ख्रीष्टमा हुर्काइ र विजयी जीवन (#३)

Study Series

ख्रीष्टमा हुर्काइ र विजयी जीवन (३)

डेविड क्लाउड

पद कण्ठ: मत्ती १३:२२; १ कोरिन्थी १५:३३; एफेसी ५:११; १ पत्रुस २:१-२; १ यूहन्ना २:१५-१७

अघिल्लो पाठमा हामीले आत्मिक जीवनमा बढ्ने र ख्रीष्टमा विजयी जीवन जिउने चारओटा उपायहरूलाई हेर्‍यौं: ख्रीष्टमा रहनु, पुरानो मान्छेलाई फाल्नु र नयाँ मान्छेलाई पहिरनु, पाप स्वीकार गर्नु र निशानातिर दगुर्नु।

यस पाठमा अरू चारओटा कुराहरूलाई हेर्नेछौं: वचनलाई खानु, वचनलाई सम्हालिराख्‍नु, संसारबाट अलग रहनु र झूटा शिक्षकहरूबाट अलग रहनु।

वचनलाई खानु (१ पत्रुस २:१-२)

ख्रीष्टमा बढ्नलाई र आत्मिक जीवनमा विजयी बन्नलाई एउटा नभई नहुने तत्व बाइबल नै हो। बाइबल परमेश्वरको जीवित वचन हो र यसभित्र विश्वासीलाई बढाउँदै लैजाने सामर्थ्य लुकेको छ (हिब्रू ४:१२; प्रेरित २०:३२)। यो आत्मिक भोजन हो। विश्वासीले आफूलाई यसभित्र डुबाउनुपर्छ। यस्तो भनाइ छ, “जसको बाइबलभरि धूलो लागेको छ उसको हृदयभरि मैला लागेको हुन्छ”, र साथै, “कि बाइबलले मलाई पापबाट अलग राख्‍छ कि पापले मलाई बाइबलबाट अलग राख्‍छ”। आत्मिक विजय चाहने ख्रीष्टियनले बाइबललाई आफ्नो जीवनकै पुस्तक बनाउनेछ।

उसले दिनहुँ बाइबल पढ्ने बानी बसाल्नुपर्छ। साथै उसले त्यसलाई अध्ययन गर्न र अर्थ लगाउन सिक्नुपर्छ। (यस विषयलाई हामी बाइबल कसरी अध्ययन गर्ने सम्बन्धमा आधारभूत पाठहरू अन्तर्गत चर्चा गर्नेछौं।)

ऊ एउटा असल मण्डलीमा बाइबल सिकाइएको र प्रचारिएको सुन्नलाई विश्वासयोग्य हुनुपर्छ।

उसले बाइबललाई कण्ठ गर्नुपर्छ र दिनभरि यसमा मनन गर्नुपर्छ।

अनि उसका निर्णयहरू यसकै शिक्षाहरूमा आधारित हुनुपर्छ।

१ पत्रुस २:१-२ मा लेखिएको कुरालाई ध्यान दिनुहोस्: विश्वासीले एकातिर परमेश्वरको वचन ग्रहण गर्ने हो भने अर्कोतिर उसले पापलाई फाल्ने काम गरिरहनुपर्छ। यदि आफ्ना पुराना पापपूर्ण मार्गहरूलाई नछोडीकन वचनलाई लिन खोज्‍यौं भने हामी बढ्न सक्दैनौं।

नयाँ विश्वासीहरूलाई वा ख्रीष्टियन जीवनमा छट्पटिरहेकाहरूलाई मेरो पहिलो सल्लाह यो हो: बाइबल पढ्ने र अध्ययन गर्ने र कण्ठ गर्ने कामलाई गम्भीरसाथ लिनुहोस्। नियमित रूपले दिनहुँ बाइबल पढ्ने गर्नुभएको छैन भने त्यसका लागि आफूलाई सुम्पनुहोस्। एउटा समय र एउटा ठाउँ अलग गर्नुहोस् र नबिराईकन परमेश्वरसित भेट्ने गर्नुहोस्। दिनको एक अध्याय पढ्ने गर्नुभएको छ भने यसलाई तीनदोब्बर वा बढी बनाउन आफूलाई सुम्पनुहोस्। आफ्नो दैनिक पठन-कार्यमा तपाईंले भजनसङ्ग्रह र हितोपदेशलाई पनि समावेश गर्न सक्नुहुन्छ। भजनसङ्ग्रह दिनको पाँच अध्याय पढ्दै एक महिनामा पूरा गर्न सक्नुहुन्छ र हितोपदेश दिनको एक अध्याय पढ्दै एक महिनामा पूरा गर्न सक्नुहुन्छ। विहान तपाईं भजनसङ्ग्रह पढ्नुहोला र साँझ हितोपदेश, अथवा आफूलाई लागेको अर्कै योजना पछ्याउन पनि सक्नुहुन्छ। एकजना पास्टरले मलाई हालसालै बताए कि उनले पूरै बाइबल महिनामा एकचोटी पढ्ने गरेका छन् र यो निर्णय अति उत्तम ठहरिएको अनुभव गरेका छन्। एक दम्पत्तिले सँगै मिलेर एक वर्ष त्यसरी नै पढेको र यसबाट उनीहरूको जीवन ज्यादै आशिषमय बनेको कुरा मलाई बताए। एकजना युवा पास्टरले यो साल दिनको दसओटा पद कण्ठ गरिरहेको कुरा बताए। पवित्र शास्त्रमा आफूलाई डुबाउनु आत्मिक जीवनमा बढ्ने र आत्मिक बाधा-अड्चनलाई पार गर्ने सर्वोत्तम उपाय हो।

वचनलाई सम्हालिराख्‍नु (मत्ती १३:२२)

बिउ छर्नेको उखानमा यस संसारको फिक्रीले र धनसम्पत्तिको धोकाले वचनलाई निसास्याइदिन्छ भनेर येशूले चेताउनी दिनुभयो। यसमा मर्कूसले थप्छन्, “अरू-अरू कुराहरूको अभिलाषा भित्र पसेर” (मर्कूस ४:१९) र लूका थप्छन्, “यस जीवनका सुखविलासहरूद्वारा” (लूका ८:१४)।

अनगिन्ती विश्वासीहरूले आफ्ना हृदयहरूमा वचनलाई सम्हालेर राख्‍न विफल भएका छन्। तिनीहरू मण्डली सभामा बस्छन्, परमेश्वरको वचन सुन्छन् र नियमित रूपले बाइबल पढ्छन् पनि, तर आफ्नो दिन-दिनको जीवनमा उनीहरू यस संसारको फिक्री र अरू‍-अरु कुराहरूको अभिलाषालाई आफ्ना हृदयहरूमाथि राज्य गर्न दिन्छन् र यसरी परमेश्वरको वचनको प्रभावलाई निसास्यादिन्छन्।

अरू-अरू कुराहरूको अभिलाषाहरू सम्बन्धी विचार गर्नुहोस्। यो कुरा म नयाँ ख्रीष्टियन हुँदा प्रभुले मलाई देखाउनुभयो; मैले यत्‍नसित बाइबल अध्ययन गरिरहेको भए तापनि मैले आफ्नो पुरानो मान्छेलाई रक सङ्गीत र अस्वस्थकर फिल्महरू पस्किरहेकोले वचनलाई निसास्याउने काम भइरहेको रहेछ भन्ने कुराको मलाई महसुस भयो।

यस संसारको फिक्री सम्बन्धी विचार गर्नुहोस्। यस संसारको फिक्रीले आफ्नो जीवनमा वचन निसास्सिएको छ भने विश्वासी परमेश्वरको सामु बसेर आफ्नो परिस्थितिको जाँच गर्नुपर्छ। कहिलेकाहीँ त्यस्तो फिक्रीको परिस्थितिलाई छल्ने कुनै उपाय हुँदैन तर यदि निज परमेश्वरलाई र उहाँको इच्छालाई पहिलो स्थान दिन राजी छ भने ऊ त्यसबाट प्रायः उम्कन सक्छ। र विश्वासीले सधैं गर्न सक्ने एउटा कुरा त आफ्नो सारा फिक्री प्रभुमाथि राखिदिनु हो (१ पत्रुस ५:७)। बाइबल पढ्दा कलम र कागत साथमा हुनु बुद्धिमानी हुन्छ र जुन बेला कुनै फिक्री वा चिन्ताको विषय मनमा आउँछ त्यसद्वारा परमेश्वरको वचन निसास्सिन दिनुको सट्टा त्यसलाई पछि सामना गर्न कातगमा टिपोट गरेर राख्‍न सक्नुहुन्छ।

धनसम्पत्तिको धोका सम्बन्धी विचार गर्नुहोस्। धनसम्पत्तिको धोकाले परमेश्वरको वचनलाई निसास्याउन दिएर बढ्न नसकेका विश्वासीहरू धेरैजना छन् जोहरू परमेश्वरको इच्छा गर्नदेखि विफल भएका छन्। धनसम्पत्ति धोकापूर्ण हुन्छ किनकि त्यसले सुखको सपना देखाउँछ तर त्यो झूटा हो। संसारका सबभन्दा धनीहरू सबभन्दा सुखी छैनन्! साथै धनसम्पत्ति धोकापूर्ण हुन्छ किनकि त्यो अनिश्चित कुरा हो। कतिपटक त्यसले “आफ्ना लागि पखेटाहरू बनाउँछ र त्यो चीलझैं आकाशतिर उडेर जान्छ” (हितोपदेश २३:५)। यो समस्याको उपाय हो सन्तुष्ट रहनु (१ तिमोथी ६:६-१०) र परमेश्वरलाई र उहाँको इच्छालाई र उहाँको कामलाई पहिलो स्थानमा राख्‍नु (मत्ती ६:३३)। उहाँलाई पहिलो स्थान दिएमा उहाँले मेरो फिक्री गरिदिने प्रतिज्ञा गर्नुभएको छ।

संसारबाट अलग हुनु

आत्मिक हुर्काइ र विजयका लागि अर्को आवश्यक कुरा खराबीबाट अलग हुनु हो। आज्ञापालनको सिलसिलामा यसलाई हामीले उल्लेख गरिसकेका छौं तरैपनि यो फेरि दोहोर्‍याएर बताउन सकिने कुरा हो।

खराब सङ्गतले असल चालचलन बिगार्छ भनेर बाइबलले चेताउनी दिन्छ (१ कोरिन्थी १५:३३)। यसले कुनै पनि किसिमको खराब कुरालाई जनाउन सक्छ, चाहे त्यो छापिएको सामग्री होस् वा टिभीमा हुने कुरा होस् वा फिल्ममा हुने कुरा वा इन्टरनेटमा हुने कुरा वा सङ्गीत वा व्यक्तिगत सङ्गत होस् वा मित्रता वा नातागोता। “असल चालचलन” ले असल ख्रीष्टियन जीवनलाई जनाउँदछ। पावलले यसो भन्दैछन्, खराबसितको कुनै पनि किसिमको संसर्ग वा घनिष्टताले आफ्नो ख्रीष्टियन जीवनको सद्‍गुणमा ह्रास ल्याउँछ।

खराब कुराहरूसँग कुनै सङ्गत नगर्न हामीलाई निर्देशन दिइएको छ (२ कोरिन्थी ६:१४-१८; एफेसी ५:११)। यो ज्यादै उच्च मानदण्ड हो। विश्वासीले यदि खराबसितको आफ्नो सङ्गतलाई च्वाट्टै काट्दैन भने ऊ बढ्नेवाला छैन।

बाइबलले भन्दछ, विश्वासीले यदि संसारलाई प्रेम गर्दछ भने उसले परमेश्वरलाई प्रेम गर्दैन (१ यूहन्ना २:१५-१७)। संसारको परिभाषास्वरूप यसलाई “शरीरको अभिलाषा, आँखाको अभिलाषा, र जीवनको सेखी” भनी बयान गरिएको छ। त्यसैले विश्वासीले थुप्रै कठीन छनोटहरू गर्नुपर्ने हुन्छ। उसले संसारलाई प्रेम गर्ने कि परमेश्वरलाई प्रेम गर्ने भनेर रोज्‍नुपर्छ। यसबाट हामी “ख्रीष्टियन रक” सिद्धान्त किन गलत छ भनेर बुझ्‍न सक्छौं। म संसारको भ्रष्ट पप संस्कृतिलाई र येशू ख्रीष्टलाई सँगसँगै प्रेम गर्न सक्दिनँ।

जब म हिप्पी पृष्ठभूमिबाट बचाइएको एक नयाँ ख्रीष्टियन थिएँ, मैले आफ्नो जीवनमा थुप्रै छनोटहरू गर्नु परेको थियो। आफूले मुक्ति नपाउँदाखेरि मैले रूचाउने गरेका रक सङ्गीत र फोहोर फिल्महरू, चुरोट, रक्सी र थुप्रै अरू कुराहरूबाट म अलग्गिनु पर्‍यो। मैले त्यसो गरेँ किनकि म मेरो मुक्तिदाता प्रभुलाई खुशी पार्न चाहन्थेँ र म बढ्न चाहन्थेँ र उहाँको इच्छा जान्न चाहन्थेँ।

झूटा शिक्षकहरूबाट अलग हुनु

परमेश्वरले आफ्ना जनहरूलाई बाइबल विपरित कुरा सिकाउनेहरूलाई चिनिराख्‍न र तिनीहरूबाट टाढा बस्नलाई निर्देशन दिनुभएको छ (रोमी १६:१७)।

पावलले तीतसलाई “विभाजन ल्याउने मानिस” बाट अलग रहन आज्ञा दिए (तीतस ३:९-११)। यसले झूटा शिक्षकहरूलाई जनाउँछ जोहरू आफूलाई सत्यताको अधीनतामा सुम्पन इन्कार गर्दछन्। झूटा शिक्षा अपनाउनेहरू मूर्ख प्रश्नहरू सोध्छन् भनेर पावलले चेताउनी दिए। यसले त्यस्ता मिथ्या प्रश्नहरूलाई जनाउँछ जोचाहिँ खाँटी शिक्षामाथि शङ्का उब्जाउने उद्देश्यले सोधिन्छन्। जस्तै, यहोवाका साक्षीहरू येशू परमेश्वर हुनुहुन्छ भन्ने सत्यतालाई इन्कार गर्छन्। विश्वासीहरूलाई यस बारेमा अलमलाउन उनीहरू प्रश्नहरू झिक्छन्। उनीहरूका प्रश्न इमानदार हुँदैनन्। उनीहरू खाँटी बाइबलीय जवाफ सुन्न चाहँदैनन्। उनीहरू केवल अरूलाई अलमलाउन र उनीहरूका झूटा शिक्षाहरूभित्र खिँच्न चाहन्छन्। यस किसिमको कुराबाट अलग हुन बाइबलले हामीलाई चेताउनी दिएको छ नत्र भने त्यसले तपाईंलाई सत्यतामाथि शङ्का उब्जाउनेछ र तपाईंलाई शैतानले निल्नेछ।

झूटा शिक्षकहरूबाट अलग रहनु भनेको उनीहरूका मण्डलीहरू, उनीहरूका बाइबल अध्ययनहरू, उनीहरूका पुस्तकहरू, उनीहरूका टिभी र रेडियो कार्यक्रमहरू र उनीहरूको अडियो र भिडियो रेकर्डिङ्गहरूबाट अलग रहनु हो।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email