Entries by Pradesh Shrestha

सबै कुराहरूमा तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्

सबै कुराहरूमा तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्

तीतस २:१ मा तीतसलाई पावलका निर्देशनहरू

“तर तिमीले चाहिँ खाँटी शिक्षालाई सुहाउने कुराहरू बोल”

पावलले तीतसलाई उनको पास्टरीय कामको सवालमा “खाँटी शिक्षालाई सुहाउने कुराहरू बोल” भन्ने अर्ती दिए। खाँटी शिक्षाको माने स्वस्थ्यपूर्ण शिक्षा हो। यहाँ “खाँटी” भनेर अनूदित ग्रीक शब्द यी पदहरूमा प्रयोग गरिएका छन्: १ तिमोथी १:१०;६:३; २ तिमोथी १:१३; ४:१३; तीतस १:९,१३ (“पक्का”); २:२(“पक्का”)। साथै उक्त शब्द यी पदहरूमा पनि प्रयोग गरिएका छन्: लूका ५:३१ (“निरोगीहरू”) र ३ यूहन्ना २ (“निरोग”) जहाँ माने स्पष्ट छ: शरीरमा सञ्चो, स्वस्थ र निरोग हुनु। जब परमेश्वरको सत्यता र परमेश्वरको शिक्षालाई विश्वास गरिन्छ र पालन गरिन्छ, तिनको परिणाम भनेको प्राण (भित्री मानिस) मा निरोग र सञ्चोपना आउँछ। हामी “स्वस्थ विश्वासीहरू” हुनुपर्छ भनेर हामी भन्ने पनि गर्छौं — अर्थात् आफूसित आत्मिक स्वस्थ हुनु आवश्यक छ जोचाहिँ परमेश्वरसित हिँडेर आउँछ र आफ्‍नो जीवनहरूलाई उहाँको इच्छा र वचन अनुरुप बनाएर आउँछ।

यदि उहाँमा भरोसा गरिरहेकाहरूलाई परमेश्वरले दिनुहुने यो सिद्ध शान्ति र स्वास्थ्य (यशैया २६:३ “शान्ति नै शान्ति”) हामी आफै जान्दैनौं (यसमा हामी रम्दैनौं) भने हाम्रो गाउँ, बस्ती, जिल्ला, अञ्चल, मुलुक वा संसारतर्फ हामी कसरी गवाही हुन सक्छौं र? प्राणहरू बाँझो र शिथिल छन् भने यसले निश्चय पनि हाम्रो गवाहीलाई बाधा दिन्छ।

पावलले तीतसलाई पाँच फरक-फरक समूहहरूलाई खाँटी र स्वस्थ्यपूर्ण शिक्षा सिकाउनलाई निर्देशन दिए: बूढा मानिसहरू (पद २), बूढी स्त्रीहरू (पद ३), तरुणी स्त्रीहरू (पद ४,५), जवान पुरुषहरू (पद ६-८) र दासहरू (पद ९-१०)।

बूढा मानिसहरू (पद २)

सचेत (नशालु पदार्थबाट अलग, ठिक सोच्ने), गम्भीर (सम्मान र आदरको योग्य, गम्भीर तर अँध्यारो होइन, ईश्वरीय आदरभावको), आत्मसंयमी (बोली-व्यवहारमा होशियार, ठिक सोच्ने, राम्ररी विचार पुर्‍याउने, आफैंलाई नियन्त्रणमा राख्ने)। यी बूढा मानिसहरूलाई तीन प्रकारले स्वस्थ्य हुनलाई सिकाइनुपर्थ्यो: १) विश्वासमा स्वस्थ्य (तपाईंको?); २) प्रेममा स्वस्थ्य (तपाईंको?); ३) धीरजमा स्वस्थ्य (जीवनका परीक्षाहरूमा, कठिनाइहरूमा अचल भई लागिरहनु)। जीवनका आँधी-बतासहरूको सामना गर्नुपर्दा, अग्नीमय कष्टहरूको सामना गर्नुपर्दा, तपाईं कत्तिको आत्मिक स्वस्थ्य र अचल?

बूढी स्त्रीहरू (पद ३)

बूढी स्त्रीहरूको चालचलन पवित्रतालाई सुहाउँदो हुनुपर्छ भनेर सिकाइनुपर्थ्यो (पवित्र व्यक्ति झैं व्यवहार गर्नु, बोली-व्यवहारमा आदरभावसित हिँड्नु, उत्तेजनामा हिँड्ने स्त्रीहरूजस्ता होइनन् जसका हृदयहरू हलुका र व्यर्थका कुराहरूमा केन्द्रित हुन्छन्, न झूटा दोष लाउने (“दियाबलस” — बूढी स्त्रीहरू स-साना दियाबलसहरू जस्ता भएर झूटा आरोपहरू, बाङ्गो-टिङ्गो कुराहरू, अर्काको पछाडि द्वेषपूर्ण कुराहरू यत्रतत्र प्रहार गर्दै हिँड्नेहरू हुनु हुँदैनथ्यो), न पियक्कड (not given or enslaved to, खानेकुरा, पिउने कुरा, वा अन्य कुनै कुराको पकडमा नभएको हुनुपर्थ्यो)

बूढी स्त्रीहरू “असल कुराहरूका शिक्षकहरू” हुनुपर्थ्यो। तिनीहरूले अनुभवद्वारा (जीवनमा कति हण्डरहरू खाएर) धेरै कुराहरू सिकेका छन्। अनि उनीहरूले वर्षौंभरि सिकेकाबट अरूहरूलाई उनीहरूको फाइदाको लागि सिकाउनुसक्नुपर्ने हो। उनीहरूको सिकाउने यो काम विशेष गरी तरुणी स्त्रीहरूप्रति लक्षित हुनुपर्छ। वर्षौंदेखि परमेश्वरको वचनमा हिँड्दै आएका र व्यावहारिक अनुभवबाट सिक्दै आएका यी बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई, तरुणी पत्नीहरू र तरुणी आमाहरूलाई अनमोल सल्लाहरू हस्तान्तरण गर्न सकछ्न्। [सिद्धान्त: एक बुद्धिमानी जवान व्यक्तिले आफूभन्दा पाको ईश्वरीय विश्वासीहरूसित मित्रता विकास गर्नेछन् र उनीहरूको सरसल्लाह र सुधारहरूको माग गर्नेछन्।]

बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई सिकाउनुपर्ने कुराहरू अब आउने खण्डमा दिइएको छ:

तरुणी स्त्रीहरू (पद ४,५)

बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई निम्न कुराहरू सिकाउनुपर्थ्यो (चेतावनी, तालिम): १) आफ्‍ना-आफ्‍ना पतिलाई प्रेम गर्न (phileo) (प्रेममा फस्ने जस्तो कुरा होइन, तर प्रेमगर्न सिक्ने): “यसमा धेरै कुराहरू पर्छन् जसद्वारा तिनले आफ्‍ना पतिलाई साँच्चै आदर गर्छन् भनेर देखाउन सक्छिन् — घरमा उनको प्रधानतालाई स्वीकार गरेर, पतिबिना कुनै पनि ठूला निर्णयहरू नगरेर, घरलाई व्यवस्थित राखेर, आफ्‍नो लवजमाथि ध्यान पुर्‍याएर, उनीहरूको कमाइअनुसार मात्र खर्च गरेर, गलतीहरू तुरुन्तै स्वीकार गरेर, अनुग्रहसाथ क्षमा दिएर, सञ्चारको बाटो सधैं खुला राखेर, अरूका सामु आफ्‍नो पतिलाई आलोचना गर्ने वा कुरा काट्ने काम नगरेर र कामकुरा बिग्रन जाँदा सहयोगी बनेर” (म्याकडोनाल्ड)। २) आफ्‍ना नानीहरूलाई माया गर्न (phileo): “उनीहरूसँग बसेर पढ्ने, प्रार्थना गर्ने गरेर, उनीहरू स्कूल वा खेलबाट फर्कँदा आफू घरमा भइदिएर, दृढ र न्यायोचित तवरले अनुशासन गरेर, उनीहरूलाई संसारको निम्ति नभई प्रभुको सेवाका निम्ति मलजल गरेर” (म्याकडोनाल्ड)। ३) आत्मसंयमी (बोली-व्यवहारमा होशियार, ठिक सोच्ने, राम्ररी विचार पुर्‍याउने, आफैंलाई नियन्त्रणमा राख्ने, पद २ कै शब्द); ४) पतिव्रता (शुद्ध pure, आफ्‍ना पतिहरूप्रति विश्वासयोग्य, विचार, बोली वा काममा फोहोर कुरादेखि अलग); ५) घर सम्हाल्ने (घरमा काम गर्ने, गृहणी): “आफ्‍नो घर परिवारलाई बेवास्ता गर्ने गरी उद्योग-बेपारमा लाग्नुभन्दा एक पत्नी र आमा भईकन घरैमा प्रभुको सेवा गर्नुको उच्च मर्यादा हुन्छ भन्ने कुरालाई बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई सिकाउनुपर्थ्यो” (म्याकडोनाल्ड); ६) भला (कसरी अर्काको निम्ति जिउने, अतिथिसत्कार गर्ने, अनुग्रही, उदार हुने, स्वार्थी र आफैमा केन्द्रित होइन); ७) आफ्‍ना-आफ्‍ना पतिका आज्ञाकारी। यी सब किन – ताकि “परमेश्वरको वचनको निन्दा नहोस्” (विरुद्धमा नबोलियोस्; अक्षरश: “चोटपूर्ण बोली”)। यो पद १० को विपरित हो। हामी कसरी जिउँछौं यसले परमेश्वरको सत्यतालाई कि त सिँगार्छ कि निन्दा ल्याउँछ।

जवान पुरुषहरू (पद ६-८)

आत्मसंयमी (बोली-व्यवहारमा होशियार, ठिक सोच्ने, राम्ररी विचार पुर्‍याउने, आफैंलाई नियन्त्रणमा राख्ने – यो सुहाउँदो सल्लाह हो किनकि युवावस्था जोशपूर्ण, यो गरूँ कि त्यो गरूँ भन्ने उर्जाले र प्रबल चाहनाहरूले भरिएको हुन्छ — अध्यायभरि यो शब्द दोहोराइएको छ); नमुना, १ तिमोथी ४:१२; असल कामहरू, तीतस ३:८,१४; एफेसी २:१०; मत्ती ५:१६; ३) शिक्षामा तीनओटा कुरा: १) चोखोपना (दागरहित – वचनजस्तै); २) गम्भीरता (आदरभावले भरिएको, प्रभुले भन्नुभएको कुरामा एकदम गम्भीर), ३) सच्चाइ (सत्यको मार्गबाट बिग्रेर नजाने)

पद ८ – दोष नपाइने शुद्ध वचन (बोलीले हृदयलाई प्रतिबिम्बित गर्छ र बोलीबाटै हामी दोषी वा निर्दोष ठहरिन्छौं, मत्ती १२:३५-३६), शत्रुलाई हाम्रो दोषरहित बोलीव्यवहारले चुप गराउँछौं। विश्वासीको कवचमा एउटै प्वाल पनि नभेटियोस्! पवित्र जीवन जत्तिको प्रभावकारी कुनै तर्क छैन!

दासहरू (पद ९-१०)

पावलले दासहरूलाई निम्न निर्देशनहरू दिए १) बिनाप्रश्‍न आफ्‍ना मालिकहरूको आज्ञापालन गर्नू (पद ९); २) सबै कुराहरूमा उनीहरूलाई प्रसन्न गराउनू; ३) मुख नलाग्नू (पद ९) — “मण्डली युगको शुरुतिर आफ्‍ना मालिकहरूलाई प्रभु येशूकहाँ डोर्‍याउने सौभाग्य धेरैजना दासहरूको भयो, मुख्यतः अविश्वासी दासहरू र उनीहरूको बीचमा रहेको भिन्नता ज्यादै टड्कारो देखिने भएकोले” (म्याकडोनाल्ड); ४) लामो हात नगर्नू (पद १० — आफ्‍ना मालिकहरूबाट नचोर्न, उनीहरूलाई नठग्न — त्यसैले त लिलाम बजारमा विश्वासी दासहरूको जहिले पनि भाउ बढी हुन्थ्यो!) ; ५) सब प्रकारको इमानदारीपना देखाउनू (पद १० – विश्वासयोग्यता, भरोसायोग्यता), यसरी नै सबै कुराहरूमा तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्” (पद १०)।

शिक्षालाई सिगारिदिऊन् (पद १०)

“शिक्षा सिँगारिनु” परमेश्वरको वचन परमेश्वरका जनहरूको भक्तिहीन व्यवहारले निन्दा गरिनुको ठिक विपरित हो (हेर्नुहोस् पद ५ र रोमी २:२३-२४)। तर जब परमेश्वरका जनहरूले परमेश्वरको वचनका स्पष्ट शिक्षाहरूलाई व्यवहारमा उतार्छन् (चाहे बूढा मानिसहरू होस् वा बूढी स्त्रीहरू, चाहे तरुणी स्त्रीहरू होस् वा जवान पुरुषहरू, चाहे दासहरू होस् वा अरु कुनै विश्वासीहरू), तब परमेश्वरको शिक्षा सिँगारिन्छ। सिँगार्नु भन्ने शब्द (कस्मेओ – अङ्ग्रेजीमा “कस्मेटिक”) को माने व्यवस्थित गर्नु, क्रममा राख्‍नु (भजनसङ्ग्रह ११९:१३३ — “मेरा पाइलाहरू तपाईंको वचनमा स्थिर पारिदिनुहोस्“)। उक्त शब्द कोठालाई सजाउने (मत्ती १२:४४) र सलेटो छाँट्ने वा बत्ती मिलाउने (मत्ती २५:७) अर्थमा प्रयोग गरिएको छ। यसको माने सिँगार्नु हो र चिहानहरूलाई (मत्ती २३:२९) र भवनहरूलाई (लूका २१:५; प्रकाश २१:१९ — “सिँगारिएका”) सिँगार्ने अर्थमा प्रयोग गरिन्थ्यो। हेर्नुहोस् प्रकाश २१:२ — “आफ्‍ना पतिका निम्ति सिँगारिएकीदुलहीझैं।” आफूलाई सिँगार्ने अर्थमा पनि प्रयोग गरिएको छ (१ तिमोथी २:९ — “आत्मसंयमसित सुहाउने वस्त्रले आफूलाई सिँगारून्” र १ पत्रुस ३:५ हेर्नुहोस्)। हाम्रा जीवनहरूले परमेश्वरको सत्यतालाई सुन्दर बनाउनुपर्छ। हामी जिउने तरिका देखेर अरूहरूले परमेश्वरको सत्यताको सुन्दरता देख्‍न सक्नुपर्छ। धेरै वर्ष अघिको कुरा हो, एकजना मिसनरीले चिनियाँ ख्रीष्टियनहरूको बारेमा यो बताए कि उनीहरूलाई जापानी बैङ्कका हाकिमहरूले सधैं नै काममा लिन चाहन्थे किनकि उनीहरूको इमानदारीता उत्कृष्ट थियो। उनीहरूले साँच्चै शिक्षालाई सिँगारे। जसरी स्त्रीहरूले आफूलाई राम्रा र आकर्षक देखाउन कस्मेटिक प्रयोग गर्छन्, त्यसरी नै विश्वासीले परमेश्वरको सत्यतालाई व्यवहारमा उतार्नुपर्छ ताकि परमेश्वर र उहाँको वचन सबैका सामु राम्रो र आकर्षक देखियोस्। जब हामीले आफ्‍ना जीवनहरूलाई खाँटी, स्वस्थ शिक्षा अनुरूप बनाउँछौं हामीले बाइबललाई सुन्दर देखाउँछौं र ख्रीष्टिय सन्देशलाई अविश्वासीहरूका सामु आकर्षक देखाउँछौं” (वियर्स्बी)। “जसरी एउटा सुन्दर चित्रलाई सुहाउँदो फ्रेमले अझ सुन्दर बनाइदिन्छ त्यसरी नै हामीले ख्रीष्टिय शिक्षालाई आकर्षक बनाउँछौं यदि तिनको सामर्थ्य र सत्यतालाई हाम्रो जीवनमा प्रकट गर्‍यौं भने” (केन्ट)। हामी यसरी जिएका होऔं कि हामी परमेश्वरको सत्यतालाई सिँगार्ने गहना भएका हौं!

जब हामी आ-आफ्‍ना ठाउँमा आफ्‍ना जीवनहरूलाई परमेश्वरको सत्यतासित मेल खाने गरी व्यवस्थित गराउँदै जान्छौं तब परमेश्वरको सत्यता सिँगारिनेछ र उहाँको महान् नामका निम्ति त्यसको प्रभाव संसारभरि फैलिँदै जान्छ!

निष्कर्ष

निष्कर्ष

यस पुस्तिकाको अध्ययनद्वारा किन स्त्रीहरूले बढो ध्यानपूर्वक भद्र पोशाक लगाउनु आवश्‍यक पर्दो रहेछ भन्ने सन्दर्भमा बाइबलीय कारणहरू थाहा गर्नुभयो। परमेश्‍वरको वचनबाटको शिक्षाहरू स्वीकार गर्न परमेश्‍वरले नै तपाईंलाई भक्तिपूर्ण, नम्र मन दिनुभएको होस् भन्ने हाम्रो प्रार्थना छ। तपाईंले संसारलाई, अरु कुनै व्यक्तिलाई वा आफैलाई भन्दा बढी प्रेम परमेश्‍वरलाई नै गर्नु हुनेछ भन्ने हाम्रो आशा छ। यस पुस्तिकाको शिक्षाहरूद्वारा तपाईंको भित्री आत्मिक चरित्रको महत्त्व साथै बाहिरी पहिरनको महत्त्व देख्‍न तपाईंका आँखाहरू खोलिएका होऊन्। हामी कुनै पनि स्त्रीले लगाएको पोशाकहरूद्वारा येशूको बदनाम भएको साथै पुरुषहरू परीक्षामा परेको चाहदैनौं। हाम्रा सबै कृयाकलापहरूद्वारा प्रभुको महिमा भएको होस् (१ कोरिन्थी १०:३१)। आजबाट नै हामी नेपाली ख्रीष्टियन महिलाहरू पश्‍चिमी वा पुर्वेली वा कुनै पनि फेसनको पछि नदगुरौं! बरु, भद्र पोशाकद्वारा परमेश्‍वरको महिमा गरौं। आमेन्!

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

बाइबलबाट एउटा चेताउनी

“यो पनि जानिराख – अन्तिम दिनहरूमा
सङ्कटपूर्ण समयहरू आउनेछन्।
किनकि मनिसहरू आफूलाई मात्र प्रेम गर्ने,
पैसाको लोभी,
सेखीबाज,
घमन्डी,
निन्दा गर्ने,
बाबुआमाको आज्ञापालन नगर्ने,
बैगुणी,
अपवित्र,
स्वाभाविक माया नभएका,
मेल गर्न नचाहने,
झूटा दोष लाउने,
आत्‍मासंयम नभएका,
कठोर,
असललाई घृणा गर्ने,
विश्‍वासघाती,
जिद्दीवाल,
घमन्डले फुलिएका,
परमेश्‍वरलाई भन्दा बरु मोजमज्जालाई प्रेम गर्ने;
भक्तिको भेष ता धारण गर्ने, तर त्यसको शक्ति इन्कार गर्ने हुन्छन्;
यस्ताहरूबाट पर बस!
किनकि ती यस्ताहरूमध्येका हुन्,
जो घरहरूभित्र चाल मारेर पस्छन्,
अनि पापहरूले दबिएका
र नाना प्रकारका अभिलाषाहरूद्वारा चलाइएका
मूर्ख स्त्रीहरूलाई वशमा पार्छन्;
जुन स्त्रीहरू सिक्न ता सधैं सिक्छन्, तर सत्यको ज्ञानमा कहिले आइपुग्न सक्दैनन्।”
(२ तिमोथी ३:१-७)

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

फेसन डिजाइनरको विचार

फेसन डिजाइनरको विचार

कुपन्डोलस्थित बुटिकहरूका ग्राहकहरू काठमाडौंका धनी महिलाहरू हुन्। आधुनिक विचारहरूमा समर्पित ती शिक्षित र अनुभवी नारीहरू गाडी हाँक्दै जान्छन् कुपन्डोलतिर आफ्ना कपडा सिलाउन। ती बुटिकहरू दुवै बिदेशी र नेपालीहरूको लागि लुगाको डिजाइन निकाल्ने र सिलाइदिने थलो हुन्। बुटिकमा कार्यरत व्यक्तिहरूको ईश्‍वर नै फेसन हो। फेसनले निर्देशन दिन्छ र तिनीहरू त्यस अनुसार चल्छन्। उनीहरूका ग्राहकहरू पनि फेसेनमा लीन छन्। ती बुटिकहरूमध्ये एउटा बुटिकको फेसेन डिजाइनरसँग हामीले कुरा गर्यौं जसको पसल दुई बर्ष पुरानो छ। उनी डिजाइनमा लागेको ५ बर्ष भइसक्यो। हामीले उनलाई निम्न प्रश्‍नहरू सोध्दाखेरि उनलाई हाम्रो उद्देश्‍य थाहा थिएन। ख्रीष्टियनले यी प्रश्‍नहरू सोधेका हुन् भनेर उनलाई थाहा थिएन। त्यसैले, यी प्रश्‍नहरूको जवाफ संसारको ढाँचामा लिप्त एक स्त्रीको हृदयबाट आएका हुन्।

हाम्रो प्रश्‍न: “बिगत केही बर्षमा नेपालीहरूले लाउने लुगामा ठूलो परिवर्तन आएको छ। ६ बर्ष अगाडि स्त्रीहरूले पाइन्ट लाउँदैन थिए। तर अहिले व्यापक रुपमा लगाउँछन्। साडी लगाउने विवाहित महिलाहरू अब कुर्ता सुरुवाल लगाउँछन्, उनीहरूका छोरीहरूले पाइन्ट लगाउँछन्, र उनीहरूका नातिनीहरूले हाफ पाइन्ट लगाउँछन्। तपाईंको विचारमा, नेपालमा यस्तो ठूलो परिवर्तन हुनुको प्रमुख कारण के हो?”

डिजाइनरको जवाफ: “पहिलो कारण टेलिभिजन हो, विशेष गरी च्यानलहरू। MTV, F Channel, र Zoom मा सबैले यस्तै लुगा देख्छन् अनि लाउन मन लाग्छ। दोस्रो कारण पढाइ हो। अहिले युवाहरू पढ्न बाहिर जान्छन्। बाहिर गएपछि त्यहीँको लुगा लगाउने बानी हुन्छ। घर फर्केपछि पनि बाहिरकै लुगा लगाउन मन लाग्छ। तेस्रो कारण बलिउड् हो। भारतका सिरियलहरूले ठूलो प्रभाव पार्छन्।”

हाम्रो प्रश्‍न: “लुगा त परिवर्तन भयो। त्यसमा कुनै शङ्का छैन। आजभोलि समाजमा अरु परिवर्तनहरू पनि देखिन्छन्। लुगाको परिवर्तनले समाजमा का‍स्तो परिवर्तन ल्यायो? अथवा समाजमा लुगाको परिवर्तनको प्रभाव कसरी देखिन्छ?”

डिजाइनरको जवाफ: “पहिला-पहिला महिलाहरू साडी लगाउँथे। साडी लगाउँदा स्वतन्त्र हुन सकिँदैन। जस्तै, साडी लगाएर बस चढ्न अप्ठ्यारो छ। कुर्था सुरुवाल अनि त्यसपछि पाइन्ट लगाउन थालेपछि महिलाहरूले स्वतन्त्र अनुभव गर्न थाले। त्यसपछि उनीहरूले घरबाट निस्कन पनि कम्फोर्टेबल भयो। नयाँ ढाँचाको लुगा लगाउनेहरू अफिसमा कन्फिडेन्ट हुन्छन्। अफिसमा काम गर्दा अप्वाइन्टमेनटहरू हुन्छन्, यता-उता जानु पर्ने हुन्छ। हतार भयो भने पाइन्टले बाधा दिँदैन। साडी लगाएको जस्तो होइन।”

हाम्रो प्रश्‍न: “अझ हाम्रो लागि स्पष्ट पार्नुहोस् – लुगाको परिवर्तनद्वारा महिलाहरूको चरित्र वा स्वभाव अथवा व्यवहार कसरी प्रभावित भयो?”

डिजाइनरको जवाफ: “महिलाहरू घरबाट निस्के। घरबाट निस्केपछि हाउस्वाइफ् हुन मन लागेन। अब महिलाहरूलाई किचेनमा रहन मन लाग्दैन। घरबाट निस्कन मन लाग्छ, जब [बाहिरी पेशा] गर्न मन लाग्छ।”

हाम्रो प्रश्‍न: “अमेरिकामा सन् १९६० र १९७० मा यस्तै ठूलो परिवर्तन आएको थियो। लुगाको परिवर्तन भयो – सबै महिलाहरूले छाडा लुगा लाउन थाले। अहिले “परिवार” भन्ने कुराको अस्तित्व नै मेटिन थाल्यो। ५० प्रतिशतभन्दा बढी परिवारहरू डिभोर्स [पारपाचुके] मा समाप्त हुन्छन्। एउटा महिलाले जीवनमा ३-४ चोटी विवाह गर्छे। अझ, अहिलेको पुस्ताले त विवाहको करार नै बाँध्न छाडिसक्यो र पशुजस्तै भएका छन् – कहिले कोसँ‍ग सुत्‍ने, कहिले कोसँग। कलेज पढ्न जाँदा अपरिचित केटाकेटीहरू एउटै फ्ल्याट लिएर बस्नु सामान्य कुरा भइसक्यो। महिलाले महिलासँग विवाहको करार बाँध्ने र पुरुषले पुरुषसँग विवाहको करार बाँध्ने घीनलाग्दो प्रचलन सुरु भएको छ। तपाईंलाई कस्तो लाग्छ? नेपालमा पनि छाडा लुगाको प्रभाव यस्तै ठूलो हुन सक्छ?”

डिजाइनरको जवाफ: “तपाईंको विचार १००% ठीक हो। यस्तै परिवर्तन नेपालमा पनि सुरु भइसक्यो। महिलाहरू घरबाट निस्केपछि अफिस गर्न थालेपछि अफेयर [व्यभिचार] गर्न पनि सामान्य कुरा भइसक्यो। स्वतन्त्र भएपछि आफ्नो श्रीमान्‌सँग रहन मन लाग्दैन।। पहिला जुन व्यवहार हामीलाई अनौठो लाग्थ्यो, त्यो पनि सिरियल हेर्दा हेर्दै अब केही जस्तो लाग्दैन। हामी जुन कुराहरू टिलिभिजनमा देख्छौं, हामीलाई त्यस्तै गर्न मन लाग्छ। पहिले जे-जे गर्न अप्ठ्यारो लाग्थ्यो, त्यो टिभीमा हेरेपछि गर्न सजिलो भयो। त्यो गर्न थालेपछि नयाँ-नयाँ कुराहरू (व्यवहार) चाहिन्छ हामीलाई। पहिला-पहिला नेपालमा डिभोर्स भन्दाखेरी नराम्रो लाग्थ्यो। अहिले केही जस्तो लाग्दैन।”

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

विचारमा अचार

विचारमा अचार

(पढेमा पोल्ला, है!)

यस पुस्तिका लेखिने क्रममा स्त्रीको लुगाको प्रभावको बारेमा अनुसन्धान गरियो। सयौं व्यक्तिहरूको विचार बुझियो। निम्न पत्रहरू मार्फत धेरै जनाले हामीलाई आफ्ना अनुभवहरू बताए।

  • “लोग्ने मानिसहरूको दृष्टिकोण धेरैजसो आइमाईमान्छेहरूले बुझ्दैनन् जस्तो लाग्छ। धेरै विश्‍वासी दिदीबहिनीहरूले पुरुषहरूको मनको कुरा (सोचाइ वा हेराइ) बुझेको भए उनीहरूले आफ्नो लुगा लगाउने ढाँचा बदल्नेथिए होलान्। वास्तवमा उनीहरू परमेश्‍वरलाई प्रसन्न तुल्याउन चाहन्छन् तर पोशाकको प्रभावको बारेमा अन्जान छन् धेरै आइमाईहरू।”
  • “म २४ बर्षको युवा हुँ। तपाईले हामी पुरुषहरूलाई स्त्रीको पोशाकको प्रभावको बारेमा सोध्नुभएकोमा म तपाईलाई धन्यबाद दिन चाहन्छु। मेर‍ो विचारमा महिलाहरूले नबुझेको कुरा यो हो – छाडा लुगा लगाएकी स्त्रीलाई देख्दा पुरुषहरू तुरुन्‍तै पापपूर्ण अभिलाषाहरूमा डुब्न सक्छन्।”
  • “स्त्रीले लगाएको लुगाले पुरुषमा व्यभिचार र कुइच्छा उत्पन्न गर्न सक्छ।”
  • “मण्डलीको सङ्गतिमा हामी विश्‍वासीहरू परमेश्‍वरको आराधना गर्न चाहन्छौं। सङ्गतिमा कुनै स्त्रीले सांसारिक ढङ्गले लुगा लगाउनु कति दुःखको कुरा हो! म मन-मनमा प्रश्‍न गर्छु – यदि यस स्त्रीले (जसले अनुचित लुगा ढङ्गले लुगा लगाएकीछिन्) साँचै परमेश्‍वरलाई प्रेम गर्छिन भने किन उनी सांसारिक ढङ्गले लुगा लगाएर पुरुषहरूको ध्यान आफूतिर आकर्षित गर्न चाहन्छिन्? फेरि अर्कोतिर जब कुनै स्त्रीले संसारको फेसनलाई इन्कार गर्छिन् र भद्र पोशाक लगाएर संसारबाट अलग रहन्छिन् तब उनको असल ख्रीष्टियन स्वभाव झल्किन्छ।”
  • “म ५५ बर्षको उमेरको हुँ। मण्डलीका स्त्रीहरूले लगाउने लुगा देखेर मेरो हृदय बोझिलो भएको छ। शरीरका अङ्गहरूलाई देखाउने, छाला प्रदर्शन गर्ने, वा शरीरको आकार देखाउने लुगा उनीहरूले लगाउँछन् भने म ठूलो परीक्षामा पर्छु। म हृदयदेखि विश्‍वासी दिदीबहिनीहरूसँग विन्ती गर्दछु – टाइट लुगा नलगाउनुहोस्। आफ्नो शरीरलाई राम्रोसँग छोप्नुहोस्। टी-शर्ट नलगाउनुहोस्। धेरै पटक टाइट वा अपवित्र लुगा लगाएकी स्त्रीलाई देखेर मैले अर्कोतिर हेरेको छु ताकि म परिक्षामा नपरूँ। आराधाना सभामा यस्तो कुराको सामना गर्नु चाहिँ ठूलो बाधा हो। युवती वा अरु महिलाहरूले उनलाई जेसुकै भने तापनि – पाको भने तापनि – उनले वास्ता नगरिकन परमेश्‍वरलाई खुसी पार्ने मनसायले लुगा लगाउनुपर्छ। मानिसले बाहिरी रुप हेर्छ भनेर बिर्सनुहुन्न। हामी संसारबाट अलग र एक किसिमले “अनौठो” जाति हुन बोलाइएका हौं। पुरुषहरू उनीहरूले देखेका कुराहरूद्वारा परीक्षामा पर्छन्। दाऊद राजा परीक्षामा परे जब उनले बथशेवालाई नुहाइरहेकी देखे। हेरोद राजा परीक्षामा परे जब जनले सलोमे नाचिरहेकी देखे। सिम्सोनले ‘टिम्नाथमा एउटी स्त्री’ को चाहा गरे किनकि त्यस स्त्रीको सुन्दर रूपद्वारा उनी आकर्षित भए।”
  • “कुनै-कुनै लुगाहरूले स्त्रीको शरीरमा नै हाम्रो ध्यान केन्द्रित गराउँछन्। जब पुरुषको ध्यान स्त्रीको शरीरतिर जान्छ तब पुरुष सजिलै कामुकताले जल्न सक्छ।”
  • “टेलिभिजनमा प्रसारण हुने बिज्ञापन र कार्यक्रमहरूमा भुमिका खेल्ने स्त्रीहरूले उचित (भद्र) पोशाक लगाएका हुँदैनन्। यसैले मेरी श्रीमतीले र मैले घरमा टेलिभिजन नराख्‍ने निर्णय गरेकाछौं। टेलिभिजन राखेको भए त्यस्ता कार्यक्रमहरू हेर्ने र परीक्षामा पर्ने जोखिममा हुन्थें। ९९% पत्रिकाका लेख र बिज्ञापनहरू पनि अभिलाषापूर्ण छन्।”
  • एकजना पाष्टरकी श्रीमतीको विचार – “श्रृङ्गार प्रायः दिदीबहिनीहरूलाई मनपर्ने कुरा हो। हाम्रो परमेश्‍वरलाई पनि मन पर्छ त्यसैले उहाँले विभिन्न सुन्दर थोकले पृथ्वीलाई सिँगार्नुभएको छ। श्रृङ्गारले सुन्दरता बढाउँछ। हो, बाइबलका पहिलेका स्त्रीहरूले पनि आफूलाई सिँगार्थे। १ पत्रुस ३:३-४ पदमा दुई खालका श्रृङ्गारको विषयमा बताइएको पाउँछौं। प्रिय दिदीबहिनीहरूहो, हामीले प्रभुलाई मन पर्ने श्रृङ्गार वास्तवमा कुन चाहिँ हो थाहा पाउनुपर्छ। हामी विभिन्न कुराले आफूलाई बाहिरी रुपमा सिँगार्न सक्छौँ। नङहरूमा नेल पलिस, ओठमा लिप-स्टीक, आँखामा गाजल। यी कुराहरूले आफूलाई सिँगार्नु भनेर बाइबलभरि कुनै पनि ठाउँमा भनेको छैन। यो श्रृङ्गार पूरा रूपमा सांसारिक श्रृङ्गार हो, नाश हुने श्रृङ्गार हो। हामी प्रभुका छोरीहरू हौं भने बाहिरी श्रृङ्गार होइन तर १ पत्रुस ३:४ अनुसार भित्री हृदयको कहिल्यै नाश नहुने श्रृङ्गारले आफूलाई सिँगारौं जुन कुरा प्रभुलाई अति नै मन पर्छ।
  • परमेश्‍वरको सेवकको विचार – “स्त्रीहरूको अनुचित पहिरनले पुरुषहरूलाई सजिलै असर पार्न सक्दछ भन्ने कुरालाई इन्कार गर्ने पुरुष कमै होलान्। आँखाले देखेको कुराले हृदयलाई राम्रो वा नराम्रो असर पार्न सक्दैन भनेर कसले भन्न सक्छ र? पराई स्त्रीको बारेमा चेताउनी दिँदै “तिम्रो हृदयमा त्यसको सुन्दरताको लालसा नगर” (हितोपदेश ४:२३) भनिएकोले त्यसो गर्नु उसकै जिम्मेवारी त हो, तर उसका शत्रुहरू – शैतान, संसार र उसको पाप स्वभावका कारण उसलाई त्यसो नगर्न त्यति सजिलो छैन। त्यसैले स्त्रीहरूको पहिरनको सन्दर्भमा, परमेश्‍वरलाई आदर गर्न चाहने स्त्रीले पुरुषहरूको यो कमजोर पक्षलाई मध्यनजर राख्दै आफ्नो पहिरनले पुरुषहरूलाई अनैतिक सोचाइतर्फ डोर्‍याउन प्रोत्साहन दिन अवश्‍य चाहनेछैन। अङ्ग-प्रत्यङ्गको आकृति देखिने गरी चिरिएको, काटिएको, छोटो, कस्सिएको आदि पोशाकको प्रयोगले स्त्रीहरू आंशिक रुपमा नग्न रुपमा प्रकट हुन जान्छन् अनि यो पुरुषहरूलाई परिक्षामा पार्ने कुरा होइन र? “वेश्‍याको वस्त्र” (हितोपदेश ७:१०) ले अशुद्ध भाषा बोलिरहेको हुन्छ भन्ने जानेर हाम्रा विश्‍वासी दिदीबहिनीहरूले आफ्नो पहिरनमा कतै पनि त्यस्तो वस्त्रको छनक समेत नदेखियोस् भन्ने चाहनुपर्दछ। एउटी विश्‍वासी स्त्रीले खासै विचार नपुर्‍याई चलनचल्तीको वस्त्र पहिरेको हुन सक्छे, तर त्यस्तै वस्त्र हो भने यसले पुरुषलाई त असर पार्न सक्छ नै। एक दइटा उदाहरण दिन सकिन्छ। यदि वस्त्र छातितिर खुल्ला वा कस्सिएको छ भने पुरुषको आँखा त्यतैतिर जान सक्छ र अशुद्ध विचारलाई प्रोत्साहन पुग्न सक्छ। भित्री पोशाक देखिन गरी बाहिरपट्टि पातलो कपडाको प्रयोगले पुरुषलाई जिस्काउने काम गर्दछ। पाखुराको माथिसम्मै देखिने गरी छोटो बाहुलाको वस्त्रको पनि त्यस्तै नकरात्मक शक्ति छ, माथि-माथि कम्मरसम्मै चिरेको कुर्ता-सुरुवालको पनि। यस्तै अरु उदाहरणहरू पनि दिन नसकिने होइन। जे होस्, परमेश्‍वरको भय मान्ने स्त्रीले अवश्‍य पनि आफ्नो भेष-भूषाद्वारा गलत सन्देश प्रसारण गरेको चाहनेछैनन्।”
  • एकजना विश्‍वासीको सुझाव – “आइमाई मान्छेले कस्सिएको लुगा लगाउँदा लोग्ने मान्छेमा पर्न जाने नकारात्मक सोचाइहरू:
    1. लोग्ने मानिसको ध्यानलाई कस्सिएको लुगाले खिँच्दछ। जसको कारण लोग्ने मानिसको मन त्यही केटीतिर जान्छ।
    2. कस्सिएको लुगाले लोग्ने मानिसलाई त्यस स्त्रीप्रति कामुकताले जल्न मद्दत पुर्‍याउँछ।
    3. कति लोग्ने मानिसहरू यस्तै कस्सिएको लुगा लगाइएको स्त्रीलाई देखेर आफूलाई वशमा राख्‍न नसकी बलत्कार जस्तो घृणित काम पनि गर्न पुग्छन्।
    4. अधिकांश लोग्ने मानिसहरू जब स्त्रीले लगाएको कस्सिएको लुगा (पाइन्ट, टी-शर्ट, टाउजर्स, छोटो टाइट पातलो कुर्ता-सुरुवाल) देख्छन् त्यो टाइट लुगाले स्त्रीसँग व्यभिचार गर्ने मन पनि उब्जाइदिन्छ।”
  • हामीले पत्रपत्रिकामा भएका विभिन्न स्त्रीहरूको फोटोहरू एकजना विवाहित पुरुषलाई देखायौं। र यस्ता पहिरनमा सजिएर हिँड्ने स्त्रीहरूलाई केटाहरूले बाटोमा देख्दा के सोच्लान् लेख्‍नुहोस् भन्यौं।
    1. पहिलो फोटो चाहिँ छोटो टी-शर्ट र पाइन्ट लगाइकी एकजना स्त्रीको थियो। “यो केटीको लुगा छोटो छ, निश्‍चय नै फर्केर हेरिन्छ, तर उनको शरीर हेर्न।”
    2. अर्को फोटो चाहिँ हामीले हाम्रा साथीलाई बाहुला विनाको टी-शर्ट लगाएकी एक जना केटीको देखाएका थियौं। उनी त्यति सुन्दरी देखिँदैन थिइन् तर उनले लगाएको पोशाकले धेरै पुरुषहरूलाई परीक्षामा पार्दछ भन्ने सोचाई हाम्रो साथीको थियो। यसको बारेमा हाम्रो साथीले लेखेको कुरा निम्न लिखित छ। “यो केटीको अनुहार त्यति राम्रो नभए तापनि उनको बाहुला नभएको टी-शर्टले गर्दा र अलि टाइट लुगाले फेरि फर्केर अवश्य हेर्ने थिएँ। यस्तो लुगा नलगाउँदा नै बेस हुन्छ।” बाहुला विनाको चोलोहरू लगाउनु उचित हुँदैन भन्ने सोचाइ धेरै पुरुषहरूको रहँदै आएको छ। स्त्रीले जति पनि आफ्नो शरीरका अङ्गहरूको प्रदर्शन गर्छिन् (चाहे ती खुट्टहरू होऊन्, चाहे खुला पाखुराहरू, चाहे ती उनका छाती, चाहे नाङ्गो ढाड) त्यसले पुरुषहरूलाई उनीप्रति तिब्र लालसी बनाउँदछ।
    3. त्यसपछि अर्को चित्र चाहिँ हामीले साडी र चोलो (ब्लाउज) मा सजिएकी अर्की स्त्रीको फोटो देखायौँ। उनको चोलो छोटो भएकोले छाती त पेटका भागहरू सजिलै देखिन्थे। यस फोटोको बारेमा हाम्रो साथीले यसरी बयान गरे, “वाफ रे! यो त फेसन शो मा नै ठीक छ। यस्तो लुगा लगाउँदा त जसलाई पनि परीक्षा हुन्छ। उनलाई भन्दा शरीरलाई धेरै हेरिन्छ। धेरै नै खुलेको छ।” (फोटोमा केटीले साडी लगाएकी थिएन्। साडीको ब्लाउज छातीलाई अलिकति मात्रै ढाक्ने थियो।)
    4. जब हामीले हाम्रो साथीलाई लामो कुर्तामा सजिएकी एक स्त्रीको फोटो देखायौं, उनको प्रतिक्रिया कस्तो थियो त? उनले भने, “यो त अहिलेको इण्डियन सिरियलहरूको हिरोइन हो। पुरानो फिल्म फेसेनलाई टिभीले पुन: जन्माएको छ। सबै जिऊ ढाके तापनि टाइट अथवा शरीरमा नै जोडिएको कुर्ता फेरी हेर्न मन लाग्छ।” (चुरिदार कुर्ता सुरुवाल)।
    5. कसिलो टी-शर्ट र पाइन्ट लगाएकी एक स्त्रीको बारेमा हाम्रो साथीले लेखेको कुरा माथि हामीले पढ्यौं। तर त्यसको बारेमा अधिकांश स्त्रीहरूलाई थाहा छैन। पुरुषहरू स्त्रीको पुट्ठाबाट आकर्षित बन्न पुग्छन्। त्यसकारण पाइन्ट लगाएकी स्त्रीहरूका पछाडी पुरुषहरू हिँड्दा पुरुषहरूको ध्यान सजिलै खिचिन पुग्छ र उनीहरू कामुकताले जल्न पुग्छन्। हाम्रो साथीको प्रतिक्रिया यस्तो थियो – “अहिलेको आधुनिक केटीहरूको पहिरन टाइट र टि-शर्टले गर्दा शरीरको अङ्गहरू प्रष्ट देखिन्छ। पाइन्ट लगाउन उचित छैन। सिम्पल जिन्स मात्र त हो नि भन्ला तर यो लुगामा बाइबलले प्रतिबन्ध लगाएको छ। केटी अगाडी हिँड्दैछिन् भने निश्‍चय नै सबैलाई थाहा छ, केटाहरूले के हेर्छन् (पुट्ठा)।”

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

बहानाहरू!

बहानाहरू!

 

लुगाको बारेमा बाइबलीय शिक्षा सुनेपछि विश्‍वासी दिदीबहिनीहरूको सामु दुई विकल्पहरू छन्। १) यस शिक्षालाई ग्रहण गर्नु र आफ्नो पोशाक र सिँगारलाई परिवर्तन गर्नु। २) बहानाहरू बनाएर यस शिक्षालाई इन्कार गर्नु।

केही सामान्य बहानाहरू यी हुन् –

१) एक ख्रीष्टियन बहिनीले भन्नुभयो, “मलाई लामो कुर्ता र पन्जाबी सुरुवाल लाउन मन त लाग्छ तर मैले त्यस्तो लुगा लगाएँ भने मेरो साथीहरूले मलाई “ए यो त बुढी भइछ” भनेर जिस्काउँछन्। उनीहरूले जस्तै मैले पनि पाइन्ट लगाएर मडर्न बन्नुपर्छ भनेर भन्छन्।”

यस बहिनीलाई बाइबलीय सल्लाहको खाँचो छ। हिब्रू ११:२४-२६ मा मोशाको बारेमा यस्तो लेखिएको पाइन्छ –

“विश्‍वासैद्वारा मोशाले, उमेरदार भएपछि फाराओकी छोरीको छोरो कहलाइन इन्कार गरे; थोरै समयसम्म पापको मोजमज्जा भोग्नुभन्दा बरु परमेश‍वरका जनहरूसँग दुःख भोग्नु नै तिनले रोजे; तिनले ख्रीष्टको निन्दालाई चाहिँ मिश्रको धनसम्पत्तिभन्दा ठूलो धन सम्झे; किनकि तिनको आँखा इनामतिर लागेको थियो।”

मोशालाई मिश्र देशको राजा फाराओकी छोरीले पालेकी थिइन्। राज दरबारमा हुर्केका मोशा अधिकार-प्राप्त व्यक्ति थिए। मोशा भविष्यमा मिश्र देशका धन सम्पत्तिहरूका अधिकारी हुनसक्थे। उनी शिक्षित, धनाढ्य, सु-सम्पन्न व्यक्ति थिए। तर मिश्र देशका बासिन्दाहरू मूर्तिपूजक र भक्तिहीन मानिसहरू भएका हुनाले धर्मी मोशाले मिश्र देशका सम्पूर्ण अभिलाषाहरूबाट पूर्ण रुपमा अलग हुने हुर्णय गरे। यस निर्णयले उनको सुखविलाषी जीवनलाई कष्टमा परिंणत गर्ने थियो भन्ने कुरा उनलाई थाहा थियो। ख्रीष्टको निम्ति दुःख भोग्नु नै मोशाले रोजे। “अहिले दुःख, पछि सुख। अहिले सुख पछि दुःख” भन्नु अत्युक्ति नहोला!

यदि तपाईं अभिलाषी जीवन रोज्नुहुन्छ भने अवश्‍य तपाईंले रमाइलोको महसुस गर्नुहुनेछ। तर त्यो केही समयको लागि मात्रै एउटा क्षणिक आनन्द हो। संसारको रमाइलोमा आफूलाई समर्पण गर्नेहरूले परमेश्‍वरको इच्छाभन्दा आफ्ना साथीहरूको इच्छा जान्न चाहन्छन्। तपाईंको प्रेम, ध्यान, र आशाहरू संसारमा भएको हुनाले तपाईंलाई परमेश्‍वरको विचारको मतलब हुँदैन। परमेश्‍वरबाट प्रशंसा पाउनुभन्दा साथीहरूको प्रशंसा पाउन तपाईंलाई रमाइलो लाग्न सक्छ।

“हे प्रियहो, म तिमी परदेशीहरू र यात्रीहरूलाई विन्ती गर्दछु – प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूबाट टाढो बस; अनि अन्यजातिहरूका बीचमा तिमीहरूले असल चालचलन देखाओ; र जुन कुरामा कुकर्म गर्नेहरू भनी तिनीहरू तिमीहरूको विरोधमा बोल्छन्, तिमीहरूका असल कामहरू देखेर ती कुराकै कारणले तिनीहरूले न्यायको दिनमा परमेश्‍वरको महिमा गरून्” (१ पत्रुस २:११,१२)।

“र अब उसो उसले आफ्नो बाँकी समय शरीरमा मनिसहरूका अभिलाषाहरू अनुसार होइन, तर परमेश्‍वरको इच्छाअनुसार जिओस्” (१ पत्रुस ४:२)।

२) “मसँग लुगा किन्नलाई पैसा छैन। कुर्ता सुरुवालभन्दा पाइन्ट र शर्ट सस्तो पर्छ। के गर्ने?” एक जना बहिनीले यस्तै प्रश्‍न गरिन्।

परमेश्‍वरका आज्ञाहरूचाहिँ बजारमा पइने गोलभेँडा जस्ता होइनन् जुनलाई सस्तो लागेमा घर लैजान्छौं नभए छाडेर हिँड्छौं। उहाँका आज्ञाहरू अपरिवर्तनीय र सबै परिस्थितिमा लागु हुने नियम हुन्। विश्‍वासमा बढ्दै जाऔं! स्वर्गमा विराजमान हाम्रा पिताले आफ्नो वचनमा हामीलाई उदेकका प्रतिज्ञाहरू दिनुभएको छ। ती प्रतिज्ञाहरू अँगाल्दै हामीले उहाँसँग प्रार्थना गर्नुपर्छ। अवश्य उहाँले हाम्रा खाँचोहरू पूरा गर्नुहुनेछ! (फिलिप्पी ४:१९ र मत्ती ६:२५-३३)।

३) “मैले टाइट, मडर्न लुगा लगाएको मेरो आमाबाबु चाहनुहुन्छ।”

प्रेरित ५:२९ “तब पत्रुस र अरु प्ररितहरूले जवाफ दिँदै भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरकै आज्ञा पालन गर्नुपर्छ।”

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।