अध्याय ३ – भित्र र बाहिरबाट समस्या

अध्याय ३ – भित्र र बाहिरबाट समस्या
(प्रेरित ५)
भित्रबाट समस्या
हनानिया र सफिरा
शुरुको मण्डलीमा सबै कुरा सुचारु रूपमा अघि बढ्दै थियो तर प्रेरितको पाँचौं अध्यायमा शैतानले मण्डलीमा भित्रबाट समस्या उब्जाएर आक्रमण गरेको कुरा भेटिन्छ।
येरुशलेमको शहरमा बसोबासो गरिरहेका शुरुका विश्वासीहरूले आफ्ना धन सम्पत्ति बाँड्न समेत तत्पर थिए (प्रेरित ४:३२)। केही विश्वासीहरू ज्यादै गरीब थिए। अरूहरूचाहिँ धनवान् र ज_____ र घ_______का मालिक थिए (प्रेरित ४:३४)। धनवान् ख्रीष्टियनहरू आफ्ना घरबार र जग्गा-जमिनहरू बेचेर उठेको पैसालाई खाँचोमा परेका विश्वासीहरूलाई बाँड्न निकै इच्छुक थिए (प्रेरित ४:३४-३५)। योसेस नाम गरेको एकजना निकै इमान्दार र दयालु हृदय भएको विश्वासी थिए (जसलाई प्रेरितहरूले ब_______ भन्ने उपनाम दिए, प्रेरित ४:३६ पढ्नुहोस्)। पछि प्रेरितको पुस्तकमा बर्नबासको बारेमा हामीले अझै अरू कुरा जान्नेछौँ।
प्रेरित ५:१ मा`हनानिया नाम गरेको व्यक्तिले आफ्नो सम्पत्ति बेचेको बताइएको छ। उसले घर बेचेको थियो कि जग्गा (प्रेरित ५:८)? ___________। हामीलाई यो बताइएको छ कि हनानियाले पाएको मूल्यबाट केही अंश आफ्नो निम्ति छुट्टायो (प्रेरित ५:२) र उसले बाँकी रकम मण्डलीलाई दियो।
मानौं हनानियाले जग्गा पाँच लाखमा बेचेको थियो र उसले आफ्नो निम्ति एक लाख रुपैयाँ राख्यो अनि बाँकी पैसा उसले मण्डलीलाई दियो र यस्तो किसिमको कुरा गर्यो: “मैले आफ्नो जग्गा चार लाखमा बेचेको छु (झूटो कुरा) र म सबै पैसा मण्डलीलाई दिन चाहन्छु ताकि खाँचोमा परेका गरीब विश्वासीहरूको हर्जा टार्न यसको प्रयोग गर्न सकियोस्।”
के उसकी पत्नी सफीरालाई उसले गरेको यो झूटो कामको बारेमा थाह थियो (प्रेरित ५:२)?____________ [ द्रष्टव्य: यस पदले हामीलाई बताउँछ उसकी पत्नीलाई “त्यो थाह थियो” जसको अर्थ हुन्छ उसलाई यसको बारेमा पूरा ज्ञान थियो।]
हनानियाले गरेको ठूलो पाप के थियो? के केही अंश राख्नु उसको गल्ती थियो? त्यो पैसामा पहिलो हक त उसकै थियो (प्रेरित ५:४ मा पत्रुसले हनानियालाई भनेको कुराको विचार गर्नुहोस्)। “हरेक धनी विश्वासीले ऊसँग भएको सम्पत्ति वा ऊसँग भएको जमिन बेच्नै पर्छ” भन्ने त्यस्तो कुनै पनि नियम मण्डलीमा थिएन। त्यसो त धनी विश्वासीहरूले स्वेच्छापूर्वक गर्दै थिए (प्रेरित ४:३२,३४,३५)। साथै “आफ्नो सम्पत्ति बेच्नेले आफ्नो निम्ति केही नराखिकन पूरै पैसा मण्डलीलाई बुझाउनुपर्छ” भन्ने नियम पनि मण्डलीमा थिएन। तर परमेश्वरको यस्तो नियम चाहिँ छ जसले भन्छ, “तिमीले झूट बोल्नु हुँदैन!” (कलस्सी ३:९ पढ्नुहोस्)। के हनानियाले परमेश्वरको नियम तोड्यो (प्रेरित ३:४)?__________।
हनानियाले बरु यसो भन्न सक्थ्यो, “मैले जमिन ५ लाखमा बेचेको छु। गरीब विश्वासीहरूको खाँचो पूरा गर्नलाई म ४ लाख रुपैयाँ दिन्छु।” के त्यसो भनेको भए उसले झूट बोलेको ठहरिनेथियो र? ___________।
हनानिया झुटो मात्र ठहरिएन तर कपटी पनि ठहरियो। कपटी व्यक्तिले मुखमा नकाप लगाउँदछ र ऊ वास्तवमा जो होइन त्यो भएझैं देखाउन नाटक खेल्छ:

यस छलकपटको कुरा आफूहरूलाई मात्र थाह छ भन्ने हनानियाले सोचेको थियो। यसको बारेमा परमेश्वरलाई पनि थाछ छ भन्ने कुरा भने उसले बिर्सेछ। हनानियाले पैसाको केही अंश आफ्नो निम्ति राखेको छ भनेर परमेश्वरले कुनै न कुनै तरिकाले पत्रुसलाई थाह गराउनुभयो (प्रेरित ५:३)। यसले हामीलाई गन्ती ३२:२३ मा रहेको पदको सम्झना दिलाउँदछ: “तिमीहरूको पापले तिमीहरूलाई फेला पार्नेछ”। परमेश्वरले मानिसहरूलाई पाप गरेर उम्किन दिनुहुन्न। हामीले झूट बोलौंला र अरूबाट छिपाउन सक्ने खालको पापहरू हामीले गरौंला। तर पापले हामीलाई सधैं नै पक्रनेछ। हित्तोपदेश २८:१३ पढ्नुहोस्। हाम्रो पापलाई के गर्नु गलत हो? _______________। हाम्रा पापहरूको बारेमा हामीले के गर्नुपर्छ?_______________। हनानियाले उसका पापहरूको बारेमा के गर्यो?____________।
हनानियाले पत्रुसको कुरा सुन्ने बित्तिकै उसलाई के भयो (प्रेरित ५:५)?_____________। के पत्रुसले उसलाई मारेको हो?______________। उसलाई मृत्युदण्ड कसले दियो? _________________। झूट बोलेको पैसाको उपभोग गर्न बिचरा हनानियालाई समय नै भएन। केही जवानहरूले उसको शवलाई लगेर दफन गरे।
करिब तीन घण्टा पछि उसकी पत्नी सफीरा भित्र आइन्। उसको पत्नीलाई के भएको थियो भन्ने कुरा के उसलाई थाह थियो (प्रेरित ५:७)?_______________। पत्रुसले सायद यस्तो किसिमले कुरा गरे, “तिमीहरूले त्यो जग्गा चार लाखमै बेचेको हो त?” अनि तिनको जवाफ करीब यस प्रकारको हुनुपर्छ, “हजुर! हामीले त्यो चार लाखमै बेचेका हौं।”
तिनका पतिले जसरी झूट बोले त्यस्तै गरी तिनले पनि झूट बोलिन्। तिनका पति जस्तै तिनी पनि मरिन् (प्रेरित ५:९-१०)। परमेश्वरले हनानिया र सफीरालाई उनीहरूको पापको निम्ति न्याय गर्नुभयो। जब मानिसहरूले यो कुरा थाहा पाए तब उनीहरू (प्रेरित ५:५,११ पढ्नुहोस् र सही जवाफलाई चिन्ह लगाउनुहोस्):
- रिसाए
- खुशी भए
- डराए
- दु:खित भए
परमेश्वरले शुरुको मण्डलीलाई उहाँ पापलाई घृणा गर्ने पवित्र परमेश्वर हुनुहुन्छ भनी देखाउन चाहनुहुन्थ्यो। परमेश्वर विशुद्ध मण्डली चाहनुहुन्छ। परमेश्वर पवित्र मण्डली चाहुनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, “तिमीहरू ______ होओ; किनकि म ________ छु” (१ पत्रुस १:१६)। परमेश्वर मण्डलीमा झूटा र कपटीहरू चाहनुहुन्न। परमेश्वर ख्यालठट्टा गरिरहनुभएको छैन भनी उहाँले मण्डलीको शुरुका दिनहरूमा स्पष्ट पार्नुभयो। पाप परमेश्वरको सामु एउटा गम्भिर कुरा हो। आज कसैले झूट बोल्ने बित्तिकै वा केही गल्ती गर्न बित्तिकै परमेश्वरले उसको न्याय गर्नुहुन्न, तर उहाँ अहिले पनि उही परमेश्वर नै हुनुहुन्छ भनी हामीले जानेको चाहनुहुन्छ। हनानिया र सफीराको जीवनबाट सिक्न परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्।
बाहिरबाट समस्या
मण्डली निरन्तर रुपमा बढ्दै थियो (प्रेरित ५:१४) र प्रेरितहरूले हासिल गरिरहेको ठूलो सफलता देखेर यहूदी धर्म गुरुहरू निकै डाही बने (प्रेरित ५:१७)। अन्त्यमा तिनीहरूले प्रेरितहरूलाई समाते र एउटै झ्या_________ हालिदिए (प्रेरित ५:१८)। पहिलेको सतावटमा पत्रुस र यूहन्ना मात्र पक्राउ परेका थिए (प्रेरित ४:१३) तर यस पटक भने सबै प्रेरितहरू नै झ्यालखानामा हालिए।
कुनै समय एकजना ह्यारी हुडिनी नामक प्रख्यात अमेरिकी जादुगर थिए जसको मृत्यु सन् १९२६ मा भएको थियो। यो मान्छेले आफ्नो जादुको कला र कौशल्ता प्रयोग गरेर मान्छेले उसलाई थुनेको प्रायः सबै बाकस, पिँजडा वा खोरबाट फुत्कन्थे। हथकडीहरूबाट पनि आफूलाई फुकाउँथे। मान्छेहरूले ऊ कहिल्यै पनि निस्कन नसकोस् भनेर बन्धनमा राख्दथे, तर केही बेरमै ऊ बाहिर हुन्थ्यो। ऊ आफूलाई बन्धनमुक्त पार्न सक्ने अचम्मको कलाकार थियो।
प्रेरित ५:१९ मा परमेश्वरले हुडिनीको भन्दा पनि गजबको काम गर्नुभएको देख्दछौं । प्रेरितहरू झ्यालखानाबाट बाहिर कसरी निस्के?________________________________। उनीहरू स्वतन्त्र पारिएपछि उनीहरूलाई स्वर्गदूतले के भने? के स्वर्गदुतले उनीहरूलाई “जाऊ! शत्रुहरूले तिमीहरूलाई भेट्टाउन नसक्ने गरी लुकेर बस!” भने? ______________________। के थुनामा हालिएकाहरूलाई भोलिपल्ट बिहान मन्दिरमा उभिएर मानिसहरूलाई येशूको बारेमा प्रचार गरिरहेको भेट्टाउँदा उनीहरूका शत्रुहरू आश्चर्यचकित परे होलान्(प्रेरित ५:२१-२५)? ____________________।
दुःख भोग्ने प्रथम ख्रीष्टियनहरू
प्रेरितहरू फेरि दोश्रो पटक पक्राउ परे (प्रेरित ५:२६-२७)। धार्मिक अगुवाहरूले उनीहरूलाई यो प्रश्न गरे: “हामीले तिमीहरूलाई नसिकाओ भन्दा भन्दै पनि तिमीहरूले किन सिकायौ?”
उनीहरूले कसको आज्ञा मान्नुपर्थ्यो (प्रेरित ५:२९)?_______________
एक पटक राजाले दानियललाई प्रार्थना नगर भनेका थिए, तर परमेश्वरले दानिएललाई प्रार्थना गर भन्नुभयो (दानियल ६ अध्याय पढ्नुहोस्, विशेष गरी १० पद मा)। दानियलले कसलाई माने त? ________________
प्रेरित ५:३०-३२ मा पत्रुसले यी अगुवाहरूलाई प्रचार गरे। पत्रुसको अनुसार यी धार्मिक अगुवाहरूले येशूलाई के गरेका थिए (प्रेरित ५:३०)?____________________ परमेश्वरले चाहिँ के गर्नुभयो (प्रेरित ५:३०)?________________ पत्रुसले भन्दै थिए, “जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, उहाँ अहिले जीवित हुनुहुन्छ र स्वर्गमा हुनुहुन्छ र उहाँले तपाईंलाई बचाउन र तपाईंका पापहरू क्षमा गर्न सक्षम हुनुहुन्छ।” के यो वचनले तिनीहरूलाई खुशी र आनन्दित तुल्यायो (प्रेरित ५:३३)?___________
तिनीहरूले प्रेरितहरूलाई मार्न लागेका थिए (प्रेरित ५:३३), तर अगुवाहरूमध्येका एकजना, गमलिएल नाम गरेका व्यक्तिले उनीहरूलाई नमार्ने सल्लाह दिए (प्रेरित ५:३४-४०)। यस पटक चाहिँ यहूदी गुरुहरूले उनीहरूलाई जान दिनु भन्दा अगाडी कुट्ने इच्छा गरे। बाइबलले बताउँछ कि तिनीहरूले उनीहरूलाई पिटे (प्रेरित ५:४०)। सामान्य पिटाइ ३९ कोर्रा (कोर्राको ३९ हिर्काइ) पर्दथ्यो। एक पटक फेरि तिनीहरूले उनीहरूलाई येशूको नाममा नबोल्नु भन्ने आज्ञा दिए। के प्रेरतिहरूले यो आज्ञा माने (प्रेरित ५:४२)?__________
प्रेरितहरू जाँदा, शायद उनीहरूको ढाड उनीहरूले पाएको पिटाइको कारणले रक्ताम्मे भएको हुनुपर्छ। विश्वासीहरूले शारीरिक यातना सहनुपरेको यो पहिलो पटक हो। यस अध्ययनको आगामी पाठहरूमा मृत्युसम्म पुग्नुपरेको पहिलो विश्वासीको बारेमा जान्नेछौँ। त्यस शारीरिक यातना प्रति चेलाहरूले कस्तो प्रतिक्रिया दिए त? (प्रेरित ५:४१ पढ्नुहोस् र सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्।)
- उनीहरूले भने, “प्रचार गर्नु खासै फाइदाजनक छैन। बरु पहिला जस्तै माछा मार्न जाऔं।”
- पिठ्यूँमा लागेको चोटले सहनुपरेको पीडाको कारण उनीहरूले गनगन गरे, र फेरि सजाय पाइएला भनेर चिन्तित भए।
- मानिसहरूलाई येशूको बारेमा बताउन बन्द गरिनुपर्दछ भन्ने निर्णय उनीहरूले गरे। धर्म गुरूहरूले भनेको जस्तै गर्नु नै ठीक होला।
- उनीहरूले आनन्द मनाए।
शुरुको मण्डलीमा भित्रबाटको समस्या थियो (हनानिया र सफिरा) र बाहिरबाटको समस्या पनि थियो (उनीहरूको प्रचार कार्य रोक्न प्रयास गरिरहेका धार्मिक अगुवाहरू), तर परमेश्वर उनीहरूसँग हुनुहुन्थ्यो र उनीहरूमा हुनुहुन्थ्यो। परमेश्वर आफ्नो मण्डली निर्माण गर्दैहुनुहुन्थ्यो (मत्ती १६:१८) र मानिस र शैतान आफैले पनि परमेश्वरले गरिरहनुभएको कार्यलाई रोक्न सकेन!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)