यहोशू, न्यायकर्ता, रूथ

यहोशू, न्यायकर्ता, रूथ

 

यहोशू

प्रतिज्ञाको देशभित्र प्रवेश र त्यसको प्राप्ति

पुरानो नियमका कतिपय पुस्तकहरू ती पुस्तकका प्रमुख व्यक्तित्वहरूकै नामहरूले जनाइन्छन्। यहोशूको पुस्तकको नाम उक्त पुस्तकका प्रमुख व्यक्तित्व यहोशूकै नाममा राखिएको हो। पुरनो नियमका अन्य कुन-कुन पुस्तकहरू प्रमुख व्यक्तित्वका नामले जनाइएका छन्? केही उदाहरणहरू दिन सक्नुहुन्छ? _______________________________________

यहोशू विश्वासका वीर थिए। परमेश्वरले इस्राएल जातिलाई प्रतिज्ञाको देशभित्र ल्याउन र विजय दिन सक्नुहुन्छ भनेर यहोशूलाई पूरा विश्वास थियो (पृष्ठ ३२)। मोशालाई आफ्नो मृत्युको पूर्वजानकारी थियो। इस्राएलका सन्तानहरूलाई प्रतिज्ञाको देशभित्र नेतृत्व गरी जैजान परमेश्वरले चुन्नुभएको व्यक्ति यहोशू हो भनेर मोशालाई थाहा थियो (व्यवस्था ३१:७)। यहोशूको पुस्तकमा इस्राएलका सन्तानहरूलाई यहोशूले देशभित्र डोर्‍याएका र रणभूमिमा शत्रुहरूमाथि विजय हासिल गरेका घटनाहरूको बारेमा पढ्दछौं। मोशाले बाइबलका शुरुका पाँच पुस्तकहरू लेखे अनि यहोशूले बाइबलको छैटौं पुस्तक अर्थात् यहोशूको पुस्तक लेखे।

“यहोशू” को माने “परमप्रभु मुक्ति हुनुहुन्छ” हो। उक्त नाउँले हामीलाई परमेश्वर हाम्रा महान् उद्धारक र मुक्तिदाता हुनुहुन्छ भन्ने कुराको सम्झना गराउँछ। यहोशूको समयमा परमेश्वरले इस्राएललाई तिनीहरूका सबै शत्रुहरूबाट छुटकारा दिनुभयो र सुरक्षासाथ प्रतिज्ञाको देशभित्र ल्याउनुभयो। पुरानो नियमको हिब्रू शब्द “यहोशू” र नयाँ नियमको ग्रीक शब्द “येशू” एउटै हो। येशू ख्रीष्टले हामीलाई केबाट छुटकारा दिनुहुन्छ (मत्ती १:२१)? _________________________________________

प्रस्थानपछि प्रवेश

प्रस्थानको पुस्तकमा परमेश्वरले तिनीहरूलाई मिस्रदेशबाट निकालेर ल्याउनुभएको कुराको बारेमा सिक्यौं।तर आफ्नो जातिलाई मिस्रदेशबाट निकालेर ल्याउनुमा परमेश्वरको महत्त्वपूर्ण अभिप्राय थियो। परमेश्वरले तिनीहरूलाई किन निकाल्नुभयो? के तिनीहरू उजाडस्थानमा नै मरून् भनेर परमेश्वरले तिनीहरूलाई निकालेर ल्याउनुभएको हो? ___________। उहाँले आफ्ना जातिलाई किन निकाल्नेर ल्याउनुभयो भन्ने कुरा परमेश्वरले हामीलाई व्यवस्था ६:२३ मा बताउनुहुन्छ:

“हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देश____ ___________ उहाँले हामीलाई त्यहाँबाट _____________।”

परमेश्वरले उनीहरूलाई भित्र ल्याउनालाई बाहिर निकाल्नुभयो। परमेश्वरले उनीहरूलाई एउटा ज्यादै खराब कुरा (दासत्व) बाट छुटाउन चाहनुभएको मात्र थिएन तर तिनीहरूलाई एउटा ज्यादै असल कुरा (प्रतिज्ञाको देश) दिन पनि चाहनुभएको थियो। प्रस्थानमा हामी परमेश्वरले तिनीहरूलाई निकाल्नुभएको कुराको बारेमा सिक्छौं। यहोशूमा हामी घटनाक्रमको दोस्रो भागको बारेमा अर्थात् परमेश्वरले तिनीहरूलाई भित्र ल्याउनुभएको कुराको बारेमा सिक्छौं।

इस्राएलका सन्तानहरू परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशभित्र सरासर पस्नुपर्ने थियो। तर त्यसो नभएर तिनीहरू आफ्नो अविश्वासको कारण उजाडस्थानमा नै ४० वर्षसम्म यताउता चक्कर मार्दै बिताउन बाध्य भए (गन्तीको पुस्तकमा हेर्नुहोस्, यस अध्ययनमालाको अघिल्लो पाठमा)। गन्तीको पुस्तकमा उल्लेख भएका मानिसहरू परमेश्वरले उनीहरूलाई दिन चाहनुभएको त्यस सुन्दर देशभित्र पस्न र त्यसलाई प्राप्त गर्न चाहेनन्, र त्यसैले उनीहरू उजाडस्थानमा नै मरे।

केबाट मुक्त? केका लागि मुक्त?

इस्राएल जाति दासत्वबाट बचाइएका मात्र नभएर परमेश्वरका आशिषहरूले भरिएको प्रतिज्ञाको देशका निम्ति समेत बचाइएका थिए।उनीहरूका निम्ति परमेश्वरले यही नै प्रबन्ध गर्नुभएको थियो। यसबाट हामीले एउटा पाठ सिक्नुपर्छ। परमेश्वरले एउटा व्यक्तिलाई बचाउनुहुँदा उक्त व्यक्ति एकातिर केही कुराहरूबाट बचाइएको हुन्छ भने अर्कोतिर ऊ केही कुराहरूका निम्ति पनि बचाइएको हुन्छ।परमेश्वरले हामीलाई पाप र मृत्यु र नरकबाट बचाउनुभएको त छ, तर उहाँले हामीलाई केका निम्ति बचाउनुभएको हो? निम्नलिखित पदहरूलाई बाइबलमा भेट्टाउनुहोस् अनि लेख्नुहोस्, एउटा विश्वासी केबाट मुक्त भएको छ र केका निम्ति मुक्त भएको छ:

  1. १ थेस्सलोनिकी १:९
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________
  2. कलस्सी १:१३
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________
  3. तीतस २:१४
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________
  4. यूहन्ना ५:२४
    केबाट मुक्त ____________________________________
    केका निम्ति मुक्ति _______________________________

के तपाईं “बाट-मुक्त” र साथै “निम्ति-मुक्त” विश्वासी हुनुहुन्छ?

सम्पत्तिको उपभोग

यहोशूको पुस्तकको एउटा चाबी पद यहोशू १:३ हो (त्यसलाई पढ्नुहोस्)। के परमेश्वरले इस्राएलका सन्तानहरूलाई त्यो देश दिनुभऐकै थियो? ___________। परमेश्वरले उनीहरूलाई देश दिनु त भयो, तर त्यसभित्र प्रवेश गरी त्यसलाई लिनुपर्ने (त्यसलाई आफ्नो बनाउनुपर्ने) जिम्मेवारी उनीहरूको थियो! देशभित्र पसेर तिनीहरूले उक्त भूमिलाई आफ्ना पैतालाले नै टेक्नुपर्थ्यो अनि तब मात्र त्यो देश उनीहरूको हुन सक्थ्यो!

मानौं तपाईंले फुटबल प्रतियोगिताको एउटा टिकट प्रतियोगिता हुनुभन्दा केही दिन अगाडी नै किन्नुभयो। प्रतियोगिता हुने दिनमा रङ्घशालामा एउटा सीट तपाईंकै लागि सुरक्षित हुन्छ। तर यदि तपाईं रङ्घशाला जानुभएन भने त्यो सीटको के काम लाग्छ र? त्यो तपाईंकै थियो तर तपाईंले त्यसको प्रयोग गर्नुभएन। तपाईंले उपभोग गर्नुपर्ने कुरा गुमाउनुभयो। उनीहरूलाई प्रतिज्ञा गरिएको देशमा इस्राएलका सन्तानका लागि एउटा ठाउँ सुरक्षित थियो। उनीहरू त्यहाँ प्रवेश गरी त्यसलाई प्राप्‍त गरेको परमेश्वर चाहनुहुन्थ्यो।

के इस्राएलका सन्तानहरू देशभित्र प्रवेश गरी त्यसलाई आफ्नो बनाएँ (यहोशू २१:४३)? ______________। के परमेश्वरले तिनीहरूलाई तिनीहरूका सबै शत्रुहरूमाथि विजय दिनुभयो (यहोशू २१:४४)? ________________। के परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो (यहोशू २१:४५)? ______________

एक वृद्ध चाँदी खनकले पश्चिम अमेरिकाको पहाडहरूहुँदो चाँदीको खोजीमा आफ्नो जीवनै बिताए। आफ्नो खोजीमा उनी यति तल्लीन भएका थिए कि उनकी पत्नी र बालबाच्चाहरूले समेत उनलाई त्यागिदिएका थिए। उनी मरेपछि उनलाई दफन गर्न आएका दुईचार जनाले उनको साथमा एउटा सानो कागत भेट्टाए जसमा उनलाई उनकै छाप्रोमुनि दफन गरियोस् भन्ने निर्देशन लेखिएको पाइयो।साबेलले जमीन खन्दै जाँदा त्यहाँ खरानी रङ्गको चमकदार पद्धार्थ देखापर्न थाल्यो। त्यहाँ त क्यालिफोर्निया राज्यकै इतिहासमा सबैभन्दा मूल्यवान् चाँदी खानी भेटियो जुनचाहिँ “कम्स्टक सिल्भर भेन” को नामले प्रख्यात भयो! त्यो खनक, एक खरबपति भए तापनि जीवनभरि उनलाई आफ्नो सम्पत्तिको कहिल्यै पत्तो भएन अनि उनले आफ्नो सम्पत्तिको कहिल्यै उपभोग गरेनन्। उनले आफ्नो प्राप्तिलाई कहिल्यै प्राप्त गरेनन्। त्यो उनकै भएर पनि त्यो उनको हुन सकेन। उनले आफूसँग भएको कुराको कहिल्यै उपभोग गरेनन्।

परमेश्वरका जनहरूले उनीहरूलाई दिइएका कुराहरू उपभोग गरोस् भन्ने परमेश्वर चाहनुहुन्छ! पमरेश्वरले इस्राएलका सन्तानहरूलाई एउटा अति सुन्दर देश दिनुभयो र तिनीहरूले त्यसलाई पूर्णरूपमा अधिकार गरेको उहाँ चाहनुहुन्थ्यो। यहोशूको नेतृत्वमा इस्राएलका सन्तानहरूले थुप्रै विजयहरू हासिल गरे तरैपनि तिनीहरूले देशलाई पूर्णरूपमा आफ्नो बनाउन सफल भएनन्। इस्राएलका सन्तानहरूले कतिपय शत्रुहरूलाई धपाउन असफल भए र इस्राएलले अधिकार गर्नुपर्ने देशका कति भू-भाग ती शत्रुहरूले नै अधिकार गरे (हेर्नुहोस् यहोशू १७:१२-१३)। तिनीहरूले प्राप्त गर्न सक्ने र प्राप्त गर्नुपर्नै कयौं कुराहरूलाई इस्राएलीहरूले गुमाए!

आज परमेश्वरका जनहरू

आजका विश्वासीहरूलाई विचार गर्नुहोस्। परमेश्वरले हामीलाई इस्राएल देशभित्र गएर त्यसलाई जित्न र अधिकार गर्न आदेश दिनुभएको छैन। आज हामीले कुन कुरालाई अधिकार गरेको परमेश्वर चाहनुहुन्छ? परमेश्वरले आफ्ना जनहरूलाई दिनुभएका केही कुराहरू यस प्रकार छन्:

  1. यूहन्ना १४:२७, १६:३३ – परमेश्वरले हामीलाई अशान्तिले भरिएको यस संसारको बीचमा शा______ दिनुभएको छ।
  2. यूहन्ना १५:११ – परमेश्वरले हामीलाई यस दुःखदायी संसारको बीचमा आ_________ दिनुभएको छ।
  3. यूहन्ना ८:१२ – परमेश्वरले हामीलाई अन्धकारमय संसारको बीचमा ज्यो_____ दिनुभएको छ।
  4. यूहन्ना १०:२८ – परमेश्वरले हामीलाई यस मृत्युमय संसारको बीचमा जी_______ दिनुभएको छ।

यी हुन् हामीले अधिकार गर्नुपर्ने हाम्रा केही अधिकारहरू। के तपाईंले यी चारओटा कुराहरूलाई आफ्नै बनाउँदै हुनुहुन्छ?के यस घडि तपाईंसित शान्ति छ? के यस घडि तपाईंसित आनन्द छ? के यस घडि तपाईं परमेश्वरको ज्योतिले चम्किरहनुभएको छ? के यस घडि तपाईं परमेश्वरको जीवन उपभोग गर्दै हुनुहुन्छ? यी कुराहरू तपाईंले कसरी अधिकार गर्न सक्नुहुन्छ?

यहोशू १:३ मा पाइने हाम्रो चाबी पदलाई के तपाईंलाई याद गर्नुभएको छ? परमेश्वरले इस्राएलका सन्तानहरूलाई एउटा सुन्दर प्रतिज्ञा दिनुभएको थियो: “तेरा ___________ले कुल्चिने सबै जग्गा म तँलाई ___________।” यो प्रतिज्ञालाई पाएर तिनीहरूले के गर्नुपर्थ्यो? तिनीहरूले परमेश्वरलाई विश्वास गर्नुपर्थ्यो, देशभित्र प्रवेश गर्नुपर्थ्यो, देशको जमीनमाथि आफ्नो पैतालाले टेक्नुपर्थ्यो र त्यसलाई आफ्नै बनाउनुपर्थ्यो किनकि परमेश्वरले त्यो उनीहरूलाई नै दिनुभएको थियो। आज विश्वासीहरू “वि________द्वारा” हिँड्नुपर्छ (२ कोरिन्थी ५:७)। इस्राएलका सन्तानहरू उक्त देशभित्र एउटा पैतालापछि अर्को पैतालाले टेक्दै गए र परमेश्वरले उनीहरूलाई विजय दिनुभयो। आज पनि विश्वासीहरूलाई परमेश्वरले विजय दिनुहुन्छ: “…अनि हाम्रो ____________ नै यो __________, हो जसले संसारमाथि जय प्राप्त गर्छ (१ यूहन्ना ५:४)।” हामी विश्वासको पैताला टेक्दै हिँड्नु छ, पैताला-पैताला टेक्दै परमेश्वरले दिनुभएको क्षेत्रलाई अधिकार गर्नु छ, हामीले जे-जे पाएको चाहनुहुन्छ ती सबलाई प्राप्त गर्नु छ।

यहोशू र एफेसीका पुस्तकहरू

नयाँ नियमको एउटा पुस्तक यहोशूसित ज्यादै मिल्दोजुल्दो छ। त्यो हो एफेसीको पुस्तक। यहोशूको पुस्तकले भन्छ, “बलियो होऊ” (यहोशू १:६,७,९,१८)!के एफेसीको पुस्तकले पनि यही कुरा भन्छ (एफेसी ६:१०)? ___________। यहोशूको पुस्तक युद्धहरू जित्ने योद्धाहरूको बारेमा हो। के एफेसीको पुस्तक पनि योद्धाहरूको बारेमा हो (एफेसी ६:११-१८)? _________। यहोशूको पुस्तक इस्राएलले देश अधिकार गर्ने बारेमा हो। एफेसीको पुस्तक ख्रीष्टियनहरूले ख्रीष्टमा उनीहरूलाई दिइएका सम्पत्ति र आशिषहरू अधिकार गर्ने बारेमा हो। हरेक ख्रीष्टियन एक आत्मिक खरबपति हो। तर आफू बास्तवमा नै कति धनवान् छु भनेर सबै ख्रीष्टियनहरूले महसुस गरेका हुँदैनन् र बास्तवमा थोरैले मात्र यी सम्पत्तिहरू अधिकार गर्दछन् र उपभोग गर्दछन्।

परमेश्वरले कलवरीको क्रूसद्वारा आर्जन गर्नुभएको विजयद्वारा हामी विश्वास गर्नेहरूलाई उहाँद्वारा प्रतिज्ञा गरिएका अधिकारहरूको भागीदार बनाइएको छ। तर ती प्रतिज्ञा गरिएका अधिकारहरू प्राप्त गर्नालाई मेरो आफ्नो जिम्मेवारी पनि छ – ती सम्पत्तिका लागि मेरो चाहना हुनुपर्छ, प्रतिज्ञाहरू प्राप्त गर्नालाई मेरो अठोट हुनुपर्छ, परमेश्वरद्वारा दिइएका अधिकारहरू अनुभव र उपभोग गर्न खोज्दा आइपर्ने चुनौती र त्यसमाथि विजयी हुनाका लागि परमेश्वरमाथि मेरो भरोसा हुनु आवश्यक पर्छ।

न्यायकर्ता – इतिहासको दुःखद अध्याय

यहोशूको मृत्युपछिको इतिहासको कालखण्डलाई न्यायकर्ताको कालखण्ड भनिन्छ। यही समयमा नै इस्राएलका सन्तानहरू परमप्रभुबाट पछि हटे र उहाँको विरुद्धमा पाप गरे:

जब मानिसहरू प्रभुदेखि पछि हट्छन् त्यसबेला केवल समस्या, अलमल र दुःख मात्र आइपर्छ।

न्यायकर्ताहरू को थिए?

न्यायकर्ताहरू परमेश्वरले फरक-फरक समयमा इस्राएलका सन्तानहरूलाई तिनीहरूका शत्रुहरूदेखि छुटाउन र बचाउनालाई उठाउनुभएका गिदोन र शिमशोन जस्ता फरक-फरक पुरुषहरू थिए जसमध्ये दबोरा नाम गरेकी एउटी स्त्री पनि थिइन्।त्यसबेलासम्म इस्राएलमा कुनै राजा थिएनन् तर यी न्यायकर्ताहरूले नै मानिसहरूलाई आवश्यक नेतृत्व प्रदान गर्दथे।

बारम्बार दोहोरिएको चक्र

न्यायकर्ताको पुस्तकमा हामी एउटा चक्रको बारेमा सिक्छौं जसका चारओटा चरणहरू थिए:

  1. विद्रोह: इस्राएलीहरूले पाप गर्थे, प्रभुबाट तर्केर जान्थे र परमेश्वरको नजरमा ज्यादै दुष्ट कामहरू गर्थे।
  2. बदला: परमेश्वरले आफ्ना जनहरूलाई सजाय दिनुहुन्थ्यो र शत्रुहरूलाई उनीहरूमाथि शासन गर्न र उनीहरूलाई कमारा-कमारी बनाउन दिनुहुन्थ्यो।
  3. बदली; अन्तमा उनीहरू परमेश्वरलाई गुहार्थे तर त्यो पनि परिस्थिति असह्य भएपछि मात्रै।
  4. विश्राम: अनुग्रहमा परमेश्वरले तिनीहरूको पुकारा सुन्नुहुन्थ्यो र इस्राएललाई ती शत्रुहरूदेखि बचाउन एउटा न्यायकर्ता उठाउनुहुन्थ्यो।

आज विश्वासी जनले आफू समस्याको गहिरो दलदलेभित्र पुग्नुभन्दा अगाडी नै परमेश्वरलाई पुकारा गर्न सिक्नुपर्छ। सबै कुरा राम्रै हुँदा पनि प्रभुलाई पुकार्नु असल हो।

न्यायकर्ताको पुस्तक पढ्दा यो चक्र बारम्बार दोहोरिएको पाइन्छ। यस चक्रको बारेमा न्यायकर्ता २:११-१९ मा पढ्न सकिन्छ। यस चक्रलाई बुझ्नालाई तलको चित्रलाई अध्ययन गर्नुहोस्:

न्यायकर्ताको पुस्तकमा यो चक्र बारम्बार दोहोरिएको पाइन्छ। तपाईंको जीवन कस्तो छ नि? यस चक्रलाई हेर्दा तपाईंले आफूलाई कुनचाहिँ ठाउँमा भेट्टाउनुहुन्छ? तपाईं परमेश्वरको सेवा गर्दैहुनुहुन्छ कि पापको? तपाईं परमेश्वरतिर फर्कँदैहुनुहुन्छ कि परमेश्वरदेखि तर्किँदैहुनुहुन्छ? तपाईंको देश नि? यस चक्रको कुनचाहिँ ठाउँमा तपाईंको देश भेटिन्छ? भविष्यलाई हेर्दा तपाईंको देश कतातिर लम्किरहेको देखिन्छ?

न्यायकर्ताको पुस्तकको चाबी पद

न्यायकर्ताको पुस्तकको चाबी पद दुई ठाउँमा भेटिन्छ: न्यायकर्ता १७:६ मा र २१:२५ मा। के दुवै पद उस्तै छन्? सायद न्यायकर्ता २१:२५ लाई याद गर्न र भेट्टाउन बढी सजिको छ किनकि यो यस पुस्तकको अन्तिम पद पनि हो।

राजा नभएको राज्य

यी पदहरू अनुसार न्यायकर्ताको समयमा इस्राएलमा कुनै राजा थिएन। तपाईं त्यसबेलाको एक इस्राएली हुनुभएको भए यो कुरा तपाईंलाई कस्तो लाग्थ्यो होला? सायद कतिलाई यस्तो विचार आउँथ्यो:

तर उसले राम्ररी सोच्नुपर्थ्यो। उसले यसरी भन्नुपर्थ्यो: “होइन, हामीसित राजा बास्तवमा हुनुहुन्छ! किनकि परमप्रभु हाम्रा राजा हुनुहुन्छ। हामीसित महान् परमेश्वर हुनुहुन्छ जसले नै हामीलाई शासन गर्नुहुन्छ, हाम्रो देखरेख गर्नुहुन्छ, हामीलाई रक्षा गर्नुहुन्छ। अन्य कुनै जातिले हामीले जस्तै गरी परमेश्वर (परमप्रभु यहोवा) लाई आफ्नो राजाको रूपमा पाएका छैनन्!”

दुःखको कुरा ती मानिसहरूले त्यसरी विचार गर्न सकेनन्। बरु तिनी सबका सब आफू-आफू नै राजा हुनालाई रोजे!

मेरो राजा म आफैं हूँ!

न्यायकर्ताको आखिरी पदले बताउँछ, “…हरेक मानिसले _________ दृष्टिमा जे ठीक लाग्यो त्यही गर्दथ्यो।” के तिनीहरूले परमेश्वरको दृष्टिमा जे ठीक थियो त्यही गरे? ___________। कसको विचारअनुसार कुन ठीक कुन बेठीक भनेर फैसला गरिन्थ्यो? _____________। कसको विचारअनुसार आफ्नो काम-कर्तव्यको निर्धारण गरिन्थ्यो? तिनीहरूको भनाइ यस प्रकार थियो:

तपाईं नि? तपाईं कसलाई आफ्नो राजा बनाउनुहुन्छ? आफैंलाई कि परमेश्वरलाई? तपाईं कुन रोज्नुहुन्छ, परमेश्वरको दृष्टिमा जे ठीक छ त्यही गर्नालाई कि आफ्नो दृष्टिमा जे ठीक लाग्छ त्यही गर्नालाई के तपाईं परमेश्वरभन्दा पनि असल राजा हुनुहुन्छ? आफ्नो जीवनमा परमेश्वरबिना आफैं राज्य गर्न चाहनेहरू आफैंमाथि विनाश निम्त्याउँदैछन्!न्यायकर्ताको पुस्तकको विषयवस्तु यही नै हो।

परमेश्वर, दिने काममा विश्वासयोग्य बनिरहनुहुन्छ। मानिस जाति बारम्बार विफल बन्दछ।मानिस विफल बने तापनि मानिसलाई खोज्न र बचाउन परमेश्वर विश्वासयोग्य बन्न छाड्नुहुन्न।

रूथ

उद्धारको प्रेम-कहानी

रूथ एउटा छोटो पुस्तक हो। यसमा कतिओटा अध्यायहरू छन्? _________। रूथको पुस्तकका घटनाहरू कुन समयमा घटेका थिए (रूथ १:१)? _____________________। न्यायकर्ताको समय पाप र दुष्टताको समय थियो, तरैपनि त्यसबेला इस्राएलको कुनै एक कुनामा एउटा सुन्दर ज्योति चम्कन सकेको थियो भन्ने कुरा रूथको पुस्तकले देखाएको छ। रूथको पुस्तकको कहानी न्यायकर्ताको समयमा घोर अन्धकारमा चम्किरहेको बत्ती झैं बलिरहेको थियो।

रूथको पुस्तकको नाम यहोशूको पुस्तकजस्तै पुस्तकको प्रमुख व्यक्तित्वको नाममा आधारित छ। यस पुस्तकमा बास्तवमा तीनजनाको प्रमुख भूमिका भएको पाउँछौं:

  1. रूथ, मोआबकी स्त्री
  2. नाओमी, रूथकी सासु
  3. बोअज, ती यहूदी पुरुष जो रूथका पति बने।

मसीहको वंशावली

हामीले यस अध्ययनमालाको पृष्ठ १८ मा मुक्तिदाताको वंशावलीको केही चर्चा गरेका थियौं। रूथ र बोअज यस वंशावलीका महत्त्वपूर्ण व्यक्तिहरू हुन्। रूथ ४:१७ अनुसार रूथका जेठा छोरा ओबेद थिए। यस पद (४:१७) अनुसार राजा दाऊदसँग रूथको कुन नाता पर्थ्यो? _________________। मुक्तिदाताको गौरवमय वंशावलीमा रूथले समेत स्थान पाइन्। एक हिसाबमा उनी मसीहकी आमा थिइन् किनकि उनीबाटै एक दिन प्रभु येशू ख्रीष्ट स्वयं आउनुभएको हो।के तपाईंले मत्तीको पहिलो अध्यायमा भएको मसीह राजाको गौरवमय वंशावलीमा रूथ र बोअजको नामहरू भेट्टउन सक्नुहुन्छ? कुन पदमा? _________

दुईटा महत्त्वपूर्ण पदहरू

रूथको पुस्तकमा दुईटा सुन्दर पदहरू छन् जसमा इस्राएलका परमेश्वरसँगको रूथको सम्बन्धलाई प्रकट गरिएको छ:

१) रूथ १:१६

इस्राएलका परमेश्वरलाई आफ्नो व्यक्तिगत परमेश्वर बनाउनालाई रूथले गम्भीर निर्णय गरिन्। त्यसबेला रूथले आफ्नो निर्णयलाई यी शब्दहरूले व्यक्त गरेकी थिइन्: “तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्, अनि तपाईंका ____________ मेरा ____________ हुनेछन्।” रूथले परमेश्वरलाई आफ्नो परमेश्वर बनाउने इच्छा गरे। के यस्तै निर्णय तपाईंले पनि गर्नुभयो? के तपाईंले जीवित परमेश्वरलाई आफ्नो परमेश्वर बनाउनुभयो?

२) रूथ २:१२

आफ्नो सारा भरोसा इस्राएलका परमेश्वरमाथि राख्ने रूथको सुन्दर निर्णयलाई यस पदमा देख्‍न सकिन्छ: “…उनको छत्रछायाँमुनि ____________ लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इस्राएलका परमेश्वरले प्रशस्त उपहार दिऊन्।” के तपाईं परमेश्वरको पखेटामुनि आउनुभयो? योभन्दा सुरक्षित ठाउँ अरू कतै छैन!

दाजुभाइको नाउँलाई कायम राख्नुपर्ने व्यवस्था

यो कुरा व्यवस्था २५:५-१० मा छ। रूथको पुस्तक बुझ्नलाई त्यहाँ उल्लेखित व्यवस्थालाई बुझ्नु आवश्यक छ। व्यवस्था २५:५ पढ्नुहोस्। रूथका पति निःसन्तान मरेका थिए। यस व्यवस्थाअनुसार मृत पतिका दाजु वा भाइले आफ्नी भाइ-बुहारी वा दाइ-भाउजुलाई विवाह गर्न सक्दछ। उक्त वैवाहिक सम्बन्धबाट जन्मेको जेठा छोरालाई मृत पतिको नाउँ दिइन्थ्यो जसले नै मृत पतिको पैतृक सम्पत्ति प्राप्त गर्थ्यो (व्यवस्था २५:६)। उक्त विधवालाई विवाह गर्नलाई दाजु वा भाइलाई बाध्यता थियो कि थिएन (व्यवस्था २५:७-१०)? ___________

नातेदार-उद्धारक

उद्धार: रूथको पुस्तकको मूल सन्देश यही हो। बोअज रूथका नातेदार-उद्धारक बने। उनी रूथका मृतक पतिका नजिकका नातेदार थिए। नजिकका नातेदार भएकै कारण उनले रूथलाई विवाह गर्न सके। रूथको पुस्तक पढ्दा हामी हाम्रा महान् उद्धारक, प्रभु येशू ख्रीष्टलाई सम्झन पुग्छौं। येशू ख्रीष्ट हाम्रा नातेदार-उद्धारक हुनुहुन्छ। बोअज हाम्रा महान् उद्धारक प्रभु येशू ख्रीष्टको सुन्दर छायाँ हुन्।रूथको पुस्तकमा यसरी चित्रण गरिएका निम्न सत्यताहरूलाई विचार गरौं:

१) नातेदार-उद्धारक रगतकै नाता हुनुपर्थ्यो।

पापी मानिसलाई उद्धार गर्न येशू ख्रीष्ट कुन कुराको भागी हुनुभयो (हिब्रू २:१४)? ____________________________। ख्रीष्ट एक मानव बन्नुभयो, उहाँ “आफ्ना ____________समान हुनुपरेको थियो” (हिब्रू २:१७)। उहाँ हाम्रो रगतकै नाता बन्नुभयो!

२) नातेदार-उद्धारकसित जग्गा खरिद गर्नलाई पर्याप्‍त रकम हुनुपर्थ्यो।

बोअज धनी थिए र उक्त रकम तिर्न सक्थे (रूथ २:१)। प्रभु येशू ख्रीष्ट हाम्रो छुटकाराको त्यो ठूलो दाम तिर्न सक्षम हुनुहुन्थ्यो (१ कोरिन्थी ६:२०)। आफ्नै जीवन अर्पण गरेर आफ्नै रगतद्वारा उहाँले उक्त मोल चुक्ता गर्नुभयो (१ पत्रुस १:१८-१९)।

३) नातेदार-उद्धारक उद्धार गर्नलाई तयार हुनुपर्थ्यो।

के ख्रीष्ट पापीहरूलाई उद्धार गर्नलाई तयार हुनुभयो (लूका २२:४२; हिब्रू १०:१७)? ______________

४) नातेदार-उद्धार ले उसले विवाह गर्नुपर्न व्यक्तिलाई प्रेम गर्नुपर्थ्यो।

बोअझले रूथलाई प्रेम गरे। के ख्रीष्टले पापीहरूलाई प्रेम गर्नुभयो (रोमी ५:८)? _______________

५) नातेदार-उद्धारक विवाह गर्नलाई तयार हुनुपर्थ्यो।

बोअज रूथलाई विवाह गर्न तयार थिए। प्रत्येक विश्वासी उहाँसितै विवाह गरिएको छ जो नै हाम्रा नेतादार-उद्धारक हुनुहुन्छ (हेर्नुहोस् रोमी ७:४)। प्रभु येशू ख्रीष्टसित हाम्रो एक अति सुन्दर प्रेमको सम्बन्ध छ!

के ख्रीष्टले तपाईंको उद्धार गर्नुभयो? के उहाँले तपाईंलाई बचाउनुभयो? के तपाईं उहाँसितको आफ्नो प्रेमको सम्बन्धमा आनन्दित हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email