पशुहरू

पशुहरू

 

बाइबलमा मानिसहरूभन्दा पहिला पशुहरूको उल्लेख भएको छ। के यो तपाईंलाई थाह छ? बाइबलको पहिलो अध्यायमा हामी पशु र मानिसको सृष्टि बारे पढ्दछौं (उत्पत्ति १):

कुन दिनमा माछाहरू र समुद्री जन्तुहरू सृष्टि गरिए? _________
कुन दिनमा आकाशका चराहरू सृष्टि गरिए? _________
कुन दिनमा जमिनका पशुहरू सृष्टि गरिए? _________
कुन दिनमा मानिसको सृष्टि गरियो? _________

बाइबलको अन्तिम पुस्तक प्रकाश २२ मा पनि हामी पशुहरूका नामहरू पाउँछौं। हामी थुमाको (परमेश्वरको थुमा, प्रभु येशू ख्रीष्ट) बारेमा १ र ३ पदमा पढ्न पाउँछौं। १५ पदमा हामी ______ को बारेमा पनि पढ्न पाउँछौं। (अपवित्र र फोहरी मानिसहरू स्वर्गमा छिर्न पाउँदैनन्।)

शैतानले हव्वाको परीक्षा गर्न पशुको प्रयोग गर्‍यो (उत्पत्ति ३:१)। परमेश्वरले आदम र हव्वालाई ढाक्नलाई पशुको छालाको प्रयोग गर्नुभयो (उत्पत्ति ३:२१)। नूहले बनाएको जहाज पशुहरूले भरियो (उत्पत्ति ७)। इसहाकको सट्टामा त्यहाँ एक पशुको बलिदान भएको थियो (उत्पत्ति २२:१३)। याकूबले आफ्ना बाबुलाई छल गर्न पशुको छाला प्रयोग गरे (उत्पत्ति २७:१६)। परमेश्वरले मिश्र देशमा ल्याउनुभएको धेरै जसो विपत्तिहरूमा पशुहरू समावेश छन् (प्रस्थान ८-९)। शाऊल एक पटक हराएका पशुहरूको खोजी गर्न गए (१ शमूएल ९:३) र उसले शमूएललाई भेट्टाए र इस्राएलको राजाको रूपमा अभिषेक भए। प्रभु येशू जन्मनु भएपछि उहाँलाई त्यस्तो ठाँउमा राखियो जहाँ साधारणतया पशुहरूको निम्ति खाना राखिन्छ (लूका २:७)। येशू आफ्नो परीक्षामा जंगली ______________ रहनुभयो (मर्कूस १:१३)। जब येशू आफ्नो मृत्यु अघि यरुशलेम प्रवेश गर्नुभयो, तब उहाँ पशुमाथि चढ्नुभयो (मर्कूस ११)। जब पत्रुसले प्रभुलाई इन्कार गरे, एउटा पशु करायो (लूका २२:६०)। पछि प्रभुले पत्रुसलाई एक महत्त्वपूर्ण पाठ सिकाउन पशुहरूको प्रयोग गर्नुभयो (प्रेरित १०:९-१६)। जब प्रभु येशू ख्रीष्ट आफ्ना सेनाहरूका साथमा पृथ्वीमा आउनुहुन्छ, त्यहाँ पशुहरूको उल्लेख गरिएको छ (प्रकाश १९:११,१४)। हजार-वर्षे राज्यमा पशुहरू शान्तिपूर्वक बस्ने छन् र मानिसलाई हानी गर्ने छैनन् (यशैया ११:६-९)। यसरी बाइबलले पशुहरूको बारेमा धेरै कुरा बताएको छ।

१ तिमोथी ६:८ अनुसार, यस पृथ्वीमा मानिसलाई बाँच्नको लागि कुन दुई कुराहरू आवश्यक छ (वस्त्रको अर्थ कपडा/लुगा बुझिन्छ।)? १.________________ २.________________

एक क्षण विचार गर्नुहोस् त, पशुहरूले कसरी मानिसको निम्ति खानेकुरा प्रबन्ध गर्छन्? म:म बनाउन कस्तो किसिमको पशुको प्रयोग गरिन्छ? पशुहरूले मानिसको निम्ति कसरी वस्त्र उपलब्ध गराउँछ? के तपाईंले अहिले पशुबाटको कुनै किसिमको लुगा लगाउनुभएको छ? खाना र कपडाको प्रबन्ध गरेर पशुहरूले मानिसलाई सहायता गर्दछन्। सृष्टिकर्ताले पशुहरूको सृष्टि गर्नुहुँदा उहाँले के गरिरहनुभएको थियो सो जान्नुहुन्थ्यो।

यस पाठमा हामी बाइबललमा उल्लेख गरिएका सबै पशुहरूको बारेमा अध्ययन गर्ने छैनौं। तर हामी केही महत्त्वपूर्ण स्तनधारी पशुहरूको बारेमा हेर्नेछौं। यदि तपाईं बाइबलमा उल्लेख गरिएका अरु पशुहरूको बारेमा अध्ययन गर्न चाहनुहुन्छ भने राम्रो बाइबल शब्दकोष खोजेर हेर्न सक्नुहुन्छ।

बलिदान गरिने पशुहरू

बाइबललमा हामी पशुहरूलाई बलिदान दिइएको कुराहरू पढ्छौं। यी कुराहरू आज हामी गर्दैनौं। हामी पशुहरू मारेर खानको लागि तयार पार्छै तर तिनीहरूलाई बलिदान दिनको निम्ति मार्दैनौ। यहूदीहरू पनि आज पशुहरूको बलिदान गर्दैनन्। यहूदीहरूको बलिदान गरिने वेदी चाहिँ मन्दिरमा थियो र आज यहूदीहरूको मन्दिर छैन (ई सं ७० तिर रोमीहरूले मन्दिरलाई ध्वस्त पारे)। त्यसैले आज इस्राएलका सन्तानहरू “_________________ बिना” छन् (होशे ३:४)।

निम्न पशुहरू बलिदानमा प्रयोग गरिन्थेः

१. गाई-वस्तु
साँढे
गाई
बाछा वा बाछी
३. भेंडा
भेंडा
भेंडी
पाठो वा पाठी
२. बाख्रा
बोका
बाख्री
पाठो वा पाठी
 

यदि मानिसहरूले यी ठूला पशुहरूको बलिदान दिन नसकेको खण्डमा, तिनीहरूले परेवाहरू वा ढुकुरहरूलाई बलिदान दिन्थे (लेवी ५:७,११)।

सबभन्दा पहिला शुरुमा मानिसको पापको कारण बलिदानस्वरुप पशुहरू मारिएका थिए। यो हामी उत्पत्ति ३:२१ मा पढ्न पाउँछौं। यदि पशुहरूको छालाबाट लुगाहरू बनाइएका थिए भने ती पशुहरूलाई के भएको हुनुपर्छ? ______________________________। जब हामी पशुहरूको बलिदानको बारेमा विचार गर्छौं तब हामीले तीनओटा कुराहरू सँधै याद गर्नुपर्छः

१. मानिसको पापको कारण बलिदानको खाँचो पर्र्‍यो।
२. बलिदानमा रगत बहाइनुपर्दछ (पशु मर्दछ)।
३. पापी मर्नुको सट्टामा, निर्दोष पशु उसको ठाउँमा मर्दछ।

पुरानो नियमको समयमा हजारौं र लाखौं पशुहरूको बलिदान भएको थियो। १ राजा ८:६३ अनुसार, कतिओटा साँढेहरू बलिदान दिइए? _____________। कति ओटा भेंडाहरू बलिदान दिइए? ____________।

यी सबै बलिदानहरूले एक महान बलिदानलाई देखाइरहेको थियो: येशू ख्रीष्टको बलिदान जो परमेश्वरको _________ हुनुहुन्छ (यूहन्ना १:२९)। येशू ख्रीष्ट क्रूसमा मर्नुहुँदा यो बलिदान पूरा भयो।

के हजारौं पशुहरूको बलिदानले साँच्चीनै मानिसको पाप हरण हुन्छ होला (हिब्रू १०:४,११)? ________। के ख्रीष्टको एउटै, सिद्ध बलिदानले मानिसको पाप हरण गर्दछ (यूहन्ना १:२९, हिब्रू १०:१४,१७-१८)?_____________।

पशुहरूको बलिदान चाहिँ आउनेवाला ख्रीष्टको सिद्ध बलिदानको _________ मात्र थियो — हिब्रु १०:१। तपाईं कुन कुरा चाहनुहुन्छ – हजार रुपियाको छायाँ कि वास्तविक रुपियाँ – के तपाईं आइसक्रिमको छायाँ खानुहुन्छ कि आइसक्रिम नै खानुहुन्छ – छायाँले तपाइँको निम्ति केही गर्दैन, तर त्यसले त्यहाँ वास्तविक कुरा छ भनेर बताइरहेको छ। यदि त्यहाँ आइसक्रिमको कोन नहुने हो भने के त्यहाँ त्यसको छायाँ हुन सक्छ र? __________। पशुहरूको बलिदानले यो सन्देश बोकेको थियो:
“एकदिन परमेश्वरको पुत्र मानिसको पापको निम्ति सिद्ध बलिदान हुनुहुनेछ”। जब हामी ख्रीष्टको बलिदानको बारेमा सोच्दछौं, त्यही तीनओटा सत्यताहरू पाउँदछौं।

१. मानिसको पापको कारण ख्रीष्टको बलिदान आवश्यक थियो। उहाँ _________ हटाउनलाई मर्नुभयो (हिब्रु ९:२६)।
२. ख्रीष्टको बलिदानमा रगत बगेको थियो (हिब्रू ९:२२)। उहाँ मानिसको पापको निम्ति उद्धारकर्ता हुनुभई मृत्युको मोल तिर्नुभयो।
३. पापी मर्नुको सट्टामा, येशू पापीको सट्टामा मर्नुभयो (रोमी ५:८; ६:२३)।

के तपाईं साँच्चीनै ख्रीष्टले तपाईंको निम्ति यस्तो बलिदान गर्नुभयो भनी विश्वास गर्नुहुन्छ? के तपाईंका पापहरू हरण गरिएका छन् र क्षमा भएका छन्? परमेश्वर अब उसो हामीले बलिदान चढाएको चाहनुहुन्न, तर ख्रीष्टको महान बलिदानको सम्झना गर्न परमेश्वर हामीले के गरेको चाहनुहुन्छ
(१ कोरिन्थी ११:२३-२६)? _________________________________________________________
____________________________________________________________________________।

भारी बोक्ने पशुहरू

गधा

आज हामी एक ठाउँबाट अर्को ठाउँमा सामानहरू सार्न हामी कार, ट्रकको डिकीमा सामानहरू मिलाएर राखी ओसार्छौं। बाइबलका समयमा मानिसहरूले गधा वा खच्चडमाथि सामान राख्दथे। यस पशुको खुट्टा एकदम बलियो हुन्छ र गह्रौं भारी बोक्न सक्छ। गधाले मानिसलाई सवारी पनि दिन्छ (न्यायकर्ता १०:४)। जकरिया ९:९ र मत्ती २१:१-११ अनुसार, यरुशलेम शहरमा गधामाथि चढेर को प्रवेश गर्नुभयो? ________________________। बाइबलको प्रख्यात गधा चाहिँ बालामले चढेको गधा हुनुपर्दछ। यो गधाको बिषयमा के कुरा एकदम असामान्य छ (गन्ती २२:२१-३१) ______________________________________________। को धेरै चेतनाशील थियो, गधा कि गधामा चढने मानिस? ______________।

उँट

मरुभूमि-यात्राको लागि एकदम सिद्ध रुपले बनाइएको यो एक भारी बोक्ने पशु हो। यसको ५ ओटा कारणहरू छन्:

१. उँटले आफ्नो शरीरमा पानी सञ्चय गर्न सक्छ र पानी बिना धेरै दिनसम्म यात्रा गर्न सक्छ। अरु पशुहरूलाई जस्तै यसलाई पनि पानी चाहिन्छ, तर परमेश्वरले उँटलाई पानी सञ्चय गर्न सक्ने अद्वितीय क्षमता दिनुभएको छ। उँटले एक पटकमा १५ ग्यालेन (६७.५ लिटर) पानी पिउन सक्छ। यसले यति धेरै पानी केही समयभित्रमा नै पिउँछ र कयौं दिनसम्म त्यही पानीको भरमा बाँच्दछ।

२. उँटको खुट्टाको पैताला फराकिलो परेको हुन्छ जसले यसलाई बलौटे सतहमा नगाडिकनै हिँड्नलाई सहायता गर्दछ र यसको पाइतालाले बालुवाको पोल्ने ताप सहन सक्छ।

३. उँटले मरुभूमिको तीतो बिरुवाहरू खाएर बाँच्न सक्छ । यसले बिरुवाहरू काँडासहित आफ्नो मुखमा हालेर बलिया दाँतको सहायताले चपाउन सक्छ। उँटलाई अरु कुनै पनि खाना नदिइकनै, आफूले बाटोमा जे भेट्टायो सो खाएर २० दिन सम्म यात्रा गर्न सक्ने एक अजीव प्राणी हो।

४. उँट एकदम बलियो हुन्छ १८० के.जी. देखि २३० के.जी. सम्मको तौल बोकेर भत्-भत् पोल्ने मरुभूमिमा हिँड्दछ। यसले दिनमा ५० कि.मी. जति हिड्न सक्दछ।

५. उँट अग्लो पशु हो र यो ८ फिट वा त्यो भन्दा पनि अग्लो हुन्छ। त्यसो भए कसरी यस पशुलाई भारी बोकाउन सकिन्छ होला? उँटले आफ्नो घुँडा टेक्न सक्छ र यसलाई गधा जस्तै सजिलै भारी बोकाउन सकिन्छ (उत्पत्ति २४:११)। घुँडा टेक्न सक्ने भएको हुनाले मानिसलाई उँटमाथि उक्लिन सजिलो भएको हो।

उँट धेरै उपयोगी र मूल्यवान् थियो। अय्यूवसँग कतिओटा थियो (अय्यूव १:३; ४२:१२)? _______________________। परमेश्वरले हरेक पशुलाई तिनीहरू जहाँ बस्छन् त्यहाँ बाँच्न सक्ने हिसाबमा अचम्म तरिकाले सृष्टि गर्नुभएको थियो। हामी के पाउँछौं भने पशुहरूले (विकासवादी सिद्धान्त बिपरित) बाँच्नको लागि संर्घष गर्दैनन्, तर पशुहरूलाई शुरु देखिनै बाँच्न सक्ने रूपमा बनाइएको थियो किनकि सृष्टिकर्ताले नै तिनीहरूलाई यस्तो किसिमले बनाउनुभएको थियो ।

प्रभु येशूले २ महत्त्वपूर्ण पाठहरू सिकाउन यस ठूलो जन्तु उँटलाई प्रयोग गर्नुभएको थियो।

पहिलो मत्ती १९:२४ मा पाइन्छ। एक ठूलो उँटलाई सियोको नाथ्रीबाट छिर्न कति सजिलो हुन्छ? _______________________। के यो सम्भव छ वा असम्भव? _________________। एक पापी मानिसलाई पापरहित स्वर्गमा पस्न कति सजिलो छ (मत्ती १९:२५-२६)? ______________________________। के पापी मानिसले आफैलाई बचाउन सक्छ? के यो सम्भव छ या छैन? ____________________। मानिसहरू कस्ता कार्यहरू गरेर मुक्ति पाउन खोज्छन्, यद्यपि ती कुराहरू गरेर स्वर्गमा जान सकिँदैन?__________________________________________________ ______________________________________________________________।

के मुक्ति परमेश्वरबाट सम्भव छ (मत्ती १९:२६)? __________। के उहाँले एक पापी मानिसलाई पापरहित स्वर्गमा पस्न सम्भव बनाउन सक्नुहुन्छ? __________। यो असम्भवलाई सम्भव बनाउन परमेश्वरले के गर्नुभयो (यूहन्ना ३:१६; १ यूहन्ना ४:९-१०)? __________________________ _____________________________________________________________।

दोस्रो चाहिँ मत्ती २३:२४ मा पाइन्छ। कहिलेकाहीँ साना किराहरू पिउने पदार्थहरूमा पस्छन् र फारिसीहरू पिउन अघि किराहरूलाई निकालेर पिउन होशियारी थिए। के तपाईंले आफ्नो पिउने कुरामा किराहरू पाउनुभएको छ? यदि एउटा किरा तपाईंले अचानक पिउनुभयो भने, के यसले तपाईंलाई मार्दछ र? येशूले यी कुराहरू यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू एक सानो किरा ननिल्नलाई धेरै सावधान छौ, तर तिमीहरू हेर्दै नहेरी सीधै उँट भने निल्दछौ”। के तपाईंले आफ्नो पिउने कुरामा उँट पाउनुभएको छ? यदि तपाईंले उँट निल्नु भएको छ भने, के एउटा किरा निल्नु भन्दा यो झन् गम्भीर कुरा होइन र?

प्रभु येशू जान्नुहुन्थ्यो कि मानिसले साँच्ची नै उँट निल्दैनन् भनेर, तर उहाँले यो मूर्ख उदाहरण चाहिँ एउटा घतलाग्दो पाठ सिकाउनको लागि दिनुभएको थियो। यी यहूदीहरू सबै साना कुराहरूको बारेमा चासो राख्दथे, तर तिनीहरू ठूला र महत्त्वपूर्ण कुराहरू जस्तै “न्याय, कृपा र विश्वास” को विषयमा भने वास्तै राख्दैनथे (२३ पद)। यी मानिसहरूले सबै किसिमको धार्मिक रीति र नियमहरू पालन गर्थे, र तिनीहरू सो गर्नाले आफूलाई धेरै धर्मी ठान्थे, तर जब परमेश्वरको पुत्र तिनीहरूकहाँ आउनुभयो तब तिनीहरूले नै उहाँलाई क्रूसमा टाँगे!

मानौं तपाईंको शिक्षकले भन्नुभयो, “यो परीक्षामा ११ ओटा प्रश्नहरू छन्। पहिलो दशओटा महत्त्वपूर्ण छन् भने अन्तिम प्रश्न चाहिँ त्यत्ति महत्त्वपूर्ण छैन र त्यसलाई त्यति धेरै मान्यता दिइनेछैन।” अनि तपाईं त्यो अन्तिम प्रश्नको लागि आफ्नो सबै समय खर्च गर्नुहुन्छ र १० ओटा महत्त्वपूर्ण प्रश्नहरूलाई समय दिनुहुन्न भने के तपाईं जाँचमा फेल हुनुहुने छैन र? ____________। जब यहूदीहरूले परमेश्वरसँग ठीक सम्बन्ध राख्‍नुपर्ने समय पाए, तब फारिसीहरू फेल भए ।

ती सबभन्दा महत्त्वपूर्ण कुराहरू के-के हुन् जुन परमेश्वर तपाईंले गरेको चाहनुहुन्छ?

घोडाहरू र कुकुरहरू

घोडाहरू

आज घोडाहरू प्रायः चढ्न र घोडे‍-दौडको लागि मात्र प्रयोग हुन्छ। बाइबलका समयमा घोडाहरूको मुख्य उद्देश्य चाहिँ लडाइँको लागि हुन्थ्यो। किन इस्राएलका सन्तानहरू फारो र उनका सेनाहरूदेखि डराएका थिए (प्रस्थान १४:९)? __________________________________। घोडाहरूले रथहरू तान्दथे र रथहरूमा सिपाहीहरू हुन्थे। रथहरू र घोडाहरूसँग भएको सेना शक्तिशाली हुन्थ्यो र तिनीहरूको धेरै डर मान्नुपर्थ्यो ।

के परमप्रभु, इस्राएलका सन्तानहरूले विजयको लागि घोडाहरूमा भर परेको चाहनुहुन्थ्यो (भजनसंग्रह ३३:१६-१७)? ______________। के कसैले घोडाहरू र रथहरूमा भरोसा गर्दा रहेछन् (भजनसंग्रह २०:७)? ________________। हामीलाई बिजय दिन र लडाइँ लड्नलाई कसमाथि हामीले भरोसा गर्नुपर्छ (भजनसंग्रह २०:७)? __________________।

पृथ्वीमा ख्रीष्टको पहिलो यात्रा (उद्देश्य) चाहिँ शान्तिको लागि थियो र उहाँ गधामाथि चढेर आउनुभयो (मत्ती २१:५-७)। पृथ्वीमा ख्रीष्टको अकोँ यात्रा (उद्देश्य) चाहिँ लडाइँको हुनेछ र उहाँ सेतो ________________ चढेर आउनुहुनेछ (प्रकाश १९:११) ।

कुकुरहरू

आज हामी कुकुरहरूलाई “मानिसको असल साथी” को रूपमा हेर्दछौ र एक राम्रो पाल्तु पशुको रूपमा पाल्दछौं। आज हाम्रो समयमा सबैले कुकुरलाई असल पशुको रूपमा हेर्छन्।

बाइबलीय समयमा यस्तो थिएन। ती दिनहरूमा कुकुरहरूलाई अशुद्ध र फोहरी पशुको रूपमा हेरिन्थ्यो। कुकुरहरूले फोहोर खान्थे र मरेका पशुहरू र मानिसको रगत र मासु पनि खान्थे (१ राजा १४:११; २२:३८)। तिनीहरूमा आफ्नै बान्ता खाने नराम्रो बानी हुन्छ हितोपदेश २६:११; २ पत्रुस २:२२)। बाइबलमा कुकुरहरूको बारेमा भनिएको एकमात्र राम्रो कुरा चाहिँ तिनीहरूले कहिलेकाहीँ बगालको हेरचाह गर्छन् (अय्यूब ३०:१)।

प्रकाश २२:१५ मा “कुकुरहरू” भन्ने शब्द ती मानिसहरूको लागि प्रयोग भएको छ जसलाई पवित्र शहरमा छिर्न अनुमति छैन। यसको मतलब ती मानिसहरू फोहोरी, अपवित्र र अशुद्ध छन्। पवित्र परमेश्वरको बारेमा तिनीहरूलाई कुनै चासो छैन। स्वर्गमा “कुकुरहरू” हुनेछैनन्!

जङ्गली पशुहरू

सिंह

बाइबलीय समयमा सबभन्दा डरलाग्दो पशु सिंह थियो होला। आज प्यालेस्टाइनमा सिंहहरू पाइँदैनन्, तर बाइबलीय समयमा सिंहहरू ती भागहरूमा घुम्थे। “सिंह” भन्ने शब्द बाइबलका ३१ ओटा पुस्तकहरूमा पाइन्छन्।

किन शैतानलाई एक सिंहसँग तुलना गरिएको छ (१ पत्रुस ५:८)? ____________________________ ________________________________________________________________________________

किन प्रभु येशूलाई एक सिंहसँग तुलना गरिएको छ (प्रकाश ५:५)? ___________________________ ________________________________________________________________________________

विश्वासीहरूलाई किन सिंहसँग तुलना गरिएको छ (हितोपदेश २८:१, याद गनुहोस् सिंहहरू लजाउँदैनन् र प्रायः कसैको सामु जान डराउँदैनन्? _____________________________________________________________।

कुन हिसाबमा विश्वासीहरू निडर हुनुपर्दछ?

ब्वाँसो

यो एक अर्को जङ्गली पशु हो जो कुनै समय प्यालेस्टाइनमा एकदम छ्याप-छ्याप्ति पाइन्थ्यो र आज पनि त्यहाँ केही मात्रामा पाइन्छ। ब्वाँसो एक डरलाग्दो र निर्दयी अनि एक साँच्ची नै खतरनाक पशु थियो विशेष गरी भेंडाहरूको निम्ति। ब्वाँसो एक हल्का रंग भएको ठूलो कुकुर जस्तै देखिने पशु हो। प्रभु येशूले ती मानिसहरूको बारेमा भन्नुभएको थियो जसले भेंडा (साँचो विश्वासी) भएको बहाना गर्थे तर तिनीहरू वास्तवमा ______________ अथवा झूटा भविष्यवक्ताहरू थिए (मत्ती ७:१५)। प्रेरित २०:२९ पनि हेर्नुस् जहाँ ब्वाँसोहरूलाई झूटा शिक्षकहरूको रूपमा बयान गरिएको छ जसले विश्वासीहरूलाई नाश गर्न कोशिष गर्दछन्।

यी जङ्गली पशुहरू सँधैको निम्ति जङ्गली हुनेछैनन्। यशैया ११:६-९ हेर्नुहोस्। शान्तिका राजकुमारले पशुहरूलाई समेत राज्य गर्नुहुनेछ! कुन हिसाबमा यी पशुहरू फरक हुनेछन्?

१. हामी परमेश्वरलाई यी पशुहरूको लागि धन्यवाद दिऔं, कसरी तिनीहरूले हामीलाई धेरै तवरले सहयोग गर्दछन् साथै हामीलाई खाना प्रबन्ध गरेका छन् (१ तिमोथी ४:४);

२. पशुहरूलाई पूजा नगर्न र तिनीहरूलाई परमेश्वर वा मानिसको स्थान नदिनको लागि हामी होशियारी होऔं (रोमी १:२२-२५);

३. हाम्रा मनलाई परमेश्वरमा ध्यान दिन र उहाँको बारेमा बुझ्न अनि उहाँबाट सिक्नलाई प्रयोग गरौं। कहिलेकाहीँ हामी पशुहरूको जस्तै व्यवहार गर्दछौं (भजनसंग्रह ७३:२२)। परमेश्वरले हामीलाई दिनुभएको मनले सोच्नु (विचार गर्नु) को सट्टामा हामी पशु जस्तै मूर्ख व्यवहार गर्न पुग्छौं।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email