व्यवस्था र आज्ञाहरू

व्यवस्था र आज्ञाहरू

 

परमेश्वरले व्यवस्था किन दिनुभयो? व्यवस्थाले एक व्यक्तिको निम्ति के गरिदिन सक्छ? के व्यवस्थाले एक व्यक्तिलाई बचाउन सक्छ? व्यवस्था पालन गर्ने प्रयास गरेर के एक व्यक्तिले अनन्त जीवन प्राप्‍त गर्न सक्छ? मानौं एक व्यक्तिले एउटा बाहेक सबै आज्ञाहरू पालन गरेको छ। उक्त व्यक्ति व्यवस्था पालन गर्ने व्यक्ति हो कि व्यवस्था भङ्ग गर्ने व्यक्ति? व्यवस्था भङ्ग गरे बापत दण्ड के हो? व्यवस्थालाई कसरी एउटा ऐनासित तुलना गर्न सकिन्छ? व्यवस्था असल कुरा हो कि खराब? के कसैले परमेश्वरको व्यवस्थालाई पूरै पालन गरेको छ, आज्ञाहरूलाई सिद्धरूपमा पूरा गरेको छ?

परमेश्वरको व्यवस्था र आज्ञाहरूको विषयमा विचार गर्दा यी प्रश्नहरूको जवाफ दिने प्रयास गर्नेछौं।

१. व्यवस्थाले सबै मानिसलाई दोषी ठहराउँछ।

आफ्नै विषयमा विचार गर्नुहोस्। तपाईंले परमेश्वरको व्यवस्था पालन गर्नुभएको छ कि त्यसलाई उल्लङ्घन गर्नुभएको छ? तपाईं दोषी हुनुहुन्छ कि निर्दोष? विचार गर्नुहोस् सबैभन्दा ठूलो आज्ञाको। सबै नियम (व्यवस्था) हरूमध्ये मुख्य यही हो अनि यो मत्ती २२:३६-३८ मा पाइन्छ (व्यवस्था ६:५ मा पनि हेर्नुहोस्)। के तपाईंले यस आज्ञाको पूरा पालना गर्नुभएको छ? के तपाईं भन्न सक्नुहुन्छ: “मैले जीवनको प्रत्येक दिन नै परमेश्वरलाई मेरो सारा हृदयले र मेरो सारा प्राणले र मेरो सारा मनले प्रेम गरेको छु।” ___________। तपाईंको जीवनमा त्यस्ता समय पनि आएका छन् जब तपाईंले परमेश्वरलाई जति प्रेम गर्नुपर्थ्यो त्यति प्रेम गर्नुभएन? के तपाईंले आफ्नो परमेश्वरलाई सधैं पहिलो स्थान नै दिनुभएको छ? के प्रभु नै सधैं तपाईंको “पहिलो प्रेम” हुनुभएको छ कि तपाईंले अरू कुराहरू वा अरू व्यक्तिहरूलाई प्रभुलाई भन्दा बढी प्रेम गर्नुभएको छ? के तपाईंले सबभन्दा ठूलो आज्ञा पालन गर्नुभएको छ त? _________।

सबभन्दा दोस्रो ठूलो आज्ञालाई विचार गर्नुहोस्। यो मत्ती २२:३९ मा पाइन्छ (लेवी १९:१८ मा पनि हेर्नुहोस्)। के तपाईंले यस आज्ञालाई सिद्धरूपमा पालन गर्नुभएको छ? तपाईंले अरू मानिसहरूलाई सिद्धरूपमा प्रेम गर्नुभएको छ कि त्यसो गर्न विफल हुनुभएको छ? के कहिलेकाहीँ तपाईं स्वार्थी (अरूहरूको भन्दा आफ्नै स्वार्थ खोज्ने) हुनुभएको छ? के तपाईंले सबभन्दा दोस्रो ठूलो आज्ञालाई पालन गर्नुभएको छ त? _________।

आफैलाई जाँच्नुहोस्

अब हामी दसमध्ये केही आज्ञाहरूलाई विचार गरौं (जुन प्रस्थान २० मा पाइन्छ)। हामी यीमध्ये छओटा आज्ञाहरूलाई मात्र विचार गर्नेछौं। आफैलाई जाँच्नुहोस् र ठीक कि बेठीकमा चिन्ह लगाउनुहोस्:

______ ठीक

______ बेठीक

पहिलो आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:३ मा छ)।

मैले सधैं नै प्रभुलाई पहिलो स्थानमा राखेको छु र मैले मेरो जीवनमा सधैं नै प्रभुलाई पहिलो स्थान दिएको छु। मेरो जीवनमा परमेश्वरलाई दिइनुपर्ने स्थानलाई मैले कहिल्यै कुनै चीजलाई वा कुनै व्यक्तिलाई दिएको छैन।

______ ठीक

______ बेठीक

तेस्रो आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:७ मा छ)।

मैले कहिल्यै प्रभुको नामलाई व्यर्थमा लिएको छैन न ता मैले कहिल्यै परमेश्वरको नामलाई विचारै नगरी हल्का रूपमा प्रयोग गरेको छु। मैले सधैं नै परमेश्वरको नामलाई आदर र सम्मानपूर्वक प्रयोग गरेको छु।

______ ठीक

______ बेठीक

पाँचौं आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:१२ मा छ)।

मैले सधैं मेरा बाबुआमालाई उच्च आदरका साथ आदर गरेको छु। मैले कहिल्यै मेरा बाबुआमाको आज्ञा उल्लङ्घन गरेको छैन अनि मैले सानैदेखि कहिल्यै पनि सजाय पाउन योग्यको काम गरिनँ।

______ ठीक

______ बेठीक

आठौं आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:१५ मा छ)।

मैले कहिल्यै कसैबाट केही चोरेको छैन। जुन कुरा मेरो थिएन त्यो मैले कहिल्यै लिएको छैन। मैले सधैं अर्काको सम्पत्तिलाई सम्मान गरेको छु।

______ ठीक

______ बेठीक

नवौं आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:१६ मा छ)।

मैले कहिल्यै कसैबाट केही चोरेको छैन। जुन कुरा मेरो थिएन त्यो मैले कहिल्यै लिएको छैन। मैले सधैं अर्काको सम्पत्तिलाई सम्मान गरेको छु।

______ ठीक

______ बेठीक

दसौं आज्ञा पढ्नुहोस् (यो प्रस्थान २०:१७ मा पाइन्छ)।

मैले कहिल्यै कसैको कुराको लोभ वा इच्छा गरेको छैन। मैले कहिल्यै अर्काको घर वा जग्गा वा गाडी वा पत्‍नीको अभिलाषा (बलियो चाहना) गरेको छैन। परमेश्वरले मलाई दिनुभएको कुरामा नै म सधैं सन्तुष्ट रहेको छु।

जाँचमा कस्तो गर्नुभयो? यदि तपाईंले “ठीक” भनेर जवाफ दिनुभएको छ भने यसको मतलब हो तपाईंले आज्ञा पालन गर्नुभएको छ। यदि तपाईंले “बेठीक” भनेर जवाफ दिनुभएको छ भने, यसको मतलब तपाईं आज्ञा उल्लङ्घन गर्ने दोषी हुनुहुन्छ। तपाईंले कतिपटक “ठीक” मा चिन्ह लगाउनुभयो? ________ पटक। तपाईंले कतिपटक “बेठीक” मा चिन्ह लगाउनुभयो? ________ पटक। तपाईं व्यवस्था उल्लङ्घन गर्ने दोषी हुनुहुन्छ कि व्यवस्था पालन गर्ने निर्दोष व्यक्ति हुनुहुन्छ? ___________ ____________________________________।

मानौं तपाईंले चार ठाउँमा “ठीक” चिन्ह लगाउनुभयो र एक ठाउँमा मात्र “बेठीक” चिन्ह लगाउनुभयो। यसको मतलब हुन्छ तपाईंले एउटा बाहेक सबै आज्ञाहरू पालन गर्नुभएको छ। तपाईं व्यवस्था पालन गर्ने व्यक्ति हुनुहुन्छ कि व्यवस्था भङ्ग गर्ने व्यक्ति? यसको जवाफ याकूब २:१० मा पाइन्छ – “किनकि जसकसैले ___________ ___________ पालन गर्दछ, तर पनि __________ कुरामा चुक्यो भने ऊ सबै कुरामा ________ ठहरिएको छ।”

याकुब २:१० को खास अर्थ के हो? मानौं त्यस्तो एउटा व्यक्ति छ जसले व्यवस्थाको एउटा बाहेक सबै आज्ञाहरू पालन गरेको छ। उसले एउटा आज्ञालाई भङ्ग गर्नु बाहेक व्यवस्थालाई सिद्धरूपमा पालन गरेको छ। याकूब २:१० ले भन्दछ, “ऊ सबै कुरामा _________ ठहरिएको छ।” उसले एउटा मात्रै आज्ञा भङ्ग गर्‍यो तरैपनि ऊ व्यवस्था भङ्ग गर्ने व्यक्ति नै हो!

मानौं एउटा बाबुले आफ्नो जवान छोरालाई यसरी काम अह्राएको छ: आँगन सरसफाइ गर्नू, साइकल पुछपाछ गर्नू, झ्यालका शिशाहरू साबुन-पानीले धुनू, फोहोर-मैला बाहिर लगरे जलाउनू। छोराले आँगन सरसफाइ गर्‍यो, साइकल पुछपाछ गर्‍यो, झ्यालका शिशाहरू साबुन-पानीले धोयो तर फहोर-मैलालाई बाहिर लगेन। उसले सबै गर्‍यो, तर एउटा गरेन। अब उसलाई आज्ञाकारी भनौं कि अनाज्ञाकारी? _______________। के उसले बाबुको आज्ञा नमानेकोले दोषी छ? ________। आंशिक आज्ञाकारिता बास्तवमा अनाज्ञाकारिता हो।

सातौं आज्ञाले भन्दछ, “व्यभिचार नगर्नू” (प्रस्थान २०:१४)। आज बढ्दो संख्यामा विवाहितहरू आफ्ना जीवन साथी प्रति अविश्वासयोग्य बनी व्यभिचार गर्ने भएका छन्। तर कसैले भन्ला, “म सधैं आफ्नी पत्‍नीप्रति विश्वासयोग्य रहेको छु; मैले कहिल्यै व्यभिचार गरेको छैन त्यसैले म यस आज्ञालाई उल्लङ्घन गर्ने दोषी होइन।” तर हेर्नुहोस् मत्ती ५:२७-२८ मा कसरी प्रभु येशूले यस आज्ञाको भावप्रति हाम्रो ध्यान आकर्षण गर्नुहुन्छ, “तिमीहरूले सुनेका छौ, पुराना समयकाहरूलाई यो भनिएको थियो, ‘तिमीले व्यभिचार नगर। तर म तिमीहरूलाई भन्दछु, जसकसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्छ, त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ।”

एकजना मिसनरीले प्रभुलाई चिन्नु अघि आफू स्कूलमा पढ्दै गर्दा घटेको एउटा साँचो घटना बताएका छन्। स्कूलको चमेना गृहमा आफ्ना साथीहरूसित बस्दै गर्दा एकजना विद्यार्थीसित कारणवश एउटा बाइबल रहेछ। टेबल वरिपरि थुप्रै केटाहरू थिए र त्यहाँ यस व्यक्ति पनि थिए जो पछि गएर मिसनरी बने। अनि त्यस युवकले बाइबललाई मत्ती ५:२८ (माथि उल्लेखित पद) मा पल्टाएका थिए र उनले टेबल वरिपरिका सबैलाई देखाउँदै थिए। एउटाले यस्तो टिप्पणी गर्‍यो: “यसअनुसार त हामी सबै दोषी छौं!” तिनीहरू एक-एकले आफूहरू खराब अभिलाषाको पापको दोषी छौं भनेर महसुस गरे! त्यस घडी उनीहरू कसैबाट पनि सुसमाचार सुन्न तयार थिए! तर, त्यस दृश्यको नजिक कुनै विश्वासी थिएन। तर परमेश्वरलाई धन्यवाद होस्, ती विद्यार्थीहरूमध्ये एकजनाले पछिबाट कलेज विद्यार्थीहरूका बीचमा सुसमाचार सुनाउने एक आत्मिक मिसनरी डनल्ड फुलर्टनबाट सुसमाचार सुने र मृत्युबाट जीवनमा सरे र ख्रीष्टको विश्वासयोग्य सेवक बने।

व्यवस्था भङ्ग गर्न एक व्यक्तिले कतिओटा आज्ञाहरू तोड्नुपर्छ? ________।

एउटै मात्र कडी टुटेको सिक्रीलाई विचार गर्नुहोस्। के उक्त सिक्री टुटेकै मानिन्छ? ____________। विचार गर्नुहोस् एक व्यक्तिलाई जसले हत्या गरेको छ तर व्यभिचार कहिल्यै गरेको छैन (हेर्नुहोस् याकूब २:११)। के उक्त व्यक्ति व्यवस्था भङ्ग गर्ने व्यक्ति हो? __________।

एउटा रबर ब्याण्ड (इलास्टिक) लाई विचार गरनुहोस्। त्यो कैंचीद्वारा दस ठाउँमा काटियो भने के त्यो टुक्रेको रबर ब्याण्ड मानिन्छ? ____________। त्यसलाई एउटै मात्र ठाउँमा काटियो भने के त्यो पनि टुक्रेकै रबर ब्याण्ड मानिन्छ? ____________।

विचार गर्नुहोस् एउटा मान्छेलाई जो एउटा पहराको डरलाग्दो भीरमा एउटा डोरीको भरमा जीवन र मृत्युको दोसाँधमा झुण्डिरहेको छ। मानौं पाँचओटा कागहरू आएर डोरीलाई पाँच ठाउँमा चुच्चोले ठुङ्न थालेछन्। अनि डोरी एकैचोटी पाँचैओटा ठाउँमा चुँडिन पुगेछ किनभने पाँचओटा कागहरूले डोरीलाई ठुँगेर एकैपटक चुँड्याएछन्। के त्यो मान्छे खसेर मर्नेछ? __________। मानौं एउटै मात्र कागले डोरीको एउटै मात्र ठाउँमा ठुङ्ने काम गर्‍यो। डोरी एउटै मात्र ठाउँमा चुँडियो भने के त्यो मान्छे खसेर मर्नेछ? __________। डोरी चुँडिन एउटै मात्र ठाउँमा चुँडिए पुग्छ!

के कसैले परमेश्वरको व्यवस्थालाई सिद्धरूपमा पालन गरेको छ? के कसैले दस आज्ञालाई पूरै पालन गरेको छ? के कसैले परमेश्वरका एक-एक आज्ञाहरूलाई सिद्धरूपमा पालन गरेको छ? यूहन्ना ७:१९ मा येशूले त्यसबेलाका धार्मिक अगुवाहरूलाई भन्नुभयो, “के मोशाले तिमीहरूलाई ___________ दिएनन् र? अनि तिमीहरूमध्ये ___________ _______ व्यवस्था __________ ___________।” उनीहरूमध्ये एउटैले पनि व्यवस्था पालन गरेको थिएन! उनीहरू सबै नै व्यवस्था भङ्ग गर्नेहरू थिए!

परमेश्वरको व्यवस्थालाई सिद्धरूपमा पालन गर्ने एउटै मात्र व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। यूहन्ना ७:१८ मा येशू ख्रीष्टको सन्दर्भमा यसरी भनिएको छ: “उनमा कुनै _________ छैन।” साथै १ पत्रुस २:२२ ले बताउँछ येशूले “कुनै _________ गर्नुभएन।” येशूले कहिल्यै कुनै व्यवस्था भङ्ग गर्नुभएन, एउटै पनि भङ्ग गर्नुभएन!

येशू पूर्ण रूपमा निर्दोषधर्मी हुनुहुन्थ्यो। तपाईं नि? रोमी ३:१९ अनुसार तपाईं निर्दोष हुनुहुन्छ कि दोषी हुनुहुन्छ? ____________।

के व्यवस्था खराब हो?

हामीले आफैलाई परमेश्वरको व्यवस्थाको मापदण्डले जाँच गर्यौं भने, हामीले हामी व्यवस्था भङ्ग गर्ने दोषीहरू हौं भनेर थाह पाउनेछौं। के यसको मतलब व्यवस्था खराब कुरा हो भन्ने हो? होइन, समस्या व्यवस्था होइन, समस्या त हामी हौं! “व्यवस्था __________ छ, र आज्ञा पनि __________, _______________ र __________ छ” (रोमी ७:१२)। व्यवस्था आफैमा कुनै समस्या छैन!

व्यवस्था स्वयम् परमेश्वरकै एक प्रतिबिम्ब हो। परमेश्वर पवित्रधर्मीअसल हुनुहुन्छ। त्यस्तै गरी परमेश्वरले मानिसलाई दिनुभएका व्यवस्थाहरू पनि पवित्रधर्मीअसल छन्। व्यवस्थाले परमेश्वरका धर्ममय मागहरू (righteous requirements) के के हुन् भनी देखाउँदछन्। समस्या के हो भने, पापी मानिस परमेश्वरको पवित्र व्यवस्थाको मागबमोजिम काम गर्न असमर्थ छ

फोहोर अनुहार लिएर ऐनाको सामु उभिरहनुभएको आफूलाई कल्पना गर्नुहोस्। तपाईंले भन्नुहोला, “यो ऐनालाई के भएको होला? यसले मेरो अनुहारमा फोहोर लागेको पो देखाउँछ!” ऐनालाई केही भएको छैन। खास समस्या तपाईंको फोहोर अनुहार हो। त्यस असल ऐनाले तपाईंको समस्या छ भनेर देखाउँछ। त्यसरी नै परमेश्वरको असल व्यवस्थाले पापी मानिसलाई उसको समस्या देखाउँदछ (रोमी ७:१४ पढ्नुहोस्—व्यवस्थामा समस्या छैन, समस्या ममा पो छ!)

२. व्यवस्था भङ्ग गरे बापतको दण्ड—मृत्यु

जाँचमा चोर्नेलाई त्यहाँ दण्ड हुन्छ। जथाभाबी गाडि वा मोटरसाइकल चलाउनेले पनि त्यहाँ जरिवाना तिर्नुपर्छ। परमेश्वरको व्यवस्थाहरूको सम्बन्धमा पनि यस्तै हुन्छ। परमेश्वरको व्यवस्थाहरूलाई भङ्ग गर्दा त्यहाँ जरिवाना तिरिनैपर्छ।

प्रस्थान २१ अध्यायलाई विचार गर्नुहोस् (दस आज्ञा भएको अध्यायको लगत्तै पछिको अध्याय)। पद १२,१५,१६,१७ अनुसार व्यवस्था भङ्ग गर्नेहरूलाई कुन दण्ड (सजायँ) तोकिएको छ? __________।

रोमी १:२९-३१ मा पापहरूको एउटा लामो सुची छ। यी तीनओटा पदहरूमा सुचित कुनै पापको सम्बन्धमा के तपाईं दोषी हुनुहुन्छ? ___________। पद ३२ मा हामी सिक्छौं त्यहाँ एउटा दण्ड छ: “यस्ता-यस्ता काम गर्नेहरू ________________ पाउन _____________ हुन्छन्।” यही कुरा हामी रोमी ६:२३ मा सिक्छौं, “__________को ज्याला ___________ हो।” व्यवस्था भङ्ग गर्नेहरू (पापीहरू) मृत्युदण्डको योग्य हुन्छन्। व्यवस्था भङ्ग गरेबापत दिइने दण्ड मृत्यु हो। मृत्यु भनेको परमेश्वरबाट अलग हुनु र परमेश्वरबाट दण्ड पाउनु हो (तुलना गर्नुहोस् २ थेस्सलोनिकी १:८-९; मत्ती २५:४१,४६)। व्यवस्था भङ्ग गर्ने दोषीहरू मृत्युदण्ड पाउन योग्य हुन्छन्।

गलाती ३:१० मा हामी सिक्छौं, व्यवस्था भङ्ग गर्ने दोषीहरू परमेश्वरको श्रापमनि छन्: “किनकि जतिजना _____________का कामहरूबाटका हुन्, तिनीहरू _________मनि छन्; किनकि लेखिएको छ: ‘व्यवस्थाको पुस्तकमा लेखिएका ______ कुराहरूमा तिनलाई पालन गर्नालाई लागिनरहने हरेक जन __________ होस्।’ यस पदले भन्दछ, परमेश्वरको व्यवस्थालाई सिद्धरूपमा पालन नगर्नेहरू परमेश्वरको श्रापमुनि छन्।

गलाती ३:१० लाई यसरी पनि व्यक्त गर्न सकिन्थ्यो: “व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूमा तिनलाई पालन गर्नालाई लागिरहने हरेक जन आशिषित होस्।” यसको मतलब परमेश्वरको व्यवस्थालाई सिद्धरूपमा (आफ्नो जीवनभरी हरेक दिन) पालन गर्ने व्यक्ति आशिषित हुन्छ। तर समस्या यस्तो छ: पापी नर र नारीहरू परमेश्वरको पवित्र व्यवस्थालाई सिद्धरूपमा पालन गर्नै सक्दैनन्। हामी सबैले पाप गरेका छौं र परमेश्वरको पवित्र व्यवस्थाले माग गरेबमोजिम गर्नलाई चुक्दछौं (तुलना गर्नुहोस् रोमी ३:२३)। यो आशिष पापी मानिसको पहुँचभन्दा पर छ। हामी व्यवस्था भङ्ग गर्ने पापीहरू भएका हुनाले परमेश्वरको श्राप हामीमाथि रहेको छ। हामीलाई कतै आशा छ त?

३. खुशीको खबर यही हो—ख्रीष्ट व्यवस्था भङ्ग गर्नेहरूका निम्ति मर्नुभयो।

येशू ख्रीष्टले पापी मानिसहरूलाई ___________को _______बाट बचाउनुभएको छ। “_______ निम्ति _______ बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ; किनकि लेखिएको छ: ‘हरेक जो रूखमा झुण्डिन्छ, त्यो श्रापित हो’ (गलाती ३:१३)।

समस्त पृथ्वीभरिका व्यवस्था भङ्ग गर्ने एक-एकलाई खुशी खबर छ! तपाईंलाई बचाउन येशू ख्रीष्ट संसारमा आउनुभयो (१ तिमोथी १:१५)। तपाईं आशिषित होस् भनेर उहाँ क्रूसमा श्रापित हुनुभयो। उहाँले तपाईंको निम्ति सो गरिदिनुभयो भनेर के तपाईं विश्वास गर्नुहुन्छ? के तपाईं धन्यवादी हुनुहुन्छ? ख्रीष्टले गरिदिनुभएको कामको कारणले परमेश्वरले मानिसहरूलाई अनन्त जीवनको दान लिन निम्तो दिनुहुन्छ (रोमी ६:२३)। के तपाईंले यस दानलाई ग्रहण गर्नुभयो?

४. अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ?

धनी जवान शासक (मत्ती १९:१६-२२)

मानौं कसैले तपाईंलाई यसरी प्रश्न गर्‍यो: “अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ?” (तुलना गर्नुहोस् मत्ती १९:१६)। यसको जवाफ तपाईंले कसरी दिनुहुनेथ्यो? बाइबल जान्नेले शायद यसरी जवाफ दिनेथ्यो, “अनन्त जीवन पाउनलाई तपाईंले येशूमा विश्वास गर्नुपर्छ” (हेर्नुहोस् यूहन्ना ६:४७ र यूहन्ना ३:१६)। तर त्यस धनी जवान शासकलाई येशूले दिनुभएको जवाफ यो थिएन। मत्ती १९:१७ मा येशूले भन्नुभयो, “तिमी जीवनमा पस्न चाहन्छौ भने ____________ _________ गर।” येशू अनुसार अनन्त जीवन व्यवस्था पालन गरेर प्राप्‍त गर्न सकिन्छ!

बास्तवमा दुवै जवाफहरू सत्य छन्। अनन्त जीवन प्राप्‍त गर्न त्यहाँ दुइटा उपायहरू छन्:

(१) एक व्यक्तिले परमेश्वरको व्यवस्थालाई सिद्धरूपमा आफ्नो जीवनभरी शुरू देखि अन्तसम्मै पालन गरेर अनन्त जीवन प्राप्‍त गर्न सक्दछ।

यो भयो व्यवस्थाद्वारा मुक्ति पाउने उपाय।

समस्या: यसो गर्न सक्ने प्रभु येशू ख्रीष्ट बाहेक अरू कोही छ होला? _________। पापी मानिसले परमेश्वरको पवित्र व्यवस्थालाई सिद्धरूपमा पालन गर्नु के सम्भव छ?

(२) एक व्यक्तिले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेर, उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरेर अनन्त जीवन प्राप्‍त गर्न सक्दछ।

यो भयो अनुग्रहद्वारा मुक्ति पाउने उपाय।

समाधान: यद्यपि परमेश्वरको पवित्र व्यवस्थाले सबैभन्दा असल मान्छेलाई समेत दोषी ठहर्याउँदछ, परमेश्वरको अनुग्रहले सबैभन्दा खराब मान्छेलाई समेत बचाउन सक्दछ यदि उसले येशूमा विश्वास गर्दछ भने।

अर्को शब्दमा भन्ने हो भने, स्वर्ग जाने त्यहाँ दुइटा उपायहरू छन्। एउटा उपाय हो, सिद्ध जीवन बिताउनु (परमेश्वरका सबै आज्ञाहरूलाई सिद्धरूपमा पालन गर्नु)। अर्को उपाय हो, पापीहरूलाई बचाउन आउनुभएको मुक्तिदातामाथि भरोसा गर्नु।

त्यस धनी जवानले व्यवस्था पालन गर्ने प्रायसले कहिल्यै मुक्ति पाउन सक्नेछैनन् भनी येशू जान्नुहुन्थ्यो। येशूले त्यस मानिसलाई उनी कति पापी छन् भनेर देखाउन चाहनुहुन्थ्यो। त्यस धनी जवानले आफू व्यवस्था पालन गर्ने व्यक्ति हुँ भनेर सोच्थ्यो कि व्यवस्था भङ्ग गर्ने व्यक्ति (मत्ती १९:१७-२०)? ________________________________________। तपाईंको विचारमा उनी त्यस्तै थिए त? ____________। त्यस जवान शासक, आफ्नै धर्म-कर्ममा भरोसा राख्‍ने, नैतिकता जीवन बिताउन खोज्ने व्यक्ति थिए। एकातिर उनका असल-असल कुराहरूका कारण उनी आफैद्वारा भ्रममा परेका थिए भने अर्कोतिर उनमा भएको खराबले उनलाई दण्डको योग्य बनाएको थियो। उनका असल-असल कुराहरूले उनलाई उनको खराबीलाई देख्नदेखि छेक्यो।

यस मानिस बास्तवमा व्यवस्था भङ्ग गर्ने दोषी नै थिए। सबैभन्दा ठूलो आज्ञा के हो याद छ तपाईंलाई (मत्ती २२:३६-३८)? के यस मानिसले आफ्नो सारा हृदयले परमेश्वरलाई प्रेम गर्थे? कि उनले आफ्नो सम्पत्तिलाई बढी प्रेम गर्थे (मत्ती १९:२१-२२)? ___________________________________। उनी सबैभन्दा ठूलो आज्ञालाई भङ्ग गर्ने दोषी थिए? ___________।

व्यवस्थाका एक गुरू (लूका १०:२५-२९)

लूका १०:२५ मा व्यवस्थाका यस गुरूले येशूलाई गरेका प्रश्नलाई विचार गर्नुहोस्, “गरुज्यू, ___________ _________को अधिकारी हुनलाई म के गरूँ?” येशूले यस व्यक्तिलाई आफैले आफ्नो प्रश्नको जवाफ दिन लगाउनुहुन्छ (हेर्नुहोस्, लूका १०:२६-२७)। यस मानिसले व्यवस्थाका सबैभन्दा ठूला दुई आज्ञाहरूलाई उद्धरण गर्दछन्: परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नु र आफ्नो छिमेकिलाई आफैलाई झैं प्रेम गर्नु। येशूले यस मानिसलाई भन्नुभयो: “यही _______, र तिमी ____________।” एक व्यक्तिले अनन्त जीवन पाउनलाई केवल दुइटा काम गर्नुपर्छ:

  1. उसले परमेश्वरलाई सिद्धरूपमा प्रेम गर्नुपर्छ।
  2. उसले आफ्नो छिमेकिलाई आफैलाई झैं प्रेम गर्नुपर्छ।

तर समस्या के हो भने येशू ख्रीष्ट एक मात्र व्यक्ति हुनुहुन्छ जसले यी दुई काम सिद्धरूपमा पालन गर्नुभएको छ। अरू सबै मानिसले परमेश्वरलाई सिद्धरूपमा प्रेम गर्न चुकेका छन् र अरूलाई सिद्धरूपमा प्रेम गर्न चुकेका छन्।

याद गर्नुहोस्, यदि हामीले सिद्धरूपमा व्यवस्थालाई पालन गर्ने सक्ने भएका भए हामीलाई मुक्तिदाताको दरकार पर्ने थिएन अनि ख्रीष्टको मृत्यु पनि आवश्यक हुने थिएन (हेर्नुहोस् गलाती २:२१)। केवल व्यवस्था भङ्ग गर्ने दोषीहरूलाई मात्रै मुक्तिदाताको आवश्यकता छ तर व्यवस्थालाई कहिल्यै भङ्ग नगर्ने धर्मीहरूलाई मुक्तिदाताको आवश्यकता पर्दैन। यस्ता धर्मीहरू कतिजना छन् (रोमी ३:१०)? ______________। तसर्थ हामीमध्ये कतिजनालाई मुक्तिदाताको आवश्यकता छ? ____________।

५. व्यवस्थाको उद्देश्य

व्यवस्थाको उद्देश्य रोमी ३:२० मा उल्लेख गरिएको छ, “यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन; किनकि ___________द्वारा ________ चिन्ने ________ हुन्छ।” यस पदले हामीलाई दुइटा महत्त्वपूर्ण सत्यताहरू सिकाउँदछ:

  1. व्यवस्थाको उद्देश्य एक व्यक्तिलाई मुक्ति दिनु (धर्मी ठहराउनु) होइन।
  2. व्यवस्थाको उद्देश्य एक व्यक्तिलाई उसको पाप देखाउनु हो (उसलाई उसको पापको बारेमा ज्ञान दिलाउनु हो) – तुलना गरनुहोस्, रोमी ७:७-१४।

फेरि विचार गर्नुहोस् फोहोर अनुहार भएको त्यस मानिसलाई जसले ऐनामा हेर्छ। त्यो फोहोर चाहिँ पाप जस्तै हो र ऐनाचाहिँ व्यवस्था जस्तै हो। ऐनाको उद्देश्य हो एक व्यक्तिलाई उसको फोहोरलाई देखाउनु! हामीले हाम्रो अनुहारलाई ऐनाले पक्कै पनि सफा गर्दैनौं! ऐनाले हामीलाई साबुन पानीले हाम्रो अनुहार धुनुपर्छ भनेर भन्छ, जसरी व्यवस्थाले हामीलाई हामीसित पाप छ र हाम्रा पापहरू धोइनुपर्छ भनेर भन्छ। व्यवस्थाले हामीलाई हाम्रा पापबाट धुन सक्दैन, त्यो काम केवल थुमाले मात्र सक्नुहुन्छ (यूहन्ना १:२९)। जसरी ऐनाले हामीलाई धारामा डोर्याउँछ त्यसरी नै व्यवस्थाले हामीलाई थुमातिर डोर्याउनु पर्छ।

एउटा पापी परमेश्वरको पवित्र व्यवस्थाको सामु जब खडा हुन्छ, उसले यति मात्र भन्न सक्छ, “म दोषी छु!” जब विश्वास गर्ने पापी येशू ख्रीष्टको सामु खडा हुन्छ, जसले यति मात्र भन्न सक्छ, “परमेश्वरको स्तुति होस्! म धोइएँ, मैले क्षमा पाएँ!” व्यवस्था जे गर्नै सक्दैनथ्यो, परमेश्वरले आफ्नै _______लाई पठाएर गर्नुभयो (रोमी ८:३)। थुमाका लागि परमेश्वरलाई स्तुति होस्!

व्यवस्थाले बचाउन सक्दैन तर त्यसले एक व्यक्तिलाई उसले मुक्ति पाउन खाँचो छ भनेर देखाउन भने सक्छ। व्यवस्थाले एक व्यक्तिलाई उसको पाप धुन सक्दैन, तर त्यसले उसलाई उसको पाप देखाउन भने सक्छ। ऐना आफूलाई धुनलाई प्रयोग गरिन सक्ने कुरा होइन, तर समस्या देख्नलाई त्यसले खुबै मदत भने गर्छ!

व्यवस्था पवित्र छ तर त्यसले एक व्यक्तिलाई पवित्र पार्न सक्दैन। त्यसले हामीलाई हामी कत्तिको अपवित्र छ भनेर देखाउन भने सक्छ। यसले हामीलाई शुद्ध पार्न सक्दैन।

६. प्रेमको व्यवस्था

मत्ती २२:३६-४० अनुसार सम्पूर्ण व्यवस्थालाई संक्षेपमा दुइटा आज्ञाहरूले व्यक्त गर्न सक्छ: परमेश्वरलाई प्रेम गर अनि आफ्नो छिमेकिलाई प्रेम गर। रोमी १३:८-१० पनि हेर्नुहोस्। यी पदहरूमा हामी देख्छौं, “प्रेम गर्नु नै व्यवस्था __________ गर्नु हो” (रोमी १३:१०)। यसको मतलब हो, जसले परमेश्वरलाई प्रेम गर्छआफ्नो छिमेकिलाई प्रेम गर्छ उसले व्यवस्थालाई पालन गर्दै छ, त्यसलाई पूरा गर्दै छ। ऊ व्यवस्था भङ्ग गर्ने होइन तर ऊ व्यवस्था पालन गर्ने हो।

फेरि दस आज्ञामध्ये केही आज्ञाहरूलाई विचार गर्नुहोस्। एक व्यक्तिले साँच्ची नै परमेश्वरलाई प्रेम गर्दछ भने के उसले कुनै अन्य देव-देवीलाई परमेश्वरको सट्टामा प्रतिस्थापन गर्नेछ (प्रस्थान २०:३)? ___________। यदि एक व्यक्तिले साँच्ची नै परमेश्वरलाई प्रेम गर्दछ भने, के उसले मूर्ति बनाउने वा मूर्तिलाई पूज्ने काम गर्नेछ (प्रस्थान २०:४-५)? ____________। यदि एक व्यक्तिले परमेश्वरलाई साँच्ची नै प्रेम गर्दछ भने, के उसले परमेश्वरको नाम व्यर्थमा लिनेछ (प्रस्थान २०:७)? ___________।

यदि एक व्यक्तिले आफ्नो छिमेकिलाई साँच्ची नै प्रेम गर्दछ भने के उसले उसको हत्या गर्नेछ (प्रस्थान २०:१३)? _____________। यदि एक व्यक्तिले आफ्नो छिमेकिलाई साँच्ची नै प्रेम गर्दछ भने के उसले उसबाट चोर्नेछ (प्रस्थान २०:१५)? ______________। सारा व्यवस्था एउटै शब्दमा पूरा हुँदछ—त्यो शब्द हो प्रेम (हेर्नुहोस् गलाती ५:१४)।

कुरा कति सजिलो सुनिन्छ! व्यवस्था पालन गर्नलाई हामीले केवल परमेश्वरलाई प्रेम गरे पुग्छ र आफ्नो छिमेकिलाई प्रेम गरे पुग्छ। भन्नलाई यो सजिलो छ तर गर्नलाई गाह्रो छ। बास्तवमा भन्ने हो भने यो गर्नलाई असम्भव नै छ! पापी नर र नारीहरू परमेश्वरको तरिकाले प्रमे गर्न असक्षम छन्। परमेश्वरले भन्नुहुन्छ कि त्यो उहाँको अपरिहार्य माग हो अनि उनीहरू यस्तो खालको प्रेमको एक छेउ पनि उत्पन्न गर्न सक्दैनन्!

जब परमेश्वरले एक व्यक्तिलाई बचाउनुहुन्छ तब उहाँले एउटा उदेकको काम गर्नुहुन्छ। परमेश्वर स्वयम् विश्वास गर्ने व्यक्तिको जीवनमा जिउन आउनुहुन्छ। गलाती २:२० मा हामी यी शब्दहरू पढ्छौं: “ख्रीष्ट ___________ जिउनुहुन्छ।” हामी आफैले कहिल्यै गर्न सक्ने थिएनौं, तर ख्रीष्ट हामीभित्र जिउनुहुन्छ। व्यवस्था दिने व्यक्ति (येशू ख्रीष्ट) मेरो हृदयमा बास गर्न आउनुभएको छ। उहाँ नै एक मात्र व्यक्ति हुनुहुन्छ जसले व्यवस्थालाई सिद्धरूपमा पालन गर्नुभयो। म परमेश्वरलाई र छिमेकिलाई प्रेम गर्न सक्दिन तर यो सम्भव गराउन ख्रीष्ट मभित्र जिउनुहुन्छ!

गलाती ५:२२ मा हामी यो पढ्छौं: “आत्माको __________ हो, _______।” मैले प्रेम उत्पन्न गर्न सक्दिन, तर मभित्र हुनुहुने परमेश्वरले सक्नुहुन्छ! म ___________ मा हिँड्नुपर्छ (गलाती ५:१६) र प्रभुसित ठीक सम्बन्धमा हुनुपर्छ। पवित्र आत्मा हाम्रो हृदयमा बास गर्नुहुन्छ, हामी आफैमा असम्भव कुराहरू सम्भव गराउन। तलका हरफ जन बन्यनका हुन् भनिन्छ (अङ्ग्रेजीबाट अनुवादित):

दौड न दौड, व्यवस्थाले भन्छ
तर दिन्छ मलाई न खुट्टा न हात
झन् सुन्दर खबर सुसमाचारको छ
उड भन्छ र
पखेटा दिन्छ!

के तपाईंले मुक्ति पाउनुभयो? के तपाईंको हृदयमा पवित्र आत्माले बास गर्दै हुनुहुन्छ? के परमेश्वरले तपाईंलाई असम्भव गर्न सक्ने तुल्याउनुभएको छ? के पवित्र आत्माले तपाईंको जीवनमा गलाती ५:२२-२३ मा उल्लेखित फल उत्पन्न गर्दै हुनुहुन्छ? कि गर्दैहुनुहुन्छ वा गर्दैहुनुहुन्न?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email