रोमी ३:९-२०

रोमी ३:९-२०

 

परमेश्वरको न्यायिक फैसला: दोषी!

 

रोमी ३:९

नयाँ खण्डको रूपरेखा

  1. आरोप (रोमी ३:९) — सबै पापका वशमा छन्
  2. अभियोग (रोमी ३:१०-१८) — कानूनी कारवाही गर्न सक्‍ने अधिकारीद्वारा एउटा व्यक्तिलाई कुनै अपराधका निम्ति आरोप लगाएर लेखिएको औपचारिक दोष-पत्रलाई अभियोग भनिन्छ। यहाँचाहिँ उक्त अधिकारी परमेश्वर स्वयं हुनुहुन्छ।
  3. फैसला (रोमी ३:१९) — दोषी!!!

“तब” = तसर्थ। यसले रोमी ३:२ लाई इङ्गित गर्दछ। यहूदीलाई ठूलो लाभ थियो, त के यस कुराले उसलाई अन्यजातिभन्दा असल बनाउँछ त? अहँ!

“हामी” — (यस पदको पहिलो “हामी”); यहाँ पावलले आफूलाई यहूदीहरूसँगै एउटै समूहमा हालेको छ र पापको वशमा रहेका “सबै’ सँग आफूलाई पनि नम्रतापूर्वक समेटेको छ।

कतिजना पापी छन्? — सबै (रोमी ३:९,१२,१९,२३)
कतिजना धर्मी छन्? — कोही छैन (रोमी ३:१०-१२)

यहूदी र अन्यजाति दुवै एउटै डुङ्गामा छन् (अनि डुङ्गाचाहिँ डुब्दै-डुब्दै गइरहेछ!)।

“पहिल्यै हामीले…दोष लगाइसकेका छौं” — रोमी अध्याय १ र २ मा पावलले अन्यजाति र यहूदी दुवै नै पवित्र परमेश्वरका सामु दोषी छन् भनेर प्रमाणित गरेर देखाइसकेका छन्।

“यहूदी र ग्रीकहरू [अन्यजातिहरू]” — यसले सबैलाई समेट्छ!

“पापको वशमा” — पापको दोष मुनि, पापको पकड मुनि र पापले ल्याउने दण्ड र इन्साफको मुनि

रोमी ३:१०

“जस्तो लेखिएको छ” — गलाती ३:२२ सँग दाँज्नुहोस्। १० देखि १८ पदहरूमा पावलले पुरानो नियम शास्त्रबाट उद्दरण गर्दैछन्। पावलले उल्लेख गरेका पुरानो नियमका खण्डहरू यहाँ सूचित गरिन्छ:

रोमी ३:१०-१२ — भजनसङ्ग्रह १४:१-३ र ५३:१-३ बाट
रोमी ३:१३ — भजनसङ्ग्रह ५:९ र १४०:३ बाट
रोमी ३:१४ — भजनसङ्ग्रह १०:७ बाट
रोमी ३:१५-१७ — यशैया ५९:७-८ बाट (साथै हेर्नू: यशैया ४८:२२)
रोमी ३:१८ — भजनसङ्ग्रह ३६:१ बाट

मानिसको हृदयको भयङ्कर भ्रष्टता र मानिसको भयङ्कर पापी अवस्थाको बारेमा पुरानो नियमले प्रस्टै बताएको छ भन्ने कुरा माथिका खण्डहरूबाट बुझ्न सकिन्छ।

रोमी ३:१० चाहिँ भजनसङ्ग्रह १४:१-३ र ५३:१-३ बाटको उद्दरण हो। भजनसङ्ग्रह १४:२ लाई विचार गर्नुहोस् — “परमप्रभुले स्वर्गबाट…हेर्नुभयो”। परमेश्वरको दृष्टिकोणबाट हेर्दाको कुरा छ यहाँ! १ शमूएल १६:७ सँग दाँज्नुहोस्। मानव हृदयलाई परमेश्वरले आफ्नो सर्वज्ञानी दृष्टिकोणबाट यसरी देख्‍नुहुन्छ! पद १० चाहिँ त्यसपछिका पदले बताएको कुराको निचोर हो। यी सब पदहरूले हामी कति अधर्मी छौं भन्ने कुरा देखाउँछन्। यी पदहरूले परमेश्वरबाटको मानव हृदयको रोग निदानलाई प्रस्तुत गर्दछन्! (उदाहरण: मैले आफ्ना हातलाई सकेसम्म राम्ररी धोऊँला रे, तर ती हातलाई मैले एउटा सुक्ष्मदर्शक यन्त्रमुनि राखेर हेर्न सकेँ भने सायद म छक्कै पर्छु हाल किनकि ती हातमा अनेक किटाणु र फोहोर मैला देखा पर्ने थिए। अरूको तुलनामा आफूलाई हेर्दा मैले आफ्नो जीवन शुद्ध र सफा देखूँला, तर परमेश्वरले हेर्नुहुँदा म त्यस्तो देखिन्न)।

रोमी ३:११

“बुझ्ने कोही छैन” — मानिसको आत्मिक अन्धापनाको बयान हो यो। परमेश्वरका कुराहरूको सम्बन्धमा र परमेश्वरको सत्यताको सम्बन्धमा मानिससँग कुनै समझ छैन (दाँज्नू: १ कोरिन्थी २:१४)।

“परमेश्वरलाई खोज्ने [यत्‍नसित खोज्ने] कोही छैन” — तर के यसले प्रेरित १५:१७ र हिब्रू ११:६ लाई खण्डन गर्दैन र, जसअनुसार मानिसहरूले परमेश्वरको खोजी गर्छन् भन्ने कुरा बुझिन्छ? रोमी ३:११ को मूल आशय यो हो: मानिसलाई यदि उसकै भ्रष्ट स्वभावमा छोडियो भने ऊ परमेश्वरतर्फ दगुरेर जानुको सट्टा परमेश्वरदेखि भागेर नै जानेछ। मानिसहरू स्वभावैले परमेश्वरको बाटोमा हिँड्छन् कि आफ्नै बाटोमा (यशैया ५३:६)? के मानिसहरू स्वभावैले ज्योतिलाई प्रेम गर्छन् र ज्यतिमा आउँछन् (यूहन्ना ३:१९-२०)? परमेश्वरले आदमलाई खोज्नुभएको थियो कि आदमले परमेश्वरलाई (उत्पत्ति ३:६-१०)? हराएका मानिसहरूले मुक्तिदातालाई खोज्छन् कि मुक्तिदाताले हराएका मानिसलाई खोज्नुहुन्छ (लूका १९:१०)? १ यूहन्ना ४:१९ को शैलीमा हामी भन्न सक्छौं, “हामी उहाँलाई खोज्दछौं किनकि उहाँले पहिले हामीलाई खोज्नुभयो!” १ यूहन्ना ४:१० को शैलीमा हामी भन्न सक्छौं, “परमेश्वरको खोजी गर्ने र बचाउने प्रेम यसैमा छ — हामीले परमेश्वरलाई खोज्यौं भनेर होइन, तर उहाँले हामीलाई खोज्नुभयो!” यूहन्ना १५:१६ को शैलीमा, “तिमीहरूले मलाई खोजेनौं, तर मैले तिमीहरूलाई खोजें।” मानिसको हृदयमा जुन अनुग्रही काम गर्न परमेश्वर चाहनुहुन्छ र गर्नुहुन्छ त्यसका लागि प्रत्येक विश्वासीले परमेश्वरलाई धन्यवाद दिनैपर्छ (हेर्नू: प्रेरित १६:१४; यूहन्ना ६:४४-४५,६५)। महान् शुरुआतकर्ता परमेश्वर हुनुहुन्छ। भजन लेखकको शब्दमा,

“भौंतारिएँ अँध्यारोमा एकलो
पर थियो दिनको उज्यालो
येशूले भेट्टाएर बनाए मलाई आफ्नो
र हटाइदिए अन्धकार मेरो

मैले उहाँलाई प्रेम गर्नु अघि, उहाँले मलाई प्रेम गर्नुभयो
मैले उहाँलाई भेट्टाउनु अघि, उहाँले मलाई भेट्टाउनुभयो
मैले उहाँलाई खोज्नु अघि, उहाँले मलाई खोज्नुभयो
येशूले मेरो वास्ता गर्नुभयो” — रोन ह्यामिल्टन

हामी उहाँका बिराना शत्रु हुँदा-हुँदै र पापमा मरेका हुँदा-हुँदै (एफेसी २:१-५), उहाँले हामीलाई खोज्नुभयो (रोमी ५:६-१०)। आदम परमेश्वरकहाँ नफर्केकै अवस्थामा, परमेश्वर उसकहाँ फर्कनुभयो र उसलाई बोलाउनुभयो, “तिमी कहाँ छौ?” (उत्पत्ति ३:९)। हराएकालाई खोज्ने महान् र अनुग्रही खोजकर्ता परमेश्वर स्वयं हुनुहुन्छ! के तपाईं उहाँद्वारा भेट्टाइनुभयो?

रोमी ३:१२

“बाटोदेखि भड्किएका” — दाँज्नू: यशैया ५३:६

“बेकम्मा” = भ्रष्ट, काम नलाग्‍ने। ग्रीकमा “अमिलो बन्नु” भन्ने शब्दबाट आएको शब्द हो यो, दूध फाट्दा त्यो अमिलो बन्न गएको जस्तै। फाटेको दूध खासै काम लाग्दैन।

“असल (दया) गर्ने कोही छैन” — “असल” वा “दया” भन्ने शब्द एफेसी २:७ र तीतस ३:४ मा प्रयोग भएको छ (परमेश्वर निर्दयीप्रति धेरै दयालु हुनुहुन्छ!)। दया पाउन बिलकुलै नालायकहरू प्रति परमेश्वर दयालु हुनुभयो। भ्रष्ट मानिसमा भलोपन वा दया भन्ने हुँदैन।

रोमी ३:१० मा पावलले बताएका कुराको सवालमा कुनै अपवाद छ त? अर्थात्, रोमी ३:१० ले नसमेटेको कोही छ त? यहाँ कसरी जोड दिइएको छ त्यसलाई ध्यान दिनुहोस् त: “कोही छैन…एउटै पनि छैन…कोही छैन…कोही छैन…एउटै पनि छैन”

रोमी ३:१३

“चिहान” — परमेश्वरले मानिसको घोक्रोभित्र हेर्नुहुँदा के देख्‍नुहुन्छ? दाँज्नू: मत्ती २३:२७

“छल” — परमेश्वरको दृष्टिकोणबाट हेर्दा सबै मानिसहरू छली र ढँटुवाहरू हुन्।

“काला साँपहरू” — मिश्रमा पाइने गोमन साँप (तिनका मुखबाट विषालु शब्द निस्कन्छन्)

रोमी ३:१४

दाँज्नू: मत्ती १२:३४-३५। जब कसैले ईश्वर-निन्दा बोल्छ वा सराप्छ हामीले यसरी जवाफ दिन सक्छौं, “हजुर, तपाईंको भित्री हृदय देखिँदैछ है!” विश्वासीको मुख निरन्तर आशिष (परमेश्वरका बारेमा उच्चारण गरिने असल-असल कुराहरू) ले भरपूर हुनुपर्छ। हेर्नू: भजनसङ्ग्रह १०३:१-२।

रोमी ३:१५

“रगत बगानउलाई” — यी मानिसहरू खूनी हुन् भनी बयान गरिएको छ (रगत बगाउनु भन्नाले बल प्रयोग गरी हत्या गर्नु भन्ने बुझिन्छ)।

  • ख्रीष्टको मृत्युलाई यसरी बयान गरिएको छ (हिब्रू ९:२२)
  • ढुङ्गा हानी हत्या गरिएका स्तिफनसको मृत्युलाई यसरी बयना गरिएको छ (प्रेरित २२:२०)
  • प्राण दण्ड दिने कार्यलाई यसरी बयान गरिएको छ (उत्पत्ति ९:६)

रोमी ३:१६

“विनाश” = बरबादी

“विपत्ति” = कष्टग्रस्त, अभागी अवस्था, रोमी ७:२४ मा प्रयोग भएकै शब्द – “हाय! म कति अभागी मानिस!” हामी सबैले यो कुरा स्वीकार गर्नै पर्छ।

रोमी ३:१७

उनीहरूले शान्तिको बाटो जानेका छैनन्। हरेक युग र पुस्ताको मानव युद्ध (कयिनले हाबिललाई मारेको दिनदेखि यता) को भयानक इतिहासलाई विचार गर्नुहोस्। लन्डनको अन्तराष्ट्रिय कानून समाज (Society of International Law) ले एक पटक प्रकाशित गरेको तथ्याङ्क अनुसार मानव इतिहासको विगत ४,००० वर्षभित्र ८,००० ओटा शान्ति सम्झौताहरू भए तापनि केवल २८६ वर्ष मात्र युद्धरहित रहे। गत ३०० वर्षमा यूरोपमा २८६ ओटा साना र ठूला युद्धहरू चले। मानव इतिहास युद्धको इतिहास रहेको छ र समय झन् झन् बिग्रँदो छ। यस घडी संसारमा कुन कुन युद्ध र द्वन्द्वहरू चलिरहेका छन्? जुनबेला मानिस परमेश्वरसित मिलापमा रहेको हुँदैन (दाँज्नू: रोमी ५:१), त्यतिबेला ऊ आफ्नो छिमेकीसँग युद्ध गरिरेहको हुन्छ।

रोमी ३:१८

समस्याको आधारभूत र मूल जड यो हो। परमेश्वरको निम्ति त्यहाँ कुनै आदर वा सम्मान नै छैन। मान्छे पुलिस वा न्यायधीशसँग डराउला तर सारा पृथ्वीका न्यायकर्ताका सामु उसलाई डरै छैन! स्वस्थ किसिमले परमेश्वरको डर मान्ने व्यक्ति त्यो हो जसले प्रभुलाई मन नपर्ने कुनै पनि काम गर्नदेखि डराउँछ। हेर्नू: हितोपदेश १:७ र ९:१० (परमेश्वरको डर नै “शुरुआत” हो। त्यो बिना प्रभुको बुद्धिरूपी घरभित्र पस्‍ने ढोकाबाट कोही पनि छिर्न सक्दैन)। परमेश्वरको डर उहाँको साँचो सन्तानको पहिचान हुनुपर्छ (फिलिप्पी २:१२; १ पत्रुस १:१७)।

रोमी ३:१९

“हरेक मुख चुप रहोस्” — मान्छेले के प्रतिवाद गरोस्! उसलाई बोल्ने ठाउँ नै छैन! आरोप मुताबिक आफू दोषी भएको कुरा मानिसले जान्दछ! धर्मी न्यायकर्ता परमेश्वरले सब कुरा जान्नुहुन्छ, सब कुरा देख्‍नुहुन्छ र जति पनि पाप र अपराध गरिए ती एक-एकलाई देख्‍ने साक्षी स्वयं परमेश्वर नै हुनुहुन्छ। हामीले के भन्न सक्छौं र?

“दोषी” — सारा संसार परमेश्वरको न्यायका सामु “दोषी” भन्ने फैसला सुनाइनका लागि ल्याइएको छ र उनीहरू त्यहाँ थरथर काम्दै चूप भई उभिरहेका छन्!

रोमी ३:२०

एकातिर त्यस्ता कुराहरू छन् जुन व्यवस्थाले गर्न सक्दैन र अर्कोतिर त्यस्ता काम छन् जुन व्यवस्थाले गर्न सक्छ। यस पदअनुसार व्यवस्थाले के गर्न सक्दैन? यसले पापी मानिसलाई धर्मी ठहराउन सक्दैन। तर यही पदले, व्यवस्थाले मानिसलाई पापको ज्ञान दिन सक्छ भन्ने कुरा सिकाउँछ। यसले मानिसको पूर्ण पापी अवस्थालाई देखाउन सक्छ। व्यवस्थाको उद्देश्यलाई एउटा ऐनासित तुलना गर्न सकिन्छ। दिनभरिको कामकाजको क्रममा मेरो अनुहारमा कतै फोहोर मैला लागेर पनि मैले चाल नपाएको हुन सक्छ। एउटा ऐनाले मेरो अनुहारमा मैला छ भन्ने कुरालाई देखाइदिने एउटा राम्रो काम पूरा गरिदिन सक्छ। त्यसले मेरो समस्या देखाइदिन सक्छ। तर ऐनाले मैला पखाल्न सक्दैन! त्यसैगरी, परमेश्वरको पवित्र व्यवस्थाले म (परमेश्वरका पवित्र आज्ञाहरू पालन गर्न नसक्‍ने) एउटा दोषी पापी हुँ भनेर देखाउन सक्छ, तर त्यसले मलाई मुक्ति दिन सक्दैन। त्यसले मलाई दोषी ठहराउन मात्र सक्छ र मलाई एकजना मुक्तिदाताको खाँचो छ भन्ने कुरा मात्र देखाउन सक्छ। जसरी ऐनाले तपाईंलाई साबुन र पानीतिर डोर्‍याउनुपर्ने हो, त्यसरी नै व्यवस्थाले तपाईंलाई परमेश्वरका थुमाकहाँ डोर्‍याउनुपर्ने हो जसले तपाईंलाई मुक्त गर्न (बचाउन) र तपाईंका पापहरू हटाउन सक्‍नुहुन्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email