जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग ३)

जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग ३)
डेविड क्लाउड
कण्ठ गर्नुपर्ने पदहरू: भजनसङ्ग्रह २७:१४; हितोपदेश २९:२५; लूका ९:५९-६०; प्रेरित ५:२९; १ कोरिन्थी १४:३३
हामीले अघिल्ला पाठहरूमा बुद्धिमानी निर्णयहरू गर्ने सम्बन्धमा पाँचओटा महत्त्वपूर्ण बाइबलीय सिद्धान्तहरूलाई अध्ययन गर्यौं: १) आफ्नै समझमा भर नपर्नुहोस्; प्रभुमा भरोसा गर्नुहोस् र बुद्धि पाउनलाई धेरै प्रार्थना गर्नुहोस् २) ज्योतिमा हिँड्नुहोस् ३) प्रभुमा मग्न रहनुहोस् ४) बाइबलको अवज्ञा गर्न लगाउने कुनै पनि निर्णय नगर्नुहोस् ५) असल सल्लाह खोज्नुहोस्
यस पाठमा हामी यस विषयमा चारओटा आखिरी सिद्धान्तहरूलाई विचार गर्नेछौं:
६) मान्छेको डर नमान्नुहोस् (हितोपदेश २९:२५)
हामीले आफ्ना सबैभन्दा प्रिय आफन्तहरूलाई भन्दा उहाँलाई बढी प्रेम गर्नुपर्छ भनेर येशूले चेताउनी दिनुभयो। हेर्नुहोस् लूका १४:२६। हामीले आफ्ना सबैभन्दा नजिक र प्रिय आफन्तहरूलाई “घृणा” गर्नुपर्छ भन्ने उहाँको मागको तात्पर्य के थियो? एउटा खण्डलाई अर्को खण्डसित तुलना गरेर यसको अर्थ बुझ्न सक्दछौं। यससित जाने एउटा खण्ड मत्ती १०:३७ लाई विचार गर्नुहोस्। हामीले आफ्ना बाबु, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनीलाई घृणा गर्नुपर्छ भन्ने उहाँको तात्पर्य यो थियो कि हामीले उहाँलाई अरूहरूलाई भन्दा ज्यादै बढी प्रेम गर्नुपर्छ। हाम्रो स्नेहहरूमा उहाँलाई एकदमै पहिलो स्थानमा राख्नैपर्छ र अरू सबै कुरा भन्दा उहाँलाई नै खुशी पार्न हामी जिउनुपर्दछ। पारिवारिक सम्बन्धहरू महत्त्वपूर्ण छन् र परमेश्वरको वचनले हामीलाई आफ्ना प्रियहरूको हेरविचार गर्नलाई निर्देशनहरू दिएको छ (१ तिमोथी ५:८; कलस्सी ३:१८-२१)। त्यसो भए तापनि परमेश्वरको इच्छा र कामले कुनै पनि मानवीय सम्बन्धले भन्दा अग्रस्थान लिन्छ।
यदि कसैले परमेश्वरको इच्छामा बुद्धिमानी निर्णयहरू गर्न चाहन्छ भने उसले मान्छेलाई भन्दा परमेश्वरकै डर मान्नुपर्छ र सेवा गर्नुपर्छ। एकातिर साथीहरू वा आफन्तहरूलाई खुशी पार्ने कि अर्कोतिर परमेश्वरको आज्ञापालन गर्ने र उहाँलाई खुशी पार्ने भनेर यदि रोज्नुपर्ने स्थिति आयो भने, उसले परमेश्वरलाई नै रोज्नुपर्छ। परमेश्वरको भन्दा आफन्तहरू र साथीहरूको डर मान्नु ठूलो पाप हो।
धेरैजना अविश्वासीहरूले यही पाप गर्दछन् र यसकै कारण नरकमा पर्दछन् (“डराउनेहरू”, प्रकाश २१:८)। नरकमा पुग्ने धेरैजनाले उनीहरू अरू मानिसहरूले के सोच्लान् भन्ने डरले त्यहाँ पुगेका हुन् भनेर भन्नेछन्।
धेरैजना विश्वासीहरूले पनि यो पाप गरेका छन्। शताब्दियौंदेखि धेरैजनाले पारिवारिक नातासम्बन्धको कारणले अबुद्धिमानी निर्णयहरू गरेका छन्। यहाँ शक्तिशाली बलजफ्तीहरूले काम गर्ने गर्दछन्। आफ्ना परिवारहरूका कारणले कतिले अविश्वासीहरूलाई विवाह गरेका छन् वा खुकुलो खाले बाइबल कलेजमा पढ्न गएका छन् अथवा कुनै पेशा अँगालेका छन्। परिवारका सदस्यहरूको विरोधले गर्दा कतिले परमेश्वरको इच्छालाई अस्वीकार गरेका छन्। मलाई ख्रीष्टमा डोर्याउने व्यक्तिको मलाई याद आउँछ। परमेश्वरको इच्छा थियो उसले प्रचार गरेको, तर उसको पत्नीले ऊ प्रचार गर्न छोड्दैन भने उसले घर छोडेर जाने चेताउनी दिई। उसले पत्नीलाई सँगै बस्न विन्ती गर्यो तर उसले प्रचार गर्न छोडेन। अन्तमा पत्नीचाहिँ घरबाट हिँडी छाड्यो र साथमा सानो छोरालाई पनि लग्यो। पतिको हृदय चुरचुर भयो तर उसले परमेश्वरको वचन प्रचार गर्नुपर्छ भन्ने परमेश्वरको आज्ञालाई मान्न छोडेन। कतिले, त्यस्तो रोजाइको घडीमा परमेश्वरकै इच्छालाई पिठ्यूँ फर्काएका छन्।
युवाहरूले धेरैपटक मान्छेको डर मान्ने पाप गर्दछन्। परमेश्वरले उनीहरूलाई पवित्रताको र सेवाको जीवनमा बोलाइरहनुभएको छ भनेर थाहा गरेर पनि तिनीहरू साथीभाईहरूको नजरमा छुट्टै देखिन चाहँदैनन् र यसले गर्दा उनीहरू परमेश्वरको इच्छा पालन गर्नदेखि पछि हट्दछन्। नयाँ ख्रीष्टियन हुँदा मैले यो कुराको सामना गर्नुपरेको थियो; मेरो लामो कपाल काट्नु परमेश्वरको इच्छा हो भनेर मलाई थाहा थियो तर मेरो “शान” घट्छ भनेर म ढिलासुस्ती गर्दैथिएँ। धेरैजना ख्रीष्टियन युवतीहरू भद्र र नारीलाई सुहाउने प्रकारले वस्त्र पहिरन इन्कार गर्दछन् किनकि तिनीहरू परमेश्वरको भन्दा मानिसको डर मान्छन्। यो ठूलो मूर्खता हो। हामी यस संसारमा उहाँदेखि शर्माउँदछौं भने उहाँ अर्को संसारमा हामीदेखि शर्माउनुहुन्छ भनेर येशूले चेताउनी दिनुभयो (मर्कूस ८:३८)।
७) अधिकारीहरूलाई आदर गर्नुहोस्
बुद्धिमानी निर्णयहरू गर्नलाई अर्को महत्त्वपूर्ण सिद्धान्त हो परमेश्वरबाटका अधिकारीहरूको आदर गर्नु। बाइबलले यसलाई ठूलो विषय बनाएको छ। हेर्नू: रोमी १३:१; १ कोरिन्थी ११:३; एफेसी ५:२२; ६:१-३; १ तिमोथी ५:१७; तीतस ३:१; हिब्रू १३:१७; १ पत्रुस २:१३-१५,१८।
परमेश्वरले उनीहरूमाथि राख्नुभएका अधिकारीहरूलाई आदर गर्न र उनीहरूको आज्ञापालन गर्नलाई जब असफल भए तब उनीहरू परमेश्वरको इच्छादेखि बाटो बिराएउने खालका अबुद्धिमानी निर्णयहरू गर्न पुगेका धेरैजना विश्वासीहरू मैले देखेको छु।
धेरैजना युवाहरूले यस्तो भूल गरेका छन् जब उनीहरूले आफ्ना बाबुआमालाई आदर गरेनन्, र फलस्वरूप उनीहरू अबुद्धिमानी विवाह गर्न पुगेका छन्, अबुद्धिमानी मित्रताहरू विकास गरेका छन्, गलत ठाउँमा पढ्न गएका छन्, गलत मण्डलीमा आवद्ध हुन गएका छन्, गलत ठाउँमा बसाइ सरेका छन्, र अरू धेरै अबुद्धिमानी निर्णयहरू गरेका छन् जुनचाहिँ उनीहरूले गर्दैनथे यदि उनीहरूले केवल आफ्ना बाबुआमालाई आदर गरेका भए।
उही भूल पत्नीहरूले गरेका छन् जोहरूले आफ्ना पतिहरूको आज्ञापालन गरेका छैनन् र उनीहरूलाई अनादर गरेका छन्। हाम्री आमा हव्वा यसको प्रथम उदाहरण हुन्!
यही भूल मण्डली सदस्यहरूले गरेका छन् जसले आफ्ना अगुवाहरूको आज्ञा मानेका छैनन् र उनीहरूलाई अनादर गरेका छन्। तपाईं आफ्ना अगुवाहरूसित रिसाउनुभयो र उनीहरूप्रति तीतो बन्नुभयो भने तपाईंले असल निर्णयहरू गर्नुहुनेछैन। अगुवाहरूलाई प्रश्न गर्नु बेठीक होइन, तर उनीहरूप्रति खराब धारण राख्नु गलत हो। मैले धेरैजनालाई देखेको छु जोहरूले असल मण्डलीहरू छोडे र पछि हटे किनकि तिनीहरू मण्डली अगुवाहरूसित तीतो बने र पश्चात्ताप गर्न अस्वीकार गरे। मण्डली अगुवाहरू केवल मानिस मात्र हुन् भन्ने कुरा सम्झनुपर्छ र उनीहरू सिद्ध त हुँदै हुँदैनन्। त्यो एउटा बाहना होइन; यो एउटा वास्तविकता हो! मण्डली अगुवाहरू परमेश्वरको वचनभन्दा माथि हुँदैनन् अनि यदि उनीहरूले पाप गर्छन् भने उनीहरूलाई बाइबली तरिकामा अनुशासन गरिनुपर्छ (१ तिमोथी ५:१९-२०), तर निश्चित प्रमाणको अभावमा अगुवाहरूलाई अपराध लगाएइको खण्डमा उनीहरूलाई हामीले निरपराध नै ठान्नुपर्छ। एउटा मण्डली छोड्नुपर्ने पनि समय हुन्छ जब त्यो परमेश्वरको वचनप्रति समर्पित हुँदैन, तर हामीले होशियारीसाथ त्यसलाई सही तरिकाले छोड्नुपर्छ, अर्थात् ठीक हृदयले अनि हामी सधैं अझ बलियो मण्डलीमा सर्नुपर्छ, अझ कमजोरमा होइन।
अधिकारीहरू परमेश्वरको वचनले जाँचिनुपर्छ। हामीले अधिकारमा रहेका व्यक्तित्वहरूको आज्ञापालन अन्धा रूपले गर्दैनौं किनकि हामी एक पतित संसारमा बाँचिरहेकाछौं अनि सर्वोच्च अधिकारी परमेश्वर हुनुहुन्छ। प्रत्येक अधिकारी त्यसैले परमेश्वरको वचनद्वारा जाँचिनुपर्छ। प्रेरित ५:२९; १७:११। मोशाले फारोको अधिकारलाई इन्कार गरे, उसको भन्दा उच्च अधिकारलाई पछ्याउन, अर्थात् परमेश्वरकै!
अधिकारीहरूलाई अपराध लगाइएमा निश्चित प्रमाणको अभावमा उनीहरूलाई निरपराध ठान्नुपर्छ। कतिपय व्यक्तिहरू जब अधिकारमा रहेकाहरूसँग असहमत हुन्छन् प्रायःजसो उनीहरू पवित्रशास्त्रको स्पष्ट आधारमा नभएर आफ्नै भावना तथा धारणाको आधारमा त्यसो हुने गर्दछन्। अधिकारमा रहेको कुनै व्यक्ति गलत छन् भन्ने मलाई लाग्दछ भने मैले आफूलाई यो प्रश्न सोध्नुपर्दछ: उक्त अगुवा गलत छन् भन्ने कुरा देखाउने मसँग बाइबलको स्पष्ट आधार छ त? अनि यस विषयमा के मेरो विचार सही छ त? हामीले आफूमाथिका अगुवाहरूको आज्ञापालन गर्नुपर्छ भन्ने पवित्रशास्त्रमा थुप्रै आज्ञाहरू दिइएका हुनाले पवित्रशास्त्रलाई ठीक-ठीकसँग छुट्ट्याउने काम नगरीकन अन्य कुनै पनि आधारमा अधिकारीहरूलाई इन्कार गर्नु खतरा हो।
८) भविष्यलाई हेर्नुहोस् (हिब्रू ११:२४-२७)
मोशाले आफ्नो युवावस्थाको एउटा घडीमा आइपुगेपछि (“उमेरदार भएपछि”) एउटा ठूलो निर्णय गरे। उनी फारोका छोरो कहलिएका थिए जो त्यसबेलाका सबैभन्दा धनी र शक्तिशाली राजा थिए। मोशाले आफ्नो सांसारिक भविष्यलाई हेर्दै धनी र शक्तिशालीहरू, मोजमज्जाको पछि लाग्नेहरूको भाग्यलाई रोज्न सक्दथे तर उनले तिरस्कृत, दासत्वमा रहेका यहूदीहरूको भाग्यलाई आफ्नो भाग्य बनाउने निर्णय गरे। उनले परमेश्वरको वचनद्वारा पछिसम्मको भविष्यलाई हेर्दै यो बुद्धिमानी निर्णय गरेका हुन्। उनले पछिको अर्को जीवनलाई हेरे अनि ख्रीष्टलाई अँगालेको खण्डमा यस जीवनमा दुःखकष्ट पाइने अनि ख्रीष्टको अनन्त राज्यमा धनसम्पत्ति पाइने, तर यदि फारोलाई अँगालेको खण्डमा उनले “थोरै समयसम्म पापको मोजमज्जा” भोग्न पाउने र त्यसपछि अनन्तसम्म उनलाई पछुतो हुने कुरा उनले देखे।
हरेक युवा विश्वासीले मोशाको बुद्धिमानी नमुनाको अनुसरण गर्नुपर्छ। उसले आफैलाई सोध्नुपर्छ, “मैले यो निर्णय गरें भने पछि गएर के हुनेछ? अनन्तसम्म यसले के कस्ता नतीजाहरू ल्याउनेछन्? यस व्यक्तिलाई विवाह गरें भने; त्यो पेशा अँगालें भने; फलानो शिक्षा हासिल गर्नपट्टि लागें भने; फलानो देश गएँ भने; त्यो पार्टीमा सहभागी भएँ भने; फलानोसित मित्रता बढाएँ भने; त्यो टी.भी. किनें भने; त्यो सङ्गीत सुनें भने; यदि इन्टरनेटमा देखिने कुराको विषयमा बेहोशियारी भएँ भने; यदि मैले आफ्नो हृदयलाई संसारको प्रेममा फसाएँ भने?
अविश्वासीहरू भविष्यलाई देख्न सक्दैनन् किनकि तिनीहरू अन्धकारमा हिँड्दछन् र बाइबललाई विश्वास गर्दैनन्। केवल आफ्ना आँखाले देखेका कुराहरूकै आधारमा तिनीहरू आफ्ना निर्णयहरू गर्दछन्। तिनीहरू केवल पैसा, मोजमज्जा र इज्जतको मात्र हिसाब गर्दछन्।
विश्वासीसँग यस्तो ज्योति छ जो अविश्वासीसँग छैन अनि उसले परमेश्वरको अनन्त वचनको आधारमा बुद्धिमानी निर्णयहरू गर्न सक्दछ।
विश्वासीले विशेष गरी ख्रीष्टको न्यायआसनलाई हेर्नु खाँचो छ र त्यस महत्त्वपूर्ण अवसरमा उसले के सुन्न पाउनेछ भन्ने कुराको आधारमा आफ्ना निर्णयहरू गर्नुपर्दछ।
९) थकित वा निराश हुँदा निर्णयहरू नगर्नुहोस् (अय्यूब ३:१-२; १७:११)
जुनबेला हामी थकित र निराश हुन्छौं र भारी परीक्षा भएर गइरहेका हुन्छौं त्यो कुनै महत्त्वपूर्ण निर्णयहरू गर्ने समय होइन अथवा हामीले पहिल्यै गरिसकेका निर्णयहरूलाई अदलबदल गर्ने समय पनि होइन। अय्यूबलाई विचार गर्नुहोस्। उनले आफ्नो परीक्षाको घडीमा परमेश्वरलाई सरापेनन्, तरैपनि उनले परमेश्वरलाई शङ्का गरे र भविष्यको सान्त्वना र आशिषको सम्बन्धमा उनले कतिपय घडीहरूमा आफ्नो विश्वास गुमाए। आत्मिकरूपमा र भावनात्मक रूपमा उनले आफ्नो बाटो गुमाए (अस्थायी रूपमा)। भनिएको छ, “अन्धकारमा त्यस कुरालाई शङ्का नगर्नुहोस् जुन कुरालाई परमेश्वरले तपाईंलाई ज्योतिमा देखाउनुभएको थियो” अनि मैले यो कुरा धेरैपटक बुद्धिमानी सल्लाहको रूपमा पाएको छु। धेरैजाना व्यक्तिहरूले निराशाका समयहरूमा मूर्ख निर्णयहरू गरेका छन्, आफ्नो शिक्षासमेत बदलेका छन्। जेम्स रबिन्सन एकताका साहसी ब्याप्टिष्ट प्रचारक थिए, तर एउटा क्यारिज्म्याटिकलाई उसका हातहरू उनीमाथि राखेर “दुष्टात्माहरू धपाउन” दिएको बेलामा उनले झूटा शिक्षालाई अँगाले। ज्योति चम्किलोसँग बलिरहेको समय नआएसम्म पर्खनु बेस हुन्छ जुनबेला हाम्रा विचारहरू निर्मल हुन्छन्।
१०) परमेश्वरलाई पर्खनुहोस् (भजनसङ्ग्रह २७:१४)
परमेश्वरको इच्छामा बुद्धिमानी निर्णय गर्न खोज्ने क्रममा, हतार नगर्नु ज्यादै महत्त्वपूर्ण हुन्छ। हतार गर्दाखेरि गलत निर्णय गर्न सजिलो छ। प्रभुको मन के छ भन्ने कुराको हामीलाई निश्चय नभएसम्म हामी पर्खनुपर्छ अनि तब उहाँले हामीलाई देखभाल गर्नुहुन्छ।
यहोशू र इस्राएल गिबियोनका मानिसहरूसित मैत्री सम्बन्ध गाँस्नलाई मञ्जुर गर्न हतार गरे; तिनीहरूले आफ्ना आँखामा भरोसा गरे र उक्त विषयमा परमेश्वरको मुहार खोजेनन् (यहोशू ९:१४-१५)।
प्रभुलाई पर्खने काममा हामीले ध्यान दिनुपर्ने त्यहाँ दुईटा बाइबलीय सिद्धान्तहरू छन्: स्थायी शान्तिको सिद्धान्त र गडबडरहितताको सिद्धान्त। यी दुई सिद्धान्तहरू १ कोरिन्थी १४:३३ मा पाइन्छन्। जब त्यहाँ शान्ति छैन र त्यहाँ गडबड छ, हामी होशियार हुनुपर्छ र उक्त निर्णयमा हामी हामफाल्नुहुँदैन। परमेश्वरबाटको बुद्धि सधैं शान्तिमय (“मिलनसार”, याकूब ३:१७) हुन्छ। परमेश्वरले सधैं हर प्रकारले शान्ति दिनुहुन्छ (२ थेस्सलोनिकी ३:१६)।
परमेश्वरको इच्छा खोज्ने क्रममा म यो शान्तिको प्रतिक्षा गर्छु। यदि मलाई कुनै कुरा गर्नलाई मलाई झुकाव हुन्छ, तब त्यहाँ बढ्दो शान्ति हुन्छ कि बढ्दो शङ्का हुन्छ सो म हेर्न चाहन्छु। कुनै कुरा परमेश्वरबाटको हो भने शान्ति बढ्दै जान्छ र विश्वास बढ्दै जान्छ, तर उक्त कुरा परमेश्वरको इच्छा होइन रहेछ भने त्यहाँ गडबड र शङ्का आउनेछ र शान्ति त्यहाँ हुनेछैन।
परमेश्वरको इच्छा पर्खेर प्राप्त गर्न लायकको कुरा हो! धेरैओटा निर्णयहरू जीवनभरलाई असर पार्ने खालका हुन्छन् अनि यदि एक व्यक्तिले ती निर्णयहरूमा गलती गरेमा उसलाई पछुता मात्र हुने होइन ऊ नमरूञ्जेल त्यसका असरहरूलाई भोगेर बाँच्नुपर्ने हुन्छ। विवाह त्यस्तो एउटा निर्णय हो, तर त्यहाँ अरू थुप्रै छन्।
जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने भाग ३ सम्बन्धमा पुनरावलोकन प्रश्नहरू
- यस पाठमा हामीले चर्चा गरेका चार कुराहरू के-के हुन्?
- मान्छेको डर उसको लागि पासो हो भनेर कुन पदले बताउँछ?
- हामीले यदि आफ्ना बाबु, आमा, पत्नी, छोराछोरीहरू, दाजुभाइ, दिदीबहिनीहरूलाई घृणा गर्दैनौं भने हामी उहाँको योग्य छैनौ भनेर कुनचाहिँ खण्डमा बताइएको छ?
- यसको माने के हो?
- “डराउनेहरू” आगोको झीलभित्र जानेछन् भनेर कुन पदले बताउँछ?
- यदि हामी यस वर्तमान संसारमा येशूदेखि र उहाँका वचनहरूदेखि शर्माउँदछौं भने अर्को संसारमा उहाँ हामीदेखि शर्माउनुहुनेछ भनेर कुन पदमा येशूले भन्नुभयो?
- बप्तिस्माले कुन कुरालाई दर्शाउँछ?
- हरेक प्राणी उच्च अधिकारीहरूको अधीनमा बस्नुपर्छ भनेर कुन पदले सिकाउँछ?
- मण्डली अगुवाहरूलाई दुईगुणा आदर दिनुपर्छ भनेर कुन पदले सिकाउँछ?
- हामीले मान्छेको भन्दा परमेश्वरको आज्ञा पालन गर्नुपर्छ भनेर पत्रुसले कुन पदमा भने?
- बेरियालीहरूले पवित्रशास्त्रहरूको खोजी गरेकाले पवित्रशास्त्रहरूद्वारा सबै कुराहरूको जाँच गरेकाले उनीहरूको तारिफ गरिएको कुरा कुन पदमा छ?
- अगुवाहरूलाई अपराध लगाइएमा, प्रमाण भेटिएको खण्डमा बाहेक, उनीहरूलाई __________________ ठान्नुपर्छ।
- मोशा कसरी “जो देखिनुहुन्न उहाँलाई देखेजस्तै गरी” हिँड्न सके?
- परमप्रभुको बाटो हेर र उहाँले तिम्रो हृदयलाई बलियो पार्नुहुनेछ भनेर कुन पदले भन्दछ?
- निर्णय गर्दा हतार गर्नदेखि बच्नु किन महत्त्वपू्र्ण छ?
- गिबोनका मानिसहरूको सम्बन्धमा यहोशू र इस्राएलको गलती के थियो?
- परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न तर शान्तिका परमेश्वर हुनुहुन्छ भनेर कुन पदले बताउँछ?
- कुनै निर्णयको सम्बन्धमा शान्ति नभएको अवस्था छ भने विश्वासी जनले के गर्नुपर्छ?
- कुनै निर्णयको सम्बन्धमा गडबडी छ भने विश्वासी जनले के गर्नुपर्छ?
- परमेश्वरको बुद्धि सधैं शान्तिमय (“मिलनसार”) हुन्छ भनेर कुन पदले बताउँछ?
- परमेश्वरले सधैं हर प्रकारले शान्ति दिनुहुन्छ भनेर कुन पदले बताउँछ?
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।