प्रभुमा ग्रहणयोग्य पहिरन भाग १

प्रभुमा ग्रहणयोग्य पहिरन भाग १
डेविड क्लाउड
कण्ठ गर्नुपर्ने पदहरू: व्यवस्था २२:५; १ तिमोथी २:९; १ कोरिन्थी ११:१४-१५
पहिरन ज्यादै महत्त्वपूर्ण कुरा हो किनभने पहिलो, यसले हृदयलाई प्रतिबिम्बित गर्दछ, साथै त्यसलाई असर पार्दछ। दोस्रो, पहिरन महत्त्वपूर्ण कुरा हो किनभने पहिरन एउटा भाषा हो। यो एउटा “सामाजिक भाषा” हो, फेशनको अभिव्यक्ति हो। यस कुराकै ज्ञानको आधारमा फेशन उद्योग फस्टाइरहेको छ र परमेश्वरका छोराछोरीले पनि यसलाई बुझ्नु आवश्यक छ। मैले आफैलाई प्रश्न गर्नुपर्ने कुरा हो, मेरो पहिरनले कस्तो सन्देश प्रसारण गर्दैछ? विकिपिडियाले फेशनलाई “चलनचल्तीको अभिव्यक्तिको एक किसिम” (a prevailing mode of expression) भनेर परिभाषित गरेको छ। “पहिरनको हरेक अंशले कुनै सांस्कृतिक र सामाजिक अर्थ बोकेको हुन्छ” भनेर विकिपिडियाले मानिलिएको छ र “प्रसारण भइरहेको सन्देश बुझ्न सक्नलाई मान्छेले उक्त भाषा जानेको हुनुपर्छ” भनेर टिप्पणी गरेको छ।
खुकुलो यौनिक विशिष्टता बोकेका “तीष्ण” खाले पहिरन बिक्री गर्ने एबरक्रोम्बी र फीच (Abercrombie & Fitch) नाम गरेको पहिरन उद्योग त्यसको “विद्रोही मनोभावका निम्ति प्रख्यात” छ भनेर “चप्पल, च्यात्तिएका जीन र नियन्त्रण” शीर्षक गरेको लेखमा भनिएको छ (“Flip-Flops, Torn Jeans, and Control”, Business Week, May 30, 2005)। त्यसैले संसारले समेत Abercrombie & Fitch को पहिरनको सन्देश कस्तो खालको छ भन्ने कुरा बुझ्दछ। तिनीहरू लुगा मात्र होइन एउटा मनोभाव बिक्री गर्दैछन्।
तसर्थ, पहिरन शैली निर्दोष हुँदैन। प्रत्येक शैलीले एउटा सन्देश प्रचार गर्दछ र परमेश्वरको जनले आफ्नो पहिरनद्वारा गलत सन्देश प्रसारण गर्नदेखि होशियार बस्नुपर्छ।
परमेश्वरको वचनले के भन्दछ भन्ने बारेमा पहिरन उद्योगलाई कुनै मतलब छैन भन्ने कुरा हामीले बुझ्नुपर्छ।
लगाउन हुने या नहुने फेशनको सूची चाहिएको होइन हामी परमेश्वरका जनहरूलाई। हामीलाई चाहिएको कुरा हो पहिरनका शैलीलाई जाँच्नका निम्ति स्पष्ट बाइबलीय सिद्धान्तहरू। फेशन निरन्तर बदलिन्छ, तर परमेश्वरको वचनका सिद्धान्तहरू एक समान रहन्छन्।
ख्रीष्टियनको पहिरन सम्बन्धी बाइबलीय सिद्धान्तहरूको सारांश
१) ख्रीष्टियनको पहिरन भद्र हुनुपर्छ (१ तिमोथी २:९)
भद्रतालाई नयाँ नियममा “पतिव्रता”, “आत्मसंयमी”, “सचेत”, र “लज्जालु स्वभाव” भन्ने शब्दहरूले बयान गरिएको छ। स्त्रीलाई अश्लील वा अशोभनीय तरिकाले प्रदर्शन गराउने कुनै पनि कुरालाई यसले निषेध गर्दछ।
पहिलो, भद्र पहिरन शरीरलाई उचित ढङ्गले ढाक्ने पहिरन हो र यौन आकर्षणका शारीरिक अङ्गहरूलाई नाङ्गो गरी प्रदर्शन नगर्ने पहिरन हो। यशैया ४७:२ ले भन्छ, स्त्रीले आफ्नो खुट्टा नाङ्गो पार्नु र तिघ्रा देखाउनु नाङ्गोपना हो। यसकारण, छोटो स्कर्ट, हाफ-पायन्ट, चिरिएको स्कर्ट, तलसम्म देखिने चोलो, ढाडको खाल्डो देखाउने चोलो, अगाडि छातीको तलसम्म चिरिएको वस्त्र, पछाडि खुल्ला छोडिएको वस्त्र, बाहुला नभएको वस्त्र र कुनै पनि पौडी खेल्दा लाउने आधुनिक वस्त्र। साथै भित्रपट्टि देख्न सकिने खालको कपडाले बनेको जुनसुकै पनि लुगा अभद्र पहिरन हो।
दोस्रो, भद्र पहिरनले यौन आकर्षण गर्ने तवरले जीउडालको स्वरूपलाई प्रकट गर्दैन। कस्सिएको, जीउमै टाँस्सिने खालको पोशाक छोटो-छोटो पोशाक जत्तिकै अभद्र पोशाक हो किनकि यसले स्त्रीको आकृतिलाई मुख्य बनाउँदछ र पुरुषको ध्यानाकर्षण त्यसतिर लैजान्छ जुन चाहिँ वैवाहिक सम्बन्धमा भन्दा बाहिर निषेधित छ।
तेस्रो, भद्र पोशाक भड्किलो हुँदैन। प्रेरित पावलले १ तिमोथी २:९ मा भद्र पहिरनको कुरा गर्दा उनले “बाटिएको केश, वा सुन, वा मोतीहरू, वा दामी-दामी वस्त्र” लाई उल्लेख गर्दछन्। यस संसारको भक्तिहीन फेशन उद्योगको लक्ष्य भनेको अहङ्कारी, भड्किलो, सांसारिक बुद्धिको हाउभाउ र साथै यौन-केन्द्रित हाउभाउ सृजना गर्नु हो। भक्ति गर्ने स्त्रीले यस्ता फेशनलाई रद्द गर्दछिन् र आफैलाई र आफ्ना छोरीहरूलाई “सुहाउने [भद्र] वस्त्र” पहिराउँदछिन्।
अभद्र पहिरन उद्योगलाई यी कुराको राम्रो ज्ञान छ र त्यसले स्त्रीहरूलाई भद्रताले होइन तर लोभ्याउने पाराले पहिराउन कोशिश गर्दछ।
२) ख्रीष्टियनको पहिरन लैङ्गिक भिन्नता कायम राख्ने पहिरन हुनुपर्छ (उत्पत्ति १:२७; व्यवस्था २२:५; १ कोरिन्थी ११:१४-१५)।
स्त्रीको पोशाक पृथकरूपमा स्त्रीको जस्तो हुनुपर्छ र पुरुषको पोशाक पृथकरूपमा पुरुषको जस्तो।
आधुनिक एकलिङ्गीय (यूनिसेक्स) अभियान (unisex movement) सर्वशक्तिमान् परमेश्वरको विद्रोहमा र उहाँको वचनको विरुद्धमा अगाडि लम्किरहेको छ र यससित आवद्ध भएको कुनै पनि फेशनसित ख्रीष्टियनले अलिकति पनि सम्झौता गर्नुहुँदैन। एकै व्यक्ति पुरुषजस्तो पनि, स्त्रीजस्तो पनि देखिने यूनिसेक्स प्रस्तुति निर्दोष कुरा होइन। यस्तो अभ्यास रक सङ्गीतकारहरूबाटको सृजना हो जोहरूले परम्परालाई उलटपुलट पार्न चाहन्थे। स्त्रीले लगाउने पायन्ट यूनिसेक्स फेशन अभिव्यक्तिको रूपमा सृजना गरिएको थियो अनि आधुनिक यूनिसेक्स अभियानमा यसले केन्द्रिय भूमिका खेल्दछ।
केशका शैलीहरू पनि अभिव्यक्तिहरू हुन्। पुरुषले लामो केश पाल्ने र स्त्रीले छोटो केश पाल्ने कुरा केवल निर्दोष फेशन होइनन् तर परमेश्वरको सृष्टिको नियमका विपरित उठेका विद्रोहका अभिव्यक्ति हुन् (१ कोरिन्थी ११:१४-१५)। १९६० को दशकको एउटा रक गीतले जवान पुरुषहरूलाई आफ्नो केश लामो हुन दिन र “तिम्रो अनौठो झण्डा फरफराउनदेऊ” भन्दै प्रोत्साहन दिन्थ्यो। भ्यान हालेनको डेविड ली रोथको गवाही थियो: “[मेरो लामो कपाल] एउटा झण्डा हो। यो तार्जन हो। म सधैं व्यवस्थापनको विरोधी रहनेछु” (John Makujina, Measuring the Music, p.73)।
गलत तर्क र तिनका प्रत्युत्तर:
गलत तर्क #१: व्यवस्था २२:५ मोशाको व्यवस्थाको अंश हो जुनचाहिँ ख्रीष्टमा खारेज भइसकेको छ।
उत्तर: मोशाको व्यवस्था ख्रीष्टियनको व्यवस्था होइन भनेर हामी जान्दछौं तरैपनि तिनमा ख्रीष्टिय जीवनका निम्ति पाठहरू छन्। १ कोरिन्थी १० मा पावलले व्यवस्थाबाट थुप्रै कुरा उल्लेख गर्छन् र निष्कर्षमा भन्दछन्, “अब उदाहरणका निम्ति यी सबै कुराहरू तिनीहरूमाथि आइपरे, र हाम्रै चेताउनीका निम्ति लेखिएका हुन्, जसमाथि संसारका अन्तहरू आइपुगेका छन्” (१ कोरिन्थी १०:११)। व्यवस्था २२:५ मा हाम्रै चेताउनीका निम्ति लेखिएको एउटा नैतिक सिद्धान्त छ। त्यहाँ उल्लेखित सिद्धान्त यो हो कि पुरुष र स्त्रीका पहिरनका बीच स्पष्ट भिन्नता हुनुपर्दछ।
पावलले यस कुरालाई १ कोरिन्थी १४:३४ मा जोड दिए जब उनले भने, “तिमीहरूका स्त्रीहरू मण्डलीहरूमा चुप लागून्; किनकि उनीहरूलाई बोल्ने अनुमति छैन, तर आज्ञाकारी भएर रहने आज्ञा छ; व्यवस्थाले पनि यसै भन्छ।” तसर्थ, पावलको अनुसार, पुरुष र स्त्री बीचका सृष्टिदेखिकै भिन्नताका बारेमा मोशाको व्यवस्थाले ख्रीष्टिय जीवनको सवालमा प्रत्यक्ष तवरले सम्बोधन गर्दछ।
गलत तर्क #२: यदि हामी व्यवस्था २२:५ लाई आज पछ्याउने हो भने त हामीले व्यवस्था २२:९-११ लाई पनि पछ्याउनुपर्छ जहाँ एकै ठाउँमा दुई किसिमको बीउ छर्न हुँदैन र मिश्रित सामग्रीले बनेको कपडाको लुगा लाउनुहुँदैन भनिएको छ।
उत्तर: यद्यपि हामीले भौतिक रूपमा यी आज्ञालाई आज पालन गर्दैनौं, तिनीहरूले सिकाएका अपरिवर्तनीय आत्मिक सिद्धान्तहरूलाई भने हामीले पालन गर्नैपर्छ। यी आज्ञाहरू दिनुभएर परमेश्वरले इस्राएललाई अलगपनताको सिद्धान्त सिकाउँदै हुनुहुन्थ्यो। यस्ता नियमहरू उनीहरूले “पवित्र र अपवित्र, शुद्ध र अशुद्धको बीचमा भिन्नता राख्न” सकून् (लेवी १०:१०) भन्ने उद्देश्यले उनीहरूलाई दिइएका थिए। व्यवस्था २२:९-११ ले, तब, नयाँ नियमको ख्रीष्टियनलाई प्रभुको दृष्टिमा जुनसुकै पनि खराब र गलत कुरादेखि ऊ अलग हुनुपर्छ भन्ने कुराको सम्झना गराउँदछ (मत्ती ६:२४; २ कोरिन्थी ६:१४-१७; १ यूहन्ना २:१५-१६, आदि)।
आधुनिक फेशन सम्बन्धीको विवादको कुनै पक्षले पूर्वाग्रहित नभएका विगतका शताब्दीहरूका टिप्पणीकारहरू व्यवस्था २२:५ को शिक्षा ख्रीष्टिय जीवनका लागि लागु हुन्छ भन्ने कुरा बुझेका थिए।
जेनेभा बाइबल (१५६०) को फूटनोटमा भनिएको छ: “पुरुषको वस्त्र स्त्रीले नपहिरोस्, न ता स्त्रीको वस्त्र पुरुषले; किनभने यस्तो गर्नेहरू सबै परमप्रभु तिम्रा परमेश्वरका निम्ति घृणित छन्। किनभने त्यसो गर्दा प्रकृतिको नियमलाई अदलबदल गरिन्छ र यसरी तिमीले परमेश्वरलाई तिरस्कार गर्दा रहेछौ भन्ने कुरा प्रकट हुन्छ।”
म्याथ्यू पूल (१६२४-१६७९) ले भने: “यसो गर्नु निषेधित छ, एकातिर शिष्टताको खातिर, कि मानिसहरूले ती लिङ्गहरूलाई नअलमल्याऊन्, न ता अलमल्याएको जस्तो होस्, जसलाई परमेश्वरले भिन्न बनाउनुभएको छ, ताकि दुष्टताको सबै रूपबाट टाढा बस्न सकियोस्, अर्थात् पहिरनको त्यस किसिमको सट्टापट्टाको पछाडि हुने पुरुषमा स्त्रीको जस्तो नरम-स्वभावको सङ्केत, स्त्रीमा अहङ्कारको, दुवैमा हलुकोपनको र बचपनको; र अर्कातिर दुष्टताका सबै शङ्का र अवसरहरूलाई पर राख्नलाई पनि हो जो नत्र ता खुलेआम निम्त्याइनेथ्यो।”
म्याथ्यू हेनरी (१६६२-१७१४) ले भने: वस्त्रद्वारा लिङ्गका भिन्नतालाई कामय गरिनुपर्छ, आफ्नै र साथै आफ्नो छिमेकीको पतिव्रताको सुरक्षाको लागि, व्यवस्था २२:५। प्रकृति आफैले पनि तिनीहरूका बीच केशद्वारा भिन्नता कायम राखिनुपर्छ भनेर सिकाउँछ (१ कोरिन्थी ११:१४), अनि त्यही नियमले तिनीहरूका वस्त्रहरूमा पनि, जसलाई त्यसैले अलमल्याइनुहुन्न, चाहे त्यो दैनिक पहिरनमा होस् वा चाहे बेलाबखतको अवसरमा।
जन गिल (१६९७-१७७१) ले भने: “पुरुषको वस्त्र स्त्रीले नपहिरोस्…त्यो त ज्यादै अशोभनीय र अरूलाई ठेस खुवाउने कुरा हो र आफ्नो लिङ्गको भद्रतालाई नसुहाउने कुरा हो। …न ता स्त्रीको वस्त्र पुरुषले पहिरोस्; यसले त पुरुषमा उसलाई नसुहाउने नरम स्वभाव ल्याउँछ… प्रकृतिमा लिङ्गहरूमा भिन्नता राखिएको हुनाले यो कुरा वस्त्रको भिन्नताले जनाइनु उचित र आवश्यक छ नत्र भने थुप्रै दुष्टताहरू आउन सक्छन्; अनि यो नियम प्रकृतिको नियम र प्रकाशसित मेल खान्छ…”
आदम क्लाक (१७६२-१८३२) ले भने: यो अक्षरशः बुझिने ज्यादै असल, सर्वसाधरण नियम हो र विशेष ती राष्ट्रहरूका लागि लागु हुन्छ जहाँ पुरुष र स्त्री छुट्ट्याउने कुरा भनेको वस्त्र मात्र हुन्छ। स्त्रीको वस्त्र लगाइएको खण्डमा जुङ्गा-दाह्री नभएको पुरुष कुनै पनि बेला स्त्री जस्तै देखिन सक्छ, र पुरुषको वस्त्र लगाइएको खण्डमा स्त्री चाहिँ पुरुष जस्तै। समाजमा यदि यसलाई ठाउँ दिइयो भने त्यसले ज्यादै ठूलो गडबडी सृजना गर्नेछ।
आल्बर्ट बार्न्स् (१७८९-१८७०) ले लेखे: “लिङ्गहरू बीचको भिन्नता स्वाभाविक कुरा हो र परमेश्वरबाट स्थापना गरिएको कुरा हो र अशिष्टता ननिम्त्याईकन र फलस्वरूप शुद्धतालाई जोखिममा नपारीकन यसलाई बेवास्ता गर्न सकिन्न (तुलना गर्नुहोस् १ कोरिन्थी ११:३-१५)।”
जेमीसन, फसेट, ब्राउन (१८६४) ले भने: “यो निषेधाज्ञा उचित थियो; किनभने एउटा लिङ्गका पहिरनलाई अर्कोले अपनाउनु भनेको शिष्टतालाई बिथोल्नु हो, र प्रकृतिमा विद्यमान रहेको भिन्नतालाई निमिट्यान्न पार्नु हो जसले पुरुषमा नरम स्वभावको र स्त्रीमा अभिमान र उत्ताउलोपनको, र साथै दुवैमा ठट्टा र कपटको चरित्रलाई विकास गर्दछ; अनि सारांशमा यसले यति धेरै दुष्टताका लागि ढोका खोलिदिन्छ कि विपरित लिङ्गको वस्त्र लगाउने जोसुकै पनि “परमप्रभुका निम्ति घृणित” भनेर घोषित हुनेछ।
सायद तपाईंले माथि यो कुरा ख्याल गर्नुभयो होला, कि यी पहिलेका टिप्पणीकारहरूले व्यवस्था २२:५ को सिद्धान्तलाई १ कोरिन्थी ११:१४-१५ को सिद्धान्तसित जोडेका छन् जहाँ पावलले स्त्री र पुरुषले आफ्नो रूपमा भिन्नता कायम राख्नुपर्छ भनेर सिकाएका छन्।
रूपमा भिन्नता कायम राख्नुपर्ने कारणस्वरूप पावलले सृष्टिको नियमलाई र पुरुष र स्त्री भिन्न-भिन्नै भूमिकाहरू निर्वाह गर्न सृष्टि गरिएका हुन् भन्ने कुरालाई औंल्याएका छन् (१ कोरिन्थी ११:७-९)।
परमेश्वरले पुरुष र स्त्रीलाई पृथ्वीमा भिन्न-भिन्नै भूमिका निर्वाह गर्नलाई सृष्टि गर्नुभयो (उत्पत्ति १:२७)।
यसरी, दुवै पुरानो र नयाँ नियमले पुरुष र स्त्रीले फरक-फरक किसिमको पहिरन अपनाउनु परमेश्वरको इच्छा हो भनेर सिकाउँदछ। एकजना स्त्रीले निम्नबमोजिमको एउटा महत्त्वपूर्ण अवलोकन गरेकी छिन्:
“मानिसहरू पुरानो नियमका पदहरूको सवालमा ‘मन-लागेको-मात्र-छान्ने’ खेल खेलिरहेका छन्। उनीहरू भजनसङ्ग्रह २३ लिन चाहन्छन्, भजनसङ्ग्रह १०० पनि लिन चाहन्छन् र साथै पुरानो नियमका त्यस्ता सबै पदहरू पनि जसमा तिनीहरूलाई उनीहरूको जीवनशैलीलाई चुनौती दिने कुरा हुँदैन, तर उनीहरूको जीवनशैलीलाई असर पार्ने कुनै पनि पुरानो नियमको पद छ भने त्यसलाई उनीहरू व्याख्या गरेर उडाउन खोज्छन्। तर, २ तिमोथी ३:१६ ले भन्छ, “सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो र शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति र धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक छ” (http://www.momof9splace.com/modesty.html)।
कुनै पनि भक्ति गर्ने स्त्रीले परमेश्वरको सृष्टिदेखि स्थापना भएको नियमको विरुद्धमा सक्रिय रहेको अभियान र दृष्टिकोणसित घनिष्ट रूपमा आवद्ध भएको फेशनसित आफूलाई किन जोड्न चाहनेथिन् र?
विगतको ४० वर्षमा स्त्रीहरूले पायन्ट लगाउने अभ्यासको विस्तारको साथसथै स्त्रीहरूको भद्रतामा स्तब्ध पार्ने गिरावट आएको कुरालाई परमेश्वरका धेरैजना भक्तजनहरूले अवलोकन गरेका छन्। एकजना पास्टरले लेखे:
“मलाई लाग्छ यसले लैङ्गिक भिन्नतालाई तोड्छ, अनैतिकता ल्याउँछ र समलिङ्गतालाई प्रोत्साहन दिन्छ। पायन्टले स्त्रीलाई पुरुषजस्तो व्यवहार गर्ने बनाउँछ। उनीहरूका पायन्टले आजका स्त्रीहरूलाई एउटी भद्र महिला भएर बस्न वा व्यवहार गर्न नै नजान्ने बनाएको छ। अनि भद्र पोशाक लाउँदा पनि तिनीहरू अब घुँडा दोबार्दैनन् तर छाती खुला देखिने गरी कम्मर दोबार्छन्। तिनीहरू घुँडालाई जोडेर पाउहरू क्रस गरेर बस्दैनन्।”
अर्कोले लेखे:
“के हामी हाम्रा बाजेबज्यैहरूको पुस्ताभन्दा आत्मिक छौं त? छैनौं नै! पायन्ट र स्वीमसूट र मिनी-स्कर्ट लगाउने स्त्रीहरू देखेर उनीहरू स्तब्ध हुन्थे। आज ती कुराहरू विश्वासीहरू र मण्डलीहरूमा समेत सामान्य रूपमा स्वीकार गरिन्छन्।”
अर्को पुरुषले लेखे:
“म ६८ वर्ष पुगेको छु र एउटी असल र भद्र स्त्रीसित मेरो विवाह भएको ४९ वर्ष भयो। मण्डलीमा समेत कति स्त्रीहरूको पहिरन देखेर म स्तब्ध हुन्छु। मेरी आमा ८८ वर्ष पुगीन् अनि उहाँ मेरा बाबुसित कपास खेतीमा सँगसँगै काम गर्नुभएको थियो जुन बेला काम सब हातैले गर्नुपर्थ्यो। तर मैले मेरी आमा वा मेरी दुईटै बज्यैहरूलाई कहिल्यै पायन्ट लगाएको देखिनँ यद्यपि उहाँहरू सबैजना खेतमा काम गर्नुहुन्थ्यो। परमेश्वरलाई धन्यवाद होस्, उहाँहरू मेरा निम्ति कत्ति राम्रो नमुना बनिदिनुभयो। अनि अर्को कुरा, उहाँहरूले आफ्ना लुगाहरू सब हातैले धुनुहुन्थ्यो र मैले कहिल्यै पनि कुनै पनि स्त्रीका भित्री पहिरनहरू सबैले देख्ने गरी डोरीमा झुण्ड्याएर सुकाएको कहिल्यै देखिनँ। यसले यो प्रमाणित गर्दछ उनीहरूको भद्रता उनीहरूले आफ्नो जीउमा लगाएको कुरामा मात्र सीमित थिएन। त्यो त उनीहरूको हृदयमै थियो।”
हामीले बितेको समयलाई फर्काएर ल्याउन त सक्दैनौं, तर परमेश्वरका जनहरूले अझै पनि बाइबलका पुराना मार्गलाई पक्रन भने सक्छन् र यस सतही, अश्लील र विद्रोही युगको सिद्धान्त र चालचलनलाई रद्द गर्न सक्छन्।
गलत तर्क #३: पुरुषको छोटो र स्त्रीको लामो केशको सवालमा, छोटो र लामो भनेको कति-कति हो?
पहिलो जवाफ यो हो, सम्बन्धित सामाजिक परिपेक्ष्यमा प्रश्नै नउठ्ने किसिमको लम्बाइ हुनु आवश्यक छ। फरक-फरक समाजमा फरक-फरक समयमा केशको लम्बाइ फरक-फरक हुने गरेको छ, तर यदि सम्बन्धित समाजमा एक पुरुषको केशको लम्बाइ लामो ठानिन्छ भने त्यो हुनुपर्ने जतिको छोटो छैन। अनि यदि एक स्त्रीको केश छोटो ठानिन्छ भने त्यसको लम्बाइ पर्याप्त छैन।
दोस्रो जवाफ यो हो, विश्वासीको केशको लम्बाइ अरूलाई ठेस नलाग्ने लम्बाइको हुनुपर्छ (रोमी १४:१९,२१)। म नयाँ ख्रीष्टियन हुँदा मैले आफ्नो केशलाई पहिलाको भन्दा निकै छोटो हुने गरी काटेँ। तर एक साँझ म सुसमाचार सुनाउन निस्कँदा एकजना वृद्ध महिलाले मेरो केश एउटा “परमेश्वरको भक्तजन” लाई नसुहाउने गरी बढी लामो भएको भन्दै गुनासो गरिन्। म चिढिनुको सट्टा र आफ्नो “अधिकार” को निम्ति अडान लिनुको सट्टा मैले आफूलाई नम्र पारेँ र भोलिपल्ट नै त्यसलाई काटेँ। पुरुष र स्त्रीहरू दुवै नै यस सिद्धान्तप्रति संवेदनशील हुनु आवश्यक छ। बाइबल विश्वास गर्ने आजका धेरै मण्डलीहरूमा ज्यादै छोटो केश भएका स्त्रीहरू हुन्छन्। कतिपय जवान स्त्रीहरू पनि यस्ता देखिन्छन् तर वृद्ध स्त्रीहरूमा भने यो त रीति नै बसेको जस्तो देखिन्छ। यस कुरालाई नरूचाउने परमेश्वरका थुप्रै भक्तजन र भक्त गर्ने स्त्रीहरू म चिन्दछु र म यो गलत हो भन्ने विश्वास गर्दछु र यी दिदीबहिनीहरूले यस चेताउनीलाई लिएर यस प्रकारले ठेस खुवाउन छोड्नुपर्छ। बाइबलको दृष्टिकोणमा “सुविधाजनक”, “फेशन”, र “मेरो अधिकार” को कुरा गर्नुभन्दा ठेस नखुवाउनु नै महत्त्वपूर्ण कुरा हो।
प्रभुमा ग्रहणयोग्य पहिरन भाग १ सम्बन्धी पुनरावलोकन प्रश्नहरू
- पहिरन महत्त्वपूर्ण छ भन्ने दुईटा कारण के-के हुन्?
- पुरुष र स्त्रीको केशको लम्बाइलाई बाइबलको कुन अध्यायमा चर्चा गरिएको छ?
- एकलिङ्गीय (यूनिसेक्स) अवधारणा सृजना गरिनुको कारण के थियो?
- एबरक्रोम्बी र फीचले एक “_____________ _______________” को बिक्री गर्दछ।
- यस पाठमा प्रस्तुत गरिएका पहिरन सम्बन्धी दुईटा सिद्धान्तहरू के-के हुन्?
- भद्रतालाई जनाउने नयाँ नियमका अरू शब्दहरू के-के हुन्?
- भद्र पहिरनका लागि आवश्यक तीन कुराहरू के-के हुन्?
- कुन पदमा मोशाको व्यवस्थाका कुराहरू हाम्रा उदाहरणका लागि हुन् भनेर लेखिएको छ?
- व्यवस्था २२:५ को सधैं लागु हुने नैतिक सिद्धान्त के हो?
- व्यवस्था २२:९-११ को सधैं लागु हुने नैतिक सद्धान्त के हो?
- व्यवस्था २२:५ लाई ख्रीष्टिय जीवनका लागि लागु गराउने चारजना टिप्पणीकारका नाम दिनुहोस्।
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।