पाप भनेका यिनै हुन् — परस्त्रीगमन, व्यभिचार, विरोध, कामुकता, मूर्तिपूजा, टुनामुना, शत्रुता, झगडा, डाहा, क्रोध, विरोध, फूट, दलबन्दी, द्वेष, हत्या, मतवालापन, मोजमज्जा र यही प्रकारका कुराहरू जसले गर्दा तपाईं र हामी सबै दोषी छौं।६ यी सबै घिनलाग्दा र झूटा मार्गदेखि अविनाशी परमेश्वरतर्फ आफ्‍नो मन फनक्क फर्काउनुहोस्। येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई पापको क्षमा र अनन्त जीवन छ।

“तर ख्रीष्टमा विश्वास गर्नेहरू पनि मरे नि!”

हो, आखिरमा शरीर त सबैको मर्छ, चाहे भूकम्पले होस् वा अन्य कारणले। तर ख्रीष्टमा विश्वास गर्नेको आत्मा स्वर्गमा जान्छ। शास्त्रले भन्दछ, “जसले पुत्रमाथि विश्वास गर्दछ,ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ”।७

“तर कतिले यसलाई विदेशी धर्म भन्छन् नि?”

प्रिय मित्र, एकछिन गम्भीर भएर सोच्नुहोस् त। सारा सृष्टिका मालिक एक मात्र सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँलाई स्वदेशी वा विदेशी कसरी भन्ने? के सत्य पनि स्वदेशी-विदेशी हुन्छ र? भूकम्पले स्वदेशी-विदेशी छुट्ट्याएन। अनि विदेशबाट डाक्टरहरू समेत आए, उपचार शिविर खडा गरे, धेरैको ज्यान बचाए। उक्त सहयोगलाई विदेशी भनेर अस्वीकार गरिएन। तर हामीलाई पापबाट बचाउन स्वर्गदेखि अलौकिक देहधारण भई संसारकै मध्य भाग इस्राएल देशमा एउटी कन्याको कोखबाट जन्मी आउनुभएका स्वर्गकै प्रभु येशूलाई किन हामी विदेशी भनेर अस्वीकार गर्छौं? यस्तो विचार कहाँबाट आउँछ? यो कुनै अहमबाट त होइन? पापबाट पश्चात्ताप नगर्नलाई यो बाहना त होइन? यथार्थ के हो आफ्‍नै विवेकले केलाउनुहोस् र यो कुरा कसैले आफ्‍नै स्वार्थपूर्तिका निम्ति फैलाएको भ्रम हुनुपर्छ भनेर बुझ्नुहोस्।

आखिरमा स्वदेशी-विदेशी सबै पापी छन्। सबै मर्छन्। सबैलाई पापको क्षमा चाहिएको छ। सबैलाई शान्ति र मुक्ति चाहिएको छ। येशूले भन्नुभएको छ, “म संसारको ज्योति हुँ; जसले मलाई पछ्याउँछ ऊ अन्धकारमा हिँड्नेछैन तर उसले जीवनको ज्योति पाउनेछ”।८ घाम एउटै छ; त्यसले सारा विश्वलाई उज्यालो दिन्छ, चाहे नेपाल, चाहे अमेरिका। संसारका सृष्टिकर्ता र मुक्तिदाता पनि एउटै हुनुहुन्छ। उहाँले विश्वास गर्ने हरेकलाईउज्यालो पार्नुहुन्छ, चाहे गोरा, चाहे काला।

“भूकम्प किन जान्छ?”

पृथ्वी नागको टाउकोमाथि अथवा माछा, हात्ती वा कछुवाको ढाडमाथि अडेको हुँदा त्यो चलेर भूकम्प जाने होइन! पृथ्वीलाई सृष्टिकर्ता परमेश्वरले शून्यमा झुन्ड्याउनुभएको छ — यो तथ्य करिब ४००० वर्ष अघिका अय्यूब नाम गरेका एकजना व्यक्तिले उल्लेख गरेको कुरा बाइबलमा यसरी लेखिएको छ — “उहाँले पृथ्वीलाई चाहिँ शून्यमा झुन्ड्याउनुहुन्छ”।९

पृथ्वीको माथिल्लो भूपत्र मुन्तिर रहेका दर्जनौं “टेक्टोनिक प्लेटहरू” माथि अवस्थित छ। यी प्लेटहरू विस्तारै चलिरहेका छन्। भारतको प्लेट उत्तरपट्टि रहेको यूरेसियाली प्लटेसित जुधेर त्यसको मुन्तिर घुस्दै गर्दा उत्पन्न भएको तनावबाट दुईटा परिणाम देख्न सकिन्छ — एकातिर यी प्लेटहरू जुध्ने स्थानमा हिमालय पर्वत श्रृङ्खला निचोरिएर विस्तारै माथि उठ्दै गएको छ भने अर्कोतिर प्लेटहरूको सतहमुनि यस जुधाइले उत्पन्न भएको तनावको सीमा नाघेपछि कालान्तरमा भूकम्प जाने गरेको छ।

अझ, वर्तमान युगलाई चिनाउने विशिष्ट लक्षणहरू के कस्ता हुनेछन् तिनको भविष्यवाणी गर्दै येशूले भन्नुभएको थियो, “हेर, तिमीहरू नआत्तिओ, किनकि यी सबै कुराहरू हुनैपर्छ, तर अन्त अझै हुनेछैन। किनभने जाति, जातिको विरोधमा उठ्नेछ; र राज्य, राज्यको विरोधमा; अनि ठाउँ-ठाउँमा अनिकाल, महामारी र भुइँचालाहरू हुनेछन्” (मत्ती २४:६-७)। बाइबल यति प्राचीन पुस्तक हो र पनि यो कुनै वैज्ञानिक तथ्य वा वास्तविकतासित बाझ्दैन। बाइबल सृष्टिकर्ता परमेश्वरकै प्रेरणाद्वारा दिइएको हो भन्ने यो एउटा अकाट्य प्रमाण हो।

“परमेश्वरले भूकम्प जस्ता विनाशकारी घटनाहरू किन आइपर्न दिनुहुन्छ?”

हाम्रा एक कविका शब्दमा, “ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्?” मानौं सृष्टिकर्ताकै दोष! भूकम्पबाट नेपालमाथि अन्याय भएको छ भन्ने कतिले गुनासो गरेका छन्। के एउटा माटाको भाँडाले त्यसलाई बनाउने कुम्हालेसित झगडा गर्छ र? प्रिय पाठक, सृष्टिकर्ताको कुनै दोष छैन। उहाँले संसारलाई सिद्ध रूपमा सृष्टि गर्नुभएको थियो। तर सृष्टि गरिएका प्रथम जोडी आदम र हव्वाले परमेश्वरको विरुद्धमा पाप गरेपछि उहाँले मानिसलाई भन्नुभयो, “भूमि तिम्रो कारणले श्रापित भएको छ; कष्टसँग तिमीले आफ्‍नो सारा जीवनभरि यसबाटको फल खानेछौ…तिमी माटो हौ, र तिमी माटैमा फर्किजानेछौ”।१० त्यस दिन संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो र त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो। मानिसकै पापको प्रतिफलस्वरूप सारा सृष्टि पीडाग्रस्त छ, आज मात्र होइन तर मानिसद्वारा संसारमा पाप पसेको दिनदेखि — “सृष्टि व्यर्थताको अधीनमा राखिएको छ…अहिलेसम्म पनि सारा सृष्टि [नेपाल मात्र होइन] एकसाथ ऐया-आत्था गरिरहेको छ र प्रसूति-वेदनामा तड्पिरहेको छ”।११ एक दिन यी अन्त हुनेछन् र सृष्टि एउटा नयाँ युगमा प्रवेश गर्नेछ जब परमेश्वरको राज्य आउनेछ जहाँ धार्मिकताले वास गर्नेछ। तर पहिला मानिसले आफ्‍नो सृष्टिकर्तासित मिलाप गर्नुपर्छ। मानिसको होस खोल्नलाई पनि परमेश्वरले उसलाई कुनै न कुनै तवरले हल्लाउनुहुन्छ ताकि उसले पश्चात्ताप गरोस्।

पीडितलाई राहत

तिर्पाल, खाद्यान्न, औषधि आदि लादेर कैयौं गाडीहरू कुदिरहेका छन्। पीडितलाई राहत समयमै पुग्‍नुपर्छ। अर्कोतिर, भूकम्पबाट मानसिकरूपमा पीडितलाई राहत कसरी पुर्‍याउन सकिएला, धेरैलाई प्रश्न छ। प्रश्न उनीहरूलाई गर्नुस् जसका जीवन अरू-अरू भयङ्कर कम्पनहरूले हल्लाइएर एक समय क्षत विक्षत पारिएका थिए तरैपनि अहिले उनीहरूसित महाभूकम्पले पनि हल्लाउन नसक्ने शान्ति र आशा छ।

जस्तै नवलपरासीका राम प्रसाद अर्जेल, हिजोसम्म ड्रग्स र डिप्रेशनका शिकार बनी सबैको दृष्टिमा घृणित युवा बनेका थिए। तर ख्रीष्टलाई आफ्‍नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गरेपछि यस नवजवान युवाको अन्धकारमय जीवन उज्यालोमा परिणत भएको छ। यसको रहस्य? यसको रहस्य कुनै “धर्म” होइन तर येशू ख्रीष्टसितको एउटा व्यक्तिगत सम्बन्ध हो। येशूले भन्नुभयो, “हे सबै परिश्रम गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु”।१२ आत्मिक र अनन्तसम्म दिगो राहत केवल येशूमा छ।

“के हो त आशाको सन्देश?”

निश्चय पनि यी दिनहरूमा तपाईं गम्भीर भएर सोच्न बाध्य बन्नुभएको छ। वाफसरि यो जीवन लिएर घमन्ड गर्नु व्यर्थ रहेछ भन्ने लाग्‍न थालेको छ। क्षणभङ्गुर मानिसले आफ्‍नो पैसा वा प्रतिष्ठा, आफ्‍नो बल वा बुद्धि, आफ्‍नो सुन्दरता वा सीपमा घमन्ड गर्नु मूर्खता रहेछ भनेर अब मान्नुभएको छ सायद। अब हामी यी नाशवान् कुराको पछि दगुर्न छोडेर सत्य र जीवित परमेश्वरको खोजी नगरौं? आशाको सन्देश यहाँ छ:

“परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्‍नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो; उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्”।१३

यसको माने —

  • मेरो पापको कारण म नष्ट हुँदैछु
  • तर मप्रति परमेश्वरको ठूलो प्रेम छ
  • मलाई उद्धार गर्न परमेश्वरको पुत्र (येशू) संसारमा आउनुभयो
  • उहाँ मेरा पापहरूका निम्ति क्रूसमा टाँगिएर मर्नुभयो अनि तेस्रो दिनमा बौरनुभयो
  • येशूमाथि विश्वास (भरोसा) गर्न म आफैंले रोज्नुपर्छ; विश्वास गरें भने म नष्ट हुनेछैन बरु सित्तैंमा अनन्त जीवन पाउनेछु!
  • विश्वास गरिनँ भने म पछि नरकमा नष्ट हुनेछु।

“के परमेश्वरले म पापीलाई पनि प्रेम गर्नुहुन्छ र?”

धादिङमा एउटी बज्यैले आफ्‍‍नी दूधे नातीनीलाई जोगाउने उद्देश्यले आफू घोप्टो परी बच्चालाई आफ्‍नो जीउले छेक्दा, आफै सख्त घाइते भइन्। उता नुवाकोटमा एसएलसी भर्खरै दिएकी सजना श्रेष्ठले गुफा राखिएकी आफ्‍‍नी बहिनीलाई निकाल्न आफ्‍नै ज्यानको बाजी राखेर घरभित्र पस्दा घर ढलेर तत्कालै उनको मृत्यु भयो। आफ्‍नो प्रियको उद्धार गर्न आफूलाई बिर्सनेहरूको स्वभाविक मायाको यस्ता थुप्रै घटना हामीले सुन्दैछौं। साथै कर्तव्यनिष्ठ भई आफ्‍नो ज्यानको माया नराखी पुरिएकाहरूको उद्धार गर्न पछि नहट्ने वीरहरूको तारिफ गरिनुपर्छ। उद्धार गर्न खटेका कति सुरक्षाकर्मीहरूले आफ्‍नै ज्यान गुमाए। येशूले भन्नुभयो, आफ्‍नो मित्रको निम्ति आफ्‍नो ज्यान दिनुभन्दा ठूलो प्रेम अर्को छैन।

तर विचार गर्नुपर्ने कुरा अब यहाँ छ। हामी परमेश्वरका मित्र थिएनौं। हाम्रा दुष्ट कामहरूले गर्दा हामी परमेश्वरबाट पराई भएका थियौं र आफ्‍नो मनमा उहाँका शत्रु भएका थियौं! तर परमेश्वरले हामीतर्फ आफ्‍नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ — हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो!१४

अनि मृत्युले ख्रीष्टलाई जितेन। उहाँ तेस्रो दिनमा बौरेर उठ्नुभयो! यो ऐतिहासिक तथ्य हो। उहाँ जीवित हुनुहुन्छ। उहाँले मात्र मृत्युलाई जित्नुभएको छ। उहाँकहाँ आउनेलाई उहाँले अनन्त जीवन दिनुहुन्छ। कति सुन्दर आशा! तपाईं अब के गर्नुहुन्छ? रोजाइ तपाईंको हातमा छ।


अन्धकार, बन्धन, दुःखदेखि
येशू म आऊँ, येशू म आऊँ
पाउन छुटकारा, हर्ष, दृष्टि
येशू म आउँदैछु!
आँधीदेखि तपाईंको आडमा,
जगको शोकदेखि सान्त्वनामा
सङ्कटदेखि प्रशंसामा,
येशू म आउँदैछु!

बाइबल सन्दर्भ:१मर्कूस ८:३६; २लूका १३:४-५; ३रोमी ३:१०,२३;४रोमी ६:२३ ५हिब्रू ९:२७; ६गलाती ५:१९; ७यूहन्ना ३:३६; ८यूहन्ना ८:१२; ९अय्यूब २६:७; १०उत्पत्ति ३:१७,१९; ११रोमी ८:२०,२२; १२मत्ती ११:२८; १३यूहन्ना ३:१६; १४रोमी ५:८

 

अनन्त विनाशबाट बाँच्ने उपाय

अनन्त विनाशबाट बाँच्ने उपाय

प्रदेश श्रेष्ठ

जुवा खेलेर पैसा, घरबार, जग्गा-जमिन नाश गर्ने मान्छे मूर्ख हो। अझ बहुमूल्य छ तपाईंको आत्मा। बाँच्ने उपाय हुँदा-हुँदै आफ्नै आत्माको खेलबाड गरी मान्छे नरकमा हाम फाल्दैछ। बाइबलले भन्दछ,

“डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो।” (प्रकाश २१:८)

धेरैले भन्छन्, “येशूमा विश्वास नगर्ने मान्छे नरक जान्छ भन्‍ने बाइबलको कुरा म मान्न सक्दिनँ”।

तर भूलमा नपर्नुहोस्। पछि पछुताएर हुँदैन, समय ढिलो भइसकेको हुन्छ। नरक एउटा वास्तविक ठाउँ हो। बाइबल सत्य छ भण्ने कुराको प्रमाणहरूको अलिकति पनि जाँचबुझै नगरी इन्कार गर्नुहुन्छ र?

बरु यो सन्देशलाई आज गम्भीर भई विचार गर्नुहोस्, र नरकबाट बच्ने उपाय जान्ने निर्णय गर्नुहोस्। येशूले भन्नुभयो, “बाटो, सत्य, र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन।” (यूहन्ना १४:६)

धेरैजना भन्छन्, “मरेपछि चौरासी लाख जुनी घुम्‍नुपर्छ।”

तर बाइबलमा लेखिएको छ,

“मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।” (हिब्रू ९:२७)

मानिस एकपल्ट मात्र जन्मन्छ र एकपल्ट मात्र मर्छ। अनि मरेपछि ऊ न्यायमा पर्छ! ईश्वरीय न्यायले पापीलाई दण्ड दिनैपर्छ किनकि परमेश्वर पवित्र र धर्मी हुनुहुन्छ। प्रिय मित्र, नाकमा सास भएको मान्छेको “अरे, अरे” को भरमा आफ्‍नो आत्मालाई नफाल्‍नुहोस्। संसारका सबै गुरू, दार्शनिक, पैगम्बर, भगावन्, योगी, बाबाजी, माता, पोप आदि मरेर गए, आफूलाई बौराउन सकेनन् किनकि उनीहरू केवल मानिस थिए। तर येशू ख्रीष्ट, उहाँ मारिनुभएको तीन दिनपछि फेरि बौरेर उठ्नुभयो! यस ऐतिहासिक घटनाले येशू नै एक दिन संसारको न्याय गर्नुहुने परमेश्वरको पुत्र हुनुहुन्छ भनेर सारा संसारलाई प्रमाण दिएको छ। (रोमी १:४, प्रेरित १७:३१)

परमेश्वरको भययोग्य न्यायबाट उम्कन आफ्‍नो पापदेखि पश्चात्ताप गर्नुहोस् र सत्य परमेश्वरकहाँ फर्केर आउनुहोस्। येशूले भन्नुभएको छ,

“साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ।” (यूहन्ना ५:२४)

“परमेश्वर प्रेम हुनुहुन्छ भने उहाँले नरक जस्तो डरलाग्दो ठाउँ किन बनाउनुभयो?”

परमेश्वर असल हुनुभएकोले उहाँले खराबलाई घृणा गर्नुहुन्छ। उहाँ धर्मी हुनुभएकोले उहाँले पापलाई घृणा गर्नुहुन्छ। उहाँ पवित्र र न्यायी हुनुभएकोले उहाँले अपराधलाई दण्ड दिनैपर्छ। यदि उहाँले पापलाई दण्ड नदिनुहुँदो हो त उहाँ असल हुनुहुनेथिएन र फलस्वरूप उहाँको प्रेम पनि असली प्रेम हुनेथिएन।

वास्तवमा नरक एउटा उच्च स्वर्गदूतको दण्डस्थान हो किनकि उसले “म परमप्रधानजस्तै हुन्छु” भन्‍यो (यशैया १४:१४) र एकमात्र सृष्टिकर्ताको विरोधमा उठ्यो। स्वर्गबाट तल फ्याँकिएको त्यो आत्मा शैतान हो। शैतानले मान्छेलाई सत्य परमेश्वरको सट्टा झूटा शक्तिको खोजी गर्न अभिप्रेरित गर्दछ, जस्तै जोखना, साइत हेर्न, मन्त्रतन्त्र, टुनामुना, बोक्सेरो-विद्या, प्रेत-विद्याको अभ्यास गर्न।

मानिस सृष्टिकर्तालाई पूज्‍न छोडेर विद्रोही र स्वेच्छाचारी बनेकोले ऊ पनि नरकको योग्य बनेको छ।

“त्यसपछि उहाँले ती देब्रे हातपट्टि हुनेहरूलाई भन्नुहुनेछ: हे श्रापितहरूहो, मदेखि त्यस अनन्त आगोभित्र जाइहाल, जोचाहिँ शैतान र त्यसका दूतहरूका निम्ति तयार पारिएको छ”। (मत्ती २५:४१)

आफ्नो विद्रोह कहिल्यै नछोड्ने शैतान अनन्त आगोमा जानेछ। तर परमेश्वर पिताले पापी मानिसलाई प्रेम गर्नुभई उसलाई अनन्त विनाशबाट बचाउन आफ्‍नै पुत्रलाई बाँकी राख्नुभएन, तर हाम्रो सट्टामा मृत्युको स्वाद चाख्न र हाम्रा पापहरूको दण्ड भोग्नलाई संसारमा पठाउनुभयो। तसर्थ, येशू ख्रीष्टको बलिदानमा परमेश्वरको अद्भुत् प्रेम र अपरिवर्तनीय न्याय दुवै सिद्धरूपमा प्रकट भएका छन्।

धेरैले भन्छन्, “मरेपछि जे होला, होला।”

के तपाईं आफ्नै आत्माको जुवा खेल्नुहुन्छ? बाइबलले भन्दछ, नरककुण्ड अथाह गहिरो छ, त्यहाँ पुगिसकेपछि उम्कने उपाय छैन। त्यो रुवाबासी र दाह्राकिटाइको पीडाघर हो, प्रेम वा दया नपाइने कारागार हो, सुख र सान्त्वनारहित तहखाना हो, मनोरञ्जनबिहीन अन्धकारपूर्ण दण्डस्थान हो, रोजाइ र स्वतन्त्रतारहित निर्वासनस्थान हो, परमेश्वरको अनुग्रह वा कृपारहित अनन्त पछुतोस्थान हो। नरकमा आगो कहिल्यै निभ्दैन, एक थोपा पानी पनि दिइँदैन, त्यहाँ पीडा कहिल्यै टुङ्गिदैन। (लूका १६:२३-२८) आफ्नो अनमोल आत्मा नाश गर्ने यस्तो जुवा नखेल्नुहोस्।

धेरैजना सोच्छन् – “मैले के पाप गरेको छु र? मरेपछि म स्वर्ग नै पुग्छु होला।”

तर कृपया आफूसित एकपटक इमानदार भई सोच्नुहोस्। के तपाईंले झूट बोल्नुभएको छैन? वा रिसमा हत्या सोच्नुभएको छैन? वा हृदयमा व्यभिचार गर्नुभएको छैन? वा चोर्नुभएको छैन? वा अर्काको धनमाल, पति-पत्‍नीको लालच गर्नुभएको छैन? ढँटुवा, हत्यारा, व्यभिचारी, चोर, लोभीहरू स्वर्ग होइन नरक जान योग्य हुन्छन्। एउटै पापले पनि नरक पुर्‍याउँछ।

“किनकि जसकसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ।” (याकूब २:१०)

“धर्मी कोही छैन, एउटै पनि छैन। असल गर्ने कोही छैन। सबैले पाप गरेका छन्।” (रोमी ३:१०)

आफ्‍ना पापहरूका लागि कुनै बहाना नबनाउनुहोस्, बरु तपाईंको मन संसार र मूर्तिहरूदेखि परमेश्वरतर्फ फर्काउनुहोस् र उहाँले तपाईंमाथि कृपा देखाउनुहुनेछ।

कतिले भन्छन् – “मैले जानी-नजानी पाप गरेँ होला। तर मैले धर्म पनि गरेको छु। म नरकमा पुग्छु जस्तो लाग्दैन।”

तर बाइबलले भन्छ,

“हाम्रा सबै धार्मिक कामहरू मैला थाङ्नाहरूसरह छन्”। (यशैया ६४:६)

हामीले गरेका कामहरू ठीक छन् कि छैनन् भनेर अन्तिम फैसला गर्ने हामी आफैले होइन तर न्यायकर्ता परमेश्वरले हो, जसले आकाश र पृथ्वीलाई सृष्टि गर्नुभयो, जो सबैका मालिक हुनुहुन्छ। उहाँले कुनै अधर्म गर्नुहुन्न, उहाँ कहिल्यै चुक्नुहुन्न। (सपन्याय ३:५) उहाँको न्यायले सिद्ध धार्मिकताको माग गर्छ। उहाँका पवित्र नजरका सामु सबै मानिस फोहोरी छन्। हाम्रा धर्मकर्म मानिसका सामु ग्रहणयोग्य भए पनि परमेश?वरका सामु ती कर्मले पापको ऋण चुक्ता गर्न सक्दैनन्, तपाईंलाई नरकबाट बचाउन सक्दैनन्। यदि सक्‍ने भएका भए हामीले “मेरो कर्म र भक्ति वा मेरो साधना वा पुरुषार्थले मैले पापको प्रायश्चित गरेँ” भन्दै घमन्ड गर्ने ठाउँ हुन्थ्यो तर शास्त्रले भन्दछ, “परमेश्वरको सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्।” (१ कोरिन्थी १:२९)

“मुक्ति धार्मिक कामद्वारा पाइँदैन भने त्यो कसरी पाइन्छ त?”

“किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमन्ड गर्नेछ।” (एफेसी २:८-९)

विनम्र मित्र, मुक्ति मान्छेले कमाउन सक्ने कुरा होइन, यो त परमेश्वरबाट सित्तैंमा पाइने दान हो। कसरी दान? यसरी कि परमेश्वर स्वयंले हाम्रो छुटकाराको दाम तिरिदिनुभएकोले। दाम?हो, हाम्रो पापले अग्‍निकुण्डको मृत्यु कमाएको थियो — “किनकि पापको ज्याला मृत्यु हो।” (१७) अनि नरकको अनन्त पीडाबाट छुटाउनलाई दाम स्वरूप एक निर्दोष बलिदान आवश्यक परेको थियो किनकि “रगत नबहाईन पाप क्षमा हुँदैन।” (१८) असल खबर यो हो कि परमेश्वरले नै एक निर्दोष र निष्कलङ्क बलिदानको प्रबन्ध गर्नुभयो। कुन बलिदान? उहाँकै अनन्त पुत्र येशू ख्रीष्ट जो इस्राएल देशमा एउटी कन्याको कोखबाट अलौकिक देहधारण भई मानिसको रूपमा जन्मनुभयो। उहाँले कुनै पाप गर्नुभएन। उहाँ सम्पूर्ण मानव जातिका पापहरू हरण गर्न पापबलिको रूपमा आजभन्दा करिब २००० वर्ष अघि क्रूसमा आफ्‍नो बहुमूल्य रगत बहाएर मर्नुभयो। यसको प्रमाण? येशू मरेको मरै हुनुभएन, तर उहाँ तेस्रो दिनमा फेरि बौरेर उठ्नुभयो! (१९) यसको प्रमाण? उहाँ ४० दिनसम्म शरीरमै देखा पर्नुभयो। त्यसपछि? उहाँ प्रत्यक्षदर्शीहरूकै बीचबाट शरीरमै उचालिएर स्वर्गमा फर्कनुभयो।

“परमेश्वरले यस्तो अद्भुत् काम किन गर्नुभयो?”

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो — उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६)

परमेश्वर तपाईंको विनाश चाहनुहुन्न। बरु उहाँ तपाईंलाई बचाउन चाहनुहुन्छ। किनकि उहाँ तपाईंलाई प्रेम गर्नुहुन्छ। आफ्‍नो मन परमेश्वरतर्फ फर्काउनुहोस् र प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्।

“पाप, संसार र झूटा ईश्वरहरूदेखि जीवित र सत्य परमेश्वरतर्फ आफ्‍नो मन फनक्क नफर्काउँदा के हुन्छ?”

“जसले पुत्रमाथि विश्वास गर्दछ, ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रलाई विश्वास गर्दैन, त्यसले जीवन देख्‍नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।” (यूहन्ना ३:३६)

प्रिय पाठक, जीवनको सबभन्दा गम्भीर रोजाइ आज तपाईंको हातमा छ। अनन्त जीवन रोज्नुहोस् र आउन लागेको ईश्वरीय क्रोधबाट भाग्‍नुहोस्!