साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ
अनन्त सुरक्षा र मुक्तिको निश्चयता – परिचय
यस महान् मुक्तिको व्यक्तिगत निश्चयता हुन सक्न र त्यसमा खुशीसाथ जिउन सक्न परमेश्वरका प्रतिज्ञाहरूको जानकारी हुनु नित्तान्त आवश्यक छ र ती प्रतिज्ञाहरू पूर्णरूपमा अकाट्य छन् भन्ने कुराको ज्ञान हुनु आवश्यक छ।
एक साँचो विश्वासी येशू ख्रीष्टमा एकदम सुरक्षित हुन्छ। यो जत्तिको सुरक्षित र बलियो जग अर्को छैन (१ कोरिन्थी ३:११)। समस्या के छ भने कैयौं विश्वासीहरू आफूहरू ख्रीष्टमा पूर्णरूपले सुरक्षित भएको कुरा बताउने परमेश्वरका प्रतिज्ञालाई उनीहरू जानेका छैनन् र फलस्वरूप उनीहरू आफूले पाएको महान् मुक्तिमा पूर्णरूपले रमाउन सकिरहेका हुँदैनन्। यस्तै व्यक्तिहरूलाई मदत गर्न यी पन्नाहरू लेखिएका हुन्।
हरेक विश्वासी ख्रीष्टमा सुरक्षित हुन्छ तर हरेक विश्वासीले आफू सुरक्षित छु भनी महसुस गरेको र बुझेको हुँदैन। ख्रीष्टमा म सुरक्षित छु भनेर म जति महसुस गर्दछु, त्यति नै मलाई निश्चयताको अनुभव हुनेछ र मैले ख्रीष्टसितको आफ्नो सम्बन्धमा रमाहट गर्न सक्नेछु।
दुःखको कुरा, त्यहाँ अर्कै खालका मानिस पनि हुन्छन् जोहरू झूटा सुरक्षाको भावनामा हिँडिरहेका हुन्छन्। उनीहरू आफू सुरक्षित भएको ठान्दछन् जब कि उनीहरू सुरक्षित नै छैनन्। कैयौं मानिसहरू झूटा सुरक्षाको भावनामा रहेका हुन्छन् किनकि उनीहरू आफ्ना असल-असल कामले स्वर्गमा पुग्नेछौं भनी ठान्दछन्। अरूहरूचाहिँ मुक्ति पाउन धर्मकर्ममा भरोसा गरिरहेका छन्। येशू ख्रीष्टमाथि — केवल उहाँमाथि — बाहेक अन्य कुरामा भरोसा गर्ने व्यक्ति असुरक्षित हुन्छ! त्यस्तो व्यक्ति ठूलो खतरामा छ। हामीले आफैंलाई आफ्नो शरणस्थान र सुरक्षाको आधार बनाउनु हुँदैन, त्यो त हामीले केवल ख्रीष्टलाईमात्र बनाउनु पर्छ।
यस अध्ययनमा, साँचो विश्वासी ख्रीष्टमा सुरक्षित हुन्छ भन्ने कुरा हामीलाई बाइबलबाट प्रमाणित गरिनेछ। मुक्ति पाउनलाई ख्रीष्टकहाँ आएको व्यक्ति कहिल्यै अफालिनेछैन (यूहन्ना ६:३७)। एउटै पनि साँचो विश्वासी नष्ट हुनेछैन। कुनै पनि साँचो विश्वासीले आफ्नो मुक्ति कहिल्यै गुमाउनेछैन (यूहन्ना ६:३७-४०)। के साँचो विश्वासी नष्ट हुन सक्छ (यूहन्ना १०:२८)? कदापि सक्दैन!
ख्रीष्टमा हाम्रो अनन्त सुरक्षाको र हामीलाई सुरक्षित राख्न सक्ने परमेश्वरको उदेकको सामर्थ्यको अध्ययन गर्न थाल्नु अघि एउटा अति महत्त्वपूर्ण र व्यक्तिगत प्रश्नलाई विचार गरिनु खाँचो छ: के म एक साँचो विश्वासी हुँ? यस प्रश्नको उत्तर दिनलाई तलका प्रश्नहरूलाई विचार गर्नुहोस्। प्रत्येक प्रश्नलाई इमानदारपूर्वक व्यक्तिगतरूपमा विचार गर्नुहोस्। प्रत्येक प्रश्नसित दिइएको बाइबल पदलाई बाइबल पल्टाएर हेर्नलाई समय लिनुहोस्। आफूलाई सोध्नुहोस्: अनन्त मुक्तिका लागि म वास्तवमा कसमाथि भरोसा राखेको छु?
के म एक साँचो विश्वासी हुँ?
के मैले आफूलाई पवित्र र धर्मी परमेश्वरका सामु एक दोषी, हराएको पापीको रूपमा देख्दछु (रोमी ३:१०-१९,२३)? मेरो हृदय छली र दुष्ट छ र यसलाई निको नहुने रोग लागेको छ भनी के मैले महसुस गरेको छु (यर्मिया १७:९; मर्कूस ७:२१-२३)? के मैले आफूलाई मृत्यु र नरकको दण्डको योग्य देखेको छु (रोमी ६:२३)? परमेश्वरले मलाई मेरै योग्यताअनुसार व्यवहार गर्नुभएको भए र मैले जिएको जीवनअनुसार मलाई प्रतिफल दिनुभएको भए म पूरै नष्ट हुनेथिएँ भनेर के मैले जानेको छु (भजनसङ्ग्रह १३०:३; तुलना गर्नुहोस् भजनसङ्ग्रह १०३:१०)? आफूलाई बचाउन मैले गर्न सक्ने एउटै कुरा छैन भनेर के मैले महसुस गरेको छु (तीतस ३:५)? असल-असल काम गर्ने मैले जस्तोसुकै प्रयास गरे तापनि तिनले मलाई स्वर्गमा प्रवेश गर्ने अधिकार दिन सक्दैन भनेर के मैले बुझेको छु (एफेसी २:८-९)? मेरो चर्च वा धर्मले मेरो आत्माको उद्धार गर्न सक्दैन भनेर के मैले महसुस गरेको छु (यर्मिया १७:५)? मेरो आफ्नै धार्मिकता र मेरो आफ्नै असल चरित्र परमेश्वरले आवश्यक ठान्नुहुने धार्मिकताको तुलनामा फहोर झुत्राझैं छ भनेर के म पक्का भएको छु (यशैया ६४:६; रोमी ३:१०-१२; १ कोरिन्थी ६:९-१०)? के मसित परमेश्वरका सामु ग्रहणयोग्य ठहरिने मेरो आफ्नै व्यक्तिगत योग्यता छ (यशैया ६४:६)?
मेरो पाप-समस्याको एउटै मात्र ईश्वरीय उपाय येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर के म विश्वास गर्दछु (प्रेरित ४:१२)? उहाँ नै परमेश्वरकहाँ जाने एउटै मात्र बाटो (यूहन्ना १४:६), मुक्तिको एउटै मात्र ढोका (यूहन्ना १०:९), पापीहरूको एउटै मात्र मुक्तिदाता (मत्ती १:२१) र मलाई अनन्त जीवन दिन सक्ने एउटै मात्र व्यक्ति (यूहन्ना १०:२८; १७:३) हुनुहुन्छ भनेर के मैल महसुस गरेको छु? येशू ख्रीष्ट अनन्त परमेश्वर हुनु भएर पनि (यूहन्ना १:१-३) मलाई बचाउनलाई यस संसारमा मानिस बनेर आउनुभएको हो भनेर के मैले बुझेको छु (यूहन्ना १:१४; १ तिमोथी १:१५; यूहन्ना ३:१७)? म एक ठूलो पापी हुँदा-हुँदै उहाँले मलाई प्रेम गर्नुभयो (रोमी ५:८; यूहन्ना ३:१६) र मेरो आत्मा बचाउन उहाँ मर्नुभयो र बौरेर उठ्नुभयो (रोमी ४:२५) भनेर के म विश्वस्त छु? प्रभु येशू मेरा पापका निम्ति मर्नुभयो, उहाँ मेरो सट्टामा सिद्ध बलिदानस्वरूप मेरै पापहरूको पूरा दण्ड तिर्नुहुँदै क्रूसमा मर्नुभयो भनेर के म पक्का भएको छु (यशैया ५३:६; १ पत्रुस ३:१८; २ कोरिन्थी ५:२१)? बचाइनका लागि के म उहाँमा, केवल उहाँमा मात्र, भर परेको छु (प्रेरित १६:३१)? के म एउटा सानो नानीको जस्तो विश्वास लिएर उहाँकहाँ आएको छु (यूहन्ना ६:३५,३७; मत्ती ११:२८)? के मैले विश्वासद्वारा प्रभु येशू ख्रीष्टलाई व्यक्तिगतरूपमा आफ्नो मुक्तिदाताको रूपमा लिएको वा ग्रहण गरेको छु (यूहन्ना १:१२)? उहाँ जो हुनुहुन्छ (यूहन्ना ८:२४), उहाँले जे गरिदिनुभयो (१ कोरिन्थी १५:३-४) र उहाँले जे भन्नुभएको छ (यूहन्ना ६:४७) — के म आफ्नो पूर्ण व्यक्तित्वको सम्पूर्ण वजनले उहाँमै भर परिरहेको छु?
उहाँद्वारा परमेश्वरकहाँ आउने सबैजनाका साथसाथै मलाई समेत उहाँले पूर्ण रूपमा बचाउन सक्नुहुन्छ (हिब्रू ७:२५) भनेर के म विश्वास गर्दछु? ख्रीष्टले यूहन्ना ५:२४ मा भन्नुभएको कुरालाई म विश्वास गर्दछु? के यूहन्ना ३:१६ मेरो लागि साँचो छ भनी मान्दछु? येशू ख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ भनी के मैले अरू कसैलाई बताएको छु (रोमी १०:९-१०; मत्ती १०:३२)? के म हृदयदेखि भन्न सक्छु:
“आशा मेरो छ येशूमा
उनको रगत र धार्मिकतामा
भर छैन मीठो भावनामा
पूरै भर पर्छु ख्रीष्टको नाममा।
ख्रीष्ट मेरो चट्टानमा खडा छु —
दलदले हिलो हुन् सब अरू
दलदले हिलो हुन् सब अरू!” [एडवर्ड मोट]
आफूलाई सोध्न सकिने अर्को अर्थपूर्ण प्रश्न यो हो: यदि आज नै मृत्यु भयो भने र परमेश्वरले मलाई “मेरो पवित्र स्वर्गमा तिमीलाई पस्न दिनुपर्ने कारण के छ र?” भनेर सोध्नुभयो भने मेरो जवाफ कस्तो होला त?” यदि मेरो जवाफले कुनै पनि हिसाबमा म आफैलाई (मेरो योग्यता, मेरा आफ्नै कामहरू, मेरो धार्मिक कामहरू आदिलाई) इङ्गित गर्दछ भने त्यसले म बलियो जगमा उभिरहेको छैन भन्ने कुरा देखाउनेछ। मानिसहरूले आफैमा भरोसा कसरी गरिरहेका हुन्छन्, केही उदाहरणहरू प्रस्तुत गरौं:
“परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने मेरो जीवनकालमा मैले खराबभन्दा असल नै बढी गरेको छु।” “परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने मैले दस आज्ञा पालन गर्ने प्रयास गरेको छु।” “परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने म फलानो चर्चको सदस्य हुँ” आदि। यस्ता सबै जवाफले आफूलाई इङ्गित गर्छन्, तर मुक्ति त आफूबाटको होइन; मुक्ति परमप्रभुबाटको हो!
म परमेश्वरको पवित्र स्वर्गमा पस्न सक्ने एउटै मात्र कारण छ। सही जवाफ यो हो: “म परमेश्वरको पवित्र स्वर्गमा पस्न सक्ने एउटै मात्र कारण छ, केवल एउटै। त्यो यो हो, मेरो मुक्तिदाता येशू ख्रीष्टको कारण। उहाँले क्रूसमा पूरा गर्नुभएको कार्यबिना मैले मुक्ति पाउनु असम्भव थियो। उहाँले मलाई सित्तैंको वरदानस्वरूप दिनुभएको उहाँको जीवनबिना म उहाँको पवित्र स्वर्गमा पस्नु असम्भव हुनेथ्यो। उहाँ नै मेरो एउटै आशा हुनुहुन्छ। मसित भएको धार्मिकता उहाँ नै हुनुहुन्छ अनि मलाई चाहिएको पूर्ण धार्मिकता उहाँ नै हुनुहुन्छ। धन्यवाद मेरा प्रभु, तपाईंले मेरो आत्मा बचाउनुभयो।” हेर्नुहोस्, यस जवाफले आफूबाट अन्यत्र औंल्याउँदैछ, अर्थात् मुक्तिदातालाई, केवल उहाँलाई औंल्याउँदैछ।
अनन्त सुरक्षा र मुक्तिको निश्चयता: भिन्नता के छ?
मानौं आशपुरे, भावना, विश्वास र शान्ति चारैजनाले मुक्ति पाएका छन्। प्रत्येकले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेका छन् (प्रेरित १६:३१)। प्रत्येकसँग अनन्त जीवन छ र हरेक नै परमेश्वरको सन्तान बनेको छ। प्रत्येक नै अनन्तसम्म प्रभुसँग स्वर्गमा रहनेछ। प्रत्येक नै ख्रीष्टमा सुरक्षित छ। यी सबै बाल-बालिकाहरू अनन्तसम्म प्रभु येशू ख्रीष्टमा सुरक्षित छन्!
तर एउटा समस्या छ (यीमध्ये दुईजनालाई मात्रै मुक्तिको निश्चयता छ। तिनीहरूका नाम के के हुन्? १. ____________ २. ____________। यीमध्ये कुन दुईजनालाई मुक्तिको निश्चयता छैन? १. ______________ २. ______________।
ठीक कि बेठीकः
____________ हरेक विश्वासी अनन्तसम्म ख्रीष्टमा सुरक्षित हुन्छ।
____________ हरेक विश्वासीलाई आफूले मुक्ति पाएको निश्चयता हुन्छ।
____________ हरेक विश्वासी प्रभु येशू ख्रीष्टमा सुरक्षित हुन्छ।
____________ आफू ख्रीष्टमा सुरक्षित भएको कुरा हरेक विश्वासीले जानेको हुन्छ।
१ यूहन्ना ५:१३ मा यूहन्नाले आफूले पहिलो यूहन्नाको पत्र लेख्नुको उद्देश्य बताएका छन्। उनले यो पत्र विश्वासीहरूलाई लेखेका हुन् कि अविश्वासीहरूलाई? ________________________। यूहन्नाले यो पत्र कुन उद्देश्यले लेखेका हुन्? ठीक उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्।
(क) पाठकलाई अनन्त जीवन पाएको जस्तै लागोस् भन्ने उद्देश्यले
(ख) पाठकले आफूले अनन्त जीवन पाएँ कि भनी सोचोस् भन्ने उद्देश्यले
(ग) पाठकले आफूले अनन्त जीवन पाउने आशा गरोस् भन्ने उद्देश्यले
(घ) पाठकले आफूले अनन्त जीवन पाएको छु भनी जानोस् भन्ने उद्देश्यले
ठीक कि बेठीकः
____________ आफूले साँच्चै मुक्ति पाएको छु भनी कसैले पनि खासै जान्न सक्दैन (१ यूहन्ना ५:१३)।
____________ आफूले मुक्ति पाएको छु भनी एक व्यक्तिले जान्न सक्छ।
____________ आफूसँग अनन्त जीवन छ भनी प्रत्येक विश्वासीले जानेको परमेश्वर चाहनुहुन्छ।
____________ प्रत्येक विश्वासी आफूले मुक्ति पाएको कुरामा निश्चित भएको परमेश्वर चाहनुहुन्छ।
____________ मुक्ति पाएको वा नपाएको थाह पाउन हामीले मृत्युसम्म पर्खेको परमेश्वर चाहनुहुन्छ।
____________ आफूले मुक्ति पाएँ होला भनी सोच्ने व्यक्ति नै मुक्तिको निश्चयता पाएको व्यक्ति हो।
____________ पावल प्रेरितलाई निश्चयता थिएन (हेर्नुहोस् २ तिमोथी १:१२)।
____________ मृत्यु भएको खण्डमा आफू प्रभुकहाँ जानेछु भनी पावल प्रेरित जान्दथे (फिलिप्पी १:२१-२३; २ कोरिन्थी ५:६-८)।
____________ हामीहरू निश्चय नै स्वर्ग जाँदैछौं भनी ख्रीष्टियनहरूले जान्न सक्छन् भनी प्रेरित पत्रुसले विश्वास गर्दैनथे (१ पत्रुस १:३-४)।
___________ परमेश्वरले विश्वासीलाई सुरक्षित राख्न सक्नुहुन्छ भन्ने कुरामा यहूदालाई निश्चयता थिएन (यहूदा २४)।
____________ आफूले मुक्ति पाऊँला भनी आश गर्ने व्यक्ति नै मुक्तिको निश्चयता पाएको व्यक्ति हो।
माथिको आखिरी वाक्यलाई “ठीक” बनाउन कुन-कुन शब्दहरूलाई हटाउनु पर्छ? ______________। ती शब्दहरूको सट्टामा कुन-कुन शब्दहरू राख्नुपर्छ? ________________।
प्रत्येक विश्वासी ख्रीष्टमा सुरक्षित छ, तर प्रत्येक विश्वासीले आफू सुरक्षित छु भनी राम्ररी महसुस गरेको वा बुझेको हुँदैन। ठीक कि बेठीकः ____________ ख्रीष्टमा आफू सुरक्षित छु भनी म जति धेरै महसुस गर्छु यति नै मलाई निश्चयता पनि हुन्छ।
यस विषयमा परमेश्वरको वचन अध्ययन गर्ने क्रममा हामीले दुइटा आधारभूत प्रश्नका उत्तर दिनुपर्छ। (१) के एक साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ? (२) म एक साँचो विश्वासी हुँ कि होइन भनी मैले कसरी जान्न सक्छु? अनि मैले साँच्चै विश्वास गरेको छु भने, मेरो जीवनमा कस्ता कुराहरू भेटिनुपर्छ? साँचो विश्वासीका चिन्हहरू के-के हुन्? बाइबलले एक साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ भनी सिकाउँछ भन्ने कुरा देखाउँदै अब हामी पहिलो प्रश्नको उत्तर दिने प्रयास गर्नेछौं।
सर्वप्रथम हामी साँचो विश्वासी ख्रीष्टमा सुरक्षित छ भन्ने तथ्यलाई स्थापित गर्नेछौं। यसलाई भनिन्छ अनन्त सुरक्षाको शिक्षा (the doctrine of eternal security)। प्रश्नहरूको जवाफ दिनुहुँदा, उल्लेखित सबै पदहरूलाई बाइबल पल्टाएर हेर्नुहोला। बाइबल पल्टाएर नहेरीकनै आफूले जवाफ जानेको छु जस्तो लागे तापनि बाइबल पल्टाएर नै हेर्ने गर्नुहोस्। परमेश्वरले जस्तो भन्नुभएको छ त्यस्तै बुझ्नु र उहाँको वचनलाई आफ्नो हृदयमा गहिरो गरी पस्न दिनु ज्यादै महत्त्वपूर्ण कुरा हो (भजनसङ्ग्रह ११९:११; कलस्सी ३:१६)।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)