ख्रीष्टमा हुर्काइ र विजयी जीवन (४)

Study Series

ख्रीष्टमा हुर्काइ र विजयी जीवन (४)

डेविड क्लाउड

पद कण्ठ: एफेसी ५:१८-१९; हिब्रू १२:१-२

अघिल्ला दुई पाठहरूमा हामीले आत्मिक हुर्काइ र ख्रीष्टमा विजयी जीवन जिउने आठओटा महत्त्वपूर्ण उपायहरूलाई अध्ययन गर्‍यौं: ख्रीष्टमा रहनु, पुरानो मान्छेलाई फाल्नु र नयाँलाई पहिरनु, पाप स्वीकार गर्नु, निशानातिर दगर्नु, वचनलाई खानु, वचनलाई सम्हाल्नु, संसारबाट अलग रहनु र झूटा शिक्षकहरूबाट अलग रहनु।

यस पाठमा हामी अन्तिम चारओटा बुँदाहरूलाई हेर्नेछौं: आफूलाई पवित्र आत्माको हातमा सुम्पनु, असल बानीहरू बसाल्नु, आफ्ना आँखालाई ख्रीष्टमा लगाइराख्‍नु, र ख्रीष्टको नजिक जानु।

पवित्र आत्माले भरपूर हुनु (एफेसी ५:१८)

ख्रीष्टियन जीवनमा आत्मिक विजय, आफूभित्र वास गर्नुहुने पवित्र आत्माको हातमा आफूलाई सपर्मण गरेर र सुम्पेर हुने हो।

१) आत्माले भरपूर हुनु भनेको आत्माको नियन्त्रणमुनि हुनु हो। रक्सीले मातेको मान्छे रक्सीको नियन्त्रणमुनि हुन्छ भने एक विश्वासी आत्माको नियन्त्रणमुनि हुन्छ जब ऊ आत्माले भरपूर हुन्छ। यस अर्थमा मात्र आत्माले भरपूर हुनुलाई रक्सीले मातिनुसँग दाँजिएको हो। वास्तवमा, आत्माले भरपूर हुनु रक्सीले मातिनुसँग समान कुरो होइन; यो रक्सीले मातिनुभन्दा विपरित अर्थमा तुलना गरिएको कुरा हो। कतिपय क्यारिज्म्याटिकहरूले आत्माको भरपूरी भनेको आत्माले मातिनु र निज लड्नु, हाँस्नु र जड्याँहाको जस्तै व्यवहार गर्नु हो भनेर सिकाउँछन्, तर यो हास्यजनक र अबाइबलीय कुरा हो। पेन्टेकोस्टको दिनमा चेलाहरू आत्माले भरपूर हुँदा पत्रुसले प्रस्टै बताए, उनीहरू मातेका होइनन् (प्रेरित २:१५)। उनीहरू धर्मराउने, भुइँमा लड्ने र विकृत उत्तेजनामा हाँसिरहेका थिएनन्! होइन, आत्माले भरपूर हुनु भनेको केवल आफ्नो जीवन परमेश्वरको नियन्त्रणमा सुम्पिएको हुनु हो। यसको माने आफ्नो इच्छा र आफ्नो अभिलाषाको लेखि मर्नु र ख्रीष्टको निम्ति जिउनु हो। यसको माने दिनहुँ आफूलाई त्यस दिनको लागि प्रभुमा समर्पण गर्नु हो र जब-जब आफ्नो सामु कुनै निर्णय गर्नुपर्ने विषय आउँछ तब-तब आफ्नो इच्छा नभई परमेश्वरको इच्छा गर्नलाई रोज्नु हो। विश्वासीले जब यसो गर्दछ परमेश्वरले उसलाई आत्मिक बल र बुद्धि र अगुवाइ प्रदान गर्नुहुन्छ। आत्मामा हिँड्नु र आत्माले भरपूर हुनु यही हो।

२) आत्माले भरपूर हुनु भनेको एकपटकको घटना वा अनुभव होइन; यो एउटा प्रक्रिया हो। एफेसी ५:१८ को क्रिया निरन्तर-कालीन (continuous tense) क्रियापद हो। योचाहिँ सिद्धता हासिल गर्ने कुराको सवाल नभएर प्रभुको अनुग्रह र ज्ञानमा बढ्दै जाने कुराको सवाल हो। विश्वासीले पाप गर्न पुग्दा ऊ निराश बन्नु हुँदैन; उसले पाप स्वीकार गर्नुपर्छ र आफूलाई आत्माको नेतृत्व र नियन्त्रणमुनि सुम्पेर ऊ फेरि नयाँ गरी आत्माले भरपूर हुन सक्छ।

३) आत्माले भरपूर हुने कुरा आत्मिक गीत गाउने कामसँग सम्बद्ध भएको तथ्यलाई ध्यान दिनुहोस् (एफेसी ५:१९)। भजन, स्तुतिगान र आत्मिक गीतहरूमा सामर्थ्य हुन्छ। एफेसी ५ मा पावलले आत्मिक गीतहरू गाउने कामलाई पवित्र आत्माले भरपूर हुने कुरासँग जोडेका छन्। जसरी दाऊदका गीतले विचलित राजालाई शान्त गराए (१ शमूएल १६:२३), आत्मिक गीतहरूले विश्वासीको “नयाँ मानिस” लाई खुवाउन र हौसला दिन सक्छ। भजन तथा आत्मिक गीतहरू कण्ठ गर्नु असल हो; तब परीक्षाको घडीमा तिनलाई प्रयोग गर्न सकिन्छ। एउटा भयङ्कर परीक्षाको घडी भएर जानु पर्दा परमेश्वरका एकजना असल छोरीलाई प्रार्थना गर्न वा बाइबल पढ्न गाह्रो थियो तर तिनले एउटा सरल आत्मिक गीत निरन्तर गाइरहिन् र प्रभुले उनलाई विजय दिनुभयो।

असल पवित्र सङ्गीतको सङ्कलन गर्नु र अवसरअनुसार तिनलाई मोबाइलमा वा गाडीमा वा घरमा सुन्नु बुद्धिमानी कुरा हो। पास्टर जे बी बफिङ्गटनले भन्नभयो,

“सांसारिक सङ्गीतले सांसारिक वातावरण सृजना गर्दछ र सांसारिक प्रवृत्तिलाई प्रोत्साहन दिन्छ। अर्कोतिर, तपाईंले आफ्नो घरमा असल पवित्र सङ्गीतद्वारा संयम, स्थिरता, शान्ति र चैन ल्याउन सक्नुहुन्छ। सानो बच्चा सुतिरहेको कोठामा तपाईंले क्यासेटमा बाइबल कहानीहरू बजाएर छोडिदिन सक्नुहुन्छ र उसको सानो मस्तिष्कमा ती बाइबल कहानीहरू छिराउन सक्नुहुन्छ। बच्चाहरूलाई औपचारिक रूपमा सिक्नु आवश्यक छैन; तपाईंले उनीहरूले त्यसरी छोडिराख्दा पनि उनीहरू स्पन्जले जस्तै काम गरिरहेका हुन्छन्; उनीहरूले सोसिहाल्छन्। शान्त पार्ने खालको, ख्रीष्टलाई आदर गर्ने, आत्मालाई जगाउने खालको ख्रीष्टियन सङ्गीतहरू त्यहाँ बजाएर छोड्दिनुहोस्, घरमा त्यो बजिरहोस् र त्यसद्वारा तपाईंले आफ्ना छोराछोरीहरूको हृदयहरूमा सुरक्षा र चैन र शान्तिलाई छिराउने काम गरिरहनुभएको हुन्छ” (J.B. Buffington, “How to Lose a Child Before He is Five Years Old”)।

आज इसाईजगतमा प्रचलित शारीरिक ख्रीष्टियन सङ्गीतको विरुद्धमा हामीले आवाज उठाउनै पर्छ। बाइबलले भन्दछ, हामीले गाउनुपर्ने त “आत्मिक गीतहरू” हुन् (एफेसी ५:१९)। यसले सांसारिक गीतको ठीक उल्टो किसिमको सङ्गीतलाई जनाउँदैछ। आत्मिक सङ्गीत शरीरलाई पोस्ने सङ्गीतको ठीक उल्टो किसिमको सङ्गीत हो। यो संसारको नाचगान-खानपिन-रमाइलोको सङ्गीतभन्दा ठीक उल्टो सङ्गीत हो। परमेश्वरले हामीलाई संसारका खराब कुराहरूसित सङ्गत गर्न प्रतिबन्ध लगाउनुभएको छ (१ यूहन्ना २:१५-१६) भन्ने कुरालाई हामीले अघिबाटै हेरिसकेका छौं।

[आत्मिक सङ्गीतका केही नमुनाका लागि यस वेबसाइटको आत्मिक सङ्गीत पृष्ठमा जान सक्नुहुन्छ, साथै तिनलाई आफ्नो कम्प्युटरमा सार्न पनि सक्नुहुन्छ।]

४) पवित्र आत्माको भरपूरीलाई परमेश्वरलाई धन्यवाद दिने कामसँग जोडिएको छ (एफेसी ५:२०)। यदि मसँग गनगन गर्ने आलोचनात्मक प्रवृत्ति छ भने म आत्माले भरपूर भएको हुँदिनँ किनकि त्यस्ता कुराले उहाँलाई शोकित तुल्याउँछ (एफेसी ४:३०-३१)।

५) पवित्र आत्माको भरपूरी पवित्र नाता-सम्बन्धहरूसँग सरोकार राख्‍ने कुरा भएको बताइएको छ (एफेसी ५:२१ – ६:९)। पवित्र आत्माले भरपूर हुन उहाँको आज्ञापालन गर्नु आवश्यक छ, अनि उहाँको आज्ञाअनुसार हामीले एक-अर्कालाई ईश्वरीय ढङ्गले व्यवहार गरेको उहाँ चाहनुहुन्छ। आत्माले भरपूर भएका पत्‍नीहरूले आफूलाई आफ्ना पतिहरूका अधीनमा सुम्पन्छन्। आत्माले भरपूर भएका पतिहरूले आफ्ना पत्‍नीहरूलाई प्रेम गर्छन्। आत्माले भरपूर भएका नानीहरूले आफ्ना बाबु-आमालाई आदर गर्छन्। आत्माले भरपूर भएका बाबुहरूले आफ्ना नानीहरूलाई रिस उठाउँदैनन्। आत्माले भरपूर भएका नोकरहरू आफ्ना मालिकहरूका आज्ञाकारी हुन्छन्। आत्माले भरपूर भएका मालिकहरूले आफ्ना नोकरहरूसित न्यायोचित व्यवहार गर्छन्।

ईश्वरीय बानीहरू बसाल्नु (लूका ४:१६)

हाम्रो जीवन व्यस्त जीवन हो र परमेश्वरलाई नै बाहिर नधकेलियोस् भन्ने हेतुले हामीले असल बानीहरू बसाल्नु अनिवार्य छ। हामीले दिनहुँ बाइबल अध्ययन गर्न, अन्तर्विन्तीका प्रार्थनाहरू गर्न र मण्डलीसँग नियमितरूपमा भेला हुन र सङ्गठित सुसमाचार प्रचारमा भाग लिन, परिवारसित समय बिताउन र त्यस्तै अरू कुराहरू गर्नलाई बानी बसाल्नुपर्छ।

यसको मतलब हामी दिनको वा हप्‍ताको कुनै-कुनै विशेष समयहरूमा मात्र परमेश्वरलाई सम्झने र परमेश्वरको सेवा गर्ने भनेको होइन। हामीले निरन्तर प्रार्थना गर्नुपर्छ (१ थेस्सलोनिकी ५:१७), परमेश्वरतर्फ विवेक निर्दोष राख्‍नलाई सधैंभरि प्रयत्‍न गर्नुपर्छ (प्रेरित २४:१६), प्रभुको काममा सधैंभरि प्रशस्त हुँदै जानुपर्छ (१ कोरिन्थी १५:५८), सधैंभरि धन्यवाद दिनुपर्छ (एफेसी ५:२०), ख्रीष्टको गवाही दिन सधैंभरि तयार रहनुपर्छ (१ पत्रुस ३:१५)।

साथै, हाम्रा आत्मिक बानीहरू केवल रीतिमात्र नबनोस्, केवल औपचारिकता पूरा गर्ने काम मात्र नहोस् भन्ने कुरामा होसियार हुनुपर्छ। हामीले आफ्ना आत्मिक बानीहरूलाई ताजा राख्‍छौं जब हामी ख्रीष्टसँग सङ्गतिमा रहिरहन्छौं।

आफ्ना आँखा ख्रीष्टमा लगाइराख्‍नु (हिब्रू १२:१-२)

हामीले आफ्ना आँखा ख्रीष्टमा लगाइराख्‍नुपर्छ। उहाँले कहिल्यै धोका दिनुहुन्न न कहिल्यै ठेस खुवाउनुहुन्छ। ख्रीष्टदेखि अन्यत्र, जस्तै आफ्नो पाप, संसार, जीवनका कठीनाइ, वा अरू मानिसहरूतिर आफ्ना आँखा लग्दा नै विश्वासीले ठेस खान्छ। जसका आँखा ख्रीष्टमाथि लगाइएका छन् र जसले उहाँलाई सिङ्गो हृदयले सेवा गर्दैछन्, उनीहरू अरू विश्वासीले पाप गरेको वा ठेस खुवाउने अन्य काम गरेको देख्दा पनि ठेस खाँदैनन्। जस्तै, मण्डलीहरूमा जब समस्या आउँछन् तब कुन-कुन सदस्यहरू साँच्चै ख्रीष्टसँग हिँड्दैछन् भन्ने कुरा त्यहाँ छिटै प्रकट हुन्छ। जस्तोसुकै कुरा आए पनि उनीहरू उहाँसँग हिँडिरहन्छन्। तर मान्छेलाई हेरिरहेकाहरू र मान्छेलाई पछ्‍याइरहेकाहरू निराश बन्छन् र कसैले वा कुनै कुराले उनीहरूलाई ठेस खुवाएपछि उनीहरू पछि हट्छन्।

ख्रीष्टमा रहिरहनु (मत्ती ११:२८-३०)

हामी यही बुँदामा सुरु गरेका थियौं र यसैमा अन्त गर्नेछौं, किनकि आत्मिक रूपमा हुर्कन र विजयी बन्न विश्वासीले गर्न सक्ने सबभन्दा महत्त्वपूर्ण कुरा नै प्रभुसितको सङ्गतिमा हिँड्नु र हर समय उहाँमा भरोसा गर्नु हो। ख्रीष्टियन जीवन परमेश्वरका अनन्त पुत्र येशू ख्रीष्टसितको व्यक्तिगत सम्बन्ध हो। यो उहाँलाई ग्रहण गर्ने, उहाँको सेवा गरिरहने र उहाँबाट सिकिरहने कुरा हो। यो नै साँचो ख्रीष्टियन विश्वासको सारतत्त्व हो र यो नै आत्मिक हुर्काइ र विजयी जीवनको उपाय हो।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email