अन्तरालको सिद्धान्त
अन्तरालको सिद्धान्त
(GAP THEORY)
चाबी प्रश्न—उत्पत्ति १:१ र १:२ को बीचमा अन्तराल (GAP) छ?
चाबी वाक्यांश—“आकारबिनाको र शून्य” (उत्पत्ति १:२)
“शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। अनि पृथ्वी आकारबिनाको र शून्य थियो; अनि गहिरा सागरको सतहमाथि अन्धकार थियो। अनि परमेश्वरका आत्मा पानीको सतहमाथि घुम्नुहुन्थ्यो” (उत्पत्ति १:१-२)।
१) कतिको धारणाअनुसार, तल चित्रमा देखाइएझैं उत्पत्ति १:१ र १:२ को बीचमा एउटा ग्याप अर्थात् समयको अन्तराल हुनुपर्छ।

उनीहरूको विश्वासमा उक्त अन्तराल करोडौं वा अरबौं वर्ष लामो थियो जुन अवधिभित्र केही महत्वपूर्ण घटनाहरू घटे।
२) अन्तरालको सिद्धान्त (Gap Theory) का कतिपय समर्थकहरूको विश्वास अनुसार उक्त समयावधिमा, आदमको सृष्टि हुनुभन्दा पनि अगाडि, एक मनुष्य जाति (कुनै प्रकारको “पूर्व-ऐतिहासिक मानवहरू”) पृथ्वीमा जिउँदथे! आदम सृष्टि-साताको कुन दिनसम्म सृष्टि गरिएका थिएनन् (उत्पत्ति १:२६-३२)? ________________ यसको अर्थ यो हुन्छ कि यदि यस अन्तरालको समयमा पृथ्वीमा कुनै मानिसहरू जिएका भए, तिनीहरू आदमभन्दा अगाडी बाँचेको हुनुपर्छ!

यी “पूर्व-आदम” मानिसहरूलाई के भयो? तिनीहरू परमेश्वरको विश्वव्यापी इन्साफमा मारिए भनी मानिसहरूले हामीलाई बताउँछन्। कतिले त यो पनि भन्छन् कि तिनीहरूको शरीर नष्ट भए, तर ती दुष्ट मानिसहरूका आत्मा रहिरह्यो र तिनीहरूका आत्मा नै आजका दुष्ट आत्माहरू हुन्!
के यो नै दुष्ट आत्माहरूको सुरुवातको ठीक परिभाषा हो त? के दुष्ट आत्माहरू साँच्चै आदमभन्दा पहिले बाँचेका मानिसजातिको आत्माहरू हुन् त? (वास्तवमा दुष्टआत्माहरू परमेश्वरको विरोध गरेर शैतानलाई पछ्याउने पतित स्वर्गदूतहरू हुन्।)
३) उक्त अन्तराल (GAP) मा संसारमा किन त्यस्तो भयानक इन्साफ भएको थियो? लुसिफरको पापले नै उक्त इन्साफ आएको भनी अन्तराल (GAP) मा विश्वास गर्नेहरूले दावी गर्छन् जसको फलस्वरूप पृथ्वी आकारबिनाको र शून्य हुनगयो (“became”) भन्ने अर्थ उनीहरू लगाउँछन्।
लुसिफरको सृष्टि कहिले भएको थियो? लुसिफर कहिले पापमा फसेका थिए? परमेश्वरले कहिले शैतानको इन्साफ गर्नुभयो? (यसको अध्ययन हामी यही पाठमा गर्नेछौं।)
४) लुसिफरको पापको कारणले परमेश्वरले संसारको इन्साफ गर्नुभयो भनी उनीहरूले बताउँछन्। यो कस्तो किसिमको इन्साफ थियो? अन्तराल (GAP) मा विश्वास गर्नेहरूले उक्त इन्साफ विश्वव्यापी जलप्रलयद्वारा भएको विश्वास गर्छन्। यो नूहको जलप्रलय थिएन किनभने उत्पत्ति ६-८ अध्यायसम्म उक्त जलप्रलयको कुरा गरिएको छैन। उनीहरूको बिचारमा यो पहिले नै भएको जलप्रलय हो जसलाई उनीहरूमध्ये कसै-कसैले “लुसिफरको जलप्रलय” भनी नाम दिन्छन्। के साँच्चै त्यस्तो जलप्रलयको अस्तित्व थियो? के बाइबलले त्यस्तो जलप्रलयको बारेमा केही बताउँछ? के बाइबले दुई ओटा जलप्रलयको उल्लेख गर्छ?

५)उनीहरू भन्छन्, “लुसिफरको जलप्रलय” मा नष्ट भएका बनस्पतिहरू र प्राणी जगतको अचानक मृत्यु भयो र माटोमा पुरिएर ती जीवशेषहरूमा परिणत भए।
के उत्पत्ति १:१ र १:२ को अन्तराल (GAP) को समयमा साँच्चै वनस्पति र प्राणीहरू थिए? के जीवशेषहरू बनिनुको कारण साँच्चै यही हो? संसारमा मृत्यु पहिलो पल्ट कहिले पस्यो? [याद राख्नुहोस्, तेस्रो दिनसम्म वनस्पतिहरू सृष्टि गरिएका थिएनन् र पाचौं र छैठौं दिनसम्म जीवित प्राणीहरू सृष्टि गरिएका थिएनन्।]
६) अन्तराल (GAP) मा विश्वास गर्नेहरूले लुसिफरको पापको कारणले संसारमाथि आएको परमेश्वरको इन्साफको कारणले “पृथ्वी आकारबिनाको र शून्य” ( उत्पत्ति १:२) भयो भनी बताउँदछन्।

त्यसैले, परमेश्वरको इन्साफको कारणले पृथ्वी जीर्ण र भग्नावस्थाको (आकारबिनाको र शून्य) भयो भनी ती मानिसहरूले विश्वास गर्दछन्। तिनीहरू विश्वास गर्दछन् कि उत्पत्ति १:२ ले भग्नावशेषमा बदली भएको संसारको व्याख्या गर्दछ जुनचाहिँ तबउसो सिद्ध थिएन—पाप र इन्साफले बिग्रेको र बिनाश भएको पृथ्वी थियो।
यदि तपाईंसँग स्वादिष्ट पाकेको स्याउ छ भने (खोट र दाग नभएको!) र केही महिना पछि तपाईं आउनुभएर त्यहाँ कुहिएको, बिग्रेको, किरा लागेको अवस्थामा स्याउ भेट्टाउनुभयो भने, स्वभाविक रूपमा त्यो स्याउ एकसमय “सिद्ध” थियो भन्ने निश्कर्षमा तपाईं पुग्नुहुन्छ। केही महिनाको अन्तराल (GAP) मा केही भयो, र स्याउ बिग्रिएको र कुहिएको अवस्था भयो!/
अन्तराल (GAP) मा विश्वास गर्नेहरूले उत्पत्ति १:१ लाई सिद्ध पृथ्वीको रूपमा वर्णन गर्छन्। त्यसपछि अन्तराल (GAP) मा कुनै घटना घट्यो (लुसिफरको पतन र परमेश्वरको इन्साफ) र पथ्वी आकारबिनाको र शून्य भयो (उत्पत्ति १:२)।
तर, के उत्पत्ति १:२ ले साँच्चै बिग्रिन गएको पृथ्वीको वर्णन गर्छ? के पृथ्वी वास्तवमै त्यस समयमा बिग्रिन पुगेको हो? के त्यहाँ वास्तवमै त्यस्तो अन्तराल (GAP) थियो?
हामी सबैलाई थाह छ, मानिसको पापको फलस्वरूप पृथ्वी भ्रष्ट र खराब भएको हो (उत्पत्ति ३ पढ्नुहोस्), तर के उत्पत्ति १:१ र १:२ को अन्तरालमा पनि पृथ्वी नष्ट भएको हो त?
७) उत्पत्ति १:२ले बताउँछ, “अनि गहिरा सागरको सतहमाथि ______________ थियो”। अन्तरालमा विश्वास गर्नेहरूले उत्पत्ति १:२ मा भएको “अन्धकार” शब्दले पाप र इन्साफको वर्णन गर्दछ भनी भन्दछन्। कहिलेकाहिँ बाइबलले “अन्धकार” शब्दलाई पापपूर्ण अवस्थाको वर्णन गर्न प्रयोग गर्दछ। उदाहरणको निम्ति, यूहन्ना ३:१९-२० ले बताउँदछ कि मानिसहरूले ज्योतिलाई भन्दा बरू अन्धकारलाई प्रेम गरे (यी पदहरू पनि हेर्नुहोस्: यूहन्ना १:५; ८:१२; प्रेरित २६:१८; कलस्सी १:१३; १ पत्रूस २:९; १ यूहन्ना १:५-७; २:९-११)। हाम्रो पापको निम्ति ख्रीष्टको इन्साफ हुँदा के भएको थियो (मत्ती २७:४५)? __________________ के परमेश्वरले कहिलेकाहीँ अन्धकार पठाएर पनि संसारको न्याय गर्नुहुन्छ (प्रस्थान १०:२१-२३; प्रकाश ८:१२; १६:१० पढ्नुहोस्)? ________________ त्यसैले, उत्पत्ति १:२ मा भएको “अन्धकार”ले अन्तरालको समयमा परमेश्वरले संसारको इन्साफ गर्नुभयो भनी प्रमाणित गर्दछ भनी बताइने गरिन्छ। तर के यो साँच्चै सत्य हो? के “अन्धकार” शब्दलाई जहिल्यै पनि दुष्टताको चिन्हको रूपमा प्रयोग गरिएको छ? के सिद्ध पृथ्वीमा अन्धकार हुँदैन? के परमेश्वरले अन्धकारको सृष्टि गर्नुभएको हो?
८) मूल सृष्टिमा संसार सिद्ध थियो (उत्पत्ति १:१)। यदि अन्तरालको समयमा पृथ्वीको इन्साफ भएको र नष्ट भएको भए, परमेश्वरले सृष्टिको आफ्नो कार्यलाई फेरी दोहोर्याउनुपर्ने हुन्थ्यो! उहाँले आकाश र पृथ्वी दोस्रो पटक सृष्टि गर्नुपर्ने हुन्थ्यो! त्यसो भए, उत्पत्ति १ का ६ दिनहरूले सृष्टिको नभएर “पुनर्सृष्टि” को बयान गर्छ। यी ६ दिनहरूमा परमेश्वरले आकाश र पृथ्वीको पुनर्सृष्टि (पुन: बनाउने काम) गर्नुभयो। अन्तराल-इन्साफ (GAP-judgment) अगाडि, त्यहाँ वनस्पतिहरू, पशुहरू र मानिसहरू समेत पृथ्वीमा जिउने गरेका थिए। तर लुसिफरको इन्साफमा तिनीहरू सबै नाश भए, र परमेश्वरले पुन: एकचोटि जीवनको सृष्टि गर्नुपर्यो। त्यसैले उत्पत्ति १ अध्यायले परमेश्वरको मूल सृष्टिको वर्णन गर्दैन तर यसले परमेश्वरले गर्नुभएको आकाश र पृथ्वीको पुनर्सृष्टिको वर्णन गर्दछ भनी यी मानिसहरूले विश्वास गर्दछन्।

के साँच्चै त्यस्तै भएको हो त? उत्पत्ति १ अध्यायले सृष्टिको वर्णन गर्छ कि पुनर्सृष्टिको?
९) अन्तरालको सिद्धान्त (Gap Theory) मा विश्वास गर्नेहरूले पृथ्वी एकसमय पशुहरूले (डाइनासोर्सहरू सहित), वनस्पतिहरू र पूर्व-आदम मानिसहरूले समेत भरिएको थियो भनी बताउँछन्! तर यो पनि बताइन्छ कि लुसिफरको इन्साफले ती सबै नाश भए र पृथ्वी आकारबिनाको र शून्य भयो (उत्पत्ति १:२)। त्यसैले पृथ्वीलाई फेरी भर्नु खाचो पर्यो। पृथ्वी एकसमय (वनस्पतिहरू, पशुहरू र मानिसहरूले) भरिएको थियो, तर अब यो पुन: भरिनुपर्ने भयो। यही कारणले परमेश्वरले आदम र हव्वालाई उत्पत्ति १:२८ मा “भरिदेओ” भन्नुभएको आज्ञालाई उनीहरू “फेरि भरिदेओ” (“replenish”) भन्ने अर्थ लगाउँछन्। के साँच्चै “भरिदेओ” भन्ने शब्दले “फेरी भरिदेओ” भन्ने अर्थ लगाउँछ त (कि यसले साधारण अर्थमा भरिदेओ भन्ने नै अर्थ दिन्छ)? के उत्पत्ति १:३-३१ ले परमेश्वरले वास्तवमै पृथ्वीलाई दोस्रो पटक भर्ने आज्ञा दिनुभएको अर्थ दिन्छ त?
१०) के त्यहाँ साँच्चै उत्पत्ति १:१ र १:२ बिचमा अन्तराल छ? के परमेश्वरले हामीले पदहरूको बिचमा वा वाक्यहरूको बिचमा पनि अतिरिक्त लेख पढेको चाहनुहुन्छ? यदि त्यहाँ साँच्चै अन्तराल हुने हो भने, किन त्यहाँ उक्त अन्तरालको बारेमा र त्यस समयमा साँच्चै के भएको थियो भनी बताउने पदहरू छैनन् त?
अन्तरालको सिद्धान्त (GAP THEORY) का १० ओटा समस्याहरू
१. अन्तरालको समस्या
के उत्पत्ति १:१ र उत्पत्ति १:२ को बिचमा अरबौं वर्षहरूको अन्तराल छ त? प्रस्थान २०:११ पढ्नुहोस्। आकाश, पथ्वी र समुद्र अनि आकाशमा, पृथ्वीमा र समुद्रमा भएका सबै कुराहरू सृष्टि गर्न परमेश्वरलाई कति समय लाग्यो? __________________ के आकाश र पृथ्वीको सृष्टि (उत्पत्ति १:१) ६ दिनभित्रै भएको थियो? _________ उत्पत्ति १:१-१:३१ अनुसार सृष्टि गर्ने कार्य ६ दिनमा सम्पन्न भएको हो भने, १:१ र १:२ को बीचमा कसरी अरबौं वर्षको अन्तर हुन सक्छ?

“किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनुभयो” (प्रस्थान २०:११)। त्यहाँ अन्तरालको निम्ति कुनै स्थान नै छैन! आकाश र पृथ्वीको सृष्टि ________ दिनमा (उत्पत्ति १:५ पढ्नुहोस्) भएको थियो। एक हप्तापछि सबैकुराहरू सृजना ______________ (उत्पत्ति २:१)।
२.आदमभन्दा अघि मानिस थिए भन्ने समस्या
के आदमभन्दा अघि साँच्चै त्यहाँ मानिसहरू थिए त? १ कोरिन्थी १५:४५ मा आदमलाई “___________ ____________” भनिएको छ। यदि आदम पहिलो मानिस हुन् भने, उनी भन्दा अघि त्यहाँ कुनै मानिस हुन सक्दैनन्!
बाइबलमा “मानिस” को पहिलो उल्लेख उत्पत्ति १:२६-२७ मा गरिएको छ। के यी पदहरूले मानिस भन्दा अघि पृथ्वीमा भएका मानिसहरूको सृष्टिको वर्णन गर्छ, कि आदम र हव्वाको सृष्टिको वर्णन गर्छ?
_______________________________________________________________ आदमअघि मानिस थिए भन्ने बाइबलले कतै उल्लेख गर्दैन। यदि वैज्ञानिकहरूले “पूर्व-ऐतिहासिक मानिस”का हड्डीहरू पत्ता लगाउने हो भने, उक्त मानिस आदमकै सन्तती हो भनी हामीले जान्न सक्छौं (यदि उनीहरूले बाँदर र चिम्पाङ्गजीको हड्डीलाई झुक्किएर मानिसको हड्डी हो भनेर सोचेनन् भने)! सबै मानिसहरू आदमबाट आएका हुन्। के आदम तपाईंको पूर्खा हुन्? ____________ लूका ३:२३-३८ पढ्नुहोस्।
दुष्ट आत्माहरू कहाँबाट आए? के दुष्ट आत्माहरू आदम सृष्टि गरिनुभन्दा अगाडि पृथ्वीमा भएका दुष्ट मानिसहरूका आत्माहरू हुन्? होइन, बाइबलअनुसार तिनीहरू शक्तिमान परमेश्व_रको विरुद्धमा उठेको शैतानको विद्रोहमा लागेका स्वर्गदूतहरू हुन्। जोडा मिलाउनुहोस्–
- क) _____ पवित्र स्वर्गदूतहरू १) मत्ती ९:३४; मत्ती १२:२४
- ख) _____ शैतानका दूतहरू २) २ पत्रुस २:४ र यहूदा ६
- ग) _____ एक तिहाइ स्वर्गदूत शैतानलाई पछ्याउँछन् ३) मत्ती २५:३१
- घ) _____ शैतान दुष्टआत्माहरूका शासक हुन् ४) प्रकाश १२:४
- ङ) _____ स्वर्गदूतहरू जसले पाप गरे ५) मत्ती २५:४१; प्रकाश १२:७
३.लुसिफरको पतनको समस्या
लुसिफरको पतन कहिले भयो? कहिले लुसिफर दुष्ट बन्यो (परमेश्वरको विरोधी) र शैतान बन्यो? अन्तरालमा विश्वास गर्नेहरूले लुसिफरको पतन उत्पत्ति १:१ र १:२ को अन्तरालको बिचमा कतै भएको हो भनी बताउँदछन्। तर बाइबलले लुसिफर उत्पत्ति १:१ को अगाडि नै सृष्टि भएको र पापमा पतन भएको कुरालाई जनाउँदछ।
उत्पत्ति १:१ ले आकाशहरू र पृथ्वीको सृष्टिको वर्णन गर्दछ (यसको हिब्रू शब्द “आकाशहरू” मा बहुबाचक, -इम्को प्रयोग गरिएको छ र यसलाई “आकाशहरू” भनी अनुवाद गर्न सकिन्छ)।
३ स्वर्गहरू
बाइबलले ३ ओटा आकाशहरू (वा स्वर्गहरू) छन् भनी बताउँछ (२ कोरिन्थी १२:२ पढ्नुहोस्—“तेस्रो ___________ उठाइयो”):
१)पहिलो स्वर्ग (आकाश) दिनमा देख्न सकिन्छ, जहाँ चराहरू उड्छन् र बादलहरू रहन्छन्। यो वायुमण्डलीय स्वर्ग (आकाश) हो। येशूले मत्ती ६:२६मा भन्नुभयो, “__________ (स्वर्गका) _______________ हेर”। भजनसंग्रह ८:८ पनि पढ्नुहोस् (“आकाश (स्वर्ग) का चराहरू”)।
२)दोस्रो स्वर्ग रातमा देख्न सकिन्छ—ताराहरू, चन्द्रमा र ग्रहहरू। यो खरबौं घामहरू र आकाशमण्डलहरू भएको नक्षत्रीय ब्रह्माण्ड हो! दाऊदले भजनसंग्रह ८:३ मा दोस्रो स्वर्गको उल्लेख गरे, “जब म तपाईंको ______________ विचार गर्दछु, जो तपाईंका औंलाहरूको काम हो, अर्थात् _______ र _________, जसलाई तपाईंले नियुक्त गर्नुभयो”।
३)तेस्रो स्वर्ग विश्वासको आँखाले बाहेक अरू कुनै तरिकाले देख्न सकिँदैन। यसलाई नहेम्याह ९:६ मा “स_______ आकाश” भनिएको छ जसलाई अक्षरश: “आकाशहरूका आकाश” भनी अनुवाद गर्न सकिन्छ। लूका २:१४ मा यसलाई “प__________” भनिएको छ। आज तेस्रो आकाशलाई “स्वर्ग” (२ कोरिन्थी १२:४) पनि भनिएको छ। पावल त्यहाँ लगिएका थिए (२ कोरिन्थी १२:२)। प्रभु येशू आज त्यहाँ हुनुहुन्छ (हिब्रू ८:१; ९:२४)। परमेश्वर पिताले आफ्नो उपस्थिति प्रकट गर्नुहुने स्थान त्यहीँ हो (मत्ती ६:९) र हामी उहाँलाई ____________ पिता भनी चिन्दछौं (मत्त ६:२६)। विश्वासीको मृत्यु भएपछि ऊ त्यहीँ पुग्दछ (फिलिप्पी १:२३)। स्वर्गदूतहरूको वासस्थान पनि त्यहीँ नै हो (प्रकाश ५:११; मर्कूस १२:२५, १३:३२; लूका २:१३; मत्ती २८:२)।
उत्पत्ति १:१ (साथै प्रकाश २०:११) मा उल्लेखित “स्वर्गहरू” (हिब्रूमा वहुवचन “इम” प्रत्यय लागेको शब्द “शमाईम्” लाई “आकाशहरू” वा “स्वर्गहरू’ भनी अनुवाद गर्न सकिन्छ) ले कुनचाहिँ स्वर्गहरूलाई जनाउँछन् त?

त्यसैले, उत्पत्ति १:१ (र प्रस्थान २०:११) को “आकाशहरू” (वा स्वर्गहरू)को अर्थ __________ स्वर्ग (वायुमण्डलीय आकाश) र _____________ स्वर्ग (नक्षत्रीय ब्रह्माण्ड) को कुरा गरेको हुनुपर्छ। तेस्रो स्वर्गको सृष्टिको बारेमा उत्पत्ति १ अध्यायमा बताइएको छैन। पहिलो र दोस्रो स्वर्ग र तिनमा भएका सबै थोकहरू बनाउन परमेश्वरलाई कति समय लाग्यो (प्रस्थान २०:११)?
______________ यसको अर्थ के परमेश्वरले स्वर्गदुहरूको सृष्टि गर्नुभएन भन्ने हुन्छ? हुँदैन, बाइबलले बताउँछ कि “_______ उहाँ (सृष्टिकर्ता ख्रीष्ट) द्वारा _________ गरिएका हुन्” (कलस्सी १:१६)। नहेम्याह ९:६ मा पनि मानिसहरूले परमेश्वरको प्रशंसा गरे किनभने उहाँले सबै कुराहरू सृष्टि गर्नुभयो: “तपाईं, अँ, तपाईं मात्र परमप्रभु हुनुहुन्छ; तपाईंले नै आकाश, __________ ___________, त्यसको जम्मै _________ (स्वर्गदुतहरू), पृथ्वी र त्यसमाथि भएका सबै थोकहरू, समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभएको हो; अनि तपाईंले नै ती सबैलाई जोगाएर राख्नुहुन्छ; अनि __________ __________ (स्वर्गदुतहरूले) तपाईंलाई दण्डवत् गर्दछ।”
ध्यान दिनुहोस्, नहेम्याहले तेस्रो स्वर्ग (सर्वोच्च आकाश) को र स्वर्गदुतहरू (स्वर्गको सेना) को उल्लेख गर्दछन्। तल नहेम्याह ९:६ र प्रस्थान २०:११ बिच तुलना गरिएको छ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)