रोमी ३:२१-२३
रोमी ३:२१-२३
रोमी ३:२१
“तर अब” — यस अभिव्यक्तिले पत्र एउटा मोडमा आइपुगेको कुराको सङ्केत दिन्छ। पत्रको यस बिन्दुमा आइपुग्दासम्म पावलले जति पनि कुरा बताएका छन् उनले “अशुभ-समाचार” बताएका छन्। उनले प्रस्टै मानिसको दोष र दण्ड देखाइदिएका छन्। पावलले हरेक मानिस हराएको अवस्थामा छ र “परमेश्वरको सामु दोषी” (रोमी ३:१९) र दण्डको योग्य छ भन्ने कुरा देखाइसकेका छन्। तर अब पावलले “शुभ-समाचार” बताउन थाल्छन्! शुभ-समाचार यो हो कि परमेश्वरसित मुक्ति अर्थात् “धर्मीकरण” को एउटा उदेकको सुन्दर योजना छ जसद्वारा पापी मानिसहरू पवित्र परमेश्वरका सामु धर्मी ठहरिन सक्छन्! “तर अब” — यस अभिव्यक्तिले यस पत्रको सिलसिलामा प्रचण्ड परिवर्तन आएको कुराको सङ्केत दिन्छ (एफेसी २:११-१३ र १ कोरिन्थी १५:१६-२० मा पनि पाइने यही अभिव्यक्तिसित तुलना गर्नुहोस्)।
यसपछिका छओटा पदहरू निर्णायक रूपले महत्त्वपूर्ण छन्। डाक्टर अल्भा जे. मक्लेनले रोमी ३:२१-२६ को बारेमा यसरी भन्नुभएको छ:
“यो खण्ड रोमीको पुस्तककै मुटु हो। यसैकारण सबै ख्रीष्टियनहरूले २१-२६ पदहरूलाई कण्ठ गर्नुपर्ने हो। यदि कसैले मलाई, “मक्लेन दाजु, यदि तपाईंले बाइबलबाट छओटा मात्र राख्न पाउनुभएमा, र बाँकी सबै लगिने भएमा, कुन छओटा रोज्नुहुन्थ्यो” भनेर सोधेको खण्डमा म यी छओटा पदहरू रोज्नेथिएँ। परमेश्वरको सम्पूर्ण सुसमाचार (शुभ-समाचार) यहाँ पाइन्छ, अनि त्यो पनि यस्तो प्रकारले कि जुनचाहिँ परमेश्वरको वचनको अन्य कुनै पनि खण्डमा पाइँदैन [Gospel of God’s Grace]।
एक्काइसौं पदबाट सुरु भएर अध्ययाकै अन्तसम्मको खण्डभित्र एउटा चाबी शब्द रहेको छ जुनचाहिँ बारम्बार दोहोराइएको छ। त्यो शब्द हो धार्मिकता।
पद २१ – धार्मिकता
पद २२ – धार्मिकता
पद २४ – धर्मी ठहरिन्छन्
पद २५ – धार्मिकता
पद २६ – धार्मिकता, धर्मी, धर्मी ठहराउनेवाला
“धर्मी ठहराउनु” – धर्मी भनेर घोषणा गर्नु वा उच्चारण गर्नु
चाबी प्रश्न: एक धर्मी परमेश्वरले आफू धर्मी रहीकन एकजना अधर्मी मानिसलाई कसरी बचाउन सक्नुहुन्छ? यो प्रश्न पद २६ मा देखिन्छ — परमेश्वर कसरी, आफू धर्मी हुन नछोडीकन, पापीलाई धर्मी ठहराउनेवाला बन्न सक्नुहुन्छ? परमेश्वरले धर्मी तवरले पापीलाई न्याय गर्न सक्नुहुन्छ भन्ने कुरामा कुनै समस्या देखिँदैन, किनकि न्यायले माग गर्ने कुरा यही नै हो। तर, प्रश्न यो छ, परमेश्वरले आफ्नै धार्मिकतालाई सम्झौता नगरीकन कसरी एक दुष्ट व्यक्तिलाई धर्मी ठहराउन र दोषमुक्त गराउन सक्नुहुन्छ? “परमेश्वरले दोषीलाई कनै रीतिले निर्दोष ठहराउनुहुन्न” (नहूम १:३)। यसको मतलव उहाँले दोषीलाई दण्डरहित छोड्नुहुन्न। तरैपनि, दुष्ट पापीहरूलाई बचाउन परमेश्वरले ठिक यही काम गर्नुपर्ने हुन्छ! यो यस्तो समस्या हो जसको समाधान केवल ख्रीष्टको क्रूस (मृत्यु) मा भएको छ! ख्रीष्ट हाम्रो स्थानमा दण्डित हुनुभयो, हाम्रो प्रतिस्थापकको रूपमा (सट्टामा), ताकि हामी दोषमुक्त हुन सकौं भनेर।
“परमेश्वरको धार्मिकता प्रकट प्रकट भएको छ” — पावलले रोमी १:१७ मा यही कुरालाई लिएर सुरु गरेका थिए, तर उक्त सुरुको खण्डपछि यता परमेश्वरको धार्मिकता फेरि उल्लेख भएको पाइँदैन जबसम्म हामी रोमी ३:२१ मा आइपुग्दैनौं। पावलले पहिला हामीलाई यो धार्मिकता कति खाँचो छ भन्ने कुरा देखाउन चाहन्थे (दाँज्नुहोस् रोमी ३:१० सित)!
“बिनाव्यवस्था” = पूर्णतयाः रहित (हिब्रू ४:१५ पनि हेर्नुहोस् जहाँ “बिना” लाई “रहित” भनेर “पूर्णतया रहित” भन्ने अर्थमा प्रयोग भएको छ)। यस धार्मिकताको चाहिँ व्यवस्था पालन गर्ने काम वा व्यवस्थाका कुनै पनि कामहरूसित सम्बन्ध नै छैन। व्यवस्थासित यसको कुनै पनि सरोकार छैन। मानिसलाई धार्मिकता दिने चाहिँ परमेश्वरको व्यवस्थाले नभई परमेश्वरको अनुग्रहले हो!
पुरानो नियमका शास्त्रहरूमा हामीले बिनाव्यवस्थाको ईश्वरीय धार्मिकताको बारेमा सिक्न सक्छौं (रोमी १:२ सित तुलना गर्नुहोस्), जसको गवाही निम्न कुराहरूले दिन्छन् …
- …व्यवस्थाले (हेर्नुहोस् उत्पत्ति १५:६; उत्पत्ति ७:१ को साथमा हिब्रू ११:७ लाई पनि हेर्नुहोस्)
- …भविष्यवक्ताहरूले (हेर्नुहोस् यशैया ५३:११; यर्मिया २३:६)।
रोमी ३:२२
“विश्वासद्वारा” — परमेश्वरको धार्मिकता विश्वासद्वारा प्राप्त गरिने कुरा हो
“येशू ख्रीष्टमाथिको” — अर्थात् यस विश्वासको निशाना भनेको क्रूसमा टँगाइनु भएको र बौरनुभएको ख्रीष्ट हुनुहुन्छ।
“विश्वास गर्ने सबै” — रोमी १:१६ सित तुलना गर्नुहोस्। सबैलाई यो धार्मिकताको खाँचो छ (रोमी ३:२३) अनि विश्वास गर्ने सबैले यो धार्मिकता पाउँछन्। बाइबलले कतै पनि “यूनभर्सलवाद” (एक दिन अन्तमा सबैले मुक्ति पाउनेछन् भन्ने शिक्षा) सिकाएको छैन। बाइबलले सिकाएको मुक्ति चाहिँ सबैलाई प्रदान गरिएको र उपलब्ध गरिएको तर विश्वास गर्ने जतिलाई मात्र त्यसको लाभप्राप्ति हुने मुक्ति हो (दाँज्नुहोस् १ तिमोथी ४:१०)। परमेश्वरले आफ्नो मुक्तिको लाभप्राप्ति चाहिँ विश्वासद्वारा तिनलाई अपनाउनेहरूमा सीमित गर्नुभएको छ।
पद २२ को अन्तिम भाग र पद २३ को पूरै भागलाई एक उपवाक्यको रूपमा लिन सकिन्छ: (किनभने त्यहाँ कुनै भिन्नता छैन। किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्)। २२ देखी २४ पदलाई उपवाक्यलाई नाघेर पढ्दा पनि मदत हुन्छ (“विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ, र उहाँको अनुग्रहद्वारा …”)।
रोमी ३:२३
“सबैले पाप गरेका छन्” — सबै मानिसहरू एउटै डुङ्गामा छन् र डुङ्गा डुब्दैछ! तर परमेश्वरले आफ्नो कृपामा यी विनाशमुखी पापीहरूका लागि एउटा उदेकको मुक्तिको प्रबन्ध गर्नुभएको छ यदि उनीहरूले आफ्नो भरोसा ख्रीष्टमाथि राख्छन् भने।
“सबै” — सबैको माने सबै हो (सन्दर्भले परिभाषित गरेबमोजिम)। यस फराकिलो अभिव्यक्तिको कुनै अपवाद छ कि?
प्रभु येशूको बारेमा हामी के भनौं? उहाँले कहिल्यै पाप गर्नुभयो? हेर्नुहोस् १ पत्रुस १:१९; १ पत्रुस ३:१८; १ पत्रुस २:२२; प्रेरित ३:१४; १ यूहन्ना ३:५; मत्ती २७:४; मत्ती २७:२४; यूहन्न १९:४; मत्ती २७:१९; लूका २३:४१; मत्ती २७:४४; मत्ती २७:५४; लूका ४:३३-३४; यूहन्ना ८:४६; यूहन्ना ८:२९; मत्ती ३:१७; यशैया ५३:९; २ कोरिन्थी ५:२१; हिब्रु ४:१५; हिब्रू ७:२६; लूका १:३५ आदि। ख्रीष्टको पापरहितता ज्यादै महत्त्वपूर्ण शिक्षा हो।
कन्या मरियमको बारेमा हामी के भनौं? के उनी रोमी ३:२३का अपवाद हुन्? हेर्नुहोस् लूका १:४७ र लूका ५:३०-३२ सित तुलना गर्नुहोस्। कस्तो व्यक्तिलाई मुक्तिदाताको खाँचो हुन्छ? मरियम कस्ती व्यक्ति थिइन्? मरियमलाई पूज्न खोज्ने व्यक्तिहरूको पहिलो घटनाको अभिलेख लूका ११:२७ मा भेटिन्छ। मरियमलाई त्यस किसिमले प्रशंसा गर्ने कार्यलाई प्रभुले उत्साह दिनुभयो कि त्यसो गर्नदेखि निरुत्साहित पार्नुभयो? मरियम परमेश्वरको भय मान्ने स्त्री थिइन् जसलाई परमेश्वरले एक ज्यादै विशेष तरिकामा प्रयोग गर्नुभयो तर मरिमय-पूजादेखि होशियार हुनुहोस्।
“सबैले पाप गरेका छन्” — यो एक अति महत्त्वपूर्ण बाइबलीय सत्यता हो। यस कुरालाई बाइबलको अन्य ठाउँहरूमा पनि सिकाएको छ, जस्तै:
- यशैया ५३:६ कति जना हराएका छन्?
- १ राजा ८:४६ पापरहित मानिसहरू कतिजना छन्?
- यूहन्ना ७:१९ “व्यवस्था पालन गर्नेहरू” कतिजना छन्?
साथै १ यूहन्ना १:८,१० सित पनि दाँज्नुहोस्
“पाप गरेका छन्” — बाइबलमा “पाप” भन्ने शब्दको माने “निशाना चुक्नु” भन्ने हुन्छ अथवा “मानदण्डभन्दा घटी हुनु”। जस्तै, मानौं खेलका आयोजकले यसरी भने, “भलिबल खेलमा भाग लिन सक्नलाई खेलाडी कम्तीमा पनि साँढे पाँच फिट अल्गो हुनुपर्छ नत्र भने तपाईं उम्मेदवार समेत बन्न पाउनुन्न।” साँढे पाँच फिट भन्दा मुनिकाहरू आयोजकको मानदण्डभन्दा “घटी” ठहरिनेथिए र खेलमा भाग लिनदेखि बञ्चित हुनेथिए। हामी सबैजना परमेश्वरको मानदण्डभन्दा घटी भएका छौं।
पापलाई जनाउने हिब्रू शब्दलाई न्यायकर्ता २०:१६ मा रोचक ढङ्गले प्रयोग गरिएको छ। बेन्यामीनका सन्तानहरू घुयेँत्रो हान्न बेसरी सिपालु थिए। यी मानिसहरू देब्रे हात चलाउनेहरू थिए र उनीहरूले एउटा केशलाई पनि नचुकीकन निशानालाई हान्न सक्थे! एउटा केश भनेको त ज्यादै सानो निशाना हो तर उनीहरूले त्यसलाई नचुकीकन हान्न सक्थे। यो “चुक्नु” भन्ने शब्द “पाप” भन्ने शब्द हो। पापी भनेको चुक्ने व्यक्ति हो। पापी त्यो हो जसले निशाना चुकाउँछ, परमेश्वरको निशाना चुकाउँछ। परमेश्वरको निशाना के हो? यो मत्ती २२:३७,३९ मा उल्लेख गरिएको छ। तपाईंले यो निशानालाई सिद्धरूपमा भेट्टाउनुभएको छ कि त्यसलाई चुकाउनुभएको छ?
“परमेश्वरको महिमा” — परमेश्वरको सिद्ध चरित्रलाई समग्रमा जनाउन यो अभिव्यक्ति प्रयोग गरिएको छ:
परमेश्वर समग्रमा कस्तो हुनुहुन्छ:

तपाईं परमेश्वरको महिमाको नाप बराबर हुनुहुन्छ कि त्यसभन्दा घटी हुनुहुन्छ भनेर जाँच्ने अर्को उपाय छ। मानौं तपाईं स्वयम् पापरहित र निष्कलङ्क प्रभु येशू ख्रीष्टकै बगलमा उभिनुभयो। तपाईं उहाँको कदको कत्तिको बराबरीमा आइपुग्नुहुन्थ्यो होला? तपाईं उहाँको धार्मिकताको नाप बराबर भेटिनुहुन्थ्यो होला कि त्यसभन्दा घटी? प्रत्येक व्यक्ति कस्तो हुनुपर्ने हो भनेर निर्धारण गर्ने परमेश्वरको सिद्धताको मानदण्ड नै येशू ख्रीष्ट हुनुहुन्छ।
ख्रीष्टको दाँजोमा हामी कोही पनि खासै “अग्लो” छैनौं! भलिबल आयोजकलाई सम्झना गर्नुहोस्। तिनका अनुसार साँढे पाँच फिट भन्दा होचो कोही पनि खेलमा भाग लिन नपाइने थियो। परमेश्वरका अनुसार येशू ख्रीष्टको बराबरीमा नआउने कोही पनि स्वर्ग जान सक्दैन! यसको मतलब हामी कोही पनि स्वर्गका निम्ति योग्य छैनौं किनकि हामी सबै नै नापभन्दा घटी छौं! तरैपनि हामी सबै यसरी “होचो” ठहरिनेछौं भनेर परमेश्वर जान्नुहुन्थ्यो अनि त्यसैले उहाँले मुक्ति एउटा यस्तो योजना तयार गर्नुभयो जसद्वारा विश्वास गर्ने पापीहरू ख्रीष्ट जत्तिकै धर्मी ठहरिन सक्दछन् ( हेर्नुहोस १ यूहन्ना ३:७ — “जसरी उहाँ पनि धर्मी हुनुहुन्छ”)।
रोमी ३:२३ लाई दर्शाउने अरु उदाहरणहरू। उफ्रेर कोशी कटाउने: मानौं सबै मानिसहरूलाई उफ्रेर कोशी नदी कटाउनुपर्ने काम दिइयो। कुनै खेलाडी २० वा बढी फिटसम्म उफ्रन सक्ला। कुनै बुढी आइमाई एक फिटसम्म मात्र उफ्रन सक्ला। खेलाडीले बुढी आइमाईलाई भन्न सक्छ, “वाह! म तपाईंभन्दा पर उफ्रें।” तर बुढी आइमाईले यसरी जवाफ दिनेथिई, “हो, तर हामी दुवैले निशाना चुकायौं र हामी दुवै पुग्नुपर्ने ठाउँसम्म पुग्न सकेनौं र नापभन्दा घटी भयौं।” हवाइजहाजहरू: पहाडमा गएर हवाइजहाजहरू ठोक्किएको कुरालाई विचार गरौं। एउटा हवाइजहाज पहाडको फेदमा ठोक्किएर नष्ट भएछ, अर्को पहाडको बीचतिर ठोक्किएर नष्ट भएछ अनि अझ अर्कोचाहिँ पहाडको टुप्पाको पाँच फिट मुनि ठोक्किएर नष्ट भएछ, तर सबै नै ठोक्किएर नष्ट भए! कुनैकुनै अरुभन्दा माथि पुगे त सबै नै पहाडको नापभन्दा घटी भए! सवाल, तपाईं अरुभन्दा कम पापी हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको होइन। कुरा यो हो कि तपाईंले जतिसुकै असल जीवन जिउनुभएको भए तापनि तपाईं जस्तो हुनुपर्ने थियो त्यसभन्दा घटी नै हुनुभएको छ।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)