आत्माको फल र विश्वासीको निम्ति परमेश्वरको उद्देश्य
पाठ ८ — आत्माको फल र विश्वासीको निम्ति परमेश्वरको उद्देश्य (भाग २)

यी दुई पदहरूमा नौ-शब्दको विवरण दिइएको छ। हामीले सोध्न चाहेको महत्त्वपूर्ण प्रश्नहरू यी हुन्: यो विवरण कसलाई सुहाउँछ? के हामीलाई उक्त विवरण सुहाउँछ? के हामी प्रेमिलो, आनन्दले पूर्ण र मेलमिलाप इत्यादिमा छौं?

यी शब्दहरूले हाम्रो बारेमा कत्तिको वर्णन गर्दछन्? यदि हामी इमान्दार छौं भने, हामीले यसो भन्नुपर्ने हुन्छ, “यसले मेरो वर्णग गरे हुन्थ्यो भनी म इच्छा गर्छु, तर म प्राय: प्रेम नगर्ने, स्वार्थी, क्रुद्ध, चिन्तित, रिसाउनमा छिटो, झडङ्ग भइहाल्ने, अविश्वासयोग्य, घमण्डी र थोरै आत्म-नियन्त्रण भएको मानिस हुँ”।
यस चुनौतीको सामना गर्ने हिम्मत हामीहरूमध्ये कति जनासँग छ: “यदि तपाईं साँच्चै यी दुईओटा पदहरूमा भएका नौओटा शब्दहरू बुझ्न चाहनुहुन्छ भने, आउने हप्ता मेरो जीवनलाई अवलोकन गर्नुहुन म तपाईंलाई स्वागत गर्न चाहन्छु, र हाम्रो निम्ति यी पदहरूमा व्याख्या गरिएका फलसँग एकदम मेल खाने फल म तपाईंलाई देखाउनेछु।”
कसलाई साँच्चै यी नौओटा शब्दहरूको व्याख्या सुहाउँछ? यी व्याख्याहरूलाई सिद्ध रूपमा सुहाउने जीवन र चरित्र भएको मानिस एकैजना मात्र हुनुहुन्छ। यी दुई पदहरूले येशू ख्रीष्टको चरित्रलाई पूर्ण रूपमा व्याख्या गर्दछ।

परमेश्वरले आज हाम्रो निम्ति ख्रीष्टको कुनै पनि तस्वीरलाई नसम्हाल्नुभएको कुरा चाखलाग्दो छ। परमेश्वरले सम्हालिराख्न सक्नुहुन्थ्यो। ख्रीष्टका दिनहरूमा जिएका अन्य मानिसहरूको तस्वीर आज हाम्रो निम्ति सम्हालिएका छन्। उदाहरणको निम्ति प्राचीन सिक्काहरूमा केही रोमी शासकहरूका प्रतिमूर्तिहरू हाम्रो माझमा छन्। त्यसपछिका सताब्दीहरूमा जिएका प्रख्यात मानिसहरूका शिल्पकलाहरू पनि हाम्रो माझमा छन्। तरैपनि, येशू ख्रीष्टको चित्र वा तस्वीर भने हामीसँग छैन।
गलाती ५:२२-२३ मा हामीसँग ख्रीष्टको नौ-शब्दका चित्रवर्णन छ। गलाती ४:१९ ध्यानपूर्वक पढ्नुहोस्, “जबसम्म ____________ तिमीहरूमा _____________” (गलाती ४:१९)। परमेश्वरले के गर्न खोजिरहनुभएको छ भनी के तपाईंले देख्नुभयो? परमेश्वरले विश्वासीभित्र येशू ख्रीष्टको चरित्र बनिएको चाहनुहुन्छ, र उक्त बनाउने र परवर्तन गर्ने उदेकको कार्य गर्नुहुने पवित्र आत्मा नै हुनुहुन्छ। पावलले यस पदमा एउटा चाखलाग्दो उपमाको प्रयोग गर्दछन्। यहाँ एउटा भ्रूणको विकास भइरहेको छ, आमाको गर्भमा एउटा शिशु बनिरहेको छ। गर्भमा एउटा शिशु बनिने कुरा कति उदेकको हुन्छ! अनुग्रहले बाँचेको पापीमा ख्रीष्टको जस्तो चरित्र बनिनु कति उदेकको कुरा हो।
पावलले भने, “म प्रसूति-वेदनामा हुन्छु”! उनीहरूको निम्ति पावल प्रसूति-वेदनामा तड्पिरहेका थिए। आफ्नो शारीरिक नानीहरूको निम्ति एउटी आमा अत्याधिक दु:ख र पीडा भएर गइरहेकी हुन्छिन्। पावल तिनका आत्मिक नानीहरू, अर्थात् गलातीहरूका निम्ति धेरै पीडाहरू भएर गइरहेका थिए। उनले परिश्रम गरे, मेहनत गरे र प्रसव पीडा सहे। उनीहरूका निम्ति उनी खुसीसाथ खर्च गर्थे र खर्चिन्थे। परमेश्वरले गर्न खोजिरहनुभएको कामलाई (अर्थात् विश्वासीहरूमा उहाँको पुत्रको चरित्र बनिने कार्यको निम्ति) केही सहायता हुने हो भने उनले जेसुकै पनि गर्नेथिए।

रोमी १३:१४ को “पहिर” भनिने शब्द त्यो शब्द हो जुनचाहिँ वस्त्र पहिरनु वा लुगा लगाउनु भन्ने अर्थमा प्रयोग गरिन्छ। निश्चय पनि, यहाँ यसले कुनै व्यक्तिको चरित्रहरूलाई पहिरने कुरा गर्दछ, अर्थात प्रभु येशू ख्रीष्टकै चरित्रलाई।
लुगाहरू, फलझैं, बाहिरबाट देखिने कुरा हुन्। कुनै मानिसलाई हेर्नुहुँदा तपाईंले उसका लुगाहरू देख्नुहुन्छ। मानिसहरूले हामीलाई हेर्दा, उनीहरूले के देखेको हामी चाहन्छौं? हामीले प्रभु येशू ख्रीष्टलाई पहिरहनुपर्छ। उहाँ देखिनुपर्छ! उहाँ हाम्रो वस्त्र हुनुहुन्छ। हामी उहाँद्वारा पहिराइनुपर्छ। हामीले हाम्रो पुरानो जीवनको फोहोर, शारीरिक वस्त्रहरू प्रदर्शन गर्नुहुँदैन, तर बरू हामीले प्रभु येशू ख्रीष्टलाई पहिरनैपर्छ। कलस्सी ३:१०,१२,१४ सित तुलना गर्नुहोस्।
वस्त्रले हामीलाई उक्त वस्त्र पहिरने मानिसको बारेमा केही कुरा बताइ रहेको हुन्छ। मैले प्रहरीको वस्त्र लगाएको कसैलाई देखें भने, उक्त पोशाक लगाउने मानिस प्रहरी हो भनी मैले सोच्नेछु। डाक्टर, नर्सको बारेमा पनि यही हो। तपाईं ख्रीष्टियन हुनुहुन्छ भनी मानिसहरूले कसरी जान्नेछन्? उनीहरूले तपाईंले येशू ख्रीष्टलाई पहिरनुभएको र आत्माको फल देखाएको देख्नुपर्छ। हामीले ठीक पोशाक लगाएका छौं र हामीभित्र अनि हामी मार्फत प्रभुलाई काम गर्न दिएका छौं कि छैनौं भनी हामीले निश्चिय गर्नुपर्छ (हिब्रू १३:२१)।
रोमी ८:२८ लाई बिचार गर्नुहोस्। तपाईंको निम्ति परमेश्वरको उद्देश्य के हो? तपाईंको निम्ति परमेश्वरको योजना र अभिप्राय के हो? परमेश्वरले के खोजिरहनुभएको छ? यस पदले परमेश्वरलाई प्रेम गर्नेहरूको वर्णन गरिरहेको छ, जोहरूको येशू ख्रीष्टसित मुक्ति दिलाउने सम्बन्छ छ। तपाईंको निम्ति परमेश्वरको उद्देश्य के हो? यस उद्देश्यको बारेमा रोमी ८:२९ मा हामीले पाउँछौं—“आफ्नै पुत्रको __________ ___________ भनेर”।
“पहिले नै ठहराउनुभयो” भन्ने शब्द कोही-कोहीको निम्ति कठीन हुन्छ, तर यसको अर्थ यही हो कि परमेश्वरले आफ्नो हरेक सन्तानको निम्ति उदेकको र महिमीत भविष्य साँचिराख्नुभएको छ। परमेश्वरले हामीलाई आफ्नो पुत्र जस्तै बनाउनुहुनेछ। उहाँको उद्देश्य यही हो। हामी उहाँजस्तै हुनेछौं। यो निश्चित छ। परमेश्वरले यसो गर्न गइरहनुभएको छ; वास्तवमा, परमेश्वरले यसो गर्न सुरु गरिसक्नुभएको छ। परमेश्वरले यो कार्य हाम्रो मृत्युपछि वा ख्रीष्ट हाम्रो निम्ति फर्कि आउनुभए पछि गर्नुहुने होइन। त्यो बेला त यो कार्य समाप्त हुनेछ। परमेश्वरले हामीलाई बदल्नुहुने उक्त कार्य हाम्रो मुक्तिको पहिलो दिनदेखि नै सुरु गर्नुभएको हो।
वर्तमान समयमा परमेश्वर हामीलाई बदल्ने प्रकृयामा हुनुहुन्छ। अहिले परमेश्वर हामीभित्र ख्रीष्टलाई बनाउनुहुने प्रकृयामा हुनुहुन्छ। अहिले परमेश्वर हामीलाई आफ्नो पुत्रद्वारा पहिराउने प्रकृयामा हुनुहुन्छ। अहिले परमेश्वर आफ्नो हरेक सन्तानभित्र आत्माको फल फलाउने र ख्रीष्टको चरित्र बनाउने प्रकृयामा हुनुहुन्छ। अहिले परमेश्वर हामीलाई आफ्नो पुत्रको रूपमा ढाल्ने प्रकृयामा हुनुहुन्छ र जुन काम परमेश्वरले हामीभित्र सुरु गर्नुभएको छ, त्यो पूरा गर्ने प्रतिज्ञा उहाँले गर्नुभएको छ (फिलिप्पी १:६)।
हरेक विश्वासीको निम्ति एउटा असल समाचार छ। परमेश्वरले हामीलाई बदल्दै हुनुहुन्छ। हामी यसबारेमा ढुक्क हुन सक्छौं। कहिलेकाही यो कार्य पीडादायी र असजिलो हुन सक्छ। यसमा धेरै परिक्षाहरू र समस्याहरू हुन सक्छन्, तर यसले सुन्दर फल फलाउनेछ (हिब्रू १२:११)। हामी निरन्तर बदली हुँदैछौं। प्रमुख शिल्पकारले छिँचल्ने र कुँद्ने काम गर्दै हुनुहुन्छ, र यो प्रकृया पीडादायी त होला, तर हामी झन्-झन् उहाँकै मनसाय अनुसार एउटा तयार भएको उत्पादन बन्दैछौं। उहाँले हामीलाई उहाँको पुत्रको रूपमा ढालिनको निम्ति पहिल्यै नै ठहराउनुभएको छ।
रोमी १२:१ पढ्नुहोस्। ख्रीष्टले आफैंलाई हाम्रो निम्ति दिनुभएको छ, यो सर्वोच्च बलिदान र प्रेमको कार्य हो। ख्रीष्टको प्रेमले हामीलाई आफैंलाई सुम्पन विवश पार्दछ। हाम्रो निम्ति मर्नुहुनेको निम्ति हामीले यो भन्दा कम के गर्न सक्छौं र? सबै कुराहरू यहीँबाट सुरु हुन्छन्। हामीले आफैंलाई अर्पण गरेका छैनौं भने परमेश्वरले कसरी हामीलाई बदल्न सक्नुहुन्छ र? यदि चिम्टे माटो कतै भाग्यो, आफैंलाई लुकायो र कुनै रूपमा ढालिनबाट इन्कार गर्यो भने कुमालेले कसरी त्यसलाई आकार दिन सक्छ र? विश्वासीले यसो भन्नुपर्छ, “प्रभु, तपाईंले मूल्य तिरेर मलाई किन्नुभएको छ। म पूर्ण रूपमा तपाईंकै हुँ। म तपाईंको हुँ! ममा आफ्नो काम गर्नुहोस्!”
रोमी १२:२ ले यो आज्ञा दिन्छ, “तिमीहरू ब________ हुँदै जाओ”। यो कृयापद वर्तमानकालमा छ। यसको अर्थ हो सुन्दर ढङ्गले परिवर्तन हुनु। यसको ग्रीक शब्दबाट अङ्ग्रेजीको “मेटामोर्फोसिस्” (metamorphosis) भनिने शब्द आउँछ जसको नेपाली अर्थ हुन्छ, “रूप परिवर्तन, रूपान्तरण, आकार परिवर्तन”। यस शब्दले प्रकृतीका केही अचम्मका परमेश्वरद्वारा रचित रूपान्तरणहरूलाई जनाउँछ, जस्तै घस्रेर हिँड्ने झुसिल्किरा एउटा सुन्दर उड्ने पुतलीमा रूपान्तरण हुनु (वा पानीमा बस्ने चिप्लो भेकशिशु (भ्यागुतोको बच्चा) उल्लेखनीय उभयचर भ्यागुतोमा रूपान्तरण हुन्छ जसले हावामा सास फेर्न, उसको जिब्रोले किराहरू समाउन र ठूलो दुरीमा फराल्न सक्छ)। विकासवादले त्यस्ता असाधारण परिवर्तनहरू गराउन सक्दैन, परमेश्वरले सक्नुहुन्छ! विश्वासीमा पनि अचम्मको परिवर्तनहरू भएको परमेश्वर चाहनुहुन्छ।
यस्ता रूपान्तरणहरू भित्रबाट आउँछन्। मलाई बदल्दै र मलाई रूपान्तरण गर्दै परमेश्वर मभित्र काम गरिरहनुभएको छ। परमेश्वरले तुच्छ पापीलाई लिएर उसलाई आफ्नै पुत्रको स्वरूपमा बदल्न सक्नुहुन्छ।
तरैपनि रोमी १२:२ मा एउटा नकारात्मक पक्षलाई पनि ध्यान दिनुहोस्, “यस संसारसित __________________ नहोओ”। संसारले तपाईंलाई उसको आफ्नै रूपमा ढाल्न नदिनुहोस्। याद राख्नुहोस्, संसारले तपाईं ख्रीष्ट जस्तै हुनुभएको चाहँदैन। संसारले तपाईंलाई प्रभाव पार्न नदिनुहोस्। सम्झौता नगर्ने व्यक्ति हुनुहोस्! भिन्न हुने हिम्मत राख्नुहोस्। दानियल जस्तै हुने हिम्मत राख्नुहोस्। संसारले तपाईंलाई आफैजस्तो बनाउन नपाओस्, ख्रीष्टले तपाईंलाई आफूजस्तो बनाउन पाउनुभएको होस्।
बदली गर्ने परमेश्वरको काम २ कोरिन्थी ३:१८ मा रोचक ढङ्गले लेखिएको छ। यस पदमा रोमी १२:२ मा भएकै शब्द पाइन्छ (“बदली”)। हामी निरन्तर, हर दिन, अटुट रूपमा ख्रीष्टको स्वरूपमा बदली हुँदैछौं।
यस पदले हामीहरू बदलिँदै जान्छौं भनी भनेको कुरालाई ध्यान दिनुहोस् (कर्मवाच्य)। यस पदले हामीले आफैंलाई बदल्दैछौं भनी भन्दैन। कुनै मानिसले पनि ख्रीष्टिय आचरणको विकास गर्न सक्दैन। यो परमेश्वरको कार्य हो। परमेश्वरका आत्माले मात्र आत्माको फल फलाउन सक्नुहुन्छ। बदली गर्ने काम कसले गर्नुहुन्छ? २ कोरिन्थी ३:१८ ले यसलाई स्पष्ट पार्छ, “प्रभुद्वारा, जो आत्मा हुनुहुन्छ”। परमेश्वरका आत्माला यसो गर्नुहुन्छ। बदली हुने काम वा रूपान्तरणको काम परमेश्वरका आत्माद्वारा हुँदछ। हामीलाई प्रभु येशू ख्रीष्टद्वारा पहिराउने काम गर्नुहुने उहाँ नै हुनुहुन्छ।
२ कोरिन्थी ३:१८ को पहिलो खण्डमा हामीले “ऐना” को बारेमा पढ्दछौं। यस ऐनामा हेर्दा हामीले के देख्छौं? हामीले “प्रभुको महिमा” देख्दछौं। हामीले येशू ख्रीष्टको महिमित व्यक्तित्व देख्दछौं। यो निकै अनौठौ ऐना हो। ऐनामा हेर्दा साधारणतया हामीले आफैंलाई हामी जस्तो छौं त्यस्तै देख्छौं। हामीले यो ऐनामा हेर्दा, हामी जस्तो हुनेछौं त्यस्तै देख्छौं! हामी उहाँजस्तै हुनेछौं। हामीले प्रभुको महिमा देख्छौं।
यो ऐना के हो? कुन ऐनामा हेरेर हामीले प्रभु येशू ख्रीष्टलाई देख्छौं? यो ऐना परमेश्वरको वचन हो। हामी ख्रीष्टलाई देख्न चाहन्छौं भने, हामीले उहाँलाई बाइबलमा भेट्टाउन सक्छौं। त्यहीँ नै उहाँलाई पूर्ण रूपमा चित्रण गरिएको छ।
यहूदी मानिसहरूले आजको दिनसम्म पनि बाइबल पढ्दाहुँदि ख्रीष्टलाई देख्दैनन्। यसको कारण हो, उनीहरू अन्धा छन् (२ कोरिन्थी ३:१४) र उनीहरूको हृदयमा घुम्टो हालिएको छ (२ कोरिन्थी ३:१५)। असल खबर यो हो, कि जब यहूदी मानिसको हृदय प्रभुतर्फ फ___________, तब यो घुम्टो हटाइन्छ (२ कोरिन्थी ३:१६)। साँचो विश्वासीले खुल्ला र नढाकिएको चेहराले परमेश्वरको वचनमा हेर्दछ। विश्वासीले परमेश्वरको वचनमा हेर्न सक्छ र त्यहाँ उसले ख्रीष्टलाई देख्न सक्छ! त्यहाँ कुनै घुम्टो रहँदैन। बाइबल भनेको परमेश्वरद्वारा कोरिएको ख्रीष्टको चित्र हो। ख्रीष्टलाई देख्ने मनसायले हामीले बाइबल पढ्दा कत्रो भिन्नता हुन्छ! शास्त्रहरूले उहाँकै विषयमा बताउँछन् भनी प्रभु येशू आफैंले भन्नुभयो (लूका २४:२७, ४४-४५)।
प्रभुको महिमालाई हेर्दा हामी निरन्तरै उही स्वरूपमा बदली हुन्छौं भनी २ कोरिन्थी ३:१८ मा सिक्छौं। परमेश्वरले कसरी हामीलाई बदल्नुहुन्छ? के यो एकैपटकमा हुन्छ? के हामी बिहान उठ्दा आफैंलाई पूर्ण रूपमा ख्रीष्टजस्तै भएको अवस्थामा पाउँछौं? होइन, यो त एउटा प्रकृया हो, “एक महिमादेखि अर्को महिमामा”, महिमाको एउटा चरणदेखि अर्को चरणसम्म। हुर्कंदै गरेको विश्वासीले आफैंलाई हिजोभन्दा आज झन् ख्रीष्ट जस्तै भएको पाउँछ, र आजभन्दा भोली झन् ख्रीष्ट जस्तै भएको पाउँछ।
बदली हुवाइ र रूपान्तरणको यस सुन्दर प्रकृयामा को को पर्छन्? के पास्टर मात्र? के डिकन र एल्डरहरू? होइन, यसले बताउँछ, “हामी स_________”। परमेश्वरको यो उद्देश्य हरेक विश्वासीका लागी हो। यदि तपाईले मुक्ति पाउनुभएको छ भने, परमेश्वरको उद्देश्य तपाईंलाई आफ्नो पुत्रको रूपमा ढाल्नु हो। तपाईंको जीवनको निम्ति परमेश्वरको सुन्दर परियोजना यही हो।
यो काम कसरी हुन्छ? यो काम हामीले परमेश्वरको वचनको ऐनामा हेर्दै जाँदा हुन्छ। यसले बताउँदछ, “हेर्दै-हेर्दै … बदलिँदै जान्छौं”। परमेश्वरको वचनमा प्रस्तुत गरिएको येशू ख्रीष्टको तस्वीरमा हाम्रा आँखाहरूलाई स्थिर पार्दैजाँदा बदली हुवाइको कार्य हुँदछ।
“हेर्दै-हेर्दै … बदलिँदै जान्छौं”। हामी जे हेर्छौं, हामी छिट्टै त्यस्तै हुन्छौं! हामी जे हेर्छौं, हामी त्यस्तै हुन्छौं। जसले हाम्रो ध्यान खिँच्छ, त्यसले हामीलाई नै खिँच्छ। हामीहरू राम्रो अनुकरणकर्ताहरू हौं। हामी आफूले देखेको कुराको नक्कल गर्न खोज्छौं। केही अवस्थाहरूमा, लामो समयसम्म वैवाहिक सम्बन्धमा बाँधिएकाहरू धेरै तरिकाले एक-अर्काजस्तै हुन्छन्। किन यस्तो हुन्छ भने उनीहरूले धेरै वर्षसम्म दिनहुँ एकअर्कालाई हेर्दै आएका छन् र केही तरिकाहरूमा एक अर्काको नक्कल गर्न थालेका हुन्छन्। हामीले जे हेर्छौं र जुन कुरामा ध्यान दिन्छौं, हामी त्यस्तै हुन खोज्छौं।
टेलिभिजन र चलदृश्य भएका अन्य कुराहरू यस सिद्धान्तका नकारात्मक उदाहरणहरू हुन्। हामीले जे हर्छौं, हामी त्यस्तै हुन्छौं। यदि हामीले निरन्तर रूपमा हिंसा, खराब बोली, खराब आचरण र अनैतिकता हेर्यौं भने, यस्ता कुराहरूले हाम्रो व्यक्तित्वलाई असर पार्ने नै छ। हाम्रो दिमागलाई लामो समयसम्म कम्प्यूटर वा स्मार्ट फोनहरूमा ध्यान केन्द्रित गर्यौं भने पनि त्यस्तै हुनेछ।
१ यूहन्ना ३:२ लाई बिचार गर्नुहोस्। भविष्यमा विश्वासी ख्रीष्टजस्तै हुनेछ किनभने उसले उहाँ जस्तो हुनुहुन्छ त्यस्तै उहाँलाई देख्नेछ। त्यस समयमा हामीले सिद्ध रूपमा प्रभुको महिमालाई हेर्नेछौं। यस पदले बदली गर्ने कार्य कहिले पूरा हुनेछ भनी बताइरहेको छ। आज म कसरी झन् ख्रीष्ट जस्तै हुन सक्छु? जती म उहाँलाई हेर्दछु, म त्यती नै उहाँ जस्तै हुनेछु। भजनलेखकले यसरी बताएका छन्, “मेरो आत्मा तपाईंको महिमाले नभरिएसम्म, हे ईश्वरीय मुक्तिदाता, मेरो सब दर्शनलाई भर्नुहोस्। मेरो सब दर्शनलाई भर्नुहोस् ताकी सबैले तपाईंको पवित्र रूप ममा देख्न सकुन्।”
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)