अध्याय ४ – प्रथम ख्रीष्टिय शहीद

Study Series

अध्याय ४ – प्रथम ख्रीष्टिय शहीद

 

(प्रेरित ६-७)

खाँचोमा परेका विधवाहरूलाई सहायता गर्नका निम्ति स्टिफनसको चयन

प्रेरितहरूले येशू ख्रीष्टको बारेमा सिकाउन र प्रचार गर्न निरन्तरता दिइरहे (प्रेरित ५:४२) र परमेश्वरले यस असल समाचारमा विश्वास गर्ने सबैलाई मुक्ति दिन निरन्तरता दिइरहनुभयो। मण्डली सङ्ख्यात्मक रूपमा तीब्र गतिले बढ्दैथियो: “चेलाहरूको सङ्ख्या _________ गयो” (प्रेरित ६:७)।

त्यसबेला विश्वासीहरूको सङ्ख्या कति थियो भनेर हामीलाई यकिन छैन। शुरुको समयमा पुरुषहरूको सङ्ख्या करिब ______ हजार जति भएको उल्लेख छ (प्रेरित ४:४; यसमा सम्भवतः महिला र बालबालिकाहरू समावेश छैनन्)। पछि अझ थप विश्वासीहरू प्रभुमा थपिएको कुरा हामीलाई यसरी बताइएको छ, “झन् _____________ सङ्ख्यामा विश्वास गर्नेहरू थपिए – पुरुष र स्त्रीहरूको ____________” (प्रेरित ५:१४)। हामी प्रेरित ६ अध्यायमा आइपुग्दा त्यहाँ अवश्य पनि थुप्रै हजार विश्वासीहरू हुनुपर्छ (शायद दस हजार वा त्यो भन्दा बढी)। तपाईंको मण्डलीमा कतिजना छन्?

त्यति धेरै मानिसहरूको बीचमा समस्या आएको कुरा सुन्दा हामीले अचम्म मान्नुपर्दैन। यस येरुशलेमको मण्डलीमा दुई समूहका मानिसहरू थिए। त्यहाँ ग्रीक यहूदीहरू थिए र त्यहाँ हिब्रू यहूदीहरू थिए। हिब्रू यहूदीहरूले हिब्रू (वा आरामिक) भाषा बोल्दथे र उनीहरूले प्रयोग गर्ने बाइबल हिब्रू पूरानो नियम थियो। बाह्र प्रेरितहरू हिब्रू यहूदीहरू थिए। ग्रीक यहूदीहरूले ग्रीक भाषा बोल्दथे र ग्रीक रीतिहरू पछ्याउँदथे। उनीहरूले प्रयोग गर्ने बाइबल ग्रीक भाषामा अनुवाद गरिएको पूरानो नियम थियो (जसलाई Septuagint भनिन्छ)। हुन त यो बाइबल हिब्रू बाइबल समान नै थियो, केवल यो ग्रीक भाषामा अनुवाद गरिएको थियो जुन भाषा रोमी साम्राज्यको साझा भाषा थियो। ग्रीक यहूदीहरूले हिब्रू यहूदीहरूको विरुद्धमा गनगन गर्न थाले किनभने ग्रीक विधवाहरूको बेवास्ता भइरहेको थियो र उनीहरूले यहूदी विधवाहरूले भन्दा कम सहायता पाउँदै थिए। आफ्‍नो पतिको मृत्यु भएर फेरि विवाह नगरीकन बसेको महिलालाई विधवा भनिन्छ। विधवा स्त्रीहरूलाई ध्यान दिन, र उनीहरूको आवश्यकता पूरा गर्नलाई उनीहरूका पतिहरू नहुने भएकाले मण्डलीले उनीहरूलाई सक्दो मद्दत गर्ने इच्छा गर्दछ (याकूब १:२७; यर्मिया ७:६; २२:३ पढ्नुहोस्)। तर कुनै कारणवश यहूदी विधवाहरूले ग्रीक विधवाहरूले भन्दा बढी सहायता पाइरहेका थिए।

विधवाहरूको खाँचो पूरा गर्ने कामको जिम्मा बाह्र प्रेरितहरूले वहन गर्दैथिए। यो जिम्मेवारी वहन गर्न सक्न प्रेरितहरूलाई निकै नै कठिन थियो। मानौं तपाईंको पास्टरलाई निम्न कार्यभारहरू सुम्पिइएको छ: मण्डली सफा गर्ने, घाँस काट्ने, पैसा गन्ती गर्ने, बिल चुक्ता गर्ने, हरेक दिन मानिसहरूलाई अस्पतालमा भेट्न जाने, प्रत्येक साँझ मण्डलीको एक न एकजनालाई भेट्ने, हरेक बिहान गाडी चलाउने, र हप्ताको पाँच दिन जागिर खाने। के उनीसँग प्रार्थना गर्ने प्रशस्त समय हुन्छ होला? के उनीसँग बाइबल अध्ययन गर्ने पर्याप्त समय हुन्छ होला? के उनीसँग प्रचार गर्ने पर्याप्त समय हुन्छ होला?

यदि शैतानले प्रेरितहरूलाई प्रार्थना गर्न र परमेश्वरको वचन प्रचार गर्नबाट रोकेको भए उसको ठूलो जीत हुने थियो। खाँचोमा परेका विधवाहरूको वास्ता गर्ने प्रयास गर्दा-गर्दै प्रेरितहरू यति व्यस्त हुनेथिए, कि अरू केही गर्न उनीहरूसँग निकै थोरै समय हुनेथियो। प्रेरितहरूले यो समस्या राम्ररी बुझे। उनीहरूले परमेश्वरको वचन छोड्न चाहेनन् (प्रेरित ६:२)। उनीहरूले आफैलाई निरन्तर प्रार्थना र वचनको सेवामा लगाउने इच्छा गरे (प्रेरित ६:४)। तपाईंको पास्टरले यही दुई कुराहरूमा आफ्‍नो बढी समय बिताउनु भएको होस् भनी तपाईंले प्रार्थना गर्न सक्नुहुन्छ।

प्रेरितहरू आफै प्रार्थना र परमेश्वरको वचनमा सुम्पिन चाहन्थे तर उनीहरूलाई विधवाहरूको बारेमा पनि चिन्ता थियो। उनीहरूले सातजना मानिसहरूलाई नियुक्त गर्ने निर्णय गरे (प्रेरित ६:३) जसले विधवाहरूको वास्ता गर्ने कार्यको जिम्मेवारी लिने सक्थे।

ती सातजना मानिसहरूको नाम प्रेरित ६:५ मा उल्लेख छ। सूचीमा सर्वप्रथम कसको नाम उल्लेख छ? ______________। उनी _______________ र __________________________ ले भरिएका मानिस थिए भन्ने कुरा बताइएको छ (प्रेरित ६:५)। परमेश्वरले भन्नुभएको कुरालाई उनले विश्वास गर्थे र पवित्र आत्मा परमेश्वरलाई उनको जीवनलाई नियन्त्रण गर्न र उनीद्वारा कार्य गर्नलाई आफूलाई सुम्पेका थिए। प्रेरित ६:८ ले बताउँछ कि स्टिफनस ______________ र _______________ले भरपुर थिए। परमेश्वर यस मानिसभित्र सामर्थ्यले कार्य गर्दैहुनुहुन्थ्यो। परमेश्वरले स्टिफनसलाई प्रेरितहरूले जस्तै अचम्मका कामहरू गर्न सक्ने तुल्याउनुभयो (प्रेरित ६:८ पढ्नुहोस् र प्रेरित ५:१२-१६ सँग तुलना गर्नुहोस्)।

के विश्वासीहरूको सङ्ख्या निरन्तर बढ्दै गयो (प्रेरित ६:७)?______________।

यहूदीहरू स्टिफनसलाई आरोप लगाउँछन्

प्रेरित ६:९ मा हामी थाह गर्दछौं कि स्टिफनस सभाघरमा यहूदी मानिसहरूसँग ख्रीष्टको विषयमा कुरा गर्न गएका थिए। सभाघर भनेको यहूदीहरू प्रार्थना गर्न र पवित्र शास्त्रहरू अध्ययन गर्न एकसाथ भेला हुने ठाउँ थियो। सभाघरहरूमा शास्त्रहरू अध्ययन गरिन्थ्यो, सिकाइन्थ्यो र छलफल गरिन्थ्यो।

सभाघरमा भएका यहूदीहरूले स्टिफनससँग शास्त्रहरूको छलफल गरे र उनीसँग वाद-विवाद गरे (प्रेरित ६:९), तर तिनीहरूले त्यस _________ र आत्माको सामना गर्न (विरुद्धमा उभिन) सकेनन्, जसद्वारा उनी बोल्दथे (प्रेरित ६:१०)। स्टिफनसले कहाँबाट यस्तो बुद्धि पाए (लूका २१:१५ सित दाँज्नुहोस्)? __________________। हरेक वहसमा सधैं परमेश्वरले नै जित्नु हुन्छ! (द्रष्टव्य: प्रेरित ६:९ अनुसार, तिनीहरूमध्ये कुनै यहूदीहरू सिलिसियाबाटका थिए। प्रेरित २१:३९ अनुसार कुन व्यक्ति पनि सिलिसिया बाटको थियो? ___________। सायद पावल पनि स्टिफनससित वाद-विवाद गरिरहेका यहूदीहरू मध्ये एक थिए, यद्यपि हामीलाई यो निश्चय गरी थाहा छैन।

सभाघरका यहूदीहरू स्टिफनससँग वाद-विवाद गर्न छाडे, र उनलाई दोष लगाउन थाले र उनले गलत कुराहरू सिकाउँदैछन् भनी भन्न थाले। स्टिफनसले मोशाको विरोधमा (व्यवस्थाको विरोधमा), परमेश्वरको विरोधमा र पवित्र मन्दिरको विरोधमा बोल्दैछन् भनी तिनीहरूले भने (प्रेरित ६:११,१३,१४)। यहूदीहरूले धेरै मूल्यवान् मान्ने थोकहरू यी नै हुन्! परमेश्वरको विरोधमा, मोशाको व्यवस्थाको विरोधमा, र मन्दिरको विरोधमा खडा हुने हरेक व्यक्ति यहूदी मानिसहरूको शत्रु हुन्थ्यो। वास्तवमा स्टिफनस यी थोकहरूको विरोधमा थिएनन्। वास्तविक समस्या त यो थियो कि उनको विरुद्धमा दोष लगाउनेहरू नै ख्रीष्टको विरोधमा थिए! येशूले यसो भन्नुभएको थियो, “जो _______ छैन, त्यो मेरो __________ छ” (मत्ती १२:३०)। स्टिफनस ख्रीष्टको साथमा थिए र ख्रीष्टको पक्षमा थिए, तर यहूदीहरू ख्रीष्टको विरोधमा थिए। वास्तविक समस्या यही थियो!

स्टिफनसको बारेमा भनिएको झूटा कुराहरूको कारणले, मानिसहरू उनको विरुद्धमा उत्तेजित भए (प्रेरित ६:१२)। यसभन्दा पहिले मानिसहरूले विश्वासीहरूलाई सत्कार गर्थे र उनीहरूप्रति दयालु थिए (प्रेरित ४:२१; ५:१३; ५:२६ पढ्नुहोस्)। तर अब मुक्ति नपाएका यहूदीहरू उनीहरूको विरुद्धमा उठ्न थाले।

अन्त्यमा स्टिफनसलाई यहूदी अगुवाहरूको सामु ल्याइयो। जब यहूदी अगुवाहरूले स्टिफनसलाई हेरे उनीहरूले “उनको चेहरालाई ____________ चेहराजस्तै देखे” (प्रेरित ६:१५)। स्टिफनसको चेहरा परमेश्वरको उदेकको उपस्थितिको कारणले चम्किरहेको थियो। सबैजना स्टिफनसको विरुद्धमा खडा रहेको देखिन्थ्यो तर परमेश्वर अचम्म तरिकाले उनको पक्षमा हुनुहुन्थ्यो!

स्टिफनसले एक शक्तिशाली भाषण दिन्छन्

परमेश्वरले हरेक विश्वासीहरूलाई “तिमीहरूभित्र भएको ____________को विषयमा तिमीहरूलाई सोध्ने हरेक मानिसलाई नम्रता र डरको साथ _________ दिनाका निम्ति सधैंभरि _________ रहो” भनी भन्नुहुन्छ(१ पत्रूस ३:१५)। जब यहूदीहरूको अगुवा (महापूजाहारी) ले स्टिफनसलाई प्रश्न गरे (प्रेरित ७:१), के स्टिफनस जवाफ दिन तयार थिए (प्रेरित ७:२)? _________। भन्नु पर्दा उनको जवाफ ५२ पद लामो थियो!

स्टिफनसको जवाफ पुरानो नियमको शास्त्रहरूबाट आयो। यस सामर्थी प्रचारमा, स्टिफनसले परमेश्वरको बारेमा बोले; उनले मोशा र व्यवस्थाको बारेमा बोले; उनले मन्दिरको बारेमा बोले (जुन तीन कुराहरूको विरोधमा उनी छन् भनी उनलाई दोष लगाइएको थियो)। यस प्रचारको अन्त्यमा उनले ख्रीष्टको विषयमा बोले, “यस ध___ ज___” (प्रेरित ७:५२)। यस विशेष प्रचारले देखाउँदछ कि स्टिफनसलाई उनको बाइबलको राम्रो ज्ञान थियो (पूरानो नियमका शास्त्रहरू)। तपाईंलाई तपाईंको बाइबलको कत्तिको राम्रो ज्ञान छ? यदि तपाईंको मित्रहरूले तपाईंलाई परमेश्वर, स्वर्ग, नरक, मुक्ति, मृत्यु इत्यादिको बारेमा प्रश्न गरे भने, के तपाईंले उनीहरूलाई बाइबलबाट ठीक-ठीक जवाफहरू दिन सक्नुहुन्छ?

आफ्‍नो सन्देशको अन्त्यमा आफूलाई दोष लगाउनेहरूलाई नै स्टिफनसले दोष लगाउन थाले र उनले लगाएका दोषहरू सब सत्य थिए। उनले तीनओटा कुराहरू भने जसले गर्दा तिनीहरू बेसरी रिसाए:

• तिमीहरू परमेश्वरको विरोधमा छौ (प्रेरित ७:५१)
• तिमीहरूले ख्रीष्टलाई मृत्युमा सुम्पिदियौ र हत्या गर्‍यौ (प्रेरित ७:५२)
• तिमीहरूले परमेश्वरको व्यवस्थालाई तोडेका छौ (प्रेरित ७:५३)।

 (तिमीहरू पापी हौ!)

आक्रोशित भीडले स्टिफनसलाई ढुङ्गा हानेर मार्छ

के स्टिफनसले भनेका कुराहरूले यहूदीहरू प्रसन्न र हर्षित भए (प्रेरित ७:५४)?___________। बाइबलले बताउँछ कि तिनीहरूका मुटु छेंडिए (प्रेरित ७:५४)। तिनीहरू गहिरो गरी छेंडिए, चक्कुले होइन, कैंचीले होइन, धारिलो छुराले होइन, तर एउटा विशेष तरवारले! तिनीहरूलाई छेंड्ने तरवार कुन थियो (हिब्रू ४:१२; एफेसी ६:१७)? ____________________________________________।

यदि स्टिफनसले वरिपरि आँखा लगाएका भए उनले रिसले चूर भएका मानिसका चेहराहरू मात्र देख्ने थिए। तिनीहरूले उसलाई सदाको लागि चूप गराउन उनलाई मार्न चाहिरहेका थिए। तर स्टिफनसले वरिपरि हेरेनन्। बरु उनले _____________तिर हेरे (प्रेरित ७:५५)। उनले कसलाई देखे (प्रेरित ७:५५)?________________। परमेश्वरले स्टिफनसलाई आफ्‍नो मुक्तिदाताको एक सुन्दर झलक दिनुभयो!

के यहूदीहरू स्टिफनसको अरू कुरा सुन्न चाहन्थे (प्रेरित ७:५७)?______________। यी क्रोधित मानिसहरू उनीमाथि झम्टे, उनलाई शहरदेखि बाहिर फाले र उनलाई ____________ हिर्काए (प्रेरित ७:५८)। आफ्‍नो प्रचारमा स्टिफनसले यहूदीहरूलाई उनीहरू ह______________ हुन् भन्ने आरोप लगाएका थिए (प्रेरित ७:५२)। स्टिफनसको आरोप सत्य थियो भनेर कुरा के तिनीहरूले प्रमाणित गरिदिए? _____________।

ढुङ्गाले हानेर मारिनु नराम्रो किसिमको मृत्यु हो। व्यक्ति नमरेसम्म उसमाथि ढुङ्गा प्रहार गरिन्थ्यो। कैयौँ पटक यहूदीहरूले प्रभु येशू ख्रीष्टलाई ढुङ्गाले हानेर मार्ने इच्छा गरे (यूहन्ना ८:५९; १०:३१ पढ्नुहोस् र यूहन्ना ५:१८ सित दाँज्नुहोस्)। यूहन्ना १५:१८-२१ र यूहन्ना १६:१-३ पढ्नुहोस्। स्टिफनसलाई यी पदहरू कसरी लागु हुन्छन्?

आफ्‍नो मृत्यु हुनै लागेको घडीमा स्टिफनसले कसरी प्रार्थना गरे (प्रेरित ७:६०)? (ठीक जवाफलाई गोलो चिन्ह लगाउनुहोस्):

  1. “हे प्रभु, यी दुष्ट हत्याराहरूलाई नाश गर्नुहोस्!”
  2. “हे प्रभु, तिनीहरूको न्याय गर्नुहोस् र तिनीहरूले गरेको दुष्ट कार्यको निम्ति तिनीहरूलाई सजायँ दिनुहोस्!”
  3. “हे प्रभु, यो पाप तिनीहरूमाथि नलगाउनुहोस्!”
  4. “हे प्रभु, तिनीहरूलाई सजायँ दिनहोस्। तिनीहरू साँच्चै यसको योग्य छन्!”

मारिन लाग्दा अर्को कुन व्यक्तिले आफ्‍ना शत्रूहरूको निम्ति प्रार्थना गर्नुभएको थियो (लूका २३:३४)?___________________________________________________।

स्टिफनसले उक्त प्रार्थना गर्नेबित्तिकै, तिनी सु_______ (प्रेरित ७:६०), अर्थात् उनको शारीरिक मृत्यु भयो। जब एउटा विश्वासीको मृत्यु हुन्छ, उसलाई नोक्सान हुन्छ कि लाभ हुन्छ (फिलिप्पी १:२१)? ___________________। जब स्टिफनसको मृत्यु भयो तिनी ख्री________ रहन गए जो अति _________________ हो (फिलिप्पी १:२३)। मृत्यु भएको क्षणमा स्टिफनस _________________बाट अलग भए तर _________________सँग रहन गए (२ कोरिन्थी ५:८)। के स्टिफनस मृत्युसम्म विश्वासयोग्य रहे (प्रकाश २:१०)? __________। परमेश्वरले उसलाई कुन कुरा दिने प्रतिज्ञा गर्नुभएको छ (प्रकाश २:१०)?_____________________।

स्टिफनस थुप्रै शहीदहरूमध्ये प्रथम हुन्

आफ्‍नो विश्वासको खातिर मृत्यु भोग्ने प्रथम ख्रीष्टियन स्टिफनस हुन्। प्रेरित २२:२० मा बाइबलले परमेश्वरको सा________ (वा शहीद) स्टिफनसको रगतको उल्लेख गर्दछ। स्टिफनस परमेश्वरका शहीद हुन्। “शहीद” शब्दको अर्थ “साक्षी” हो र यस सन्दर्भमा यसको अर्थ कुनै व्यक्ति हो जो मृत्युसम्म पनि ख्रीष्टको निम्ति साक्षी बन्दछ। स्टिफनस ख्रीष्टका विश्वासयोग्य साक्षी थिए यद्यपि यसको निम्ति उनले आफ्‍नो जीवन नै गुमाउनुपर्यो।

स्टिफनसपछि अरूहरू पनि शहीद भए। प्रेरित १२ अध्यायमा शहीद बनेका पहिलो प्रेरितको बारेमा हामी अध्ययन गर्नेछौं। इतिहासले बताउँदछ कि पत्रूस र पावललाई पनि ख्रीष्टमाथिको उनीहरूको विश्वासको कारण मृत्युदण्ड दिइयो। मण्डली युगको पहिलो २५० वर्षहरूमा, रोमीहरूद्वारा सैयौं ख्रीष्टियनहरूको हत्या गरियो। कतिलाई रोमी रङ्घशालामा सिंहहरूको आहारा पनि बनाइयो जहाँ मानिसहरू त्यस्तो भयावह दृश्य हेर्नलाई भीडम्भीड जम्मा हुन्थे (आज रमाइलोको निम्ति मानिसहरूले रङ्घशालामा गएर फुटबलको खेल हेरेको जस्तै)। के आज पनि थुप्रै विश्वासीहरू उनीहरूको विश्वासको बदलामा सतावटमा परिरहेका, झ्यालखानामा थुनिएका र मारिएका छन्? के तपाईं आफ्‍नो विश्वास स्वतन्त्रपूर्वक अभ्यास गरिरहन पाएकोमा परमेश्वरप्रति धन्यवादी हुनुहुन्छ?

एउटा प्रख्यात कथनले भन्दछ, “शहीदहरूको रगत नै मण्डलीको बीज हो।” विश्वासीहरू मारिन्थे तर उनीहरूको साक्षी देखेर अरूहरूले विश्वास गर्दथे र मुक्ति पाउँदथे र मण्डलीको निरन्तर वृद्धि भइरहन्थ्यो। मण्डलीमा जति धेरै सतावट आउँदथ्यो मण्डलीको उति नै धेरै वृद्धि भएको देखिन्थयो! स्टिफनसजस्तै थुप्रै ख्रीष्टियनहरू मृत्युको घडीमा असल साक्षीहरू भए। कोही विश्वासीहरू आगोमा जलाईंदा समेत भजन गाउँदै मेर (जस्तै जोन हस [John Huss], जसलाई सन् १४१५ मा खम्बामा बाँधेर जलाइएको थियो)। अरूले स्टिफनसले झैं प्रार्थना गरे। यी मानिसहरू अरू भन्दा फरक छन् भन्ने कुरा दर्शकहरूले महसुस गरे र ती दर्शकहरूमध्ये कतिले आफ्‍नो पनि विश्वास ख्रीष्टमा राखे।

स्टिफनसको मृत्यु हुँदा त्यहाँ उभिएर हेरिरहेका एकजना मानिसको हृदयमा एउटा बीज रोपिएको थियो। परमेश्वरको साक्षी स्टिफनसको मृत्यु हुँदा त्यहाँ को उभिएर हेरिरहेकोस थियो (प्रेरित २२:२०)? _____________________। पावलको अर्को नाम के थियो (प्रेरित २२:२०)? _____________। स्टिफनसलाई ढुङ्गाले हानिँदा के शाऊल पनि उपस्थित थिए (प्रेरित ७:५८)?____________________ ।स्टिफनसले आफ्‍नो शक्तिशाली भाषण दिँदा शायद शाऊल पनि त्यहाँ उपस्थित थिए र सुनिरहेका थिए र स्टिफनसका शब्दहरूले तिनको हृदयलाई पनि अवश्य छेंडेको हुनुपर्छ। त्यस दिन बीज रोपियो र पछिबाट (हामीले आगामी पाठमा अध्ययन गर्नेछौं) शाऊल (पावल) ले उद्धार पाउनेछन् र अहिलेसम्मकै सबभण्दा महान् प्रचारक बन्नेछन्। स्टिफनसको मृत्यु भए तापनि पावल लगायत अरूहरूले उनको स्थान लिनेछन् र मृत्युबाट बौरेर उठ्नुभएको महान् मुक्तिदाताको बारेमा संसारलाई बताउनेछन्!

आज शुरूका विश्वासीहरू सबैको मृत्यु भइसकेको छ र उनीहरूमध्ये धेरैजना साहसी शहीदहरूको रूपमा मरे। आज मानिसहरूले मुक्तिको असल खबरको बारेमा कसरी सुन्न सक्छन्? के स्टिफनसले उनीहरूलाई प्रचार गर्नेछन् त? के पावले उनीहरूलाई प्रचार गर्नेछन्? पहिलो ख्रीष्टियनहरूले शुरू गरेको कामलाई निरन्तरता दिने जिम्मेवारी कसले बहन गर्नेछ त? के तपाईंले गर्नुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email