ख्रीष्टको बौरिउठाइको प्रमाण

“चिहान रित्तो थियो र ख्रीष्टका शत्रुहरूले यसलाई नकार्न सकेनन्” (Ernest Kevan, The Resurrection of Christ, 1961, p.14) “प्रमाण भनेको कस्तो हुन्छ त्यो मलाई थाह छ। अनि म तपाईंलाई भन्दछु, यस्तो प्रमाण जस्तो बौरिउठाइको प्रमाण छ, त्यो आजसम्म कहिल्यै ढलेको छैन” (Lord Lyndhurst or John Singleton Copley, Attorney General of Great Britain, Lord Chancellor of England, High Steward of the University of Cambridge, सम्भवत: निम्न मौलिक रचनाबाट: Theodore Martin, A Life of Lord Lyndhurst). “यति कुरा स्पष्ट भनिनुपर्छ कि हामीलाई येशूको मृत्युको बारेमा र उहाँको मृत्यु हुनुभन्दा ठीक अघिका घडीहरूमा यरूशलेम र यरूशलेम नजिक घटेका विस्तृत घटनाहरूको सम्बन्धमा यति धेरै जानकारी छ कि त्यसको तुलनामा प्राचीन संसारकै अर्को कुनै पनि मानिसको मृत्युको बारेमा हामीलाई त्यति जानकारी छैन।” (Wilbur Smith, Therefore Stand, p. 360). “रित्तो चिहान कसरी रित्तो भयो भनेर बताउन खोज्ने आश्चर्यकर्मरहित व्याख्याहरूले एउटा निर्दयी छनोटको सामना गर्नुपर्ने हुन्छ: उनीहरूले कि त आफूलाई अनुकूल पर्ने किसिमको प्रमाणको पुनर्लेखन गर्नुपर्ने हुन्छ कि त उपलब्ध प्रमाणहरूको सवालमा आफूहरूले उचित व्यवहार नगरेको भनेर स्वीकार गर्नुपर्ने हुन्छ। प्रमाणसित मेल खाने एउटै अवधारणा यो हो कि येशू वास्तवमै बौराइनुभयो। जुन मानिसले आफ्‍नो मृत्यु र बौरिउठाइको भविष्यवाणी गर्नुभयो अनि भन्नुभए जस्तै ठ्याकै हुन गयो, उहाँ परमेश्वर नभए को हुनुहुन्छ त?” (Winfred Corduan, No Doubt about it: The Case for Christianity, p. 277).

परिचय

  1. बाइबलले यो बताउँछ कि ख्रीष्टको बौरिउठाइका त्यहाँ “अनेकौं अचूक प्रमाणहरू” छन् (प्रेरित १:३)। वास्तवमा यो घटना प्राचीन इतिहासकै सर्वोत्कृष्ट रूपमा अभिलेख गरिएको घटना मध्ये एक हो। बाइबलीय ख्रीष्टियन विश्वास अन्धो धार्मिक विश्वास होइन!
  2. येशू, बाइबल र इसाईमत, ख्रीष्टको बौरिउठाइकै कुराले कि त खडा रहन्छ कि त ढल्दछ! बाइबलको दाबी यो छ कि येशू सम्बन्धी बाइबलका विवरणहरू ऐतिहासिक विवरण हुन्, प्रत्यक्षदर्शीका विवरण हुन् (लूका १:१-४; २ पत्रुस १:१५-१६; १ यूहन्ना १:३)। ती विवरण यदि ऐतिहासिक रूपमा अचूक छैनन् भने तिनलाई अस्वीकार गरिनु उचित हो। ख्रीष्टले आफ्‍नो आधिकारिकतालाई बौरिउठाइले जाँच्न सकिने रूपमा प्रस्तुत गर्नुभयो (कम्तीमा पनि सात पटक उहाँले आफू मारिनुहुने र त्यसपछि मरेकाहरूबाट बौराइनुहुने कुरा गर्नुभयो — मत्ती १६:२१; १७:९,२२-२३; २०:१८-१९; २६:३२; लूका ९:२२-२७; यूहन्ना २:१८-२२)।पावलले यो लेखे कि ख्रीष्टियन विश्वास ख्रीष्टको बौरिउठाइमा निर्भर रहेको विश्वास हो (१ कोरिन्थी १५:१४-१७)।

ख्रीष्टको बौरिउठाइका तीन महान् प्रमाणहरू

1. सुसमाचारका वृत्तान्तहरूका चरित्र

सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका र यूहन्ना) का वृत्तान्तहरूको चरित्रलाई हेर्दा ती आफैले यस्तो प्रमाण दिइरहेका छन् कि ती वृत्तान्तहरू आफूले लेखेको कुरा वास्तविक हुन् भन्ने कुरा विश्वास गर्ने प्रत्यक्षदर्शीहरूद्वारा लेखिएका हुन् जोहरूले बिना बढाइचढाइ र बनावटी कुरा नगरी सत्य बोल्दैथे। ती वृत्तान्तहरूका विवरणहरूलाई विचार गर्नुहोस्।
“यूहन्नाको सुसमाचारमा पूरापूर व्यक्तिगत स्पर्शको चरित्र भेटिन्छ; त्यसमा एउटा प्रत्यक्षदर्शीको मात्र नभएर एकजना सचेत अवलोकनकर्ताको प्रमाणका सबै लक्षणहरू भेटिन्छन् … चेलाहरू दगुरेर गएको, उनीहरू चिहानमा कोपछि को आइपुगेको र छिरेको, यूहन्ना पहिला आफूलाई रोकेर होचो प्रवेशद्वारभित्र हेर्दा सूती कपडा पडिरहेको देखेको तथ्य, जब कि पत्रुस, बढी साहसी, पहिला भित्र छिरेको … सुती कपडा र रूमालको अवस्था र स्थानको बयान … यी त आफूले वास्तवमै देखेको व्यक्तिको बयान बाहेक अरू केही हुन सक्दै-सक्दैन, जुन व्यक्तिको सम्झनामा उक्त दृश्यको छाप अझै पनि रहिरहेको छ, जसको निम्ति त्यो रित्तो चिहान र छोडिएको कात्रोको दृश्य, उसको विश्वास र जीवनमै एक निर्णायक विन्दु बनेको थियो।” (E. Day, On the Evidence of the Resurrection, pp. 16-17)
ती वृत्तान्तहरूको खरापनलाई (निष्कपटतालाई) विचार गर्नुहोस्। कसैले एउटा धर्म सुरू गर्नु छ त उसले त्यसका अग्रजहरूको बढाइचढाइ गर्छ तर सुसमाचारका लेखोटहरूले इसाईमतका संस्थापकहरूलाई ज्यादै कमजोर व्यक्तिहरू भएको तस्वीर प्रस्तुत गर्दछन् (जस्तै पत्रुसलाई ख्रीष्टले शैतानको संज्ञा दिँदै हप्काइनुपरेको, मत्ती १६:२३; पत्रुसले ख्रीष्टलाई तीन-तीनपटक इन्कार गरेको; चेलाहरू भागेको, लुकेको; ख्रीष्ट उनीहरूकहाँ देखा परिसक्नुभएपछि पनि थोमा र अरूहरूले शङ्का गरेको)।

अझ, यदि ख्रीष्टको बौरिउठाइको घटना पुरुषहरूद्वारा रचिएको बनावटी कुरा थियो भने, उनीहरूले विश्वास गर्नेहरूमा पहिलो चाहिँ स्त्रीहरू थिए भनेर पक्कै पनि भन्ने थिएनन्। त्योबेलाको समाजको नजरमा स्त्रीहरूको कुनै आधिकारिकता हुँदैनथ्यो। त्यसबेलाको समयमा स्त्रीहरूले कानूनी अड्डामा साक्षी समेत बन्न पाउँदैनथे, कुनै कुनै अवस्थामा बाहेक (J.P. Moreland, Scaling the Secular City, p. 168)। घटना वास्तवमै त्यस्तै नभएको भए र लेखकहरू सत्यको र सत्यको मात्र अभिलेख गर्नलाई पूरै समर्पित व्यक्तिहरू नभएका भए, स्त्रीहरूले पहिला विश्वास गरे भनेर खास लेखिने खालको कुरै थिएन। यो असाधारण खरापना यस कुराको बलियो प्रमाण हो कि सुसमाचारका लेखोटहरू सत्य, रङले नपोतिएका वृत्तान्तहरू हुन्।

2. रित्तो चिहान

येशूको चिहान रित्तो भएको कुरा दुईटा तथ्यले प्रमाणित गर्दछन्: पहिलो, यहूदी अगुवाहरू उहाँको शरीर चेलाहरूले चोरेका हुन् भन्ने झूट फैलाउन बाध्य भए (मत्ती २८:११-१५)। यदि येशूको शरीर कतै न कतै भएको भए त उनीहरूले खोजेर त्यसलाई अवश्य प्रस्तुत गरिहाल्थे। दोस्रो, क्रूसीकरणको केही थोरै हप्तापछि नै, पत्रुसले सार्वजनिक रूपमा, उक्त रित्तो चिहानबाट धेरै पर पनि होइन, बौरिउठाइको प्रचार गरे र ३,००० जतिले विश्वास गरे, जसको थोरै समयपछि “पुजाहारीहरूको एउटा ठूलो भीडले” अनि “धेरै जनाले” विश्वास गरे (प्रेरित २:३७-४२; ६:७; ११:२१)। यदि शरीरलाई प्रस्तुत गर्न सक्ने कोही थिए भने वा त्यो नभेटिनुको मुनासीव कारण बताउन सक्ने कोही थिए भने, तिनीहरूले अवश्य सो गरिहाल्थे! रित्तो चिहान किन रित्तो थियो भनेर बताउने प्रयास स्वरूप निम्न परिकल्पनाहरू प्रस्ताव गरिएका छन्:
“बाइबल आलोचनाको भूमि एउटा विशाल चिहानडाँडा जस्तो देखा पर्छ। निकै कल्पनाशक्ति भएका सन्देहवादीहरूले दिमाग घोटेर विभिन्न परिकल्पना रचेका छन् तर ती एक-एक नै रद्दी ठहरिएर मिल्काइँदा तिनका हड्डीहरूले उक्त चिहानडाँडा भरिन पुगेको छ … कसैलाई लाग्दो हो, यति धेरैपटक दोहोरिएको विफलताले गर्दा विरोधीहरूले अब प्रयास गर्न छाड्नेछन्। तर कहाँ हुनु। उनीहरू अविरल रूपमा लागिरहन्छन्, अनि मानिसहरू अझै आफ्‍ना दिमाग घोट्दैछन्, कल्पनाशक्तिलाई ओभरटाइम काममा लाउँदैछन्, उनीहरू भएभरको विद्वता र चतुरता प्रदर्शनी गर्दैछन्। उनीहरू ऐतिहासिक प्रमाणको एउटा अजेय चट्टानलाई नष्ट गर्नलाई, हामीले देख्दा, व्यर्थका प्रयास गर्दैछन् जुन चट्टानमाथि नै बौरिउठामाथिको ख्रीष्टियन विश्वास गर्वका साथ, नहक्लीकन, खडा रहिरहेको छ।” (John Lilly)

१. कतिले यो भन्छन् कि येशू बेहोश मात्र हुनुभएको थियो र चिहानभित्रको चीसोले उहाँको होश फर्केर आएको मात्र हो।

उहाँ वास्तवमा मरिसक्नुभएको कुरालाई पेशागत सिपाहीहरूले पक्का गरिसकेको तथ्यले यो परिकल्पना रद्द हुन्छ (यूहन्ना १९:३१-३४)। सोच्ने हो भने, झण्डै-झण्डै मरिसकेको एउटा मान्छेले चिहानको त्यत्रो गह्रौं ढुङ्गालाई हटाउन सक्न कहाँ सम्भव थियो र? अनि त्यसपछि गएर आफ्‍ना चेलाहरूलाई आफू मृत्युबाट बौरेको हुँ भनेर विश्वास दिलाउनु कसरी सम्भव हुन्थ्यो र? ख्रीष्टले भोग्नुभएका शारीरिक यातनाहरूलाई विचार गर्नुहोस्: भयङ्कर प्रहारहरू खेप्नु, काँटीले हात र पाउलाई छेडिनु; एकातिर भाला रोपिनु (यूहन्ना १९:३४); अधिक मात्रामा रगत र शरीरका द्रव्यहरू गुमाएको हुनु।

२. कतिले यो भन्छन् कि स्त्रीहरू अर्कै चिहानमा पुगे।

The Historical Evidence for the Resurrection of Jesus Christ मा Kirsopp Lake ले यो दाबी गर्छन् कि स्त्रीहरू अँध्यारोमा अलमलिएर अर्कै चिहानमा पुगेका हुन्। यो कुरा सुसमाचारका वृत्तान्तहरूको विपरित मात्र छैन, यो अर्थ न व्यर्थको कुरा हो। स्त्रीहरू अर्कै चिहानमा पुगेका भए अनि त्यही गल्तीको आधारमा ख्रीष्ट बौरनुभयो भनी खबर पुर्‍याएका भए, त्यो कुराको स्पष्टिकरण उहिल्यै भइसक्थ्यो। प्रथमत, चेलाहरू बुद्धु थिएनन्। उनीहरूले एक दुई दिग्भ्रमित स्त्रीहरूकै गवाहीका निम्ति आफ्‍नो ज्यान फाल्नेवाला थिएनन्। उनीहरूले ती स्त्रीका बयानलाई अवश्य होशियारपूर्वक जाँच्नेथिए र सत्यतथ्य के हो भनेर टुङ्गो लाउनेथिए। त्यति मात्र कहाँ हो र, अझ पहिला यहूदी अगुवाहरू आफै गएर ‘खास चिहान यो पो हो’ र ‘ई शरीर यहाँ छ’ भनेर देखाइदिएर यो मामिलाको उहिल्यै टुङगो लगाइसक्थे!

३. कतिले यो भन्छन् कि चेलाहरूलाई मतिभ्रम भएको थियो।

यदि मतिभ्रम भएको थिए भने त्यो व्यापक मतिभ्रम भएको हुनुपर्छ किनकि पावलले यो लेखे कि बौरिउठ्नुभएका ख्रीष्ट एउटा अवसरमा एकै पटक ५०० भन्दा बढी व्यक्तिकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५-५-८)! पावलले पहिलो कोरिन्थीको पत्र लेख्दाको बेला ती प्रत्यक्षदर्शीहरू अधिकांश अझै जीवितै थिए। पावलले उहिले-उहिले भएको घटनाको कुरा गरिरहेका थिएनन्। जोश म्याकडावेल (Josh McDowell) को अवलोकनलाई विचार गर्नुहोस्: “हामी ती ५०० जनालाई एउटा अड्डा अदालतमा खडा गराऔं जोहरूले येशूलाई उहाँको मृत्यु र दफनपछि जीवित देखे। अब  सोच्नुहोस्। यदि ती ५०० जनाले ६-६ मीनेट मात्र आ-आफ्नो गवाही बक्न पाए भने — उनीहरूलाई केरकार गर्दाको समयलाई जोडेर समेत — तपाईंलाई ५० घण्टा बराबरको प्रत्यक्ष (first hand) बयान उपलब्ध हुनेथ्यो। अब त्यसमा थप्नुहोस् अरू थुप्रै प्रत्यक्षदर्शीहरूको गवाही। यो भनेको त इतिहासकै सबैभन्दा ठूलो, एकतर्फी मुद्दाको सुनुवाइ हुन जान्थ्यो।” (Evidence for Resurrection) यस्तो अनुमानले “ख्रीष्टलाई एउटा धोखेबाज बनाउँछ र उहाँका चेलाहरूलाई उल्लू बनाउँछ” भन्ने फ्र्याङ्क मोरीसनको अभिव्यक्ति सही हो। ती चेलाहरूले पछिबाट आफ्‍नो गवाहीका निम्ति बिनाडर कति ठूला संत्रास र सतावटहरू भोगे। उनीहरूले सामना गरेका ती सतावटहरूलाई हेर्दा, उनीहरू भित्र-भित्र शङ्का बोक्दै आधा मनले यस मतमा लागिरहेका व्यक्तिहरू थिए भन्न सक्नै त्यहाँ कुनै ठाउँ नै छैन।

४. कतिले यो भन्छन् कि उनीहरूले अर्कैलाई देखेका हुन् जसले येशूको रूप धारण गरेका थिए। (Hugh Schonfield, The Passover Plot)

यो त यति हास्यास्पद छ कि यसको खण्डन गर्नलाई समय खेर नफाल्दा हुन्थ्यो। तीन-तीन वर्ष येशूसँगै हिँडेका चेलाहरूले उहाँलाई चिन्न सक्ने थिएनन् र? एकछिन अलमलमा पर्नु, केही छोटो अवधिको लागि समेत दिग्भ्रमित हुनु, एउटा कुरा हो, तर समय बित्दै जाँदा निज आखिरमा एक धोखेबाज हुन् भनेर महसुस भइहाल्ने कुरा हो नि।

५. कतिले भन्छन्, उहाँको शरीर चोरिएको थियो।

यो कथन यहूदी अगुवाहरूको रचना थियो। उनीहरूले गार्डहरूलाई घुस दिए यो झूट बोल्न लगाए कि चेलाहरूले येशूको शरीर चोरे (मत्ती २८:११-१५)। यो एउटा असम्भव कुरा हो। पहिलो, उनीहरू सुतिरहेका भए, शरीरलाई के भयो भनेर उनीहरूले कसरी जान्न सक्थे र? अनि यदि चोरिएकै भए पनि, कसले चोरे भनेर कसरी जान्न सक्थे र? दोस्रो, गार्ड ड्यूटीमा सुत्नु भनेको मृत्युदण्डको सजाय पाइन्थ्यो त्यसबेला। एकजना सम्म गार्ड सुतेको कुरा सायद सोच्न सकिन्छ, तर सब का सब नै निदाएको हुनु भनेको सोच्नै योग्य कुरा होइन। विशेष गरी यस्तो असाधरण अवसरमा कि शरीर नचोरियोस् भन्ने हेतुले उनीहरू गार्ड बस्दैछन् ताकि क्रूसमा टाँगिएका येशू मरेकाबाट बौरिउठ्नुभयो भनी नभनियोस्। सबै सुते? सम्भव छ, तर विश्वास गर्न योग्य छैन। विशेष गरी जब यो विचार गरिन्छ कि ती गार्डहरू संसारकै सबभन्दा कडा अनुशासनमुनि रहेका सिपाहीहरू थिए। ड्यूटीमा निदाउनु भनेको त रोमी सिपाहीको लागि मृत्युदण्ड थियो। तरैपनि ती सिपाहीहरूलाई मारिएन, न ता शासकवर्गले उनीहरूलाई दोषी नै ठहराए। अवश्य नै ती शासकहरू शरीरलाई थुनेर राख्ने आफ्‍नो योजना विफल भएको देख्दा बेसरी लज्जित भएका र चिढिएका थिए। तेस्रो, उनीहरूको कामकुराले यो देखाउँछ कि यहूदी अगुवाहरूले आफ्‍नै बयानलाई विश्वास गर्दैनथे। शरीर छैन भन्ने कुरा जब उनीहरूले थाह पाए, खै त, उनीहरूले चेलाहरूलाई बोलाएर कही सोधखोज गरेनन्, नता शरीर खोज्नपट्टि नै लागे। यसले त झन् बौरिउठाइ भएकै थियो भन्ने कुरालाई प्रमाणित गर्दछ। किनकि शरीर त्यहाँ छैन भन्ने कुरा स्वीकार गरेका मान्छेको भाषा हो यो। जब शरीर त्यहाँ छैन भनेर उनीहरूले स्वीकार गर्छन्, तर चोरिएको हो भन्ने कुरा जब झूटो र विश्वास गर्न नसकिने भनेर देखाइन्छ (किनभने पहरा दिएका उनीहरूले नै हुन्, छाप लगाएका उनीहरूले नै हुन् अनि चेलाहरूको भयभीत अवस्थालाई जब विचार गर्छौं) बौरिउठाइको प्रमाण त झनै खण्डन गर्नै नसकिने बन्दछ। अझ कुरा केलाऊँ, कसले चोरे होला त ख्रीष्टको शरीरलाई?
  1. यहूदीहरूले निश्चय पनि चोरेनन्, किनकि उनीहरू उहाँ बौरनुभएको होइन भन्ने कुरा प्रमाणित गर्न चाहन्थे।
  2. रोमी सरकारले निश्चय पनि चोरेन, किनकि चिहानलाई औपचारिक सील छाप लगाएर थुन्ने कुरा रोमी सरकारले नै गरेको थियो। अनि आफैले शरीर चोरेर ख्रीष्टियनहरूलाई ‘उहाँ बौरनुभएको छ’ भन्दै प्रचार गर्न दिनु भनेको त उनीहरूकै लक्ष्यको ठीक विपरित कुरा हुन्थ्यो।
  3. अरमिथियाका यूसुफले निश्चय पनि चोरेनन्। उनी येशूका चेला थिए र चोर्नका निम्ति उनलाई अभिप्रेरित गराउने कुनै कुरा छैन। अझ भन्नुपर्दा, एकलै त चोर्न सक्ने कुरा पनि भएन। त्यत्रो ढुङ्गा हटाउन कसैको सहायता चाहिन्थ्यो नै अनि ढिलो चाँडो उक्त कुरा ‘एक कान दुई कान मैदान’ भइसक्थ्यो।
  4. चेलाहरूले निश्चय पनि चोरेनन्। पहिलो, उनीहरू आफ्नै ज्यानको डरमा लुकिरहेका थिए। दोस्रो, उनीहरूलाई मौकै थिएन, किनकि चिहानमा सरकारी सीलछाप लगाइएको थियो र अझ गार्डहरूद्वारा त्यो सुरक्षित थियो। तेस्रो, त्यस्तो षड्यन्त्र रचेर र त्यसलाई पूरा गर्न सक्ने खुबी भएको उनीहरूको कुनै अगुवा थिएन। अघिका अगुवा पत्रुस अब एक टुटेका व्यक्ति थिए, ख्रीष्टको चेलापनमा अघि बढ्ने कुरा त परै जाओस्, उनले आफ्‍नै पेशामा फर्केने सोच बनाइसकेका थिए (यूहन्ना २१:३)। चौथो, उनीहरू जानाजानी झूटको लागि दु:ख भोग्न र मारिन रोजेका हुँदो हो त उनीहरू महामूर्ख हुन्! चेलाहरूले अरूले देखेका कुराको लागि ज्यान फालेका होइनन् (जस्तो मुस्लिमहरू कोरानका निम्ति मर्छन्), तर उनीहरू त आफैले देखेका कुराको दाबी गर्दै मरेका हुन् (प्रेरित ४:१८-२०)। पाँचौं, यति धेरैजना मानिस मिलोमतो गरी शरीर चोरेका भए, त्यो कुरालाई गुप्तमा लुकाएर राख्नु असम्भव कुरा हो। यदि चेलाहरूले चोर्न सम्भवै भएको भए पनि, पछिको इसाईमतको इतिहास नै फरक हुनेथ्यो। ढिलो चाँडो सत्य-तथ्य जानेको कोही न कोही व्यक्तिबाट गोप्य कुरा खुलिसक्थ्यो। छैटौं, नयाँ नियममा भेटिने जस्तो यति महान् नैतिकताको धर्म जसले सत्यता र इमानदारीतालाई उच्च मान्छ, यस्तो नीच कपटमा आधारित हुनु एउटा असम्भव कुरा हुनेथ्यो।
“कसैले पनि, चाहे सरकारी वा गैरसरकारी निकायले, उहाँको अवशेषहरूलाई प्रस्तुत गर्न वा कुनै चिहानलाई देखाउन पूर्ण रूपमा विफल भएको तथ्यले नै शरीरलाई चिहानबाट अन्यत्र लगिएको थियो भन्ने कुरामा आधारित हरेक परिकल्पनालाई आखिरमा ढालेर छोड्छ” (Morrison, Who Moved the Stone?)।
हामी यो नबिर्सौं, सुरुका ख्रीष्टियनहरूले ख्रीष्ट मरेकाहरूबाट बौरनुभएको छ भन्ने उनीहरूको गवाहीका निम्ति यथार्थमा के कस्ता कुरा भोगे। उनीहरू परिवार र साथीभाइबाट बाहेक भए, समाजकै शत्रुहरू गनिए र घृणित भए, यातनाहरू भोगे , वर्षौं सम्म अँध्यारो, मुसाग्रस्त कोठरीहरूमा कैद गरिए। जग्गा जम्मीन खोसिए; क्रूसमा टाँगिए, जिउँदै गाडिए, जङ्गली पशुहरूद्वारा च्यातचुत पारिए, जीउ टुक्रा-टुक्रा गरी काटिए, बाँधेर तन्काइने र्‍याकहरूमा राखेर पोलिए, उनीहरूका जिब्राहरू च्यातेर निकालिए, आँखाहरू फुटाइए। साथै उनीहरूले परिवारका प्रियहरूको सास्ती, यातना र मृत्युलाई आफ्‍नै आँखाले हेर्नुपर्ने पीडा भोगे।
“उनीहरूका प्रभु भर्खरै एउटा सार्वजनिक न्यायलयको फैसलाले एक कुकर्मी ठहराइएर नष्ट हुनुभएको छ। उहाँको धर्मले सारा संसारकै धर्महरूलाई हटाउने प्रयास गर्‍यो। हरेक राष्ट्रका नियमहरू उहाँका चेलाहरूका शिक्षा-सिद्धान्तहरूका विपरित थिए। संसारमा भएका सबै शासकवर्ग तथा ठूला बडा व्यक्तित्वहरूका इच्छा-आकांक्षा र अभिलाषाहरू तिनका विरुद्ध थिए। संसारको रीतिरिवाज उनीहरूको विरुद्धमा थियो। यो नयाँ विश्वासलाई, जतिसक्दो कसैलाई ठेस नखुवाउने र शान्तिपूर्ण ढङ्गले फैलाउन खोज्दा समेत उनीहरूले केवल तिरस्कार, विरोध, गिल्ला-गलौज, तीता सतावटहरू, कोर्राहरू, कैदहरू, यातनाहरू र निर्दयी मृत्युहरूको मात्र अपेक्षा गर्न सक्थे। तरै पनि यही विश्वासलाई उनीहरूले जोशका साथ फैलाए; अनि यी सबै दयनीय कष्टहरू उनीहरूले हतोत्साहित नभईकन भोेगे। अझ रमाउँदै-रमाउँदै भोगे। जब एक पछि अर्कोलाई दर्दनाक मृत्युदण्ड दिइयो, बचेकाहरूले आफ्‍नो काम झनै ठूलो जोश र अठोटका साथ सम्पन्न गरे। सैन्य युद्धको इतिहासका अभिलेखहरूमा समेत यस्तै वीरता, समर्पणता, धैर्यता कातरतारहित सहासको उदाहरण पाउन मुस्किल पर्छ। आफ्‍नो विश्वासको आधार के हो र आफूहरूले बेजोडसाथ समर्थन गरेका महान् तथ्यहरू र सत्यताहरूको प्रमाणहरू के के हुन् भनेर राम्रोसित उनीहरूलाई पुन: विचार गर्न अभिप्रेरित गर्ने प्रशस्तै कुराहरू थिए। अनि यी अभिप्रेरित गर्ने कुराहरू भयङ्कर ग्लानि ल्याउने गरीकन र एकदम दोहोरिने तवरले उनीहरूको ध्यानमाथि दबाब पर्ने गरीकन आउँथे। यसैकारण, यदि येशू मृत्युबाट वास्तवमै बौरिउठ्नुभएको होइन भने अनि यस तथ्यलाई उनीहरूले अन्य कुनै पनि तथ्यलाई जति पक्का गरी जान्न सक्थे त्यति पक्का गरी नजानेका भए उनीहरू ती सत्यताहरूलाई समर्थन गरिरहन उनीहरू लागेको लागै, लागेको लागै गरिरहन असम्भव कुरा थियो। … यदि उनीहरूको गवाही सत्य थिएन भने, एउटा झूटो जालसाजी गवाही बनाउन उनीहरूलाई अभिप्ररित गर्न सक्नै त्यहाँ कुनै कुरा थिएन।” (Simon Greenleaf, An Examination of the Testimony of the Four Evangelists by the Rules of Evidence Administered in the Courts of Justice, 1846)
(ख्रीष्टको बौरिउठाइको तेस्रो महान् प्रमाण: परिवर्तित जीवनहरू — यो खण्ड पछि थपिनेछ)। साभार: David Cloud, An Unshakable Faith: A Christian Apologetics Course, 2011)
Print Friendly, PDF & Email