अध्याय ६ – सुसमाचार अन्यजातिहरूकहाँ पुग्दछ

अध्याय ६ – सुसमाचार अन्यजातिहरूकहाँ पुग्दछ
(प्रेरित ९-११)
प्रेरितको पुस्तकको हाम्रो अध्ययनमा सुसमाचार कसरी यहूदीहरूकहाँ पुग्यो भनेर हामीले हेरिसकेका छौं (प्रेरित २:५; र यस अध्ययनमालाको अध्याय १ पनि पढ्नुहोस्)। अनि पाँचौ अध्यायमा सुसमाचार कसरी सामरीहरूकहाँ पुग्यो भनेर हामीले अध्ययन गर्यौं (प्रेरित ८:५, १२, १४)। अब हामी परमेश्वरको मुक्तिको सुसमाचार प्रथम पटक अन्यजातिहरूकहाँ कसरी पुग्यो भन्ने कुराको अध्ययन गर्नेछौं।
स्वर्ग उचालिनुभन्दा अगाडि प्रेरित १:८ मा प्रभु येशू आफ्ना चेलाहरूसँग कुरा गर्नुभएको थियो। त्यसबेला उहाँले उनीहरू उहाँका निम्ति कुन-कुन ठाउँहरूमा साक्षी भएको चाहुनुहुन्छ भन्ने कुरा बताउनुभयो: “तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ; र…
- यरूशलेममा—सुरुआत गर्ने ठाउँ (लूका २४:४९ पढ्नुहोस्)
- सारा यहूदियामा – यहूदीहरूको इलाका
- सामरीयामा – सामरीहरूको इलाका
- पृथ्वीको छेउसम्म – अन्यजातिहरूको इलाका
…तिमीहरू मेरा निम्ति साक्षी हुनेछौ।”
पत्रुसद्वारा परमेश्वरले आश्चर्यकर्महरू गर्नुहुन्छ
प्रेरितको नवौं अध्यायको पहिलो खण्डले पावल (शाउल) को बारेमा र उनले कसरी मुक्ति पाए भन्ने बारेमा बताउँदछ। प्रेरितको नवौं अध्यायको पछिल्लो खण्डले परमेश्वरले कसरी पत्रुसलाई विशेष तरिकाले प्रयोग गर्नुभयो भन्ने कुरा बताउँदछ।
पत्रुस कुन शहरमा थिए (प्रेरित ९:३२)?________________। के तपाईंले उक्त शहरलाई नक्सामा भेट्टाउन सक्नुहुन्छ? यो यरूशलेमबाट करिब ५० किलोमीटरको दूरीमा रहेको शहर थियो। उक्त शहर भू-मध्य सागरबाट धेरै पर थिएन।
यस शहरमा एकजना पक्षघात भएको मान्छेसित पत्रुसको भेट भयो। पक्षाघातको रोगीले आफ्नो शरीरको अङ्गहरू चलाउन सक्दैन। त्यसैले ऊ ओछ्यानमै सुतिरहनु परेको थियो। उसलाई पक्षघातको रोग लागेको कति समय भएको थियो (प्रेरित ९:३३)?____________________। के तपाईं कहिल्यै धेरै दिनसम्म वा पूरै हप्ता बिरामी भएर सुत्नु परेको छ? पूरा आठ वर्ष (करिब ४०० हप्ता) ओछ्यानमा सुतिरहनु तपाईंलाई कस्तो लाग्छ?
त्यहाँ एउटा ठूलो आश्चर्यकर्म गरियो। कसले यस व्यक्तिलाई स्वस्थ्य र निको बनायो? पत्रुसले कि अरु कसैले (प्रेरित ९:३४)?___________________________। जब त्यस शहरभित्र वा वरिपरि बस्ने मानिसहरूले उसलाई निको पारिएको अवस्थामा देखे तब उनीहरू परमेश्वरतर्फ फर्के कि फर्केनन् (प्रेरित ९:३५)?____________।
चङ्गाइको उक्त कार्यपछि अर्को यो भन्दा पनि महान् आश्चर्यकर्म गरियो। बिरामी हुनु वा पक्षघात लाग्नु एउटा कुरा हो, तर मर्नु बग्लै कुरा हो!
जोप्पा भनिने शहरमा एकजना डोरकास नाम भएकी विश्वासी थिइन् (प्रेरित ९:३६)। तिनी अ_____ अ_____ का_______ भरिएकी स्त्री थिइन् (प्रेरित ९:३६), र तिनले गरिब र खाँचोमा परेकाहरूलाई आफूले गर्न सक्ने सबै सहायता गर्थिन्। विधवाहरूको निम्ति तिनले के गरेकी थिइन् (प्रेरित ९:३९)?____________________________ ____________________________। डोरकासले हामीलाई यो सम्झना गराउँछिन् कि हामीले पनि “________ लागि __________ काम” गर्नुपर्छ विशेष गरी विश्वासीहरूका निम्ति (गलाती ६:१०)।
जोप्पाको शहर पत्रुस बसिरहेको लिड्डाको शहरबाट १६ किलोमीटर जति मात्र टाढा थियो। जोप्पा भू-मध्य सागरको ठीक किनारमा अवस्थित थियो। सयौं वर्ष अगाडि परमेश्वरको उपस्थितिबाट भाग्नलाई योना अगमवक्ता यही शहरमा जहाज चढ्न पुगेका थिए (योना १:३)।
डोरकास बेसरी बिरामी भइन्; त्यसपछि तिनलाई के भयो (प्रेरित ९:३७)?_______________________। विश्वासीहरूले पत्रुस नजिकै छन् भनी थाहा पाए र त्यसैले उनीहरूले तुरुन्तै जोप्पा आउनु भनेर उनीकहाँ मानिसहरू पठाए। पत्रुस आए र माथिल्लो कोठामा गए जहाँ त्यस मृत स्त्रीको शव पस्रिरहेको थियो। पत्रुसले सबैजनालाई कोठाबाट बाहिर जान लगाए; त्यसपछि पत्रुसले गरेको पहिलो कार्य के थियो (प्रेरित ९:४०)?_____________________।
परमेश्वरले पत्रुसद्वारा अर्को अचम्मको कार्य गर्नुभयो। परमेश्वरले डोरकासलाई मृत्युबाट जीवित पार्नुभयो, पत्रुसले तिनलाई _________ देखाइदिए (प्रेरित ९:४१)। यस ठूलो आश्चर्यकर्मको नतिजास्वरुप धेरै मानिसले प्रभुमा __________ गरे (प्रेरित ९:४२)। डोरकासलाई शारीरिक जीवन दिने परमेश्वर उही परमेश्वर हुनुहुन्छ जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने हरेकलाई अनन्त जीवन दिन सक्नुहुन्छ (यूहन्ना ६:४७; ५:२४)। पत्रुस जोप्पामा एकजना मानिससँग धेरै दिनसम्म बसे जसको नाम ___________ थियो (प्रेरित ९:४३)। पत्रुसको नाम पनि शिमोन थियो (प्रेरित १०:५) त्यसैले यी दुईजनाका बीच हामी अलमलमा नपरौं। पत्रुस भनिने शिमोन छाला बनाउने शिमोनको घरमा बसे (प्रेरित ९:४३)।
छाला बनाउने भनेको के हो? छाला बनाउने भनेको त्यस्तो व्यक्ति हो जो पशुको छालाको काम गर्दथ्यो र छालाको समग्रीहरू बनाउँदथ्यो। यो एउटा “गन्हाउने” काम थियो (मरेका पशुहरूको छालाको काम गर्नु परेकोले)! शिमोनलाई आफ्नो काम गर्न पर्याप्त चाहिन्थ्यो त्यसैले तिनको घर __________ किनारमा थियो (प्रेरित १०:६)। धेरै जसो यहूदीहरूले छालाको काम गर्ने मानिसहरूलाई घृणाको नजरले हेर्थे किनभने यहूदीहरूले अशुद्ध भनी मानेको पशुहरू समेत तिनीहरूले चलाउनु पर्दथ्यो।
अन्यजाति कर्नेलियस
कर्नेलियस सिजरियाको शहरमा बस्ने एकजना मानिस थिए (प्रेरित १०:१)। यो शहर पनि जोप्पा शहरको समुद्रको उत्तरी तटमा पर्दथ्यो। के तपाईंले यस ठाउँलाई नक्सामा पत्ता लगाउन सक्नुहुन्छ? कर्नेलियस पल्टनका सुबेदार थिए अर्थात् तिनी १०० जना सिपाहीका हाकिम थिए।
कर्नेलियसको बारेमा ख्याल राख्नुपर्ने कुरा यो हो: तिनी अन्यजाति थिए। अन्यजाति भनेको के हो?
अन्यजाति भनेको जोकोही व्यक्ति हो जो यहूदी होइन। यहूदी भनेको त्यो व्यक्ति हो जसले यसरी भन्न सक्छ: “म अब्राहाम, इसहाक र याकूबको सन्तान हुँ।” अन्यजातिले यसो भन्न सक्दैन। कर्नेलियस यहूदी थिएनन्; तिनी अन्यजाति थिए।
यहूदीहरू परमेश्वरका विशेष, चुनिएका मानिसहरू थिए। परमेश्वरले यहूदीहरूलाई अचम्मका आत्मिक आशिषहरू दिनुभयो। परमेश्वरले उनीहरूलाई मोशाको व्यवस्था दिनुभयो। परमेश्वरले उनीहरूसँग करारहरू बाँध्नुभयो। परमेश्वरले उनीहरूलाई अचम्मका प्रतिज्ञाहरू दिनुभयो। परमेश्वरले उनीहरूकहाँ आफ्ना अगमवक्ताहरू पठाउनुभयो। परमेश्वर उनीहरूको बीचमा बास गर्नुभयो, यहाँसम्म कि मुक्तिदाता, प्रभु येशू ख्रीष्ट, यहूदी नै हुनुहुन्थ्यो (रोमी ९:३-५)।
अन्यजातिहरूसँग यी आत्मिक आशिषहरू थिएनन्। एफेसी २:१२ मा हामीलाई बताइएको छ कि अन्यजातिहरू “ख्रीष्टविहीन….. आ____ नभएका र संसारमा प__________ रहित” थिए। १ थेस्सलोनिकी ४:५ मा उनीहरूको बारेमा उनीहरू प___________ नचिन्ने भनि बताइएको छ। कर्नेलियस यहूदी थिएनन्; तिनी अन्यजाति थिए।
तर कर्नेलियस परमेश्वरको _________ मान्ने मानिस थिए (प्रेरित १०:२)। तिनी परमेश्वरलाई चिन्न चाहने र परमेश्वरलाई खुशी पार्न चाहने मानिस थए। तिनले असल कार्यहरू गर्न र गरिब अनि दु:खीहरूलाई सहायता गर्ने इच्छा गर्थे। तिनी परमेश्वरलाई सधैं प्रार्थना गर्ने मानिस थिए। कर्नेलियस परमेश्वरको खोज गर्ने मानिस थिए। तिनले मुक्ति पाएका थिएनन्, तर मुक्ति पाउने बाटो खोजिरहेका थिए र मुक्ति पाउन चाहिरहेका थिए (प्रेरित ११:१४ पढ्नुहोस्)।
एक दिन साँझको तीन बजेतिर, परमेश्वरले स्वर्गदूतद्वारा कर्नेलियसलाई एउटा सन्देश पठाउनुभयो (प्रेरित १०:३-६)। स्वर्गदूतले भने कि पत्रुस त्यहाँ आउनेछन् र मुक्ति पाउन कर्नेलियसले के गर्नुपर्छ भनी तिनलाई बताउनेछन्। पत्रुस कर्नेलियसको घरमा जानेछन् भन्ने कुरा पत्रुस आफैंले जान्नुभन्दा पहिल्यै परमेश्वरले सो कुरा जान्नुहुन्थ्यो!
कौसीमा पत्रुसको दर्शन
अर्को दिन कर्नेलियसले पत्रुसकहाँ, जो जोप्पामै थिए, तीनजना मानिसहरूलाई पठाए। तिनीहरू यात्रा गर्दै गर्दा परमेश्वले पत्रुसलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउन चाहनुहुन्थ्यो। येशू स्वर्ग फर्किनुभन्दा पहिले, उहाँले आफ्ना चेलाहरूलाई (पत्रुसलाई पनि) भन्नुभएको थियो “सारा संसारमा जाओ, र __________ प्राणीलाई सुसमाचार प्रचार गर!” (मर्कुस १६:१५, मत्ती २८:१९-२० पनि पढ्नुहोस्)। तर सुरुमा, चेलाहरूले हरेकलाई प्रचार गरेनन्। उनीहरूले केवल यहूदीहरूलाई प्रचार गरे (र पछि सामरीहरूलाई प्रचार गरे)। यतिबेलासम्म उनीहरूले साँच्चै परमेश्वरको सुसमाचार अन्यजातिहरूकहाँ पुर्याएका थिएनन्। सुसमाचार हरेक मानिसकहाँ जानुपर्छ भनी बुझ्न परमेश्वरले कसरी पत्रुसलाई मद्दत गर्नुभयो त?
मध्य दिनतिर पत्रुस कौसीमा प्रार्थना गर्न उक्ले (प्रेरित १०:९)। प्यालेस्टाइनमा, कौसीहरू फराकिला हुन्थे र घर बाहिरबाटै कौसीमा जाने भर्याङ्ग हुन्थे। मानिसहरू प्राय: कौसीमा आराम गर्न र विश्राम लिन जाने गर्दथे। पत्रुस प्रार्थना गर्न गए।
पत्रुस साह्रै _______________ (प्रेरित १०:१०)। खाना खाने समय भएको थियो र उनी भोकाएका थिए! अचानक परमेश्वरले एउटा अद्भुत काम गर्नुभयो। पत्रुस अचेत भए र परमेश्वरबाटको एउटा गजबको दर्शन देखे। उनले एउटा ठूलो __________ देखे (प्रेरित १०:११) र त्यस चद्दरमा हरेक किसिमका पशुहरू, घस्रने जन्तुहरू र चराहरू थिए (प्रेरित १०:१२)। परमेश्वरले पत्रुसलाई के गर्ने आज्ञा दिनुभयो (प्रेरित १०:१३)?____________________________________________। के पत्रुस भोकाएका थिए? परमेश्वरले आज्ञा गर्नुभएको काम उनले गरे त? ______________। पत्रुसले कुनै पनि अशुद्ध पशु खान मनाही गरे (प्रेरित १०:१४)। परमेश्वरले यस्तो तीन पटक गर्नुभयो (प्रेरित १०:१६) ताकि परमेश्वरले उसलाई सिकाइरहनुभएको कुरा उसले कहिल्यै पनि नबिर्सोस्।
परमेश्वरले दिनुभएको मोशाको व्यवस्था (लेवी ११ अध्याय हेर्नुहोस्) अनुसार केही पशुहरू यहूदीहरूलाई खान मनाही थियो (यी अशुद्ध पशु थिए, जस्तै सुङ्गुर- ७ पद)। अरु पशुहरू यहूदीहरूले खान सक्नेछन् भनी परमेश्वरले भन्नुभएको थियो (यीचाहिँ शुद्ध पशुहरू थिए, जस्तै भेडा)।
शुद्ध र अशुद्ध बीच भिन्नता राख्न उनीहरूले जानेको परमेश्वर चाहनुहुन्थ्यो। उनीहरू परमेश्वरका विशेष जाति हुन् र उहाँले उनीहरूलाई पवित्र र शुद्ध बनाउनु भएको छ भनी उनीहरूले थाह गरेको परमेश्वर चाहनुहुन्थ्यो (लेवी ११:४४-४५)। यहूदीहरूको वरिपरि रहेका अन्यजातिहरू अपवित्र र अशुद्ध थिए, र तिनीहरूको जस्तो जीवन यहूदीहरूको नभएको परमेश्वर चाहनुहुन्थ्यो (लेवी १८:३)। जो परमेश्वरको मानिसहरू हुन् (उनीहरू शुद्ध र पवित्र छन् – यहूदीहरू) र जो परमश्वरको मानिसहरू होइनन् (जो अशुद्ध र पवित्र छन् –अन्यजातिहरू) उनीहरू बीचको भिन्नता यहूदीहरूलाई सिकाउन परमेश्वर चाहनुहुन्थ्यो।
पत्रुसले यो दर्शन देख्ने बित्तिकै, छाला बनाउने शिमोनको घरमा को-को आइपुगे (प्रेरित १०:१७)?________________________________________। यी मानिसहरू परमेश्वरद्वारा पठाइएका (प्रेरित १०:१४) र पत्रुसकहाँ पठाउन परमेश्वरले कर्नेलियसलाई भन्नुभएको कुरा पत्रुसले छिट्टै थाह पाए (प्रेरित १०:२२)। के पत्रुस उनीहरूसित जान र त्यस अन्यजाति मानिसलाई भेट्न इच्छुक िथए (प्रेरित १०:२३)?__________।
कर्नेलियससगँ पत्रुसको भेट
पत्रुसको प्रतीक्षामा कर्नेलियस एकलो थिएनन्। पत्रुसको कुरा सुनून् भनेर तिनले आफ्ना आफन्त र नजिकका मित्रहरूलाई पनि बोलाएका थिए।
पत्रुसलाई सुरुमा भेट्दा कर्नेलियसले के गरे (प्रेरित १०:२५)? __________________________________________। के तिनले त्यसो गरेको पत्रुस चाहन्थे (प्रेरित १०:२६)?___________________। उपासना गर्न मिल्ने एउटै व्यक्ति को हुनुहुन्छ (प्रकाश २२:९; मत्ती ४:१०)?_________________। पत्रुस ठूला व्यक्ति हुन् भनी कर्नेलियसले सोचेको उनी चाहँदैनथे। केवल परमेश्वरलाई मात्र दण्डवत् गरिनुपर्छ, कुनै मानिसलाई होइन। कर्नेलियसले सबैभन्दा महान् व्यक्तिलाई चिनेको पत्रुस चाहन्थे—येशू ख्रीष्टलाई! प्राय: यहूदीहरूले अन्यजातिहरूसँग कुनै सहकार्य गर्दैनथे। उनीहरूले तिनीहरूको सङ्गत गर्दैनथे र तिनीहरूसँग खाँदैनथे पनि (प्रेरित १०:२८ र ११:३)। तर यी अन्यजातिहरूको समूहलाई पत्रुसले भेटे। परमेश्वरले उनलाई सिकाउनुभएको कुरा के उनले बुझे (प्रेरित १०:२८)?________________।
पत्रुसलाई सुन्न बसेकाहरू निकै उत्साहित थिए। पत्रुसको मुखबाट परमेश्वरको वचन सुन्न उनीहरू सबै तयार थिए (प्रेरित १०:३३)। उनीहरू महान् मुक्तिदाता र महान् मुक्तिको बारेमा सुन्न चाहन्थे।
पत्रुसले उनीहरूलाई भनेको पहिलो कुरालाई ध्यान दिनुहोस्: “साँच्चै म थाह गर्दछु, परमेश्वर कसैको प__________ गर्नुहुन्न” (प्रेरित १०:३४)। यसको अर्थ के हो? “पक्षपात” शब्द ग्रीक शब्दबाट आएको हो जसको अर्थ “(कसैको) अनुहारलाई ग्रहण गर्नु” भन्ने हुन्छ। पक्षपात गर्नु भनेको कुनै व्यक्तिको मुख हेरेर अर्थात् बाहिरी परिस्थितिहरू हेरेर (जसमा एक व्यक्ति जन्मेको वा हुर्केको हुन्छ जसका बारेमा उसले केही गर्न सक्दैन) तिनकै आधारमा फरक व्यवहार गर्नु। म पक्षपाती हुँ भने मैले एक व्यक्तिको बाहिरी कुराहरू (जो खास महत्त्वपूर्ण कुरा होइनन्) तिनकै आधारमा म उसित फरक व्यवहार गर्दछु जस्तै उसको आवरण, उसको भेषभूषा, उसको वर्ण, उसको राष्ट्रियता, उसको पारिवारिक अवस्था, उसको धर्म, ऊ कति धनी छ, कति प्रख्यात छ, ऊ कति शक्तिशाली छ, र अरु कुराहरू (याकूब २:१-९ पढ्नुहोस्)।
परमेश्वरले कुनै व्यक्ति इस्राएल बाहेक अरु राष्ट्रको हुँदैमा वा ऊ केवल यहूदी नहुँदैमा उसलाई नकार्नु हुँदैन। परमेश्वरले एउटा व्यक्तिको हृदयलाई हेर्नुहुन्छ (१ शमूएल १६:७), र र परमेश्वरले कर्नेलियस र ऊसँग भएको व्यक्तिहरू परमेश्वरलाई खोज्ने मानिसहरू भएको देख्न सक्नुहुन्थ्यो। परमेश्वरले उनीहरूलाई चाहनुहुन्थ्यो र उनीहरू परमेश्वरलाई चाहन्थे! परमेश्वरको मुक्ति सबै मानिसकहाँ बाँडिनुपर्छ भनी उहाँले पत्रुसलाई सिकाउँदै हुनुहुन्थ्यो। पत्रुसले यस पाठलाई कति राम्ररी बुझे भनी अवलोकन गर्नुहोस्:
- के परमेश्वरले उहाँको डर मान्ने यहूदीलाई मात्र ग्रहण गर्नुहुन्छ कि के उहाँले उहाँको डर मान्ने सबै जातिलाई ग्रहण गर्नुहुन्छ (प्रेरित १०:३५)? _____________________________________।
- के येशू ख्रीष्ट यहूदीहरूको मात्र प्रभु हुनुहुन्छ कि सबैको प्रभु हुनुहुन्छ (प्रेरित १०:३६; रोमी ३:२९ सित दाँज्नुहोस्)? _____________________________________।
- कसले पापहरूको क्षमा पाउँदछ—केवल विश्वास गर्ने यहूदीले कि विश्वास गर्ने “हरेकले” (प्रेरित १०:४३)? _____________________________।
अन्यजातिहरू परमेश्वरको मण्डलीको अङ्ग बन्दछन्
पत्रुसले प्रचार गरेको सन्देशलाई कर्नेलियस र उनीसँग भएकाहरूले साँच्चै विश्वास गरे। उनीहरूले हृदयमा गरेको विश्वासलाई परमेश्वरले जान्नुभयो, र परमेश्वरले एउटा उदेकको कार्य गर्नुभयो! उहाँले उनीहरूलाई पवित्र आत्मा दिनुभयो र उनीहरूलाई ख्रीष्टको शरीरको अङ्ग बनाउनुभयो (प्रेरित १०:४४-४५; १ कोरिन्थी १२:१३ सित दाँज्नुहोस्)। पत्रुसले यस सुन्दर घटनाको बारेमा प्रेरित १५:७-९ मा बताएका छन्। मुक्तिको ढोका अब अन्यजातिहरूको निम्ति खोलिएको थियो र उनीहरू ख्रीष्टको मण्डलीका अङ्गहरू भएका थिए।
- रेरित २ अध्यायमा यहूदीहरू मण्डलीको अङ्ग बने।
- प्रेरित ८ अध्यायमा सामरीहरू मण्डलीको अङ्ग बने।
- प्रेरित १० अध्यायमा अन्यजातिहरू मण्डलीको अङ्ग बने।
- आज ख्रीष्टमा विश्वास गर्ने जोकोही पनि मण्डलीको अङ्ग बन्दछन्।
- के तपाईं मण्डलीको अङ्ग हुनुहुन्छ? के तपाईंले मुक्ति पाउनुभएको छ?
कर्नेलियसले “उनले खोजिरहेका ईश्वर” पाए! के उनले पानीमा बप्तिस्मा लिए (प्रेरित १०:४७-४८)?______________। के पत्रुस यी नयाँ विश्वासीहरूलाई सहायता गर्न र उनीहरूलाई बलियो बनाउन उनीहरूसँग बसे (प्रेरित १०:४८)?______________।
पत्रुसको व्यवहारमाथि यहूदीहरूले प्रश्न उठाउँछन्
जब पत्रुस यरूशलेम फर्किए, त्यहाँ केही यहूदीहरूले अन्यजातिहरूलाई परमेश्वरको वचन प्रचार गर्न र उनीहरूसँग खान पत्रुस जानु गलत थियो भन्ने सोचे (प्रेरित ११:१-३)। तर पत्रुसले उनीहरूलाई सुरुदेखि अन्तसम्मको सबै घटना सुनाइदिए (प्रेरित ११:४-१७)। जब उनीहरूलाई कर्नेलियसको बारेमा पत्रुसले सबै कुरा बताए तब परमेश्वरले अद्भुत् काम गर्नुभएको रहेछ भनी उनीहरूले थाह गरे (प्रेरित ११:१८)। अन्यजातिहरूकहाँ वास्तवमा पत्रुस पुगेका होइनन्, परमेश्वर पुग्नुभएको हो! परमेश्वरले पत्रुसभित्र र पत्रुसद्वारा काम गर्नुभएको हो।
परमेश्वरको सुसमाचार कुनै जाति विशेषको निम्ति होइन, तर हरेक ठाउँका हरेक मानिसहरूको निम्ति हो। यदि तपाई एउटा मानिस हुनुहुन्छ भने, तपाईं जो भए तापनि, तपाईं जहाँको भए तापनि, तपाईंको छालाको रङ्ग जस्तो भए तापनि, त्यसले फरक पार्दैन। परमेश्वरसँग तपाईंको निम्ति मुक्तिको समाचार छ। यदि सुरुका विश्वासीहरू मुक्तिको खबर लिएर अन्यजातिहरूकहाँ जान इन्कार गरेका भए के हुनेथ्यो? तपाईं जाने गर्नुभएको स्थानीय मण्डलीको विचार गर्नुहोस्। त्यहाँको अधिकांश मानिस यहूदी परिवेशबाटका हुन् कि अन्यजाति परिवेशबाटका हुन्?___________________।
परमेश्वरले अन्याजातिहरूको निम्ति मुक्तिको ढोका खोलिदिनुभएकोमा के तपाईं धन्यवादी हुनुहुन्छ?_______________।
द्रष्टव्य: आज विश्वासीहरूको निम्ति अशुद्ध भनिएको कुनै किसिमको मासु वा खाना छन् (१ तिमोथी ४:३-४; रोमी १४:१४)?_____________।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)