Entries by Pradesh Shrestha

परिचय

परिचय

यो पुस्तिका किन? केही वर्षयता नेपाली पहिरनमा विशाल परिवर्तन आएको छ। यस परिवर्तनको कारण र प्रभाव विश्‍वासी दिदीबहिनीहरूले बुझून् भन्ने हेतुले यो पुस्तिका चेताउनीस्वरूप लेखिएको हो।

यो पुस्तिका कसको लागि? यो तिनीहरूका लागि लेखिएको होइन जोहरूले ख्रीष्टलाई चिनेका छैनन्। यो तिनीहरूका लागि लेखिएको होइन जोहरू बाइबलको खाँटी शिक्षा सुन्न चाहँदैनन्। यो ती दिदीबहिनीहरूका लागि लेखिएको हो जोहरूले परमेश्‍वरसँग बुद्धिको माग गरेका छन् (याकूब १:५), जोहरूले ख्रीष्टमा पापको क्षमा पाएका छन्। यो तिनीहरूका लागि लेखिएको हो जोहरू आफ्नो सारा मन र बलले परमेश्‍वरलाई प्रेम गर्न चाहन्छन् र उहाँको माहिमा गर्न चाहन्छन् (१ कोरिन्थी १०:३१)।

Why did we write this booklet? To help women understand the dramatic changes that have been taking place in the past few years in the way Nepali women dress.

Who should read this booklet? This was not written for those who do not know Christ. This was not written for those who have no desire to hear “the meat” of the Word. This was written for those women who have asked God to give them wisdom (James 1:5), whose sins have been forgiven by Christ, and who want to love the Lord their God with all their heart, soul, mind, and strength, thereby glorifying Him (1 Corinthians 10:31).

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

साँचो विश्वासी र नामधारी विश्वासी

Doctrine

साँचो विश्वासी र नामधारी विश्वासी

संसारमा परमेश्वरको निम्ति अलग्याइएको मानव समूहको प्रारम्भ भएदेखि नै तिनीहरूले आफ्नो बीचमा रहेका त्यस्ताहरूको कारणले निकै दुःख पाउँदै आएका छन् जोहरूले आफूहरू परमेश्वरकै भएका दाबी गरे तापनि बास्तवमा उनीहरू कहिल्यै त्यसो थिएनन्। यो क्रम तबसम्म जारी रहनेछ जबसम्म त्यो दिन आइपुग्दैन जब “मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछन्, अनि तिनीहरूले उनको राज्यबाट सबै ठेस खुवाउने कुराहरू र अधर्म गर्नेहरूलाई बटुल्नेछन्…त्यस बेला धर्मीहरू चाहिँ आफ्ना पिताको राज्यमा सूर्यजस्तै चम्किनेछन्। जसका सुन्नालाई कानहरू छन्, त्यसले सुनोस्” (मत्ती १३:४१-४३)।

पवित्र शास्त्रले सामा र गहूँको यस मिश्रणको बारेमा स्पष्टै बताएको छ — केवल मुखले स्वीकार गर्नेहरू साँचो विश्वासीहरूको बीचमा हुन्छन् भन्ने बारेमा। तैपनि ठीक शिक्षा नपाएकाहरूले कतिपटक स्वभ्रमितहरू (self-deceived) र कपटीहरूप्रति लक्षित चेताउनी र अर्तीहरूलाई परमेश्वरका सन्तानहरूमाथि लाद्‍न खोज्छन्।

यस्तो समिश्रणको वास्तविकतालाई पवित्र शास्त्रहरूमा प्रशस्तै उल्लेख गरिएको पाइन्छ। हेर्नुहोस्: उत्पत्ति ४:३-५; प्रस्थान १२:३८; गन्ती ११:४-६; नेहम्याह ७:६३-६५; नेहम्याह १३:१-३; मत्ती १३:२४-३०,३७-४३; २ कोरिन्थी ११:१३-१५; गलाती २:४; २ पत्रुस २:१,२।

औपचारिकहरू, कपटीहरू र भ्रमित व्यवस्थावादीहरूको जमातदेखि साँचो विश्वासीहरूलाई अलग्गै चिनाउने सम्पूर्ण बाइबलीय खण्डहरूलाई यस संक्षिप्‍त अध्ययनमा उतार्न असम्भव छ जोहरूले आफ्नो मुक्तिको निम्ति काम गरिरहेका हुन्छन् जब कि मुक्ति पाएकाहरूले भने पाइसकेको मुक्तिको काम पुरा गरिरहेका हुन्छन्। फिलिप्पी २:१२,१३ र एफेसी २:८,९ मा हेर्नुहोस्।

तर ती दुईबीचका भिन्नताहरू निम्न खण्डहरूले पर्याप्‍त रूपमा देखाइदिनेछन्। तुलना गर्नुहोस्:
 

साँचो विश्वासीहरू

नामधारीहरू

तब उहाँले त्यस स्त्रीलाई भन्नुभयो: “तिम्रो विश्वासले तिमीलाई बचाएको छ; शान्तिसित जाऊ” (लूका ७:५०)।

तब शिमोन आफैले पनि विश्वास गर्‍यो; अनि बप्‍तिस्मा लिएपछि त्यो निरन्तर फिलिपको साथमा रह्यो… तर पत्रुसले त्यसलाई भने: “… यस कुरामा तिम्रो न कुनै भाग छ, न हिस्सा; किनकि तिम्रो हृदय परमेश्वरको दृष्टिमा सीधा छैन” (प्रेरित ८:१३,२०,२१)।

अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भचाइँमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे (प्रेरित २:४२)।

हामीबाट तिनीहरू निस्के, तर तिनीहरू हाम्रा थिएनन्; किनकि तिनीहरू हाम्रा हुँदा हुन् ता तिनीहरू हामीसँगै रहिरहने थिए; तर तिनीहरू सबै हाम्रा होइनन् रहेछन् भनेर प्रकट होओस् भनेर तिनीहरू हामीबाट निस्के (१ यूहन्ना २:१९)।

“मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, अनि म तिनीहरूलाई चिन्छु, र तिनीहरू मलाई पछ्याउँछन्। अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्; न ता कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ। मेरा पिता, जसले ती मलाई दिनुभयो, सबैभन्दा महान् हुनुहुन्छ, अनि मेरो पिताको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्दैन” (यूहन्ना १०:२७-२९)।

“पिताले जतिजना मलाई दिनुहुन्छ, ती सबै मकहाँ आउनेछन्; अनि जो मकहाँ आउँछ, उसलाई म कुनै रीतिले अफाल्नेछैन अनि मलाई पठाउनुहुने पिताको इच्छा यो छ — उहाँले मलाई दिनुभएको सबैमध्ये एउटालाई पनि म नहराऊँ तर अन्तिम दिनमा त्यसलाई फेरि बौराएर उठाऊँ” (यूहन्ना ६:३७,३९)।

“तर तिमीहरूमध्ये कतिजना छन्, जसले विश्वास गर्दैनन्।” किनभने विश्वास नगर्नेहरू को-को हुन्, अनि उहाँलाई पक्राउने को हुनेछ, सो येशूले शुरूदेखि नै जान्नुभएको थियो। अनि उहाँले भन्नुभयो: “यसैकारण मैले ‘मेरा पिताबाट उसलाई नदिइएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी तिमीहरूलाई भनेको हुँ।” त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरैजना पछि हटे, अनि फेरि उहाँसँग हिँडेनन् (यूहन्ना ६:६४-६६)।

अनि तिनीहरू किन्न गएको बेलामा दुलहा आइपुगे, र तयार रहेकाहरू उनीसँग भित्र विवाहको भोजमा पसे; अनि ढोका थुनियो (मत्ती २५:१०)।

त्यसपछि अरू कन्याहरू पनि यसो भन्दै आइपुगे: ‘हे प्रभु, हे प्रभु, हाम्रा निम्ति खोलिदिनुहोस्!’ तर उनले जवाफ दिई भने, ‘म तिमीहरूलाई साँचो भन्दछु, म तिमीहरूलाई चिन्दिनँ’ (मत्ती २५:११,१२)

अर्थात् परमेश्वरको धार्मिकता; यो येशू ख्रीष्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ; किनभने त्यहाँ कुनै भिन्नता छैन (रोमी ३:२२)।

“यही प्रकारले तिमीहरू पनि बाहिरपट्टिचाहिँ मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टिचाहिँ तिमीहरू कपट र अधर्मले भरिएका छौ। हे सर्पहरूहो, विषालु साँपका सन्तानहो, तिमीहरू नरकको दण्डबाट कसरी उम्कन सक्छौ त?” (मत्ती २३:२८,३३)

“हामी खुशी होऔं; र खूबै आनन्द मनाऔं, अनि उहाँलाई महिमा दिऔं; किनकि थुमाको विवाह आइपुग्यो, र उहाँकि पत्‍नीले आफैलाई तयार पारेकी छन्।” अनि उनलाई शुद्ध र चम्किलो मिहिन मलमल पहिरने अधिकार दिइयो। किनकि मिहिन मलमलचाहिँ पवित्र जनहरूका धार्मिकताका कामहरू हुन् (प्रकाश १९:७,८)।

अनि जब राजा पाहुनाहरूलाई हेर्न भित्र आए, तब तिनले त्यहाँ विवाहको वस्त्र नलगाएको एकजना मानिस देखे। अनि तिनले त्यसलाई भने: ‘साथी, विवाहको वस्त्र नपहिरीकन तिमी कसरी यहाँ भित्र आयौ?’ अनि त्यो निरूत्तर भयो। तब राजाले सेवकहरूलाई भने: ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई लैजाओ, र बाहिरपट्टिको अन्धकारभित्र फालिदेओ, जहाँ रूवाबासी र दाह्राकिटाइ हुनेछन् (मत्ती २२:११-१३)।

“असल गोठाला म नै हुँ; अनि म मेरा भेडाहरूलाई चिन्छु, अनि म आफ्नाहरूद्वारा म चिनिएको छु” (यूहन्ना १०:१४)।

“त्यस दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु, के हामीले तपाईंको नाउँमा भविष्यवाणी गरेनौं र? अनि के तपाईंकै नाउँमा दुष्ट आत्मा निकालेनौं र? अनि तपाईंकै नाउँमा अनेकौं अचम्मका कामहरू गरेनौं र?’ अनि तब तिनीहरूलाई खुल्लमखुल्ला भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन; हे कुकर्म गर्नेहरूहो, मदेखि टाढा होओ!'” (मत्ती ७:२२,२३)

तरैपनि परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ, जसमा यो छाप लागेको छ: ‘प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ’, अनि ‘ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्’ (२ तिमोथी २:१९)

हे मेरा भाइहरूहो, मसँग विश्वास छ भनी कुनै मानिसले भन्ला, र उसँग कामहरूचाहिँ छैनन् भने के फाइदा भयो र? के विश्वासले उसलाई बचाउन सक्छ र? (याकूब २:१४)

“साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ, उसँग अनन्त जीवन छ” (यूहन्ना ६:४७)।

“हे पिता, तपाईंले मलाई जतिजना दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, त्यहीँ मसँगै रहून् भन्ने इच्छा म गर्दछु; र तपाईंले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखून्; किनकि तपाईंले मलाई संसारको उत्पत्तिभन्दा पहिल्यै प्रेम गर्नुभयो” (यूहन्ना १७:२४)।

यस कुरामा म निश्चित छु — जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभएको छ, उहाँले येशू ख्रीष्टको दिनसम्म त्यो पूरा गर्नुहुनेछ (फिलिप्पी १:६)।

किनकि तिनीहरू, जसले एकपल्ट ज्योति पाए, अनि स्वर्गीय दानलाई चाखे, र पवित्र आत्माको भागी बनाइए, अनि परमेश्वरको उत्तम वचन र आउँदो युगका सामर्थ्यहरूको स्वाद चाखे, पतित भए भने तिनीहरूलाई पश्चात्तापका निम्ति फेरि नयाँ बनाउन असम्भव छ; किनकि तिनीहरूले आफ्ना निम्ति परमेश्वरका पुत्रलाई फेरि क्रूसमा चढाउँछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्छन् (हिब्रू ६:४-६)।

[बाइबलको अन्य कुनै पनि खण्डलाई भन्दा सम्भवत: यस खण्डलाई परमेश्वरका सन्तानलाई दुःख दिन बढी दुरुपयोग गरिएको छ जब कि परमेश्वरका सन्तान र यहाँ उल्लेखित “स्वाद चाखे” भनिएकाहरू बीच कुनै वास्तविक समानता छैन। यस खण्डले देखाएझैं अस्थायी मुख-स्वीकार कति परसम्म जान सक्दो रहेछ भनी कल्पना गर्न सकिन्छ र पनि ख्रीष्टमा पूर्ण समर्पण गर्नदेखि चुकेको हुन सक्छ जुन कुरा नै साँचो जीवन परिवर्तन (conversion)मा हुने कुरा हो। पद ९ ले साँचो विश्वासीलाई यस खण्डलाई दुरुपयोग गर्नदेखि जोगाउनुपर्ने हो, किनकि त्यहाँ प्रस्टै उल्लेख गरिएको छ कि मुक्तिसँग सम्बन्ध राख्‍ने कुराहरू यीभन्दा “असल” (better, उत्तम) हुन्छन्।]

तर हामी तिनीहरूमध्येका होइनौं, जो नाश हुनालाई पछि हट्छन्; तर तिनीहरूमध्येका हौं, जो प्राण बचाउनका लागि विश्वास गर्छन् (हिब्रू १०:३९)।

अनि धर्मी जन विश्वासद्वारा जिउनेछ; तर कोही पछि हट्छ भने मेरो प्राण त्योसँग प्रसन्न हुनेछैन (हिब्रू १०:३८)।

 

विश्वासीहरूलाई इनाम दिइनेछ तर नामधारीहरूलाई दण्ड दिइनेछ

तुलना गर्नुहोस्:

मत्ती २५:१९-२३ लाई मत्ती २५:२४-३० सित लूका १२:४२-४४ लाई लूका १२:४५-४७ सित कलस्सी ३:२४ लाई मत्ती ७:२२,२३ सित

कतिपय खण्डहरू कठिन नभएका होइनन्, तर “स्पष्ट र पक्का खण्डलाई काट्न अस्पष्ट वा शंकास्पद खण्ड कहिल्यै प्रयोग गरिनु हुँदैन” भन्ने महत्त्वपूर्ण नियमलाई ध्यानमा राख्दै प्रार्थनासहित होशियारपूर्वक अध्ययन गरिएमा निश्चय पनि प्रकाश मिल्नेछ। “साँचो, साँचो” लाई काट्न “यदि” लाई प्रयोग नगरियोस्। जस्तै, यूहन्ना ५:२४ लाई काट्न हिब्रू ६:६ लाई प्रयोग नगर्नुहोस्।

यहूदा इस्करयोति र पत्रुसका मुद्दाले कुनै समस्या प्रदान गर्दैनन्। यहूदा कहिल्यै विश्वासी थिएनन् (हेर्नुहोस्, यूहन्ना ६:६८-७१)। पत्रुस कहिल्यै विश्वासी हुन छाडेनन् (लूका २२:३१,३२)।

अन्तमा, यी सिद्धान्तहरू परमेश्वरको वचनलाई ठीक-ठीकसँग छुट्टयाउनलाई मात्र प्रयोग गरिनुपर्दछ, तर जीवित व्यक्ति विशेषमाथि कहिल्यै प्रयोग गरिनुहुँदैन। नामधारीहरूको न्याय हामीलाई सुम्पिएको छैन, तर मानिसका पुत्रलाई मात्र। ध्यानपूर्वक मत्ती १३:२८,२९ र १ कोरिन्थी ४:५ लाई अध्ययन गर्नुहोस्।

अध्ययन प्रश्नहरू पाठ १०
  1. साँचो विश्वासीहरूसित सम्बन्धित पवित्र शास्त्रहरूका खण्डलाई नामधारी विश्वासीसित सम्बन्धित खण्डहरूदेखि कसरी छुट्टयाउन सकिन्छ?
  2. हिब्रू ६:४-६ कुनचाहिँ समूहमा पर्छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)






मुक्ति र इनामहरू

Doctrine

मुक्ति र इनामहरू

 

नयाँ नियमका शास्त्रहरूमा एकातिर, हराएकाहरू (अर्थात् पापीहरू) का निम्ति मुक्तिको प्रबन्ध गरिएको छ भन्ने शिक्षा पाइन्छ भने अर्कोतिर, मुक्ति पाएकाहरूको विश्वासयोग्य सेवाकार्यको बापत उनीहरूलाई इनामहरू दिइनेछन् भन्ने शिक्षा पाइन्छ। वचनलाई ठीकसँग बुझ्ने हो भने पाठकले यी दुई शिक्षाहरूका बीचको अन्तरलाई राम्ररी कायम राख्‍न आवश्यक पर्छ। भिन्नता केमा निहित छ भनेर देख्‍न सक्न निम्न उल्लेखित तुलनाहरूलाई ध्यानपूर्वक अध्ययन गर्न सकिन्छ:

मुक्ति सित्तैंमा पाइने दान हो

येशूले जवाफ दिएर उसलाई भन्नुभयो: “यदि तिमीले परमेश्वरको दानलाई जानेकी भए, र ‘मलाई पानी पिउन देऊ’ भनी तिमीलाई भन्ने को हो, चिनेकी भए तिमीले पो उनीसित माग्नेथियौ, र उनले तिमीलाई जिउँदो पानी दिनेथिए” (यूहन्ना ४:१०)।

“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखरस र दूध किन” (यशैया ५५:१)।

अनि आत्मा र दुलहीले भन्नुहुन्छ: “आओ!” अनि जसले सुन्छ, उसले भनोस्: “आओ!” अनि जो तिर्खाउँछ, ऊ आओस्। अनि जसले चाहन्छ, उसले सित्तैंमा जीवनको पानी लेओस् (प्रकाश २२:१७)।

किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (रोमी ६:२३)।

किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमन्ड गर्नेछ (एफेसी २:८,९)।

तर सित्तैंमा उपलब्ध गरिएको मुक्तिको तुलनामा –

इनामचाहिँ परमेश्वरलाई मनपर्ने कामहरू बापत दिइने कुरा हो

अनि जसले यी सानाहरूमध्ये एउटालाई चेलाको नाममा चिसो पानी मात्र भए पनि पिउन देला, म तिमीहरू साँच्चै भन्दछु, त्यसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन (मत्ती १०:४२)।

मैले असल लडाइँ लडेको छु, मैले मेरो दौड पूरा गरेको छु, मैले विश्वासको रखवाली गरेको छु; अब उप्रान्त मेरो लागि धार्मिकताको मुकुट राखिएको छ, जोचाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ; र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ (२ तिमोथी ४:७,८)।

अनि हेर, म चाँडै आउँछु; अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ, त्यही अनुसार दिनालाई मेरो इनाम मसित छ (प्रकाश २२:१२)।

दौडमा दगुर्नेहरू सबै दगुर्छन्, तर पुरस्कारचाहिँ एउटाले पाउँछ, के यो तिमीहरूलाई थाह छैन? तिमीहरू यसरी नै दगुर कि पुरस्कार पाओ। अनि होडबाजीमा संघर्ष गर्ने हरेक मानिसले सबै कुरामा आफूलाई वशमा राख्दछ; अब तिनीहरू साँच्चै नाश भइजाने मुकुट पाउनाका निम्ति यसो गर्दछन्, तर हामी ता नाश नहुने मुकुटका निम्ति (१ कोरिन्थी ९:२४,२५)।

अनि उनले त्यसलाई भने: “स्याबास असल दास! तिमी एकदम थोरैमा विश्वासयोग्य भएका हुनाले अब दसओटा शहरमाथि अधिकारी होऊ” (लूका १९:१७)।

किनकि त्यस बसालिएको जगलाई छोडेर, जो येशू ख्रीष्ट हुनुहुन्छ, कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। अब कुनै मानिसले त्यस जगमाथि सुन, चाँदी, रत्‍नहरू, काठ, घाँस, परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ; किनकि त्यो दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ; अनि हरेकको काम, त्यो कस्तो किसिमको रहेछ भनी आगोले जाँच गर्नेछ। कुनै मानिसको काम, जो उसले त्यसमाथि बनाएको छ, रहिरह्यो भने उसले इनाम पाउनेछ। कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ; तर ऊ आफैचाहिँ बाच्नेछ, तर आगोबाट भएर उम्केजस्तो (१ कोरिन्थी ३:११-१५)।

तिमीले कष्ट भोग्न लागेका कुराहरूमध्ये कुनैसँग नडराओ; हेर, तिमीहरूको जाँच होओस् भनेर शैतानले तिमीहरूमध्ये कतिलाई झ्यालखानामा हाल्नेछ; अनि दस दिनसम्म तिमीलाई संकष्ट हुनेछ; मृत्युसम्म विश्वासयोग्य रह, र म तिमीलाई जीवनको मुकुट दिनेछु (प्रकाश २:१०)।

प्रकाश २:१० मा उनीहरूले “जीवन” पाउने भनिएको छैन किनकि स्मर्नाका पवित्र जनहरूसित जीवन अर्थात् अनन्त जीवन थियो र उनीहरू धार्मिकताका खातिर कष्ट भोग्दैथिए; तर उनीहरूले “जीवनको मुकुट” पाउने भनिएको छ।

मुकुट इनामको प्रतीक हो, अर्थात् कमाइएको कुराको। बाइबलमा चार किसिमका मुकुटहरूको उल्लेख गरिएको पाइन्छ: आनन्दको, जोचाहिँ सेवाकार्यको इनाम हो (फिलिप्पी ४:१; १ थेस्सलोनिकी २:१९): धार्मिकताको, जोचाहिँ गवाहीको विश्वासयोग्यताको इनाम हो (२ तिमोथी ४:८); जीवनको, जोचाहिँ परीक्षामा विश्वासयोग्यताको इनाम हो (याकूब १:१२; प्रकाश २:१०); महिमाको, जोचाहिँ कष्टमा विश्वासयोग्यताको इनाम हो (१ पत्रुस ५:४; हिब्रू २:९)।

मुक्ति वर्तमानमै विश्वासीसँग हुने वास्तविकता हो

जसले पुत्रमाथि विश्वास गर्दछ, उसँग अनन्त जीवन हुन्छ (यूहन्ना ३:३६)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, उसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ (यूहन्ना ५:२४)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ, उसँग अनन्त जीवन छ (यूहन्ना ६:४७)।

उहाँले हाम्रा कामहरूअनुसार होइन, तर उहाँकै आफ्नो मनसाय र संसार शुरु हुनुभन्दा पहिल्यै हामीलाई ख्रीष्ट येशूमा दिइएको अनुग्रहअनुसार हामीलाई बचाउनुभएको छ, र पवित्र बोलावटले बोलाउनुभएको छ (२ तिमोथी १:९)

उहाँले त्यस स्त्रीलाई भन्नुभयो: “तिम्रो विश्वासले तिमीलाई बचाएको छ; शान्तिसित जाऊ” (लूका ७:५०)।

तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो — नयाँ जन्मको स्नान र पवित्र आत्माको नवीकरणद्वारा (तीतस ३:५)।

अनि गवाही यही हो — परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ (१ यूहन्ना ५:११)।

तर –

इनामहरू भविष्यमा प्रदान गरिने कुरा हुन्

किनभने मानिसका पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूका साथमा आउनेछन्, र त्यसबेला उनले हरेकलाई उसका कामहरूअनुसार प्रतिफल दिनेछन् (मत्ती १६:२७)।

र तिमी धन्य हुनेछौ; किनभने तिनीहरूले तिमीलाई बदलामा केही दिन सक्दैनन्; किनकि धर्मीहरूको बौरिउठाइमा तिमीलाई बदला दिइनेछ (लूका १४:१४)।

अनि हेर, म चाँडै आउँछु; अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ, त्यही अनुसार दिनालाई मेरो इनाम मसित छ (प्रकाश २२:१२)।

अनि मुख्य गोठाला देखा पर्नुहुनेछ, तब तिमीहरूले नओइलिने महिमाको मुकुट पाउनेछौ (१ पत्रुस ५:४)

अब उप्रान्त मेरो लागि धार्मिकताको मुकुट राखिएको छ, जोचाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ; र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ (२ तिमोथी ४:८)।

धेरै समयपछि ती दासहरूका मालिक आए, र तिनीहरूसँग हिसाब लिए (मत्ती २५:१९)।

आफ्ना पवित्र जनहरूको विश्वासयोग्य सेवाकार्य बापत स्वर्गीय तथा अनन्त इनामहरूले आभूषित गर्ने प्रतिज्ञा दिनुमा परमेश्वरको उद्देश्य यो रहेको पाइन्छ: उनीहरूलाई सांसारिक सम्वृद्धि र मोजमज्जाहरूदेखि आफूतिर खिँच्नु, उनीहरूलाई सतावटका थिचोमिचोमा पनि स्थिर राख्‍नु र उनीहरूलाई ख्रीष्टिय सद्‍गुणहरूमा बढ्दै जान उत्प्रेरित गर्नु। हेर्नुहोस्: हिब्रू ११:८-१०,२४-२७; हिब्रू १२:२,३; लूका १४:१२,१४; मत्ती १०:४१,४२; हिब्रू ६:१०; कलस्सी ३:२२-२४; मत्ती ५:११,११२; यूहन्ना ४:३५,३६; दनिएल १२:३, लूका १२:३५-३७; २ तिमोथी ४:८। अन्तमा, हामी यस चेताउनीलाई ध्यान दिऔं, प्रकाश ३:११।

अध्ययन प्रश्नहरू पाठ ९

 

1. विश्वासी जनको मुक्तिसित सम्बन्धित पवित्र शास्त्रहरूका खण्डलाई उनका इनामहरूसित सम्बन्धित खण्डहरूलाई कसरी छुट्टयाउन सकिन्छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)