येशू ख्रीष्टको पूजाहारीपन
येशू ख्रीष्टको पूजाहारीपन
येशू ख्रीष्टको पूजाहारीपन
(हिब्रू)
हिब्रूको पुस्तक नयाँ नियमका पत्रहरूमध्ये तेस्रो लामो पत्र हो। हिब्रूको पुस्तकभन्दा रोमी र १ कोरिन्थीको पुस्तकहरू मात्र लामा छन्। यसका तेह्र अध्यायहरू जहाँतहीँ भएका विश्वासहरूले बुझ्न खाँचो रहेका प्रशस्त सत्यताहरूद्वारा भरिएकाछन्।
यस पुस्तकका लेखक को हुन्?
हिब्रूको पुस्तक कसले लेखेका हुन् भनी हामीलाई निश्चित रूपमा थाह छैन। यो अलि फरक कुरा हो, किनभने मत्तीको पुस्तक कसले लेखेको हो र रोमीको पुस्तक कसले लेखेको हो भन्ने कुरामा हामीलाई निश्चयता छ। लूकाले प्रेरितको पुस्तक लेखेका हुन् भनी हामीलाई थाह छ। नयाँ नियमका २६ ओटा पुस्तकहरू क-कसले लेखेका हुन् भनी हामीलाई थाह छ। पुरानो नियममा पनि यस्ता पुस्तकहरू छन् जसका लेखक को हुन् भनी निश्चित छैन। राजाहरूका पुस्तक र इतिहासहरूका पुस्तक कसले लेखे भनी हामीलाई थाह छैन।
हिब्रूको पुस्तक पावलले लेखेका हुन् भन्ने धेरैको विश्वास छ। अझ भन्ने हो भने, अङ्ग्रेजी बाइबल किङ्ग जेम्स भर्सनमा यस पुस्तकको शीर्षक यस्तो दिइएको छ, “हिब्रूहरूका निम्ति प्रेरित पावलको पत्र” (“THE EPISTLE OF PAUL THE APOSTLE TO THE HEBREWS”)। तरैपनि, पावलका सबै पत्रहरूमा, उनले आफ्नो नाम सुरुमा नै उल्लेख गर्ने गरेकाछन् (रोमी १:१; १ कोरिन्थी १:१ इत्यादि हेर्नुहोस्), तर हिब्रूको पत्रमा कुनै नाम उल्लेख गरिएको छैन। यसैले यो पत्रको लेखक पावल नै हुन् भनी किटान गर्न कठिन हुन्छ। अन्य मानिसहरूले बर्नबास वा अपोल्लोस वा सिलासले यो पुस्तक लेखेको हुनुपर्छ भनी विचार गर्छन्। तेस्रो सताब्दीका (हिब्रूको पुस्तक लेखिएको करिब २०० वर्ष पछि) ओरिगेन (Origen) को भनाइलाई उद्धरण गर्नु नै सम्भवत: सबैभन्दा सुरक्षित हुन्छ, “(हिब्रूहरूका निम्ति) पत्र लेख्ने को हुन्, परमेश्वरले मात्र जान्नुहुन्छ”।
यस मानवीय लेखकको बारेमा हामीले जान्न सक्ने केही कुराहरू छन्। उनले ति________लाई राम्ररी चिन्दथे (हिब्रू १३:२३)। उनी सम्भवत: यहूदी थिए र उनलाई पुरानो नियमका शास्त्रहरूको राम्रो ज्ञान थियो। उनले कैदमा पनि केही समय बिताएका थिए (“बन्धनमा”-हिब्रू १०:३४)। निश्चय पनि, यी सबै कुराहरूले प्रेरित पावललाई अङ्कित गर्छन्, यद्यपि यी कुराहरूले अन्य व्यक्तिलाई पनि अङ्कित गर्दछ।
सामान्यतया: लेखकको नाम पत्रको सुरुमा नै लेख्ने गरिन्छ। पहिलो पदले नै लेखक को हो भनी बताउँदछ। उदाहरणको निम्ति, १ तिमोथीको लेखक को हुन्? _____________ याकूबको पुस्तकका लेखक को हुन् (याकूब १:१)? ______________ यहूदाको सानो पत्रका लेखक को हुन्? ______________ हिब्रूको पुस्तकका लेखक को हुन्? यस पत्रको पहिलो शब्द के हो? ____________। परमेश्वर बोल्नुभयो! यस पुस्तकका लेखक परमेश्वर हुनुहुन्छ! मानवीय लेखक को हो भनी हामीलाई थाह नभए तापनि, हामी जान्दछौं कि हिब्रूको पुस्तक परमेश्वरको वचन हो।
हिब्रूको पुस्तक पढ्दाहुँदी, मानवीय लेखक तर्फ हाम्रो ध्यानाकर्षण हुँदैन, तर त्यहाँ लेखिएको व्यक्तितर्फ हुँदछ! मानवीय लेखकले पनि पुरानो नियमका शास्त्रहरूबाट उद्दरण गर्दा, जहिल्यै पनि परमेश्वर नै लेखक हुनुहुन्छ भन्ने कुरामा जोड दिएका छन्। उनले मानवीय लेखक भन्दा बरु परमेश्वरलाई देखाए। हिब्रू ३:४; ९:८; १०:१५ पढ्नुहोस् जहाँ लेखकले हामीलाई बाइबलको साँचो लेखक पवित्र आत्मा हुनुहुन्छ भन्ने कुराको सम्झना गराउँदछन्।
यस पुस्तकका पाठकहरू को-को थिए?
यो पत्र “हिब्रू” हरूलाई पठाइएको थियो। यसको अर्थ यस पत्रका प्रापकहरू हिब्रूहरू (सम्भवत: इटालीका बासिन्दाहरू) थिए। तर उनीहरू केवल यहूदीहरू मात्र थिएनन्, उनीहरू त येशू ख्रीष्टलाई आफ्नो मसीहको र मुक्तिदाताको रूपमा स्वीकार गर्ने यहूदी मानिसहरू थिए। उनीहरूमध्ये अधिकांश व्यक्तिहरू ख्रीष्टमा साँचो विश्वासीहरू थिए (हिब्रू ३:१), यद्यपि अन्य कुनै पनि माण्डलीक समूहमा झैं त्यहाँ पनि ख्रीष्टलाई दाबी गर्ने मानिसहरू थिए जसले वास्तवमा ख्रीष्टलाई पाएका भने थिएनन्।
के एउटा व्यक्तिले आफू ख्रीष्टियन हुँ भन्न तर साँचो ख्रीष्टियन नहुन सम्भव छ? निम्न पदहरू पढ्नुहोस्:
- तीतस १:१६
- १ यूहन्ना २:४
- १ यूहन्ना २:९
- १ यूहन्ना ४:२०
- याकूब २:१४,१८
ती यहूदी विश्वासीहरू निकै कठिन परिस्थितीहरूबाट भएर गइरहेका थिए। उनीहरू ठूला कष्ट र सतावटहरूद्वारा दु:खमा परिरहेका थिए (हिब्रू १०:३२-३३)। उनीहरूमध्ये कोही-कोहीले आफ्ना भौतिक सम्पत्तिहरू पनि गुमाएका थिए (हिब्रू १०:३४)। विश्वासी जीवन सँधै गुलाफहरू बिछ्याएको ओछ्यान जस्तो हुँदैन भन्ने कुरा उनीहरूले थाह गर्दै थिए (थेस्सलोनिकीहरूको सवालमा पनि यही कुरा सत्य हो—पाठ ८ हेर्नुहोस्)।
यिनै कठिनाइहरू र परिक्षाहरूको कारणले, केही यहूदी मानिसहरू आफ्नो विश्वासबाट धरमराउँदै थिए। कोहीचाहिँ ख्रीष्ट र ख्रीष्टियमतबाट यहूदी धर्मतर्फ फर्कने खतरामा पनि थिए।
प्रभुले एकपटक बीउ छर्नेको दृष्टान्त बताउनुभएको थियो। केही बीउ ढुङ्गेनी जमिन खसे (लूका ८:६ हेर्नुहोस्)। लूका ८:१३ अनुसार, ढुङ्गेनी जमिनमा खसेका बीउले ती मानिसहरूको चित्रण गर्दछ जोहरूले परमेश्वरको वचन सुन्छन् र केही समयको निम्ति विश्वस गर्छन्, तर सङ्कष्टको (जाँच र कठिनाइ) समयमा तिनीहरूले के गर्छन्? प_____ ह_______ येशू ख्रीष्टको अनुसार, त्यस्ता मानिसहरूको समस्या यही हो, तिनीहरूको ज______ हुँदैन (लूका ८:१३)।
दुईओटा रूखहरूको बारेमा विचार गर्नुहोस्। एउटा रूखको सानो र सतही जराहरू छन्; अर्को रूखको जरा विशाल, पृथ्वीको तलसम्म पुगेको गहिरो जराहरू छन्। जब आँधिबेहरी आउँछ, कुन रूख खडा रहन्छ? कुन रूख लड्नेछ?
ती यहूदी विश्वासीहरूको जरा प्रभु येशू ख्रीष्टमा गहिरो गरी गाडियोस् भन्ने उद्देश्यले हिब्रूको पुस्तक लेखिएको थियो! लेखकले ती मानिसहरू ख्रीष्ट येशूमा जरा हाल्दै र बनिँदै जाऊन् भनी हर प्रयास गरे! हिब्रूको पुस्तक उनीहरूको धरमराइरहेको विश्वासलाई बलियो बनाउन पठाइएको थियो, ताकि उनीहरू संसार, शरीर र शैतानले पठाउन सक्ने हरेक विशाल आँधिबेहरीहरूमा स्थिर सकून्!
यो पत्र कहिले पठाइएको थियो?
ई.सं. ७० मा रोमी सेनाहरू आए र यरूशलेममा भएको यहूदीहरूको मन्दिरलाई ध्वस्त पारिदिए भनी इतिहासले बताउँदछ। त्यसपश्चात्, यहूदीहरूको कुनै पनि मन्दिर छैन।
हिब्रूको पुस्तक त्यस महा-विनाश हुनु भन्दा अगाडि नै लेखिएको हुनुपर्छ, किनभने हिब्रू १०:११ बाट हामी जान्दछौं कि मन्दिर त्यहाँ खडा थियो, यहूदी पूजाहारीहरू सेवकाइ गरिरहेका थिए र पशुहरूलाई पनि बलिदान चढाइरहेको थियो। ई. सं. ७० पछि यी कुनै पनि कुराहरू वास्तविक हुनेथिएनन्। तसर्थ यो पत्र ई.सं. ६४ र ६८ को बीचतिर, अर्थात् यरूशलेमको विनाश हुनुभन्दा अगाडि पठाइएको हुनुपर्छ।
हिब्रूको पुस्तक कसरी बुझ्ने?
हामीले पहिल्यै उल्लेख गरिसक्यौं, यो पुस्तक यहूदी मानसिहरूको निम्ति लेखिएको थियो, र यहूदीहरू पुराना नियमका ३९ पुस्तकहरूसँग राम्ररी परिचित थिए। तपाईंले पुरानो नियमलाई, विशेषगरी पुरानो नियमका पहिलो पाँच पुस्तकहरू (उत्पत्ति देखि व्यवस्थासम्म) नबुझेसम्म हिब्रूको पुस्तक बुझ्न कठिन हुन्छ।
उदाहरणको निम्ति, हिब्रूको पुस्तकमा हामीले पूजाहारीहरू, उजाडस्थानमा भड्किहिँड्ने कार्य, सातौं दिनको विश्राम, मल्केसेदेक, यहूदा र लेवीका कुलहरू, मोशाको व्यवस्था, भेट हुने पाल, रोटी राख्ने टेबल, पर्दा, कृपा-आसन, महा-पवित्रस्थान, बलिदानका पशुहरू, कोरलीको खरानी, एसाबले आफ्नो जेष्ठ अधिकार बेचेको इत्यादिका बारेमा पढ्न सक्छौं। जसरी बेथलेहेममा ख्रीष्टको जन्म, गोठालाहरू र ज्योतिषीहरूको बारेमा तपाईं सम्भवत: परिचित हुनुहुन्छ, उसरी नै यहूदीहरू यी सबै कुराहरूसँग परिचित थिए। तर यदि कुनै व्यक्ति पुरानो नियमसँग परिचित छैन भने, उसले यस पुस्तकमा पढ्ने धेरै कुराहरूको बारेमा बुझ्न सक्दैन।
हिब्रू ११ अध्यायको बारेमा विचार गर्नुहोस्। के पुरानो नियमको ज्ञानले एउटा व्यक्तिलाई यो अध्याय बुझ्न सहायता गर्छ?
ख्रीष्ट र ख्रीष्टियमतको सर्वश्रेष्ठता
केही यहूदी मानिसहरू ख्रीष्टबाट यहूदी धर्मतर्फ (पशु बलिदानतर्फ, मोशाको व्यवस्थातर्फ, मानवीय पूजाहारीतर्फ इत्यादि) फर्कने खतरामा थिए। यस्तो कुरा कति मूर्खतापूर्ण हुन सक्छ भनी हिब्रूको पुस्तकले देखाउँछ। यस पुस्तकले ख्रीष्ट कति सर्वश्रेष्ठ हुनुहुन्छ र ख्रीष्टियमत पनि कति सर्वश्रेष्ठ छ भनी देखाउँदछ। केवल एउटा मूर्खले मात्र झन खराब थोकलाई अँठ्याउनको निम्ति सर्वश्रेष्ठ थोकबाट अन्तै फर्कन्छ!
हिब्रू १०:१ अनुसार, व्यवस्थामा लेखिएका कुराहरू (जस्तै पशु बलिदान, भेट हुने पाल, इत्यादि) आउनेवाला कुराहरूका छाया मात्र थिए। कुनचाहिँ श्रेष्ठ हो, छाया कि वस्तु (वास्तविक थोक)? तपाईंले कुनचाहिँ रोज्नुहुन्छ, आइसक्रिमको छाया कि वास्तविक आइसक्रिम? तपाईंलाई कुन चाहिएला, रु ५०० को छाँया कि वास्तविक वस्तु? हिब्रूको पुस्तकले ख्रीष्ट नै वास्तविक वस्तु हुनुहुन्छ, र पुराना नियमका यी सबै कुराहरू त आउनुहुने ख्रीष्टलाई औंल्याउने चित्रहरू वा छायाहरू मात्र हुन् भनी सिकाउँदछ।
ख्रीष्ट कति सर्वश्रेष्ठ हुनुहुन्छ भनी बुझ्न निम्न तालिकाले हामीलाई सहयोग गर्दछ:

हिब्रूको पुस्तकमा ख्रीष्टियमतको सर्वश्रेष्ठतालाई औँल्याउने एउटा चाबी शब्द छ। यो शब्द हो, “उत्तम”! ख्रीष्टमा परमेश्वरले गर्नुभएको कार्य अति उत्तम छ! जोडा मिलाउनुहोस्:
चेताउनीहरू र उत्साहहरू
मानिसहरूलाई जीवित परमेश्वरकहाँ ल्याउन यो पुस्तक लेखिएको हो। ख्रीष्टलाई महान् महापूजाहारीको रूपमा प्रस्तुत गरिएको छ (हिब्रू ३:१; ४:१५; ६:२०; ८:१; ९:११,२४) जो हामीलाई परमेश्वरकहाँ ल्याउनको निम्ति मर्नुभयो, फेरी बौरिउठ्नुभयो, स्वर्गहरू भएर जानुभयो र जो सदाको निम्ति जिउनुहुन्छ। हिब्रू विश्वासीहरूलाई अघि जान र बढ्न अनि ख्रीष्टमा झन् झन् गहिरो गरी जरा हाल्न अर्ती दिइएको छ।
हिब्रूको पुस्तक पढ्नुहुँदा तपाईंले दुईओटा सन्देशहरू बारम्बार दोहोरिएको भेट्टाउनुहुन्छ:
- तपाईंले यहूदी मानिसहरूलाई परमेश्वरको नजिकमा आउनको निम्ति
उत्साहहरू
- दिइएको भेट्टाउनुहुन्छ;
- तपाईंले उही मानिसहरू जीवित परमेश्वरदेखि टाढा नजाऊन् भनी चेताउनीहरू दिइएको भेट्टाउनुहुन्छ।
विश्वासको महान् अध्याय
हिब्रूको पुस्तकमा भएका उत्साहरूमध्ये एउटा महान उत्साह हिब्रू ११ अध्याय हो जसलाई विश्वासको महान् अध्याय भनिन्छ (हिब्रू ११ अध्याय)। यी पदहरूद्वारा उनीहरूका पूर्खाहरूको विश्वासको सम्झना गराइँदा ती यहूदी मानिसहरूलाई विशेष अर्थपूर्ण भएको हुनुपर्छ। उनीहरूलाई पुरानो नियमको राम्रो ज्ञान थियो र त्यसैले उनीहरू हाबिल, हनोक, नूह, अब्राहाम, सारा र यस अध्यायमा उल्लेख गरिएका अन्य सबै मानिसहरूको बारेमा राम्ररी परिचित थिए। यदि यी मानिसहरूले निकै कठिन परिस्थीतिहरूमा परमेश्वरलाई भरोसा गर्न सके भने, आज हामीहरूले पनि सक्छौं! कहिलेकाहीँ हिब्रू ११ अध्यायलाई “विश्वासका वीरहरूको सूची” (HALL OF FAME) भनिन्छ। हिब्रू ११ अध्याय विगतका महान् विश्वासीहरूको सम्झनाप्रति समर्पित गरिएको छ।
फर्कँदिनँ!
ख्रीष्टमा विश्वास भनेको दुई वा तीन महिनाको निम्ति जाँच्ने र त्यसपछि निरन्तरता दिने कि नदिने भनी निर्णय गर्ने कुरा होइन! एउटा व्यक्तिले मुक्ति पाएको घडि, उसले यसो भनिरहेको हुन्छ, “म प्रभु येशू ख्रीष्टलाई आज, भोली र सँधैभरीको निम्ति भरोसा गर्दैछु!” हामीलाई एउटा प्रख्यात भजनले यस कुराको सम्झना गराउँदछ, “येशूको पछि म हिँड्न लागेँ.. फर्कँदिन, फर्कँदिन!”
हिब्रूको पुस्तक पढेका केही यहूदीहरू फर्कन सक्ने खतरामा थिए। उनीहरूको जरा गहिरो थिएन र उनीहरू आफ्नो विश्वासबाट धरमराउँदै थिए। उनीहरू ठूला कठिनाइहरूबाट भएर गइरहेका थिए र ख्रीष्टमा भरोसा गर्न छोड्नुपर्ने हो कि भनी उनीहरूले बिचार गरिरहेका थिए। ख्रीष्टबाट नफर्कनलाई चेताउनी दिन र विश्वासद्वारा ख्रीष्टमा टाँसिरहन र उहाँलाई कहिल्यै नछोड्नलाई उत्साह दिने उद्देश्यले यो पुस्तक उनीहरूकहाँ पठाइएको थियो।
के तपाईंले यस्तो व्यक्तिलाई चिन्नुहुन्छ जो विश्वासी भएजस्तो देखिन्थ्यो, मण्डली आउँथ्यो, बाइबल र आत्मिक कुराहरूमा चासो देखाउँथ्यो, प्रार्थना इत्यादि गर्दथ्यो, तर समय बित्दै गएपछि बदलिए जस्तो देखिन्थ्यो? यही मानिस पछि मण्डली आउन र परमेश्वरका कुराहरूमा चासो देखाउन छाड्यो, अनि संसारले जस्तै जिउन, व्यवहार गर्न र सोच्न थाल्यो। के भएको होला?
एउटा व्यक्ति ख्रीष्टको मण्डलीको साँचो सदस्य हो भनी हामीले कसरी भन्न सक्छौं? हिब्रू ३:६ मा बाइबलले बताउँदछ, हामी ख्रीष्टका घर हौं, यदि हामीले यस भरोसा र आशाको आनन्दलाई __________सम्म बलियो गरी पक्रिराख्यौं भने। यदि कुनै व्यक्ति अन्तसम्म लागिरहेन भने, उक्त व्यक्ति कहिल्यै पनि ख्रीष्टको घर वा ख्रीष्टको शरीरको साँचो हिस्सा होइन रहेछ भनी यसले प्रमाणित गर्दछ।
यहाँ एउटा उदाहरण छ। प्राय: जसो कुनै भवनलाई खडा गरिँदा, कामदारहरूलाई काम गर्न सजिलो होस् भनेर त्यहाँ खट पनि बाँध्ने गरिन्छ।
के त्यो खट उक्त भवनको हिस्सा हो? कसरी कुनै व्यक्तिले कुनचाहिँ संरचना भवनको साँचो हिस्सा हो भनी बताउन सक्छ? यो एकदम सजिलो छ, पर्खनुपर्छ र केही समय जान दिनुपर्छ र भवनको कुन हिस्सा रहिरहन्छ भनी हेर्नुपर्छ! भवनबाट उक्त खट हटेर जान वा भवनबाट कतै लगिन धेरै समय लाग्दैन र त्यसपछि तपाईंले उक्त खटलाई कहिल्यै देख्नुहुनेछैन! त्यो खट भवनको साँचो हिस्सा थिएन। त्यो त केवल अस्थायी जडान मात्र थियो।
आत्मिक क्षेत्रमा पनि यही कुरा सत्य हुन्छ। केही मानिसहरू मण्डलीमा अस्थायी जडान मात्र हुन्छन्। तिनीहरू साँच्चै लागिरहन्छन् कि लागिरहदैनन् भन्ने कुरा थाह गर्न समयको आवश्यकता पर्छ! यूहन्नाले १ यूहन्ना २:१९ मा यी अस्थायी जडानहरूको बारेमा बताउँदछन्, “हामीबाट तिनीहरू निस्के, तर तिनीहरू हाम्रा थिएनन्; किनकि तिनीहरू हाम्रा हुँदा हुन् ता तिनीहरू हामीसँगै रहिरहनेथिए; तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भनी प्रकट होओस् भनेर तिनीहरू हामीबाट निस्के”। प्रभु येशूले पनि लूका ८:१३ मा यही कुरा गर्नुभञो। उनीहरूले विश्वास गरे, तर के उनीहरूको विश्वास रहिरहने किसिमको थियो कि अस्थायी मात्र थियो? _______________________ लूका १:२३ र यूहन्ना ८:३१ पनि पढ्नुहोस्। हिब्रूको पुस्तक हामीहरूलाई त्यो ठोस जगबाट कसैले हल्लाउन नसकोस् भनी हामीहरू विश्वासमा लागिरहन, ख्रीष्टमा गहिरोसम्म पुग्ने जराको विकास गर्नको निम्ति उत्साह दिन लेखिएको हो। हामीहरू अन्तैसम्म लागिरहनुपर्छ (हिब्रू ३:६; ३:१४; १०:३९)।
अनन्त सुरक्षा
के साँचो विश्वासी ख्रीष्टमा सदाका लागि सुरक्षित छ? मुक्ति पाएको मान्छेले मुक्ति गुमाउन सक्छ भनी केही मानिसहरूले विचार गर्छन्। हामीले सिकिरहेका केही चेताउनीमूलक खण्डहरूलाई उनीहरूले गलत तरिकाले बुझ्ने गर्छन्। तरैपनि, हिब्रूको पुस्तकले जोडदार तरिकाले विश्वासीहरूको सुरक्षाको बारेमा प्रस्तुत गर्दछ। निम्न वाक्यहरूसँगै मिल्ने पदहरू पत्ता लगाउनुहोस्:

माथिका खण्डहरूको आधारमा, के परमेश्वरको सन्तान ख्रीष्टमा सदाको निम्ति सुरक्षित छ? _______________
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)