अनुग्रहको प्रबन्ध

अनुग्रहको प्रबन्ध

 

अब हामी छैटौं प्रबन्धको अध्ययन गर्न तयार छौं जुन प्रबन्धको प्रारम्भ ख्रीष्टको मृत्यु र बौरिउठाइ पछि भयो र ख्रीष्टको दोस्रो आगमन नआएसम्म जारी रहनेछ। अघिल्ला पाठहरूमा हामीले बिगतका प्रबन्धहरूलाई अध्ययन गर्यौं तर अब हामी वर्तमानको प्रबन्धलाई अध्ययन गर्नेछौं जसलाई अनुग्रहको प्रबन्ध (DISPENSATION OF GRACE) भनिन्छ। हामी आज यही प्रबन्धअन्तर्गत जिइरहेका छौं। ठीक व्यक्तिलाई ठीक प्रबन्धसित जोडा मिलाउनुहोस्:

  1. ______ निर्दोषताको प्रबन्ध
  2. ______ विवेकको प्रबन्ध
  3. ______ मानवीय शासनको प्रबन्ध
  4. ______ प्रतिज्ञाको प्रबन्ध
  5. ______ व्यवस्थाको प्रबन्ध
  6. ______ अनुग्रहको प्रबन्ध
क – अब्राहाम
ख – नूह (जलप्रलय पछि)
ग – तपाईं र तपाईंका परिवार
घ – आदम (पतन अघि)
ङ – कयिन र हाबिल
च – दाऊद र दनियल

पावलले वर्तमान प्रबन्ध (भण्डारीपन) लाई एफेसी ३:२ मा उल्लेख गरेका छन् – “यदि तिमीहरूले परमेश्वरको _____________को ____________को विषयमा सुनेका छौ भने, जो तिमीहरूका निम्ति मलाई दिइएको छ।” प्ररित पत्रुसले पनि १ पत्रुस ४:१० मा यस महत्त्वपूर्ण भण्डारीपनको उल्लेख गर्छन् – “हरेकले पाएको वरदानअनुसार, परमेश्वरका नाना प्रकारका ___________का ________________झैं तिमीहरूले त्यो वरदान एक-अर्काको सेवामा लगाओ।”

परमेश्वरले अब्राहामलाई विशेष प्रतिज्ञाहरू दिनुभयो। परमेश्वरले मोशालाई आफ्नो पवित्र व्यवस्था दिनभयो। आज प्रभुले विश्वासी जनहरूलाई परमेश्वरको अनुग्रहको विशेष ज्ञान दिनुभएको छ। वर्तमान प्रबन्धमा परमेश्वरले आफ्नो अनुग्रहलाई विशेष प्रकारले प्रकट गर्दै हुनुहुन्छ। सधैंदेखि नै परमेश्वर अनुग्रही परमेश्वर नै हुनुहुन्छ। परमेश्वर आदम र हव्वाप्रति अनुग्रही हुनुहुन्थ्यो जब उहाँले उनीहरूलाई छालाका वस्त्रहरूको प्रबन्ध गरिदिनुभयो (उत्पत्ति ३:२१)। परमेश्वर नूहप्रति अनुग्रही हुनुहुन्थ्यो (उत्पत्ति ६:८) र परमेश्वर सारा पृथ्वीप्रति अनुग्रही हुनुहुन्थ्यो जब उहाँले जलप्रलय फेरि कहिल्यै नपठाउने प्रतिज्ञा दिनुभयो (उत्पत्ति ९:११)। परमेश्वर अब्राहाम र मोशा र दाऊद र बप्‍तिस्मा दिने यूहन्ना प्रति अनुग्रही हुनुहुन्थ्यो। तर परमेश्वरको अनुग्रह आज सबभन्दा प्रस्टसित देखिन्छ। विगतका युग (समय) हरूमा परमेश्वरको अनुग्रह एउटा खोलाजस्तै थियो। खोला सधैंदेखि नै त्यहाँ थियो अनि त्यो सदैव बगिरहेकै थियो र परमेश्वरको अनुग्रहको पानी प्रत्येक युगमा देख्न सकिन्थ्यो। तरैपनि आज परमेश्वरको अनुग्रहको खोला एउटा विशाल नदी बनेको छ र यसले किनारहरूलाई वारपार ढाकेको छ। आज परमेश्वरको अनुग्रह बगिरहेको मात्र छैन तर वारपार ढाकेर बगिरहेको छ। परमेश्वरको अनुग्रह प्रशस्त मात्र भएको छैन तर ज्यादै प्रशस्त भएको छ! आज हाम्रो प्रभुको अनुग्रह “सा____ प्र__________” छ (१ तिमोथी १:१४)।

एउटा सानो खोलो देखेर हामी त्यसको विचार प्रायः त्यति गर्दैनौं। जब खोला बढेर किनारहरूलाई वारपार ढाकेर बग्दछ त्यतिखेर हामी त्यसको विचार गर्न बाध्य हुन्छौं। आज परमेश्वरको अनुग्रह किनारहरूलाई वारपार ढाकेर बगिरहेको छ र परमेश्वर कति अनुग्रही हुनुहुन्छ भनेर मानिसहरूले विचार गरेको उहाँ चाहनुहुन्छ। विगतको करिब २००० वर्ष यता, परमेश्वरले आफ्नो अनुग्रहलाई प्रदर्शन गर्दै आउनुभएको छ।

जीवित परमेश्वर आफूलाई प्रकट गर्न रूचाउनुहुन्छ। यही नै हो परमेश्वरको उद्देश्य – कुनै पनि युगमा, प्रत्येक युगमा। इजकिएलको पुस्तकमा हामी घरीघरी यी शब्दहरू भेट्छौं, “तब तिनीहरूले म नै ___________ हुँ भनेर ____________” (हेर्नुहोस् इजकिएल २८:२२,२३,२४,२६, आदि)। आफू को हुँ भनेर प्रकट गर्न र देखाउन परमेश्वर रुचाउनुहुन्छ! विभिन्न समयमा विभिन्न तरिकाले परमेश्वरले आफूलाई प्रकट गर्ने क्रम नै इतिहासको कहानी हो।

केही उदाहरणहरू

नूहका समयमा परमेश्वरले आफू पापलाई घृणा गर्ने, इन्साफ गर्ने परमेश्वर हुँ भन्ने कुरा प्रकट गर्नुभयो (उहाँले जलप्रलय पठाउनुभयो!)

अब्राहामको समयमा परमेश्वरले आफू आफ्नो प्रतिज्ञालाई नतोड्ने विश्वासयोग्य परमेश्वर हुँ भन्ने कुरा देखाउनुभयो।

यूसुफको समयमा परमेश्वरले आफू सबै कुरा मिलाएर आफ्ना जनहरूका निम्ति भलाइ उत्पन्न गराउन सक्ने एक सार्वभौम परमेश्वर हुँ भन्ने कुरा देखाउनुभयो (उत्पत्ति ५०:२०)।

लाल समुद्रमा परमेश्वरले आफ्नो सामर्थ्य र उद्धार देखाउनुभयो।

मोशालाई व्यवस्था दिइँदा परमेश्वरको पवित्रता प्रकट भयो।

इतिहासको पन्नै पिच्छे परमेश्वरले आफूलाई प्रदर्शनी गर्दै हुनुहुन्छ र आफू को हुँ भनेर प्रकट गर्दै हुनुहुन्छ।

आफू को हुँ भनेर मानिस र स्वर्गदूतहरूलाई प्रकट गर्नु आज पनि परमेश्वरको उद्देश्य रहेको छ। नयाँ नियमले देखाउँछ। नयाँ नियमले यो देखाउँछ कि आज परमेश्वर विशेष गरी “उहाँको ____________को महिमा” (एफेसी १:६) र त्यसको धन प्रकट गर्न इच्छुक हुनुहुन्छ। जीवित परमेश्वर आफ्नो अचम्मको अनुग्रहलाई प्रदर्शनी गर्न चाहनुहुन्छ। परमेश्वरले अनुग्रहको खोलो बगाउँदै हुनुहुन्छ र मानिसहरूको ध्यान त्यसप्रति आकर्षित भएको चाहनुहुन्छ।

अनुग्रह के हो?

अनुग्रह एउटा महत्त्वपूर्ण शब्द हो र हामीले यसको अर्थ बुझ्नुपर्छ। परमेश्वरको अनुग्रह भन्नाले “परमेश्वरको निगाह” भन्ने बुझिन्छ। यसलाई परमेश्वरको “अनार्जित निगाह” (unmerited favor) भनेर परिभाषित गरिएको छ (मानिसप्रति परमेश्वरको त्यो निगाह जसको लायक मानिस थिएन अथवा कुनै पनि हिसाबले मानिसले त्यसलाई आर्जन गरेको वा कमाएको थिएन)। अनुग्रह भन्ने शब्द “पाउन- नालायक दया” (undeserved kindness) भनेर पनि परिभाषित गरिएको छ (अथवा परमेश्वरको त्यो अचम्मको प्रेम र दया, तिनीहरूप्रति जसको लायक तिनीहरू छँदै छैनन्)।

बाइबलले अनुग्रहको दुइटा सरल परिभाषाहरू दिएको छ:

१. एफेसी २:७ (सिलसिला छ, परमेश्वरको अनुग्रहकै, पद ७ र ८)

अनुग्रह भनेको “__________ ________मा हामीप्रति भएको उहाँ (परमेश्वर) को _______” हो (एफेसी २:७)।

येशू ख्रीष्टको कारण परमेश्वर अपराध र पापहरूमा मरेकाहरू प्रति समेत दयालु हुन सक्नुहुन्छ (एफेसी २:१-३)!

२. तीतस ३:४ (सिलसिला छ, परमेश्वरको अनुग्रहकै, तीतस २:११; ३:७)

अनुग्रह भनेको “हाम्रा ____________ परमेश्वरका _______ र __________प्रतिको ________” हो।

परमेश्वर मानिसप्रति दयालु हुनुहुन्छ (तीतस ३:३ मा बयान गरिएको जस्तो मानिसप्रति समेत)! जोहरू दया पाउन लायक नै थिएनन् तिनीहरू प्रति परमेश्वर कति अनुग्रही हुनुहुन्छ!

मेपीबोशेतप्रति राजा दाऊदले गरेको व्यवहारले परमेश्वरको अनुग्रहको सुन्दर चित्रण गर्दछ। यो हामी २ शमूएल अध्याय ९ मा पढ्न सक्छौं। के राजा दाऊद मेपीबोशेतप्रति दयालु व्यवहार गरे (पद ७ र १३)? _________। के मेपीबोशेतले आफूलाई त्यस्तो दयाको योग्य ठाने (पद ८)? ___________। दाऊद मेपीबोशेतप्रति मेपीबोशेतकै कारण दायालु थिए कि अरू कसैको कारण (पद ७)? __________ ________________। त्यसरी नै परमेश्वर हामीप्रति हाम्रै कारणले नभएर येशू ख्रीष्टको कारण दयालु हुनुहुन्छ (एफेसी ४:३२ – परमेश्वरले “_______मा तिमीहरूलाई क्षमा गर्नुभएको छ”)।

परमेश्वरको अनुग्रह (GRACE) लाई यसरी पनि व्यक्त गर्न सकिन्छ: “ख्रीष्टको खर्चले मिलेका परमेश्वरका धनहरू” (God’s Riches At Christ’s Expense)।

यसलाई हामी सबभन्दा प्रस्टसँग २ कोरिन्थी ८:९ मा देख्छौं – “किनकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको ___________ जान्दछौ – उहाँको गरिबीद्वारा तिमीहरू ____________ होओ भनेर उहाँ ____________ भएर पनि तिमीहरूका निम्ति __________ हुनुभयो।”

ख्रीष्टको खर्चले (“तिमीहरूका निम्ति गरिब हुनुभयो”; हाम्रो निम्ति क्रूसमा मर्नुभयो) परमेश्वरका धनहरू (“तिमीहरू धनवान् होओ भनेर”)।

कलवरीको क्रूसले मात्रै परमेश्वरको अनुग्रहको मूल फुटाउन सक्थ्यो। ख्रीष्ट क्रूसमा मर्नुभएको हुनाले परमेश्वरको प्रशस्त अनुग्रह पापीहरूमाथि खन्याइन सम्भव भयो। ख्रीष्ट क्रूसमा नमर्नुभएको भए परमेश्वर हामीप्रति दयालु र अनुग्रही बन्न सक्नुहुनेथिएन। बरु परमेश्वरले हामीलाई हाम्रा पापहरूका निम्ति इन्साफ गर्नुपर्ने थियो र हामी प्रत्येकलाई अग्निकुण्डमा पठानुपर्ने हुन्थ्यो। खुशीको खबर यो हो कि येशू हाम्रा निम्ति मर्नुभयो र उहाँले पापको दण्ड पूरै तिरिदिनुभयो भनी परमेश्वर पूर्ण रूपममा सन्तुष्ट हुनुहुन्छ।। त्यसैले आफ्नो अनुग्रह र दया उहाँको पुत्रमाथि विश्वास गर्नेहरूमाथि सित्तैंमा खन्याउन परमेश्वर स्वतन्त्र हुनुहुन्छ।

मैले पाउनुपर्ने त यो हो

तर येशू ख्रीष्टले मेरो निम्ति गरिदिनुभएको चाहिँ यो हो

(उहाँले आफैमाथि मेरो दण्ड लिनुभयो र उहाँले मेरो स्थान लिनुभयो)

ख्रीष्टले क्रूसमा जे गरिदिनुभयो, त्यसको कारण, परमेश्वर आफ्नो अनुग्रह ममाथि खन्याउन स्वतन्त्र हुनुहुन्छ 

१. प्रारम्भमा मानिसको अवस्था

अनुग्रहको प्रबन्धको प्रारम्भमा हामी पाप त्यसको चरमबिन्दुमा पुगेको देख्छौं। अधिकांश यहूदी जातिहरूले आफ्नो मुक्तिदाता र मसीहलाई अस्वीकार गरेका थिए: “उहाँ आफ्नैकहाँ आउनुभयो र उहाँका आफ्नैले (यहूदी जातिले) उहाँलाई _________ गरेनन्” (यूहन्ना १:११)। तिनीहरू आफ्नै अविश्वासले अन्धा पारिएका थिए। अन्तमा उनीहरूले यसो भन्दै चिच्याए, “त्यसलाई क्रूसमा टाँग!” मानिस पापको गगिराइमा पुगेको थियो अनि पापको अन्धकार यसभन्दा अँध्यारो हुने ठाउँ थिएन। मानिसले आफ्नो दुष्टता अन्त्यन्तै महान् छ भनेर प्रमाणित गर्‍यो तर परमेश्वरले यसैलाई आफ्नो अनुग्रह त्यसभन्दा पनि महान् छ भनेर प्रमाणित गर्न मौका लिनुभयो!

परमेश्वरको अनुग्रह मानिसको पापभन्दा अत्यन्तै महान् छ। यो हामी रोमी ५:२० मा देख्छौं – “अनि अपराध ___________ होस् भनेर व्यवस्था आयो।” यसको मतलब व्यवस्थाले पाप कति नराम्रो छ भनेर देखाउँछ। व्यवस्था एउटा लेन्स जस्तै हो जसले पापलाई त्यसको बास्तविक रूपला झन् झन् देखाइदिन्छ। यसबारेमा हामीले व्यवस्थाको अध्ययन गर्दा सिक्यौं (यस अध्ययन मालामा पाठ ७ र ८)। व्यवस्था त्यो ऐना हो जसले मानिसलाई ऊ बास्तवमा कति पापी र फोहोरी छ भनेर देखाइदिन्छ। अब रोमी ५:२० को अन्तिम भागलाई पढौं – “तर जहाँ ________ प्रशस्त भयो, त्यहाँ __________ झन् बढी प्रशस्त भयो।” पाप प्रशस्त भयो तर अनुग्रह झन् प्रशस्त भयो!नअ

मानिसको पापले परमेश्वरलाई आफू बास्तवमा कति अनुग्रही छु भनेर देखाउन एउटा सुन्दर मौका दियो।

एउटा बहुमूल्य पत्थर अथवा मणीको विचार गर्नुहोस्। उक्त बहुमूल्य पत्थरको सुन्दरता र रंगलाई साँच्ची नै देख्न सक्न ठीक खालको पृष्टभूमिको छनोट गर्नुपर्ने हुन्छ। एक खालको पृष्टभूमिले भन्दा अर्को खालको पृष्टभूमिले त्यस पत्थरलाई हेर्न बढी मदत पुर्याउँछ। आफ्नो अनुग्रहको चम्किला रंगहरू प्रस्ट देखाउन परमेश्वरले पापको कालो पृष्टभूमिलाई रोज्नुभएको छ। परमेश्वर आफ्नो अनुग्रहलाई प्रदर्शन गर्न चाहनुहुन्छ। उहाँको अनुग्रह मानिसको पापभन्दा महान छ भनेर उहाँले प्रकट गर्न चाहनुहुन्छ! हामी महा पापीहरू हौं तर हाम्रा निम्ति अझै महान् मुक्तिदाता हुनुहुन्छ! जब पाप सबभन्दा चरमबिन्दुमा थियो तब परमेश्वरले आफ्नो अनुग्रह “झन् प्रशस्त” छ भनेर देखाउन थाल्नु भयो (रोमी ५:२०)।

यहूदी जातिले आफ्नै मसीहलाई क्रूसमा टँगाएपछि परमेश्वरले के गर्नुभयो? जब पापले आफ्नो कुरुपता साँच्ची नै प्रकट गर्‍यो (जब मानिसले परमेश्वरको पुत्र र परमेश्वरको मुक्तिलाई ग्रहण गर्न अस्वीकार गर्‍यो), परमेश्वरले के गर्नुभयो? के उहाँले संसारलाई नष्ट गर्नुभयो? के उहाँले सबैलाई इन्साफ गर्नुभयो? अहँ, परमेश्वरले बरु एउटा अचम्मको काम गर्नुभयो। परमेश्वरले सबै ठाउँमा सबै मानिसहरूलाई निम्तो गर्न थाल्नुभयो। अधिकांश यहूदीहरू मुक्तिदाताकहाँ आउन चाहँदैनथे त्यसैले परमेश्वरले सबै मानिसहरूलाई निम्तो गर्न थाल्नुभयो र भन्नुभयो, “जसले चाहन्छ, उसले सित्तैंमा ___________को ________ लेओस्”(प्रकाश २२:१७)। संसार पापले अँध्यारो भएको थियो त्यसैले परमेश्वरले संसारमा अनुग्रहले ढाक्ने निर्णय गर्नुभयो। “किनकि मुक्ति ल्याउने परमेश्वरको __________ ______ ______________कहाँ देखा परेको छ (तीतस २:११)। परमेश्वर सबैलाई भेट्टाउन र समेट्न चाहनुहुँदैथियो!

परमेश्वरको अनुग्रहको अच्म्मको प्रशस्तता यूहन्ना १:१६-१७ मा पनि देखिन्छ: “अनि उहाँ (येशू ख्रीष्ट) कै परिपूर्णताबाट हामी सबैले पाएका छौं, अनि ___________माथि ___________।” “अनुग्रहमाथि अनुग्रह” को अर्थ हो “अनुग्रहको सट्टा अनुग्रह” जसरी समुद्रको किनारमा पानीको एक छालमाथि अर्को छाल वा छालको सट्टा छाल उर्लेर आउँदछ। परमेश्वरको अनुग्रह समुद्रका छालहरू जस्तै हुन्छ। अनुग्रहको एउटा छालमाथि अर्को छाल आउने क्रममा उहाँको अनुग्रह कहिल्यै रित्तिदैन: “किनभने _________द्वारा व्यवस्था दिइएको थियो, तर ___________ र सत्यताचाहिँ ________ ________द्वारा आए” (यूहन्ना १:१७)। मोशा व्यवस्था-दाता थिए; येशू ख्रीष्ट अनुग्रह-दाता हुनुहुन्छ! परमेश्वरले हामीलाई अनग्रह मात्र दिनुहुन्न, उहाँले “___________ र धार्मिकताको दानको प्रशस्ता” दिनुहुन्छ (रोमी ५:१७)! परमेश्वरले यो अनुग्रह सबै मानिसहरूलाई प्रदान गर्नुहुन्छ, चाहे उनीहरू यहूदीहरू हुन् या अन्यजाति!

पवित्र परमेश्वरका सामु मानिसको अवस्था

आज मानिसहरूले आफूलाई परमेश्वरको सामु आफ्नो बास्तविक अवस्थालाई देख्न खाँचो छ। तिनीहरूले आफूहरूलाई परमेश्वरले देख्‍नुभए जस्तै देख्‍नु खाँचो छ। निम्न जोडा मोलाउने अभ्यास पूरा गर्नुहोस्:

  1. ______ लूका १९:१०
  2. ______ रोमी ३:१०
  3. ______ रोमी ३:१२
  4. ______ रोमी ३:१९
  5. ______ रोमी ३:२३
  6. ______ एफेसी २:१
  7. ______ एफेसी २:२
  8. ______ एफेसी २:३
क – परमेश्वरको सामु दोषी
ख – आज्ञा नमान्ने सन्तान
ग – क्रोधको सन्तान
घ – हराएको
ङ – पापहरूमा मरेको
च – असल छैन
छ – धर्मी छैन
ज – पापी!

यस्तो अवस्थामा रहेका मानिसहरूप्रति के परमेश्वर अनुग्रही हुन सक्नुहुन्छ? निश्चय पनि! ख्रीष्ट येशू पापीहरूलाई __________ दिनालाई संसारमा आउनुभयो” (१ तिमोथी १:१५)। ख्रीष्ट पापीहरूका लागि मर्नुभयो अनि परमेश्वर पापीहरू प्रति अनुग्रही हुन चाहनुहुन्छ। परमेश्वरसँग एउटा सित्तैंको उपहार (वरदान) छ र त्यसलाई उहाँ सबै मानिसलाई दिन चाहनुहुन्छ! त्यो उपहार के हो (रोमी ६:२३; दाँज्नुहोस् रोमी ५:१५,१६,१७,१८)? ______________________। के उक्त उपहारलाई मानिसले कमाउनुपर्छ वा त्यसका लागि उसले तिर्नुपर्छ कि त्यो सित्तैंमा दिइएको छ (रोमी ५:१५)? ___________________________________।

२. मानिसको जिम्मेवारी

मुक्ति नपाएकाहरूको जिम्मेवारी

यदि एकजना अरबपतिको हातमा रू ७,५०,००,००० छ र त्यो पैसा तपाईंलाई दिनलाई उनले आफ्नो हात पसारे भने, तपाईं के गर्नुहुनेछ? के तपाईंले त्यो लिनुहुनेछ? के तपाईंले उक्त उपहारलाई स्वीकार गर्नुहुनेछ? कि तपाईं त्यो पैसा लिन अस्वीकार गरी एकातिर लाग्नुहुनेछ? परमेश्वरसँग एउटा उपहार छ जुनचाहिँ रू ७,५०,००,००० भन्दा बढी मूल्यको छ। “परमेश्वरको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा ___________ ____________ हो” (रोमी ६:२३)। योचाहिँ परमेश्वरको अनुग्रहको उपहार हो अनि यस उपहारलाई परमेश्वरले सबै मानिसहरूलाई प्रदान गर्नुहुन्छ।

उदेकको, असीमित, अतुलनीय अनुग्रह
विश्वास गर्ने सबलाई सित्तैंमा छ;
उहाँलाई हेर्न तृष्णा गर्नेहरूहो
अहिले नै उहाँको अनुग्रह लिनुछ।

– जुलिया जन्स्टन्

परमेश्वरले आफ्नो उपहार कसैमाथि लाद्ननुहुन्न। यसलाई लिन अस्वीकार गर्नेहरूसित उक्त उपहार छैन। परमेश्वरले यसलाई सबैलाई प्रदान गर्नुभएको छ तर सबैले यसलाई ग्रहण गर्दैनन्।

परमेश्वरबाटको अनन्त जीवनको उपहार ग्रहण गर्ने एउटै मात्र तरिका छ। एक व्यक्तिले येशू ख्रीष्टलाई उहाँको नाममा विश्वास गरी आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ (यूहन्ना १:१२)। यूहन्ना ३:१६,१८,३६ अनुसार आज मानिसको जिम्मेवारी के हो? __________________________________ । मुक्ति नपाएकाहरूलाई आज परमेश्वरको के आज्ञा छ (१ यूहन्ना ३:२३ को पहिलो भाग)? ____________ _______________________________। के तपाईंले यस आज्ञालाई पालन गर्नुभयो? ___________। के तपाईंले परमेश्वरको सित्तैंको उपहारलाई ग्रहण गर्नुभयो? __________। परमेश्वर पापीहरू प्रति कत्तिको अनुग्रही बन्न सक्नुहुन्छ भनेर के तपाईंले पत्ता लगाउनुभयो? __________?

मुक्ति पाएकाहरूको जिम्मेवारी

जीवित परमेश्वर आफ्नो अनुग्रहलाई प्रदर्शन गर्न चाहनुहुन्छ! उहाँ कति अनुग्रही हुनुहुन्छ भन्ने कुरा मानिसहरू र स्वर्गदूतहरूले देखेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरको अनुग्रह क्रियाशील भएको देख्न सक्न तपाईंले कहाँ हेर्नुपर्छ? पर्वतमा? आकाशका ताराहरूमा? समुद्रमा? होइन, परमेश्वरको अनुग्रह क्रियाशील भएको देख्न तपाईंले अनुग्रहले बचाइएका पापीहरूलाई हेर्नुपर्छ!

प्रत्येक विश्वासी परमेश्वरको अनुग्रहको “प्रदर्शन सामाग्री” हो! तपाईं संग्राहलयमा जानुभयो भने तपाईंले थुप्रै “प्रदर्शन सामाग्रीहरू” भेट्टाउनुहुन्छ। विश्वासी जनहरू कुनै संग्राहलयमा थुनेर राखिएका त छैनन्, तर तिनीहरू संसारमा परमेश्वरको अनुग्रहको जिउँदो प्रदर्शन सामाग्रीहरूका रूपमा हिँडिरहेका छन्। यो वर्तमान समयको लागि मात्र सत्य नभएर आउनेवाला युगहरूमा पनि सत्य हुनेछ: “ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने _____________मा उहाँको _____________को अपार धन देखाउनाका निम्ति” (एफेसी २:७)। परमेश्वरको अनुग्रहको प्रदर्शन-सामाग्रीहरू हुन पाउनु हाम्रो अहोभाग्य हो, हालको लागि मात्र नभएर अनन्त अनन्त युगहरूसम्म।

साथै परमेश्वरले आफ्नो अनुग्रहको बारेमा स्वर्गदूतहरूलाई सिकाउनका निम्ति हामी विश्वासी जनहरूलाई प्रयोग गर्नुहुन्छ। यसको बारेमा हामी एफेसी ३:१० मा सिक्दछौं (“प्रधानहरू र अधिकारीहरू” ले स्वर्गदूतहरूलाई जनाउँछन्)। यस पदले हामीलाई निम्न कुरा सिकाउँछ:

विश्व-ब्रम्हाण्डचाहिँ पाठशाला हो
परमेश्वर शिक्षक हुनुहुन्छ
स्वर्गदूतहरू विद्यार्थीहरू हुन्
परमेश्वरको बुद्धि र अनुग्रह विषयवस्तु हो।

आफ्नो अचम्मको बुद्धि र अनुग्रहको बारेमा स्वर्गदूतहरूलाई सिकाउन परमेश्वरले देखाउने दृश्य साधन म__________ (विश्वासी जनहरू) – हेर्नुहोस् एफेसी ३:१०)।

 

स्वर्गदूतहरू छक्क पर्छन्, परमेश्वर तपाईं र मजस्ता पापीहरूलाई गर्नुभएको अनुग्रह देखेर!

पावल प्रेरितले आफ्नै जीवनमा परमेश्वरको अनुग्रहको बारेमा धेरै थाह पाएका थिए (१ कोरिन्थी १५:१०)। के पावल एक महा पापी थिए (१ तिमोथी १:१३-१५)? ___________। के पावलसँग उनको पापभन्दा पनि महान् मुक्तिदाता हुनुहुन्थ्यो (१ तिमोथी १:१५)? ______________। परमेश्वर पावलसित अति सहनशील (रिसाउनमा ढीलो) हुनुभयो र पावलसित अनुग्रहको व्यवहार गर्नुभयो (हेर्नुहोस् १ तिमोथी १:१६)। १ तिमोथी १:१६ मा पावल यसो भन्दैथिए: “परमेश्वरले ममा आफ्नो अनुग्रह र सहनशीलता प्रकट गर्ने काम गर्दैहुनुहुन्छ। म परमेश्वरको सहनशीलताको प्रदर्शन-सामाग्री हुँ। जुन परमेश्वर मप्रति यस्तो अनुग्रही र सहनशील बन्नुभयो त्यही परमेश्वर तपाईंहरू प्रति अनुग्रही र सहनशील बन्न इच्छुक हुनुहुन्छ!”

प्रत्येक विश्वासी जनले पावलले जस्तै भन्न सक्नुपर्छ! मुक्ति नपाएकाहरूका लागि हाम्रो सन्देश यो हो: ‘यदि परमेश्वर मप्रति अनुग्रही बन्न सक्नुभयो भने परमेश्वर तपाईंप्रति पनि अनुग्रही बन्न सक्नुहुन्छ! यदि परमेश्वरले मजस्तो पापीलाई बचाउन सक्नुभयो भने निश्चय पनि परमेश्वरले तपाईंजस्तो पापीलाई बचाउन सक्नुहुन्छ! परमेश्वर अनुग्रही हुनुहुन्छ र उहाँले पापीहरूलाई बचाउन सक्नुहुन्छ भन्ने एउटा जिउँदो प्रमाण म हुँ!”

विश्वासी जन भएर मेरो जिम्मेवारी के हो? यहाँ मैले गर्नुपर्ने चारओटा कुराहरू छन्:

१. म परमेश्वरको अनुग्रहमा ला___________पर्छ (प्रेरित १३:४३)।

परमेश्वरले मलाई आफ्नो अनुग्रहले बचाउनुभयो जब मैले उहाँको पुत्रमा आफ्नो भरोसा राखें। म अनुग्रहमा नै लगातार जिउनुपर्छ (परमेश्वर सर्वेसर्वा हुनुहुन्छ र म केही होइन भन्ने कुरा महसुस गर्दै)। मेरो ख्रीष्टियन जीवनभरि म परमेश्वरको पुत्रमाथि भरोसा गरिरहनुपर्छ। “ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु, त्यो अनुग्रह साङला सरी बाँधोस् चंचल मन मेरो!” म अनुग्रले मुक्ति पाएको मात्र होइन, म मेरो ख्रीष्टियन जीवन अनुग्रहले नै जिउनुपर्छ।

२. मैले ____________को सुसमाचारको गवाही दिनुपर्छ (प्रेरित २०:२४)

मैले अरूहरूलाई, मलाई जस्तै उनीहरूलाई पनि बचाउन सक्ने अनुग्रही परमेश्वर हुनुहुन्छ भनेर बताउनुपर्छ। के तपाईंले एक व्यक्तिलाई मुक्तिको उपाय स्पष्टसँग बताउन सक्नुहुन्छ? अनुग्रहले मुक्ति पाउनु भनेको के हो, के तपाईंले अर्थ खोलिदिन सक्नुहुन्छ?

३. म अनुग्रहमा ब______पर्छ (२ पत्रुस ३:१८)।

मुक्ति पाएपछि मैले प्रभु ______________ हुनुहुन्छ भनेर स्वाद पाएँ (चाखें)। खानेकुराको विचार गर्नुहोस्। कुनै मीठो कुराको अलिकति स्वाद पाएपछि तपाईंलाई त्यो अझ खाऊँ जस्तो लाग्छ। एक पटक मात्र चाखेर मात्र तपाईंलाई पुग्दैन! ख्रीष्टियन जीवन पनि यस्तै हुन्छ। हामीलाई परमेश्वरको अनुग्रहको बारेमा झन् झन् जान्न मन लाग्छ। हामीलाई “उहाँको _____________को वचन” (प्रेरित २०:३२) ले बढ्दै जान मन लाग्छ। आफ्नो अनुग्रहले बचाउनुहुने परमेश्वरलाई खुशी पार्ने इच्छा हुन्छ हामीलाई।

४. म पापमा ला____________हुँदैन (रोमी ६:१-२)।

कसैले भन्ला, “परमेश्वर आफ्नो दुष्ट र अनाज्ञाकारी सन्तानप्रति कति अनुग्रही हुन सक्नुहुन्छ भनेर मानिसहरूलाई देखाउनका लागि तिमीले बरु पाप गरे हुँदैन र? आफूखुशी जिवन बिताए हुँदैन र? तिमीले जति पाप गर्यौ त्यति नै परमेश्वरले आफ्नो अनुग्रह देखाउनुहुनेछ नि!” के यो कुरा एउटा साँचो विश्वासीले भन्ने कुरा हो (रोमी ६:१-२)? _____________।

ठीक कि बेठीक जवाफ दिनुहोस् (तर पहिले तीतस २:११-१२ पढ्नुहोस्): मुक्ति ल्याउने परमेश्वरको अनुग्रहले हामीलाई यो सिकाउँछ – हामीले मुक्ति पाइसकेका हुनाले र हामी स्वर्ग पुग्ने भएको हुनाले हामी जस्तोसुकै खालको जीवन बिताए पनि हुन्छ। __________।

एक व्यक्तिले जति परमेश्वरको अनुग्रहलाई बुझ्छ त्यति उसले परमेश्वरले खुशी पार्दै जिउन चाहनेछ जुन परमेश्वरले यति ठूलो अनुग्रह गर्नुभयो।

३. मानिसको विफलता

मुक्ति नपाएकाहरूको विफलता

यद्यपि परमेश्वरले आफ्नो अनुग्रहमा मानिसहरूलाई सित्तैमा मुक्तिको उपहारको प्रबन्ध गर्नुभएको छ, थोरैले मात्र ख्रीष्टमा विश्वास गरेका छन् र यस उपहारलाई ग्रहण गरेका छन् (दाँज्नुहोस्, मत्ती ७:१३-१४)। अधिकांश मानिसहरूले परमेश्वरको उपहारलाई लिन अस्वीकार गरेका छन् र ख्रीष्टलाई उनीहरूको जीवनमा राजा र प्रभुको रूपमा राज्य गर्नलाई अस्वीकार गरेका छन् (लूका १९:१२-१४)।

अनुग्रहको यस युगमा परमेश्वर मानिसहरूले मुक्ति पाऊन् भनेर सहनशील भएर पर्खिरहनुभएको छ। उनीहरूले हरेक पल्ट कुनै गम्भीर पाप गर्नेबित्तिकै परमेश्वरले उनीहरूलाई इन्साफको प्रहारले नष्ट गर्ने काम गरिरहनुभएको छैन। परमेश्वर रिसाउनमा ढीलो हुनुहुन्छ (इन्साफ गर्नु अगाडि उहाँ लामो समय पर्खनुहुन्छ)।

नास्तिक रबर्ट इन्गर्सोलले आफ्नो वक्तव्य दिएपछि आफ्नो खल्ती-घडी झिकेर भने, “बाइबलअनुसार परमेश्वरले मानिसहरूलाई ईश्वरनिन्दाका लागि मृत्युले प्रहार गरेका छन्। म उनको ईश्वरनिन्दा गर्नेछु र उनले मलाई मृत्युले प्रहार गरून् र मेरो प्राणलाई दण्ड दिऊन् भन्ने चुनौती दिँदै म परमेश्वरलाई पाँच मीनेट समय दिनेछु।” घडिको सुइ घुम्ने क्रममा मानिसहरूको जमातबिच चुपचाप भयो। वातावरण तनावग्रस्त बन्यो। मानिसहरू आत्तिए, एकजना स्त्री बेहोस् भई भुईंमा लडीन्। पाँच मीनेट पछि इन्गर्सोलले आफ्नो घडीलाई बन्द गरे, आफ्नो खल्तीभित्र राखे र भने, “दर्शकविन्द, तपाईंले देखिहाल्नुभयो, परमेश्वर छैन नत्रता उनले मलाई मेरो चुनौतीको जवाफ दिनेथिए।”

के इन्गर्सोलले परमेश्वर हुनुहुन्न भनेर प्रमाणित गरेकै हुन् त? बास्तवमा यस अविश्वासी जनले अर्कै कुरा प्रमाणित गरे। उनले यो प्रमाणित गरे कि हामी अनुग्रहको दिनमा बाँचिरहेका छौं र परमेश्वर उहाँको नामलाई निन्दा गर्ने व्यक्तिप्रति समेत सहनशील हुनुहुन्छ। (त्यस दिनका एक दर्शकले राम्रै भने, “के यस भलाद्मी जनले परमेश्वरको धीरजलाई पाँच मीनेटमा तोड्न सक्छु भनेर साँच्ची नै सोचेका हुन्?”) जसरी यशैया ३०:१८ मा लेखिएको छ, “तापनि तिमीहरूमाथि _____________ गर्न परमप्रभु इच्छा गर्नुहुन्छ ( हिब्रुमा “पर्खनुहुन्छ”)।

परमेश्वरको अनुग्रहको दिन सदा रहनेछैन। त्यो दिन आयो जब परमेश्वरले इन्गर्सोललाई मृत्युले प्रहार गर्नुभयो (ऊ मर्‍यो!)। परमेश्वरको अनुग्रहलाई अस्वीकार गर्ने मानिसहरूले परमेश्वरको इन्साफको सामना गर्नुपर्ने हुन्छ। जलप्रलय अगाडिको दिनहरूमा १२० वर्ष लामो अनुग्रहको समय थियो (उत्पत्ति ६:३)। उक्त समयमा मानिसहरूप्रति अनुग्रही बन्न परमेश्वर पर्खनुभयो। त्यस समयमा नूहले परमेश्वरको जहाज बनाए र परमेश्वरले मानिसहरूलाई उहाँको वचनमाथि विश्वास गर्ने मौका दिनुभयो। तर अन्तमा ती १२० वर्षपछि अनुग्रहको दिन अन्त भयो अनि जहाजको ढोका बन्द गरियो (उत्पत्ति ७:१६)। परमेश्वरको अनुग्रहलाई अस्वीकार गर्नेहरूले परमेश्वरको इन्साफको सामना गर्नुपर्‍यो: “अनि जलप्रलय आयो र तिनीहरू सबैलाई _________ पार्‍यो” (लूका १७:२७)।

मुक्ति पाएकाहरूको विफलता

परमेश्वरको अनुग्रहलाई प्रकट गर्न धेरैपटक विश्वासीहरू चुकेका छन्। उदाहरणको लागि, “अन्धकार युग” (“Dark Ages”) मा मण्डलीहरूले परमेश्वरको अनुग्रहलाई प्रचार गर्न छाडेका थिए। उल्टो उनीहरूले मुक्ति भनेको कमाइनु पर्न, कामले आर्जन गर्नु पर्ने कुरा हो भनेर सिकाइरहेका थिए। मुक्ति एउटा सित्तैंको उपहार हो भनेर सिकाउन छाडे। मुक्ति मानिसको परिश्रममा भर पर्छ, नालायक पापीहरू प्रतिको परमेश्वरको दयामा होइन भनेर उनीहरूले सिकाए। मण्डलीहरूले परमेश्वरको “अनुग्रहको सुसमाचार” को गवाही दिनु पर्नेथियो तर उनीहरू त्यसो गरिरहेका थिएनन्। फलस्वरूप त्यसबेला जताततै आत्मिक अन्धकारले छाएको थियो।

दुःखको कुरा, आज पनि यस्तै छ। प्रायः मण्डलीहरू र धेरैजसो धार्मिक संगठनहरूले मुक्ति भनेको मानिसको कामले कमाइने कुरा हो र आफूले गरेका असल कामहरूले यो कमाइन्छ भन्ने कुरा सिकाउँछन्। थोरै मण्डलीहरूले मात्र मानिस “अनुग्रले मुक्ति” पाइन्छ भनेर सिकाउँछन्। धेरैजसो सत्यदेखि फर्केर गएका छन् झूटलाई सिकाउँदै छन्।

४. परमेश्वरको इन्साफ

हामीले देखिसक्यौं, परमेश्वरको अनुग्रह र सहनशीलताको दिन सधैं रहिरहनेछैन। रोमी २:४ ले परमेश्वरको कृपा र सहनशीलतालाई तुच्छ ठान्नेहरूको बयान गरेको छ। के यी मानिसहरू परमेश्वरको इन्साफदेखि उम्कनेछन् (रोमी २:३,५)? ______________। त्यो दिन आउँदै छ जब संसारका विश्वास नगर्ने मानिसहरू र सत्य-त्याग गरेको (apostate) मण्डली (एक समय सत्यलाई जानेका तर सत्यतादेखि फर्केका धर्मकर्म गर्ने मानिसहरू – १ तिमोथी ४:१; २ तिमोथी ३:५; ४:३-४) माथि परमेश्वरको इन्साफ वर्षनेछ।

नूहका दिनहरूको १२० वर्ष लामो अनुग्रहको समयको एक दिन अन्त भयो अनि परमेश्वरले संसारलाई जलप्रलयले इन्साफ गर्नुभयो। अहिले हामी जिइरहेको अनुग्रहको अझ लामो समयावधि (झण्डै २००० वर्ष लामो समय) को पनि अन्त हुनेछ अनि परमेश्वरले फेरि संसारलाई इन्साफ गर्नुहुनेछ। सबैभन्दा अधिक अनुग्रहको समय (वर्तमान अनुग्रहको युग) पछि सबैभन्दा अधिक इन्साफको समय आउनेछ (महासङ्कष्टकाल)। के उक्त महासङ्कष्ट जस्तै अर्को समय पहिला कहिल्यै भएको थियो वा पछि आउनेछ (मत्ती २४:२१)? _________________। यस अध्ययन मालाको पाठ ११ (शीर्षक, सङ्कष्टको समय) मा हामी सङ्कष्टकालको अझ विस्तृत अध्ययन गर्नेछौं।

परमेश्वरको अनुग्रहलाई अस्वीकार गर्नु ज्यादै डरलाग्दो कुरा हो। येशू ख्रीष्टलाई र उहाँले हाम्रो लागि गरिदिनुभएको कार्यलाई अस्वीकार गर्नु र परमेश्वरबाटको मुक्तिको सित्तैंको उपहारलाई लिन अस्वीकार गर्नु एउटा ज्यादै गम्भीर कुरा हो। के तपाईं, एक पापी, अनुग्रहले बचाइनुभयो? के तपाईंले अरूहरूलाई मुक्तिदातातिर देखाउँदै हुनुहुन्छ जो उहाँको क्रोध पाउन योग्य पापीहरूप्रति अति अनुग्रही हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email