व्यवहारिक लेखहरू
व्यवहारिक लेखहरू
व्यवहारिक लेखहरू
(याकूब, १ पत्रुस र २ पत्रुस)
बाइबल एकदम व्यवहारिक पुस्तक हो! बाइबलले हप्ताको हरेक दिन र दिनको हरेक घण्टा प्रयोग गर्न र अभ्यास गर्न सकिने सत्यताहरू प्रस्तुत गर्दछ! परमेश्वरको सन्देश हामीले सुन्न र सोच्नको निम्ति मात्र होइन, तर यस अनुसार व्यवहार गर्न पनि सकौं भनेर दिइएको हो (याकूब १:२२)। यस खण्डमा हामीले अध्ययन गर्न गइरहेका तीन ओटा पुस्तकहरू निकै व्यवहारिक पुस्तकहरू हुन्, जसले हामीलाई ख्रीष्टिय विश्वासले कसरी दिनहुँको जीवनमा काम गर्दछ भनी देखाउँदछन्।
याकूब—जिउँदो विश्वासबाट उम्रिरहने व्यवहार
याकूबको पुस्तक कसले लेखेका हुन् (याकूब १:१)? ________________ याकूबले यो पुस्तक लेखे, तर हामीले एउटा प्रश्न गर्नैपर्छ, “उनी को थिए?” बाइबलमा “याकूब” नाम भएका थुप्रै मानिसहरू छन् (जसरी आज पनि “याकूब” नाम राखिएका मानिसहरू धेरै छन्)।
यो पत्र लेख्ने याकूब जब्दी नाम गरेका मानिसका छोरा र यूहन्नाका दाजु होइनन् (मत्ती ४:२१; १०:२ हेर्नुहोस्)। यूहन्नाका दाजु याकूब प्रभुका बाह्र चेलाहरूमध्ये एक थिए र उनी शहीद हुने चेलाहरूमध्ये प्रथम पनि थिए। यो घटना ई.सं. ४४ मा भयो, प्रेरित १२:१-२ हेर्नुहोस्। उनले याकूबको पुस्तक लेखेका होइनन्।
यस पत्रका लेखक याकूब अर्को “याकूब” नाम भएका चेला होइनन् (मत्ती २०:३ हेर्नुहोस्)। उनी अल्फयसका छोरा थिए, तर यो पत्र लेख्ने व्यक्ति उनी होइनन्।
याकूबको पुस्तकका लेखक याकूब येशूका आधा-भाइ, मरियम र युसूफका छोरा थिए (मर्कूस ६:३; गलाती १:१९ हेर्नुहोस्)।
प्रभुका भाइ याकूबको बारेमा बाइबलले हामीलाई के सिकाउँछ? येशूले संसारमा सेवकाइ गर्नुहुँदा, के याकूब र अन्य भाइहरूले ख्रीष्टमा विश्वास गर्दथे (यूहन्ना ७:५)? ___________ पछि यही याकूब यरूशलेममा भएको मण्डलीका अगुवा भएका थिए भनी थाह पाउँदा हामीलाई अचम्म लाग्छ (प्रेरित १२:१७; १५:१३; २१:१७-१८)। यो मानिसलाई केही न केही त भएकै थियो! वास्तवमा, याकूब १:१ मा, याकूबले आफैंलाई “परमेश्वर र प्रभु येशू ख्रीष्टको दा____” भनी सम्वोधन गर्दछन्। येशू ख्रीष्टमा विश्वास नगर्ने यी मानिसलाई येशू ख्रीष्टको दास हुन कुन कुराले परिवर्तन गर्यो (१ कोरिन्थी १५:७)? __________________________________
____________________________
तपाईंले देख्नुभयो? येशू उनको दाजु भन्दा पनि ठूलो हुनुहुन्छ भनी याकूबले महसुस गरे, उहाँ तिनको जीवित परमेश्वर हुनुहुन्थ्यो! याकूब आफूले प्रेम गरेका ख्रीष्टको निम्ति मर्न पनि तयार थिए। याकूब यरूशलेममा करिब ई. सं. ६२ वा ६३ तिर शहीद भएका थिए भनी इतिहासले बताउँदछ।
याकूबले लेखेको पत्र सम्भवत: नयाँ नियमका पुस्तकहरू मध्ये सर्वप्रथम लेखिएको पुस्तक थियो। याकूबको पत्र ई.सं. ४५ र ४९ को बीचतिर (अर्थात् प्रभु मृत्युबाट बौरिउठ्नुभएको करिब २० वर्ष भन्दा पनि अगाडि नै) लेखिएको हुनुपर्छ।
याकूब १:१ मा याकूबले उक्त पत्र कसलाई लेखेका हुन् भनी बताइएको छ। उनले यो पत्र पावलले जस्तै कुनै एउटा मण्डली (रोममा भएको मण्डली वा कोरिन्थमा भएको मण्डली) लाई पठाएका होइनन्। उनले यो पत्र कुनै व्यक्ति विशेष (जस्तै तिमोथी वा तीतस) लाई पठाएका होइनन्। उनले यो पत्र चारैतिर तितरबितर भएका बा_____ कुल (यहूदी मानिसहरू) लाई पठाएका हुन्। प्यालेस्टाइनभन्दा बहिर रहेका यहूदी विश्वासीहरूको (याकूब १:२–“भाइहरू”) बारेमा याकूबलाई चासो थियो।
याकूबले यो पत्र लेख्दा, धेरै ख्रीष्टियनहरू यहूदीहरू थिए। पछि, पावल तिनको महान प्रचार यात्राहरूमा गए र निकै धेरै अन्यजातिहरू पनि ख्रीष्टतर्फ फर्किए। तर मण्डलीका सुरुका दिनहरूमा अधिकांश विश्वासीहरू यहूदीहरू थिए।
वर्षको कम्तीमा एक पटक यहूदीहरू ठूला चाडहरू मनाउन यरूशलेममा आउने गर्दथे। उदाहरणको निम्ति, प्रेरित २:१,५ मा यहूदीहरू हरेक राष्ट्रबाट पेन्टेकोस्टको महान चाड मनाउन यरूशलेम आएका थिए भनी हामी सिक्दछौं। याकूब यरूशलेममा भएको मण्डलीको अगुवा भएको हुनाले, यहूदी विश्वासीहरूले आत्मिक सहायता र अर्तीको निम्ति उनको खोजी गर्दथे। यी मानिसहरूको निम्ति याकूबको गम्भीर चासो थियो। उनीहरू रोमी सम्राज्यको चारैतिर तितरबितर भए तापनि, यो पत्र पठाएर याकूब उनीहरू समक्ष पुग्न सफल भएका थिए।
यी पाँच अध्यायहरूमा पाइने सत्यताहरू पहिलो सताब्दीका यहूदी विश्वासीहरूका निम्ति जत्तिको अर्थपूर्ण थियो आज पनि उत्ति नै अर्थपूर्ण छ।
आफ्ना पाठकहरूले येशू ख्रीष्टमाथिको विश्वास म________ विश्वास होइन तर जिउँदो र काम गरिरहेको विश्वास हो भनी जानेको याकूब चाहन्थे (याकूब २:१७,२०,२६)! यो जिउँदो विश्वासले आफैंलाई दैनिक परीक्षाहरू र कठिनाइहरूमा (१ अध्याय); परमेश्वरको वचन पालन गर्नमा (१:२२); खाँचोमा परेकाहरूको वास्ता गर्नमा (१:२७ अध्याय); हाम्रा छिमेकीहरूलाई प्रेम गर्नमा र मानिसहरूलाई उनीहरूको धन अनुसारको विशेष व्यवहार नगर्नमा (२ अध्याय); हाम्रो जिब्रोको रखवाली गर्नमा (३ अध्याय); संसारलाई प्रेम नगर्नमा र शैतानको सामना गर्नमा (४ अध्याय); हाम्रो योजनामा परमेश्वरको योजना मिलान गर्नुमा (४:१३-१७) र हाम्रो प्रार्थनाको जिवनमा (५ अध्याय) अभिव्यक्त गर्दछ।
परमेश्वरको वचनले साँच्चै काम गर्छ, तर मैले यसलाई काममा ल्याउनैपर्छ! घनले साँच्चै काम गर्छ, तर यदि यसलाई प्रयोग गरियो भने मात्र! साइकल राम्ररी नै गुड्छ, तर यदि यसलाई कसैले गुडायो भने मात्रै! परमेश्वरको वचनको सवालमा पनि यही नै सत्य हो।
याकूबको पुस्तक एक व्यवहारिक पुस्तक हो जसले विश्वासीलाई दैनिक जीवनको सामना गर्न परमेश्वरको बुद्धि दिँदछ। धेरै हिसाबमा यो पुस्तक पुरानो नियमको हितोपदेशको पुस्तक जस्तै छ।
याकूब पनि (येशू जस्तै) प्रकृतिलाई नजिकबाट नियाल्ने व्यक्ति थिए। निम्न पदहरूमा, याकूबले कसरी प्रकृतिका तथ्यहरूलाई आत्मिक पाठ सिकाउन प्रयोग गर्छन् भनी वयान गर्नुहोस्: १) याकूब १:६; २) याकूब १:१०-११; ३) याकूब १:२१; ४) याकूब ३:३; ५) याकूब ३:६; ६) याकूब ३:७-८; ७) याकूब ३:११-१२; ८) याकूब ५:२-३; ९) याकूब ५:७।
याकूबको पुस्तकको एउटा शिक्षालाई धेरैजनाले गलत बुझेका छन्। यो २:२४ मा छ जहाँ याकूब भन्छन्, “अब ता तिमीहरूले, विश्वासद्वारा मात्र होइन, तर ___________ मानिस धर्मी ठहरिन्छ भन्ने कुरा देख्यौ” पावलले रोमी ३:२८ मा मानिस कुनै कामहरूबिना ___________द्वारा नै धर्मी ठहरिन्छ भनी सिकाएको कुरालाई यसले खण्डन गर्छ भनी केही मानिसहरू सोच्दछन्। यस अध्ययन मालाको पाँचौं पाठमा धर्मीकरण र मुक्ति सम्बन्धि पावलका शिक्षाहरूलाई हामीले अध्ययन गर्यौं, र मानिस कामहरूद्वारा होइन तर विश्वासद्वारा धर्मी ठहरिन्छ भनी हामीले सिक्यौं।
वास्तवमा याकूब र पावलले उही कुरा सिकाएका हुन्! अझ भन्ने हो भने, पावल र याकूबले एक अर्कालाई राम्ररी चिन्दथे र ख्रीष्टमा उनीहरूको एकमत थियो (गलाती १:१९; २:९; प्रेरित १५:२,४,१३; प्रेरित २१:१८-२०)। याकूबको पुस्तकमा भएका प्रत्येक शब्दहरूसँग पावल पूर्ण सहमत थिए र रोमीको पुस्तकमा भएका प्रत्येक शब्दहरूसँग याकूब पूर्ण सहमत थिए।
विश्वास र कामहरू सँगसँगै जानुपर्छ भन्ने विषयमा के याकूबसँग पावल सहमत थिए (तीतस ३:८ हेर्नुहोस्)? _________ कुनै मानिसले आफूसँग विश्वास छ भनी भने तापनि वास्तवमा विश्वास नहुन सक्छ भन्ने विषयमा के याकूबसँग पावल सहमत थिए (याकूब २:१४ र तीतस १:१६ हेर्नुहोस्)? ___________ अब्राहाम विश्वासद्वारा धर्मी ठहरिएका थिए भन्ने विषयमा के याकूब पावलसँग सहमत थिए (याकूब २:२३ लाई रोमी ४:३ सँग तुलना गर्नुहोस्)? ___________
पावलले जे सिकाए र याकूबले जे सिकाए, दुवै सत्य छन्! रोमीको पुस्तकमा पावलले जवाफ दिएको प्रश्न यो हो: परमेश्वरको सामु म कसरी धर्मी घोषणा गरिन सक्छु? जवाफ यो हो, कामहरूद्वारा होइन तर विश्वासद्वारा। याकूबको पुस्तकमा याकूबले जवाफ दिएको प्रश्न यो हो: मानिसहरूलाई मैले कसरी मेरो विश्वास देखाउन सक्छु (याकूब २:१८)? म विश्वासी हुँ र म परमेश्वरको नजरमा ठीक छु भनी अरूहरूलाई मैले कसरी देखाउन सक्छु? मेरा असल कामहरूद्वारा।
मुक्तिको जरा विश्वास नै हो; असल कामहरू मुक्तिको फल हो। रोमीको पुस्तकले जरालाई जोड दिएको छ; याकूबको पुस्तकले फललाई जोड दिएको छ। मसँग विश्वास छ भनी भन्नु मात्र पर्याप्त छैन (याकूब २;१४); मसँग विश्वस छ भनी मैले देखाउनु नै पर्छ! अर्को शब्दमा भन्ने हो भने, “यदि तिमी साँच्चै स्याऊको रूख हौ भने, मलाई केही स्याऊहरू देखाऊ!” मानिसहरूले मेरो विश्वास देख्न सक्दैनन्। मैले साँच्चै मुक्ति पाएको छु र म साँच्चै धर्मी ठहरिएको छु भनी मानिसहरूले मेरो हृदयभित्र हेर्न सक्दैनन्। तर मानिसहरूले मेरो जिउने, बोल्ने र व्यवहार गर्ने शैली देख्न सक्छन्। याकूबको सन्देश यही हो, यदि कुनै व्यक्तिले साँच्चै विश्वास गरेको छ भने, उसले काम पनि गर्नेछ! याकूब २ अध्यायमा कसरी एउटा व्यक्तिले मुक्ति पाउँछ भनी बताइएको छैन; यसले कसरी एउटा व्यक्तिले साँच्चै मुक्ति पाएको छ भनी देखाउन र प्रमाणीत गर्न सक्छ भनी बताइरहेको छ!
१ पत्रुस—पहिले सतावट, त्यसपछि महिमा!
याकूबले झैं प्रेरित पत्रुसले पनि निकै व्यवहारिक पत्र लेखे। उनले लेखेको पत्र केवल मण्डलीलाई वा कुनै व्यक्तिलाई मात्र होइन, तर “पोन्टस, गलातिया, कप्पाडोसिया, एशिया र बिथिनियामा तितरबितर भएका प____________ (परदेशको भूमिमा क्षणिक समयको निम्ति रहँदै आएका मानिसहरू)” लेखिएको हो (१ पत्रुस १:१)।
पत्रुसको पत्र याकूबले आफ्नो पत्र लेखेको २० वर्ष पछि लेखिएको थियो (१ पत्रुस करिब ६४ ई.सं. मा लेखिएको हो)। तिनले यो पत्र केवल यहूदी विश्वासीहरूलाई मात्र होइन तर अन्यजाति विश्वासीहरूलाई पनि पठाएका हुन् (१ पत्रुस २:१० र ४:३-४ लाई तुलना गर्नुहोस्)।
यी विश्वासीहरू “यात्रीहरू र परदेशीहरू” हुन् भनी पत्रुसले उनीहरूलाई सम्झना गराउँछन् (१ पत्रुस १:१; १:१७; २:११)। यो कुरा परमेश्वरका हरेक सन्तानहरूका निम्ति सत्य हो। संसार हाम्रो घर होइन (फिलिप्पी ३:१९-२०), तर हाम्रो स्वर्गीय घरतर्फ जाँदै गर्दा यस संसारमा भएर हामीले यात्रा गर्नैपर्छ। हामीले हाम्रो स्वर्गीय घरमा बिताउने समयको तुलनामा यस संसारको यात्रा कती लामो हुन जान्छ होला?
विश्वासीहरूको यस संसारको यात्रामा सङ्कष्टहरू हुन्छन् भनी पत्रुस जान्दथे (यस संसारको नागरिकहरूले घृणा गर्ने मुक्तिदातालाई प्रतिनिधित्व गर्दै हामी परदेशको भूमीमा शत्रुहरूको इलाकामा छौं—यूहन्ना १५:१८-२१)। विश्वासीहरू अनन्त सम्म रहने स्थानमा महिमा छ। पावलले यसो भने, “किनकि म ठान्दछु, यस वर्तमान समयका दु__________ त्यस म____________ तुलना गरिने योग्यका छैनन्, जो हामीमाथि प्रकट हुनेछ” (रोमी ८:१८)। क्षणिक सङ्कष्टपछि परमेश्वरको उपस्थितीको महिमित भविष्य आउनेछ।
पत्रुसले सङ्कष्टमा परिरहेका विश्वासीहरूलाई लेख्दैथिए। भविष्यमा भएको आनन्दसँगको तुलनामा अहिले अन्धकारपूर्ण दिनहरू निकै छोटा छन् भनी पत्रुसले उनीहरूलाई सम्झना दिलाए। उदाहरणको निम्ति १ पत्रुस ५:१० लाई विचार गर्नुहोस्। दु:खकष्टहरू के_____ समयका लागी मात्र हुन् तर महिमा अ_________ सम्मको लागी हो भनी यस पदले सिकाउँदछ। १ पत्रुस १:११ र ४:१३ पनि पढ्नुहोस् जहाँ पत्रुसले दु:खहरू र महिमाको विषयमा उल्लेख गरेका छन्। पत्रुसले यी विश्वासीहरूलाई यस जीवनका परीक्षाहरू र दु:खकष्टहरूलाई सम्हाल्न होशियारपूर्वक सिकाए। पत्रुसले सिकाएका केही कुराहरू यहाँ छन् (जोडा मिलाउनुहोस्):

परमेश्वरले आफ्नो वचन लेख्नको निम्ति विभिन्न मानिसहरूलाई रोज्नुभए तापनि उहाँको सत्यता एकनास नै छ। १ पत्रुस ५:५-९ लाई याकूब ४:६-१० सित तुलना गर्नुहोस्। के तपाईंले पत्रुसले लेखेका कुराहरू र याकूबले लेखेका कुराहरूमा समानता भेट्टाउन सक्नुहुन्छ?
२ पत्रुस—पत्रुसका अन्तिम शब्दहरू
२ पत्रुसको पुस्तकका लेखनदास को हुन् (२ पत्रुस १:१)? _____________ यो प्रश्न सरल छ जस्तो देखिन्छ, तर त्यहाँ धेरै मानिसहरू छन् (धार्मिक अगुवाहरू, विश्वविद्यालयमा पढाउने प्राध्यापकहरू इत्यादि समेत) जोहरूले २ पत्रुसको पुस्तक प्रेरित पत्रुसले लेखेका हुन् भनी विश्वास गर्दैनन्। यस पुस्तकको सबैभन्दा पहिलो पदलाई नै उनीहरूले विश्वास गर्दैनन्! लेखकले ख्रीष्टको रूप परिवर्तन भएको बेलामा आफू पनि उपस्थित रहेको दाबी गरेका छन् र निश्चय पनि यो कुरा पत्रुससँग नै मेल खान्छ (२ पत्रुस १:१६-१८ पढ्नुहोस् र मत्ती ७:१-२ सित तुलना गर्नुहोस्)।
२ पत्रुसको पुस्तकमा पत्रुसका अन्तिम शब्दहरू छन्। यो धेरै हिसाबमा पावलको अन्तिम पुस्तक, अर्थात् २ तिमोथीसँग मिल्दोजुल्दो छ। पत्रुसलाई आफू चाँडै मर्दैछु भन्ने थाह थियो: “किनकि हाम्रा प्रभु येशू ख्रीष्टले मलाई देखाउनुभएअनुसार मेरो डेरा उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु” (२ पत्रुस १:१४)। यूहन्ना २१:१८-१९ मा प्रभु येशू ख्रीष्टले पत्रुसलाई ऊ बुढो हुँदा मर्नेछ, साथै उसले आफ्ना हातहरू पसार्नेछ र ऊ जहाँ जान चाहँदैन उसलाई त्यहीँ लगिनेछ भनी बताउनुभएको थियो। जहाँसम्म इतिहासको कुराहरू हामीलाई थाह छ, पावललाई शहीद बनाइएको समयतिर नै पत्रुसलाई पनि रोमीहरूद्वारा (नेरोको शासनकालमा) क्रूसमा टङ्गाइएको थियो। मानिलिए अनुसार पत्रुसलाई उसको शिर मुन्तिर (उँधोमुन्टो) पारेर टङ्गाइएको थियो, किनभने तिनको मुक्तिदातालाई जस्तै गरी टङ्गाइन आफैलाई तिनले योग्यको ठानेनन्।
पत्रुसले आफ्नो मृत्यु नजिक हुँदै गरेको कुरा विचार गर्दा, के तिनलाई आफू स्वर्ग जानेछु भनी कुनै आशा वा कुनै निश्चयता थियो (१ पत्रुस १:३-५)? ____________
दोस्रो पत्रुसको पुस्तक विश्वासीहरूलाई केही सत्यताहरूको सम्झना गराउनको निम्ति लेखिएको थियो (२ पत्रुस १:१२ र ३:१ पढ्नुहोस्)। परमेश्वरले हामीलाई नयाँ सत्यताहरू मात्र सिकाउनुहुँदैन, तर उहाँले हामीलाई हामी आफूले पहिल्यै जानेका कुराहरूको बारेमा पनि सम्झना गराउनैपर्छ। हामीहरूले धेरै कुराहरू बिर्सन खोजिरहेका हुन्छौं!
२ पत्रुसमा, बाइबलको बारेमा केही महत्त्वपूर्ण कुराहरू बताइएका छन् (२ पत्रुस १:१९-२१ र ३:१५-१८ पढ्नुहोस्)। आफू र अन्य प्रेरितहरू छिट्टै लोप हुनेछन् भनी पत्रुस जान्दथे! छिट्टै नै त्यहाँ कुनै प्रेरितहरू हुने थिएनन्! के प्रेरितहरूबिना मण्डली बाँच्न सक्ला (पावल, पत्रुस र मत्तीजस्ता मानिसहरूबिना)? सक्छ, मण्डलीमा प्रेरितहरू नभए तापनि, त्यहाँ प्रेरितहरूका शिक्षाहरू छन् (प्रेरित २:४२ सित तुलना गर्नुहोस्)। मण्डलीमा प्रेरितहरूद्वारा हामीलाई दिइएको नयाँ नियम छ!
पत्रुस र पावलहरू हामीकहाँ आएर हामीलाई प्रचार गर्नु र परमेश्वरका कुराहरू सिकाउनु निकै फाइदा जनक हुनेथियो, तर यो असम्भव छ। पत्रुस हामीसँग अब उसो नभए तापनि, हामीसँग पत्रुसले लेखेका दुईओटा पुस्तकहरू छन्! यस संसारमा अब उसो पावललाई भेट्टाउन सकिँदैन, तर पावलका पत्रहरू भेट्टाउन सकिन्छ (२ पत्रुस ३:१५-१६ पढ्नुहोस्)। धेरै समय अगाडि नै प्रेरितहरूको मृत्यु भइसकेको भए तापनि, हामीलाई चाहिएको परमेश्वरको वचन हो।
२ पत्रुसको चाबी शब्द “पहिचान” वा “ज्ञान” (“knowledge”) हो। यस पुस्तकमा यी शब्दहरू भएका सातओटा पदहरू भेट्टाउन सक्नुहुन्छ? १) ________ २) ________ ३) ________ ४) ________ ५) ________ ६) ________ ७) ________ जति धेरै ख्रीष्टको बारेमा हामी जान्दछौं, उति नै थोरै झूटा शिक्षकहरूका धोकामा हामी पर्नसक्छौं (२ पत्रुस २)। जति धेरै ख्रीष्टको बारेमा हामी जान्दछौं, उति नै धेरै हामी ख्रीष्टियनहरूको रूपमा बढ्नसक्छौं (२ पत्रुस १ अध्याय, ३ अध्याय, विशेषगरी २ पत्रुस ३:१८ हेर्नुहोस्)। जब तपाईंले मुक्ति पाउनुभयो, तपाईंले प्रभु येशू ख्रीष्टलाई चिन्नुभयो (यूहन्ना १७:३)। ख्रीष्टियनको रूपमा हरेक दिन झन्-झन् बढि उहाँको पहिचानमा बढ्दैजानुपर्छ (२ पत्रुस ३:१८)। विश्वासीको रूपमा पावलको हृदयको उत्कट इच्छा यो थियो, “म _______लाई … जान्न सकूँ” (फिलिप्पी ३:१०)!
पत्रुसका अन्तिम शब्दहरू हामीले कहिल्यै पनि नभुलौं:
तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र पहिचानमा बढ्दै जाओ। (२ पत्रुस ३:१८)
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)