जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग २)

Study Series

जीवनमा बुद्धिमानी निर्णयहरू कसरी गर्ने? (भाग २)


डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: हितोपदेश १२:१५; २४:६; २९:२५

अघिल्लो पाठमा हामीले बुद्धिमानी निर्णयहरू गर्नका लागि बाइबलका चारओटा महत्त्वपूर्ण सिद्धान्तहरूलाई अध्ययन गर्‍यौं: १) आफ्नै समझमा भरोसा नगर्नुहोस्, प्रभुमा भरोसा गर्नुहोस् २) ज्योतिमा हिँड्नुहोस् ३) प्रभुमा मग्‍न रहनुहोस् ४) बाइबलको अवज्ञा गर्न लाउने खालको कुनै पनि निर्णय नगर्नुहोस्।

यस पाठमा हामी यस विषयमा अर्को सिद्धान्तलाई हेर्नेछौं:

५) असल सल्लाह खोज्नुहोस् (हितोपदेश १२:१५; १९:२०)

परमेश्वरको इच्छामा बुद्धिमानी निर्णयहरू गर्नका लागि अर्को एकदम महत्त्वपूर्ण एउटा भाग यो छ: ईश्वरीय सर-सल्लाह खोज्नु। यस कुरालाई व्यावहारिक बुद्धिको पुस्तक हितोपदेशमा १३ पटक उल्लेख गरिएको पाइन्छ। विवाह, पढाइ, काम, बसाइ-सराइ जस्तो कुनै पनि ठूलो निर्णय गर्नु अघि आत्मिक सर-सल्लाह खोज्नुपर्छ। तर ठीक सल्लाह कहाँबाट पाउन सकिन्छ र पाएको सल्लाहलाई कसरी मूल्याङ्कन गर्ने, त्यो जान्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।

बुद्धिहीन सल्लाह सुन्ने व्यक्तिको उल्लेखनीय उदाहरण सुलेमानका छोरा रहबाम हुन् (१ राजा १२:१-१६)। राजगद्दी ग्रहण गरेको लगत्तै उनका प्रजाले उनीसित हामीलाई दयालु व्यवहार गरियोस् भन्दै आग्रह गरे। आफ्नो निर्णय गर्नुपर्दा उनले पहिला बूढापाकाको सल्लाह सुने जसले उनका बाबुलाई सर-सल्लाह दिने गरेका थिए अनि उनीहरूले उनलाई प्रजाको कुरामा ध्यान दिनुपर्छ भन्ने बुद्धिमानी सल्लाह दिए। त्यसपछि उनले आफ्नै दौंतरीहरूको सल्लाह खोजे अनि तिनीहरूले उनलाई आफ्नो खुशीअनुसार व्यवहार गर्न र प्रजाको मनोभावनाको बेवास्ता गर्नलाई सल्लाह दिए। उनले यही बुद्धिहीन सल्लाह पछ्याउने निर्णय गरे र फलस्वरूप आफ्नो राज्यको अधिकांश भाग गुमाए। युवाले सधैं खराब सल्लाह र बूढापाकाले सधैं असल सल्लाह दिन्छन् भन्ने होइन। प्रभुसँग हिँड्ने र परमेश्वरको वचन जान्ने युवाले त्यसरी नजिउने बूढापाकाले भन्दा असल सल्लाह दिनेछ। १ राजा १३ मा एक परमेश्वरको जनले पछि हटेका, झूट बोल्ने वृद्ध अगमवक्ताको कुरा सुनेर परमेश्वरको इच्छाबाट तर्केर गए र उसको नराम्रो अन्त भयो।

बुद्धिमान् व्यक्तिहरूसँग सल्लाह खोज्नुहोस् (“बुद्धिपूर्ण सल्लाहद्वारा” हितोपदेश २४:६)।

बुद्धिमान् सल्लाहकारहरूले परमेश्वरको वचन जानेका हुन्छन् – बाइबलीय तरिकामा बुद्धिमानी सल्लाह खोज्दा हामी मानवीय राय चाहन्नौं; हामी बाइबलीय जानकारीमा आधारित बुद्धि चाहन्छौं। हामी कुनै मान्छेको वचन खोजिरहेका छैनौं तर परमेश्वरबाटको वचन खोज्दैछौं। यसकारण हामीले बाइबललाई परिश्रमसाथ अध्ययन गरेका विश्वासीहरूबाट सल्लाह खोज्नुपर्छ। बुद्धिमान् सल्लाहकारहरू आत्मिक रूपमा पाको हुन्छन् र बाइबलमा जानकार हुन्छन्।

बुद्धिमान् सल्लाहकारहरू खाँटी शिक्षा जानेका र विचार मिल्ने खालका हुन्छन् नव-इभान्जेलिकलहरू वा क्यारिज्म्याटिकहरू वा क्याल्भिनवादीहरू वा अझै उदारवादी र रोमन क्याथोलिक वा शिक्षामा एकै मन नभएका अरूहरूसित सल्लाह खोजेर कतिपय बाइबलीय घरपरिवारकाहरूले गलत निर्णयहरू गर्न पुगेका छन्। अमेरिकामा गर्भपतनलाई वैधानिक तुल्याउने `रो विरुद्ध वेड’ (Roe vs. Wade) नामक अमेरिकाको राष्ट्रिय स्तरको मुद्दाको प्रतिपक्षी नोर्मा मक्कोर्भी (Norma McCorvey) को दुःखद उदाहरणलाई विचार गर्नुहोस्। तिनी गर्भपतनको विरुद्धमा उठीन् र कुनै एक “इभान्जेलिकल” अगुवाबाट बप्‍तिस्मा लिइन्; तर गर्भपतनको विरुद्धमा आवाज उठाउने सिलसिलामा क्याथोलिक पादरीहरूसितको उनको घनिष्टतामार्फत पछि गएर उनी रोमन क्याथोलिक चर्चलाई स्वीकार गर्न पुगिन्।

बुद्धिमान् सल्लाहकारहरूले आफ्नै जीवनमा असल निर्णय गरेका हुन्छन् र उनीहरूको चरित्र असल र स्थिर खालको हुन्छ। (“विश्वासघाती मान्छेमाथि भरोसा” हितोपदेश २५:१९) नगर्नलाई बाइबलले चेताउनी दिन्छ)। अल्छी गर्ने व्यक्तिहरू, तिर्नुपर्ने ठाउँमा नतिर्नेहरू, झूट बोल्नेहरू, ठग्नेहरू, अस्थिर स्वभाकाहरूले असल सल्लाह दिनेछैनन्। विशेष गरी युवाहरूले यसलाई ध्यानमा राख्‍नुपर्छ। वचनले युवालाई बाबुआमाको आदर गर्नुपर्छ भन्दछ, तर बाबुआमाहरू असल चरित्रका छैनन् भने तिनीहरू बुद्धिमान् सल्लाहकार होइनन्। मानसिक र आत्मिक रूपले अस्थिर मान्छेलाई पनि एक अर्थमा “विश्वासघाती मान्छे” को वर्गीकरणमा राख्‍न सकिन्छ। मेरा बाबु यस वर्गमा पर्नुहुन्थ्यो किनकि दोस्रो विश्व युद्धमा प्रशान्त महासागरका टापुहरू (प्यासिफिक आइल्याण्डस्) मा भिडन्तमा पर्नुहुँदा उहाँको मस्तिष्कमा दीर्घकालीन असर पुग्‍न गएको थियो। त्यसपछि उहाँलाई कहिल्यै ठीक भएन र बारम्बार उहाँलाई मानसिक अस्पतालमा भर्ना गर्नुपर्‍यो। उहाँले प्रभुलाई चिन्नुहुन्थ्यो तर कुनै पनि भार वहन गर्न वा महत्त्वपूर्ण निर्णय गर्न उहाँ असक्षम हुनुहुन्थ्यो र उहाँ ठीक सोच्न सक्‍नुहुन्नथ्यो। परिणामस्वरूप हाम्री आमा र हामी छोराछोरीहरूले कतिपय समयहरूमा उहाँको आशीर्वाद नखोजीकनै कामकुरा गर्न सिक्नुपर्‍यो। जस्तै, उहाँ कुनै पनि काममा स्थिर रहन सक्‍नुहुन्नथ्यो त्यसैले परिवारलाई धान्न आमा काममा जानुपर्ने भयो। अरू विकल्पै थिएन तर बाबुले यस कुराको ज्यादै विरोध गर्नुभयो। उहाँ काम गर्न सक्‍नुहुन्नथ्यो र उहाँले कमाउन सक्‍ने कुनै सम्भावनै थिएन, तर आमाले काम गरेको पनि उहाँ चाहनुहुन्नथ्यो। अन्तमा आमा आफै अघि सर्नुभयो अनि प्रभुले आशिष दिनुभयो र उहाँले विवाहअघि काम गर्नुभएको टेलिकम कम्पनीमा काम पाउन सक्‍नुभयो अनि विस्तारै बाबुलाई यसको बानी पर्न थाल्यो। सामान्य अवस्थामा पत्‍नीले त्यसो गर्नु त विद्रोह हुन्थ्यो तर यस अवस्थामा त्यो विद्रोह थिएन। २३ वर्षको उमेरमा मैले मुक्ति पाएपछि म बाइबल कलेज जान चाहेँ र सेवाकार्यको निम्ति तालिम लिन चाहेँ। बाबुले यसको विरोध गर्नुभयो। प्रभुले मलाई इसाई पुस्तकहरू लेख्‍न अगुवाइ गर्नुभयो। बाबुले यसको विरोध गर्नुभयो। बाबुको इच्छा थियो मैले आफ्नो घरतिरै बसेर कतै काम गरोस्। म एकदम खुशी छु कि मैले मानसिक गडबडीले ग्रस्त हुनुभएका मेरा घाइते बाबुलाई नभएर प्रभुलाई पछ्याएँ। बाबुआमाको सल्लाहको विरुद्धमा कहिलेकाहिँ निर्णय गर्नुपर्ने हुन्छ तर त्यस्तो निर्णय गर्नु नै छ भने त्यो हल्कारूपमा कहिल्यै गरिनुहुन्न।

बुद्धिमान् सल्लाहकारहरू बाइबल विश्वास गर्ने असल मण्डलीहरूमा पाइन्छन्। यस्तो सल्लाह पाइने पहिलो ठाउँ मेरो आफ्नै मण्डली हो (यदि म एक बाइबललाई साँच्चै विश्वास र आदर गर्ने असल मण्डलीमा छु भने)। मण्डली सत्यको खाँबो र जग हो (१ तिमोथी ३:१५)। आफ्ना जनहरूलाई सिकाउन र सुरक्षा दिन परमेश्वरले गोठालाहरू, शिक्षकहरू दिनुभएको छ (एफेसी ४:११-१२)। आत्मिक सल्लाह लिनुपर्दा उनीहरू नै हाम्रो सल्लाहकार-सूचीको माथितिर हुनुपर्छ।

बुद्धिमान् सल्लाहकारहरूसँग तपाईंको विशेष परिस्थितिको सम्बन्धमा बुद्धि हुन्छ। खेतीपातिको सल्लाह चाहिँदा तपाईं डाक्टरकहाँ जानुहुन्न। वैवाहिक जीवन सम्बन्धी सल्लाह चाहिँदा तपाईं सफल वैवाहिक जीवन भएको व्यक्तिकहाँ जानुहोस्। सुसमाचार प्रचारमा आफ्नो पूरै जीवन बिताउने बारेमा सल्लाह लिन चाहनुहुन्छ भने तपाईं एक अनुभवी मिसनरीकहाँ जानुहोस्। एउटी असल विश्वासी आमाले चार्ल्स स्पर्जनलाई प्रचारक नबन्नलाई सल्लाह दिएका रहेछन्। तर वास्तवमा एउटी स्त्रीले प्रचारक हुनु भनेको के हो खास बुझ्न सक्दैनन्, यद्यपि उनी एक ज्यादै आत्मिक स्त्री हुन सक्छिन्। स्पर्जन लेख्छन्, “मलाई राम्ररी याद छ, एउटी आत्मिक म्याडमले मलाई प्रचारकको काममा हात नहाल्नलाई भरमग्दुर प्रयास गरिन्; सक्दो इमानदारीता र धैर्यतामा मैले उहाँको रायको लेखाजोखा गर्ने प्रयास गरें — तर उहाँको भन्दा फराकिलो अनुभव भएकाहरूको फैसला नै बढी वजनदार ठहरियो” (सी एच स्पर्जन, लेक्चर्स् टु माइ स्टुडेन्ट्स्)।

बुद्धिमान् सल्लाहकारहरू सत्य कुरा बोल्न तयार हुन्छन् (हितोपदेश २७:६) – हामी जे सुन्न चाहन्छौं त्यो सुनाउनेहरूबाट मात्र सल्लाह लिन खोज्छौं, वा नरम-नरम मात्र बोल्ने, हामीलाई फुर्क्याउने, कठीन विषयहरूलाई एकातिर पन्छाएर कुरा गर्नेहरूबाट मात्र सल्लाह खोज्छौं भने, हामी समय खेर फाल्दैछौं। हामी त्यस्ता सल्लाहकारहरू खोजौं जोहरूले हामीलाई जे जस्तो भए पनि सत्य कुरा बताउँछन्। विश्वासीले आफूले सुन्न चाहेको कुरा सुनाउनेसँग मात्र सल्लाह लिनु भनेको ऊ परमेश्वरको इच्छाको बारेमा गम्भीर नभएको प्रमाण दिनु हो। हामीलाई अगमवक्ता मीकाया जस्तो सल्लाहकार चाहिन्छ (१ राजा २२:२७) जसले दु:खै भोग्‍नु परे तापनि सत्य कुरा बोल्न पछि हटेनन्। त्यसैले हो, दुष्ट राजा आहाबले गुनासो गरेका थिए, “म तिनलाई घृणा गर्दछु किनभने तिनले मेरो निम्ति असल अगमवचन कहँदैनन्, तर सधैं खराबी मात्र” (१ राजा २२:२७)। आहाबलाई चाहिने सल्लाहाकार मिकाया नै थिए तर त्यो जान्न सक्‍ने बुद्धि आहाबसित थिएन।

एकजनाभन्दा बढीसँग सल्लाह खोज्नुहोस् (“जहाँ धेरै सल्लाहकार हुन्छन्” हितोपदेश ११:१४; २४:६)।

यस कुरालाई जोड दिने हेतुले यसलाई हितोपदेशमा दुई-दुईपटक दोहोर्‍याइएको छ। आत्मिक सल्लाहकारहरूको एउटै मत हुनु भनेको परमेश्वरले आफ्नो इच्छालाई अनुसमर्थन गर्नुहुने उहाँको एउटा तरिका हो। जस्तै, कुनै युवाले यदि विवाह सम्बन्धी सल्लाह खोज्दैछ भने अनि उसले बाबुआमासँग, मण्डलीका गोठालाहरूसँग, शिक्षकहरूसँग, साथै अरू पाका आत्मिक व्यक्तिहरूसँग सल्लाह लिन्छ भने त्यहाँ एक मत भएको हुनुपर्छ।

फेरि, “धेरै सल्लाहकारहरू” पाइने सर्वोत्तम ठाउँ परमेश्वरको भय मान्ने, बाइबल विश्वास गर्ने मण्डली हो। बाइबल कलेजको बारेमा स्पर्जनले व्यक्त गरेको कुरा एउटा ईश्वरीय मण्डलीको सवालमा झनै सान्दर्भिक छ: “यहाँ हामी एकसाथ भेला हुन्छौं, प्रार्थनामा सँगै हुन्छौं, कुराकानीमा, विभिन्न माण्डलिक कामकाजको सिलसिलामा हामी एक आपससँग समय बिताउँछौं जसले गर्दा हामीले एक-अर्कालाई चिन्न सक्छौं, नापजोख गर्न सक्छौं, एकअर्काका कमजोर तथा बलियो पक्षहरू जान्न सक्दछौं। एउटा बुद्धिमान् मानिसले धेरैजनाको अर्थात् बहुमतको, सल्लाह, निष्कर्षलाई अस्वीकार गर्नलाई अलिक ढिला-सुस्ती नै गर्नेछ।” (सी एच स्पर्जन, लेक्चर्स् टु माइ स्टुडेन्ट्स्)।)

तर यसको मतलब, मभन्दा माथिका व्यक्तिहरूको सहमति बिना मैले कहिल्यै पनि निर्णय गर्नु हुँदैन भन्ने होइन, किनकि मानिस गलत हुन सक्छ; तर यसको मतलब यो हो कि यदि मैले त्यस्तो निर्णय गर्ने नै हो भने मलाई वचनले स्पष्टै समर्थन गरिरहेको हुनुपर्छ र आफूले लिन लागेको निर्णय परमेश्वरको इच्छा हो भन्ने कुरामा म पूरै निश्चित हुनुपर्छ।

विभिन्न व्यक्तिहरूबाट सल्लाह लिँदा हामी कुनै एउटै व्यक्तिको इच्छाको दास बन्नबाट जोगिन्छौं। सन् १९७० को दशकको “पेन्टेकोस्टल गोठाला अभियान” (Pentecostal Shepherding Movement ) को भूल यही थियो। उनीहरूको शिक्षा अनुसार हरेक विश्वासी जनले आफूलाई मण्डलीद्वारा नियुक्त गरिएको एउटा “गोठालो” को अधीनमा सुम्पिनुपर्छ। उक्त “गोठालो” सित सल्लाह नलिईकन कुनै पनि निर्णय गर्न मिल्दैनथ्यो। यसको परिणाममा त्यहाँ अधिकारको व्यापक दुरुपयोग भएको पाइयो। मण्डलीका गोठालाहरू, शिक्षकहरू र चेला बनाउनेहरू महत्त्वपूर्ण सहायकहरू हुन्, तर विश्वासीको एउटै मात्र मालिक हुनुपर्छ, जो ख्रीष्ट हुनुहुन्छ।

मैले एउटा चेतावनी दिनैपर्छ कि “धेरैजना सल्लाहकारहरू” ले गोलमाल पनि ल्याउन सक्छ यदि ती सल्लाहकारहरू परमेश्वरको भय मान्ने, बाइबलीय तरिकामा बुद्धिमान र शिक्षामा एकै मनका छैनन् भने!

नजिकका व्यक्तिहरूसँग सल्लाह खोज्नुहोस् (हितोपदेश २७:१०)।

कतिपटक मानिसहरू नजिककाहरूलाई छोडेर टाढाकाहरूसित सल्लाह लिन खोज्छन्, हुन त यो सधैं गलत हुन्छ भन्ने होइन। तरैपनि कतिपटक त्यो गलत कारणले गरिन्छ। बेलाबखत मलाई अरू मण्डलीकाहरूले आफ्नो मण्डलीको अवस्थाबारे सल्लाह माग्न खोज्छन्। तर मलाई त्यहाँको वस्तुस्थिति राम्ररी थाह हुँदैन। कहिलेकाहिँ कोहीले वस्तुस्थिति राम्ररी थाहा नभएकैहरूसँग सल्लाह लिन खोज्छन्, तर यही कारणले हो हामीले सामान्यतयाः नजिककाहरूसँग सल्लाह खोज्नुपर्ने।

युवाहरूका लागि प्रथम सल्लाहकारहरू उनीहरूको आफ्नै बाबुआमा हुनुपर्छ, विशेष गरी बाबुआमा विश्वासी हुन् भने (एफेसी ६:१-३)। दोस्रो स्थानमा सल्लाह खोजिनुपर्ने मण्डली अगुवाहरूबाट हो। परमेश्वरले मण्डलीहरूलाई अगुवाहरू दिनुहुन्छ: उनीहरूको देखरेख गर्न, उनीहरूलाई सहायता गर्न, जसरी एउटा गोठालाले भेडाहरूसित व्यवहार गर्दछ। ईश्वरीय मण्डली अगुवाहरू “तिमीहरूका प्राणहरूका निम्ति जागा रहन्छन्” (हिब्रू १३:१७)। उनीहरूले मण्डलीका जनहरूको बारेमा विचार गरिरहन्छन्, उनीहरूको लागि प्रार्थना गरिरहन्छन्, हरेकको लागि सर्वोत्तम कुरा चाहन्छन्, र परमेश्वरले उनीहरूलाई विशेष बुद्धि दिनुहुन्छ।

हाम्रो मण्डलीमा विवाहको विचार गरिरहेका युवाहरूलाई आफ्ना बाबुआमासँग कुरा गर्न र त्यसपछि आफ्ना मण्डली अगुवाहरूसँग छलफल गर्नलाई आग्रह गर्ने गर्दछौं। कुनै भाइलाई कुनै बहिनीप्रति त्यस्तो चासो छ भने, अगुवाहरूसँग कुरा नगरीकन कुरा अगाडि नबढाउन हामी आग्रह गर्दछौं। उनीहरूलाई कति कुरा थाह हुन्छ जुन कुरा युवालाई थाह हुँदैन, अनि त्यसमा अगाडि बढ्नु बुद्धीमानी हुन्छ कि हुँदैन भन्ने बारेमा उनीहरूले असल सल्लाह दिन सक्छन्। यस प्रकृयालाई बेवास्ता गर्नेहरूले सधैं गडबडीलाई निम्त्याएका छन्!

वास्ता गर्ने व्यक्तिहरूसँग सल्लाह खोज्नुहोस्

तपाईंलाई चिन्ने मात्र नभएर तपाईंको वास्ता समेत गर्ने, तपाईंको आत्मिक जीवनको शुभचिन्तकहरूसँग सल्लाह खोज्नु बुद्धिमानी हो। जस्तै, एक युवाले उसको आत्मिक भलाइको वास्ता नगर्ने र उसको जीवनमा त्यसप्रकारले लागिनरहने व्यक्तिबाट भन्दा उसको लागि प्रार्थना गरिरहने एउटा आत्मिक अगुवाबाट बढी असल सल्लाह पाउनेछ।

सल्लाह गम्भीरतापूर्वक (लगनशीलतापूर्वक) खोज्नुहोस् (हितोपदेश २०:५)

एकजना पास्टरको अवलोकनअनुसार “हरेक सल्लाहकार सल्लाह दिन छिटो हुँदैन। इमानदार भईकन, खोजी-खोजी एक बुद्धिमान व्यक्तिबाट सल्लाह उघाएर निकाल्नु सल्लाह खोज्ने व्यक्तिको जिम्मेवारी हो। प्रायः बुद्धिमान गनिने व्यक्तिहरू हतार-हतार सल्लाह प्रदान गर्ने गर्दैनन्।”

परमेश्वरसित सङ्गतिमा हिड्दै, उहाँको वचनको ज्योतिमा रहेर सल्लाह खोज्नुहोस्

परमेश्वरलाई छोडेर मान्छेमा भरोसा गर्नु वा मान्छलाई ऊ मानो परमेश्वर भएझैं अन्धो रूपमा उसलाई मान्नु मूर्तिपूजा हो (यर्मिया १७:५-८)। हो, परमेश्वरले हामीमाथि अधिकारीहरू दिनुहुन्छ, हामीलाई सहायता गर्न शिक्षकहरू दिनुहुन्छ र तिनीहरू महत्त्वपूर्ण छन्। तर अन्तमा हाम्रो भरोसा परमेश्वरमाथि हुनुपर्छ, र हामीले उहाँबाट नै बुद्धि प्राप्‍त गर्नुपर्छ। बिल गोथार्ड (Bill Gothard) को “अधिकार” (“chain of authority”) भनिने धारणाअनुसार जेसुकै कुरा किन नहोस्, अधिकारीले जे भन्छ त्यसलाई मान्नुपर्छ अरे, तर यो बाइबलसम्मत छैन। हामीले उहाँलाई भन्दा बाबुआमालाई समेत बढी प्रेम गर्दछौं भने हामी उहाँको चेला हुन अयोग्य हुन्छौं भनेर येशूले भन्नुभयो (मत्ती १०:३७)। यसकारण यो स्पष्ट छ, त्यस्तो बेला पनि आउँछ जब हामी अधिकारीको मागभन्दा बिपरितमा चल्नुपर्ने हुन्छ। कुन अवस्थामा? त्यो अवस्थामा जब उनीहरूले हामीलाई परमेश्वरको वचनले देखाएको उहाँको इच्छाबिपरित लैजान खोज्दछन्। हामीले मानिसको भन्दा परमेश्वरको आज्ञापालन गर्नुपर्छ भनेर प्रेरितहरूले सिकाए (प्रेरित ५:२९)। हाम्रो मण्डलीको पहिलो विश्वासीहरूमध्येमा एकजाना चाहिँ टीनएज केटी थिइन्। तिनका हिन्दू बाबुआमा र दिदीहरूले उनलाई मण्डली जान मनाही गरे, तर तिनले ख्रीष्टलाई पहिलो स्थान दिइन् र परमेश्वरको वचनलाई मानेर आफूले पाएका सबै अवसरहरूमा मण्डलीमा उपस्थित भइन्। फलस्वरूप उनको पूरै परिवार प्रभुमा आएका छन्। हामीले अधिकारीहरूलाई आदर गर्नुपर्छ तर ख्रीष्ट नै हाम्रो प्रथम र एकमात्र मालिक हुनुपर्छ। पहिल्यै हामीले भनिसक्यौं, मुख्य कुरा हामी बेरियालीहरू बन्नुपर्छ र सबै कुरालाई परमेश्वरको वचनले जाँच्नुपर्छ (प्रेरित १७:११)।

एउटा कुरालाई जोड दिन हामी भुल्न चाहन्नौं कि हामीले सल्लाहलाई हाम्रो आफ्नै व्यक्तिगत रायले जाँच्ने होइन, न ता समाज, हाम्रा दौंतरी, आधुनिक युगको विचारधारा, मनोविज्ञान, वा अन्य कुनै कुराले नै, तर केवल परमेश्वरको वचनले मात्र।

बुद्धिमानी निर्णयहरू कसरी गर्ने सम्बन्धी पुनरावलोकन प्रश्नहरू भाग २

  1. हामीले बुद्धिमानी सल्लाह खोज्नुपर्छ भनेर सिकाउने एउटा हितोपदेशको पद बताउनुहोस्।
  2. सल्लाह लिँदाहुँदी हामीलाई __________________ __________________ को आवश्यकता छैन।
  3. बगालको उन्नति गराउन र त्यसलाई रक्षा गर्न परमेश्वरले मण्डलीहरूलाई पास्टरहरू र शिक्षकहरू दिनुहुन्छ भनेर कुन पुस्तकको कुन अध्यायमा लेखिएको छ?
  4. बुद्धिमानी सल्लाह पाउन सकिने पहिलो ठाउँ कुन हो?
  5. सोलोमनको छोराको गलती के थियो?
  6. खराब सल्लाह दिने पुरानो नियमको एकजना वृद्ध व्यक्तिको उदाहरण कुन हो?
  7. चार्ल्स स्पर्जनले उसलाई प्रचार नगर्नू भनेर सल्लाह दिने त्यस स्त्रीको सल्लाह नमान्नु किन बुद्धिमानी थियो?
  8. ईश्वरीय सल्लाहकारहरूको __________________________ हुनु परमेश्वरले आफ्‍नो इच्छालाई अनुसमर्थन गर्ने उहाँको एउटा तरिका हो।
  9. “धेरै सल्लाहकारहरू” पाइने सबभन्दा उत्तम स्थान कुन हो?
  10. किन हामीले टाढाकाहरूबाट भन्दा हाम्रै नजिककाहरूबाट सल्लाह लिनुपर्छ?
  11. बुद्धिमानी सल्लाहको निम्ति एकजना युवाले सर्वप्रथम कहाँ हेर्नुपर्छ?
  12. मान्छेमाथि भरोसा राख्‍नु गलत हो भनेर कुन पुस्तकको कुन अध्यायले चेताउनी दिन्छ?
  13. हामीले मान्छेको भन्दा परमेश्वरको आज्ञा मान्नुपर्छ भनेर कुन पदले बताउँछ?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email